उत्तरी इजरायलमा भुलवस साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा गल्तीबस अलर्ट साइरन सक्रिय बनाएको बताएको छ ।इजरायली आक्रमण लगत्तै उत्तरी इजरायलमा साइरन अलर्ट गरिएको थियो ।

भारतमा लोकसभा निर्वाचन आजबाट सुरु, २१ राज्यमा मतदान हुँदै

काठमाडौं । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । आज भारतका २१ राज्यसहित केन्द्र शासित प्रदेशका १०२ लोकसभा सिटका लागि मतदान हुन लागेको हो। सात चरणमा निर्वाचन हुने भए पनि पहिलो चरणमा १०२ सिटमा मतदान भएपछि कसको सरकार बन्ने भन्ने रूपरेखा तय हुनेछ। १०२ लोकसभा सीटहरूमा कुल १६२५ उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दैछन् । पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का आठ सदस्य, तीन पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल सहभागी छन् । पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डमान निकोबार, जम्मु कश्मीर, लक्षद्वीप, पुडुचेरीमा मतदान हुनेछ। पहिलो चरणमा उत्तर प्रदेशका आठ सिट, पश्चिम बंगालका तीन सिट, विहारको ४ सिट, जम्मु कश्मिरको एक सिट, मध्य प्रदेशको ६ सिट, महाराष्ट्रका पाँच सिट, असमको पाँच सिट, त्रिपुराको एक सिट, छत्तीसगढको एक सीट, राजस्थानका १२ सिट, मणिपुरमा दुई सिट, तमिलनाडुका सबै ३९ सिट, उत्तराखण्डमा पाँच सिट, अरुणाचल प्रदेशको दुई सीट, मेघालयको दुई सिट, मिजोरम, नागाल्याण्ड, पुडुचेरी र सिक्किमका एक एक सिटमा आज मतदान हुँदै छ । अण्डमान र लक्षद्वीपको एक एक सिटमा पनि आज मतदान हुँदै छ ।

खाडीमा भारी वर्षापछि बाढी : दुबई र ओमनमा २० जनाको मृत्यु

काठमाडौं । खाडी मुलुकहरुमा भारी वर्षा पछि बाढी आउँदा मानव जीवन प्रभावित बनेको छ । अचानक आएको घातक बाढीले विश्वको दोस्रो व्यस्त विमानस्थल दुबई विमानस्थल अस्तव्यस्त भएको छ । थुप्रै उडानहरु अवरुद्ध भएका छन् । भीषण बाढी र डुवानका कारण यात्रुहरुलाई नआउन भनिएको छ । असिना पानीसहितको भीषण वर्षाले आबुधावी विमानस्थलसहित केही शहरहरु डुबानमा परेका छन् । दुबई विमानस्थलले अकल्पनीय चुनौतीपूर्ण अवस्था सामना गरिरहेको छ। दुबईमा कार बाढीमा फसेपछि एक जनाको मृत्यु भएको छ । अर्को खाडी मुलुक ओमानमा भने आइतबारदेखि हालसम्म बाढीकै कारण १९ जनाको मृत्यु भइसकेको छ। बाढी र वर्षाका कारण हिजो मात्रै दुबई अन्तर्राष्ट्रिय विमानस्थलले २ सय ९० वटा उडान रद्द गरेको फ्लाइट अवोयर डाटाले जनाएको छ । साथै विपद्का कारण थप ४ सय ४० उडानहरु ढिलाई भएको तथ्यांकले देखाएको छ। प्रत्येक महाद्धिपमा उडानहरु संचालन गर्ने प्रमुख हबका रुपमा रहेको दुबई विमानस्थल पूर्ववत अवस्थामा संचालन हुन भने समय लाग्ने बताइएको छ।

