युद्ध विरामको दोस्रो दिन आज हमासको कब्जाबाट १७ जना बन्दी रिहा

काठमाडौं । हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन् । अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो ।

इजराइल र हमासबीच जारी अस्थायी युद्ध विरामको दोस्रो दिनसम्म हमासले कुल ४१ जनालाई आफ्नो नियन्त्रणबाट मुक्त गरी रेडक्रसको जिम्मा लगाएको छ । चार दिने युद्ध विराम गरेका इजराइल र हमास दुबै पक्षले बन्दी साटफेर गरिरहेका छन् ।

इजराइलका तर्फबाट जेलमा रहेका ३९ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गरिएको इजराइलको कारागार सेवाले पुष्टि गरेको छ । हमासले रिहा गरेका बन्धक इजरायलले पठाएको सूची आधारमा मुक्त गरिएका हुन् ।

मुक्त हुनेमा बालबालिका, महिला र वृद्धवृद्धा बढी रहेका छन् । साथै एकै परिवारका दाजु बहिनी, आमा छोरी पनि परेका छन् । हमासको कब्जाबाट मुक्त भएकाहरुलाई रेडक्रसको सहायतामा इजराइल पुर्‍याइ सकिएको छ ।

साथै इजराइलले मुक्त गरेका प्यालेस्टाइनी बन्दीलाई पनि वेस्ट बैंकबाट परिवारको जिम्मा लगाइएको बताइएको छ ।

विश्व कप क्रिकेट : बंगलादेशसँग श्रीलंका ३ विकेटले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ । श्रीलंकाले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भएको थियो । हिजोको खेलमा समयमै ब्याटिङ नगरेपछि श्रीलंकाका खेलाडी एन्जेलो म्याथुज टाइम आउट भए । यो हारसँगै श्रीलंकाको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ । आठ खेलमा २ खेल जितेको श्रीलंका ४ अंकसहित आठौँ स्थानमा छ । आठ खेलमा २ वटै खेल जितेको बंगलादेश रन रेटका आधारमा सातौँ स्थानमा छ । श्रीलंकाले विश्व कप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।

राष्ट्र संघबाट खटिएका एक नेपाली सैनिक लेबनानमा गोली लागेर घाइते

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एकजना नेपाली सैनिक इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर घाइते भएका छन्। घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएका ती नेपाली शान्ति सैनिक घाइते भएका हुन्। त्यस क्षेत्रमा हिज्बुल्लाह सक्रिय छ। इरान समर्थित उक्त सिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक संगठन इजरायलबीच ७ अक्टोबरयता कैयनपटक रकेट हानाहाना भएको छ। त्यहाँ विकसित हुन सक्ने तनावलाई लिएर अमेरिकासहितका पश्चिमा देशहरूले आफ्ना नागरिकलाई देश छाड्न भनिसकेका छन्।त्यहाँ झण्डै १० हजार नेपाली श्रमिकहरू समेत काम गर्छन्। संयुक्त राष्ट्र संघको अन्तरिम बल, लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन्। लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ। गाजा क्षेत्रमा इजरायल र हमासबीच तनाव चलिरहेका बेला इजरायलसँगै सीमा जोडिएको लेबनानमा यो घटना भएको हो।

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट २२ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लेविस्टनस्थित मेन शहरमा अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २२ पुगेको छ । बुधबार अबेर मेन शहरका छुट्टाछुट्टै दुई स्थानमा भएका गोलीबारीमा थुप्रै घाइते भएका छन् । घटनामा मृतकको सख्या अझै बढ्न सक्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् । आक्रमणकारी फरार रहेको बताइएको छ । प्रहरीका अनुसन्धान अधिकारीहरुले सीसीटीभी फुटेजका आधारमा दुवै घटनाका अपराधी पत्ता लगाउन प्रयास गरिरहेका अधिकारीहरुले बताएका छन् । सार्वजनिक सुरक्षा विभागले स्थानीयबासीलाई घरभित्रै ढोका बन्द गरेर सुरक्षित रही अनुसन्धान र कारबाहीमा सघाउन आग्रह गरेको छ । विभागले आफ्नो फेसबुक पेजमार्फत् संदिग्धको फोटो समेत सार्वजनिक गरेको छ ।

