मोदीलाई प्रचण्डको बधाई
काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गर्दै बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।
मोदीलाई बधाई दिंदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्-' भारतका जनताको उत्साहपूर्ण सहभागितामा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासको सफल समापन भएकोमा हामी खुसी छौं।'
प्रधानमन्त्री प्रचण्डको बधाई तथा शुभकामना सन्देशलाई आफ्नो एक्स हेन्डलमा सेयर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्ध मदबुत बनाउने बताएका छन् । उनले भनेका छन् 'नेपाल-भारत मित्रतालाई मजबुत बनाउन निरन्तर सहयोगको अपेक्षा गर्दछु'
भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई बहुमत प्राप्त भएसँगै तेस्रो कार्यकालका लागि मोदी पुनः भारतको प्रधानमन्त्री निर्वाचित हुने पक्कापक्कि भएको छ।
Thank you Prime Minister @cmprachanda ji for your kind wishes. Look forward to continued cooperation to strengthen India-Nepal friendship. https://t.co/bLW23jFXFt
— Narendra Modi (@narendramodi) June 4, 2024
तिहाड जेल फर्किँदै दिल्लीका मुख्यमन्त्री केजरिवाल
एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किँदै छन्। दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतको म्याद शनिबार सकिएपछि उनी पुनः जेल फर्किएका हुन् । केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएको थियो र २ जुनमा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो। उनले यसअघि अन्तरिम जमानतको म्याद थपका लागि सर्वोच्च अदालतमा अपिल गरेका थिए। बुधबार सर्वोच्च अदालतले उनको निवेदन खारेज गर्दै उनलाई नियमित जमानतका लागि ट्रायल कोर्ट जाने स्वतन्त्रता दिइएकाले यहाँको निवेदन विचारणीय नभएको बताएको थियो। यसैबीच, दिल्लीको राउज एभेन्यू अदालतले कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको मुद्दामा चिकित्सकीय कारण देखाउँदै मुख्यमन्त्री केजरीवालले दायर गरेको अन्तरिम जमानत याचिकाबारेमा आदेश शनिबार स्थगित गरेको छ। अदालतले ७ दिनको जमानतको माग गर्दै दायर गरिएको याचिकामा जुन ५ तारिखका लागि मिति तोकेको छ भने केजरीवालका वकिलको अनुरोधअनुसार आजै आदेश दिन अस्वीकार गरेको छ। केजरीवालका तर्फबाट वरिष्ठ अधिवक्ता एन हरिहरनले आफ्नो पार्टी (आम आदमी पार्टी)का लागि चुनाव प्रचार गर्नका लागि अन्तरिम जमानत दिइएको बताए। म २० दिनको लागि बाहिर छु र यदि मैले यो नगरेको भए उहाँले प्रचार गर्नुभएन र बिरामी पर्नुभयो भनिन्थ्यो। निर्वाचन अभियानको कारण धेरै तनाव भएको छ र तपाईंलाई थाहा छ कि तनाव मधुमेहको स्रोत हो। ‘पछिल्लो समय पिसाबमा चिनीको मात्रा बढेको छ। चिन्ताको विषय चिनीको उच्च मात्रा र केटो सङ्ख्या हो,’ मुख्य केजरीवालका वकिलले निवेदनमा भनेका छन्। प्रवर्तन निर्देशनालय (ईडी)का तर्फबाट सोलिसिटर जनरल तुषार मेहता र एडिशनल सोलिसिटर जनरल एसभी राजुले केजरीवालले आफ्नो स्वास्थ्य अवस्थालगायतका तथ्यहरू लुकाएको आरोप लगाए। ‘यो अदालतले सर्वोच्च अदालतको आदेशलाई परिमार्जन गर्न सक्दैन। उहाँ अन्तरिम जमानतमा हुनुहुन्छ किनभने सर्वोच्च अदालतले यसलाई अनुमति दिएको छ, उहाँले यहाँ जे भनिरहनुभएको छ त्यो सर्वोच्च अदालतको आदेशको विस्तार हो,’ ईडीका वकिलले भनेका छन्। ‘तथ्यहरू लुकाइएकोले यो अन्तरिम जमानत याचिका खारेज गर्न आवश्यक छ। सर्वोच्च अदालतले उनलाई नियमित जमानत दिन सक्ने स्वतन्त्रता दिएको थियो तर अन्तरिम जमानतको म्याद थपका लागि अनुरोध गर्ने