पाकिस्तानमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले तलब नलिने

इस्लामावाद । देशको आर्थिक अवस्था खराब हुँदै गएपछि पाकिस्तानमा सरकारी पदमा रहेकाहरुले तलब नलिने घोषणा गर्ने क्रम बढेको छ । स्वतन्त्र भए यताकै खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानको अर्थतन्त्रलाई टेवा दिन भन्दै त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले तलब नलिने घोषणा गरेका छन् । 
केही दिन अघि त्यहाँ नवनियुक्त राष्ट्रपति आसिफ अली जरदारीले तलब नलिने घोषणा गरेका थिए । अहिले प्रधानमन्त्री शाहबाज सरिफ र उनका मन्त्रीहरूले पनि देशको कमजोर आर्थिक अवस्थालाई विचार गरेर तलब नलिने घोषणा गरेका हुन् । 

प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार सरकारले अनावश्यक खर्चमा कटौती गर्ने निर्णय पनि गरेको छ । सरकारको मितव्ययि नीतिअनुसार सबै मन्त्रीहरूले तलब र त्यससँग सम्बन्धित सबै सुविधा छाड्ने निर्णय मन्त्रिपरिषद् बैठकले नै गरेको हो ।

यस्तै, आर्थिक संकटको गम्भीरतालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले सरकारी खर्चमा विदेशी भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा समेत गरेको छ । सरकारले संघीय मन्त्री, सांसद र सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । 
यात्राका लागि सरकारी कोष प्रयोग गर्नै पर्ने भए शहबाज सरिफको सरकारबाट पूर्व स्वीकृति लिनुपर्ने निर्णय भएको छ । गत हप्ता राष्ट्रपति जरदारी र गृहमन्त्री मोहसिन नकवीले तलब नलिने घोषणा गरेपछि अहिले मन्त्रिपरिषदबाट नै अन्य सबै मन्त्रिले तलब नलिने घोषणा भएको हो । (एजेन्सीको सहयोगमा)

रुसी राष्ट्रपतिमा फेरि पुटिनको जित सुनिश्चित

काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन सम्म चुनाव भएको थियो । सीएनएनले पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको जनाएको छ । यो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो । रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ । यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन उनी एकल दाबेदार रहेका छन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विदेशी पर्यटकको चाप बढेसँगै श्रीलंकाको अर्थतन्त्रमा सुधार

कोलम्बो । अकल्पनीय वित्तीय संकटको सामना गरेको श्रीलंकामा आर्थिक पुनरुत्थान भएको श्रीलंका सरकारले जनाएको छ । सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै आर्थिक पुनरुत्थान भएको सरकारको भनाई छ । श्रीलंकामा कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो । सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतमा झरेको छ ।  विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२३ मा श्रीलंकाको अर्थतन्त्रले द्वैधताको अनुभव गरेको छ, यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ । पर्यटनमा लामो समयदेखि प्रतीक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर नतिजा आएको र कामदारको रेमिटेन्समा पनि सुधार आएको सरकारले जानकारी दिएको छ । गत डिसेम्बरमा श्रीलंका घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । अघिल्लो वर्ष ९१ हजार ९०० पर्यटक आएका थिए । श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्एएमएफ) बाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिएको छ । ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग श्रीलंकाले छलफल गरिरहेको छ । श्रीलंकामा सन् २०२२ मा आर्थिक संकटको शिखरमा पुगेको थियो । त्यतिबेला आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौँसम्म खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भएको थियो । राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उनले पदबाट राजिनामा दिएका थिए ।

