१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन्।
राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् ।
“पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।”
आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गरे ।
योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए।
“योजना अवधिमा विभिन्न स्रोतको साथै निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन लिइएका लक्ष्य, उद्देश्य तथा रणनीतिबाट योजना अवधिमा लगानी, उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि गरी आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।”
सबै पक्षलाई समेटेर नियमित र नतिजामूलक अनुगमन तथा मूल्याङ्कन प्रणाली विकास गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले अब आर्थिक सुधारको एकीकृत ढाँचा राष्ट्रिय योजना आयोगले सबैं निकायको समन्वयमा तयारगरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले भने, “तीनै तहका सरकार, निजि क्षेत्र, सहकारी र विकास साझेदार लगायतका सबैको सहकार्य र प्रभावकारी समन्वयबाट योजनाले लिएको औसत आर्थिक वृद्धि हासिल हुनुका साथै अन्य सामाजिक तथा पर्यावरणीय लक्ष्य हासिल हुनेमा म विश्वस्त छु ।”
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । आज २०८१ साल वैशाख १२ गते बुधबार सन् २०२४ अप्रिल २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ५८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
लगानी सम्मेलनमा १४८ वटा आयोजना शोकेसमा राख्न स्वीकृति
काठमाडौं । वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ । मंगलबार काठमाडौँमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्राविधिक समितिबाट सिफारिस भई आएका उक्त आयोजनाहरूलाई शोकेसमा राख्नका लागि स्वीकृति दिइएको हो।बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार केही छुटेका परियोजनालाई सम्मेलनमा शोकेसमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरी आवश्यक निर्णय लिने छ। त्यसमा केही परियोजनाहरू छुटेको भए थप गर्न पनि प्रधानमन्त्री प्रचण्डले बोर्डलाई निर्देशन दिएका छन् । त्यसैगरी, बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानीसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ । ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रस्ताव ल्याएको थियो। त्यसमा लगानी गर्नुअघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैगरी डाबर नेपाल प्राइभेट लिमिटेडले इन्भेष्टमेण्ट थप्ने र प्रडक्टलाई पनि थप्ने भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ । बैठकमा निजी क्षेत्रले लगानी सम्मेलनको तयारीका विषयमा प्रसन्नता व्यक्त गरेको र विभिन्न ऐन संशोधन गर्ने सरकारको तयारीप्रति आभार व्यक्त गरेको उपाध्यायले बताए। बैठकमा बोर्डका पदाधिकारीले लगानी सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरे। “व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।” नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताए। नयाँ परिस्थितीमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए। भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीज अफ रसियन फेडेरेशनका अध्यक्ष सर्गेयी कटीरिन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभलगायतको उपस्थिती रहेको थियो ।
थप ६३ जना लेखा अधिकृतलाई कामकाजमा खटाइयो
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले थप ६३ जना लेखा अधिकृत तथा कोष नियन्त्रकहरुलाई फेरबदल गरेको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको महालेखाले सोमबार बढुवा भई रिक्त रहेका कार्यालयहरूसमेतमा गरी ५१ जना र खारेज तथा दरबन्दी कटौती भई फाजिल भएका १२ लेखा अधिकृतसमेतलाई कामकाजमा खटाएको हो । सोमबार नै नयाँ नियुक्त भएका ८४ जना लेखा अधिकृतहरुकोसमेत पदस्थापन गरिएको छ । लेखा अधिकृतहरूलाई मन्त्रालय, विभाग, कार्यालय, आयोजना, समितिलगायतमा खटाइएको हो । यस्तो छ नयाँ जिम्मेवारी
देशमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गरौँ : प्रधानमन्त्री
“निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।”
राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बन्छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताएका छन् । तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आयोजित विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा सम्पादकहरुसँगको छलफलमा अर्थमन्त्री पुनले सरकार परिवर्तन भएपनि सरकारी नीतिहरुले निरन्तरता पाउने र लगानीकर्तालाई लगानीको प्रतिफल लैजान समस्या नहुने बताए। उनले घरेलु राजनीतिक परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नहुने स्पष्ट पारे। “सरकार चाँडो परिवर्तन भइरहँदा लगानीसम्बन्धी नीतिहरुमा कस्तो प्रभाव पर्छ भनेर लगानीकर्ताले चासो राख्ने गर्नुभएको छ । सरकार परिवर्तन हुँदा पनि हाम्रा नीतिहरु परिवर्तन हुँदैनन् र घरेलु समस्याले लगानीकर्तालाई अप्ठ्यारो पार्दैन”, पुनले भने, “पुँजीको विशेषता भनेको लगानीको वातावरण र प्रतिफल प्राप्ति हो । कुनै वाद वा व्यवस्थासँग लगानीकर्ताको मतलब हुँदैन । लगानीकर्ताले वातावरण छ वा छैन भनेर हेर्ने हो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ ।” लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने उनको भनाइ छ । पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिस्कृत बनाएको अर्थमन्त्री पुनले बताए। भारतमा पनि लगानी प्रतिवद्धताको तुलनामा प्राप्ति करिब ३० प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले नेपालको अवस्था यो भन्दा राम्रो रहेको बताए। नेपालमा लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन परिमार्जन तथा संरचनागत सुधार हुँदै गएको उनको भनाई छ । लगानी सम्मेलनअघि सबै राजनीतिक दल, विषयविज्ञ तथा सरोकारवालसँग पर्याप्त छलफल गर्ने र सम्मेलनमा आवद्ध गराउने उनले स्पष्ट पारे। “यो सरकारको मात्र सम्मेलन होइन । राष्ट्रकै सम्मेलन हो । यसमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन । आन्तरिक तथा वैदेशिक लगानीमा हामी सबैको समान धारणा छ भन्ने देखाउन चाहान्छौँ”, अर्थमन्त्री पुनले भने । निजी क्षेत्र र लगानीकर्ताको सुझाव समेटेर सरकारले अध्यादेशमार्फत् कानूनी सुधारको प्रयास गरेको उनले बताए। अहिले संसद नचलेको बेला कानुन संशोधन गर्नुपर्ने अवस्था आएकाले अध्यादेशमार्फत् प्रक्रिया अघि बढेपनि संशोधित कानुनहरु पारित हुनका लागि संसदमा जाने र त्यहाँबाट पारित भएपछि कार्यान्वयनको चरणमा जाने उनले स्पष्ट पारे। नेपालमा लगानीका लागि ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृषि प्रशोधनलगायतका क्षेत्र बढी उपयुक्त रहेकाले ती क्षेत्रमा लगानी गर्न उनले लगानीकर्तालाई आह्वान गरे। नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग मित्रवत सम्बन्ध रहेकाले यहाँको उत्पादन छिमेकी मुलुकका बजारसम्म पु¥याउन समस्या नरहने बताए। कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सुशील भट्टले लगानी प्रवद्र्धन निरन्तरको प्रयास र प्रक्रिया भएकोले आन्तरिक वातावरण सुधारबाटै यसलाई थप परिस्कृत र नतिजामुखी बनाउनुपर्ने बताए। नेपालमा लगानीका वातावरण छ भन्ने आधार स्पष्ट हुँदै गएको भट्टको भनाइ छ । लगानी सम्मेलनमा सार्वजनिक/निजी साझेदारी (पिपिपी) अवधारणाका परियोजना मात्र नभई अन्य सरकारी र निजीक्षेत्रका परियोजनासमेत सोकेसमा राखिने उनको भनाइ छ । वैशाख १६ र १७ गते दुई दिन चल्ने सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट एक सय ५० हाराहारी आयोजना सोकेसमा लैजाने तयारी सरकारले गरेको छ । सम्मेलनमा विभिन्न विषयका १० वटा सत्रमा छलफल हुनेछ । जसमा ५० जनाको हाराहारीमा वक्ता रहनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने जनाइएको छ ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।आज २०८१ साल वैशाख ११ गते मंगलबार सन् २०२४ अप्रिल २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
घट्यो नेप्सेसँगै कारोबार रकम
काठमाडौं ।आज दोस्रो बजार मापक नेप्से परिसूचक १५.४१ अंक घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेर १९६९.०२ विन्दुमा झरेको हो । आज समूहगत परिसूचकमध्ये म्यूचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक २.१० प्रतिशतले घटेको छ । आज ४९ कम्पनीको १८६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएकामध्ये पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ६.९१ प्रतिशतले वृद्धि भएको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ७.३७ प्रतिशतले घटेको छ । आज पनि गुर्खाज फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ११ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नेप्सेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज दुई अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार दुई अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल वैशाख १० गते सोमबार सन् २०२४ अप्रिल २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ शून्य पैसा र बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
दोहोरो अंक बढ्यो सेयर बजार
काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सेयर बजार १२.२९ अंकले नेप्से बढेको हो । यो वृद्धिपछि नेप्से १९८४ अंकमा पुगेको छ । आज कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । आज कुल १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रह्यो । समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घटेको छ । बैंकहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट लगानीका हिसावले कमजोर देखिएपछि सो समूहको सूचक आइतबार रातो देखियो । आइतबार विकास बैंक ४१, फाइनान्स १०, होटल तथा पर्यटन १५, हाइड्रोपावर २७, जीवन बीमा ४१, उत्पादन १२३, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ९६, अन्य १५ र ब्यापार समूह ५ अंक बढे । यस्तै, दोल्ती पावरको ९.८ प्रतिशत मूल्य बढ्यो । एनआईसी एसिया लघुवित्तको ८.४, रुरु हाइड्रोपावरको ८.१, अपरहेवाखोलाको ७.२, सर्वोत्तम सिमेन्टको ६.५ प्रतिशत मूल्य बढ्यो । पिपुल्स पावरको ७.४, खानीखोला हाइड्रोको ५.४, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४.९, गुराँस लघुवित्तको ४.६ र गोर्खाज फाइनान्सको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आइतबार गोर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट, पिपुल्स पावर, रुरु जलविद्युत् र पोखरा फाइनान्स क्रमशः अगाडि रहेका छन् ।
