दूरसञ्चार सेवा प्रदायक एनसेलको ‘अप्रत्याशित’ छुट खरिद
काठमाडौंः गत आर्थिक वर्षमा शून्य प्रायः रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर छुट खरिदबापतको रकम अप्रत्याशित रूपमा बढेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने वस्तु तथा सेवा खरिदबापत देखाउन सकिने खर्च शीर्षकअन्तर्गत कम्पनीले ठूला करदाता कार्यालयमा अर्बौं रकम छुट खरिदका रूपमा देखाएको हो । कार्यालयले यस्तो रकमलाई ‘अप्रत्याशित’ वृद्धिका रूपमा मूल्याङ्कन गरेको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा बहुराष्ट्रिय कम्पनीतर्फ यस्तो छुट खरिद २१ करोड रुपियाँ मात्र रहेकामा यो वर्ष त्यस्तो रकम १९ अर्ब रुपियाँ पुगेको छ । उक्त रकममध्ये १८ अर्ब ८० करोड रुपियाँ एउटै करदाता (एनसेल)को रहेको कार्यालयको तथ्याङ्क छ । अघिल्लो वर्ष यस्तो रकम शून्य रहेको पनि कार्यालयले स्पष्ट पारेको छ । १८ अर्ब ८० करोड रुपियाँमध्ये १३ अर्ब ६० करोड रुपियाँ नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको पाइएको छ । प्राधिकरणलाई बुझाएको रकमका कारण पनि बहुराष्ट्रिय कम्पनीतर्फको छुट खरिदमा अप्रत्याशित वृद्धि भएको कार्यालयको ठहर छ ।
दूरसञ्चार सेवा प्रदायकहरूको आम्दानी घट्दा पनि बहुराष्ट्रिय कम्पनीतर्फको छुट खरिदतर्फको रकम भने बढेको पाइएको हो । कार्यालयका अनुसार एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको बिक्री गत वर्षको पहिलो त्रैमासिकको तुलनामा १.७८ प्रतिशतले घटेको छ । यद्यपि एनसेलको बिक्रीबापतको आम्दानी भने गत आवको असोजसम्मको तुलनामा चालू आवको असोजसम्म चार करोडले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा एनसेलको आम्दानी १५ अर्ब ४४ करोड थियो जुन समीक्षा अवधिसम्म १५ अर्ब ४८ करोड रुपियाँ पुगेको छ ।
बिक्रीमा खासै अन्तर नदेखिए पनि एनसेलको खरिद रकममा भने व्यापक वृद्धि देखिएको हो । कार्यालयका अनुसार अघिल्लो आवको पहिलो त्रैमासिकमा तीन अर्ब ७५ करोड रुपियाँको खरिद गरेकामा एनसेलले चालू आवको सोही अवधिसम्म २३ अर्ब ९१ करोड रुपियाँको खरिद गरिसकेको छ । अर्थात् एनसेलको खरिद मात्र २० अर्ब १६ करोड रुपियाँले बढेको छ । यस्तो खरिदमा कम्पनीले छुट खरिदको अंश तुलनात्मक रूपमा अत्यधिक बढी देखाएको पाइएको हो । आर्थिक ऐनमा कर छुटको व्यवस्था भएका वस्तुमा सम्बन्धित कम्पनीले कार्यालयमा बुझाउने आफ्नो वित्तीय विवरणमा यस्तो कर छुट खरिद देखाउन सक्छन् ।
आर्थिक ऐनमा व्यवस्था भएबमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा ग्रामीण क्षेत्रमा सेवा पुर्याउने दूरसञ्चार सेवा प्रदायक वा दूरसञ्चार सेवा स्थापना गरी सञ्चालन गर्ने सरकारी वा निजी क्षेत्रका निकायले एक्स्चेन्ज स्थापना तथा नेटवर्क विस्तारका लागि आयात गर्ने केबुल तथा ब्याट्रीमा सात प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था छ । यद्यपि दूरसञ्चार कम्पनीले आयात गर्ने अधिकांश वस्तु दूरसञ्चार उपकरणसम्बन्धीकै सामग्री हुने भएकाले यस्तो उपकरणमा भ्याट छुटको व्यवस्था भने छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो त्रैमासिकसम्म सात अर्ब ५९ करोड रुपियाँको दूरसञ्चार उपकरण तथा पार्ट्स आयात भएको छ । एनसेलबाहेक अन्य दूरसञ्चार सेवा प्रदायकले आयात गर्ने उपकरणको लागत पनि यसमै समेटिएको हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