इजरायलले माग्यो राष्ट्रसंघका महासचिवको राजीनामा

तेल अभिभ । अक्टोबर ७ मा हमासले गरेको हमलापछि गाजामा इजरायलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उनको राजीनामा मागेको छ । राष्ट्रसंघमा इजरायली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेस राष्ट्रसंघको नेतृत्व गर्न ‘अनुपयुक्त’ भन्दै राजीनामा माग गरे । “बालबालिका, महिला र वृद्धवृद्धाको सामूहिक हत्याको अभियानमा समझदारी देखाउने महासचिव राष्ट्रसंघको नेतृत्व गर्न योग्य हुनु हुन्न, म उहाँलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु । इजरायली नागरिक र यहुदीका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका निम्ति दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन,” सामाजिक सञ्जाल एक्समा उनले भनेका छन् । राष्ट्रसंघका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टाइनी नागरिकलाई सामूहिक सजाय’ उचित नभएको टिप्पणी गरेपछि इजरायलको उक्त भनाइ आएको हो । “हमासले गरेको हमला शून्यमा भएको होइन भन्ने कुरालाई पनि मान्यता दिनु महत्त्वपूर्ण हो । प्यालेस्टाइनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन् । उनीहरूले आफ्नो भूमि निरन्तर बस्तीको व्यवस्थापन र हिंसाबाट ग्रस्त भएको देखेका छन् । उनीहरूको अर्थतन्त्र अवरुद्ध भएको छ । उनीहरूका मानिस विस्थापित भएका छन् र घर ध्वस्त भएको छ । आफ्नो दुर्दशाको राजनीतिक समाधान हुने उनीहरूको अपेक्षा हराउँदै गइरहेको छ,” महासभामा महासचिव गुटेरेसले भनेका थिए, “प्यालेस्टाइनी जनताका गुनासोले हमासले गरेको भयानक हमलालाई उचित ठहर गर्न सक्दैन । ती भयानक हमलाले प्यालेस्टाइनी जनताको सामूहिक सजायलाई उचित ठहर गर्न सक्दैन ।” रासस/एएनआई

हमासद्धारा चार बन्धक रिहा

तेल अभिभ । इजरायल–हमासबीच जारी युद्धका बीच लडाकु समूह हमासले अहिलेसम्म चार बन्धकलाई रिहा गरेको छ । हमासले मंगलबार थप दुई बन्धकलाई रिहा गरेको दी टाइम्स अफ इजरायलले जनाएको छ । रिहा हुनेमा नुरिट कुपर र योचेभेद लिफ्शिट्ज छन् । मुक्त भएका दुई बन्धकलाई लिएर एउटा सैन्य हेलिकोप्टर तेल अभिभमा इचिलोभ अस्पतालको छतमा अवतरण गरेको थियो । अस्पतालका एक नर्सलाई उद्धृत गर्दै दी टाइम्स अफ इजरायलले गाजामा हमासको कैदबाट रिहा भएपछि सिधै मेडिकल सेन्टरमा पुर्‍याइएका दुवैको स्वास्थ्य राम्रो देखिएको जनाएको छ । नर्सका अनुसार दुवै बन्धकको आफ्नो परिवारसँग भावनात्मक पुनर्मिलन भएको छ । मुक्त भएका दुवै बन्धकले औषधि लिइरहेका थिए, तर उनीहरूले दुई साता कैदमा प्राप्त नगरेको हुनसक्छ । यसअघि, हमासको कासम ब्रिगेडले एउटा भिडियो जारी गरेको थियो । जसमा दुई बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्यलाई सुम्पँदै गरेको देखाइएको थियो । भिडियोमा दुई महिला नकाब लगाएका बन्दुकधारीको हात समातेर अस्थिर रूपमा हिँडिरहेको देखिन्छ । ती नकाबधारीले उनीहरूलाई नास्ता र पेयपदार्थ पनि दिइरहेका हुन्छन् । दी टाइम्स अफ इजरायलका अनुसार भिडियो फुटेजमा दुवै महिला डराएको देखिन्छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनले ती बन्धकको रिहाइको स्वागत गरेको र बाँकीको रिहाइका लागि काम जारी राखेको सामाजिक सञ्जाल एक्समा बताएका छन् । अझै २०० जना बन्धक रहेको बताइएको छ । सीएनएनका अनुसार यसअघि हमासले दुई अमेरिकी बन्धकलाई रिहा गरेको थियो । सिकागो बासिन्दा जुडिथ ताई रानन र उनकी १७ वर्षीया छोरी नताली राननलाई हमासले मुक्त गरेको बताइएको छ । रासस एएनआई

