सचिव बैठकका ६ निर्णय : नीति तथा कार्यक्रमको प्रस्ताव माग्नेदेखि लगानी सम्मेलनको तयारीसम्म (निर्णयसहित)
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फागुन ८ गते मुख्यसचिव डा. बैकुण्ठ अर्यालको नेतृत्वमा बसेको बैठकले विविध ६ वटा निर्णय गरेको छ ।
बैठकले मन्त्रालयहरुलाई १५ फागुनभित्र क्षेत्रगत नीति तथा कार्यक्रमको मस्यौदा प्रस्ताव तयार पारेर पठाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री कार्यालयले प्रस्तावित १६औं योजनाको प्राथमिकता र रणनीति एवम् स्रोत साधनको उपलब्धता समेतका आधारमा प्रदेश तहसँग समेत समन्वय कायम हुने गरी नीति तथ कार्यक्रम मस्यौदा गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
सचिव बैठकले नयाँ निर्माण गर्नुपर्ने र संशोधन गर्नुपर्ने विधेयक संघीय संसदको चालु अधिवेशनमा प्रस्तुत गर्ने गरी फागुन मसान्तसम्म मन्त्रिपरिषदमा पेश गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्ता विधेयकलाई उच्च प्राथमिकतामा राख्न मुख्यसचिव अर्यालले निर्देशन दिएका छिन् ।
बजेट विनियोजन नभएको वा अपर्याप्त भएका काम वा माइलस्टोन तथा चालु आर्थिक वर्षमा पूरा हुन सक्ने र नसक्ने क्रियाकलाप र माइलस्टोनको विवरण पनि प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुसँग माग गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको एकीकृत अनुगमन प्रणालीमा प्रविष्ट कार्ययोजनामा समावेश भएका यस्ता आयोजनाबारे पर्याप्त पुष्ट्याइँसहित १० फागुनसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन निर्देशित गरिएको छ ।
प्रधामनन्त्री कार्यालयले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदनमा फागुन १० भित्र आफ्नो प्रतिक्रिया र सुझाव दिन पनि मन्त्रालयलहरुलाई निर्देशन दिएको छ । यस्तो प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसद समक्ष पेश गर्ने व्यवस्था गर्ने व्यवस्था छ ।
बेरुजु फस्र्योटका लागि भएका कामको वस्तुगत र यथार्थपरक प्रगति विवरण ३० फागुनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।
१६ र १७ वैशाख २०८१ मा काठमाण्डौमा हुने लगानी सम्मेलनको लागि आ–आफ्नो मन्त्रालय र निकायले गर्नुपर्ने तयारीलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने गराउने निर्णय पनि सचिव बैठकले गरेको छ ।
यस्तो छ सचिव बैठकको निर्णय

राष्ट्रिय भूमि आयोगले माग्यो ९७ जना सर्भेक्षकका लागि दरखास्त
काठमाडौं । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । आयोगले सर्भेक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । ९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्न लागिएको आयोगले जनाएको छ । न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारले १५ दिनभित्र दरखास्त दिनसक्ने छन् । आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । तर, नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहअन्तर्गत निजामती सेवा तथा संस्थान सेवाबाट अवकाश प्राप्त कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघेको हुनु पर्नेछ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला ७१ निर्णय (पूर्णपाठसहित)
काठमाडौं, फागुन ८ गते । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिन्। मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (एलपिआर) लिएको देखिएकोले पदबाट हटाउने निर्णय पनि गरेको छ । त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मका लागि अधिकृत स्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्ले राष्ट्रिय सूचना प्रविधि केन्द्रको काठमाडौँ, मकवानपुर, कोहलपुर र ललितपुरका कार्यालयमा आ.व. २०८० /८१ को पुस १ गते देखि २०८१ साल असार मसान्तसम्मका लागि अधिकृत स्तरका २३ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको छ । त्यसैगरी, स्थानीय तह मातहत रहेका आँप,पीपल अस्पताल गोरखा, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र बागलुङलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जानकारी दिए । मन्त्री शर्माले मंगलबार मन्त्रिपरिषद् बैठकका ७१ निर्णय सार्वजनिक गरेको छ । उनले माघ १८ र २५ सँगै फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय एकसाथ सार्वजनिक गरेकी हुन् । माघ १८ र २५ गते बसेको बैठकले २३–२३ वटा निर्णय गरेको थियो । फागुन ६ गतेको बैठकले २५ वटा निर्णय गरेको हो ।
यस्ता छन् फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पछिल्लो बैठक फागुन ६ गते सिंहदरबारमा बस्यो । मन्त्रिपरिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको उक्त बैठकले विविध २५ निर्णय गरेको छ । यस्ता छन् ती निर्णय
अब नक्खु कारागारमा पनि विपश्यना ध्यान केन्द्र
काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नक्खुमा निर्मित विपश्यना केन्द्र धम्मासयुको आज उद्घाटन गरेका छन्। कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै यहाँ ४८ कैदीबन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको हो। ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए। आफुलाई फेर्ने, स्वजागृत हुने र समाज रुपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनले बताए। अग्रज रुपचन्द्र बिष्टले आफुसँगको कुराकानीमा मानिसहरू सिद्दार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफुलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए। कानुन लागू गर्ने वा सेवा दिने मान्छे स्वयंमा असल हुनुपर्ने र ध्यानले मानिसलाई असल बन्न मद्दत गर्ने भएकोले आफुले गृह मन्त्रालय र अन्तर्गतका निकायमा ध्यान संस्कृति निर्माण गर्ने प्रयास गरेको उनले बताए। कैदी बन्दीहरूलाई सम्बोधन गर्दै उनले भने -'एकपटक गल्ती, अपराध गरे। ध्यानले अब म असल बन्छु, फेरिन्छु, बदलिन्छु भन्ने सोच तपाईंहरू आउनेछ।' कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा.रुप ज्योतिले मन शुद्ध भएमात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए। केन्द्रले १६ देशका कारागारहरूमा शिविर संचालन गरिसकेको र उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको महत्त्व बुझ्नुभएकैले नक्खु कारागारमा समेत केन्द्र र शिविर संचालन हुनसकेको बताए । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशिराज दाहाल, सशस्त्र प्रहरीका एआइजी नारायणदत्त पौडेल, विपश्यना ध्यान केन्द्रका आचार्यहरू तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको समेत उपस्थिति थियो।
जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, फागुन ८ गते । जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार दायर भएको छ । अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए । अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन वन कार्यालय कपिलवस्तुका तत्कालीन डिभिजन वन अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदार वन व्यवस्थापन समिति कार्यान्वयन ईकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, इलाका वन कार्यालय जवाबैराठ कपिलवस्तुका सहायक वन अधिकृत (तत्कालन निलम्बित) ब्रहमदेव महतो र डिभिजन वन कार्यालय कपिलवस्तुका रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत गणेशकुमार थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसैगरी, प्रदेश वन निर्देशनालय रुपन्देहीका सहायक वन अधिकृत टोलकराज चापागाई, सव डिभिजन वन कार्यालय गुगौली कपिलवस्तुका सहायक वन अधिकृत लालबाबु झा, फरेष्टर रामरक्षा कुर्मी (चौधरी), वन रक्षक सन्जय थारु, वन रक्षक रामगोपाल त्रिपाठी, ईलाका वन कार्यालय जवाबैराठ कपिलवस्तुका तत्कालीन सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत र तत्काल डिभिजन वन कार्यालय कपिलवस्तका वन रक्षक संजय केवटविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । त्यस्तै, डिभिजन वन कार्यालय कपिलवस्तुकै फरेष्ट रमतु चौधरी, साविक सेक्टर वन कार्यालय जर्लैया कपिलवस्तुका वन रक्षक बासुदेव गोडिया (अवकाश प्राप्त), गौतमबुद्ध साझेदार वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन संयोजन–अध्यक्ष जानकी प्रसाद यादव, गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठ दाउरा खरिद बिक्री सेन्टर प्रोपराईटर गिता जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए। गैरकानुनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार १९३ रुपियाँ नोक्सानी भएको अख्तियारको दावी छ ।
आरती साहको परिवारलाई न्याय दिलाउन पहल गछौं: प्रधानमन्त्री
काठमाडौँ । प्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायका लागि पहल गर्ने बताएका छन् ।आज बिहान आरती साहको परिवारसँगको भेटमा उनले सो कुरा बताएका हुन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा परिवारले आफूहरूले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उनका श्रीमान् पुर्पक्षका लागि थुनामा समेत गरेका छन् । तर उनको माइती परिवारले पूर्ण न्याय माग गर्दै धर्नामा छन् ।
वीरगञ्जमा पुनः अनिश्चितकालिन कर्फ्यु आदेश (विज्ञप्तिसहित)
वीरगञ्ज, फागुन ८ गते । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो सोमबार साँझ ५ बजेदेखि जारी गरेको कर्फ्यु मंगलबार बिहान ४ घण्टा खोली पुनः बिहान १० बजेदेखि जारी गरेको छ । वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि जारी कर्फ्यु आदेश सर्वसाधारणको सुविधालाई मध्यनगर गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा खोलेर फेरी अनिश्चितकालिन कर्फ्यु जारी गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको उक्त आदेशको पालना नगर्नेलाई कानुन बमोजिम कडा कारबाही हुने जनाईएको छ । द्वन्द्वलाई उक्साउने सामग्री सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न प्रजिअको आग्रह पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले द्वन्द्वलाई उक्साउने खालका सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न विज्ञप्ती मार्फत् आग्रह गरेका छन् । धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवम् द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रकाशन प्रशारण नगर्न नगराउन पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले विज्ञप्तीमार्फत् अनुरोध गरेका हुन् । यस्तो छ विज्ञप्ति
करिब एक किलो सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसएसपी कृष्णहरि शर्माले जानकारी दिए । उनका अनुसार, सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको एसएसपी शर्माले बताए ।

