एमालेले तत्काल मन्त्री फिर्ता नबोलाउने
काठमाडौँ । नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो।
बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओली बनाउने सहमति, देउवा बन्ने संवैधानिक प्रावधान !
काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार चलाउने सहमति जुटेको समाचार आएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका दोस्रो तहका नेताहरुले संविधान संसोधन सहितको गठबन्धनमा सहकार्यको निम्ति सहमति बनेको र सहमतिमा हस्ताक्षर गरेको बताएका छन् ।यद्यपी एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउने सहमति बनेको अन्य कुरा नभएको बताएका छन्। एमाले र कांग्रेसबीचको सहमतिको खबर बाहिरिएसँगै मंगलबार बिहानै बालुवाटारमा बसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा नदिन र संसदमा विश्वासको मतको सामना गर्न निर्देशन दिएको छ। पार्टीको सो निर्णय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सुनाइसकेका छन्। सो विषयमा प्रधानमन्त्रीले मंगलबार नै बालुवाटारमा महान्यायाधिवक्ता लगायत केही कानूनविदहरुसँग पछिल्लो राजनीतिक परिस्थितिबारे परामर्श गरेका छन्। आज केही समय अगाडि एमालेले सरकारबाट आफ्ना मन्त्रिहरुलाई फिर्ता बोलाउने निर्णय गर्न बैठक बसिरहेको छ । एमालेले सरकारबाट मन्त्रि फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे भने निर्णय गरेको छैन् । सरकारमा सहभागी कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्र्दभमा एक महिनाभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सकेनन् भने प्रधानमन्त्रीबाट प्रचण्डले बिदा लिनुपर्नेछ तर, प्रचण्डको ठाउँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्छन् भन्नेचाहिँ संविधानले ग्यारेन्टी गरेको छैन। संविधानको धारा ७६ ले गरेको सरकार गठनसम्बन्धी प्रावधान र विगतमा ओलीले संसद विघटना गर्दा सर्वोच्च अदालतले गरेको व्याख्यालाई आधार मान्ने हो भने उपधारा (२) अनुसार गठन भएको सरकारले विश्वासको मत पाएन भने उपधारा (३)अनुसारको सरकार गठन हुन्छ, त्यो भनेको नेपाली कांग्रेस हो, एमाले होइन । त्यो अवस्थामा प्रधानमन्त्री बन्ने पालो शेरबहादुर देउवाको हुनेछ, ओलीको होइन । बरु शेरबहादुर देउवापछि भने ओली उपधारा(५) अनुसार प्रधानमन्त्री बन्न सक्छन् । हेर्नुहोस् संविधानको धारा ७६ को प्रावधान नेपाली कांग्रेस र एमालेवीच प्रचण्डलाई हटाएर केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको चर्चा छ । त्यस्तो सहमति भएकै हो भने पनि प्रचण्ड हटेपछि उपधारा (२) अन्तरगतकै सरकार बनाउने कि उपधारा (३) मा जाने भन्नेबारे संवैधानिक विवाद उब्जने छ । राष्ट्रपतिले उपधारा (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत प्राप्त नगरेपछि सोही (उपधारा (२))अनुसार नै पुनः सरकार गठनको आह्वान गर्नू असंवैधानिक हुनेछ । त्यसमाथि सर्वोच्च अदालतमा प्रश्न उठ्छ र मुद्दा पर्न सक्छ। प्रचण्डपछि उपधारा (३)अनुसार ठूलो दलको हैसियतले शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । दुई दलबीच भएको सहमति अनुसार संसदमा बहुमत जुटाएर प्रधानमन्त्रीलाई हटाउन पाइन्छ, तर संविधानले निर्दिष्ट गरेको विधि र प्रक्रिया मिचेर होइन, त्यसलाई पालना गरेर सत्ता हस्तान्तरण हुनुपर्छ।त्यसो गर्दा ठुलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा ओली नभई देउवा आउनेछन्।
भ्रष्टाचारको फाइल खोलेपछि रातारात समीकरण फेरियो, जनताले बुझेका छन् : गृहमन्त्री
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको बताएका छन्। उनले भने, ‘यो बेचैनीको अर्थ के होला ? यसको के अर्थ होला ? एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो ? यो त सबैले बुझेकै कुरा हो । अब यसको संवैधानिक प्रक्रियाहरु सुरु होला ।’
कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद : एकीकृत समाजवादी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहयात्राको सहमतिलाई चरम अवसरवाद भनेर टिप्पणी गरेको छ।समाजवादीका प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका हुन्। सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त धारणा व्यक्त गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त रहेको छ। महाधिवेशनस्थल कमलादीमा नेता खतिवडाले भने, ‘संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो।’ खतिवडाले अगाडि भने, ‘नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्ने छैन। यो अधिकार अमुक दललाई छैन।’
