देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री प्रचण्ड

रुकुम पूर्व। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताए। ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रस्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताए ।

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए। प्रधानमन्त्री प्रचण्डले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख पारे ।

भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ थियो। तराई–मधेशमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उनले उल्लेख गरे। वर्तमान सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रुपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताए ।

नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबीच विभिन्न नाका खोल्ने सहमति भएको उनको भनाइ छ ।

चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सोही परियोजनाअन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने स्पष्ट पारे । सो परियोजनाले यस जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उनको भनाइ थियो।

पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकले एकताको विकल्प नभएको बताए ।

विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डले जानकारी दिए । नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको जानकारी दिंदै उनले डा बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गरे ।

माओवादीकै पहलमा सुरु भएको सहिदमार्ग निर्माणका लागि आफूले थप पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ । यस जिल्लामा रहेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरेर समृद्ध बनाउनका लागि आफ्नो ध्यान गएको उनले उल्लेख गरे रासस

चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए त्यसको सूचना प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा दिन आग्रह गरेको छ । चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार चिनीको अभाव हुन नदिन प्रहरीका सम्पूर्ण इकाइ सक्रिय परिचालन गरिएको छ । तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइलाई सक्रिय परिचालन गरेको प्रवक्ता कडायतले बताए । उनले भने, “पछिल्लो समय बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको भन्ने खबर प्रहरीले बजारमा चिनीको आपूर्ति सहज बनाउन सबै उपाय लगाइने छ ।” गत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय गरिएको थियो । सो बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारी मार्फत बजारमा पठाउन लागिएको हो । बिहीबार गुह्येश्वरी ट्रेड लिङमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पक्नाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले जानकारी दिए। दसैँको समयमा माछा, मासु खाइने भएकाले चिनीको खासै आवश्यकता नहुने गरेको भएपनि तिहारको समयमा प्राय रोटीलगायतका चिज वस्तुका लागि चिनी आवश्यक पर्ने हुँदा दसैँभन्दा बढी तिहारमा चिनीको माग बढ्ने गरेको पाइन्छ । यसैगरी, भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउन लागिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तथा सूचना अधिकारी आनन्दराज पोखरेलले जी टु जीमार्फत चिनी ल्याउन लागिएको बताउए। उहाँले भन्नुभयो, “भारतबाट जीटूजी (सरकार–सरकार) मार्फत चिनी आउन लागेको हो । उक्त चिनी नेपालमा रहेका साल्टट्रेडिङ र खाद्य व्यवस्था व्यापार कम्पनीमार्फत बिक्रि बितरण गरिने छ ।” भोलि (शनिबार) र आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने उनको भनाइ छ । चाडपर्वको मौका छोपेर केही व्यापारीले चिनी लुकाएको आशङ्का गरी सरकारले चिनीका गोदाममा छापा मार्न प्रहरीलाई निर्देशन दिइसकेको छ । यस्तै, चिनीको अभाव हटाउन उद्योगीसँग मौज्दातमा रहेको चिनी पनि बजार पठाउन थालिएको जनाइएको छ । रासस