धितोपत्र बजारमा आज सुधार
काठमाडौं– मङ्गलबार झिनो अङ्कले गिरावट आएको धितोपत्र बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७४ अङ्कले बढेर २४७.२३ मा पुगेको छ । परिसूचक बढेपनि मङ्गलबारको तुलनामा कारोबार रकममा भने गिरावट आएको छ । मङ्गलबार रु २९ करोड ५८ लाख ६९ हजार १८० को कारोबार भएकामा आज कुल १६५ कम्पनीको सात लाख ३८ हजार ४४६ कित्ता शेयर रु २१ करोड २३ लाख ६३ हजार ७३६ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ । सो उपसमूहको शेयर २६.१३ अङ्कले घटेको छ । बैङ्किङ उपसमूह ४.९३ अङ्कले बढ्दा होटल १२.६४, विकास बैङ्क १४, जलविद्युत् ७.५२, वित्त ५.४१, निर्जीवन बीमा २६.६८, उत्पादन २२.५९, अन्य १०.२१, लघुवित्त १४.९३, जीवन बीमा ६०.१८ र सामूहिक लगानी कोषको शेयर ०.२५ अङ्कले बढ्यो । स्टकका अनुसार कारोबार रकमका आधारमा आज एनएमबी बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु दुई करोड ७५ लाख १९ हजार ३९२ मा खरिदबिक्री भयो । यस्तै हिमालयन डिस्टिलरीको रु एक करोड ७४ लाख ५४ हजार ९०, नबिल बैङ्कको रु एक करोड ३४ लाख ९२ हजार १३०, नेपाल बैङ्क लिमिटेडको रु एक करोड १२ लाख ८३ हजार ४७१ र एनआइसी एशिया बैङ्कको शेयर रु ६७ लाख ६३ हजार १०१ मा कारोबार भयो । परिसूचक बढेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ६.९२ प्रतिशतले गुमाए । यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१९, नबिल इक्विटी फण्ड ३.८४, वरुण हाइड्रोपावर कम्पनी २.२२ र पाँचथर पावर कम्पाण्ट लिमिटेडका शेयरधनीले १.९८ प्रतिशतले गुमाए । रिडी हाइड्रोपावरका शेयरधनीले १० प्रतिशतले कमाउँदा गुर्खाज् फाइनान्स ९.४३, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट ६.५२, गुराँस लघुवित्त वित्तीय संस्था ६.२५ र एनएमबी हाइब्रिड फण्ड–१ का लगानीकर्ताले ५.८४ प्रतिशतले कमाए ।
नेप्सेमा पहिरो, दोहोरो अंकले घट्यो आज
काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.०३ विन्दुले घटेर २४४.८६ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भयो । कूल १६२ कम्पनीको ९ लाख २९ हजार ७४४ कित्ता शेयर २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसारका कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १०.४७, व्यापार ३९.८६, होटल १०.८३, विकास बैंक १०.३९, जलविद्युत् ७.६, वित्त ५.४१, निर्जीवन बीमा ५७.१५, उत्पादन २०.५१, अन्य ४.६६, लघुवित्त ६.३४, जीवन बीमा ४८.०८ र सामूहिक लगानी कोष ०.०९ विन्दुले घटेको छ । नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ११ लाख ५९ हजार ४०० बराबरको शेयर कारोबार भयो । नेपाल बैंक लिमिटेड रु एक करोड ३७ लाख ८३ हजार ९१६, साना किसान विकास बैंक रु एक करोड २० लाख, स्ट्यान्र्डड चार्टड बैंक रु एक करोड ७८ हजार ९११ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार नेशनल हाइड्रोपावर चार, अपि पावर ३.८८, लक्षमी लघुवित्त वित्तीय संस्था ३.०७ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले २.५८ प्रतिशतले कमाउँदा साल्ट ट्रेडिङ कर्पोरेशन ९.९०, गुर्खाज फाइनान्स ५.४०, पु्रडेन्डियल इन्स्योरेन्स ५.२६, गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.८२ प्रतिशतले गुमाए ।
