किसानको भविष्य चियामा
इलाम, मंसिर २६ । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र उहाँलाई पत्तो थियो ।
गाउँकै अन्य बासिन्दाले जानकारी दिएपछि चियालाई ओइलाएर राख्दा अझै राम्रो हुने खत्रीलाई थाहा भयो । “त्यति बेला थोरै मूल्यमा मात्रै चिया बिक्थ्यो” उहाँले भन्नुभयो “आर्थिक स्थिति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थाल्यौँ ।”
चियाखेतीबाट आम्दानी लिन सकिन्छ भन्ने थाहा नभएपछि खत्रीले वस्तु सटहीकै लागि मात्रै चिया सुकाउनु हुन्थ्यो । “चियाको दाम त्यति बेला प्रतिकिलो रु आठ थियो, हामी बिक्री गर्दैनथ्यौँ” उहाँले भन्नुभयो ।
थोरै बारीमा पराम्परागत शैलीमा गरिँदै आएको चियाखेती केही समयपछि गाउँभर विस्तार हुन थाल्यो । उहाँका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो । “चिया रोपेको तीन÷चार वर्षपछि मात्रै नगदमा बेच्न थाल्यौँ” उहाँले भन्नुभयो “हामी त्यति बेला घाममा मात्र चिया सुकाउथ्यौँ तर पानी परेको बेला भने आगोमाथि फलामको पातामा राखेर सुकाउथ्यौँ ।”
घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता गर्नुपर्ने र त्यसबापत प्राविधिक शिक्षा पनि लिन मिल्ने सुनेपछि उद्योग दर्ताका लागि खत्री सदरमुकाम आउनुभयो । चिया उद्योग दर्ता गराएपछि सेवा सुविधा पाइने भएपछि उहाँ सदरमुकाम आउनुभयो । “त्यतिबेला दुई हजार पुरस्कार पाएकी थिएँ,” उहाँले विगत सम्झनुभयो “त्यसले थप हौसला बढायो ।”
अहिले खत्रीले आफ्नो र भाडामा गरी नौ सय रोपनी जग्गामा चियाखेती गरिरहनुभएको छ । चिया बगानसँगै उहाँकै चिया प्रशोधन उद्योग पनि छ । “वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म नाफा हुन्छ,” उहाँले भन्नुभयो । उहाँले चिया विदेशमा समेत निर्यात गर्दैआउनुभएको छ ।
खत्री राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ । लेकाली कृषि सहकारी संस्थामा आबद्ध उहाँले चियाकै लागि उन्नति परियोजनाबाट रु ८० लाखको परियोजना प्राप्त गर्नुभएको छ ।
यस्तै, सूर्योदय नगरपालिकाका काजीमान कागतेले पनि २५ वर्षअघि आफ्नै पाँच रोपनी जग्गामा चियाखेती शुरु गर्नुभयो । शुरुमा आफैँले प्रयोग गर्न मात्रै खेती गर्नुभएका कागतेले चियाको माग बढ्दै गएपछि खेतीको विस्तार गर्नुभयो । हाल ८० रोपनी आफ्नै जग्गामा चियाखेती गर्नुभएका कागतेको दैनिकजसो २०० किलोसम्म हरियोपत्ती उत्पादन गर्नुहुन्छ ।
“चियाले नै परिवार पालेको छु,” कागतेले भन्नुभयो । झुल्के घाम लघु चिया उद्योगका सदस्य कागतेले चियाखेतीकै लागि उन्नति परियोजनाबाट रु १६ लाखको परियोजना प्राप्त गर्नुभएको छ । चियाखेतीको विकल्प नभएको उहाँको भनाइ छ ।
खत्री र कागते प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । चियाखेतीबाट मनग्य आम्दानी गर्ने किसान थुप्रै छन् । विभिन्न संघ संस्थाले तालीमको व्यवस्था गर्न थालेपछि इलाममा चिया उत्पादनमा सुधार आएको चिया उत्पादन जिल्ला कषि सहकारी संघका उपाध्यक्ष पदमबहादुर तामाङ बताउनुहुन्छ । चालिसवटा सहकारीको छाता संगठन रहेको सो संस्थाले उन्नति परियोजनासित समन्वय गरेर काम गर्दै आएको छ । “वर्षेनी १० प्रतिशतका दरले चिया उत्पादन बढ्ने गरेको छ,” उहाँले भन्नुभयो ।
चियाखेतीको अवलोकन गर्न बाह्य पर्यटक आउने गरेका केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउनुहुन्छ । अहिले ललितपुर, रामेछाप, कास्कीलगायत जिल्लामा समेत चियाखेती गर्न थालिएको छ । देशभर करिब ९० हजार व्यक्तिले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गर्दैआएका छन् । नेपालमा ८६ वटा साना उद्यम छन् ।
नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशत विदेश निर्यात हुन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार चिया उत्पादन बढाउनकै लागि चिया क्षेत्र घोषणा भएका बाहेकका जिल्लामा समेत चियाखेती विस्तार गर्नका लागि प्रवद्र्धन गरिएको छ । त्यस्तै बोर्डले चियाको गुणस्तरको वृद्धि गर्नका लागि वर्षेनी तालीम तथा परामर्शको कार्यक्रम सञ्चालन गर्दैआएको छ ।
बोर्डका अनुसार नेपालमा आव २०७३÷७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलो चिया उत्पादन भएको थियो । देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा झापा, इलाम, पाँचथर, तेह्रथुम रहेका छन् ।
महिलाहरु ललिपपबाटै घरव्यवहार धान्दै
इलाम, मंसिर २३ । थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन् । इलाम ललिपप उद्योग दर्ता गरेर विगत पाँच वर्षदेखि ललिपप बनाउँदै आएकी साँखेजुङकी दुर्गाकुमारी राईले भन्नुभयो, “दुई–चार पैसा कमाउनबाहिर जानु पर्दैन्, सीप र जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ ।” उद्योगमा काम गर्ने सातजना महिलालाई मासिक रु सात हजारसम्म तलब दिएर पनि दुर्गाकुमारीले मासिक रु ४० हजारदेखि रु ४५ हजार आम्दानी गर्ने गरेको बताउनुभयो । अधिकांश महिलाले बिहानको घरधन्दा सिध्याएर ललिपप उद्योगमा काम गर्न आउने गरेको दुर्गाकुमारीले बताउनुभयो । “म आफ्नो काम भ्याएर पनि बजार व्यवस्थापनमा साथ दिने गर्छु,” दुर्गाकुमारीका श्रीमान चन्द्र राईले भन्नुभयो, “इलाम, फिक्कल र कुटीडाँडा हाम्रो मुख्य बजार हो । टाढा पठाउन सम्भव छैन ।” थोरै सामान पठाउँदा फाइदा नहुने र धेरै सामान पठाउँदा एकै पटक बिक्री नहुने भएकाले टाढाको बजार विस्तार गर्न नसकिएको राई बताउनुहुन्छ । उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट ललिपप बनाउन स्वीकृती लिइएको छ । दम्पती राईको सो उद्योग उद्योगीमाझ प्रतिस्पर्धी र उत्कृष्ट छ । पूर्वाञ्चलमा भएको खाद्यवस्तु प्रदर्शनीमा उत्कृष्ट र राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दोस्रो स्थान हासिल गरेको उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिले ‘प्याकेजिङ’ गर्ने मेशिन अनुदानमा उपलब्ध गराएको छ । रु ९० हजार पर्ने उक्त मेशिन ल्याएपछि तयारी ललिपपलाई प्याकेजिङ गर्न सजिलो भएको राईले बताउँनुभयो । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पनि ‘प्याक्ट’ परियोजनाअन्र्तगत रु चार लाख ४५ हजार अनुदान सहयोग गरेको छ । ललिपप बनाउने आधुनिक मेशिन खरिदका लागि प्याक्टले सहयोग गरेको छ । पाँच वर्षअघि खुलेको कोसेली ललिपप उद्योगमा मुना आचार्य स्थापनाकालदेखि नै काम गर्दै आउनुभएको छ । सरकारी विद्यालयमा पढिरहेका छोराछोरीलाई ललिपप उद्योगमा कमाएको पैसाले निजी विद्यालयमा अध्ययन गराउने सुरमा उहाँ हुनुहुन्छ । सो उद्योगमा सातजना महिलाले रोजगारी पाएका छन् । इलाममा सहकारी संस्था खोलेर ललिपप उद्योग स्थापना गर्ने क्रम बढेको छ । सहकारी संस्थामार्फत स्थापना भएका ललिपप उद्योगले निजीस्तरबाट खुलेका उद्योगको भन्दा बढी महिलालाई रोजगारी प्रदान गरेका छन् । एक दर्जनको सङ्ख्यामा रहेका उद्योगमा विपन्न महिलाले