नागरिकको स्वास्थ्यको हकप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको स्वास्थ्यको हकप्रति सरकार संवेदनशील रहेको बताएका छन् । बुटवलस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज)को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने –’वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील छ । मेरो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।’ स्वास्थ्य क्षेत्रका साथै सामाजिक सुरक्षा, सरल एवं सहज सेवा प्रवाहमा सरकारले ध्यान दिएको प्रधानमन्त्री बताए । प्रधानमन्त्री प्रचण्डले भने -‘गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० श्यया निःशुल्क उपलब्ध गराइएको छ । पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल श्ययाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ । यस्ता धेरै कामहरू अगाडि बढेका छन्– जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् ।’ निकै ठूलो मेहेनत र संघर्षबाट नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए ।संविधानको उक्त व्यवस्थाअनुरूप निजी स्वास्थ्य संस्थाहरूलाई सकारात्मक योगदान पुर्याउन उनले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले भने -‘नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, यो निकै ठूलो मेहेनत र संघर्षको प्रतिफल हो । उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ । संविधानको उक्त व्यवस्थाअनुरूप आम्दा लगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।’ सम्बोधनको पूर्णपाठ सबैभन्दा पहिला उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गर्दै जापान सरकार र जाइका नेपालमार्फत नेपालको विकासमा जापानले दिँदै आएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु । आज उद्घाटन हुन लागेको आम्दा नेपालअन्तर्गत स्थापित सिद्धार्थ बाल तथा महिला अस्पतालले सञ्चालन गरेको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ्ग कलेज) को विधिपूर्वक उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । म आम्दा नेपाल परिवारमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । विश्वशान्तिका प्रवर्तक गौतम बुद्धको पवित्र जन्मभूमि तथा प्राचीन इतिहास र बुद्ध दर्शनको उद्गम भूमिका रूपमा परिचित कक्रुच्छन्द बुद्ध र कनकमुनि बुद्धको समेत जन्मभूमिका रूपमा चर्चित यस रूपन्देही क्षेत्रमा जापानका मानवसेवामा समर्पित प्रतिष्ठित डाक्टर सिगेरू सुगानामीसहितका व्यक्तिहरूको योगदानमा स्थापित आम्दा नेपालले बुटवलमा सिद्धार्थ अस्पताल तथा क्याम्पस दुबैले आमा र बालबालिकाहरूको स्वास्थ्यमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु । सन् १९८४ मा “एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया” (AMDA) का रूपमा स्थापित गैरनाफामुलक गैरसरकारी यस संस्थाले चिकित्सा शिक्षाका क्षेत्रमा समेत सहुलियतपूर्ण शुल्कमा सुलभ सेवा दिन स्थापित भएको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ्ग कलेज) मा नर्सिङ्ग, फार्मेसी र एच.ए. विषयको अध्यापन सेवा सुरू गर्नु यस क्षेत्रकै लागि खुसीको विषय हो । एउटा च्यारिटी अस्पताल र शिक्षण संस्थाको नाताले यहाँका स्थानीय निम्न आर्थिक स्तर भएका जनताका निम्ति यो संस्था धेरै नै उपलब्धीपूर्ण रहनेछ भन्नेमा मैले विश्वास लिएको छु । बालबालिका तथा महिलाहरूलाई एउटै स्थानबाट यति धेरै सुविधा प्रदान गर्नु र दुरदराजका बिरामीहरूको समेत स्तरीय उपचार गर्नुले यस अस्पतालको भूमिका मननीय छ भन्ने स्वतः स्पष्ट छ । पचास श्ययाबाट सुरू भई हाल एक सय श्ययामा सञ्चालन भइरहेको यस अस्पतालमा पुनः तीन सय श्ययाको सुविधा सम्पन्न अस्पताल बनाउनका लागि आज सो भवनको शिलान्यास भएको छ । साथै अनुसन्धानात्मक क्षेत्रमा समेत योगदान पु¥याउन पुस्तकालयको पनि निर्माण सुरू गरिएको छ । यसको महत्व अझ बढी उजागर गरेको छ । पच्चीस वर्ष अगाडि स्थापित उपचारात्मक सेवा दिँदै आएको यस संस्थाले चिकित्सा शिक्षामा समेत पाइला चालेको छ । यो शैक्षिक कार्यक्रममा सरकारको तर्फबाट सक्दो सहयोग पुर्‍याइनेछ । साथै यस संस्थाबाट निकट भविष्यमै आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी गराउँछु। मलाई विश्वास छ– यस संस्थाले स्वास्थ्य र शिक्षाका दुबै क्षेत्रमा उदाहरणीय काम गर्नेछ । यस नगरमा नमुना नर्सिङ्ग कलेज र नमुना महिला बाल अस्पतालको भूमिका पनि पूरा गर्नेछ । यस नर्सिङ्ग कलेजको सम्बन्धन प्रक्रियामा आइपरेका समस्या र चुनौतीको सामना गर्दै भरपुर प्रयत्नका साथ यस संस्थाका व्यक्तिहरू र पार्टीका नेता कमरेडहरूलाई यो पहलकदमीमा समर्पित भई लाग्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु । वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील छ । मेरो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० श्यया निशुल्क उपलब्ध गराइएको छ । पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल श्ययाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ । यस्ता धेरै कामहरू अगाडि बढेका छन्– जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् । नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, यो निकै ठूलो मेहेनत र संघर्षको प्रतिफल हो । उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ । संविधानको उक्त व्यवस्थाअनुरूप आम्दा लगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्नेछन् भन्ने मैले विश्वास लिएको छु । अन्तमा संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै यसको थप गुणस्तरीयता, सहुलियतपूर्ण जनपक्षीय सेवा र यस क्षेत्रकै उदाहरणीय स्वास्थ्य केन्द्रका रूपमा प्रतिष्ठित हुँदै जाने विश्वास व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।  

यस्तो छ आजको मौसम

काठमाडौं । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

नागरिकता प्राप्तिपछि गैरआवासीय नागरिकले भने -‘यो नागरिकता मुटुको अंश हो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका छन् । सिडियोबाट प्राप्त नागरिकता प्रधानमन्त्रीको हातबाट ग्रहण गर्दै गैरआवासीय नेपाली नागरिकले सो नारिकता आफ्नो मुटुको अंश भएको भन्दै खुसी व्यक्त गरेका छन् । संघका अध्यक्ष कुल आचार्य र बद्री केसीले प्रधानमन्त्रीको हातबाट नागरिकता प्राप्त गरेपछि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले गैरआवासीय नेपाली जहाँ बसेपनी नेपाली मन लिएर बसेको हुँदा नागरिकता मुटुको अंश बन्ने बताए । गैरआवासीय नेपालीको तर्फबाट नेपाल सरकारर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य नागरिकता लिएपछि आफू भावुक बनेको बताए । उनले यो नागरिकता गैर आवासीय नेपालीका छोराछोरी नेपालसँग जोडिन राम्रो वातावरण बन्ने बताए । उनले यो नागरिक वितरणले गैर आवासीय नेपालीले देशको विकासमा साहभागी हुने वातावरण बनेको समेत बताए । मातृ भूमिको गुण तिर्न गैर आवसीयले मातृ भूमिको माटो बेचेर बाहिरको माटो नकिन्न आग्रह गरेका छन् । एक पटकको नेपाली सधैको नेपाली भन्ने अभियानले गैरआवासीय नेपाली नागरिकता वितरणसँगै सार्थकता पाएको उनीहरूको भनाई थियो । गैरआवासीय नेपाली नागरिकता कागच मात्रै नभएर राज्य प्रति अभिभारा भएको उनीहरूले बताए । यो नागरिकताले वंसजको आधारमा पुस्तौंसम्म जानुपर्ने उनीहरूको भनाई थियो ।

