एभरेष्ट इन्सुरेन्सको ५ लाख २९ हजार कित्ता सेयर लिलामी खुल्यो

काठमाडौं । एभरेष्ट इन्सुरेन्सको बुधबार (साउन २९ गते)बाट ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलामी बिक्री खुला भएको छ ।

कम्पनीले ३ लाख ८३ हजार २०५ कित्ता सर्वसाधारण समूह र १ लाख ४६ हजार ५७५ हजार कित्ता संस्थापक गरी कुल ५ लाख २९ हजार ७८० कित्ता लिलामीमा ल्याएको हो । यसमा भदौ ८ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्ने हुन्छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले दोस्रो बजारमा कायम भाउलाई ध्यान दिएर लिलामी आवेदन दिनुपर्ने हुन्छ । नेप्सेमा बुधबार एभरेष्ट इन्सुरेन्सको प्रतिकित्ता ३ सय ३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लिलामी भर्दा सामान्यतयः बजार भाउ भन्दा केही कम मूल्य तोक्ने गरिन्छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं तथा एभरेष्ट इन्सुरेन्सका मुख्य कार्यालय हात्तिसार, काठमाडौंबाट पनि लिलामी भर्न सकिने छ । सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीले यसअघि गत जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर खुला गरेको थियो । जसमा ७६ लाख ८९ हजार ६९५ कित्ता सेयर मात्र बिक्री भएको थियो । बाँकी रहेको ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलामीमा ल्याइएको हो ।

दोस्रो घण्टामा ६.०९ अंकले नेप्से घट्दा हिमालय उर्जामा रातो सर्किट

काठमाडौं, जेठ ९ । साताको अन्तिम दिन नेप्से कारोबार भएको दोस्रो घण्टाको अवधिमा ६ दशमलव शून्य ९ अंकले घट्दा १ हजार ३१३ दशमलव ५४ विन्दुमा पुगेको छ । १ हजार ३२१ दशमलव ६९ विन्दुबाट शुरु भएको परिसूचक १ हजार ३२४ दशमलव १५ विन्दुसम्म पुगेको थियो । सो विन्दुपछि घटेको परिसूचक हालसम्म घटेको छ । नेप्सेमा हालै सूचिकृत भएको हिमालय उर्जा विकासको शेयर मूल्य ९ दशमलव ७२ प्रतिशत घटेर सर्किट लागेको छ । कम्पनीको कारोबार शुरू हुँदै घटेर सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य घटेर प्रतिकित्ता रू. १३० मा आइपुगेको छ । कारोबार भएका १५२ कम्पनीको रू. ४२ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ ।

९ महिनामा ६ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, जेठ ७ । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स पठाएका छन् । गएको आवको तुलनामा चालू आवको नौ महिनामा २० दशमलव नौ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको हो । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स पाँच दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भएको मूल्य वृद्धिले विप्रेषण आप्रवाह नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो । नौ महिनाको अवधिमा खुद ट्रान्सफर आय २० दशमलव नौ प्रतिशतले वृद्धि भई सात खर्ब ४६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव तीन प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगतका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९ दशमलव तीन प्रतिशतले घटेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको त्यसै अवधिमा यस्तो सङ्ख्या ६ दशमलव ८ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४ दशमलव ६ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या तीन दशमलव एक प्रतिशतले घटेको थियो । रासस

शेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं, जेठ ५ । धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ बिन्दुले घटेर एक हजार ३१६.८४ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले घटेर २८०.७९ बिन्दुमा पुगेको छ । कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर रु एक अर्ब नौ करोड तीन लाख ४८ हजार २२५ मूल्यमा कारोवार भए । स्टकका अनुसार कारोवार १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर घटेको छ भने छ उपसमूहकै शेयर भने वृद्धि भएको छ । बैंकिङ ४.२२, व्यापार ८.४५, होटल १२.१९, निर्जीवन बीमा ५९.०३, लघुवित्त ८.५० र जीवन बीमा ५९.७३ बिन्दुले घटेको छ । यस्तै विकास बैंक ८.८२, जलविद्युत् ३.०३, वित्त ५.३६, उत्पादन १००.२६, अन्य १.९६ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल बैंक लिमिटेड रु २२ करोड ६८ लाख १९ हजार १४७, शिवम् सिमेन्ट रु १८ करोड ७० लाख ९० हजार ८८३, बुटवल पावर कम्पनी रु तीन करोड २९ लाख ३२ हजार ६०८, प्रभु बैंक लिमिटेड रु तीन करोड २४ लाख ७८ हजार ३५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । शिव्म सिमेन्टका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक ९।९०, रिलायन्स फाइनान्स ८.५३, प्राग्रेसिभ फाइनान्स लिमिटेड ७.८४, बरुण हाइड्रो पावरका शेयरधनीले ७.६९ प्रतिशतले कमाए । यस्तै विशाल बजार कम्पनी ५.७८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५.३९, आइएमइ जनरल इन्स्योरेन्स ५.२८, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२२ प्रतिशतले गुमाएका छन् ।