४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो । बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने अवधिका लागि रु दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि रु ११ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर २ गते पनि पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
विदेशी लगानीमा फड्का, १५९ प्रतिशतले बढ्यो लगानी
काठमाडौंः गत आर्थिक वर्षमा तुलनात्मक रूपमा कम विदेशी लगानी भित्रिएकोमा चालू आर्थिक वर्षमा भने यसको प्रवृत्तिमा व्यापक सुधार देखिएको छ । लगानी रकमका हिसाबले चालू आवको तीन महिनाभित्रै नेपालले करिब चार अर्ब रुपियाँ भित्र्याएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५८।७ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिसम्म नेपालले एक अर्ब ५४ करोड ३२ लाख रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो । गत आर्थिक वर्षभर नेपालले कुल १३ अर्ब सात करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो । जुन त्यसअघिको आव २०७४÷७५ को तुलनामा ७४।६ प्रतिशतले कम थियो । विदेशी लगानीमा भएको गिरावटको प्रवृत्तिमा सुधार गर्दै समीक्षा अवधिमा साढे दुई गुणाभन्दा बढी लगानी नेपाल भित्रिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
जुम्लामा १० लाख बराबरको कृतिम माला
काठमाडौंः नेपालीको महान् दोस्रो चाडपर्व तिहारका बेला जुम्लाका साना ठूला बजार कृतिम फूलले भरिभराउ छ । यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाइँदैन, स्थानीयबासी पनि कृतिम फूलकै भर पर्ने गरेका छन् । यहाँका बासिन्दा पहिले आफैँ घरका खेतबारीको फूल तिहारमा घरायसी प्रयोगका लागि सयपत्री फूल रोप्ने गर्दथे तर कर्णाली राजमार्गले जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सबै कृतिम प्लाष्टिकका फूलको भर पर्ने गरेका हुन् । सदरमुकाम खलङ्गाका हरेक पसलमा प्लाष्टिकका माला बिक्रीका लागि राखिएका छन् । स्थानीयवासी सयपत्री फूलको साटो प्लाष्टिकका माला भित्रिन थालेपछि यहाँका बासिन्दामा परनिर्भरता बढेको हो ।तातोपानी गाउँपालिका–२ का मुनबहादुर डाँगीका अनुसार पछिल्ला तिहारमा सयपत्री फूलको माला भेटिन छाडेको छ । उनले भने, “पर्याप्तरुपमा फूल रोप्न सके जुम्ला फूलमा आत्मनिर्भर बन्ने सम्भावना निकै छ तर हरेक तिहारमा भित्रिने प्लाष्टिकका मालाका कारण फूलको खेती गर्न किसान निरुत्साहित भएका हुन् ।” मौसममा आएको परिवर्तनका कारण फूल फूल्ने क्रममा पनि फेरवदल भएको छ । समयमै तुसारो पर्ने गरेकाले फूलेका फूल पनि सुक्दै जान थालेको छ । तिहारसम्म बारीमा देखिने फूल सुक्दै जान्छन्, उनले भने, फूलको रेखदेख र हेरचाह गर्न सके प्लाष्टिकका माला भित्र्याउनुपर्ने अवस्था छैन । वर्षेनी रु सातदेखि रू १० लाखसम्मको फूल जुम्लामा भित्रिने गरेको व्यवसायीहरू बताउँछन् ।
सामान्य विन्दुले बढ्यो नेप्से परिसूचक