आज दसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा

काठमाडौं । हिन्दु नेपालीको महान चाड बडादसैँको आज दोस्रो दिन, देवीमन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजा गरी मनाइँदै छ । ब्रह्मचारिणीदेवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने प्रचलन छ । आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ । ब्रहमचारिणीदेवीको पूजा गर्नाले ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रमा उल्लेख छ । ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई समाजिक सुरक्षा कोषमा आवद्ध गर्छों : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई समाजिक सुरक्षा कोषमा आवद्ध गर्ने लक्ष्य लिएको बताएका छन् । राष्ट्रिय युवा परिषदद्धारा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन– २०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । सरकाले सामाजिक न्याय र युवाको सर्वाङ्गीण विकास गर्दै हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताए । प्रधानमन्त्री प्रचण्डले भने -‘वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण प्रयास अगाडि बढाएको छ । विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया पनि सुरू भएको छ । केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्ने लक्ष्य लिएका छौं । त्यसैगरि देशको अनौपचारिक क्षेत्र र स्वरोजगार क्षेत्रमा क्रियाशील श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक कार्यक्रममा आवद्ध गर्ने प्रक्रियाले तीव्रता पाएको छ । यो कार्यक्रमलाई थप प्रभावकारी बनाएर युवाहरूले देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा छ ।’ यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधन पूर्णपाठ नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता वर्ष घोषणा गरेको पृष्ठभूमिमा युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमा उपस्थित हुन पाउँदा खुसी लागेको छ । सर्वप्रथम कार्यक्रमका आयोजक राष्ट्रिय युवा परिषद, नेपाल विजनेस इन्स्टिच्युट लगायतका संघसंस्था एवं सहभागी सबै नवउद्यमी युवाहरूमा हार्दिक धन्यवादसहित सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिन्छ । जनगणना २०७८ अनुसार त्यस्ता युवाको जनसंख्या १ करोड २४ लाख अर्थात् ४२.५६ प्रतिशत छ । युवाको विकास भन्नु नै मुलतः समाज र देशको विकास हो । युवा जनसंख्या उच्च रहेको यो समय जनसांख्यिक लाभांशको दृष्टिले विशिष्ट अवस्था हो, जुन धेरै समय नरहन पनि सक्छ । त्यसैले जनसांख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति हामीले प्राथमिकतापूर्वक ध्यान केन्द्रित गर्नुपर्दछ । दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन, राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई भविष्यका कर्णाधार मात्र नभएर वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिवद्ध छ । यस सम्मेलनले युवाहरूको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । हामीले एकातिर युवामा रहेका ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपरेको छ, अर्कोतिर युवाहरूलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । विदेशमा रहेका लाखौं नेपाली युवाहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यस दिशामा गम्भीरतापूर्वक लागिरहेको छ । वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण प्रयास अगाडि बढाएको छ । विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया पनि सुरू भएको छ । केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्ने लक्ष्य लिएका छौं । त्यसैगरि देशको अनौपचारिक क्षेत्र र स्वरोजगार क्षेत्रमा क्रियाशील श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक कार्यक्रममा आवद्ध गर्ने प्रक्रियाले तीव्रता पाएको छ । यो कार्यक्रमलाई थप प्रभावकारी बनाएर युवाहरूले देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा छ । नेपाली युवाको सर्वाङ्गीण विकास गर्दै हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्ष २०८०।८१ लाई सरकारले युवा उद्यमशीलता वर्षको रूपमा मनाउने घोषणा गरेको कुरा यहाँहरूलाई अवगत नै छ । नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निमित्त सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ । यसबाट सकारात्मक परिणाम निकाल्नका निम्ति युवाको उत्साह र सहभागिताको पनि उत्तिकै आवश्यकता रहन्छ । यसको लागि म सम्पूर्ण नेपाली युवालाई विशेष अपील गर्दछु । सात दशक लामो सङ्घर्षपछि संविधानसभाबाट जारी भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रूपमा ग्यारेन्टी गरेको छ । यही यथार्थलाई आत्मसात गर्दै सरकारले संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन लगायतका महत्वपूर्ण ऐन संसदमा प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । यी ऐनहरूको निर्माणले संविधानप्रदत्त मौलिक हकको कार्यान्वयनसहित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुग्नेछ । अन्त्यमा युवा उद्यमशीलतालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस महत्वपूर्ण सम्मेलनले निकालेका जायज र सकारात्मक निष्कर्षलाई सरकारका तर्फबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै फेरि एकपटक नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८० को पूर्ण सफलताको शुभकामनासहित विदा हुन्छु, धन्यवाद ।

