जसपाका मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपाका ३ मन्त्रीले असार २१ गते साँझ राजीनामा बुझाएका थिए।

उनीहरुको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले समहाल्नेगरी तोकेका छन्।

जसपाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए।

अशोक राई नेतृत्वको जसपाले कांग्रेस एमालेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेको छ। यसअघि एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन्। 

आजदेखि सरकारी खाता एक हप्ता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन

काठमाडौं । आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय ९प्रलेनिका० र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए।  ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली(सिगास) एक हप्ताका लागि बन्द हुनेछन्’, रिजालले भने, ‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन। तर आज रातिदेखि बजेट भुक्तानी हुँदैन।’  सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले आज सम्ममा चालु आर्थिक वर्ष २०८०–८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले जानकारी दिए।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन।  यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ।

यस्तो रहनेछ आजको मौसम, नेपालमा ७७ वर्षयताकै धेरै वर्षा

काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहने छ ।  सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।    राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।    नेपालमा ७७ वर्षयताकै धेरै वर्षा  पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको वर्षा हालसम्मकै नेपालमा भएको सबैभन्दा ठूलो वर्षा भएको छ । नेपालमा वर्षामापन हुन थालेयताकै सबैभन्दा धेरै वर्षा पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको हो ।  कञ्चनपुरका विभिन्न स्वचालित वर्षामापन केन्द्रहरूमा पछिल्लो २४ घण्टामा दोधारामा ५८८ मिलिमिटर, हन्माननगरमा ५५८ मिलिमिटर र सुन्दरपुरमा ४०९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  नेपालमा वर्षामापन गर्न थालेको ७७ वर्षयताकै यो सबैभन्दा ठूलो वर्षा हो । कञ्चनपुरमा भएको वर्षाले हालसम्म नेपालमा भएका सबै वर्षाको रेकर्ड तोडेको छ।  यसअघि नेपालमा सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो। २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । यो नै यसअघिको नेपालमा भएको धेरै वर्षाको रेकर्ड थियो।  कञ्चनपुरको महेन्द्रनगरमा भने यसअघि सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो। २००९ अक्टोबर ५ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९.५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ। 

विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ  : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् । अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए। “विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ ।” केही दिन अगाडि मात्रै आफूले उच्चस्तरीय विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक बोलाएर सबै सरकारी निकायबीच समन्वय गरेर जनताको जिउधनको सुरक्षामा खटिन निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले भने, “वर्षा जारी छ । अझै क्षति हुन सक्छ । सडक अवरूद्ध हुन सक्छन् । त्यसैले उद्धार एवं राहतका लागि सक्रिय होऔं।” सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग आग्रह गरे। 

चित्रबहादुर केसीको प्रश्न– कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणबाट चोखिन हो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी–इस्टेट प्रकरण ढाकछोप गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले त्यस्ता काण्डबाट आफूलाई चोख्याउन कांग्रेस–एमालेले नयाँ सत्तासमीकरण बनाएको भए त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन् । नयाँ–पुराना सबै दलहरू भ्रष्ट छन् भन्ने जनतालाई थाहा भएको भन्दै उनले विगतमा गरेका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए। एमालेले सरकारको नेतृत्व गर्ने भन्ने चर्चाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । संसद्को ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो। अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीप्रति घृणा गरिरहेको उल्लेख गरे । त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने उनले बताए । यस्तो थियो प्रतिनिधिसभा बैठक चित्रबहादुर केसीको मन्तव्य मैले अहिले यहाँ देखेँ, दोहोरी । कोही यहाँ नयाँ भर्खरै आएका जस्ता, कोहीचाहिँ पुराना । कतिपयचाहिँ सत्तामा बस्दा नेपालमा असाध्यै सुशासन दिएको, भ्रष्टाचार उन्मूलन गरेको, देशको सार्वभौमिकता, अखण्डताको रक्षा गरेको, त्यस्तो गरेकोरनगरेको त नेपाली जनतालाई थाहा छ नि ! अहिले जुन यहाँ पनि कुरा आयो, यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भुटानी शरणार्थीको काण्डमा र गिरीबन्धु टी–इस्टेटको काण्डमा दुईवटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न । त्यसकारण यहाँ कसैले पनि रोस्ट्रमबाट आफ्नो सफाइ दिए पनि नेपाली जनताले भोगिराखेका छन्, देखिराखेका छन् । त्यसकारणले को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ? त्यसकारण यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो रु हामी २०७४ मा वामपन्थीहरू एकै ठाउँमा भएका थियौँ नि, त्यो वामपन्थीहरूको सरकार भत्काउनुको औचित्य के थियो ? त्यो भत्काएकोमा सर्वोच्च अदालतले बेठिक भयो भनेपछि फेरि अर्कोचोटि पनि भत्काएको होइन रु अनि, त्यसको सफाइ दिने बेलामा चाहिँ एमाले बचाउनका लागि भन्ने कुरा आयो, होइन रु त्यसकारणले सबैको हविगत देखिएको छ । संसद्भित्रका राजनीतिक दलहरू साना, ठूला, नयाँ, पुराना सबैलाई नेपाली जनताले देखेका छन् । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारलाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन । मैले एक वर्ष पहिले नै भनेको थिएँ– तपाईंहरू संसदीय व्यवस्था मान्नुहुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नु पर्दैनथ्यो रु किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो रु त्यो पनि सबभन्दा ठूलाले होइन, माइलो पार्टीले गर्दै छ । यसमा पनि दालमा काला हए ! भोलिका दिनमा नेपाली जनताले बुझ्दै जानेछन् । हाम्रो तपाईंहरूलाई सुझाव के हो भने– राजनीतिक पार्टीहरूप्रति नेपाली जनताको असाध्यै घृणा छ, नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन् ? किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने, पैसा जम्मा गर्ने र आउँदो चुनावलाई करोडौँ रकम जम्मा गर्ने । जोसुकै होस्, चाहे नयाँ आएकाका कुरा गरौँ, चाहे पुरानाका कुरा गरौँ, सरकारमा बस्नेहरूबाटै सहकारीमा अर्बौँको हिनामिना भएको होइन र ? यो नेपाली जनताले बुझेका छैनन् ? यो लोकतन्त्र, गणतन्त्र हामीबाटै खतरा छ । अहिलेसम्म जो भयो भयो, विगतका गल्ती–कमजोरीलाई स्वीकार गरेर अघि बढ्नुपर्छ ।

‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ । महान्यायाधिवक्ता डा.दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसमक्ष पेश गरेको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्र्दै प्राप्त सुझावलाई सरकारले गम्भीररूपमा लिएर अगाडि बढाउने बताए।  प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४  र फौजदारी कसुर सजाँए निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषयत फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ ।  महान्यायाधिवक्ता पोखरलेले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर फौजदारी, कार्यविधि, दण्डसजाँइ र संस्थागत सुधारका विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको र यसले नीतिगत सुधारमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे।  विसं २०८० माघ १८ गते कार्यदल गठन गरिएको थियो ।

बेचन झाले ल्याएको बेचैनी र गिरीबन्धु काण्डबाट बच्न नयाँ गठबन्धन बनाइयो : माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सांसद माधव सापकोटाले कांग्रेस र एमाले मिलेर बनेको नयाँ सत्ता गठबन्धनलाई अनैतिक, अप्राकृतिक र परारदर्शीको संज्ञा दिएका छन् ।   संघीय संसदको प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै उनले राजनीतिक स्थिरता र संविधानका विषयमा पुनरावलोकन गर्न भनिएपनि मूलत यो गठबन्धन भ्रष्टाचारको ढाकछोप गर्न बनेको आरोप लगाए।   गिरीबन्धु चिया बगानका विषयमा नेकपा एमालेका अध्यक्ष लगायतका नेताहरु मुछिएकाले त्यसबाट बचाउन र नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासमेत मुछिएकाले उनीहरुलाई बचाउन यो गठबन्धन भएको उनले तर्क गरे।   दिनभरी प्रधानमन्त्रीसँग यही सरकारलाई निरन्तरता दिने हो भनेर सहमति गर्ने र मध्यरातमा अमुक व्यक्तिको घरमा सहमति गर्नुचाँही नैतिकताको प्रश्न हुने उनले तर्क गरे ।   सापकोटाले संसदीय अभ्यास र स्थिरताको कुरा दोस्रो पार्टीले नै सरकारको नेतृत्व गर्ने र आधा आधा कार्यकाल बाढ्ने भनेपछि स्थिरता नआउने उनले बताए। ‘बेचन झाको गिरफ्तारी र उनले दिएको प्रमाणले सरकारमा सहभागि घटक नेकपा एमालेले मुसा प्रबृत्ति देखाएको बताए।  संविधानमा राजीनामा दिनुपर्ने उल्लेख नभएको र विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले पत्राचार नै गरिसकेकाले घटनाक्रमलाई विसयान्तर गर्ने र प्राकृतिक विपत्तिले अप्ठ्यारो परेको बेला यो सरकार फेरबदलको सहमति गर्नु आश्चार्यजनक छ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभाको बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ । संसद्मा सांसदहरुले धारणा राखिरहेका छन् ।

बाढी पहिरोको सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेकोले सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल गरेका छन् । उनले सामाजिक संञ्जाल फेस्बुक मार्फत बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल गरेका हुन् । साथै, प्रधानमन्त्री प्रचण्डले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।