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २५०.१४ मा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसतमा समेटिएको छ । कूल १५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर रु २० करोड ९२ लाख छ हजार ६३१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । निर्जीवन बीमा १०.३४, उत्पादन ३.६ र जीवन बीमा ९.६ विन्दुले घटेको छ । यस्तै बैंकिङ ३.४४ बढ्दा व्यापारको भने कुनै विवरण उल्लेख छैन । होटल १९.४९, विकास बैंक ८.२, जलविद्युत् २.१८, वित्त १.७५, अन्य ६.१७, लघुवित्त ४.६१ र सामूहिक लगानी कोषको पनि विवरण उल्लेख छैन । कारोवारका आधारमा आज सिदार्थ बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ७६ लाख ७४ हजार ६०३ मूल्य बराबरको शेयर कारोवार भएको छ । यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु तीन करोड ६९ लाख ६० हजार, कृषि विकास बैंक रु एक करोड ४० लाख ४१ हजार ६१२, प्रभु बैंक रु एक करोड २८ लाख ५३ हजार ४७१, शिवम् सिमेन्ट रु ६७ लाख ५० हजार १६७, चिलिमे जलविद्युत् कम्पनी रु ६३ लाख ८९ हजारमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३ प्रतिशतले कमाए । सिनर्जी पावर ५.५६, ग्रीन डेभलपमेन्ट बैंक ४.९०, सबैको लघुवित्त वित्तीय संस्था ४.७०, ओरियन्टल होटल ३.९० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.८४ प्रतिशतले आर्जन गरे । त्यस्तै सिटी एक्सप्रेस फाइनान्स कम्पनी ५.८८, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.९४, हिमालयन पावर पार्टनर ३.४७, नेपाल इन्स्योरेन्स कम्पनी ३.३०, एनएमबी माइक्रोफाइनान्स ३.२५ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतले गुमाए
नेप्से परिसूचक ५ अंकले ओरालो
काठमाडौंः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अङ्कले घटेर एक हजार १४०.७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले घटेर २४९.७८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ । आज कूल १६१ कम्पनीका सात लाख ८५ हजार ७४० कित्ता शेयर रु २० करोड ३२ लाख ८७ हजार २३७ मा खरिद बिक्री भयो । आज कारोबार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । सामूहिक लगानी कोष ०.०५ र अन्य उपसमूहको शेयर ६.०४ अङ्कले बढेको छ । त्यस्तै बैङ्किङ ४.५७, होटल ४९.८८, विकास बैंक ६.३४, जलविद्युत् ७.२४, फाइनान्स ०.७९, निर्जीवन बीमा ४८.८२, उत्पादन १७.४१, माइक्रोफाइनान्स २.३९ र जीवन बीमा ५४ अङ्कले घटेको छ । कारोबार रकमका आधारमा आज बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रह्यो । बैंक अफ काठमाडौँको संस्थापक शेयर रु दुई करोड २२ लाख ८४ हजार १६० मा खरिद बिक्री भयो । यस्तै बैंक अफ काठमाडौँको रु एक करोड ९१ लाख ८२ हजार १३४, युनाइटेड फाइनान्सको रु एक करोड ५८ लाख ३४ हजार ६२०, सिद्धार्थ बैंकको रु एक करोड आठ लाख ८६ हजार ५९५ र शिवम् सिमेन्टस् लिमिटेडको शेयर रु एक करोड दुई लाख ४६ हजार ५९ मा खरिदबिक्री भई शीर्ष स्थानमा रहे । परिसूचक घटेपनि नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयरधनीले ६.३८ प्रतिशतले कमाए । यस्तै आँखुखोला जलविद्युत् कम्पनी ५.६६, युनाइटेड फाइनान्स कम्पनी ३.३१, सिन्धु विकास बैंक ३.३१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.३६ प्रतिशतले गुमाउँदा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५.०५, सेन्ट्रल फाइनान्स कम्पनी ४.३८, एनएलजी इन्स्योरेन्स कम्पनी ४.३३ र नाङ्दी ग्रुप पावरका शेयरधनीले ३.९२ प्रतिशतले गुमाए । रासस
आजको विनिमय दरः कुन देशको कति?