यस्ता छन् सरकारका आठ निर्णय

काठमाडौं । सरकारले एमसीए–नेपालले निर्माण गर्ने विद्युत् प्रशारण लाइन तथा सबस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का जिल्लाका जग्गा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ । असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित आठवटा निर्णय गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यस्तै, सरकारले भन्सार तथा लजिस्टिक्स सुधारअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्ता छन् निर्णय

क्याप्टेन लामाको अनुभव सुनेपछि किशोरीहरू उत्साहित

काठमाण्डौं ।क्याप्टेन बिजय लामाको हवाई उड्यन क्षेत्रका अनुभव र करियरबारेको सेमिनारमा सहभागी एयर होस्टेज पढन चाहाने किशोरीहरू उत्साहित बनेका छन् । शनिबार नेपाल हाउसको सभा हल बालुवाटारमा नेपाल एअरहोस्टेज एकेडेमीले आयोजना गरेको निःशुल्क सेमिनार कार्यक्रममा बोल्दै क्याप्टेन लामाले सहभागीहरुलाई आफ्नो अनुभव सुनाएका थिए । करिब ७० जना किशोरीहरुमाझ क्याप्टेन बिजय लामाले आफ्नो हवाई उडानको अनुभव सुनाएका थिए ।उनले सुनाउँदै “जीवनमा डर हुनु पर्छ तर डर कै भरले जीवनलाई सहज बनाउनु पर्छ” बताए । करिब २ घण्टा सम्म चलेको सेमिनारमा क्याप्टेन बिजय लामाको साथै चलचित्र “अन्तिम संस्कार”को टिम पनि सहभागी रहेको थियो । उक्त चलचित्रमा लामा पनि प्रमुख भूमिकामा रहेका छन् । सेमिनारको अन्त्यमा सो टिमलाई नेपाल एअरहोस्टेज एकेडेमीको तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा एयरहोस्टेज अध्ययन गर्न चाहाने किशोरीहरूले सेमिनारले आफुहरूलाई हवाईउड्यन क्षेत्रको महत्वबारे महत्वपूर्ण सिकाइ भएको बताएका छन्। सेमिनारले युथहरूलाई नेपालमै अवसरको खोजि गर्ने उत्साह पैदा गरेको उनीहरूले बताए ।

अन्तिम चौमासिकमा ठुलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखियो : सांसद सापकोटा

काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले अन्तिम चौमासिकमा ठूलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखिएको बताएका छन् । आज संसदमा सम्बोधन गर्दै उनले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकि छँदा करिब २५.८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक प्रस्तुत गर्दै औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने परम्परा अन्त्य गरिनु पर्नेमा जोड दिएका हुन् । ‘औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने गरेको छ । विकासमा छुट्टाईएको रकम समयमैं खर्च हुन नसकेर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रको लागि राम्रो मानिँदैन। यसबाट लक्षित र गुणस्तरीय काम समयमानै सम्पन्न हुन्छ भन्नेमा शंका गर्न सकिन्छ सम्बोधनका क्रममा उनले भने ।’ यस्तो पढ्नुहोस् सम्बोधनको पूर्ण पाठ सम्माननीय सभामुख महोदय, चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकि छँदा करिब २५.८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको असार महिनामा कुल पुँजीगत खर्चको करिव २० प्रतिशत विकास बजेट खर्च भएको थियो। औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने गरेको छ । विकासमा छुट्टाईएको रकम समयमैं खर्च हुन नसकेर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रको लागि राम्रो मानिँदैन। यसबाट लक्षित र गुणस्तरीय काम समयमानै सम्पन्न हुन्छ भन्नेमा शंका गर्न सकिन्छ। आर्थिक वर्षका सुरुका महिनामा नै तोकिएको रकम खर्च गर्ने वातावरण र अन्तिम चौमासिकमा ठुलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखियो। सभामुख महोदय, आगामी आर्थिक वर्षको लागी वजेट तर्जुमाको चरणमा रहेकोले यस तर्फ समयमैं ध्यान जाओस भनी म सम्माननीय ज्यु मार्फत वार्षिक वजेट क्यालेण्डर वनाइ प्रत्येक महिनामा निश्चित प्रतिशत विकास वजेट खर्च गर्न र सोही अनुरुप सम्वन्धित निकायहरुको कार्यसम्पादन मुल्यांकन गरी वजेट व्यवस्थापनको कमजोरी हटाउन विशेष ध्यानाकर्षण गराउँदछु ।

प्रचण्डविरुद्ध रिट दर्ता गर्ने आदेश कलुषित पुर्वग्राही भवनाले ग्रसित : माओवादी केन्द्र