आशा जगाउँदै एकल विन्दु सेवा केन्द्र

काठमाडौँ, जेठ ५ । जेठ लागेसँगै सञ्चालनमा आएको उद्योगीलाई एकीकृत सेवा दिने एकल बिन्दु सेवा केन्द्र व्यवस्थित हुन अझै केही समय लाग्ला तर यसले उद्यमी तथा लगानीकर्ताले हालसम्म झेल्दै आएका प्रशासनिक तथा प्रक्रियागत जटिलता भने हट्ने आशा भने सञ्चार गरेको छ । केन्द्रले अझै पूर्णता पाइनसकेको भए पनि केन्द्र स्थापना हुनु शून्यबाट एक पाइला बढेर गतिशीलतातर्फको यात्रा सुरु भएको अनुभूति सेवाग्राहीले गरेका छन् । उद्योग सञ्चालनका लागि आवेदनदेखि उद्योग बन्द गर्नेसम्मका विविध सेवा लगानीकर्तालाई एकै स्थानबाट उपलब्ध गराउने गरी सरकारले यो केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रमा अहिले विभिन्न सरकारी निकाएको प्रतिनिधित्व हुने नौ एकाइ खुलिसकेका छन् । उद्योग दर्ताका लागि आवेदनदेखि दर्ता, उद्योगलाई आवश्यक हुने पूर्वाधार सहजीकरण, विदेशी लगानीकर्ताका लागि भिसा सहजीकरण, एक्जिम कोड तथा भन्सार सहजीकरणजस्ता सेवा यहाँबाट उपलब्ध गराउन थालिएको हो । राजधानीको त्रिपुरेश्वरस्थित उद्योग विभाग परिसरमा एकल बिन्दु सेवा केन्द्र जेठ एक गतेदेखि सञ्चालनमा ल्याइएको हो । पहिलो दिन नै सेवा केन्द्रबाट तीन उद्योग दर्ता भएका छन् । म्याग्दीको राहुगङ्गा गाउँपालिका क्षेत्रमा बन्ने एक जलविद्युत् आयोजना सेवा केन्द्रमार्फत दर्ता भएको पहिलो उद्योग बनेको छ । करिब १० अर्ब रुपियाँको लागतमा बन्ने ५८ मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउन तिपलिङ कालीगण्डकी हाइड्रोपावर कम्पनी पहिलो कम्पनीका रूपमा दर्ता भएको हो । अपर म्याग्दी हाइड्रोपावर कम्पनी र कर्नर स्टोन एकेडेमी अफ ट्रेनिङ प्रालिले पनि सोही दिन उद्योग दर्ता पाए । सेवा केन्द्र पुगेका सेवाग्राही यो संरचना बन्नुलाई ऐतिहासिक मान्छन् । उद्योग दर्ताका लागि सेवा केन्द्रमा पुगेका अधिवक्ता अन्जनकुमार दाहालले भने– ‘२५ वर्षदेखि आवश्यकता महसुस गरिएको यो संरचना बल्ल सञ्चालनमा आएको छ । उद्यम गर्न चाहनेले दर्जनौं कार्यालय धाउनुपर्ने र अनिर्णयको बन्दी बन्नुपर्ने अवस्था हट्छ, यो ऐतिहासिक हो । दाहालका अनुसार केन्द्रमा अझै धेरै संरचना स्थापना गर्नुपर्ने छ । अनलाइन प्रणाली जडान हुन बाँकी सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि उद्योग दर्ताका लागि अनलाइन प्रणाली अझै जडान भइसकेको छैन । कतिपय एकाइमा कर्मचारी सङ्ख्याअनुसार स्थान व्यवस्थापन भइसकेको छैन । त्यस्तै सबै एकाइले साझेदारी रूपमा प्रयोग गर्नसक्ने खालको सफ्टवेयर पनि बनिसकेको छैन । शुक्रबार नै नेपालगन्जमा रहने गरी एक सिमेन्ट उद्योग दर्ताका लागि केन्द्र पुगेका कानुन व्यवसायी नगेन्द्र चन्द अनलाइन प्रणालीबाटै आवेदन गर्ने गरी केही दिनपछि पुनः केन्द्रमा आउने बताए । उद्योग दर्ता एकाइका निर्देशक विष्णुप्रसाद ज्ञवालीका अनुसार उद्योग विभागमा रहेको अनलाइन आवेदन प्रणाली सोमबारसम्म एकाइमा जडान भइसक्नेछ । दर्ता एकाइलगायतका धेरै कर्मचारी रहनुपर्ने एकाइका लागि थप कोठाको तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ भने संयुक्त कार्य गर्ने सफ्टवेयर पनि केही महिनाभित्र तयार भइसक्ने उद्योग विभागले जनाएको छ । विभिन्न निकायबाट आउने कर्मचारी सम्बन्धित एकाइमा पदस्थापन भइसेकेका छन्, ज्ञवालीले भने, समस्या नआउने गरी योजनाका साथ काम गरिरहेका छौं, काम गर्दै जाँदा आवश्यकताअनुसार परिमार्जन गर्दै सेवाग्राहीलाई आशातित सेवा उपलब्ध गराउने छौं । कुल ४१ जनाको दरबन्दी रहेको केन्द्रको प्रमुख कार्यकारी अधिकृत उद्योग विभागका महानिर्देशक रहने व्यवस्था छ । गोरखापत्रदैनिकबाट