काठमाडौंः नेपाली बजारमा साताको दोस्रो दिन आज अमेरिकी डलरसहित प्राय देशको भाउ स्थिर रहेको छ भने केही देशको भाउ थोरै घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय डर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
कस्तो छ आजको विनिमय दर? (तालिकासहित)
काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) अमेरिकी डलरसहित प्रायः देशको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-
साताको शेयर बजारः एक अर्ब ८९ कराडको कारोबार
काठमाडौंः साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै एक हजारको विन्दुमा पुग्न लागेको थियो । तर अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शेयर बजारमा लगानी गर्ने उपयुक्त समय आएको प्रतिक्रिया दिएपछि नेप्से मङ्गलबार र बुधबार भने नयाँ विन्दुमा पुग्यो । साताभर कूल १७२ कम्पनीको कारोवार भयो । साताको तेस्रो दिन मङ्गलबार र चौथो दिन बुधबार बजारमा उछाल नै देखापर्यो । सातारभर ६५ लाख ८६ हजार ८०४ कित्ता शेयर रु एक अर्ब ८९ करोड २७ लाख ४० हजार २७६ मा कारोवार भयो । साताभरको कारोवारमा नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेको छ । यस साता कारोवार मापक सूचक एक हजार १५५.३ अङ्कमा झरेको छ । अघिल्लो साता नेप्से ७९ प्रतिशतले घटेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुग्यो । त्यस दिन कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार पनि सोही लय पहिल्यायो । सो दिन नेप्से १६.१८ विन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ विन्दुमा पुग्यो । नेप्से दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढ्यो । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए । नेप्से परिसूचक २६.९१ विन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकियो । प्रतिशतका आधारमा नेप्से २.३९ प्रतिशतले वृद्धि भयो । कूल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर रु ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरीदबिक्री भए । बुधबार पनि नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुग्यो । कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुग्यो । कूल १६६ कम्पनीको १२ लाख २४ हजार ५७२ कित्ता शेयर रु ३९ करोड ९९ लाख ३० हजार ८७१ मा खरीद बिक्री भए । यस साता शिवम् सिमेन्टको सबैभन्दा बढी कारोवार भयो । सो कम्पनीको रु १५ करोड बराबरको शेयर कारोवार भयो । यस साता बजार पूँजीकरण रु १४ खर्ब ६७ अर्बमा सीमित भयो । बजार पूँजीकरणमा सधै शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकमले यस साता पनि आफ्नै हिस्सा कायम राख्यो । साताभर दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भए । त्यसमा रिलायन्स फाइनान्सको कूल आठ लाख ९१ हजार ८७४ कित्ता शेयर लाभांश र एभरेष्ट इन्सुरेन्स कम्पनीको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर सूचीकृत भए ।
एटीम ह्याकबारे छानबीन समितिले दियो यस्तो सुझाव, मान्लान त बैंकहरु ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । चिनियाँ ह्याकले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणाली नै ह्याक गरी पैसा लुटपाट गरेपछि नेपाल राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले सिसीटिभीको अनुगमन शनिबारलगायत अन्य बिदाको दिनमा समेत नियमितरुपले गर्ने व्यवस्था मिलाउन आवश्यक निर्देशन दिएको छ । समितिले बैंक तथा वित्तीय संस्थाले जारी गरेको चिपरहित कार्डलाई तीन महीनाभित्र चिप बेस्ड कार्डद्वारा विस्थापन गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । बैंक लुटपाट घटनाको अध्ययन गर्न केन्द्रीय बैंकले भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिमा राष्ट्र बैंकका आइटी प्रमुख शिवप्रसाद दुवाडी, अनुज दहाल, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का अध्यक्ष प्रवीण क्षेत्री र बैंकर सङ्घका तर्फबाट रोशन रेग्मी थिए । उक्त समितिले बुधबार राष्ट्र बैंकका गभर्नरलाई प्रतिवेदन बुझाएको छ । बिदाको दिन पारेर नेपाल प्रवेश गरेको चिनियाँ ह्याकरले यही भदौ १४ गते शनिबार बिहान ११ बजेदेखि साँझ ४.