मध्य पूर्वमा थप तनाव हुनबाट जोगाउन विश्वका अधिकांश देशको आह्वान

काठमाडौं । विश्वका अधिकांश देशहरुले मध्यपूर्वमा देखिएको तनाब थप बढ्नबाट जोगाउ सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । यही अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी वाणिज्य दूतावासमा हवाई आक्रामण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । उक्त आक्रामणमा इरानका उच्च सैनिक अधिकृत मारिएका थिए ।सोही प्रतिक्रिया स्वरुप इरानले आइतबार बिहान इजरायलमाथि ड्रोन र क्रुज मिसाइल प्रहार गरेपछि पश्चिम एसिया भयंकर युद्धको सङ्घारमा पुगेपछि विश्वबाट दुवै पक्षलाई संयममता अपनाउन आग्रह गरिएको हो । स्थानीय समय अनुसार अप्रिल १४ तारिख बिहान सबेरै इरानी सेनाले इजरायलका सम्बन्धित क्षेत्रमाथि क्षेप्यास्त्र तथा मानवरहित विमानबाट आक्रमण गरेको छ। त्यसपछि इजरायलको वायु सेनाका लडाकू विमानले तीमध्येका करिब ३०० बढि क्षेप्यास्त्र तथा मानवरहित विमान आक्रमणलाई निष्क्रिय पारेको छ। मध्यपूर्वमा देखि थालेको तनाबको वातावरण थप भड्किन नदिन रुसको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै सम्बन्धित पक्षहरुसँग संयम गर्न आह्वान गरेको छ। जोर्डनका राजा अब्दुलाह द्वितीयले गाजा क्षेत्रमा गरिएको आक्रमण तुरुन्तै बन्द गर्नु नै मध्य पूर्व क्षेत्रको स्थितिलाई अझ बढ्न नदिन र पस्थिति गम्भिर हुनुबाट जोगाउनका लागि एउटै मात्र उपाय भएको कुरामा जोड दिएका छन्। त्यसैगरी टर्कीको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै इजरायलले सिरियास्थित इरानको राजदूतावासमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानूनसँग विपरित रहेको दाबी गरेको छ। त्यसका अतिरिक्त, ब्राजिल, मेक्सिको, भेनेजुएला तथा कोलम्बिया लगायत ल्याटिन अमेरिकी मुलुकहरुले पनि दुवै पक्षहरुसँग संयम रहन आह्वान गरेका छन् , अमेरिकाले इरानविरुद्ध आफुले आक्रमण नगर्ने बताउँदै सम्बन्धित पक्षलाई संयम हुन समेत आग्रह गरेको हो ।

जो बाइडेनले नेतन्याहुलाई भने - 'इरानविरुद्ध आक्रमण गर्दैनौं'

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इरानविरुद्धको आक्रमणमा अमेरिका सहभागी नहुने बताएका छन् । इजरायलमा इरानले गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका थिए। उक्त बैठक पछि राष्ट्रपति बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गरी इजरायलको सुरक्षामा सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको भएपनि इरानमाथि आक्रमणमा भने नउत्रिने बताएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

टर्कीमा केबलकार दुर्घटना हुँदा एकको मृत्यु, दश घाइते

एजेन्सी । टर्कीको दक्षिणी प्रान्त अन्टाल्यामा शुक्रबार एउटा केबलकारको केबिन भाँचिएर पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। त्यहाँको स्थानीय समय अनुसार शुक्रबार बेलुका ५ः२३ मा केबलकारका २४ वटा केबिन हावामा फसेका थिए। केबलकारको केबिनमा अड्किएका ११२ जनालाई उद्दार गरीएको छ भने । ६० भन्दा बढी व्यक्ति १६ घण्टा देखि  हावामै फसिरहेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । हावामा अड्किएका नागरिकहरुको स्वास्थ्यमा कुनै समस्या नरहेको विपत व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिले उद्दारका लागि ७ वटा हेलिकप्टर र ५०० उद्दार कर्मी परिचालन गरिएको छ । शनिबार साँझसम्म उद्दार कार्य सक्ने गरी काम गरिरहेको अधिकारीहरुले बताएका छन् ।

इजरायलमा इरानको ड्रोन र मिसाइल आक्रमण

काठमाडौं । इरानले इजरायललाई लक्षित दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । इजरायलको रक्षा प्रणालीले आकाशमै केही मिसाइललाई रोकेको छ । अमेरिकाले इजरायलतर्फ इरानले प्रहार गरेका केही ड्रोन खसालेको बीबीसीले जनाएको छ । बेलायतले आक्रमणको विरोध गर्दै आरएएफ विमान तैनात गरेको र त्यस क्षेत्रभित्रको कुनै पनि हवाई हमला रोक्ने बताएको छ ।इजरायल र वेस्ट बैंकका धेरै भागहरूमा आकाशमा विस्फोटहरू देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायल र अमेरिकी हवाई प्रतिरक्षा टिमले इरानबाट आक्रमणलाई निस्काम बनाएको इजरायलले जनाएको भएपनि केही मानिसहरु घाइते भएका छन्। मिसाइ आक्रमणबाट कसैलाई पनि चोटपटक नलागेको इजरायलले जनाएको छ तर स्रोतका अनसार ३१ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासनजिक गरेको आक्रमणको बदला लिने चेतावनी इरानको छ। उक्त आक्रमणमा सात इरानी अधिकारीको ज्यान गएको थियो । इजरायलको रक्षा बलले आफ्नो दक्षिणी बेस (आधार)मा केही क्षति भएको स्वीकार गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टनियो गुटेरेसले थप तनाव बढ्न नदिन आग्रह गरेका छन् ।