इटालीद्धारा टिकटकलाई ११ मिलियन डलर जरिवाना

रोम ।  इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ ।इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गर्ने घोषणा गरेको हो । एन्टिट्रस्ट एजेन्सीका अनुसार चीनको वाइट डान्सको स्वामित्वमा रहेको टिकटकले आफ्नो प्लेटफर्ममा किशोर किशोरीहरूको विशेष कमजोरीहरूलाई ध्यानमा राख्न असफल भएको छ ।वाचडगले गत मार्चमा टिकटकको सामग्री मध्यस्थता अभ्यासहरूमा अनुसन्धानको घोषणा गरेको थियो, त्यसमा टिकटक चुकेको जनाइएको छ । बिहीबार एक विज्ञप्तिमार्फत भिडियो–साझेदारी प्लेटफर्म टिकटकले हानिकारक सामग्रीको फैलावटबाट बच्न र बचाउनका लागि अझै पर्याप्त उपायहरू नलिएको जनाएको छ ।एजिसिएमद्वारा उल्लेख गरिएको हानिकारक सामग्रीको एउटा उदाहरण हो, जसलाई ‘फ्रान्सेली दाग’ प्रवृति भनेर चिनिन्छ, जसमा टिकटक प्रयोगकर्ताहरूले आफ्नो गालामा चिरस्थायी घाउ छोडेको देखाइएको छ । टिकटकका प्रवक्ताले भने जरिवाना गराउने इटालीको घोषणा प्रति असहमति रहेको जनाएका छन् । उनले भने, ‘एजिसिएमको सो निर्णयसँग टिकटक असहमत छ किनभने तथाकथित ‘फ्रान्सेली दाग’ सबन्धी सामग्रीका बारेमा गत वर्ष एजीसीएमको घोषणा अघि नै इटालीमा औसत १ सयवटा दैनिक खोजी गरेको थियो र हामीले धेरै पहिले यस्ता सामग्रीको दृश्यता १८ वर्षमुनिमा प्रतिबन्धित गरिसकेका थियौं।’ टिकटकले केही समय यता देखी युरोपेली नियामकहरूको निगरानीमा रहेको छ र यसअघि पनि उसले सयौं मिलियन डलरको जरिवानाको सामना गरिसकेको छ।युरोपियन युनियनमा टिकटकका गतिविधिहरूको निरीक्षण गर्ने आयरिश डेटा संरक्षण आयोगले गत सेप्टेम्बरमा प्लेटफर्मलाई ३७६ मिलियन युरो जरिवाना तिर्न आदेश दिएको थियो । जरिवाना गर्नु अघि उसको पनि टिकटकले बच्चाहरूको सुरक्षा गर्न असफल भएको जनाएको थियो।  अमेरिन तल्लो सदनले टिकटकका प्रतिबन्ध लगाउने विधयेक पास गरेको  बेला इटालीको यो जरिवाना घोषणा भएको हो । गत बुधवार मात्रै अमेरिकी प्रतिनिधि सभाले पास गरेको विधेयक माथिल्लो सदनले पनि पास गर्यो भने अमेरिकामा ६ महिना भित्र टिकटक प्रतिबन्ध हुन सक्छ।

अमेरिकमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पास

काठमाडौं ।अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले टिकटक प्रतिबन्ध लगाउने विधेयक पास गरेको छ। चिनियाँ नागरिकको स्वामित्वमा रहेको टिकटक एप अमेरिकालाई नबेचे देशभर प्रतिबन्ध लगाउने सो विधयेकमा उल्लेख छ । चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो।द न्यूयोर्क टाइम्सका अनुसार सो विधेयक अब सिनेटमा जानेछ।उक्त विधेयक सिनेटले पास गर्ने नगर्ने निर्णय लिनेछ । अमेरिकामा विधयेक कानुन बनेर कार्यान्वयनमा जान पहिले दुबै सदन हाउस र सिनेटले पास भएर विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ। राष्ट्रपति जो बाइडेनले कंग्रेस (दुबै सदन) ले यो विधेयक पास गरेमा आफूले हस्ताक्षर गर्ने बताएका छन्। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू रहेका छन्।

वाइडेन प्रशासनद्धारा युक्रेनलाई ३ सय मिलियन डलर हतियार सहायता घोषणा

वासिंगटन डिसी । अमेरिकन राष्ट्रपति जो वाइडेनको प्रशासनले युक्रेनलाई तीन सय अमेरिकी डल बराबरको हतियार सहायता दिने घोषणा गरेको छ । अमेरिक संसदले युक्रेनलाई दिइने सहायतामा रोक लगाएकै बेला बाइडेन प्रशासनले ठूलो मात्रामा हतियारका लागि सहायता दिने घोषणा गरेको हो । हतियार र युद्ध सामग्रीको अभावमा युद्धमा हार व्यहोरेको भन्दै युक्रेनले अन्तराष्ट्रिय समुदायसँग सहायतको अपिल गर्दै आएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार व्हाइट हाउसमा यससम्बन्धमा निर्णय भएको जानकारी दिएका हुन । पछिल्ला दिनहरुमा रुसले आक्रामक युद्ध छेडेपछि युक्रेनले ठूलो क्षति बेहोर्नुपरेको छ भने कतिपय क्षेत्रमा उसका सैनिकहरु पछाडि फर्केका छन् ।