गाजा क्षेत्रमा सबै आपूर्ती बन्द गर्न इजरायली रक्षामन्त्रीको निर्देशन

एजेन्सी । इजरायलका रक्षामन्त्रीले गाँजा क्षेत्रलाई सम्पूर्ण रुपमा नियन्त्रण लिन आफ्ना सेनालाई निर्देशन दिएका छन् । गाँजा क्षेत्रबाट विद्रोही हमास समूहले शुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा आपूर्ती भइरहेको खानेकुरा, पानी, इन्धन र विदयुत लगायत सबै सेवा बन्द गर्न पनि आदेश दिएको छ । हमास विद्रोहीको आक्रमणले आफ्ना देशमा सयौं मानिसहरुको अनाहकमा ज्यान गएको भन्दै इजरायली सरकारले हमास विरुद्ध कठोर नीति लिने जनाएको हो । आक्रमणमा परेर हालसम्ममा इजरायलमा ७ सय जनाको मृत्यू भएको समाचार छ । हमास समूहले एउटा साङ्गितिक कार्यक्रममा सहभागी भएका २६० जनाको आम हत्या पनि गरेका छन् । यसैबीचमा प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्र सङ्घको मानवीय निकाय ओ सी एच एले ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका पनि जनाएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायले यो सङ्ख्या अझै बढ्ने बताएको छ । यसैबीचमा कतारले हमास र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला ९युद्धवन्दी० को रिहाइ गरिएमा हमासद्वारा कक्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको बताइएको छ । इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ ।

इजरायल–प्यालेस्टिन द्वन्द्व : ११ सय बढिको ज्यान गयो

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा ११ सयभन्दा बढी मानिसको गएको छ । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । इजरायलले यो आक्रमणमा अहिलेसम्म आफ्ना ७०० बढी नागरिकको मृत्यु भएको बताएको छ । यस्तै, प्यालेस्टाइनीहरूले गाजामा आफ्ना ४१३ भन्दा बढी नागरिकको मृत्यु भएको बताएको बीबीसीले जनाएको छ । दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ । अमेरिकाले यो आक्रमणमा आफ्ना नागरिकको पनि ज्यान गएको बताउँदै हतियार र सैन्य सहयोगको घोषणा गरेको छ । नेपालसहित अन्य धेरै देशले इजरायलमा आफ्ना नागरिकको समेत मृत्यु भएको बताएका छन् ।

भारतको कर्नाटकमा आगलागी हुँदा १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । कर्नाटक राज्यको राजधानी बैंग्लोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेका प्रहरीले जानकारी गराएको छ । पसल र जग्गा मालिकमाथि आगो सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लगाइएको छ । रासस/ सिन्ह्वा

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्‍यो। श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए । मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपूर्ण साझेदारी गरेका थिए । चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे । डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउँदै थिए । त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्‍याएका हुन् । साबिकको विजेता श्रीलंकाले आइतबार भारतसँग उपाधिको लागि खेल्ने छ ।

वर्षाका कारण नेपाल-भारतबीचको खेल अझै सुरु हुन सकेन

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ। श्रीलंकाको पेलेकेलेमा जारी खेलमा नेपालले भारतलाई दिएको २ सय ३१ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध हुन पुगेको हो। खेल रोकिनुअघि भारतले २.१ ओभर १७ रन बनाउँदा वर्षा सुरु भएको थियो। नेपालले ४८.२ ओभरमा पूरा विकेट गुमाउँदै दुई सय ३० रन बनाएको हो। नेपालको इनिङ्समा ओपनर आसिफ सेखले अर्धशतकीय इनिङ्स खेले।

एसिया कप किक्रेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । आजदेखि सुरु भएको एसिया कप किक्रेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानले दिएको २४३ रनको लक्ष्य २३.४ मा सबै विकेट गुमाउँदै १०४ रन मात्र जोड्न सक्यो ।

क्यामरुनमा भवन भत्किदाँ ३७ जनाको मृत्यु, २१ जना घाइते

एजेन्सी । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित चार तले भवन भत्कँदा ३७ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेकाले आवासीय भवनमा रहेकाहरुको च्यापिएर मृत्यु भएको जनाइएको छ । सो घटना आइतबार राति भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन् । भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल पुगेको क्यामरुनका शहरी विकासमन्त्री सेलेष्टिन केचा कुर्टेसले भत्केको भवनका मालिकले बिना अनुमति घर बनाएको बताए ।