३५ सम्म सात वटा बैंकका विभिन्न कार्ड प्रयोग गरी १७ वटा बैंकका ६८ वटा एटिएमबाट रु एक करोड ८९ लाख ४४ हजार ५०० रकम निकालेका थिए । यस्तै भारतका विभिन्न २४ बैंकका १३२ एटिएमबाट भारु एक करोड पाँच लाख ८७ हजार २०० निकालेका थिए । नेपाल र भारतबाट गरी कूल रु तीन करोड ५८ लाख ८४ हजार २० बराबरको रकम झिकेको पाइएको छ । बैंकको एटिएममा रहेको रकम अनाधिकृतरुपमा झिकिएको पाइएपछि केन्द्रीय बैंकले गठन गरेको छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा सो समयमा भएको कारोवारमध्ये केही कारोवार वास्तविक रहेको पाइएको र थप अन्य कारोवारको रुजु गर्ने कार्य जारी रहेकाले क्षति भएको रकम सोभन्दा केही कम हुनसक्ने उल्लेख छ । समितिले गरेको अध्ययनमा उल्लेखित घटना तथा नेपालमा कार्डको प्रयोग गरी हुने भुक्तानी प्रणालीमा देखिएको कमी कमजोरीलाई मध्यनजर गरी सम्भावित जोखिम न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन सुझाव समेत दिएको छ । बैंकले उक्त घटनाको ‘फरेन्सिक एक्पर्ट’ द्वारा सुक्ष्म अध्ययन तथा विश्लेषण गरी प्राप्त सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, पिएसपी र पिएओलाई आआफ्नो सूचना प्रविधि तथा इलेक्ट्रोनिक माध्यमबाट हुने भुक्तानी प्रणालीको जोखिम मूल्याङ्कन गरी जोखिम न्यूनीकरणका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिनुपर्ने समितिको सुझाव छ । त्यस्तै भिसा, मास्टर कार्डको हिसाब मिलान कारोवार भएको अर्को दिनभित्र गर्ने व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्नुपर्ने देखिएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाबाट जारी भएका नेपाली मुद्राका डेबिट तथा क्रेडिट कार्ड अब उप्रान्त अनिवार्यरुपमा ग्राहक र जारीकर्ता दुवैतर्फ चिप र पिनको माध्यमबाट मात्र कारोवार हुने व्यवस्था मिलाउनुपर्ने, नेपाल बाहिर यस्तो कार्ड प्रयोग हुँदा नेपालका जारीकर्ताले वापसी कारोवार स्वीकार नगर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । चिनियाँ ह्याकरले विद्युतीय कार्ड प्रयोग गरी नेपाली बैंक तथा वित्तीय संस्थाको पैसा निकालेकाले त्यसम्बन्धी विषयमा आवश्यक सुरक्षा प्रणाली मिलाउनसमेत सुझाव दिइएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सुरक्षात्मक प्रणाली अपनाउन र सूचना प्रविधिको क्षेत्रमा उत्पन्न हुनसक्ने जोखिमलाई नियमितरुपले अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ । समितिले कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरीवेक्षण नियमितरुपमा गर्न, कार्डसँग सम्बन्धित सूचना प्रणालीको वार्षिकरुपमा अडिट गर्ने व्यवस्था मिलाउन, कार्डसँग सम्बन्धित प्रणालीको जोखिम व्यवस्थापन प्रणालीको समीक्षा नियमितरुपमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ । कार्डसँग सम्बन्धित प्रणालीको जोखिम मूल्याङ्कन त्रैमासिकरुपमा गरी सम्बन्धित बैंकको जोखिम व्यवस्थापन समितिमा छलफल गर्ने व्यवस्था मिलाउनसमेत समितिको सुझाव छ । वित्तीय सेवा प्रदायक संस्थाले साइबर सेक्युरिटीको जोखिमबाट हुनसक्ने सम्भावित नोक्सानी न्यूनीकरण गर्न साइबर सेक्युरिटी बीमा गर्नुपर्ने, कार्डबाट हुने कारोवारको सीमा नियन्त्रणका लागि भिसा, मास्टरकार्डलगायत अन्य भुक्तानी प्रणाली सञ्चालकबाट सबै बैंक तथा वित्तीय संस्थाले कारोवारको सीमा निर्धारण गर्ने सेवा लिनुपर्ने व्यवस्था मिलाउनुपर्नेछ । महानगरीय प्रहरी परिसर काठमाडौँले बैंक लुटपाटको विषयमा अनुसन्धानमा सहयोगका लागि विज्ञ टोली पठाउन अनुरोध गर्दै केन्द्रीय बैंकलाई बुधबार नै पत्राचार गरिसकेको छ । रासस
सस्तियो अमेरिकी डलर