२ अंकले घट्यो शेयर बजार

काठमाडौं, जेठ २ । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । नेप्सेका अनुसार विकास बैंक २१.२५, वित्त २.८४, निर्जीवन बीमा २७.२७, उत्पादन ९९.७४ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको हो । यस्तै बैंकिङ ८.२४, होटल १२.५६, जलविद्युत् १.१३, अन्य ०.३१, लघुवित्त ५.२३ र जीवन बीमा १२.४० अङ्कले घटेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा पुगेको छ । लगातार उकालो लाग्दै आएको शिवम्को शेयर प्रतिकित्ता रु ५७२ मा रु १३ करोड ४१ लाख आठ हजार ४१५ मा कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१९ मा रु छ करोड ८१ लाख २१ हजार ३००, एनसिसी बैंकको प्रतिकित्ता रु २६० मा रु पाँच करोड २१ हजार ३९९ मा कारोवार भयो । कृषि विकास बैंकको रु चार करोड ८१ लाख २० हजार ९३३, एशिएन लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ६८ लाख ८९ हजार ६००, प्रिमियर इन्स्योरेन्स कम्पनीको रु तीन करोड ५७ लाख २९ हजार २२८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । नेप्सेका अनुसार शिवम् सिमेन्टका शेयरधनीले आज पनि दश प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९।६६, कर्णाली डेभलपमेन्ट बैंक ९.१८, आइएमई जनरल इन्स्योरेन्स ७.०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ६.३५ र महालक्ष्मी विकास बैंकका शेयरधनीले ५।२१ प्रतिशतले कमाएका छन् । त्यस्तै कृषि विकास बैंक ३.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ३.८०, प्रोग्रेसिभ फाइनान्स ३.७७, ग्लोबल आइएमइ समुन्नति स्किम ३.७६ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७४ प्रतिशतले गुमाएका छन् ।

नेप्से परिसूचक एक घण्टामा ४.३८ अंकले घट्यो

काठमाडौं, वैशाख २९ । साताको पहिलो दिन नेप्से कारोबार भएको एक घण्टाको अवधिमा ४ दशमलव ३८ अंकले घटेर १ हजार २८७ दशमलव ५८ विन्दुमा पुगेको छ । कारोबार भएदेखि हालसम्म नेप्से परिसूचक १ हजार २९२ दशमलव १२ विन्दुभन्दामाथि जान सकेको छैन । कारोबार भएका दश समूहको परिसूचकमा चार समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक घटेपछि नेप्से घट्न पुगेको हो । कारोबार भएका १०७ कम्पनीको रू. ३२ करोड बराबरको शेयर कारोबार भएको छ । सानिमा बैंकको एक संस्थापकले शेयर विक्री गरेपछि कम्पनीको रू. १६ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । सगरमाथा इन्स्योरेन्सले बोनस प्रस्ताव गरेपछि र प्रिमियर इन्स्योरेन्सले प्रस्ताव गर्ने हल्लाले दुवै कम्पनीको शेयर मूल्य सहित कारोबार रकम बढेको छ ।

वीरगन्ज भन्सारः ६ महिनादेखि लक्ष्यभन्दा कम राजस्व संकलन

वीरगन्ज, वैशाख ६ । मुलुककै मुख्य नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले ६ महिनादेखि राजस्व लक्ष्य भेट्न सकेको छैन । गत चैतमा १० अर्ब १ करोड ३ लाख ७८ हजार रुपैयाँमात्र संकलन भएको छ। विभागले १५ अर्ब ४४ करोड ४५ लाख रुपैयाँको लक्ष्य दिएको थियो। चैतको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको भन्सार अधिकृत गोपाल खत्रीले बताए। आयात कम भएकाले त्यसको असर राजस्व संकलनमा परेको उनको भनाइ छ। ‘चैतभन्दा पहिलेका ५ महिनामा पनि लक्ष्य लगातार पूरा हुन सकेको थिएन’, उनले भने, ‘तर, चैतमा ६४ प्रतिशत मात्र राजस्व उठेको देख्दा हामीलाई आश्चर्य लागेको छ। किन अप्रत्याशित गिरावट भनेर हामी खोजीनीति गरिरहेका छौं ।’ उनका अनुसार साउनदेखि चैतसम्म नौ महिनामा भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै ४५ अर्ब १ करोड मूल्यको सामान आयात भएको छ। अघिल्लो वर्षको चैत महिनामै ६३ अर्ब ९१ करोड मूल्यको सामान भित्रिएको थियो। विभागले जसरी लक्ष्य बढायो त्यसअनुरूप व्यापार नबढेकाले आयातमा कमी आई राजस्व लक्ष्य पूरा गर्न नसकिएको उनले सुनाए। विभागले राजस्व असुलीको लक्ष्य बढी तोकेर पठाएको सूचना अधिकारी मनीष महतोले बताए। तर, बजारमा व्यापाररव्यवसाय घटेको असर राजस्व असुलीमा परेको उनको भनाइ छ। ‘विभागले ६ महिनायता पहिलेभन्दा ३० प्रतिशत बढाएर लक्ष्य दिएको छ’, उनले भने, ‘तर, व्यापार घटेको छ। मुलुकमा आर्थिक मन्दी पनि छ। जसका कारण भारत तथा तेस्रो मुलुकबाट आयात कमी आएकाले लक्ष्य भेटाउन नसकिएको हो ।’ उनका अनुसार सबैभन्दा बढी राजस्व उठ्ने सवारी साधन र औद्योगिक कच्चा पदार्थको पैठारीमा कमी आएको छ। वार्षिक लक्ष्य पूरा गर्न गाह्रो हुने संकेत देखापरिसकेको उनले बताए। ‘फागुनदेखि अझ थपेर मासिक साढे १५ अर्बभन्दा बढीको लक्ष्य दिइएको छ’, उनले भने, ‘विभागले लक्ष्य बढाउँदै गएको छ तर सामानको पैठारी भने घट्दै गएको छ।’ फागुनमा १२ अर्ब ३४ करोड १९ लाख ३४ हजार राजस्व उठेको थियो। यो लक्ष्यभन्दा ३ अर्ब १० करोड २५ लाख ९३ हजार अर्थात् २० प्रतिशत कम हो । माघमा १० अर्ब ४१ करोड ८५ लाख ५ हजार मात्र संकलन भयो । यो लक्ष्यभन्दा ३ अर्ब ३० करोड ९९ लाख ६३ हजार (२४ प्रतिशत) कम हो। पुसमा २ अर्ब ५३ करोड २८ लाख ७२ हजार (१९ प्रतिशत), मंसिरमा २ अर्ब १५ करोड ९ लाख ३० हजार (१६ प्रतिशत) र कात्तिकमा २ अर्ब ६६ करोड ७५ लाख ५५ हजार (२१ प्रतिशत) कम राजस्व संकलन भएको थियो । पुसमा ११ अर्ब १९ करोड ५५ लाख ९६ हजार, मंसिरमा ११ अर्ब ५७ करोड ७५ लाख ३८ हजार र कात्तिकमा ११ अर्ब ६ करोड ९ लाख १३ हजार मात्र उठेको तथ्यांकमा छ। नौ महिनामा लक्ष्यभन्दा १४ अर्ब ४१ करोड ७५ लाख कम संकलन भएको छ। विभागले साउनदेखि चैतसम्म १ खर्ब २३ अर्ब ५५ करोड ६२ लाख ११ हजारको लक्ष्य दिएको थियो। तर, लक्ष्यभन्दा १४ अर्ब ४१ करोड ७५ लाख ९२ हजार ९१२ प्रतिशत० कम अर्थात् १ खर्ब ९ अर्ब १३ करोड ८६ लाख १९ हजार मात्र राजस्व उठेको छ। साउनदेखि असोजसम्म भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो ।

