जलस्रोत विधेयक प्रतिनिधि सभामा प्रस्तुत
काठमाडौं । जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।
शुक्रबार बसेको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन् ।
यो विधेयक ३१ असार २०८१ मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।
आर्थिक कूटनीति सरकारको प्राथमिकता : परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् ।विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरुलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतहरुलाई निर्देशन दिए । सरकारले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भई काम गर्न विदेशस्थित नेपाली राजदूतको ध्यानाकर्षण गराए । वैदेशिक लगानी प्रतिबद्धता र प्राप्ति तथा वैदेशिक सहायता प्रतिवद्धता र प्राप्तिमा खाडल रहेको उल्लेख गर्दै उनले प्रतिबद्धता अनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्ने बताए। सरकारले गत वैशाखमा गरेको तेस्रो लगानी सम्मेलनको स्मरण गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने —"सम्मेलनमा सहभागी लगानीकर्ताहरुसँग सम्पर्क बढाउने र नेपालमा भएका लगानीका सम्भावनाहरुलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरुले निरन्तर लाग्नुपर्ने हुन्छ।" मुलुकको आर्थिक–सामाजिक विकास गरी समृद्धि र विकास गर्ने सरकारको उद्देश्यअनुरुप पराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन भएको अवस्थाबारे पनि उनले स्पष्ट पारे। विदेशमा रहेका राजदूतावासका लागि सरकारले आफ्नो क्षमताअनुसार लगानी गरेको बताउँदै उनले भने, “नेपालका निर्यात योग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहचान गर्न, सम्भाव्य लगानीकर्ताहरुलाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहन म यहाँहरुलाई आग्रह गर्दछु ।”
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
विश्वकपको फाइनलमा दक्षिण अफ्रिकासँग भारत भिड्ने, इङ्ल्यान्ड स्तब्ध
काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि सन् २०१४ को विश्वकपमा भारतले फाइनल खेलेको थियो। त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएको भारत यो पटक उपाधि चुम्ने दाउमा छ। दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो। फाइनल खेल शनिबार हुने छ । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे । उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए। त्यस्तै ओपनर जोस बटलरले १५ बलमा २३ रन बनाए। अर्का ओपनर फिल साल्ट ५ रनमा आउट भए। मोइन अलीले ८ रन बनाउँदा लियाम लिभिङस्टोने ११ रनमा रन आउट भए। जोफ्रा आर्चरले १४ बलमा दुई छक्का र एक चौका सहित २१ रन बनाए। भारतका लागि कुलदीप यादव र अक्षर पटेलले समान तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका यादवले १९ रन खर्चिदा त्यति नै ओभर बलिङ गरेका पटेलले २३ रन खर्चिए । यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो। उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे । उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका थिए । यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए । त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए । भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद बढाउन प्रमुख दल सहमत
काठमाडौँ । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको हो । प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ।समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरू सहमति नजिक पुगेका थिए । तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषय ओझेलमा परेको थियो । गठबन्धन फेरिए पनि प्रधानमन्त्री प्रचण्डले काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच संवाद गरिरहेका थिए ।आजको बैठकले विधेयक अगाडि बढाउने र सहमति जुट्न नसकेका विषयमा सहजीकरण गर्न तीन दलले एकएक जना नेतालाई तोक्ने सहमति समेत गरेको छ ।
एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने भएको छ। बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो । अब नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठसहित सात उपाध्यक्ष, सचिव सातदेखि ९ जनासम्म हुने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने छ। एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ।
विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत
काठमाडौँ। राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । उनले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको बताए। उनले विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे। उनले भने, ‘‘आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको हो । प्रश्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक, २०८१ लाई यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु ।’’ राष्ट्रिय सभाको अर्को बैठक आजै १५ मिनेट बस्नेगरी स्थगित भएको छ ।
असार १५ गते चितवनमा रोपाइँ महोत्सव मनाइने, प्रधानमन्त्री सहभागी बन्ने
काठमाडौँ। सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मनाउने भएको छ । बिहीबार २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मूल समारोह समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने बताएको हो। समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि, आधुनिकिकरण र व्यवसायीककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी भएको बताए। महानिर्देशक घिमिरेले यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने जानकारी दिए। उनले जलवायु परवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवम् उपलब्ध प्रविधिहरुको प्रचार गरी तीनको अवलम्वन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनुपर्ने यस वर्षको सन्देश रहेको बताए। उनले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने योजना रहेको बताए। महानिर्देशक घिमिरेले २०८१ असार १२ गतेसम्म देशभर ९.८ रोपाइँ भएको बताए। उनले कोशी प्रदेशमा ५.६, मधेश प्रदेशमा २.९, बागमती प्रदेशमा १८.३, गण्डकी प्रदेशमा ८.३, लुम्बिनी प्रदेशमा ८.८, कर्णाली प्रदेशमा २३.९ र सुदूरपश्चिम प्रदेशमा २५.० प्रतिशत खेतमा धान रोपाइँ भएको जानकारी दिए। उनले अहिलेसम्म कुल धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये एक लाख ३६ हजार ४११ हेक्टर क्षेत्र फलमा रोपाइँ भएको पनि बताए।