रोजगारी पाएका छन् । सहकारिताको माध्यमबाट स्थापना भएको पञ्चकन्याको उद्योगले दुई दर्जन महिलालाई रोजगारी दिएको छ । तीन वर्षअघि स्थापना भएको जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा दुई महिला कर्मचारीसहित १६ जना महिलालाई रोजगारी प्रदान गरेको छ । उद्योगमा रोजगार पाएका महिलाले मासिक रु चार हजारदेखि रु पाँच हजारसम्म पारिश्रमिक पाउने गरेका संस्थाका तोयानाथ भट्टराई बताउनुहुन्छ । जनहित सहकारी संस्थामा काम गर्ने कतिपय कामदार स्थानीय करफोक विद्यामन्दिरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दै आएका छन् । बिहान क्याम्पसको कक्षा लिएर दिउँसो संस्थामा काम गर्न जाने गरेको स्थानीयवासी भेषराज आचार्यले बताउनुभयो । उत्पादित ललिपप धरान, दमक, विराटनगर र काठमाडौँ बिक्रीका लागि पठाउने गरिएको छ । रासस
सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा
पाल्पा, मंसिर १९ । यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा परेका हुन् । सुन्तला खेती गरी जीविकोपार्जन गर्ने परिवारका लागि कम उत्पादनले समस्या भएको छ । रिब्दीकोट गाउँपालिकाकोे पालुङमैनादीका किसान चित्रबहादुर कुँवरले गत वर्ष करिब रु दुई लाखको सुन्तला बिक्री गरेकामा अहिले रु एक लाख बराबरको बिक्री गर्नुभयो । सुन्तला उत्पादनका पकेट क्षेत्र मानिएको पालुङमैनादी, मुझुङ, छहरा, सोमादी, कुसुमखोलालगायतका क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा निकै कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले प्राविधिक जाँच तथा परीक्षणमा सहयोग नगरेका कारण किसान मारमा परेका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले किसानले बोटमा आवश्यक स्याहार, सुसार र मलजलमा कमी गर्दा उत्पादन घटेको बताउनुभयो । उहाँले सुन्तला टिपेपछि टिपेको घाउबाट ब्याक्टेरिया, कीटाणुले आक्रमण गर्ने भएकाले कम्तीमा तीन पटक नीलोथुथो, चुना छर्कनुपर्ने बताउनुभयो । सुन्तला बिक्रीबाट साढे दुई लाख आम्दानी निस्दी गाउँपालिका–५ गल्धा बहपुरका अगुवा किसान तेजन सिंजालीले यस वर्ष सुन्तला बिक्रीबाट रु दुई लाख ५० हजार आम्दानी गर्नुभएको छ । उहाँले दुई मुरी अन्नबाली समेत उत्पादन नहुने जग्गामा विगत आठ वर्षदेखि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । यस वर्ष करिब ४० क्विन्टल सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । झण्डै १५ रोपनी जग्गामा तीन सय बोट सुन्तला लगाउनुभएका सिंजालीले अहिले दुई सय उत्पादनशील बोटबाट आम्दानी लिन शुरु गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “सुन्तला खेती गर्न थालेपछि मनग्य आम्दानी भएको छ,” उहाँले भन्नुभयो, “पाखापखेरामा सुन्तला लगाएर रु दुई लाखदेखि रु तीन लाखसम्म सजिलै आम्दानी गर्दैआएको छु ।” प्रतिकिलो रु ५० मा सुन्तला बिक्री गरेको सिंजालीले बताउनुभयो । “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन,” उहाँले भन्नुभयो । यहाँ उत्पादन भएको सुन्तला रामपुरको बजारमा खपत हुन्छ । बहपुरकै अर्का किसान मानबहादुर ढेँगाले पनि सुन्तला बिक्रीबाट मनग्य कमाई गर्दै आउनुभएको छ । उहाँले करिब २० रोपनी जग्गामा चारसय बोट सुन्तला लगाउनुभएको छ । ढेँगाले अहिले उत्पादनशील १५० बोटबाट रु दुई लाख बराबरको आम्दानी लिइरहनुभएको छ । यस्तै, मुक्तबहादुर रानाले यस वर्ष सुन्तला बिक्रीबाट रु