नेपालमा वार्षिक ४५ अर्ब बराबरको औषधी कारोवार

काठमाडौं, बैशाख ०६ । नेपालमा वार्षिक रु ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ । नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले देशमा कूल २१ हजार औषधिको व्यवसायमा आबद्ध भएको जानकारी दिए । गुणयुक्त, जनसुरक्षित औषधि सुलभ तरिकाले जनसमक्ष पुर्याउने उद्देश्यका साथ सङ्घको स्थापना भएको बताउँदै उनले प्रादेशिक संरचनामा आधारित संशोधित विधानअनुसार राष्ट्रिय अधिवेशन गर्न लागिएको जानकारी दिए । अधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि देशभरबाट २७० प्रतिनिधिले मतदानमा भाग लिने सङ्घले जनाएको छ । रासस

विश्व बैंकः यसपालि नेपालमा दक्षिण एसियाकै तेस्रो उच्च आर्थिक वृद्धि

काठमाडौं, चत २६ । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो । भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ । यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर अफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदै छ । आगामी वर्षमा नेपालको आर्थिक वृद्धि बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आउने दुई वर्ष २०२० र २०२१ मा क्रमशः ६ दशमलव १ र ६ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । ‘पर्यटनका कारण सेवा क्षेत्रको वृद्धिदर उच्च हुनेछ । आगामी वर्षबाट मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन आउने भएकाले त्यसले उत्पादनमूलक क्षेत्रमा पनि उत्साह ल्याउनेछ,’ प्रतिवेदनले भनेको छ । प्रतिवेदनले दक्षिण एसियामा संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि हुने जनाएको छ । सन् २०१९ मा यस क्षेत्रमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने र त्यसपछिका दुवै वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने पनि विश्व बैंकको प्रक्षेपण छ । ‘तर, यस क्षेत्रमा आर्थिक वृद्धिलाई दिगो बनाउन मुलुकहरूले निर्यात वृद्धि गर्नुपर्छ,’ वर्षमा दुईपटक छापिने प्रतिवेदनले भनेको छ । ‘विगत केही वर्षदेखि दक्षिण एसियाको निर्यात क्षमता घट्दै गएको छ र अहिले यो क्षमताभन्दा निकै कम छ । दीर्घकालमा यस क्षेत्रले निर्यात बढाउन सक्छ कि सक्दैन, त्यसका आधारमा आर्थिक वृद्धिको दिगोपन निर्भर हुनेछ,’ विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भने । यस क्षेत्रका मुलुकले अन्तर्राष्ट्रिय बजारसँग आफूलाई अझै बढी जोड्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने तथा जनतालाई समृद्ध बनाउनुपर्ने पनि उनले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उत्साहका साथ सकियो लगानी सम्मेलन

