रुसी सेनामा कार्यरत सबै भारतीयलाई फिर्ता पठाइने
ऐजेन्सी ।रूसी सेनामा कार्यरत सबै भारतीयको स्वदेश फिर्तीको बाटो खुलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो मुद्दा राष्ट्रपति भ्लादिमिर पुटिनसँग उठाएपछि निर्णय भएको हो।
मोदीको प्रस्तावलाई राष्ट्रपति पुटिनले स्वीकार गरेका छन्। रूसका राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई आफ्नो निवासमा निम्ता गरेका थिए।
जहाँ दुई नेताबीचमा भएको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले रूसी सेनामा काम गरिरहेका भारतीयको मुद्दा उठाएका थिए। यसक्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बनेकोमा बधाई दिएका थिए।
प्रधानमन्त्री मोदी र पुटिनबीच चियावार्ताका क्रममा कयौँ मुद्दामा कुरा भएको छ। यस क्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई लामो समयदेखिको मिहिनेतका कारण तेस्रो पटक प्रधानमन्त्री बनेको भन्दै प्रशंसा गरे।
रुस र उत्तर कोरियाले एकअर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने
काठमाडौँ । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। उक्त सम्झौताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले रुसले युक्रेनमा गरेको आक्रमणको समर्थन गरेका थिए। किमको यो अडानलाई रुसी राष्ट्रपति पुटिनले प्रसंशा गरेका छन्। दुई वर्षदेखि युक्रेनसँग जुधिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा छन्।अमेरिका र जी–७ राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाइसकेका छन्। यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्किएका पुटिनले प्योङयाङबाट सैन्य सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए।
चीनको चेतावनीबीच अमेरिकी टोलीले भेट्यो दलाई लामा
काठमाडौं। चीनको विरोधका बाबजुद अमेरिकी कंग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार चीनका धार्मिक नेता दलाई लामालाई भारतमा भेट गरेको छ। अमेरिकी कंग्रेसमा विदेश मामिलासम्बन्धी समितिका रिपब्लिकन सभापति माइकल म्याककाउलको नेतृत्वको सो टोलीमा पूर्वसभामुख न्यान्सी पेलोसी समेतका सातजना सामेल थिए । दलाई लामालाई भेट्न टोली मंगलबार भारतको हिमाञ्चल प्रदेश पुगेको थियो । लामा त्यही धर्मशालामा सन् १९६० को दशकदेखि बस्दै आएका छन् । अमेरिकी प्रतिनिधिमण्डलले तिब्बतको प्रवासी सरकारको कार्यालय समेत भ्रमण गरेको थियो । सो कार्यालयले तिब्बतलाई चीनबाट स्वायत्त बनाउनका लागि भूमिका खेल्दै आएको छ । चीनले अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलले दलाई लामासँग भेट्नुअघि नै कडा वक्तव्य जारी गरेर तिब्बतको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो । द सेटल टाइम्स
चीन र ईयूबीच उच्चस्तरीय वातावरण तथा जलवायु सम्मेलन सम्पन्न
काठमाडौं । चीन र युरोपेली संघ (ईयू)बीचको पाँचौं उच्चस्तरीय वातावरण तथा जलवायु वार्ता ब्रसेल्समा सम्पन्न भएको छ। बेल्जियमको राजधानी ब्रसेल्समा मङ्गलबार भएको छलफलमा दुवै पक्षले हरित सहयोगलाई अझ व्यवस्थित र मजभुत बनाउने विषमा सहमत भएको पिपुल्स डेली चाइनाले जनाएको छ। भेटवार्तामा चिनियाँ उपप्रधानमन्त्री दिङ सुएङयाङ र युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष मारोस सेफकोभिक लगायत सहभागी थिए । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य समेत रहेका दिङले हालैका वर्षहरूमा चिनियाँ राष्ट्रपति सी चिन फिङ र युरोपेली संघका नेताहरूले पटकपटक भेटघाट गरेका छन् ।
रुसी राष्ट्रपति पुटिनलाई किमद्वारा उत्तर कोरियामा स्वागत