एक लाख ५० हजार आम्दानी लिइसक्नुभएको छ । उहाँले करिब २०० बोट सुन्तला लगाउनुभएको छ । यहाँका १६ घरपरिवारको आयआर्जनको माध्यम नै सुन्तला खेती बनेको छ । एउटा परिवारले ५० बोटदेखि ५०० बोटको हाराहारीमा सुन्तला खेती गरेका छन् । अन्य खेतीको तुलनामा सुन्तला खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि बहपुर क्षेत्रका कृषकले सुन्तला खेती गर्न थालेका हुन् । यस क्षेत्रलाई जिल्लाकै नमूना सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिन्छ।
वीरगन्ज नाकाबाट चार महिनामा पाँच अर्बको मोटरसाइकल भित्रियो
काठमाडौं, मंसिर १९ । मुलुकको मुख्य नाका वीरगन्जबाट आर्थिक वर्षको पहिलो चौमासिकमा ५ अर्ब रुपैयाँभन्दा बढीका मोटरसाइकल भित्रिएका छन् । चारपांग्रे सवारीको आयात पनि यो अवधिमा बढेको भन्सार कार्यालयले जनाएको छ । बस, मिनी बस र पिकअप गाडीको आयात भने घटेको छ । जिप, कार, भ्यान र मोटरसाइकलजस्ता सवारी साधन राजस्वमा योगदानको हिसाबले महत्वपूर्ण मानिन्छन् । चालु आवको चौमासिकमा ५ अर्ब ४९ करोड रुपैयाँ राजस्व बुझाएर ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको ६५ हजार ४ सय ११ वटा मोटरसाइकल आयात भएका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २५ प्रतिशतभन्दा बढी हो । –कान्तिपुर दैनिकबाट
सानिमा इक्विटी फन्ड निष्कासन
काठमाडौं, मंसिर १२ । सानिमा बैंक कोष प्रवद्र्धक रहेको सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको इकाई निष्कासन गर्ने भएको छ । कम्पनीले १० रुपैयाँ दरका १२ करोड इकाई निष्कासन गर्न लागेको हो । सातवर्षे बन्दमुखी योजनामा कुल १५ प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँका इकाई सानिमा बैंकले र सानिमा क्यापिटलले किन्ने विज्ञप्तिमा उल्लेख छ । बाँकी १० करोड २० लाख इकाई १२ देखि १५ मंसिरसम्म सर्वसाधारणलाई बिक्री गरिने भएको छ । इकाई खरिद गर्न चाहनेले आस्बा सेवा दिने आÏनो खाता रहेको बैंकबाट आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम सय इकाई अर्थात् हजार रुपैयाँका लागि आवेदन दिनुपर्छ । बढीमा २ करोड ४० लाख रुपैयाँसम्मको आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीले अधिक आवेदनमार्फत १ अर्ब ५० करोड रुपैयाँसम्मको इकाई बिक्री गर्न सक्ने पनि जनाएको छ।
लुम्बिनी र सूर्या लाइफबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं, मंसिर १२ । लुम्बिनी विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकका इन्सुरेन्स सम्झौता भएको छ । निक्षेपकर्ता र कर्जाका ग्राहकलाई बैंकमार्फत जीवन बिमा सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सूर्या लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि ग्राहकले बैंकका सबै शाखा कार्यालय मार्फत सूर्या लाइफको जीवन बिमा सेवा प्राप्त गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तनी सहज रूपमा प्राप्त गर्न सकिने पनि सम्झौतामा उल्लेख छ।
गुल्मीमा चार महिनामा राहदानीबाट झण्डै एक करोड राजस्व