पाकिस्तानको राष्ट्रपतिमा जरदारी निर्वाचित

काठमाडौं । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उमेदवार आसिफ अली जरदारी निर्वाचित भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले जरदारी विजयी भएको घोषणा गरेको हो ।  जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचन मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको आयोगले जनाएको छ । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे ।  पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त भए । जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उमेदवार महमुद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जरदारीले निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनेछन् ।  २००८ देखि २०१३ सम्म देशको ११औँ राष्ट्रपतिको रूपमा नेतृत्व गरेका जरदारीको राष्ट्रपतिको रूपमा यो दोस्रो कार्यकाल हो । जरदारी ८ फेब्रुअरी, २०२४ मा भएको आम निर्वाचनमा राष्ट्रियसभा सदस्य निर्वाचित थिए ।राष्ट्रपतिको रूपमा शपथ लिनुअघि उनले राष्ट्रियसभाबाट राजीनामा दिनुपर्नेछ ।

नेपाली गार्ड रहेको कार्गोमा हुथीको मिसाइल आक्रमण, ३ जनाको निधन

काठमाडौं । नेपाली नागरिक सुरक्षा गार्ड रहेको कार्गो जहाजमा हुथी बिद्रोहीले मिसाइल आक्रमण गरेका छन् । दक्षिणी यमनको सो कार्गो जहाजमा हुथी मिसाइल आक्रमण हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।  व्यापारिक जहाजहरूमा हुथीको यस्तो आक्रममा परि निधन भएको यो पहिलो घटना हो ।  हुथीहरूले गाजामा इजरायल र हमास बीचको युद्धमा प्यालेस्टाइनीहरूलाई समर्थन गर्न आफ्नो आक्रमणहरू भएको बताएका छन्। मध्यपूर्वमा चल्ने सामुन्द्रिक यातयातको निरिक्षण गर्ने युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार  घटनामा तीन जना चालक दलका सदस्यको मृत्यु भएको र कम्तीमा चारजना घाइते भएका छन् ।  जसमा तीन जनाको अवस्था गम्भीर छ। हुथीहरूको यस किसिमको लापरवाहपूर्ण आक्रमणले विश्वव्यापी व्यापारमा बाधा पुग्ने सेन्टकमले जानाएको छ । आक्रमणमा परेको कार्गोमा २० जना चालक दलका सदस्यहरू रहेका थिए । जसमा  १ जना भारतीय , ४ जना भियतनामी १५ जना फिलिपिनो नागरिक रहेका छन् । भने त्यस जहाजमा तीनजना सशस्त्र गार्ड–दुई श्रीलंका र एक नेपाली पनि थिए । हुथीहरूलेयमनी शहर अडेनबाट करिब ५० समुद्री माइल (९३ किलोमिटर) दक्षिण पश्चिममा आक्रमण गरेका हुन् । आक्रमणबाट मर्नेको शनाखत भने अहिलेसम्म हुन सकेको छैन ।

पाकिस्तानको प्रधानमन्त्रीमा शाहबाज सरिफ निर्वाचित

काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उमेदवार शाहबाज शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।  राष्ट्रियसभा वा संसद्को तल्लो सदनबाट आइतबार भएको मतदानबाट उनी पाकिस्तानको २४औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका हुन् ।   आइतबारको मतदानमा तल्लो सदनको कुल २९३ मतमध्ये २०१ मत प्राप्त गरेका पीएमएल–एनका अध्यक्ष शरिफले उनलाई प्रधानमन्त्री घोषणा गरे । शरिफका एकमात्र प्रतिद्वन्द्वी सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) र पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफका संयुक्त उमेदवार उमर अयुब खानले ९२ मत प्राप्त गरेका थिए ।  ३३६ सदस्यीय राष्ट्रियसभाको निर्वाचनका लागि कुल १६९ मत आवश्यक थियो । शरिफले पीएमएल–एन, पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अन्य सहयोगीहरूबाट भोट पाएका थिए ।  यसअघि २०२४ फेब्रुअरी ८ मा भएको मुलुकको आमनिर्वाचनपछि बनेको नयाँ सदनबाट शुक्रबार राष्ट्रियसभाका सदस्यहरू सदिकलाई सभामुख र सैयद गुलाम मुस्तफा शाहलाई उपसभामुखमा निर्वाचित भएका थिए ।  