काठमाण्डौं, चैत १७ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ । सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए । यस्तै ३०० विदेशी कम्पनी, ६०० नेपाली सहभागी भएका थिए भने १०० वटा स्वदेशी कम्पनीले सहभागिता जनाएर सम्मेलनलाई एउटा उत्सवका रुपमा सम्पन्न गरेका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालमा आउने लगानी र प्रतिफलको सुरक्षामा सरकार कटिबद्ध रहेको, कानूनी तथा नीतिगत सुधार गरिएको र खुला हृदयले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको भन्दै विदेशी तथा स्वदेशी लगानीकर्ताको मन जित्ने प्रयास गरेका थिए । नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भन्दै सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले लगानीका अवसरको सविस्तार वर्णन गरेका थिए । समापन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हरेक क्षेत्रमा लगानी जरुरी रहेको र त्यसका लागि सरकारले उपयुक्त वातावरण बनाएको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। राजनीतिक विषयमा फरकफरक अडान राख्दै आएका राजनीतिक दल, उद्योगी व्यवसायी तथा जानकारले एकै स्वरमा भनेका थिए– नेपालमा लगानी गर्न आउनुस्, हामी उच्च प्रतिफल हुने वातावरण बनाउँछौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार अर्थतन्त्रको शुरुआतीसँगै नेपालको निजी क्षेत्रले गरेको प्रगतिको फेहरिस्त मात्रै प्रस्तुत गर्नुभएन, नाफा कमाउन र लगानीको सुरक्षाका लागिसमेत नेपाल आउन आग्रह गर्नुभयो । कोही सत्तापक्ष थिएन, कोही प्रतिपक्ष पनि भएन, सबै नेपाली भएर एकै स्वरमा संसारभरबाट नेपालमा आएका लगानीकर्तालाई सम्बोधन गर्दै भनेका थिए–विकसित देशमा समेत सानातिना समस्या रहन्छ, त्यस्ता समस्यासमेत नेपालमा छैन । भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलोमात्रामा लगानी जरुरी रहेको भन्दै लगानी बोर्डले आयोजनाको विशेषतासहितको प्रस्तुतिसमेत गरेको थियो । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घका प्रतिनिधिले सरकारको भनाइमा नै होस्टेमा हैसै गर्दै खुला हृदयका साथ लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका थिए । लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व प्राप्त गरेको नेपालले सहज लगानीका लागि पछिल्लोपटक कानूनमा गरेको सुधार, एकल सेवा केन्द्रमार्फत सेवा दिने प्रणालीको स्थापना, संस्थागत र संरचनागत सुधारले पनि लगानीमैत्री बनेको सन्देश सम्मेलनले दिएको छ । सम्मेलनमा भएका समझदारी शुरुआत मात्रै भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले केही समयभित्रै सकारात्मक प्रभाव देखिने बताए । नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिएर नेपालले विश्व रङ्गमञ्चमा बेग्लै पहिचानको सञ्चारसमेत गरेको छ । सम्मेलनमा सहभागीलाई सरकारले प्रदान गरेको न्यानो आथित्वताले पनि उनीहरुलाई आकर्षित गरेको थियो । सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल समृद्धिको यात्रामा रहेको र विश्वका लगानीकर्ताका लागि सुगमस्थल रहेको सन्देशसमेत सम्मेलनले दिएको छ । सम्मेलनकै क्रममा निर्माणमा गइसकेको अरुण तेस्रोमा वित्तीय व्यवस्थापन भएको छ । यस्तै लामो समयदेखि निर्माणमा जान इच्छुक रहेको माथिल्लो त्रिशूलीमा समेत लगानी जुट्ने सुनिश्चितता भएको छ । गैरआवासीय नेपालीसमेत मातृभूमिको विकासका लागि संस्थागतरुपमा लगानी जुटाउन प्रतिबद्ध देखिएका छन् । नेपालमा लामो समयदेखि लगानी गर्दै आएका एशियाली विकास बैंक, विश्व बैंकजस्ता संस्थाले थप लगानी गर्ने प्रतिबद्धता जनाएर सरकारको प्रयासमा सार्थक सहयोग गर्ने वचन दिएका छन् । यसले नेपालको छविसमेत उच्च बनाउन बल पुगेको छ । नेकपा नेतृत्वको वर्तमान सरकारले राजनीतिक विषयलाई भन्दा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेको, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबैजसो दलको एउटै प्रतिबद्धता रहेको सन्दर्भमा सम्मेलनले नेपालको हित पहिल्याउने दिशामा सार्थक प्रयास गरेको छ । जस्तोसुकै ढाँचाबाट भए पनि नेपालमा लगानी गर्न आग्रह गर्ने नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल लगानीका लागि स्वर्ग जस्तै रहेको बताउने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणादेखि छलफल शत्रमा सहभागी विज्ञलेसमेत लगानीकर्तालाई विश्वासमा लिन कुनै कसर बाँकी राखेका थिएनन् । सम्मेलनले नेपाल सुगम गन्तव्य हो, चीन र भारतजस्ता उदयमान अर्थतन्त्रको बीचमा रहनुको फाइदा सहजै लिन सक्छ भन्ने स्पष्ट र सोझो सन्देशसमेत प्रवाह गर्न सफल भएको छ । सम्मेलनका क्रममा प्रस्तुत गरिएको हुड्के, तामाङ सेलो, साकेलाले पनि नेपालको विधितालाई झल्काउने प्रयास गरेको थियो । रासस

कृषि पेशाबाटै वैदेशिक रोजगारीलाई टक्कर दिने मुनाफा (भिडियोसहित)