प्रेम सुनार गुल्मी, कार्तिक २८ । पछिल्लो चार महिनाको अवधीमा गुल्मीमा राहदानी बनाउनेको संख्या बढेको छ । साउन मसान्तदेखि कार्तिक २६ गतेसम्म सरदर दैनिक २५ जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल दशै बिदा सकिएपछि र तिहार बिदा सकिएपछि बिहान आठ वजे देखि साँझ ८ वजेसम्म पनि प्रशासनमा खट्नु परेको थियो भन्छन् । प्रजिअ अर्यालका अनुसार असार मसान्तदेखि कार्तिक २५ गतेसम्म ८३ लाख ९३ हजार राहदानीबाट राजश्व संकलन भएको छ । जिल्ला प्रशासनकी लेखापाल सुष्मा मरासीनीका अनुसार साउन महिनामा १८ लाख १५ हजार राहदानीबाट राजश्व संकलन भएको थियो । भाद्र महिनामा १३ लाख २० हजार, दशै ताका आश्विन महिनामा ह्वात्तै बढेर २७ लाख ५ सय राजश्व संकलन भएको थियो । कार्तिक १ गते देखि २८ सम्म २४ लाख ३० हजार ५ सय राजश्व संकलन भएको थियो । दैनिक १ लाख देखि २ लाख ८० सम्म राजश्व संकलन भएको छ । आश्विन २२ गतेका दिन गत एक वर्षको अवधीमा सम्म सवै भन्दा धेरै जनाले राहदानी लिएका थिए । उक्त दिन सवैभन्दा बढी २ लाख ७० हजार ५ सय राजश्व संकलन भएको थियो । कम्तीमा पनि एकदिनमा राहदानीबाट एक लाख भन्दा कम नहुठेको प्रजिअ अर्याल बताउँछन् । राहदानी फाँट प्रमुख भुवन बस्नेतका अनुसार देश विदेशमा आफन्तले बोलाएर भेट्न विदेश जाने बृद्ध बृद्धाहरुको संख्या पनि बढ्दै गएको छ । आमाले घर छाडेर विदेश हिडेका तिन चार वर्षका बालबालिका समेत राहदानी बनाएर अभिभावक मार्फत विदेश जाने गरेका छन् । करिव ५ प्रतिशत आफन्त भेट्न र सिमित समयका लागि घुम्न जानेहरु रहेको पाईएको छ । प्रशासनले दिएको राजश्वको विवरण अनुसार मासिक ५ सय जना युवाहरु गुल्मीबाट वैदेशिक रोजगारमा जाने गरेको आंकलन गर्न सकिन्छ । एकिन विवरण भने प्रशासनले आर्थिक वर्ष समाप्ती पछि मात्र सार्वजानिक गर्ने बताएको छ । राजश्य संगै गुल्मीमा रेमिट्यान्स पनि मासिक करौडौं भित्रिदै आएको छ । जिल्लामा पछिल्लो एक दशकमा केहि असहाय परिवार वाहेक दयानिय अवस्थाका गरिव परिवार कम मात्रमा देखिएका छन् । गाउँ गाउँमा पनि शहरिया लवाई खुवाई र वसाईको लहर चलेको छ । प्राय प्रत्येकको घरमा व्यवस्थि भान्छा कोठा सहितको ग्याँस चुलो, टेवुल कुर्चि, अलग अलग सत्ने कोठा र आकर्षक वैठक कक्ष समेत रहन थालेका छन् । टेलिभिजन र ईन्टरनेटको पहुँचमा समेत ग्रामिण वस्ती रहँन थालेका छन् । एउटै परिवारमा १२ वटा सम्म मोवाईल सञ्चालनमा छन् । प्रायः धेरैको हातमा महँङ्गा मोवाईले देख्न सकिन्छ । कतिपय परिवारमा ५÷६ हजार सम्म मोवाईल फोन खर्च भएको पाईन्छ । अव गाउँमा पनि पैसाको कमी छैन तर वैदेशिक रोजगारले कतिपय दम्पत्ती विचमा विश्वासको कमी भने निम्ताएको छ ।
चार महिनामा साढे पन्ध्र प्रतिशत बजेट खर्च
लोकेश धामी कैलाली, कार्तिक २९ । कैलालीमा गत आवभन्दा चालू आव २०७४–०७५ को चार महिनामा विकास बजेट साढे पन्ध्र प्रतिशत खर्च भएको छ । चालू आवको साउन, भदांै, असोज र कार्तिक महिनामा गतवर्षको तुलनामा यसवर्ष बजेट ३ प्रतिशतले बढी खर्च भएको हो । गत आवको सुुरुको चार महिनामा १२ प्रतिशत विकास बजेटमात्रै खर्च भएको थियो । कैलालीमा चालू आवमा पूँजीगत तर्फ ४ अर्ब ८३ करोड ७७ लाख १८ हजार र चालु खर्चतर्फ ९ अर्ब ३१ करोड ३ लाख रुपैयाँ बजेट अख्तियारी आएको छ । जसमध्ये हालसम्म विकास बजेट ७४ करोड ६६ लाख २८ हजार अर्थात् साढे १५ प्रतिशत र चालू तर्फ साढे ३१ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले जानकारी दिए । जिल्लामा रहेका ठूला आयोजनामा पनि गत वर्षको तुलनामा बढी खर्च भएको देखाउँछ । जसमध्ये राष्ट्रिय गौरवको आयोजनामा रानी जमरा कुलरिया सिँचाई आयोजनाको एक अर्ब ९२ करोड १३ लाखमध्ये हालसम्म झण्डै ३८ लाख बजेट खर्च भएको छ । यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, भूमिगत जल सिंचाइ विभाग कार्यालय, हसनपुर खुटिया विपी नगर गड्सेरा दिपायल सडकको बजेट पनि सन्तोषजनक नै खर्च भएको कोष नियन्त्रक चौधरीले बताए । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको भने न्यून रकम खर्च भएको छ। एक अर्ब ३१ करोड ६ लाख बजेट अख्तियारी आएकोमा हालसम्म साढे ५ करोडमात्रै बजेट खर्च भएको छ । यस्तै, मोहना पुल अत्तरिया सडक विस्तार आयोजनाको पनि बजेट न्यून निकासा भएको छ । ५१ करोड बजेट मध्येबाट अहिलेसम्म २१ लाख रुपैयाँमात्रै बजेट खर्च भएको प्रमुख कोष नियन्त्रक चौधरीले जानकारी दिए । चालू आवमा बजेको अख्तियारी छिटो तथा बजेट भाषण शीघ्र हुनु, विगतमा मन्त्रालयबाट हुने झन्झटिला कार्य सहज हुनु लगायतका कारण यो वर्ष विकास बजेट बढी निकासा भएको कोष नियन्त्रक कार्यालयले जनाएको छ ।
कुखुरापालनबाट फेरिएको जीवन
तेह्रथुम, कात्तिक २६ । जिल्लाबाट वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ । परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ । विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ । तर विदेशको जस्तो दुःखकष्ट आफ्नै देशमा भोगेपछि नेपालमै कमाउन सकिन्छ भनेर फर्किने पनि भेटिन्छन् । स्वदेश फर्किएपछि उनीहरुले घरैमा बसेर लाखौँ रुपैयाँ आम्दानी गरेका छन् । तिनै युवामध्ये एक हुनुहुन्छ छथर गाउँपालिका–५, ओख्रका ३१ वर्षीय लिलम बुढाथोकी । मनग्य कमाउने सोचले अलिअलि भएको पैसा पनि म्यानपावरलाई बुझाएर कहिले कतार त कहिले मलेसिया पुगेका बुढाथोकीले छवर्ष विदेशमा बिताए । पछि स्वदेशमै केही गर्ने सोचले फर्किए । अहिले उनले व्यावसायिक कुखुरापालनलाई आम्दानीको स्रोत बनाएका छन । चार वर्षदेखि कुखुरा फार्म खोलेर व्यावसायिक बन्नुभएका बुढाथोकीले सात सयभन्दा बढी कुखुरा पाल्नुभएको छ । शुरुवातमा रु ५० हजारमा कुखुरापालन व्यवसाय शुरु गरेका उनको अहिले मासिक रु ३५ हजार बचत हुन्छ । व्यवसायमा लगानी पनि बढ्दो छ । विसं २०५८ मा १० कक्षा उत्तीर्ण गरेपछि उन प्राविधिक सीपको खोजीमा मोरङ झरे । उर्लाबारीमा ६ महिना बिजुली सम्बन्धि तालिम लिए । “परिवारबाट टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन,” उनले भने । गाउँ÷गाउँमा फ्रेस हाउस खुलेपछि उनलाई बजारको कुनै समस्या छैन । ओख्रे बजारमा बुढाथोकीको आफ्नै फ्रेस हाउस समेत छ । अहिले फार्ममा रु पाँच लाखभन्दा बढी लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानी बैंकमा रु तीन लाख बचत गरेका छन भने व्यवसायबाटै उनी ऋणमुक्त भएका छन ।
नेप्से परिसूचक ०.१३ प्रतिशतले बढ्यो
काठमाडौं, कार्तिक २६ । आइतबार नेप्से परिसूचक ०.१३ प्रतिशत बढेको छ । पहिलो आधा घण्टासम्म ओरालो लागेको बजार त्यसपछिको व्यापारमा भने सुधार देखिएको थियो । १ घण्टा ३० मिनेटको व्यापारमा शेयर बजार १ .९२ अंकले बढेर १ हजार ४ सय ६२.६५ विन्दुमा पुगेको छ । बैंकिङ, होटल र जलविद्युत समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा १ सय ६ कम्पनीको ९ सय ३६ पटकको व्यापारमा रू। १० करोड ४१ लाख बराबरको शेयर कारोबार भएको हो । होटल समूहको परिसूचक १.०१ प्रतिशत, जलविद्युतको ०.६८ प्रतिशत र बैंकिङको ०.३६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त कम्पनी र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ५ प्रतिशत, लघुवित्त समूहको ०.४६ प्रतिशत र बीमाको ०.१३ प्रतिशतले घटेको छ । विकास बैङ्क भने स्थिर रहको छ । अभियानबाट साभार
