यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका प्रमूख निर्णय
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को असार १७ गतेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको आजको बैठकले केही विधेयकहरू संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना ०८१–०८२, ०८५–०८६ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् ।
यसैगरी, बैठकले धितोपत्रसम्बन्धी ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयक र नेपाल कानुन व्यवसायी ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने ३८ करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
कैलालीको रानीजमरा रेल सिँचाइँ आयोजनाका लागि कैलाली जिल्ला लम्कीचुहा नगरपालिका १०७ हेक्टर क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता बताइन् ।
तमोर करिडोर लिपिङ खोला जलविद्युत् आयोजना बुर्तिबाङ पौदी अमराही तम्घास गोरुसिंगे १३२ केभी प्रसारण लाइन जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुपर घल्याम्दी जलविद्युत् आयोजनालाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको सञ्चारमन्त्री शर्माले बताइन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रस्तावमा सम्पत्ति सुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१/८२– २०८५/८६ स्वीकृत गर्ने ।
२. अर्थ मन्त्रालयको प्रस्तावमा जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रावृत्ति आयोजनाका लागि प्राप्त हुने जापानी येन ४५४ मिलियन करिव (३८ करोड २२ लाख ) बराबर अनुदान स्वीकार गर्ने ।
३. अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।
४. अर्थ मन्त्रालयको प्रस्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृित दिने ।
५. उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको प्रस्तावमा रानीजमरा कुुलरिया सिचाई आयोजनाका लागि कैलाली जिल्ला लम्कीचुहा नगरपालिका स्थित १०७ हेक्टर क्षेत्रफल जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।
६. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल कानून व्यवसायी परिषद ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।
७. वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा तमोर करिडोर, लिपिङ खोला जलविद्युत आयोजना, बुर्तिवाङ–पौडी–अमराई–तमघास–गोरुसिंगे १३२ के.भी.प्रसारण लाइन, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुपर घलेम्दी जलविद्युत आयोजनालाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
सत्ता समीकरण फेरबदलको चर्चा हल्ला मात्रै : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन्।सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन्। उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरु हल्ला मात्रै भएको बताए। आफुले दुई जना नेताहरुसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको उनले बताए। उनले भने, ‘हल्ला मात्रै हो। त्यस्तो थाहा छैन। म पनि सरकारमै छु। सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ। त्यस्तो केही पनि छैन। मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो। कहिलेकाहीँ विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ। सामान्य भेटघाट नै हो। यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन।’ गृहमन्त्री लामिछानेले शीर्ष नेताहरु बीचको भेटघाट समान्य भेटघाटको रुपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने समेत बताए ।
अस्पतालहरुको सुधार गर्नु नै मेरो मुख्य लक्ष्य हो : मन्त्री यादव