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ। महासचिव देवप्रसाद गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै  प्रचण्डविरुद्ध रिट दर्ता गर्ने आदेश कलुषित पुर्वग्राही भवनाले ग्रसित भएकाे बताएका हुन्। ज्ञानेन्द्रराज आराण लगायतको रिट सर्वोच्च अदालतका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिदिएका थिए । सोहि मुद्धालाई शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले रिट दर्ता गर्न आदेश दिएको छ। ‘१० वर्षे महान जनयुद्ध, २०६२–०६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको वृहत शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधान सभाको निर्वाचन तथा संविधान सभाबाट निर्मित संघियता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचनासहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरुविरुद्ध हुने कुनै पनि गतिविधिलाई यस दल अस्वीकार गर्दछ। त्यस्तो कार्यप्रति घोर भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ। प्रचण्डले संविधान प्रदत वाक स्वतन्त्रताको उपभोग गरी अमुक सार्वजनिक कार्यक्रममा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनु पर्छ भनि कलुषित पुर्वग्राही भवनाले ग्रसित भई दायर रिट न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरित र वर्तमान संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको माओवादीले केन्द्रले जनाएको छ । जनयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा बृहत शान्ति सम्झौताले निर्देशित गरे बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन भई आयोगले संक्रमणकालिन न्यायीक कारबाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशिल रहेको अवस्थामा आयोगको क्षेत्राधिकार भित्रका विषयहरुलाई प्रतिकुल असर पर्ने गरी कुनै पनि अधिकार क्षेत्र ग्रहण गर्न, कारबाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने भन्दै माओवादीले सचेत गराएको छ। यस्ता कार्यहरु र गतिविधिले शान्ति प्रक्रियामा गम्भीर चुनौती श्रृजना हुने भन्दै शान्ति तथा लोकतान्त्रिक गणतन्त्र र आर्थिक सम्वृद्धिसहितको अग्रगामी राजनीतिक पहलकदमीप्रति शाीनत सम्झौताका पक्षधर राजनीतिक पार्टीहरु, शान्ति पक्षधर जनता र अन्तर्राष्ट्रिय समुदाय एक जुट हुन पनि माओवादीको आग्रह छ। यस्तो छ विज्ञप्ति सम्मानित सर्वोच्च अदालतबाट रिट निवेदक ज्ञानेन्द्र राज आरणले यस दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपर दायर गरेको रिट निवेदन (01-079-01501) (079-Re -0105) सम्मानित सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको आदेशलाई सम्मानित अदालतका माननीय न्यायाधिश ईश्वर खतिवडा र माननीय न्यायाधिश हरि फुयालको संयुक्त ईजलासबाट वदर गरी रिट दर्ता गर्नु भनी रजिष्ट्रारको नाममा भएको मिति २०७९ /११ / १९ को आदेशप्रति यस दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गंभीर ध्यानाकर्षण भएको छ। १० वर्षे महान जनयुद्ध, २०६२/६३ को दोश्रो जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको वृहद शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोश्रो पटक सम्पन्न संविधानसभाको निर्वाचन तथा संविधानसभाबाट निर्मित संघियता, धर्मरिपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचना सहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरु विरुद्ध हुने कुनै पनि गतिविधिलाई यस दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अस्वीकार गर्दछ। त्यस्तो कार्यप्रति घोर भर्त्सना गर्दछ। यस पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान प्रदक्त वाक स्वतन्त्रताको उपभोग गरी अमुक सार्वजनिक कार्यक्रमहरुमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारवाहीको विषय बनाईनु पर्छ भनी कलुषित पुर्वग्राही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिदान्त विपरित र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको सम्बद्ध निकायहरुलाई अवगत गराउन चाहन्छौ। दशवर्षे जनयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा वृहद शान्ति सम्झौताले निर्देशित गरे वमोजिम सत्यनिरुपण तथा वेपत्ता छानवि आयोग गठीत भै उक्त आयोगहरुले सक्रमणकालिन न्यायिक कारवाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशिल भैरहेको परिप्रेक्षमा उक्त आयोगको अधिकारक्षेत्र भित्रका विषयहरुलाई प्रतिकूल असर पर्नेगरी कुनै पनि अधिकारक्षेत्र ग्रहण गर्न, कारवाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने स्मरण सहित सचेत गराउन चाहन्छौ। संक्रमणकालिन न्यायको मुल्य मान्यता विपरित हुने कार्यहरु र गतिविधिले मुलुकमा स्थापित शान्ति प्रक्रियामा गंभिर चुनौति श्रृजना हुने हुँदा नेपालमा हाल स्थापित शान्ति तथा संघीय लोकतान्त्रिक गणतन्त्र र आर्थिक सम्वृद्धि सहितको अग्रगामी राजनीतिक पहलकदमीप्रति शान्ति सम्झौताका पक्षधर राजनीतिक पार्टीहरु, शान्तिपक्षधर आम जनता र अन्तराष्ट्रिय समुदाय एकजुट हुन समेत आव्हान गर्दछौ। महान जनयुद्ध र दोश्रो जनआन्दोलन क्रममा सम्पन्न १२ बुंदे सम्झौता र शान्ति प्रकृयाको थालनीसँगै मुलुकको अग्रगामी प्रकृया विरोधि तत्वहरु तथा प्रतिगमनकारी प्रवृत्तिहरु विभिन्न रुपमा सलवलाइ रहेको परिप्रेक्षमा यी प्रवृतिहरु विरुद्ध अग्रगामी परिवर्तन पक्षधर राजनीतिक शक्ति तथा पार्टीहरु तथा आम जनसुदायलाई प्राप्त उपलब्धिहरुको रक्षा गर्दै मुलुकलाई आर्थिक सम्वृद्धि सहितको थप राजनीतिक उपलब्धिहरु संस्थागत गर्न र मुलुकमा शान्ति स्थापित र संस्थागत गर्ने पक्षमा सुदृढ अग्रगामी एकता कायम गर्न सम्बद्ध पक्षहरुसँग समेत हार्दिक अपील गर्दछौ।