एसईई नतिजामा चित्त बुझेन, अनलाइनबाटै दिनुहोस् निवेदन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०)ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ)गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिएका हुन्। पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ । चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।
असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताएका हुन्। उनले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फर्स्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। उनले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराए। सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गरे। उनले राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताए। ‘‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ। अहिले बजेट पास हुने र अर्को सालको असारमा काम गर्ने र निर्माणका कामहरू, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेटको राम्रो भएपनि नराम्रो भए पनि छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फर्छ्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु।,’’ सांसद पौडेलले भने, ‘‘बजेट कार्यान्वयन गर्न सम्बन्धित निकायले लिङगरिङ गर्नुहुँदैन। बाढी पहिरोले ठुलो जनधनको क्षति गरिरहेको छ । सरकारको तयारी अपूर्ण छ। पार्टीको कार्यकर्ताहरूलाई पनि तत्काल सम्बन्धित पार्टीहरूले निर्देशन दिनुपर्छ।’’ सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए। उनले दुध र उखु किसानहरूको पैसा तत्काल भुक्तानी गर्न पनि सरकारलाई आग्रह गरे।
एसइईमा कति विद्यार्थीले ल्याए कुन ग्रेड ?
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन्। यस्तै, २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७, २.८० देखि ३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी छन्। यस्तै ६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका छन्।
फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान
काठमाडौं। फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ। आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै जातका २५ बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने व्यवस्था गरिएको हो । अनुदान पाउन किसानले न्यूनतम २५ फलफूलका बिरुवा हुर्काएको हुनैपर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले राससलाई जानकारी दिएका छन् । “किसानलाई कृषिमा प्रोत्साहन गर्नका लागि एउटै जातका २५ बिरुवा फलफूलका रोप्नेलाई अनुदानको व्यवस्था गरेका हौँ”, उनले भने, “यसले गाउँपालिकामा फलफूल उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।” फलफूल बगैँचा स्थापना कार्यक्रमलाई अभियानका रुपमा लिइने र फलफूलको बगौचा स्थापना गर्ने कृषकलाई प्रतिबिरुवा रु ५० का दरले बिरुवा स्याहार खर्च (उत्पादनका आधारित प्रोत्साहन) उपलब्ध गराइने अध्यक्ष विष्टले बताएका छन् । “खाद्यान्न बालीमा आत्मनिर्भर बनाउन खाद्यान्न बालीको बिज वृद्धि कार्यक्रम सञ्चालन, कृषिउपजको बजारीकरण तथा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने लक्ष्य छ”, उनले भने । कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई प्रशोधन गरी कृषकलाई उच्च लाभ हासिल गर्न प्रशोधन केन्द्र स्थापना, उद्यमी, उद्यमी समूह र सहकारी संस्थालाई विशेष अनुदानको व्यवस्था गरिएको अध्यक्ष विष्टले जानकारी दिएका छन् ।
एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत मात्रैले प्राप्त गरे ‘ग्रेडिङ’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी)मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन । निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ ।०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । यसरी हेर्न सकिन्छ नतिजा–
अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सानदार जीत
काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पाँच ओभर मै समेटेको छ । यससँगै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो। अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनायो। दक्षिण अफ्रिकाका रिजा हेड्रिक्सले अविजित रहँदै सर्वाधिक २९ रन बनाए। २५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान एडन मार्क्रम २३ रनमा अविजित रहँदा ओपनर क्विन्टन डी कक पाँच रनमा पेभिलियन फर्किए। अफगानिस्तानका फजलहक फारुकीले एक विकेट लिए। त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो। अफगानिस्तानका अजमतउल्लाह ओमरजाईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज शम्सीले समान तीन विकेट लिए। कगिसो रबाडा र अनरिख नार्खिऐको नाममा समान दुई विकेट रह्यो।
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
दमौली । अवैधरूपमा रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थिच भोटेश्वाराका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले उनका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । “सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो,” उनले भने । गुरुङका साथीले आफूहरू द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्,” गुरुङले भभने । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको बताए । “घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ,” उनले भने । आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरूलाई स्तब्ध तुल्याएको बताए । “मेरो वडाले एक होनहार युवा गुमाएको छ,” उनले भने । रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ । रासस
झलनाथले छोडे पार्टी अध्यक्षको दाबी, घनश्यामलाई समर्थन
काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन्। यता अध्यक्ष माधवकुमार नेपालले पनि पुनः नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन्। अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका बेला खनालले महासचिव भूसाललाई अगाडि सारेपछि समाजवादीको नेतृत्व चयन रोचक हुने देखिएको छ । चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