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरुको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री यादवले यस्तो बताएका हुन् । मन्त्री यादवले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालय रातदिन काम गरिरहेको बताए। उनले राजनीति अस्थिर रहेकाले सबै ठूलो काम गर्छु भनेर प्रतिवद्धता जनाउन नसकिने बताए। उनले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागिपरेको बताए । मन्त्री यादवले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा काम भइरहेको बताए। उनले स्वस्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिएर भएपनि काम गराउने प्रतिवद्धता जनाए । उनले मन्त्रालय मातहतमा रहेका अस्पतालको सुधारका लागि विभिन्न कार्यक्रमसहित अघि बढेको बताए। उनले बीमामा धेरै महाभारत चलिरहेको बताए। मन्त्री यादवले स्वास्थ्य बीमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नरहेको भन्दै राज्यले बीमालाई स्वायत्त गरिदिएको बताए। आफू अग्रसर भएर बीम बोर्डका अध्यक्षसँग कुरा गरेको र छलफल गरेर बीमामा भएका बेथितिको सुधार गर्ने बताए। सबै नागरिकलाई बीमामा समेट्न आफूहरु लाग्ने बताए। मन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए।
ओलीसँगको भेटबारे देउवाले भने -'सरकार परिर्वतनबारे छलफल भएको होइन्'
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन्। देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको जानकारी गराएका थिए । देउवालाई उदृत गर्दै एक नेताले भने, ‘शीर्ष नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषयमा चर्चा हुनु स्वाभाविक हो । तर, उहाँले चिया खान बोलाउनुभयो । हामी गयौं । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ भन्नुभयो।’ उनले सरकार परिवर्तनको बिषयमा छलफल नभएको बैठकमा बताए ।
प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस
काठमाडौं । सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका छन्। सभामुख घिमिरेले संविधानको धारा १०६ तथा संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरेका हुन्। अधिकारी संखुवासभाको खाँदवारी नगरपालिका-२ निवासी हुन्। प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव भएपछि यो पद २०८० माघ २३ देखि रिक्त थियो।
एकीकृत समाजवादीको महाधिवेशनमा ६५ पन्ने समाजवादी कार्यक्रम प्रस्तुत(दस्तावेज)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को ‘सम्मानित नेता’ झलनाथ खनालले यसअघिका कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान नसकिने निष्कर्ष प्रस्तुत गरेका छन्। जारी पार्टीको दशौँ महाधिवेशनमा जेठको १ र २ गते बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको नेपाली विशेषताको समाजवादी कार्यक्रम पेस गर्दै त्यस्तो बताएका हुन्। नयाँ आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्ने दस्तावेजमा उल्लेख छ। नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज भएको दस्तावेजमा उल्लेख गरिएको छ। “हिजो हामीले जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागु भइसकेका छैनन्, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अंग बन्छन् र बनाउनुपर्छ । तर, कार्यक्रमिक रूपमा भने अब नयाँ धरातलबाट अघि बढ्नुपर्छ,” दस्तावेजमा उल्लेख छ छ। यस्तो छ ६५ पृष्ठ लामो दस्तावेज
भ्रष्टाचारका ठुला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी हुँदैछ : गृहमन्त्री लामिछाने
काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भ्रष्टाचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताए। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भ्रष्टाचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए। “मेरो र उसको नभनिकन सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त निकायले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष रुपमा अनुसन्धान तथा अभियोजन गर्ने हो भने भ्रष्टाचार न्यूनीकरण र नियन्त्रण सम्भव छ”, उनले भने, “भ्रष्टाचारका घटनामा समेत राजनीतिक दाउपेच हुने विद्यमान प्रवृत्ति सच्याउन जरुरी छ। कुनै पनि कालखण्डमा भएका काण्डमध्ये २५ काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ ।” भ्रष्टाचार नियन्त्रण गर्न आफू र सरकार इमानदाररुपमा प्रयासरत रहेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् भ्रष्टाचार