भारतमा ट्याक्टर ट्रली पल्टँदा २२ जनाको मृत्यु, १०  जना घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शनिबार ट्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् । उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा भएको हो । “अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,” कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले सञ्चारमाध्यमलाई बताएका छन् । प्रहरीकाअनुसार, पीडित गंगास्नान गर्न कादरगञ्ज जाँदै थिए । पीडितमध्ये अधिकांश महिला र बालबालिका छन् । उद्धारकर्ताले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् । ट्याक्टर चालकले अर्को गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतमा घातक सडक दुर्घटना प्रायः ‘ओभरलोडिङ’, सडकको खराब अवस्था र लापरवाह ड्राइभिङका कारण हुने गरेको पाइएको छ । सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा

गाँजाको प्रयोगलाई वैधानिकता दिंदै जर्मनी

बर्लिन । जर्मनीले गाँजाको प्रयोगलाई वैधानिकता दिने भएको छ । औषधिको रुपमा मात्रै नभएर मनोरञ्जनको रुपमा समेत गाँजा प्रयोग गर्न पाउँने सम्बन्धि विधयेक जर्मनीको तल्लो सदनेले पास गरेसँगै जर्मनीमा गाँजा वैध हुने निश्चित भएको हो । जर्मनीको संसदको तल्लो सदनले विपक्षी र चिकित्सा अधिकारीहरूको चेतावनीको बाबजुद शुक्रबार सीमित मनोरञ्जन प्रयोगको लागि गाँजालाई वैधानिक दिने पक्षमा मतदान गरेको हो । गाँजाको उपयोग सम्बन्धि नयाँ नियम अनुसार अब जर्मनमा वयस्कहरूले व्यक्तिगत प्रयोगको लागि थोरै मात्रामा गाँजा राख्न सक्छन् तर औषधिको रुपमा प्रयोग गर्नका लागि भने १८ वर्ष मुनिका लागि प्रतिबन्ध कायम नै रहेको छ । गाँजाको उपयोग बारे गरिको मतदानमा जम्मा ४०७ जना जर्मन सांसदले नयाँ नियमको पक्षमा मतदान गरे भने २२६ सांसदले विपक्षमा र चार सांसदले शुक्रबारको मतदानबाट अनुपस्थित रहे । यो विधेयक पारित भएसँगै जर्मनीमा गाँजालाई औषधिको रुपमा उपयोग गर्न सजिलो पहुँचको फाइदाबारे र बेफाइदाबारे पक्ष विपक्षमा राष्ट्रिय बहस भैरहेको छ । यो विधयेक पारित भएसँगै गाँजा खुला गर्ने माल्टा र लक्जमबर्ग पछि जर्मनी युरोपको तेस्रो देश बन्ने  छ ।  

बार्सिलोनाका पूर्व फुटबलर अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्ष कैद

एजेन्सी । बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। २०२२ डिसेम्बर ३१ मा बार्सिलोनाको नाइट क्लबमा युवतीमाथि भएको बलात्कार घटनामा बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले अल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको कैद सजाय सुनाएको हो। तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ। ४० वर्षीय अल्भेसलाई जेल सजाय भुक्तान गरेको पाँच वर्षपछि सम्म पनि निगरानीमा राख्न अदालतले आदेश गरेको छ भने ९ वर्षसम्म उनीसँग कुनै पनि माध्यमबाट कुराकानी गर्न प्रतिबन्ध लगाएको छ। स्पेनमा यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएमा चार देखि १५ वर्षसम्म जेल सजाय हुनसक्छ। बिबिसीका अनुसार पीडिततर्फका वकिलले अल्भेसलाई १५ वर्षको जेल सजाय माग गरेका थिए। तर फैसलाले सत्य स्थापित गरेको भन्दै उनीहरुले अदालतको आदेशको स्वागत गरेका छन्। अल्भेसकी वकिल इनेस ग्वार्डिओलाले अदालतको उक्त आदेशविरूद्ध माथिल्लो अदातलमा अपील गर्ने बताएकी छन्। अल्भेसले बार्सिलोनाको नाइट क्लबमा २३ वर्षीय युवतीलाई मदिरा सेवन गराएर फकाइफुल्याइ शौचालयमा पुर्‍याएर‍ बलात्कार गरेका थिए।  