देवःको खुद नाफा ३६.१३ प्रतिशतले लाग्यो ओरालो
काठमाडौं, कार्तिक २६ । देवः विकास बैंकले चालु आवको पहिलो त्रैमासमा ३ करोड २३ लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गतवर्षको यही त्रैमासको भन्दा नाफा ३६.१३ प्रतिशतले थोरै हो । गतवर्ष देवःले ५ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा बुक गरेको थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने २.९८ प्रतिशतले वृद्धि भएर १२ करोड ६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गतवर्ष खुद ब्याज आम्दानी ११ करोड ७१ लख ६० हजार रुपैयाँ थियो । निक्षेप ७ अर्ब ९६ करोबाट ११ अर्ब ३५ करोड ३० लाख ३६ हजार रुपैयाँ पुर्याएको यस बैंकले १० अर्ब १६ करोड ८९ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ६४ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ४९ लाख ८४ हजार रुपैयाँ पुर्याएको बैंकको जगेडा कोषमा भने ५० करोड ८७ लाख ८४ हजार छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको देवःले युनियन फाइनान्स र साझा विकास बैंकलाई एक्वायर गरेर बिहीबार (कात्तिक २३ गते) देखि एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । यस्तै, देवःले सहारा विकास बैंकलाई एक्वायर गर्ने तरखरमा पनि छ । बैंकले प्रथम त्रैमासमा प्रोभिजनमा ४ करोड १० लाख ४० हजार रुपैयाँ राखेको छ । देवःले खराब कर्जा भने घटाउँदै लगेको छ । गत वर्ष ३.४४ प्रतिशत रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा १.७९ प्रतिशतमा झरेको छ । कस्ट अफ फन्ड र निक्षेप अनुपात भने बढेर क्रमशः ८.०६५ र ७६.५३५ पुगेको छ । गतवर्ष कस्ट अफ फन्ड र निक्षेप अनुपात क्रमशः ३.९६५ र ७३.८१ प्रतिशत थियो । देवःको ८ रुपैयाँ ९६ पैसा ९वार्षिक० मा झरेको छ । प्रतिसेयर नेटवर्थ भने १३५ रुपैयाँ २१ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २३ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५ पैसा थियो । नेपालीपैसाबाट साभार
आजबाट ‘हुण्डार्इ मेगा एक्सचेन्ज विक’ सुरु
काठमाडौं, कात्तिक २६ । आजदेखि हुण्डार्इ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले देशव्यापीरुपमा ‘हुण्डार्इ मेगा एक्सचेन्ज विक’ सुरु गरेको छ। यो एक्सचेञ्ज कार्यक्रम देशभरि रहेका हुण्डार्इका डिलरमा हुने र यसबाट ग्राहकले ६ लाख २० हजार रुपैयाँसम्म फार्इदा लिनसक्ने कम्पनीले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। अविश्वसनीय मूल्याङ्कनसँगै उपहार, उत्कृष्ट नगद छुट, स्पट फाइनान्स तथा बीमा, चार वर्ष फ्रि सर्भिस, तीन वर्षको वारेन्टी, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस हरेक गाडीको बिक्रीमा दिइने कम्पनीले जनाएको छ। यो कार्यक्रम मंसिर २ गतेसम्म संचालन हुनेछ।
तत्कालिन प्रचण्ड सरकारले दिएको निर्देशन कार्यान्वयनमा अर्थकाे हेलचेक्राइँ
काठमाडौं, कात्तिक २६ । अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको क्रमम ज्यान गुमाएका व्यक्तिका निकट आफन्तले पाउने क्षतिपूर्ति रकम वृद्धि गर्न गत माघ ११ गते दिएको निर्देशन कार्यान्वयनमा अर्थले हेललचेक्राइँ गर्दा पीडित क्षतिपूर्ति पाउनबाट वञ्चित भएका हुन् । दाहालले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सात लाख रुपैयाँसम्म दिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