स्वतन्त्रता उनलाई दिइएको थिएन। उनले यी परीक्षणका लागि ७ दिन लाग्ने बताए पनि परीक्षणको प्रकृतिलाई सार्वजनिक गरिएको छैन। ईडीले अन्तरिम जमानत याचिकामा मेडिकल परीक्षण गर्नुको सट्टा केजरीवाल यात्रा गरिरहेका थिए। मुख्यमन्त्री केजरीवालले आफ्नो भिडियो सन्देशमा भनेका छन्, ‘भोलि २१ दिन बित्दै छ, भोलि मैले आत्मसमर्पण गर्नुपर्छ। मलाई थाहा छैन, यो पटक मलाई कहिलेसम्म जेलमा राख्नेछन्। तर मेरो आत्मबल उच्च छ। देशलाई अधिनायकवादबाट जोगाउन म जेल जाँदै छु। यसमा मलाई गर्व छ।’
भारतमा आज अन्तिम चरणको मतदान
काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान आज सम्पन्न हुँदैछ। अन्तिम चरणको मतदानलाई सत्तारुढ दल र प्रतिपक्षनेताहरूको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ। ४२ विधान सभा क्षेत्रमा ५७ सिटका लागि मतदान हुन लागेको हो अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी)ले ३०३ सिट ल्याएको थियो। यो पटक पनि मोदी लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्यमा छन्। प्रधानमन्त्री मोदी वाराणसीबाट चुनाव लडिरहेका बेला गोरखपुरमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको शक्तिको परीक्षण पनि यही मतदानबाट हुनेछ । अन्तिम चरणको निर्वाचनको मौन अवधि सुरु भएपछि प्रधानमन्त्री मोदी ४८ घण्टे ध्यानमा बसेका छन् । मोदीको विरुद्धमा कांग्रेस प्रदेश अध्यक्ष अजय राई प्रतिस्पर्धामा छन्।
३४ वटा मुद्दामा आरोपमा ट्रम्प दोषी ठहर, सजाय पछि तोकिने
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा आरोपमा दोषी ठहर भएका छन्। भूतपूर्व वा पदमा बहालमा रहेका अमेरिकी राष्ट्रपति अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो। बिबिसिले जनाए अनुसार उनी विरूद्ध ११ जुलाईमा सजाय सुनाइनेछ। ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ तर कानुनविद्हरूले उनलाई सजाय हुने सम्भावना बढी रहेको बताएका छन्। ट्रम्पले यो आदेशलाई ‘कलङ्क’ भन्दै उक्त मुद्दा हेर्ने निकायको अध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन्। राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर व्हाइट हाउसमा फर्कन ट्रम्पले अभियान चलाइरहँदा यो आदेश आएको हो। अदालतले २२ जना प्रत्यक्षदर्शीसँग ६ हप्ता बयान लिएको थियो। बयान दिनेमा ट्रम्पले यौन सम्बन्ध राखेको भनिएकी र सन् २०१६ को चुनावअघि ‘चुप बस्न’ रकम दिइएको भनिएको पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन्। ट्रम्पका एकजना उच्च तहका अधिवक्ताले फक्स न्यूजलाई बताए अनुसार पूर्वराष्ट्रपतिको कानूनी टीमले पुनरावेदनका लागि “सबै उपायमाथि छलफल” गरिरहेको छ।
चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलन गर्न आह्वान
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गरेका छन्। उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक भेलामा अरब नेताहरूलाई सम्बोधन गरेका हुन्। राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्न लागेका छन् । चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ, र हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ। चीनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा आफ्नो प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाभन्दा बढी तटस्थ भूमिका निर्वाह गरेको छ र इजरायलसँग राम्रो सम्बन्ध कायम राख्दै दुई राष्ट्र समाधानको वकालत गरिरहेको छ । चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसियटिभ’मा मध्यपूर्वलाई एक प्रमुख विन्दुको रूपमा औंल्याएको छ। यो विदेशमा आफ्नो देशको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य आधार हो। प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल–हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव गरेका छन्।