१० लाख डलरभन्दा बढी कर तिर्न नोबेल पुरस्कार विजेता युनुसलाई अदालतको आदेश

एजेन्सी । बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा माइक्रोफाइनान्सका अगुवा मोहम्मद युनुसलाई तीन वटा परोपकारी ट्रस्टलाई दिएको ७० लाख अमेरिकी डलर दानमा १० लाख डलरभन्दा बढी कर तिर्न आदेश दिएको छ । हाल प्रधानमन्त्री शेख हसिनासँग टाढिएका भनिएका आफ्नो अग्रणी माइक्रो क्रेडिट बैंकबाट लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय पाएका ८३ वर्षीय युनुसलाई सामाजिक कामका नाममा गरिबहरूको ‘रगत र पसिना चुस्दै’ आएको आरोप लगाइएको छ । उनलाई सन् २००६ मा आर्थिक विकासका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । युनुसले सन् २०११ देखि २०१४ को बीचमा प्रोफेसर मोहम्मद युनुस ट्रस्ट, युनुस फ्यामिली ट्रस्ट र युनुस सेन्टरलाई ७६ करोड ७० लाख टाका (७० लाख अमेरिकी डलर) दान गरेका थिए । अदालतले उनलाई १५ करोड टाका (१.४ करोड अमेरिकी डलर) को कूल कर बिल तिर्न आदेश दिएको छ, जसमध्ये ३० मिलियन टाका उनले करस्वरूप पहिले नै तिरिसकेका छन् । युनुसले सन् १९८० को दशकमा स्थापना गरेको ग्रामीण बैंकमार्फत दशौं लाख ग्रामीण महिलाहरूलाई लघुवित्त कर्जा प्रदान गरेर बङ्गलादेशको चरम गरिबी उन्मूलनमा मद्दत पुर्याएका थिए । गत वर्ष बङ्गलादेशको भ्रष्टाचार विरोधी निगरानी निकायले युनुसको अध्यक्षता गर्ने फर्महरूको विस्तृत अनुसन्धान गर्न आदेश दिएको थियो र हसिनाले उनीमाथि व्यक्तिगत रूपमा आलोचना गरेकी थिइन । गत मार्चमा संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान की मुन र पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसहित ४० जना विश्व व्यक्तित्वले संयुक्त पत्र लेख्दै बङ्गलादेशलाई युनुसमाथिको ‘अनुचित’ आक्रमण र उत्पीडन रोक्न आग्रह गरेका थिए ।

अमेरिकाको मध्य र पूर्वी क्षेत्रमा गर्मी विस्तार हुँदै, गर्मीबाट कम्तिमा १८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको दक्षिणपश्चिम क्षेत्रको जनजीवन अस्तव्यस्त बनाउने गर्मी मध्य र पूर्वी क्षेत्रमा विस्तार हुँदैछ । मध्यपश्चिमबाट सुरु भएको तातो मौसम बुधबारसम्म पूर्व फ्लोरिडाको दक्षिणी छेउसम्म फैलिने मौसमविद्हरूले बताएका छन् । गतसाताको अन्त्यतिरै धेरै प्रमुख शहरहरूमा तापक्रम निकै उच्च रहेको अधिकारीहरुले बताएका छन् । गर्मीले विभिन्न शहरहरुमा गरी करिव ६ करोड अमेरिकी प्रत्यक्ष प्रभावित भएका छन् । आइतवार, फिनिक्स, एरिजोना सहरमा ४३ डिग्री सेल्सियस भन्दा बढी ताप मापन गरिएको र यो सन् १९७४ मा गरिएको तापमान रेकर्डभन्दा पनि बढी रहेको जनाइएको छ । हालसम्मको तापमान रेकर्ड अनुसार जुलाई अब पृथ्वीको सबैभन्दा तातो महिना हुने अपेक्षा गरिएको छ । गत अप्रिलयता मारिकोपा काउन्टी वरपर मात्र गर्मीबाट कम्तिमा १८ जनाको मृत्यु भएको र अन्य ६९ जनाको पनि गर्मीकै कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

श्रीलङ्कामा पचास हजारभन्दा बढी डेङ्गुका बिरामी फेला

एजेन्सी । श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएको बताएको हो । गम्पाहा जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन् । यो जिल्ला देशको सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला हो । स्वास्थ्य मन्त्रालयले डेङ्गुको उच्च जोखिममा रहेका ४३ वटा क्षेत्र पहिचान गरी लामखुट्टे उन्मूलन अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननलाई प्रोत्साहन गर्ने जनाउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ । श्रीलङ्कामा गत वर्ष ७६ हजारभन्दा बढी डेङ्गुबाट पीडित भएका थिए ।