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा निस्केका छन् । पुटिनलाई उत्तर कोरियाली नेता किम जोङ उनले स्वागत गरेका छन् । मध्यरातमा प्योङयाङ पुगेका पुटिनलाई नेता किमले सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। प्योङयाङमा पुटिनको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडको तयारी गरिएको छ । यस्तै, किम इल सुङ स्क्वायरमा सैन्य परेडका लागि भव्य तयारी गरिएको छ । त्यस पछि कूटनीतिक वार्ता हुनेछ । वार्तामा अर्थ तथा सैन्य सम्बन्धका विषयमा गहन छलफल र केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । यस्तै, आजै अर्थोडक्स चर्चको भ्रमण लगायतका कार्यक्रमहरु पनि रहेका छन् । यी दुई नेताबीच पछिल्लो पटक सेप्टेम्बरमा सुदूर पूर्वी रुसमा भेट भएको थियो । तर सन् २००० पछि पुटिनको प्योङयाङको यो पहिलो भ्रमण हो।
रुसको तेल भण्डारमा ड्रोन आक्रमण हुँदा आगलागी
रोम । दक्षिणी रुसको अजोभ सहर नजिकै मंगलबार राति तेल भण्डारण ट्यांकीहरूमा ड्रोन आक्रमण हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताए पनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको छ। रुसी रक्षा मन्त्रालयले रातारात युक्रेनले सो क्षेत्रमा ७० ड्रोन खसालेको जानकारी दिएको छ। “ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्यांकीहरूमा आगलागी भएर नष्ट भएका छन् । प्रारम्भिक तथ्यांकअनुसार कुनै हताहत भएको छैन,” स्थानीय रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले टेलिग्राममार्फत बताए । आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडियोमा तेल भण्डारण ट्यांकीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ। आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन । कम्तिमा ३२०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारीहरू तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ। रासस / आरटी
राहुल गान्धीले छोडेको वायनाडबाट प्रियंका चुनाव लड्ने
काठमाडौं । भारतीय नेशनल कांग्रेसकाका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने भएका छन्।हालै सम्पन्न लोकसभा निर्वाचनमा राहुलले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरि दुई ठाउँबाट चुनाव जितेका उनले वायनाड क्षेत्र छाड्ने भएका हुन् । कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिए। यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो । अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनावमा उठाउने भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अध्यक्ष खड्गेले भने-‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन् । कानुन अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन् । हामीले निर्णय गरेका छौँ कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ।’ राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको सम्बन्ध रहेको बताए । उनले प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने बताएका छन् ।
तेस्रोपटक प्रधानमन्त्री बनेपछि मोदीको पहिलो विदेश भ्रमण इटालीमा
काठमाडौं । तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन्। जी-७ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी बिहीबार इटालीको अपुलिया जाने भएका हुन्। परराष्ट्र सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।
अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर
काठमाडौं ।अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा संघीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ ।यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो । राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई लागू औषधको नशामा सन् २०१८ मा हाते बन्दुक खरिद गरेको आरोपपछि लागेका तीनवटै अभियोगमा दोषी ठहर गरिएको हो । हन्टर बाइडेनका बुबाले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा र वासिङ्टनमा बन्दुक हिंसाको बारेमा भाषण दिने तयारी गरिरहेका समयमा यो निर्णय आएको हो । बाइडेनको गृहनगर विल्मिङगटन, डेलावेयरमा भएको परीक्षण समापनपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो छोराप्रति ‘प्रेम र समर्थन’ व्यक्त गरे । राष्ट्रपति बाइडेनले भनेका छन्, ‘म राष्ट्रपति मात्र नभएर बुबा पनि हुँ । ‘जिल र म हाम्रो छोरालाई माया गर्छौँ ।’ यस मुद्दाको नतिजा हन्टरले स्वीकार्ने बताउँदै न्यायिक प्रक्रियालाई सम्मान गर्ने बाइडेनले बताए। बाह्र सदस्यीय न्यायाधीशको टोलीले फैसलामा पुग्नुअघि दुई दिनसम्म करिब तीन घण्टा छलफल गरेको थियो ।
चीनसँग सीमा र पाकिस्तानसँगको आतंकवाद मुद्दा समाधान गर्ने जयशंकरको विश्वास
काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले दोस्रोपटक विदेश मन्त्रालयको कार्यभार सम्हालेपछि दुई छिमेकी चीन र पाकिस्तानसँगको सम्बन्धका बारेमा प्रतिक्रिया दिएका छन् । जयशंकरले समाचार संस्था एएनआईसँग भनेका छन्, “खासगरी लोकतन्त्रमा कुनै पनि सरकार लगातार तीन पटक बन्छ भने यसले यो सन्देश दिन्छ कि– भारतमा राजनीतिक स्थिरता छ। जनता आफ्नो प्रधानमन्त्रीमाथि विश्वास गर्छन्।” सो क्रममा विश्वसामु भारतको हित अगाडि बढाउने दाबी उनले गरे । “चीन र पाकिस्तान अलग देश हुन्। उनीहरूसँगको सम्बन्ध अलग छ। समस्या पनि अलग छन् । चीनसँग सीमासम्बन्धी केही मुद्दा बाँकी छन् । समाधान गर्ने हामी कोसिस गरिरहेका छौँ । पाकिस्तानसँग वर्षौंदेखि सीमा आतंकवाद मुद्दा छ । हेरौँ हामी यसको समाधान कसरी गर्छौँ,” जयशंकरले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जयशंकरलाई मन्त्री नियुक्त गरेका थिए। सोमबार मोदीले उनलाई दोस्रोपटक विदेशमन्त्रीको जिम्मेवारी दिएका हुन्।
मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार विमान बेपत्ता
एजेन्सी । मलावीका उप-राष्ट्रपति साउलोस चिलिमासहित नौ जना सवार एउटा विमान बेपत्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि राडारबाट बाहिर गएको बताइएको छ । उक्त विमान स्थानीय समय अनुसार बिहान १० बजेपछि देशको उत्तरमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि तय गरिएको थियो । सोमबार ढिलो सम्बोधन गर्दै राष्ट्रपति लाजरस चकवेराले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । विमान बेपत्ता हुनुको कारण अहिलेसम्म थाहा नभएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । चिलिमा तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न गएका थिए।
फ्रान्समा संसद् भंग, राष्ट्रपतिले गरे चुनावको घोषणा
पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले संसद भंग गर्दै संसदीय चुनावको घोषणा गरेका छन् । आफ्नो प्रतिद्वन्द्वी मरिन ले पेनको पार्टी नेसनल र्यालीको युरोपियन युनियनको चुनावमा राम्रो जित आएपछि राष्ट्रपति म्याक्रोनले अचानक संसदीय चुनावको घोषणा गरेका हुन् । संसद भंग गरिएको घोषणा गर्दै उनले चुनावका लागि यही जुन ३० र आउँदो जुलाई ७ को मिति समेत घोषणा गरेका छन् । टेलिभिजन सम्बोधनमार्फत उनले चुनावको घोषणा गरेका हुन् । युरोपियन युनियनको फ्रान्सको मतदान सम्पन्न भएपछि एक्जिट पोलको नतिजा आउनेबित्तिकै उनले एलिसी प्यालेसबाट चुनावको घोषणा गरेका हुन् । एक्जिट पोललाई मान्ने हो भने अति दक्षिणपन्थी पार्टी नेसनल र्यालीलाई ३२ प्रतिशत मत प्राप्त हुन सक्नेछ । जुन राष्ट्रपतिको रेनेसा पार्टीलाई भन्दा दोब्बर बढी हो । रेनेसा पार्टीलाई १३ प्रतिशत मात्रै मत मिल्ने पूर्वानुमान गरिएको छ । म्याक्रोनको दोस्रो कार्यकाल पूरा हुन अझै दुई वर्ष बाँकी रहेको अवस्थामा संसदीय चुनाव घोषणा गरिएको हो ।बिबिसिबाट