उमेश बन्जाडे, दाङ । राज्यले अझैसम्म असली कृषकहरुको पहिचान गर्न नसकेको गुनासो धेरै पहिलेदेखि बाहिर आइरहेको । देशका अन्य क्षेत्रमा जस्तै कृषिमा पनि टाठाबाठाहरुकै हालीमुहाली रहेको कुरा प्रष्ट छ । यदाकदा राज्यले ल्याउने कृषि अनुदान वा कृषिसँग जोडिएका कार्यक्रमहरु पनि चतुर सरदार र ठेकेदारकै मुठ्ठीमा कैद हुनेगरेको कृषकहरु बारम्बार दुखेसो पोखिरहन्छन्। प्रायः नेपाली युवाहरुले रोजगारीको गन्तव्यका रुपमा यतिबेला विदेशलाई छनोट गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक बाहिरिने हजारौं युवाहरुमध्ये अधिकांशले अरब र खाँडीमा पैताला टेक्छन् भने केही युरोपतिर लाग्छन् । गाउँमा युवाहरूको खडेरी परेको छ । यद्यपि ‘गर्नसके स्वदेशकै माटोमा सुन फलाउन सकिन्छ’ भन्ने मान्यतालाई मनन गर्दै दाङ, देउखुरीका एक युवाले कृषि पेशा बाटै मनग्ये आमदानी गर्दै आइरहेका छन् । दाङको लमही नगरपालिका ४ भैंस्कोर्माका युवा कृषक रमाकान्त चौधरी २० वर्षदेखि कृषि पेसामा आवद्ध छन् । उसोत थारु समुदायको बाहुल्यता रहेको त्यो गाउँका रमाकान्त चौधरी मात्रै होइनन् । अन्य स्थानीयले पनि तरकारी लगायतका कृषिजन्य वस्तुको उत्पादन गर्छन् । दिनभर खेतिपातीमा व्यस्त रहने त्यहाँका कृषकहरु उत्पादित तरकारी निर्यातका लागि विहानै आसपासका गाउँ हुँदै बजारसम्म पुग्छन् । रमाकान्त चौधरीको पनि उसैगरी दैनिकी बितिरहेको छ। तुलनात्मक रुपमा रमाकान्त चौधरी अल्लि बढी मात्रामै कृषिमा निर्भर रहेको उनी स्वयं बताउँछन् । विदेशमा जत्तिको पसिना बगाए स्वदेशमै थुप्रै मुनाफा गर्न सकिनेमा उनी विश्वस्त छन् । बाँकी हेर्नुस् तलको भिडियोमा–

डाटासेन्टरमा समस्या आएपछि शेयर खरिबिक्री समेत प्रभावित

काठमाडौं, चैत १४ । बुधबार शेयर दलालहरूको भेण्डर कम्पनीको डाटा सेन्टरमा समस्या आएपछि शेयर खरिदबिक्री समेत प्रभावित भएको छ । सेन्टरको फायरवाल तथा राउटरमा समस्या आएपछि बुधबार नेपाल स्टक एक्सचेन्जले साँझ ६ बजेसम्म शेयर कारोबार खुला गर्नुपरेको हो । अनलाइन कारोबार प्रणालीको ब्रोकर ट्रेड म्यानेजमेन्ट सिष्टमको पूर्वाधारमा आएको खराबीका कारण शेयर कारोबार नै रोकिएको थियो । तर, नेप्सेले उक्त समस्या समाधान भएपनि पुनःशेयर कारोबारको समय थप गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । भेण्डर कम्पनीको टीएमएस प्रणालीको राउटर अर्थात फायरवालमा आएको समस्याले लगानीकर्ता सेयर कारोबारबाट वञ्चित हुनुपरेको हो । अनलाइन कारोबार प्रणाली सुरु गर्ने समयमा शेयर दलालहरूलाई डाटा सेन्टर राख्नका लागि भनिएकोमा आफैंले प्रणाली नराखी भेण्डर कम्पनीको सहायता लिइ काम गर्दै आएका छन् । सेन्टरमा आएको समस्याले ब्रोकरहरू अनलाइन प्रणालीमा लगइन हुन सकेनन् । बुधबार नेप्सेको कारोबार प्रणालीमा नभई ब्रोकर कम्पनीको डाटा सेन्टरमा समस्या आएको साउदको भनाइ छ । वैकल्पिक फयरवाल जडान भैसकेपछि कारोबार अवरुद्ध भएको एक घण्टा १० मिनेको समय नियमित समयभन्दा पछि कारोबार गरेको हो । नेप्सेको कारोबार प्रणालीमा नभई डाटा सेन्टरमा समस्या आएको हुनाले बुधबारको कारोबारमा समस्या आएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले बताए ।

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक

काठमाडौं, चैत १२ । विगत १८ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस)को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच रू. ५० लाखसम्मको जोखिम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको हो । विभिन्न समयमा समयसापेक्ष उत्कृष्ट योजनाहरू ल्याइरहेको यस कम्पनीले समयको माग र सेवाग्राहीहरूको आवश्यकतालाई दृष्टिगत गरी यो योजना सार्वजनिक गरेको जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भने, ‘हामीले आमसर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्न सक्ने आर्थिक संकटलाई दृष्टिगत गरी यो योजना अघि सारेका हौं । हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले हाम्रा सेवाग्राहीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं ।’ कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बीमा अवधिमा तोकिएका घातक रोग लागेमा बीमाले जोखिम बहन गर्नेछ । साथै, साविकको योजना भने बीमा अवधिसम्म चालू रहनेछ । यस पूरक करारले थप जोखिम बहन गर्नेछ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्नेछन् । यस योजनामा क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको–डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ । यस योजनामा सहभागी हुन नियमित बीमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ । जीवन बीमा बजारमा झण्डै एकतिहाइ भाग ओगटेको यस कम्पनीले विभिन्न योजनामार्फत सेवाग्राहीहरूलाई उच्चतम लाभ तथा प्रतिफल प्रदान गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले घटाउन थाले कर्जाको ब्याजदर