माओवादीले दियो स्थायीदेखि वैकल्पिक केन्द्रीय समितिसम्मलाई पूर्णता (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिसमेतलाई पूर्णता दिएको हो । माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् । यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् । माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको पनि जनाइएको छ । आठौं महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताहरुको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको स्रोतले बतायो । माओवादी केन्द्रका नेता गणेश साहले पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताएको पुष्टि गरे । तर, सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको उनको भनाइ छ । अर्का एक नेताले प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्य सहित सबै नेताहरुको जिम्मेवारी तोक्दा एकपद एक कार्यकारी जिम्मेवारीमा जोड दिने हालै सम्पन्न स्थायी कमिटी बैठकले तय गरेको पनि बताए । पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिमा रहेका सदस्यहरुको सूची              

परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नुल्यान्डले पौड्याललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।

माघ १२ गते बोलाइयो माओवादीको स्थायी समिति बैठक

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ। यही माघ १२ गते पेरिसडाँडामा बस्ने गरी माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो। बैठकमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन तथा पार्टी संगठन र भावी कार्य योजना मुख्य एजेन्डा रहेका छन्। त्यसैगरी यो बैठकमाा पछिल्लो राजनीतिक अवस्था, अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको भूमिका, नेपाल समाजवादी पार्टीसँग एकतासहितका विषयमा पनि छलफल हुने एक नेताले बताए। माओवादीले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय समिति बैठकमै छलफल हुन सक्ने बताइएको छ। त्यहाँ पनि राष्ट्रपति निर्वाचनबारे कुरा हुने बताइएको छ। राष्ट्रपतिमा अध्यक्ष प्रचण्डलेसबै दलहरुबीच सहमति खोज्ने बताइरहेका छन्।