शपथ अघि गान्धीको समाधिस्थल मोदी पुगे
काठमाडौं । लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् । मोदीले गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन् । यसपछि उनले गान्धीसँगै पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको समाधिमा पनि पुष्पाञ्जली अर्पण गरेका हुन्। प्रधानमन्त्री मोदीले आज साँझ सवा ७ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनेछन् ।
युक्रेनलाई साढे २२ करोड डलरको अमेरिकी सुरक्षा सहायता घोषणा
काठमाडौं । अमेरिकाले युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायताको घोषणा गरेको छ।पेरिसमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भएको भेटमा उनले अमेरिका सधैँ युक्रेनसँगै रहेको बताउँदै सहयोगको घोषणा गरेका हुन् । अमेरिकी रक्षा विभागले नयाँ सहायता प्याकेजअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले गोलाबारुद र विमान विरोधी मिसाइलहरूमा सहयोग गरेका हुन् । सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ। यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउण्ड रहेका छन्। उत्तरी फ्रान्सको प्रतीकात्मक डि–डे समारोहमा भाग लिएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कांग्रेसमार्फत नयाँ सहायता प्राप्त गर्न भएको ढिलाइप्रति दुःख व्यक्त गरे ।
डेनमार्कका प्रधानमन्त्रीमाथि आक्रमण
ऐजेन्सी । डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिकसन माथि कोपेनहेगनको बीच सडकमै आक्रमण भएको छ । सडकमा रहेको स्क्वायरमा हिंडिरहेका बेल एक व्यक्तिले उनलाई नजिक गएर हिर्काएका हुन् । प्रधानमन्त्रीलाई आक्रमण गर्ने व्यक्ति अहिले पक्राउ परिसकेका छन् । सो घटनाबाट स्तब्ध र अचम्भित भएको प्रधानमन्त्री फ्रेडरिकसनले प्रतिक्रिया दिएकी छिन्। युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले यो घटनालाई निन्दनीय कार्य भन्दै विरोध जनाएका छन् । डेनमार्कको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्री माथि आक्रमण भएको र आक्रमणकारी पक्राउ परेको जानकारी दिएको छ । घटनाका विषयमा विज्ञप्तिमा विस्तृत जानकारी भने दिइएको छैन । प्रहरीले आक्रमणकारीका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर आक्रमणकारी र आक्रमणको कारणका विषयमा केही खुलाएको छैन । आक्रमण डेनमार्कमा युरोपेली संघको निर्वाचन हुन दुई दिन अघि भएको हो ।
इजरायलका प्रधानमन्त्रीले अमेरिकी संसद्लाई सम्बोधन गर्ने
जेरूसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आउँदो जुलाई २४ मा अमेरिकी संसद्लाई सम्बोधन गर्ने भएका छन् । इजरायल–गाजा युद्ध चलिरहेको बेलामा उनले अमेरिकी संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ ९प्रतिनिधिसभा०लाई एकैसाथ सम्बोधन गर्न लागेका हुन् । इजरायली प्रधानमन्त्रीको सम्बोधनका सम्बन्धमा रिपब्लिकन र डेमोक्र्याट दुवै सांसदलाई निम्तो गरिएको भए पनि समय भने औपचारिक रूपमा बिहीबारसम्म नतोकिएको जनाइएको छ । गएको महिना अन्तर्राष्ट्रिय अदालतमा उनीसहित उनका रक्षामन्त्री योएभ गालेन्टलाई पक्राउ पुर्जी जारी गर्न आग्रह गर्दै अभियोजकले निवेदन दर्ता गराएका थिए । नेतान्याहुले अन्तर्राष्ट्रिय अदालतको गतिविधिको आलोचना गर्र्दै लोकतान्त्रिक इजरायललाई आमहत्यारा हमाससँग तुलना गरेको भन्दै आपत्ति जनाएका थिए । अन्तर्राष्ट्रिय अदालतमा उनी र उनका रक्षामन्त्रीसँगै हमासलाई समेत एउटै मापदण्डमा राखेर पक्राउ पुर्जी जारी गर्न अदालतकै अभियोजकले मुद्दा दर्ता गरेपछि नेतान्याहुले त्यसरी प्रतिक्रिया जनाएका हुन् । बीबीसी