काठमाडौं, चैत ११ । उद्योग व्यवसायीले चर्काे ब्याजको व्यापक विरोध गरेपछि बैंकहरूले बिस्तारै कर्जाको ब्याजदर घटाउन थालेका छन् । पुसको सुरुदेखि नै ब्याजदर घट्ने भनिए पनि पुसको दोस्रो सातातिर मात्रै केही बैंकले कर्जाको ब्याजदर घटाउने प्रयास गरेका छन् । दुई महिनाअघि बैंकको आधार दर (बेसरेट) १० दशमलव ३० प्रतिशतको हाराहारीमा थियो भने अहिले घटेर ९ दशमलव ५० प्रतिशतमा झरेको छ । जसले गर्दा ब्याजदर घट्न थालेको छ । यतिबेला सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा सरकारी स्वामित्वमा सञ्चालित वाणिज्य बैंकहरूले बेसरेट सबैभन्दा तल झारेका छन् भने निजी बैंकहरूले पनि विस्तारै घटाउँदै लगेका छन् । राष्ट्रिय वाणिज्यको सबैभन्दा कम बेसरेट छ । यस बैंकको बेसरेट ५ दशमलव ६० प्रतिशत छ । ४ प्रतिशत प्रिमियम जोड्दा पनि यस बैंककोे ब्याजदर १० प्रतिशतभन्दा कमै हुन्छ । बैंकिङ प्रणलीमा तरलता केही सहज भएपछि बैंकहरूले विस्तारै बेसरेट घटाउँदा कर्जाको ब्याजदर घट्दै गएको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सेन्चुरी कमर्सियल बैंकको बेसरेट सबैं बैंकको तुलनामा बढी छ । सयस बैंकको बेसरेट ११ दशमलव ५० प्रतिशत छ । यसमा प्रिमिय जोड्दा कर्जाको ब्याजदर १५ प्रतिशत हाराहारीमा पुग्छ । बैंकले बेसरेटमा ४ देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । बेसरेट कम हुँदै जाँदा कर्जाको ब्याजदर कम र बेसरेट बढ्दा ब्याजदर पनि बढ्छ । सरकारी स्वामित्वको नेपाल बैंकको ६ प्रतिशत बेसरेट छ । त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकको ७ दशमलव ६७, नबिल बैंकको ७ दशमलव ९१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ८ दशमलव ९६ प्रतिशत बेसरेट छ । त्यसैगरी, एभरेस्ट बैंकको ८ दशमलव २२ प्रतिशत, ग्लोबल आईएमई बैंकको ९ दशमलव ७, हिमालयन बैंकको ९ दशमलव १३, एनआईसी एसियाको ९ दशमलव ३० बेसरेट छ । बैंकको १०, बैंक अफ काठमाण्डुको १० दशमलव २८, प्राइम कमर्सियल बैंकको १० दशमलव १७, लक्ष्मी बैंकको १० दशमलव ३६, नेपाल बंगलादेश बैंकको १० दशमलव ४१, सिद्धार्थ बैंकको १० दशमलव ५९, सनराइज बैंकको १० दशमलव ६३, एनसीसी बैंकको १० लशमलव ७६, माछापुछ्रे बैंकको १० दशमलव ७८ प्रतिशत बेसरेट छ । त्यस्तै, जनता बैंकको १० दशमलव ७६, मेगा बैंकको १० दशमलव ८३, सिटिजन्स बैंकको ११, कृषि विकास बैंकको ११ दशमलव १५, सिभिल बैंकको ११ दशमलव २४ र कुमारी बैंकको ११ दशमलव ३८ प्रतिशत बेसरेट छ । केही वर्ष यता बैंकहरूले आक्रामक रूपले लगानी गर्दा बैंकिङ प्रणालीमा लगातार तरलता(लगानी योग्य पुँजी) अभाव भएको थियो । जसका कारण बैंकहरूले महँगो ब्याजमा निक्षेप उठाउनुपरेको थियो । महँगोमा निक्षेप उठाउँदा बैंकको बेसरेट बढ्ने भएकाले कर्जाको ब्याजदर पनि स्वतः बढ्ने गर्छ । त्यसैले बैंकले महँगोमा उठाएको निक्षेप ब्याजदर १५ प्रतिशतभन्दा बढी पुगेकोे भन्दै उद्योग व्यवसायीले आन्दोल नै चलाएपछि बैंकहरूलाई सरकारको दबाबपछि विस्तारै ब्याजदर घट्न थालेको हो । बेसरेट निर्धारण गर्दा बैंङको निक्षेप लागत (कस्ट अफ फन्ड), वैधानिक तरलता अनुपात (एसएलआर), अनिवार्य नगद अनुपात (सीआरआर) तथा सञ्चालन खर्च जोडेर गरिने व्यवस्था छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