भारतको सिलोङमा नेपालीसहित चार जनाको हत्या

काठमाडौं ।भारतको सिलोङमा एक नेपालीसहित  चारजना हत्या गरिएको छ।  मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको हो । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ। मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ। ती मध्ये एक जना ईलामका रवि राई रहेकाे समाचारमा उल्लेख छ। ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ। यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको छ।

सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए

धरान । सप्तकोशी नदीको जलसतह बढेको छ। आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार आठ सय क्युसेक पुगेको छ। सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन्। सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ  र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

सुकुम्बासी बस्तीमा बाढी पसेर बिजोग हुनुमा ओली दोषी : मेयर बालने

काठमाडौं । गएरातिदेखि लगातार परेको पानी र बढेको नदीको बाढीले किनाराका बस्ती डुवानमा परेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रोषित बनेका छन् । नदी किनाराका बासिन्दालाई सुकुम्बासी भन्न पनि नचाहेका बालेनले यस्ता २ हजार मानिसलाई अन्यत्र व्यवस्थापन गर्ने आफ्नो प्रयासमा राजनीति भएको बताए ।   एमालेले सुकुम्बासीका नाममा भोटको राजनीति गरेको र उनीहरुको व्यवस्थापन गर्न खोज्दा अबरोध गरेको उनको संकेत थियो । यस्ता २ हजार परिवार मात्र हैन गिरीबन्धु चिया बगानमा १५ हजार मानिसको व्यवस्थापन हुन सक्ने उनले हिसाव सुनाए।   बालेनले फेसबुकमा लेखेका छन्, 'माननीय केपी ओलीज्यू, आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे। खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो  अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ? काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन्। तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ। अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित। अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु। '

लगातारको वर्षाले देशभर सडक अवरुद्ध, तराई क्षेत्र डुबानमा

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।    सिद्धार्थ राजमार्ग  : वालिङ (स्याङ्जा) अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ। वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ। वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ। सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ। सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन्। यात्रु बीच बाटोमै रोकिएका छन्।  बीपी राजमार्ग  : बीपी राजमार्गमा यातायात ठप्प कमलामाई (सिन्धुली) पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । यसैबीच मध्यमहाडी राजमार्गअन्तर्गत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।  हेटौँडा–काठमाडौँ सडकखण्ड: हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो मकवानपुर बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ । यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको वाग्मती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक)मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।  बेँसीसहर–चामे सडक: बेँसीसहर–चामे सडक अवरुद्ध लमजुङ स् पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मंगलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।  घोराही–तुलसीपुर सडक: घोराही–तुलसीपुर सडक सडक अवरुद्ध तुलसीपुर ९दाङ० स् दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।  वीरगन्जको विभिन्न ठाउँ डुबानमा :   बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा पर्सा  गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् । पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ । वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ । नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह  बेलबारी (मोरङ)  : यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे । साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहन्छ, उनले भने । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए । बाढी पहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए ।  कर्णाली राजमार्ग : कर्णाली राजमार्ग अवरुद्व काँक्रेविहार (सुर्खेत) शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए । 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्। बैठकले २६ वटा निर्णय गरेको छ ।

एमालेले दलाल पुँजीवादसँग अँगालो मार्‍यो :  झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन्।शुक्रबार काठमाडौँमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।  खनालले नेपाली कांग्रेस र एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिए। कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे। उनले अहिले एमालेभित्र भूकम्प गएको बताए। उनले एकीकृत समाजवादीको विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गरे। उनले भने, ‘हाम्रो पार्टीको विकास र बिस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन्। हरेक हिसाबले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिस्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणपन्थी यथास्थितिवाद हाबी छ। दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिस्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन। यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरूले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ। त्यो पार्टीभित्र व्यापक रूपान्तरणको अभियान चल्नेछ।’ खनालले नेपालको कम्युनिस्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया शुरुवाता हुने बताए । 

एकीकृत समाजवादीद्वारा वामपन्थी एकताको आह्वान

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकता र सहकार्यको आह्वान गरेको छ। सो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । नेता गङ्गालाल तुलाधरले प्रस्तावहरू पढेर हलमा सुनाए। ‘नेकपा एकीकृत समाजवादीले समीकरण परिवर्तन गर्दै सैद्धान्तिक आधारविना सत्ता स्वार्थका लागि जोसँग र जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ’, एकीकृत समाजवादीले भनेको छ, ‘वर्ग संर्घषलाई सहि दिशा र गति दिन तथा समाजवादी क्रान्तिका वापन्थीहरुबिच बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै कम्युनिस्ट शक्तिलाई आह्वान गर्दछ।’  त्यस्तैभ्र,ष्टाचार नियन्त्रण, सहकारी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।