भारतमा तातो हावा, नयाँ दिल्लीमा ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड
नयाँ दिल्ली । लोकसभा निर्वाचनको सरगर्मीबीच भारतको ठूलो क्षेत्र तातो हावाले प्रभावित भएको छ । ‘हिटवेभ’ निकै नै बढेको त्यहाँको तापक्रमले पनि अनुमान लगाउन सकिन्छ । बुधबार (हिजो)नयाँ दिल्लीको मुंगेशपुर इलाकामा ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। यद्यपि, मौसम विभागले उक्त रेकर्ड ‘सेन्सर’को खराबीका कारण पनि हुन सक्ने जनाएको छ । रेकर्ड र सेन्सरको अध्ययन भइरहेको विभागले जनाएको छ । मंगलबार सोही क्षेत्रमा ४९।९ डिग्री सेल्सीयस तापक्रम रेकर्ड गरिएको थियो ।
अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु
काबुल । अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ । टोलो न्यूजकाअनुसार बाढीले डान्ड–ए–घोरी, दोसी, पुल–ए–खुमरी सहर, मध्य बदख्सानको मोरचक र यी प्रान्तका अन्य भागहरूमा असर पारेको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलान प्रहरी कमान्डका प्रमुख अब्दुल गफुर खादेमले आइतबार राति बाढी आउँदा बाघलान प्रान्तको दोसी जिल्लाको लारखाब क्षेत्रमा व्यापाक क्षति भएको बताएका छन् । उनका अनुसार लर्खाबमा तीन बालबालिका एक महिला र दुई पुरुषसहित पाँचजनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् । तालिबानद्वारा बदख्सानमा प्राकृतिक विपद् व्यवस्थापनका प्रमुख मोहम्मद कामगरलाई उद्धत गर्दे बाढीका कारण एकै परिवारका दश जनासहित एघार व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ । यसैबीच, बाढीका कारण सम्पत्ति गुमाएका धेरै परिवारहरूले सहायताको आगमनमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरेका छन् । पीडित परिवारले सरकार र सहायता निकायबाट तत्काल सहयोगको माग गरेका छन् । अफगानिस्तानका विभिन्न भागमा गएको हप्तामा आएको विनाशकारी बाढीमा तीन सयभन्दा बढीको मृत्यु भएको छ । बाढीले सयौँ आवासीय घरहरू ध्वस्त पारेको छ र हजारौँ हेक्टर कृषि जग्गामा क्षति पु¥याएको छ । राससरएएनआई
गुजरातमा आगलागी, नौजनाको मृत्यु, घाइतेको उपचार हुँदे
नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका इन्डिया टुडेले जनाएको छ । यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिको हब ‘टीआरपी गेमिङ जोन’मा भएको बताइएको छ । उक्त घटनामा घाइते भएका सबैजनालाई आवश्यक उपचारका निम्ति स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । टीआरपी गेमिङ जोनभित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अरू केही व्यक्ति भग्नावशेषमा फसेका हुन सक्ने स्थानीय अधिकारीले बताए। घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
बेलायतमा आमनिर्वाचन ४ जुलाईमा
काठमाडौँ । बेलायतमा आउँदो ४ जुलाईमा आम निर्वाचन हुने भएको छ ।प्रधानमन्त्री ऋषि सुनकले हिजो बुधवार साँझ आमनिर्वाचनको मिति प्रस्ताव गर्दै बेलायतीहरूले निर्वाचनमा आफ्नो भविष्य रोज्न सक्षम हुने आशा व्यक्त गरेका छन्। प्रधानमन्त्री सुनकले प्रस्तावित मिति राजा चाल्र्स तृतीयसमक्ष प्रस्तुत गरेर स्वीकृत भएपछि निर्वाचन अगाडि बढ्नेछ । बेलायतमा निर्वाचन कहिले हुने हो भनेर चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले मिति नै घोषणा गरिदिएका हुन् ।
नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने
काठमाडौं । नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने बताएका छन् । उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने बताए । नर्वेपछि अब आयरल्याण्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन सक्ने विश्वास गरिएको छ । यस निर्णयको विरोधमा इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ । नर्वेका प्रधानमन्त्री स्टोरले गाजामा जारी युद्धले शान्ति र स्थायित्व हासिल गर्न प्यालेस्टाइन समस्याको समाधान आवश्यक रहेको कुरा पूर्ण रूपमा स्पष्ट गरेको बताएका छन् । उनले नर्वेले दुई राज्य समाधान इजरायलका लागि राम्रो हुने विश्वास व्यक्त गरे । स्टोरले यो कदमले अन्य देशहरूलाई पनि त्यही बाटो पछ्याउन बलियो सन्देश पठाउने बताएका छन् । यो निर्णय लगत्तै इजरायलले वार्ताका लागि आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई तुरुन्त फिर्ता बोलाउने बताइएको छ ।
आईसीसीको पक्राउ पुर्जी तयारी प्रकरण : यस्ता छन् विश्वका शक्ति राष्ट्रको प्रक्रिया
जेरुसेलम ।नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीसी)मा गाजा क्षेत्रमा गरिएको नरसंहारका विषयमा इजरायलका प्रधानमन्त्री र हमासका स्थानीय नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्न उक्त अदालतका अभियोजककै तर्फबाट निवेदन दिइएको छ । उक्त घटनालाई लिएर विश्वव्यापी रुपमा विभिन्न प्रतिक्रिया आएका छन् । आईसीसीको निर्णयसँग असन्तुष्ट हुँदै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले निन्दा गरेका छन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त विषय अपमानजनक भएको र इजरायल तथा हमासबीच समानता नभएको बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि उक्त प्रकरणलाई लाजमर्दो बताउँदै त्यसमा आईसीसीको कार्यक्षेत्र नरहने बताएका छन् । तर सो निर्णयलाई फ्रान्सले भने आईसीसीको समर्थन गरेको छ। फ्रान्स लामो समयदेखि पश्चिमी खेमामा रहेको भए पनि यसपालि भने फरक धारमा उभिएको छ। इजरायली सांसदहरूले पनि आईसीसीका अभियोजकको पछिल्लो भनाइको आलोचना गरेका छन् । हमासले समेत उक्त विषयको विरोध गरेको छ।अन्तर्राष्ट्रिय कानुनका विज्ञले भने आईसीसीको तयारीको समर्थन गरेका छन्। ह्युमन राइट्स वाचले आईसीसीको तयारीको सराहना गरेको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक विज्ञप्ति जारी गरी आईसीसीको तयारीले गाजा क्षेत्रको अवस्थामा अझ असर गर्ने भन्दै आलोचना गरेका छन्। आईसीसीका अभियोजक करिम खानले यो विषयको सबैभन्दा पहिला खुलासा गरेपछि विश्वव्यापी रूपमा तरंग उत्पन्न भएको हो।इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले आईसीसीको पछिल्लो तयारी अस्वीकार्य रहेको जनाएका छन्। नाकाबन्दीको सम्भावना यसैबीच, अमेरिकी संसद्ले आईसीसीविरुद्ध नाकाबन्दी लगाउन सकिनेसम्बन्धी विधेयक ल्याउने तयारी भइरहेको छ। आईसीसी अभियोजकको पछिल्लो वक्तव्यपछि हाउस रिपब्लिकनका नेताहरूले यस्तो तयारी गरेको जनाइएको छ। तर, के गर्ने भन्ने बारेमा अन्तिम टुंगो लगाउन बाँकी छ । सीएनएनबाट ।
इब्राहिमको सम्झनामा इरानमा ५ दिने राष्ट्रिय शोक, २८ जुनमा राष्ट्रपति निर्वाचन
काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका राष्ट्रपति इब्राहिम रायसीको सम्मान तथा सम्झनामा इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ। गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि सोमबार भएको थियो । लगत्तै इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको बीबीसीले जनाएको छ । इरानका सरकारी सञ्चार माध्यमहरुका अनुसार अब २८ जुनमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन तय गरिएको छ । यसैबीच इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको रुपमा सत्ता सम्हालेका छन्। इरानको मन्त्रिपरिषद्ले उपविदेशमन्त्री अली बगेरी कानीलाई कार्यवाहक विदेशमन्त्री नियुक्तमा गरेको छ।
इरानका राष्ट्रपति रइसीको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको घटनाले आफुलाई दुःखी बनाएको बताएका छन्। आज प्रधानमन्त्री प्रचण्डले आफ्नो व्यक्तिगत एक्स हेन्डल मार्फत राष्ट्रपति इब्राहिम रइसी निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोकको यस घडीमा दिवंगत राष्ट्रपति रइसीको परिवार र इरानको सरकार र मित्र राष्ट्र इरानका जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । हिजो पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार थिए । I am deeply saddened by the tragic demise of H.E. Dr. Seyyed Ebrahim Raisi, President of the Islamic Republic of Iran. At this hour of grief, I extend my heartfelt condolences to the family of the late President Raisi, and to the government and friendly people of Iran. — ☭ Comrade Prachanda (@cmprachanda) May 20, 2024
हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ ।
इरानमा राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना : खोजी जारी
तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ ।राष्ट्रपतिको खोजी जारी रहेको र उहाँको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ । “राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको छ”, सरकारी टेलिभिजनले भनेको छ । खोज र उद्धार टोली दुर्गम पहाडी क्षेत्रमा गएको थियो, मुलुकको सरकारी सञ्चारमाध्यमले बताएको छ । हेलिकोप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान पनि थिए । “खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न कठिन भएको छ”, सरकारी टिभीको अन–स्क्रिन समाचार अलर्टमा भनिएको छ । सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढलानमा हिँडिरहेको र रायसीको गृहनगर मशहद सहरमा इमाम राजको पवित्र मन्दिरमा प्रार्थना गर्ने उपासकहरूको भीडको लाइभ फुटेज पनि प्रसारण गरेको छ । आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो । त्रिसठ्ठी वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा आएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए। उनको सवारीमा तीनवटा हेलिकोप्टर थिए । अन्य दुई हेलिकोप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ । हेलिकोप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकोप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ । सुधारवादी शार्ग दैनिकले पनि ‘राष्ट्रपति बोकेको हेलिकोप्टर दुर्घटनामा परेको र दुई अन्य हेलिकोप्टर सकुशल अवतरण भएको’ बताएको छ । पछि गृहमन्त्री अहमद वाहिदीले हेलिकोप्टरहरूमध्ये एउटा ‘खराब मौसमका कारण कठिन अवतरण भएको र विमानसँग सञ्चार स्थापना गर्न गाह्रो’ भएको बताएका थिए। रासस/एएफपी
सिंगापुरमा २० वर्षपछि नयाँ प्रधानमन्त्री
काठमाडौँ । सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिए। उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।सिंगापुर एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको छ ।