ओली युगको अन्त्य : पाठक आन्दोलनको भ्रुण

भवानी बराल । आन्दोलनको विषय प्रवेश गराउने पहिलो माध्यम निर्वाचन हो । आन्दोलनको आयतन र जनताको चेतन यहिँबाट मापन हुन्छ । पञ्चायत विरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाइ उपयोग गरेबाट यसको सार्थक अभ्यास भएको थियो । पञ्चायतको भण्डाफोर गरेको केही वर्षमै पञ्चायतको पतन भयो । यसरी नै संसदीय व्यवस्था भण्डाफोर गरेको एक कार्यकाल पछि नै नेपालमा जनयुद्धको थालनी भयो । निर्वाचनका समयमा बैचारिक मुद्धाहरु सतहमा ल्याउनु पर्छ । निर्वाचन मुद्धामय बन्न सकेन भने निर्वाचनका अन्य प्राविधिक कुराले घर गर्छ । यस्तो मुद्धाहीन निर्वाचनले देश र जनतालाइ फाइदा गर्दैन । यस्तै काममा यतिखेर लेखक, पत्रकार र सामाजिक अभियानकर्ता युग पाठक झापा क्षेत्र नं ५ को निर्वाचनमा हेलिएका छन् । निर्वाचन परिणामको गणित कोट्याएर मात्र आजको वैश्विक समस्या हल हुँदैन । तथाकथित नश्लीय राष्ट्रवाद अहिलेको समाजको आवश्यकता हैन । परिवर्तनका लागि आफ्नो विवेक प्रयोग गर्नु पर्छ । आजको युग नयाँ विचारको खोजी हो । ओजुलेसनको मर्म  प्रान्सिस फुकुयामाले इतिहासको अन्त्य लेखे तर, इतिहासको अन्त्य भएन । केहीले भाषाको अन्त्य वा विचारको अन्त्य भनेर लेखे त्यो पनि भएन । अन्त्य न इतिहासको भएको छ न भाषा, विचारको । यसको अतिरिक्त नयाँ दर्शन विचारको अभाव भएको भने खड्किएको विषय हो । विचारमा खिया लागेको शब्दावली केहि समयदेखि सुनिँदै आएको हो । परम्परागत दर्शन र विचारहरु युगीन नेतृत्व गर्न अक्षम भएको वर्षौंं वित्यो । वैज्ञानिक विचारहरु पनि परिमार्जन हुन नसक्ता तीनको उपयोगितामा प्रश्नहरु उठ्न थालेका छन । उदारवाद मात्र हैन माक्र्सवाद वा मालेमावादमा पनि प्रश्नहरु उठेका छन् । माक्र्सवाद, लेनिनवाद हुँदै माओवादमा आएर मालेमावाद टक्क अडिएको छ । एउटा काल्पनिक युटोपिया जिवन मानव समाज अभिसप्त छ । र, आजको विश्व समाजको नेतृत्व गर्न यो वैचारिक धारमा बगे्रल्ती प्रश्नहरु उठेका छन् । प्रश्नहरु भने उत्तरित छैनन् । यहिँनेर आएर नयाँ दर्शन र विचारको आवश्यकता भएको हो भन्ने बहसले विमर्स खोजेको छ । त्यो विमर्स युग पाठकले ‘ओजुलेसन मुभमेण्ट’ अर्थात उत्स्रवण आन्दोलनको नाममा सार्वजनिक गरेका छन् । केहि वर्ष अगाडिदेखि विश्व अर्थ राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ शब्दको खुबै प्रयोग हुँदै आएको छ । यो शब्दलाई नेपाली भाषामा लगभग ‘प्रतिमान परिवर्तन’ भन्ने अर्थ लगाउँदा हुन्छ । प्रतियोगितात्मक काम कार्वाहीहरुमा नमूनाको रुपमा कायम गरिएको माथिल्लो स्तरको दृष्टान्त नै प्रतिमान परिवर्तन हो । प्रख्यात लेखक थमस कुहनले आफ्नो पुस्तक ‘स्टक्चर अफ साइण्टिफिक रिभुलेसन’मा प्याराडायमको व्यापक चर्चा गरेका छन् । कुहनले प्याराडाइमलाइ विज्ञानसम्मत विश्वास र मान्यताको प्रणाली भनेर वर्णन गरेका छन् । प्याराडाइम सिफ्टको अर्थ  पाठकले अगाडि सारेको उत्स्रवण आन्दोलन पनि प्याराडाइम सिफ्टको मान्यतामा आधारित देखिन्छ । उत्स्रवण शब्द उत्थान शब्दसंग धेरै अर्थमा समानता राख्छ । उत्थान अंग्रेजी भाषाको ‘अपवेलिङ’ शब्द समान हो । उत्थान कुनै निम्न स्थानबाट उच्चस्तरमा पुग्ने अवस्था वा भाव, समृद्ध स्थिति, उन्नति, अभिवृद्धि हो । कुनै नौतुन कामको प्रारम्भ वा थालनी, उठान, उठ्ने वा उभिने कामलाई उत्थान भनिन्छ । यसअर्थमा उत्स्रवण आन्दोलन नै आजको उत्थान आन्दोलन हो । विचारलाई उठाउने आन्दोलन हो । विचारलाई पतन गराउने कतै होइन । अंग्रेजी शब्द ‘अपवेलिङ’ले आमूल परिवर्तन वा सफाइको अर्थ राख्छ संगसंगै उत्थानको । यसरी उत्स्रवण आन्दोलनको सरल नाम उत्थान आन्दोलन हुनुपर्छ । प्रतिमान परिवर्तन गर्ने नयाँ आन्दोलन जुन आन्दोलनले आजसम्म भए गरेका प्रतिमानको परिवर्तन गर्छ । विश्व राजनीतिलाइ नयाँ स्थानमा दिशाबोध गराउँछ । प्रशिद्ध लेखक जेरेमी रिपिकनका पुस्तकहरु ‘कामको अन्त्य’, ‘तेस्रो औधोगिक क्रान्ति’, पछि लेखिएको ‘शून्य सिमान्त लागतमा आधारित सहयोगी समाज’ २०१४मा आजको पुँजीवादको अन्त्य सन्निकट भएको तर्क गरिएको छ । तर, यो पुँजीवादको अन्त्यपछि आउने दार्शनिक धारको बहस गर्न नकार गर्नु पर्ने अर्थ छैन । यसकारण युरो औपनिवेशीक धारको अन्त्य अमेरिकी लेखकले गर्नु यहिँनेर आएर उत्स्रवण आन्दोलनले उठाउन खोजेको अर्थमा लिन सकिन्छ । ओजुलेसनको प्रस्तावना  उत्स्रवण आन्दोलनको केहि प्रस्तावनाहरु छन् । युरो औपनिवेशिक दार्शनिक तथा वैचारिक व्युह रचनाकै वरिपरी आजसम्म विश्व घुम्यो । तर पाँचसय वर्ष अगाडि रचना गरिएको वैचारिक व्युह रचनाले के दियो ? राजनैतिक तनाव, घोर दक्षिणपन्थको उदय र कुनैपनि प्रकारको राजनैतिक समाधान दिन सकेन । केवल गोलचक्करमा फसाई रह्यो । प्रत्यक्ष उपनिवेश कायम गर्ने विषय त इतिहासमा देखिएकै हो । यसबीच औधोगिक क्रान्तिलाई छोड्ने हो भने पहिलो, दोस्रो र शित युद्धलगायत अनेकान घरेलु युद्धमा विश्वलाइ हेलाइ रह्यो । अहिले पनि यो व्युह रचनाले युद्धबाट मात्र राजनैतिक समाधान खोजिरहेको छ । जुन कुरा विचारधारात्मक हुँदै होइन । यहिँबाट अगाडि जाने प्रस्थान बिन्दू खोज्ने यसको पहिलो प्रस्तावना हो । युरो औपनिवेशिक व्युह रचनाले समाज, देश, बजार, व्यक्तित्व र मस्तिष्कमा औपनिवेशिक विचार थोप¥यो । दुइ विश्व दृष्टिकोण उदारवाद हुन वा माक्र्सवाद युरोपकै वैचारिक धार हुन । यि दुई धाराले विश्वलाई यहाँसम्म ल्यायो । तर, उदारवाद र माक्र्सवादी वैचारिक धारबाट अवको राजनैतिक संकट समाधान हुँदैन । या त माक्र्सवादमा नयाँ वैचारकि प्रस्तावना थप्न जरुरी छ । नयाँ विचारको निर्माण जरुरी भएको छ । माक्र्सवाद र उदारवाद युरो औपनिवेशिक धाराबाट अगाडि बढ्न नसकेको ठहर यो प्रस्तावनाको अर्को महत्वपूर्ण अवधारणा हो । जेरेमी रिपिकनले लेखेका छन, ‘सञ्चारविना हामी आर्थिक गतिविधि व्यवस्थापन गर्न सक्दैनौं । उर्जाविना हामी सूचना उत्पादन वा विजुली प्रशारण गर्न सक्दैनौ । रसदविना हामी मूल्य श्रृङ्खलामा आर्थिक गतिविधि निर्माण गर्न सक्दैनौ । यी तीन अपरेटिक प्रणालीहरुले एकसाथ नयाँ आर्थिक जीवनको संरचना निर्माण गर्दछ ।’ रिपिकनको यो भविष्यवाणीको पछाडिको तर्कमा बहस केन्द्रित भैरहेको छैन । यसर्थ अहिले वैचारिक राजनैतिक स्खलन सुरु भएको छ । यसर्थ राजनैतिक दलहरुसंग कुनै राजनैतिक मुद्धा छैन । छ त केवल चुनावदेखि चुनावसम्म, भोटदेखि भोटसम्म एउटा गोलचक्करमात्र छ । दुई विश्व दृष्टिकोणहरु माक्र्सवाद वा उदारवाद औपनिवेशीक कालखण्डको वैचारिक अवधारणा हुन । आन्दोलनका प्रस्तावक युग पाठकका अनुसार आजको पुँजीवाद उपनिवेशकालमा निर्माण भएको हो । यसर्थ यसको ‘डिएनए’ मै मान्छे समाजलाइ उपनिवेशिक मान्यता थोपर्ने हो । उनकै अनुसार यो पुँजीवाद शुद्ध पुँजीवादमात्र हैन ‘भाइसराय’ पुँजीवाद हो । अर्थात बेलायती औपनिवेशीक निगम ‘इष्ट इण्डिया कम्पनी’ले निर्यात गरेको अर्थ राजनीतिमा संकेन्द्रित छ आजको विचारधारा । यस्तो चिन्तनको अन्त्य गर्न आ–आफ्नो प्रांगारिक (अग्र्यानिक) आत्मनिर्भरतासहीतको राष्ट्रिय पुँजी निर्माण गर्ने हो । पर निर्भर अर्थतन्त्रको अन्त्य गर्ने हो । अर्थात औपनिवेशिक भाइसराय पुँजीवादको ठाउँमा नयाँ अर्थतन्त्रको विकास गर्ने । यसरी तेस्रो प्रस्तावना उपनिवेशकारी चिन्तन परम्पराबाट मुक्त हुने हो । यो आन्दोलनको वास्तविकता आजसम्मका मान्यताहरुको परिमार्जन हो । रहलपहल  उत्स्रवण आन्दोलनको निश्कर्ष मानव संसार दर्शनको संकटमा परेको छ भन्ने हो । विश्व राजनैतिक रंगमञ्चका दुई विश्व दृष्टिकोण दार्शनिक प्रणालीहरु समस्या समाधान गर्न अक्षम भए । विश्व राजनीति दार्शनिक संकटमा गुजुल्टिएको छ । पाठकको घोषणापत्र अनुसार ‘पाँचसय वर्ष अगाडि रचना भएको यो राजनैतिक व्युहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविश्कार त ग¥यो तर साथसाथै मानव समाजलाइ अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्युहमा फँसाइ पनि दियो । अनि प्रकृतिको सन्तुलन नै खल्बल्याइदियो ।’ (लेखक बराललाई [email protected]मा सुझाब सल्लाह दिन सकिन्छ )  

