अनैतिकले नैतिकताको पाठ नसिकाउन प्रचण्डको सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पारेका छन्।प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिए।

“नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “प्राविधिक तयारीका समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । मैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ।”

निरन्तर आफ्नो राजिनामा मागिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजीनामाको नाम दिएर नतर्सिन सुझाव दिए। “केही साथीहरू डराइरहनुभयो र राजीनामा मागिरहनुभयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो वा षड्यन्त्र आफैं सधै कमजोर हुने भएर हो, तर्सिरहनुभयो,” उनले भने, “आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो।”

बाढीपहिरोको चपेटामा देश परेर सरकार चौबीसै घण्टा खटेर उद्दार र राहतमा लागिरहेको बेला वक्तव्यबाजी गरेर कर्मचारीतन्त्रलाई धम्क्याएर र फकाएर सरकारलाई प्रभावहीन बनाउन कोशिस गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले  एमालेले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालिन असरका निर्णय र कुनै पनि नियुक्ति नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तपाईहरुले कहिल्यै देखाउनुभएको छ यो नैतिकता ? अल्पमतमा परेपछि पनि विगतमा एमाले नेतृत्वले कस्ता कस्तासम्म निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ ।” 

विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए। “मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन ।”

पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नभइ डरले जोड्नु चिन्ताको विषय भएको बताए। उनले भने, “दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला।” 

प्रतिगमन र निरङ्कुशता आउने हो कि भन्ने आफूलाई चिन्ता लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन ।”

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न मन्त्रिपरिषद्को गृहलाई निर्देशन

काठमाडौं । मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोले गर्दा असहज परिस्थिति सिर्जना भएकोले तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धा सेवा लिन पुगेका थिए। ‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुक विभिन्न स्थानहरूमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि पत्र आवश्यक नपर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ उनले भनिन्। सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा बनाउनुपर्ने बताएको थियो। प्रशासन कार्यालयहरूमा भिड बढेपछि गृहले कर्मचारीसमेत थपेको थियो।

चितवन बस दुर्घटना  खोजी कार्य शुरु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगि उद्दार कार्य शुरु गरेको छ ।

कास्कीमा पहिरो : ११ जनाको निधन

कास्की । कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एकजनाको पहिरोमा मृत्यु भएको हो ।  पोखरा १९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सातजनाको मृत्यु भएको हो ।  पोखरा–३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मादी गाउँपालिका–११ ताप्लेमा गएराति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।  मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए । रासस

भैरहवामा बुद्ध एयरको जहाज राति धावनमार्गमा चिप्लियो

काठमाडौं । भैरहवामा बुद्ध एयरको जहाज चिप्लिएर धावनमार्गबाहिर पुगेको छ । काठमाडौंबाट राति साढे ९ बजे उडान भरेको जहाज अवतरण गर्ने बेलामा चिप्लिएको थियो । जहाज चिप्लिएर धावनमार्गको छेउतर्फ पुगेको थियो । जहाजको चक्काले माटो छोएको छ । ५९ यात्रु बोकेर भैरहवा गएको उडान नम्बर ८०५ को जहाज पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन् भने जहाज सोही ठाउँमै रहेका कारण अन्य उडान ठप्प छन् । जहाज धावनमार्गमा रहेका कारण विमानस्थल बन्द रहेको छ। राति नै बुद्ध एयरको प्राविधिक र प्रहरीले तान्ने प्रयास गरे पनि सफल हुन नसकेपछि अहिले काठमाडौंबाट प्राविधिक टोली जाने तयारी भएको छ।

बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिङ सडक खण्डको सिमतालमा पहिरोले दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उनले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले गृह प्रशासनलगायत सरकारका सरोकारवाला सबै निकायलाई नदीमा बेपत्ता भएका यात्रुको उद्धारका लागि निर्देशन समेत दिएका छन् ।

संसद् बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सम्बोधन गर्नेछन् ।  बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने बताइएको छ ।  सरकारमा रहेका एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । 

नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रु बस बगे, थप अर्को बसमा ढुंगा लाग्दा चालकको निधन

चितवन । नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको बसबाट हाम फालेका ३ यात्रुले बताएको डीएसपी रिजालले जानकारी दिए । चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन्। त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलतर्फ जाँदै गरेका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए । बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएको बताइएको छ ।

सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ  : सञ्चारमन्त्री शर्मा

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताएकी छिन्। नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा आयोजित ‘सेन्टर अफ एक्सिलेन्स फर आइसिटी रिसर्च एण्ड डेभलपमेन्ट’को उद्घाटन गर्दै उनले सूचना प्रविधिको वर्तमान युगमा यसको विकास नेपाली जनताले बुझ्ने र प्रयोग गर्ने भाषामा हुनुपर्ने बताइन्।   “नेपाल सरकारले आइसिटीको महत्वलाई बुझेर विकासका लागि धेरै काम गरेको छ, यसलाई अभियानका रूपमा विकास गरिनुपर्छ, सर्वसाधारणले बुझ्ने गरी सूचना प्रविधिलाई अगाडि बढाइनुपर्छ, यस वर्षको बजेटमा पनि आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचना प्रविधिलाई समेटिएको छ, १६ औँ पञ्चवर्षीय योजनामा समेत आइसिटीलाई समेटिएको छ, बजेटमा कृषि दशक र आइसिटी दशक घोषणा भएको छ । उच्च क्षमताको इन्टरनेट उपलब्ध गराएर युवालाई अनुसन्धानमा सहयोग गर्नुपर्छ”, मन्त्री शर्माले भनिन् । चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रम राखिएको भएपनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै मन्त्री शर्माले उक्त कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन हुने विश्वास व्यक्त गरिन। उनले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान देश र विदेशमा चिनिएको संस्था भएको उल्लेख गर्दै दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम सफल पार्न संस्थानको भूमिका महत्त्वपूर्ण हुने बताइन्। “विश्वविद्यालयबाट तयार भएका जनशक्ति र उद्योगलाई कसरी जोड्ने भन्ने चुनौती छ, आईसिटीको विकासले बिदेसिनुपर्ने बाध्यता हट्ने छ, विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ, देशको सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने माध्यमको रूपमा संस्थान सफल हुनेछ”, मन्त्री शर्माले भनिन् । साइवर सुरक्षाका लागि पुराना कानुनलाई संशोधन गर्ने र नयाँ कानुन निर्माण गर्ने कार्यको सुरुआत भइसकेको उनले जानकारी दिइन्।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले आइसिटी क्षेत्रको विकासका लागि सरकार, विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानसँगसँगै जानुपर्नेमा जोड दिए। “सामाजिक र गुणस्तरीय जीवनका लागि उपयोगी हुनेगरी आइसिटी क्षेत्रको अनुसन्धान र नवप्रवर्तनमा ध्यान दिनुपर्ने छ, यसमा यो कार्यक्रम सफल हुनेछ भन्ने विश्वास छ”, उनले भने। नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधरराम जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण बढाउन इन्जिनियरिङ अध्ययन संस्थानले सामसुङ कम्पनी, क्यानडाको आइटी कम्पनीसहित अन्य देशका आइटी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको बताए। उनले संस्थानले आइसिटी क्षेत्रमा नेपालका लागि मात्रै होइन अन्तर्राष्ट्रिय रूपमै काम गर्नसक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै साइवर सुरक्षाका लागि दक्षिण कोरियाको विश्वविद्यालयसँग सहकार्य गरेर काम गरिरहेको बताए। क्याम्पस प्रमुख प्रा।डा।इन्द्रप्रसाद आचार्यले निरन्तर अध्ययन र अनुसन्धानका लागि दूरसञ्चार प्राधिकरणबाट सहयोग प्राप्त भएको बताए। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले अध्ययन अनुसन्धानबाट प्राप्त उपलब्धिले देशलाई महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले यस सहकार्यबाट नेपाल सरकारलाई डिजिटल प्रशासन सञ्चालन गर्नसमेत सहयोग पुग्ने बताए। 

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

काठमाडौँ । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल ९मध्य पहाडी० राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भएको छ । डुम्रे–बेँसीसहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ । विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास)रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ । यी दुबै प्रणालीको प्रभावले शनिबारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ । देशभर साधारणतया ण्बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना छ । भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भन्दै सतर्कता अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन विभागले अनुरोध गरेको छ ।

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौ । राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।  सोसम्बन्धी जानकारी विज्ञप्ति जारी गर्दै महासचिव पद्मप्रसाद पाण्डेयले दिए । “राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” पाण्डेयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।  आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेको थियो । यस्तै, भन्सार महसुल विधेयक प्रतिनिधिसभामा पठाउने प्रस्ताव प्रस्तुत गर्ने लगायतका सम्भावित कार्यसूची रहेका थिए ।

आईएमएफले भन्यो -'नेपालको अर्थतन्त्र सकारात्मक मोडमा पुग्यो'