काठमाडौंः बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्री मूल्य ११५ रुपैयाँ ६९ पैसामा झरेको छ। बुधबार डलरको बिक्री मूल्य ११६ रुपैयाँ १५ पैसा पुगेको थियो। यस्तै खरिद मूल्य भने ११५ रुपैयाँ ०९ पैसा छ। यस्तै, युरोपियन युरो को विनिमय दर १२७ रुपैयाँ ४३ पैसा पुगेको छ भने, युके पाउन्ड स्टर्लिङको विनिमय दर १४१ रुपैयाँ ०७ पैसा पुगेको छ। राष्ट्र बैंकले तोकेको मूल्य अनुसार एक अस्टेलियन डलरको मूल्य ७८ रुपैयाँ ५४ पैसा, १० जापानी ऐनको १० रुपैयाँ ८९ पैसा, चाइनिज युएन १६ रुपैयाँ १८ पैसा रहेको छ। साउदी अरबियन रियलको ३० रुपैयाँ ८५ पैसा, कतारी रियल ३१ रुपैयाँ ७७ पैसा तथा युएई दिराम ३१ रुपैयाँ ५० पैसा तथा मलेसियन रिङगेट २७ रुपैयाँ ५१ पैसामा स्थीर छ।
चेम्बर अध्यक्षद्वारा साउदीका लागि नेपाली राजदूतसँग छलफल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार,श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीका लागि साउदी अरब प्रमुख स्थान भएको उल्लेख गर्दै दूतावासले गरेको कार्यका सराहना गरे । उनले दुई देशबीच व्यापारिक, आर्थिक एंव लगानीको सम्बन्ध, विकास एवं सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवसायीबीचमा द्विपक्षीय व्यापार एंव आर्थिक सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरुको सम्भावना पहिचान गर्नुपर्नेमा जोड दिए । सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबियाबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए । भेटमा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहले ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल पार्नलाई साउदी नागरिकका लागि प्रचारप्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताए ।
बजेट खर्च नभए मन्त्री नै जवाफदेही
काठमाडौं । सरकारले सञ्चालन गरेको योजना कार्यान्वयन नभई बजेट खर्च गर्न नसकेमा त्यसको जिम्मा सम्बन्धित विभागीय मन्त्रीले लिनुपर्ने कानुन बन्ने भएको छ । आर्थिक प्रणाली अस्तव्यस्त भई अराजकता सिर्जना भएमा त्यसको वित्तीय दायित्व मन्त्रीले लिनुपर्ने व्यवस्थासहित विद्येयक प्रतिनिधिसभामा पेस भएको छ । विकास वजेट खर्च नभए राजनीतिक नेतृत्वले कर्मचारीलाई दोष दिएर पन्छने प्रवृत्ति निरुत्साहित गर्न यस्तो कानुनले सामूहिक उत्तरदायित्व महसुस गराउने समितिको बुझाइ छ । यसअघि मन्त्रालयका सचिवले मात्र वित्तिय उत्तरदायित्व लिनुपर्ने कानुनी व्यवस्थालाई परिवर्तन गरी निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाउन पहिलोपटक यस्तो कानुन ल्याउन लागिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
झनै ओरालो लाग्यो शेयर बजार, साना लगानीकर्ता चिन्तामा
काठमाडौं, शेयर बजार खस्किने क्रम निरन्तर जारी रहेपछि साना तथा मझौला लगानीकर्ता चिन्तामा परेका छन् । साताको चौथो कारोबारको दिन आज बुधबार समेत नेप्सेमा प्रगति हुन सकेन । आज कारोबारमा देखिएका ९५ वटा कम्पनीको कूल शेयरमूल्य घट्दा नेप्से सूचक ५।४७ अंकले घटेर १२२५।९० बिन्दुमा झरेको छ । अर्कोतर्फ कारोबार रकम समेत मंगलबारको २३ करोड रुपैयाँले खुम्चिएको छ। आज ४१ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। २५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बुधबार १६९ वटा कम्पनीको १० लाख ६९ हजार ६९० कित्ता शेयर २५ करोड ७२ लाख रुपैयाँमा खरिद बिक्री भयो। मंगलबार १६५ कम्पनीको १८ लाख ९६ हजार ४५४ कित्ता शेयर ४८ करोड रुपैयाँ बढीमा कारोबार भएको थियो। बुधबार नेपाल बैंकको सबैभन्दा धेरै २ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने रसुवागढी हाइ्रोपावर, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र प्रभु बैंकको १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । बुधबार उच्च कारोबार गर्ने शिर्ष १० कम्पनीमा ७ वटा वाणिज्य बैंक छन् भने ३ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।