सिड्नीको सपिङ मलमा छुरा प्रहार गरी पाँच जनाको हत्या

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या गरिएको छ। चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ । व्यस्त वेस्टफिल्ड बोन्डी जंक्शन शपिङ सेन्टरमा एक जना व्यक्तिले धमाधम नौ जनालाई आक्रमण गरेका थिए । आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ। ‘त्यहाँ नौं जना पीडित मध्ये पाँच जना मरेका छन्,’ न्यू साउथ वेल्सका प्रहरी सहायक एन्थोनी कुकले पत्रकार सम्मेलनमा भनेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, व्यस्त मलमा किनमेलमा मग्नरहेका मानिसहरुमाथि चक्कु आक्रमण गरिएको थियो । यसअघि कसैले धम्कि नदिएको प्रहरीले बताएको छ ।  प्रहरीका अनुसार आक्रमण किन गरियो भन्नेबारे अनुसन्धान जारी रहेको छ । आक्रमणबाट घाइते भएका एक बालकसहित अन्यलाई अस्पताल लागिएको  छ।

युक्रेनको उर्जा केन्द्रमा रुसी हवाई आक्रमण

एजेन्सी ।  युक्रेनको राजधानी किएभनजिकै अवस्थित एउटा ठूलो ऊर्जा केन्द्रमा रुसी सेनाले गरेको हवाई आक्रमण गरेका छन् । आक्रमणबाट उक्त उर्जा केन्द्र पूर्ण रूपमा ध्वस्त भएको ऊर्जा कम्पनी सेन्त्रेनेर्गोले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार ट्रिपील्या पावर प्लान्टबाट किएभसहित तीनवटा क्षेत्रमा विद्युत् आपूर्ति गर्दथ्यो ।रुसले युद्ध सुरु भएयता सुनियोजित रूपमा युक्रेनी ऊर्जा प्रणालीलाई निसाना बनाउँदै आएको छ। आक्रमणबाट ऊर्जा केन्द्रका ट्रान्सफर्मर, टर्बाइन र जेनरेटरहरूमा पूर्ण रुपमा क्षति पुगेको छ । आक्रमणको क्रममा ८० वटाभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरीएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार युक्रेनले रुसी उर्जा केन्द्रहरूमा आक्रमण गरेपछि त्यसको जवाफ दिन बाध्य भएको बताएका छन्।

भियतनामा रियल इस्टेट व्यापारी ल्यानलाई सुनाइयो मृत्युदण्डको सजाय

एजेन्सी । भियतनामको एक अदालतले रियल इस्टेट व्यापारी ट्रुङ माई ल्यानलाई मृत्युदण्डको सजाय सुनाएको छ ।बिहीबार भएको फैसलामा उनलाई ३०४ ट्रिलियन डोङ (१२.४६ बिलियन डलर) को वित्तीय ठगी गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो ।जुन भियतनाको इतिहासमै सबैभन्दा ठूलो ठगी मुद्दा हो । भियतनामको व्यापारिक हब हो ची मिन्ह सिटीमा भएको सुनुवाइमा, घर जग्गा कारोबारी भान थिन्ह फाट होल्डिङ्स समूहकी अध्यक्षलाई घोटाला, घूषखोरी र बैंकिङ ठगी गरेको आरोपमा अदालते दोषी ठहर गरेको हो । पछिल्लो समय भियतनामा कम्युनिष्ट पार्टीका नेता गुएन फु ट्रोङ सत्तामा आएसँगै भ्रष्टाचारविरुद्ध अभियान चलाएका छन् । जुन भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका नेता न्गुएन फु ट्रोङले वर्षौंदेखि स्ट्याम्प आउट गर्ने वाचा गरेको भ्रष्टाचार विरुद्धको अभियानको हिस्सा हो ।यस किसिमको भ्रष्टाचार विरुद्धको अभियानले लगानीको वातावरण बिगारेको व्यापारीहरुले बताएका छन् । जुन अभियानले सयौं वरिष्ठ राज्य अधिकारीहरू र उच्च प्रोफाइल व्यवसायिक अधिकारीहरूलाई मुद्दा चलाइएको छ । व्यापारी ट्रुङ माई ल्यानलाई मृत्युदण्डको सजाय गर्ने फैसलाविरुद्ध परिवार पुनरावेदन अपील गर्ने भएको छ ।