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आईएमएफका अनुसार गत वर्ष अधोगतिमा गएको नेपालको आर्थिक अवस्थामा केही सुधार आउन थालेको छ । विस्तारै यसले गति पक्रने सम्भावना देखिन्छ ।  आईएमएफले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मौद्रिक नीतिले लिएको सावधान उदार नीति, सरकारले बजेटमार्फत पुँजीगत खर्च बढाउन देखाएको चासो, जलविद्युत्को बढदो उत्पादन तथा पर्यटक आगमनमा देखिएको सकारात्मकताले गर्दा आउँदो वर्ष सकारात्मक हुने सम्भावना मुद्रा कोषले देखाएको हो । गएको आर्थिक वर्षमा तीन प्रतिशत वृद्धि भएको अर्थतन्त्र आउँदो वर्ष ४.९ प्रतिशत पुग्ने सम्भावना रहेको आकलन कोषले गरेको छ । नेपालको आर्थिक अवस्थासम्बन्धी चौथो समीक्षा गर्दै आईएमएफको कार्यकारी समितिले नेपाललाई एसडीआर तीन करोड १४ लाख (करिब चार करोड १३ लाख अमेरिकी डलर बराबर) दिन स्वीकृति पनि दिएको छ । जुलाई ९ तारिखमा बसेको सो कार्य समितिको बैठकले नेपालले कोरोना महामारीले ल्याएको आर्थिक समस्या तथा विश्वभर देखिएको आर्थिक मन्दीसँग जुध्न ल्याएका कार्यक्रमको राम्रो उपयोग गरेको र यसले देशको समग्र आर्थिक अवस्थामा सन्तुलन ल्याउन सकेको पनि जनाएको छ । नेपालको हालको आर्थिक प्रगतिको लागि सबैभन्दा ठूलो बाधक पुँजीगत खर्च गर्न नसक्ने अवस्था हो, जसले गर्दा आर्थिक वृद्धिमा नकारात्मक असर पर्छ । साथै, तरल राजनीतिक अवस्थाले गर्दा नीतिगत निरन्तरतामा रोकावट आउनाले पनि सोचिएको आर्थिक उपलब्धि हुन नसक्ने सम्भावना रहेको पनि कोषले इंगित गरेको छ ।  नेपालको विदेशी मुद्राको सञ्चिति बढेर गएको, आयातमा कुनै प्रकारको रोकावट लगाउनु नपरेको तथा राजस्व संकलनमा कमी आएता पनि वित्तिय अनुशासन कायम गर्न सकेका कारण अर्थतन्त्र सकारात्मक दिशामा गएको कोषको ठहर छ ।

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी सीता दाहालको निधन भएको एक वर्ष पुगेको छ । सिता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित  ‘श्रद्धाञ्जली’कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्य, आफन्तजन तथा सुवेक्षुकहरूले सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा,  पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरे । कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो। क।सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहनुभएकी क।सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो भने विसं २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गर्नुभएको जनयुद्धमा सहभागी थिए ।

भरतपुर महानगरले वितरण गर्‍यो १ करोड अनुदानको कृषि उपकरण

चितवन। भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरेकी छिन् । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए। उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताइन् । महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आएपनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको प्रमुख दाहालले बताइन्। यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरु अघि बढाइएको उहाँले बताउनुभयो । नारायणी लिफ्ट सिँचाइलाई १२ महिना सञ्चालन गरी कृषिलाई ३ बाली खेती गर्न मिल्ने व्यवस्था मिलाउन लागेको उहाँको भनाई थियो । महानगरले सो कार्यक्रममा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको हो । यस्तै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको थियो । कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उप–सचिव उपेन्द्रराज पौडेलको उपस्थिति रहेको थियो ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने उनको भनाइ छ । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

सचिवालय बैठकपछि देउवा भेट्न बूढानीलकण्ठमा ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी सचिवालय बैठक च्यासलमा सम्पन्न गरेका छन् । बैठकमा आफ्नै समर्थनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिएर ढाल्ने निर्णय गरेका उनी देउवा निवास पुगेका छन् । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएपछि राखिएको पार्टी सचिवालय  बैठकले शक्ति बाडफाँडका विषयमा लिने भनेको निर्णय नलिई सत्ता ढलाउने निर्णय मात्रै गरेको थियो।  नयाँ सरकार निर्माण र शक्ति बाँडफाँडबारे पछि निर्णय लिने गरी उठेको सचिवालय बैठक पछि ओली देउवासँग छफल गर्न बहुमत सचिवालय सदस्य लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष के.पी.शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा झण्डै दुई घण्टा भेटवार्ता गरेका छन् । भेटमा केके सहमति बन्यो खुलेको छैन । बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी सहभागी रहेका थिए।