निवारणका लागि नतिजामुखी प्रयास थालेको बताए। सरकारमा रहेका दलहरुको न्यूनतम साझा सङ्कल्पमा पनि भ्रष्टाचार निवारणका लागि कदम चाल्ने उल्लेख छ। “सरकारले न्यूनतम साझा सङ्कल्पमा भष्ट्राचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयमा कुनै पनि कालखण्डमा भएका भष्ट्राचारको छानबिन गर्ने भनेको छ । भ्रष्टाचारी एकदिन कानुनी कठघरामा आउँछन् भन्ने स्थापित गर्न जरुरी भइसकेको छ”, उनले भने, “कुनै एक पक्षले मात्र सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण हुँदैन ।” पर्याप्त कानुनी आधार, क्षेत्राधिकार र स्रोत साधनसहित भएका संरचनाको स्तरोन्नति आवश्यक भएको गृहमन्त्री लामिछानेले बताए। भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग र मजबुद संस्थागत संरचना रहेका भएपनि विभिन्न अड्चनले ती निकायबाट आशातित प्रतिफल प्राप्त गर्न नसकेको जनगुनासो कायमै रहेको उनको भनाइ थियो । सम्पत्तिको सीमाङ्कनसम्बन्धी कानुन निर्माणका लागि सरकार सकारात्मक रहेको उनले बताए। प्रतिनिधिसभाको आजको बैठकमा पञ्चायतकालदेखि हालसम्म कस(कसकाविरुद्ध भ्रष्टाचारका मुद्दा दायर भएका छन ? भनेर सांसद प्रेम सुवालले प्रश्न गरेका थिए । सांसद विद्या भट्टराईले गृहमन्त्री लामिछानेलाई विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरकारले कसरी काम गरिरहेको छ भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा गृहमन्त्री लामिछानेले विपद प्रभावित घरपरिवारलाई अस्थायी आवास अनुदान कार्यविधि, २०८१ तर्जुमा भई सहमतिका लागि अर्थमन्त्रालयमा पठाइएको बताए। प्रक्रियागत ढिलासुस्तीको मारमा सदन, सरकार र सिङ्गो समाज भएको उनले बताए। “प्रक्रियागत ढिलासुस्तीका कारण आम नागरिकले सहजरुपमा सेवा पाएका छैनन् । यो कुरा मैले यो सदनमा स्वीकार गर्नै पर्दछ”, गृहमन्त्री लामिछानेले भने, “तर अब त्यस्तो अवस्था नआओस भन्नका लागि एउटा विधि बनाउन आवश्यक छ । हामीले नीति बनाएर भविष्यमा हुने कुनै पनि विपद्लाई सम्बोधन गर्नुपर्छ ।” सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राहदानीको विषय र विभिन्न सहकारीको रकम हिनामिनामा भइरहेको छानबिनबारे प्रश्न गरेका थिए। यसको जवाफ दिंदै गृहमन्त्री लामिछानेले अदालतमा विचाराधिन रहेकाले यी विषयमा आफू बोल्न उपयुक्त नहुने बताए।
जोमसोमका लागि उडेको ताराको जहाज सम्पर्क बिहिन भन्ने गलत प्रचार
काठमाडौं । जोमसोमको लागि उडेको जहाज सम्पर्क बिहिन भन्ने समाचार तथा पोष्टहरू गलत भएको तारा एअर प्रा.लीले जनाएको छ । प्रा.लीले आज एक विज्ञप्ति जारी गदैै केही अनलाईन पत्रिका तथा गलत मनशायको व्यक्तिले बदनियतपूर्वक सामाजिक संजालमा तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्र्पक बिहिन भनि गलत समाचार तथा पोष्टहरु गरिएको पाईएकोले उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएको जनाएको छ । प्रा.लीले यस्ता गलत र भ्रमपूर्ण समाचार पछि नलाग्न सम्पूर्ण सरोकारवाला हरुमा अनुरोध समेत गरेको छ।साथै, गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक संजालमा राख्ने विरुद्ध कानूनी कार्वाही अगाडी बढाउने समेतबताएको छ ।
प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गरेका छन्। प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए। उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे । आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ।
सकियो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, के भयो छलफल ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको ३ घण्टा लामो छलफल सम्पन्न भएको छ । भेटमा सरकारका कामलाई थप प्रभावकारी बनाउने, संक्रमणकालिन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारका कामलाई गतिशील व्यवस्थित ढंगले अघि बढाउने र ‘सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भएको बताइएको छ ।
युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको सङ्ख्या वर्षेनी बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुपर्ने बताएका हुन् । “युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अतः २१औँ शताब्दीका युवा–विद्यार्थीको चाहना, आवश्यकता र प्राथमिकताहरू बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु ।” पाठ्यक्रममा आमूल परिवर्तन गरेर अध्ययनसँगसँगै उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि समेत विश्वविद्यालयहरूले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले वैकल्पिक साधन–स्रोतहरूको खोजीका पनि ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिए। “अब विश्वविद्यालयहरूले सरकारको मुख ताकेर बस्ने होइन कि हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि ध्यानकेन्द्रित गर्नैपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारसँगको सहकार्यमा पहुँच विस्तारका लागि आइपर्ने बाधा–अड्चन र कानूनी एवम् नीतिगत समस्याको समाधान गर्न सरकार प्रतिबद्ध छ ।” उनले ऐनको समयाकुल परिमार्जनका लागि समेत सरकारबाट आवश्यक सहयोग प्रदान गर्ने विश्वास दिलाए। उच्चशिक्षामा विकासको गतिलाई व्यापक, व्यावहारिक र जीवनोपयोगी बनाउँदै लैजान सुझाव दिँदै प्रधानमन्त्री प्रचण्डले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्नका लागि सूक्ष्म खोज–अनुसन्धान, प्राकृतिक सम्पदा र परम्परागत ज्ञान–सीपको संरक्षणमा लाग्नुपर्ने बताए। उनले पर्यटन प्रवर्द्धन र कृषिमा आधुनिकीकरण तथा यान्त्रिकरणका माध्यमबाट प्रदेशका साथै समग्र देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए। खासगरी अलैँची, चिया, रूद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायत नेपालका मौलिक उत्पादनहरूका बारेमा समेत सूक्ष्म शोध–अनुसन्धान गर्न विश्वविद्यालयलाई सुझाव दिँदै प्रधानमन्त्रीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तारमा समेत यो विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए। गोठगाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका आम जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले त्यसका लागि आर्थिक स्रोतको सुनिश्चतताका साथै वैकल्पिक उपायहरूको खोजी गरेर मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
नेकपा (एस)को महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को नेतृत्व चयनका लागि हुने मतदानमा इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने भएको छ। विद्युतीय मतदान लागि पार्टी केन्द्रीय सचिवालय सदस्यहरुले डेमो प्रस्तुत समेत गरेका छन्। दशौँ राष्ट्रिय महाधिवेशनका लागि झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। सोही मण्डलले महाधिवेशनको मतदान विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको हो । आइतबारदेखि सुरु भएको दशौं महाधिवेशनमा आज बन्द सत्र चलिरहेको छ । बन्द सत्रपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । निर्वाचन माधवकुमार नेपाल र घनश्याम भुषालबीच प्रतिस्पर्धा हुने सम्भावना छ । साथै पार्टीले जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्सीय बहस नोट कमिटी, डा.गंगालाल तुलाधर र डा. विजय पौडल सम्मिलित माइन्युट कमिटी पनि गठन गरिएको छ ।
मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । एकजना पनि संघीय मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबार बिहान साढे ११ बजे बैठक सुरू गर्नेबित्तिकै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को कोही सदस्य नआएको भन्दै ध्यानाकर्षण गराए। त्यसपछि सरकारका कोही पनि प्रतिनिधि नआएको भन्दै सभामुख घिमिरेले बैठक १५ मिनेटलाई स्थगित गरेको घोषणा गरे । सोमबारको संसद बैठकमा मन्त्रीसँगै सांसदहरूको पनि संख्या न्यून छ ।
नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश
काठमाडौँ। नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश गरेको छ। नेपाल सरकार साझेदारी रहेको एक मात्र वायुसेवा कम्पनीले ६६ औँ वर्ष सफलतापूर्वक पार गरेको छ। हवाई यातायात क्षेत्रको विकास र विस्तारमा योगदान पुऱ्याएको बताउँदै सेवा विस्तार र जनताको मन जित्ने गरीको कार्यशैली अगाडी बढाउन निगमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन्। नेपाली जनताले उच्च मूल्याङ्कन गर्नेको सेवा विस्तार गर्नुपर्ने भन्दै वार्षिकोत्सव अवसरमा निगम परिवार र सम्बद्ध सबैमा हार्दिक शुभकामना दिएका हुन्। स्थापना दिवसको अवसरमा निगमले सोमबार बिहान पदयात्राको आयोजना गरिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ सहित उच्चपदस्थ अधिकारीहरूको पदयात्रामा सहभागिता रहेको थियो । आफ्नो गौरवशाली र उदाहरणीय इतिहास सहित पर्यटन प्रवर्द्धन तथा आर्थिक सामाजिक क्षेत्रमा योगदान पुऱ्याउदै निगमले आफ्नो स्रोतसाधनको अधिकतम उपयोग गरी सेवा प्रदान गर्ने निगमले जनाएको छ । समयानुकूल प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, परम्परागत कार्यशैलीको सट्टा समयसापेक्ष र नतिजामुखी कार्यशैली अवलम्बन गर्नु, कार्य सम्पादनमा पारदर्शिता कायम गर्नुजस्ता चुनौतीहरू देखिएका छन् । निगमसँग भएका जहाजले मात्र अन्तर्राष्ट्रिय र राष्ट्रिय गन्तव्य बिस्तार गर्न पर्याप्त नभएकोले जहाजको सङ्ख्या वृद्धि गर्दै सुरक्षित, सुलभ, सस्तो र भरपर्दो हवाई सेवा उपलब्ध गराउन जोड दिनु आवश्यक रहेको छ ।
निगमको गरिमाको रक्षा गर्ने संकल्प गर्नुपर्छ : उड्डयनमन्त्री तामाङ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका छन्। नेपाल वायुसेवा निगमको ६६ औँ वार्षिकोत्सवको अवसरमा आज बिहान आयोजित कार्यक्रममा मन्त्री तामाङले सो कुरा बताएका हुन्। मन्त्री तामाङले भने -'निगम लामो इतिहास पार गर्दै आज ६७ औं वर्षमा प्रवेश गर्दैछ । यसले इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै आपनै अलग्गै छाप र पहिचान बनाउन सफल भएको छ। अझै यसको अभिवृद्धि गर्न ठोस योजना बनाएर अघि बढ्न आवस्यक छ।' निगमले ६६औं वार्षिकोत्सव समारोहको उपलक्ष्यमा असार १७ गते विहान ७ः३० बजे प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । प्रभातफेरी निगमको कार्यालय परिसरबाट शुरु हुदै न्युरोड, बसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो। वि.स.२०१५ साल असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दछ। डगलस डिसी-३ डकोटा विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं. २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्ममा निगमको कुल ७ विमान सेवामा प्रयोग गरिएको छ। नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। निगम वि.सं.२०१७ मा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ-२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो।
फ्रान्समा चरम दक्षिणपन्थी पार्टीको भारी अग्रता, बामपन्थी दल दोस्रो स्थानमा
पेरिस । फ्रान्समा चरम दक्षिणपन्थी दलले निर्वाचनमा विजय हासिल गर्ने देखिएको छ।आजदेखि शुरु मतदानको प्रारम्भिक अनुमान अनुसार, प्रमुख प्रतिपक्षी दल फार राइट नेशनल र्याली पार्टीले ३४ प्रतिशत मत पाएर अग्रता पाउने संकेत देखिएको बताइएको छ। वामपन्थी गठबन्धनले भने २८.१ मत पाउने र सत्तारुढ राष्ट्रपति इम्यानुअल म्याक्रेनको दलसम्मिलित गठबन्धनले २०.३ प्रतिशत मत पाउने अनुमान गरिएको सिएनएनले जनाएको छ। मतगणनाको परिणाम ७ जुलाइमा आउने भएपनि यो अनुमानलाई तथ्यपरक मानिन्छ। नेशनल र्याली दल फ्रान्सको राष्ट्वादी दक्षिणपन्थी दलका रुपमा चिनिन्छ। फ्रान्सेली पहिचानको नारा दिएर उदय भएको यो दल यसअघि भने कहिल्यै पनि सत्तामा पुग्न सफल भएको थिएन। तर पछिल्ला दिनहरुमा अवैध अप्रवासनविरुद्ध चर्को आवाज उठाउँदै आएको यो पार्टीले जनताको उल्लेख्य समर्थन बटुल्न सफल भएको देखिन्छ। यो दलले आप्रवासीसम्बन्धि अमेरिकी पूर्व राष्टे्रपति डोनाल्ड ट्रम्पजस्तै धारणा राख्दछ। अर्कोतर्फ युरोपियन यूनियनको पुनःसंरचना गर्नुपर्ने तथा नर्थ अटलान्टिक सन्धी संगठन (नाटो)बाट फ्रान्स बाहिरिनुपर्ने मत समेत यसले राख्दछ । तर आन्तरिकरुपमा भने यसले फ्रान्सले पहिचानको नारा दिएकोले यसले लोकप्रियता बटुलेको देखिन्छ।