जीपी कोइरालाको जन्म जयन्ती : प्रधानमन्त्रीद्धारा फोटो प्रदर्शनी अवलोकन
काठमाडौं ।गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित क्रान्ति देखि शान्ति सम्म ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो। अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो।
राष्ट्रपतिसँग छलफलमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास गएका हुन् । प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मत लिनेबारे विश्वासको मत फिर्ता भएको अवस्थामा निर्णय गर्ने मंगलबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ।
विश्वासको मत कायमै छ, तत्काल केही निर्णय लिन परेन : माओवादी केन्द्र
काठमाडौं ।नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक सम्पन्न भएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेको चर्चापछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटरमा पदाधिकारी बैठक बोलाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सरकारलाई दिएको विश्वासको मत कायम रहेकाले तत्काललाई केही निर्णय नगर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई विश्वासको मत दिएका पार्टीले विश्वासको मत फिर्ता नलिएको अवस्थामा केही निर्णय गर्न नपर्ने राय पदाधिकारीले राखेका छन् । सरकारप्रति विश्वासको मत रहेका कारण माओवादी तत्काललाई केही निर्णय नगरेको ती नेताले बताए । यद्यपी संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेको चर्चा चलेसँगै सरकारमा सहभागी अन्य दलसँग नयाँ परिस्थितिमा एकमत कायम गर्न माओवादी केन्द्र र प्रधानमन्त्रीले छलफल गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।
कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले)को सरकारमा सहभागी नहुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिए । “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने । अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” उनले भने । आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको उनले जिकिर गरे। पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनको भनाइ छ ।
एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा (ग्रेडवृद्धि)को समय तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार पूरक परीक्षा असार २३ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ ।
यो समय गिरिबन्धु चियाको हो,काले काले मिलेर खाऊ भाले : मेयर बालेन
काठमाडौं । कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि विभिन्न टिप्पणी आएका छन् । यसैबीच काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहले यो समय गिरिबन्धु चियाको भएको बताएका छन् ।उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया खाएको तस्बिर राख्दै उक्त टिप्पणी गरेका हुन् । साथै उनले काले काले मिलेर भाले खान खोजेको समेत टिप्पणी गरेका छन् ।उनले सामाजिक संजालमा भनेका छन् -'यो समय गिरिबन्धु चियाको हो ।काले काले मिलेर खाऊ भाले ।'
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बोलाइएको छ। संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
गृहमन्त्रीविरुद्धको मुद्दामा आज अन्तिम बहस, फैसला पनि आउन सक्ने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको आज अन्तिम बहस हुँदैछ । सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । त्यो दिन बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार अब विपक्षी रविका तर्फबाट मात्र बहस बाँकी छ । रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाइएको छ । सहकारी ठगी मुद्दामा लामिछानेलाई उन्मुक्ति दिइएको दाबीसहित उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र निलम्बन गरिनुपर्ने निवेदकको जिकिर छ ।
रोल्पा जीप दुर्घटना: ७ जनाको मृत्यु, ७ जना घाइते
रुपन्देही । रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा सोमबार भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। सो घटनामा परेर ५ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीले नेपाल प्रेसलाई बताए। उनका अनुसार अहिले पनि पानी परिरहेकाले सबै घाइतेलाई अस्पताल पुराउन सकिएको छैन्। जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका २ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको थियो। घटनापछि घर्तीगाउँको प्रहरी उद्दारका लागि पुगेको थियो। सो चौकीका इन्चार्ज कृष्ण सोनीले घटनास्थलबाट सबैलाई उद्दार गरेर पठाएको तर सबै मृतकको संख्या अस्पतालले मात्रै प्रमाणित गर्ने बताए। प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छैन। दुर्घटनास्थल सदरमुकाम लिबाङबाट करिब ३५ किलोमिटर पश्चिम पर्दछ। घटनापछि पनि निरन्तर पानी परिरहेकाले समयमा उद्दार हुन नसकेको प्रहरीले जनाएको छ ।