नेपाल पूर्व प्रहरी संगठन दाङको दशै तिहार छठ बिशेष कार्यक्रम सम्पन्न

अनुशा महरा ,दाङ्ग। पूर्व प्रहरी संगठन दाङले एक कार्यक्रमका बिच दशै तिहार तथा बिशेष कार्यक्रम मनाएको छ । शनिबार घोराहीमा सम्पन्न दशै तिहार छठ विशेष कार्यक्रममा सुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यलय दाङ्गका प्रहरी उपरीक्षक एबम कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर ओलिले पूर्व प्रहरी संगठनले स्थापना देखी नै रार्ष्ट्रिय चाड पर्बहरु मनाउदै गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । जिल्ला प्रहरी प्रमुख समेत रहेका ओलिले कठिन परिस्थितिमा स्थापना गरेको संगठनले निरन्तर पूर्व प्रहरी र बर्तमान प्रहरीको सम्बन्धमा समन्वय भुमिका सक्रिय भएको बताए।कार्यक्रममा घोराही उपमहानगरपालिका -१३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय सदस्य भुपेन्द्र सुवेदी नरेश डागी चिरञ्जीवी रिजाल निर्मला थापा खुशल बहादुर आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल पूर्व प्रहरी संगठन दाङ्गका कार्यबाहक अध्यक्ष रेशम बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतमन्तव्य पूर्व प्रहरी संगठन दाङका पूर्व अध्यक्ष कुल बहादुर रावतले व्यक्त गरेका थिए। कार्यक्रम सहजीकरण होम बहादुर शेरचनले गरेका थिए ।