तीन महिनामा ५६ करोड राजश्व संकलन
भद्रपुर, कात्तिक २३ । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल रु ५६ करोड तीन लाख ८१ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४७ करोड ८२ लाख ५६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजश्वमा आयकर रु १७ करोड ८५ लाख ६२ हजार, बहाल कर रु दुई करोड छ लाख ५३ हजार, ब्याजकर रु दुई करोड ९० लाख ५२ हजार, मूल्य अभिवृद्धि कर रु २१ करोड १८ लाख ५३ हजार, अन्तःशुल्क रु १० करोड ३० लाख १९ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ३२ लाख छ हजार र शिक्षा सेवा शुल्क रु ३९ लाख ४६ हजार रहेको छ । करदाता सेवा कार्यालय इलाम र दमकमा रहेका यस कार्यालयको शाखाबाट समेत गरेर सो राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो ।
छ अंकले झरेको नेप्सेमा ४६ करोडको कारोबार
काठमाडौं, कार्तिक २३ । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक करिब ६ अंकले घटेको छ। ५.८ अंकको गिरावटपछि बजार १४६० अंकमा अडेको छ। १५४ कम्पनीको ४६ करोड ८२ लाखको कारोबार भएको छ । जलविद्युत र माइक्रोफाइनान्स उपसूचक बढेका छन् भने अरु घटेका छन् । जलविद्युत ६ तथा माइक्रोफाइनान्स १ अंकले बढे। बैंकिङ ६, व्यापार १, होटल ९, विकास बैंक ११, फाइनान्स ७, बिमा २४, उत्पादन ३ र अन्य समूह १ अंकले घटेका छन् । कारोबारका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो । कम्पनीको ३ करोड २० लाखको कारोबार भएको छ। मूल्य प्रतिकित्ता ११०५ कायम भएको छ । दोस्रोमा रहेको स्टान्डर्ड चार्टर्ड बैंकको २ करोड ५७ लाखको कारोबार भयो । मूल्य प्रतिकित्ता १९८५ कायम भएको छ । नागबेली लघुवित्त, नविल बैंक पनि कारोबारका आधारमा अगाडि रहे । समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.९ प्रतिशत नाफा कमाए । नाफा कमाउने अन्यको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा तल सीमित रह्यो। गुमाउनेमा रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि देखिए । सो कम्पनीको मूल्य ७ प्रतिशतले घटेको छ। कन्काई विकास बैंक, हाम्रो विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि गुमाउनेमा अगाडि देखिए। सेतोपाटीबाट साभार
सपोर्ट माइक्रोफाइनान्सको कति पर्यो शेयर, हेर्नुस यसरी !
काठमाडौं, कार्तिक २२ । सपोर्ट माइक्रोफाइनान्सको साधारण शेयर बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको १ लाख ८० हजार कित्ता साधारण शेयर बुधबार बाँडफाँड गरिएको हो । शेयर माग गरेकामध्ये ज्यादै न्यून आवेदकले मात्र १० कित्ता शेयर पाएका छन् । माइक्रोफाइनान्सको साधारण शेयरका लागि २ लाख ३७ हजार ६ सय १७ वटा आवेदन परेको थियो । जसमा २ हजार ३ सय ९६ आवेदन रद्द भएका छन् । बाँकी रहेका २ लाख ३५ हजार २ सय ४८ आवेदनलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागी गराइएको छ । सोही अनुसार लघुवित्तको सेयर १६ हजार ७ सय ४० जनाले प्राप्त गरेका छन् । उनीहरुलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । आईपीओ नतिजा हेर्न मेरो लगानीको आइपीओ रिजल्टमा गएर आइपीओ ( IPO RESULT ) जारी गर्ने कम्पनीको नाम र आफ्नो डिम्याट नम्बर भरेर सर्च गर्नुहोस् । तपाईले शेयर परे नपरेको नतिजा थाहा पाउनुहुनेछ ।