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

युद्धविरामका लागि अन्तराष्ट्रिय समुदायको प्रस्तावमाथि हमास सकारात्मक

एजेन्सी । गाजापट्टीमा नयाँ युद्धविरामका लागि अन्तराष्ट्रिय समुदायको पहलमा तयार पारिएको प्रस्तावमाथि हमासले जवाफ फर्काएको छ । हमासको जवाफ सकारात्मक भएको बताइएपनि त्यसको विषय वस्तुमाथि केही खुलाइएको छैन । इजरायल, अमेरिका, कतार र इजिप्टले तयार पारेको सम्झौताको विवरण सार्वजनिक हुन बाँकी छ । अपुष्ट समाचार अनुसार यसपटक ६ हप्ताका लागि युद्धविराको प्रस्ताव गरिएको छ । युद्धविरामको समयमा दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेका कैदीबन्दीहरु साटासाट गर्नेछन् । इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् । हाल मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज यसबारे इजरायली अधिकारीहरूसँग छलफल गर्ने बताएका छन् । यो प्रस्ताव हमासलाई करिब एक हप्ता अघि पठाइए पनि हमासले मंगलवार मात्रै यसको जवाफ दिएको हो ।

अमेरिकाद्धारा इराक र सिरियामा ब्यापक हवाइ हमला

वासिंगटन डिसी । अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरु गरेको छ । गत आइतवारको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरु गरेको हो । अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ स्थानलाई केन्द्र बनाइ आक्रमण गरेको हो ।अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिशिया समूहहरू विरुद्ध हवाई आक्रमण गरेको जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमार्फत भने, ‘हाम्रो प्रतिक्रिया सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ।’गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी सैनिक घाइते भएका थिए । सो घटनामा ह्वाइट हाउसले इरानलाई दोष दिदैँ धेरै परिमाणात्मक प्रतिक्रिया दिने यसअघि नै जनाइसकेको थियो । इरानले संलग्नतालाई अस्वीकार गर्दै अमेरिकी आरोपहरू ‘निराधार’ भएको जनाएको छ । उसका अनुसार प्रतिरोधी समूहहरूको निर्णयमा इरानको संलग्नता नभएको जनाएको छ ।

गोप्य विषय चुहावट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र उनका पूर्वनिकट सहयोगीलाई जेल सजाय सुनाइएको हो । पाकिस्तानको पन्जाब प्रान्तस्थित रावलपिण्डीको जेलमा स्थापित विशेष अदालतले मंगलबार यो सजाय सुनाएको छ । कूटनीतिक मामिलासम्बन्धी ‘साइफर केस’ नाम दिइएको यो मुद्दामा उनलाई दोषी ठहर गरिएको हो । खानले आफूलाई सत्ताबाट हटाउन सन् २०२२ मा यो षड्यन्त्र भएको जिकिर गरेका थिए । ‘अफिसियल सेक्रेट एक्ट’अन्तर्गत स्थापित अदालतले खानलाई अमेरिकाका लागि पाकिस्तानी पूर्व राजदूतले पठाएको गोप्य कागजातको दुरुपयोग गरेकामा दोषी ठहर गरेको हो । आउँदो फेब्रुअरी ८ मा हुने आमनिर्वाचनको करिब एक साताअघि पाकिस्तानको प्रमुख प्रतिपक्षी नेताका रूपमा रहेका खानविरुद्ध सजाय तोकिएको छ । उनले आफूलाई निर्दोष बताउँदै आएका छन् । अलजजिराबाट ।