दैनिक १ रुपैयाँ अभियानबाट ९ करोड बढी संकलन

गैंडाकोट, चैत १० । थोपा–थोपा मिलेर समुद्र बन्न सक्छ । दैनिक १ रुपैयाँ बचत गर्ने अभियान हाल ९ करोड १५ लाख बढीको कारोबार गर्ने बनेको छ । गैंडाकोट–२ मा रहेको सुम्निमा युथ क्लबको अगुवाईमा सा–सानो लगानी जुटाउन सुम्निमा बचत तथा ऋण सहकारी खुल्यो । कृषि र पशुपालनबाट जिविकोपार्जन गरेको समुदायमा दैनिक बचतको अवधारणा जन्मियो । २०५० चैत १३ गते ३३ जनाको भेलाले बचत अभियान चलाए । ‘थोरै ऋण पनि बैंक तथा साहुका शर्तले निराश समुदायलाई सहकारीले जागरुक बनायो,’ सहकारीका पूर्व अध्यक्ष प्रकाश पौडेलले भने, ‘धितो विना ऋण पाइने वातावरण बन्यो, धेरैलाई व्यवसायतर्फ उन्मुख गरायो ।’ मल, उन्न्त बीउ विजन खरिद, व्यावसायिक कृषि खेती, व्यवसाय सुरु तथा विस्तारमा सुम्निमा साथी बनेको उनको भनाइ छ । ‘विपन्न समुदायलाई वित्तीय पहुँच पुर्याएको छ,’ उनले भने, ‘सबैले गरेको वचतबाट लगानी रकम जुटाएको छ, सहकार्यको भावना विकास भएको छ ।’ यो सहकारीमा २०७२ साल चैतमा कावासोतीको ग्रामीण बहुउद्देश्यी सहकारी एकीकरण भयो । अहिले नाम सुम्निमा ग्रामीण बनेको छ । यो सहकारीबाट नवलपुरका ८ स्थानीय तहका स्थानीय सेयर सदस्यका रूपमा छन् । ३३ जनाबाट सुरु भएको सहकारीमा २ हजार ६ सय ३ सेयर सदस्य छन् । ७ करोड ३२ लाख ९२ हजार ९ सय १ रुपैयाँ ऋण लगानी गरेको छ । ६ करोड ९५ लाख ९१ हजार २ सय ७ रुपैयाँ बचत छ । शेयर रकम १ करोड २३ लाख ४ हजार ७ सय पुगेको छ । ३८ लाख ६१ हजार २ सय ६८ बराबरको स्थिर सम्पत्ति बनाएको छ । ५६ लाख १७ हजार ९ सय ७१ बराबरको संस्थागत पुँजी पुगेको छ । १३ जना कर्मचारी खटिएका छन् । सुरुमा मासिक ३० बचत अभियान चलाएको सहकारीले हाल २ सय रुपैयाँ मासिक बचत गर्दै आइरहेको छ । बाल बचत, खुक्रुके बचत, दैनिक बचत, ऐच्छिक बचत, ज्येष्ठ नागरिक बचत गर्दै आइरहेको छ । ‘सबैलाई आवश्यक पर्दा लगानी हँुदै आएको छ,’ अध्यक्ष छायादत्त पाण्डेले भने, ‘साना ऋणीलाई बढी सेवा दिएका छौँ ।’ धेरै ऋण लगानी भन्दा थोरै लगानी धेरैलाई गर्ने निती अवलम्बन गरिएको उनको भनाइ छ । व्यावसायिक, आकस्मिक, वैदेशिक रोजगारी, हायर पर्चेजलगायतमा ऋण लगानी भइरहेको उनले बताए । ‘सहकारीकै लगानीले व्यवसायमा अब्बल बनेका धेरै उदाहरण छन्,’ उनी भन्छन्, ‘बचत गर्नेबानी विकास भएको छ, सबै मिलेर काम गर्ने प्रवृत्ति बढेको छ ।’ उनका अनुसार गतअसारसम्म ६८ जनाले कृषिमा, १ सय ७९ जनाले व्यवसायमा र ७ जनाले हायरपर्चेज (सवारी खरिद) मा ऋण लिएका छन् ।‘अनुत्पादक क्षेत्रमा लगानी रोकेका छौँ,’ उनले भने, ‘व्यावसायिक योजनासहित माग गरेमा ब्याजमा सहुलियत पनि दिने गरेका छौँ ।’ सहकारीका सचिव गणेश उपाध्यायले ८ स्थानीय तहमै सेवा केन्द्र सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘सेवा केन्द्र थप्ने योजनामा छौँ,’ उनले भने, ‘सहज सेवा विस्तार गर्ने लक्ष्य छ ।’ ४९ सहकारीको समन्वय गर्दै आइरहेको सहकारी समन्वय मञ्च गैडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलले सहकारीले लगानी प्रवाहमा सहयोग गरेको बताउँछन् । ‘गैंडाकोट क्षेत्रमा मात्रै सहकारीमा ७ अर्ब बचत छ,’ उनले भने, ‘१ लाख १० हजार जना सहकारीमा आबद्ध छन्, ऋण लिन साथी बनेका छन् ।’ रजत महोत्सवका कार्यक्रम सार्वजनिक सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी गैंडाकोटले रजत महोत्सवका सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जनाकारी गराइएको छ । ८ गते कावासोती केन्द्रमा अन्तरक्रिया, शिलान्यास चोकमा ९ गते निःशुल्क स्वास्थ्य शिविर र १० गते अन्तरक्रिया गरिने छ । यस्तै ११ गते सरसफाइ कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता गरिने अध्यक्ष छायादत्त पाण्डेले बताए । यस्तै १२ गते सेयर प्रमाणपत्र वितरण, महिला खेलकुद कार्यक्रम गर्ने, १३ गते रजत महोत्सव समापन, पुरस्कार वितरण, स्मारिका विमोचन हुने जनाइएको छ । कारोबारदैनिकबाट