भारतमा स्कुल बस दुर्घटना, ६ विद्यार्थीको मृत्यु

एजेन्सी । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ६ विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जीएल पब्लिक स्कुलका करिब ४० विद्यार्थी सवार बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो । प्रारम्भिक रिपोर्टमा चालकले गाडी तीव्र गतिमा लापरबाहीपूर्ण तरिकाले चलाएका कारण दुर्घटना भएको जनाइएको छ । बसबाट घाइते बालबालिकालाई उद्धृत गर्दै चालकले मदिरा सेवन गरी तीव्र गतिमा गाडी चलाएको उल्लेख छ । बालबालिकाको मृत्युले सम्पूर्ण कानिना क्षेत्रवासी गहिरो शोकमा छन् । हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूतिसहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।

दक्षिण कोरियाली प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले राजीनामा दिएका छन् । राष्ट्रिय सुरक्षा कार्यालयका सचिवबाहेक राष्ट्रपति कार्यालयका प्रमुख, नीति तथा कार्यक्रमका मुख्य सचिवलगायत सबै वरिष्ठ सचिवले राजीनामा दिएका छन् ।संसदीय चुनावमा सत्तारूढ पिपुल पावर पार्टीको हारपछि उनीहरुले राजीनामा दिएका हुन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले संसदीय निर्वाचनमा देखाइएअनुसार जनताको इच्छालाई नम्रताका साथ स्वीकार गर्ने र राज्यको मामिला सुधार गर्न र अर्थतन्त्र र जनताको जीविकोपार्जनलाई स्थिर बनाउन सक्दो प्रयास गर्ने बताएका छन् । राष्ट्रियसभाका ३०० सदस्यका निम्ति बुधबार निर्वाचन सम्पन्न भएको थियो । मुख्य विपक्षी डेमोक्रेटिक पार्टी र माइनर रिबिल्डिङ कोरिया पार्टीलगायत देशको फराकिलो उदारवादी गुटले संसदीय चुनावमा तीन–पाँच भागभन्दा बढी सिट जितेको छ । जसलाई राष्ट्रपति युनको राज्य मामिलाको व्यवस्थापनको मूल्यांकन गर्न मध्यावधि जनमतसंग्रहका रूपमा हेरिएको छ ।

मारिए ईद मनाउन हिडेका हमास प्रमुखका तीनजना छोरा

ऐजेन्सी । हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरेलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोराहरू र चार जना नातिनातिना मारिएको बताएका छन्। हमास सम्बन्धित सञ्चार माध्यमका अनुसार उनका छोराहरू यात्रारत कारमाथि गाजास्थित अल शाति क्याम्प नजिक हवाइ अक्रमण हुँदा कारमा सवार सबैजना मारिएका हुन् । हानियाले यो घटनाका कारण इजरेलसँगको वार्तामा हमासको अडान परिवर्तन नहुने बताएका छन्। हमास र इजरेलबीच युद्धविराम गर्न वार्ताका लागि पहल भइरहेका छन्। इजरेलको सेनाले उनका छोराहरू पनि हमासको सैन्य एकाइका सदस्य रहेको बताएको छ।उनीहरूको समूह मुस्लिम पर्व इदको बिदा मनाउन जाने क्रममा हमलामा परेको बताइएको छ। हानियाले आफ्ना छोराहरू हाजिम, अमिर र मोहम्मद युद्धभरि गाजामै बसेको सञ्चार माध्यमहरुलाई बताएका छन् ।सो घटना पछि हमासले वक्तव्य जारी गर्दै हानियाका चार जना नातिनातिनाहरू मोना, अमल, खालिद र रजान पनि उक्त आक्रमणमा मारिएको बताएको छ। हमासले उक्त आक्रमणलाई “विश्वासघाती र कायर” भनेको छ।

गजामा युद्धविरामको तयारी, सेना फिर्ता

एजेन्सी । इजराइलले गजाको दक्षिणी भूभागबाट केही सेना फिर्ता गरेको छ।अमेरिका लगायत अन्य सहयोगी राष्ट्रहरूको चेतावनी र दबाबपछि इजराइलले आइतबार गजाको दक्षिणी खान युनिश सहरमा परिचालित थलसेनालाई फिर्ता गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार अब त्यहाँ इजराइली डिफेन्स फोर्स (आइडिएफ)को एउटा ब्रिगेडमात्रै राखिने छ । गजा क्षेत्रमा युद्धविरामको तयारी गरीएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले त्यस क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पास गरेको थियो । युद्धविरामको इजिप्टले मध्यस्तता गर्ने तयारी भएको छ । इजरायलको प्रमुख सहयोगी राष्ट्र अमेरिकाले केही दिनअघि उसलाई गजामा हमासविरूद्ध आक्रमण गर्दा त्यहाँका नागरिकलाई क्षति नपुर्‍याउन र मानवीय सहायताका कार्यहरूलाई असुरक्षा पुर्याउने गतिविधि नगर्न चेतावनी दिएको थियो।  

दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने

जेरुसेलम । इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको फिर्तीलाई रोक्नेछ । इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार नयाँ ‘सुरक्षा क्षेत्र’ स्थापना भएपछि इजरायली रक्षा बल (आईडीएफ) ले गाजाको वरिपरि रहेका इजरायली क्षेत्रमा आफूलाई पुनर्गठित गरेको छ । आइडीएफ स्रोतलाई उद्धृत गर्दै, ‘इजरायली सेनाले अब ‘गुप्तचरमा आधारित’ छापामा ध्यान केन्द्रित गर्नेछ र आवश्यकता अनुसार गाजा फर्कने छ । सेनाको बहिर्गमन ‘राजनीतिक दबाब’सँग सम्बन्धित छैन,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह

जेनेभा । संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन आग्रह गरेको छ ।खुुलेआम हतियार खरिद विक्रीको परिणाम स्वरुप भएको गाजा युद्धले ३३ हजारभन्दा बढी प्यालेष्टिनीको ज्यान लिएको छ ।  मारिनेमा अधिकांश सर्वसाधारण नागरिक परेका छन् ।आग्रह स्वीकृत भएमा संयुक्त राष्ट्रसङ्घको शीर्ष अधिकारीक निकायले घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रलाई रक्तपातपूर्ण युद्धको स्थितिलाई रोक्न सफल हुनेछ । मस्यौदाले सम्बन्धित देशहरुलाई इजरायलमा हतियार, तथा अन्य सैन्य उपकरणहरूको बिक्री, हस्तान्तरण रोक्न आह्वान गरेको छ । मस्यौदाको आवश्यकता अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन रोक्नको लागि महत्त्वपूर्ण रहेको परिषद्ले जनाएको छ । मस्यौदाले अन्तर्राष्ट्रिय न्यायिक अदालतले जनवरीमा गाजामा ‘नरसंहारको सम्भावित जोखिमको फैसला गरेको’ कुरामा जोड दिन्छ । अल्बानिया बाहेकका इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का सदस्यको तर्फबाट पाकिस्तानले अगाडि सारेको मस्यौदा प्रस्तावमा तत्काल युद्धविराम तथा आपतकालीन मानवीय पहुँच र सहयोगका लागि आह्वान गरिएको छ । गत हप्ता संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि युद्धविरामको आह्वान गर्ने प्रस्ताव पारित गरेपछि यस्तो आग्रह आएको हो । तर, युद्धविरामको मागले युद्ध ग्रस्त भूमिमा कुनै असर पारेको छैन । अधिकार परिषद्को मस्यौदा प्रस्तावमा इजरायली सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा रकेट प्रहार गरेकोमा यसको निन्दा गर्दै बाँकी सबै अक्टोबर ७ को आक्रमणमा कब्जामा लिइएका बन्धकहरूको तत्काल रिहाइको माग गर्दछ । प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली नियन्त्रण समाप्त गरी गाजा पट्टीमा नाकाबन्दीलगायतका कार्य तुरुन्तै हटाउन माग गरेको छ । मस्यौदाले नरसंहारका धेरै सन्दर्भहरू हटाउदै यस विषयमा गम्भीर चिन्ता जारी राखेको छ । जसले गाजाभित्र र बाहिर प्यालेस्टिनीहरूको निरन्तर जबरजस्ती स्थानान्तरण रोक्न आग्रह गर्दछ । मस्यौदा प्रस्तावले गाजामा युद्धको विधिका रूपमा नागरिकहरूलाई भोकमरीको बाध्यतामा पारेको भन्दै यसको निन्दा गरेको छ । जहाँ संयुक्त राष्ट्र सङ्घले गाजामा चरम अनिकाल व्याप्त भइसकेको बताउँदै जानाजानी खाना, पानी, बिजुली, इन्धन र दूरसञ्चारलगायत नागरिकहरूको अस्तित्वका लागि बाधा पारी आधारभूत आवश्यक वस्तुहरूबाट वञ्चित गरिएकोमा यसको विरोध गरेको छ । रासस/एएफपी