नक्कली भुटानी शरणार्थीमा बेचन झाको बयानसँगै कांग्रेस–एमाले ‘बेचैन’ बने : माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच मध्यरातमा भएको सत्ता ढाल्ने सहमतिलाई नक्कली भुटानी शरणार्थी काण्डमा समातिएका प्रमुख योजनाकार बेचन झाको बयानको प्रतिफल भनेको छ। झाले यो प्रकरणमा मुछिएका हाइप्रोफाइलहरुको नाम लिएपछि रातारात कांग्रेस एमालेलाई सत्ता सुम्पन तयार भएको माओवादी टिप्पणी छ । माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुनले सुशासनका पक्षमा प्रचण्ड नेतृत्वको सरकारले चालेको कदमका कारण विभिन्न काण्डमा मुछिएकाहरू एक ठाउँमा आएको बताएका छन् । झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति देउवा पत्नी आरजु राणा, एमाले अध्यक्ष केपी ओलीका पीए राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईलगायतको नाम लिएको प्रहरी स्रोेतले बतायो । यो पनि.... गिरीबन्धु, नक्कली भुटानी शरणार्थी र कैलाली जग्गा काण्डको फाइल खुल्ने भएपछि सरकार ढाल्ने खेल ! ओली–देउवाबीच भएको थियो ६०–४० को सहमति, पहिला को प्रधानमन्त्री ? सोमबार साँझ कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबिच सत्ता सहकार्य गर्ने सहमति गरेर मध्यरातमा भएको थियो । उनीहरू राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । मन्त्री पुनले एमाले अध्यक्ष ओलीले दोहोरो भूमिका खेलेको पनि बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बाहिर आएका विषय सबै भ्रम हुन्, यही गठबन्धनलाई अझ बलियो बनाएर ०८४ को चुनावसम्म लैजाने र चुनावपछि पार्टी एकता गर्ने प्रधानमन्त्री प्रचण्डलाई सुनाएको उनले बताए । नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि प्रमुख प्रतिपक्षी कांग्रेस आत्तिएर समीकरण फेरबदलमा लागेको पुनले बताए।पार्टीको बैठक बसेर थप निर्णय लिने पुनले बताए। शनिबार ओली निवास बालकोटमा सत्ता समीकरण फेरबदलको विषयमा देउवा र ओलीबिच छलफल भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबार र सोमबार लगातार छलफल गरेका थिए।
कांग्रेस-एमालेबीच होटलमा सहमति, मध्यरातमा सित्तल निवास
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नै समर्थनमा रहेको सरकार ढालेर नयाँ सत्ता सहयात्राबारे सोमबार मध्यराति हस्ताक्षर गरेका छन् । ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले हस्ताक्षर गरेका हुन्।शितल निवासमा पुगेका थिए । उनीहरुले भियानामा बनेको सहमतिपत्रमा सित्तल निवासमा हस्ताक्षर गरेको बुझिएको छ । सहमपत पत्रमा सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ । सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ । दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए। बिरामी रहेका भनिएका कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल निवास छिरेका थिए । जहाँ उनीहरूले दुवै दलका दोस्रो तहका नेता पनि राखेर राष्टपति रामचन्द्र पौडेलसँग परामर्श गरेको बुझिएको छ। दुई शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रसहित सबै विवरण मंगलबार(आज) सार्वजनिक गर्ने बताएका छन्। दुई दलबीच एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा सहमति भैसकेको छ।अब राष्ट्रपतिसँग आवश्यक परामर्श सकेर नयाँ सरकार गठनको टुंगो गरिने भएको छ। यी दुई दलले संविधानको धारा ७६ को उपधारा दुईअनुसार सरकार गठन गर्ने गरी रणनीति बनाएका छन् । काङ्ग्रेस सभापति देउवाले सोमबार दिउँसो बूढानीलकण्ठमै पदाधिकारी बैठक राखेका थिए । उता ओलीले एमालेका केही पदाधिकारीसँग बालकोटमै छलपफल गरेका थिए। यसबीचमा सहमतिका लागि कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए भने एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडालसहित जुटेका थिए। अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समर्थन फिर्ता लिँदा विश्वासको मत लिन एक महिना समय पाउने भएकाले बहुमत सदस्यको हस्ताक्षर गरेर सरकार गठनका लागि भोलि नै राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने कांग्रेस एमालेको तयारी छ।