सुनको मूल्य उच्च विन्दुमै स्थिर, चाँदीको २० रुपैयाँ बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेर स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार ३ सय र तेजाबी सुन १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। यो मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको अघिल्लो कारोबार मूल्य बराबर हो । आइतबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढेको छ। शुक्रबार १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको सेतो धातु आइतबार उक्त दरले बढेर १ हजार ७ सय ४० रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा चाँदी २८.६७ र सुन २ हजार ३ सय ९०.८६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले बताएका छन् ।
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल वैशाख ९ गते आइतबार सन् २०२४ अप्रिल २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अमेरिका भ्रमण सकाएर फर्किए : अर्थमन्त्री पुन
काठमाडौँ। अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् । चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । मन्त्री पुन विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा सङ्क्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी भए । पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेटघाट गरे । मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी)का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे । सम्बोधन तथा भेटघाटहरूमा मन्त्री पुनले आगामी १७ र १६ वैशाखमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे । नेपालको ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न उनले अपिल गरे । लगानी सम्मेलनको वातावरण बनाउन सरकारले लगानीका लागि प्रतिकूल ठानिएका करिब दर्जन ऐनमा अध्यादेशमार्फत सुधार गर्न लागिएको जानकारी उनले अन्तर्राष्ट्रिय समुदाय, लगानीकर्ता र विकास साझेदारलाई दिए । यस्तै आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको सहुलियत दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए)–२१ बैठक तयारीबारे समेत अवगत गराए । मन्त्री पुनले विकास साझेदारहरुलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन भनेका छन् । भी–२० मा उनले जलवायु परिवर्तनमा नेपालको न्यून भूमिका रहेको भन्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय जगतमा दृढतापूर्वक वकालत गर्ने उल्लेख गरे । मन्त्री पुन र विश्व बैंकका उच्च अधिकारीहरुबिचको वार्तामा सङ्खुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजनाको वित्तीय ढाँचाबारे महत्त्वपूर्ण सहमति भएको छ । आगामी जुनमा विश्व बैंकले उक्त आयोजनाका लागि वित्तीय व्यवस्थापन टुङ्ग्याउने तयारी अघि बढाउने भएको छ । अमेरिकी व्यवसायीहरूको संस्था (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको अन्तरक्रियामा उनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताए । मन्त्री पुनले ‘एसियामा नवीकरणीय ऊर्जा सङ्क्रमण’शीर्षक साइडलाइन सत्रलाई सम्बोधन गर्दै नेपालले जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको बताए । त्यस क्रममा विश्व बैंकसहित विकास साझेदार संस्थाका प्रतिनिधिहरूले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको भन्दै लगानी सम्मेलनमा उच्चस्तरको सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।
अर्थमन्त्री पुन आज स्वदेश फर्किँदै
काठमाडौँ।अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन आज स्वदेश फर्किदै छन्। मन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त बैठकका लागि यही वैशाख ३ गते अमेरिका गएका थिए। ५ दिन अमेरिका भ्रमण सकेर मन्त्री पुन आज दिउँसो साढे ४ बजे नेपाल आइपुग्ने उनको सचिवालयले जनाएको छ। अमेरिका भ्रमणका क्रममा मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागिता जनाएका थिए। यसबाहेक अर्थमन्त्रीले अमेरिकी व्यवसायीसँग समेत अर्थपूर्ण भेट गरेका थिए। अमेरिका भ्रमणका क्रममा पुनले अमेरिकी व्यवसायीसँग नेपालमा लगानीका लागि आग्रह गरेका थिए । त्यसक्रममा अमेरिकी व्यवसायीले नेपालको कर प्रणालीको विषयमा चासो व्यक्त गरेका थिए। यसबाहेक अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई)परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओसँग भेटेका छन्। यस्तै विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग समेत अर्थमन्त्री पुनले भेटघाट गरे। भेटघाटका क्रममा पुनले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीको आह्वान गरेका थिए। उनले नेपाल दक्षिण एसियामा नै वैकल्पिक ऊर्जा उत्पादनको केन्द्र बनेकाले विश्वका लगानीकर्ता यतातर्फ केन्द्रित हुनुपर्ने बताएका थिए।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल वैशाख ८ गते शनिबार सन् २०२४ अप्रिल २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर