एकीकृत समाजवादीको दशौँ महाधिवेशन आजदेखि
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुने छ।
महाधिवेशनको उद्घाटनमा बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्याली निकाल्ने कार्यक्रम रहेको छ । नेकपा (एमाले)बाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको छ। त्यस्तै, यो महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ बनाइने निर्णय गरेको हो। महाधिवेशन यही असार २० गतेसम्म चल्नेछ।
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट
काठमाडौं । आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप काम गर्न निर्देशन दिए । नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह प्रभावकारी हुनेछ । सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागु गर्न लागेको हो । खाडीमुलुक एवं मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली दूतावासले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत गर्नुपर्ने परराष्ट्रमन्त्री श्रेष्ठको भनाइ छ । “सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीतिअन्तर्गत यो व्यवस्था लागु गरिएको हो,” उनले भने, “अनिवार्य रूपमा लागु गर्नुअघि नै नयाँ प्रणालीसँग अभ्यस्त हुन आजैदेखि परीक्षण थाल्नु उपयुक्त हुन्छ ।” परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकको खोजतलास, उद्धार, ज्यान गुमाएकाको शव झिकाउने, राहत एवं क्षतिपूर्ति, गुनासो सम्बोधनलगायत अनलाइन सेवालाई सबै नियोगले अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिए ।
धान दिवसमा राष्ट्रपति पौडेल बने बाउसे
काठमाडौं । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ।राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेलसहित सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए । ‘पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्त्व कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ’, उनले भने, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपिनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।’ रोपाइँ पछि दही चिउरा खाने कार्यक्रम भएको थियो ।
देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
भरतपुर,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ । भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता गर्ने र यान्त्रिकिकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने विश्वास व्यक्त गरे। धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे। कृषि क्षेत्रमा आधारित व्यापार व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवर्द्धन गर्न जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कृषि कर्मका माध्यमबाट देश समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दूग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रबर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाएको बताए। भरतपुर महानगरका मेयर रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिचाइ उपलब्ध गराउने व्यवस्था मिलाईने विश्वास दिलाए।कृषकमैत्री कार्यक्रम कार्वान्वयन गरेर उत्पादकत्व वृद्धि गरीने उल्लेख गर्दै उनले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन लागिपरेको जानकारी दिए।
धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिर)
रत्ननगर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोपेका छन् ।प्रधानमन्त्री प्रचण्डले चितवन स्थित रत्ननगरमा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा धान नयाँ प्रविधि अनुसार धान रोपेका हुन् । धान रोप्नु अघि २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताएका थिए ।
धान चामलमा आत्मनिर्भर हुनैपर्छ : प्रधानमन्त्री
रत्ननगर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने बताएका छन् ।२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रमुख खाद्यान्न बालीहरूको उत्पादन तथा उपलब्धतामा वृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गरिने बताए। प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए। “जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातहरूको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।” कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अबलम्वन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनका प्रतिकूल असरहरूको जोखिम उच्च रहेका राष्ट्रहरूमध्ये नेपाल भएको बताउँदै प्रधानमन्त्रीले जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गरे। “जलवायु परिवर्तनका कारण सृजित सुक्खा–खडेरी, बेमौसमी वर्षा, बाढी–पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप, तापक्रममा वृद्धिजस्ता नकारात्मक असरहरूमा अनुकूलित हुने धानका जातहरू र उत्पादन प्रविधिहरूको गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनैपर्छ ।” धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे। उनले परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको स्पष्ट पारे। प्रधानमन्त्रीले जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ मनाउन लागिएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत समृद्ध अर्थतन्त्र निर्माणमा सबैको ठोस योगदान रहने विश्वास व्यक्त गरे। यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले विसं २०७३ मा झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरेका छन् । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सुपर जोन, जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । धान दिवस विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनतको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा छ । यस वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ । रासस
धान उत्पादन बढाउन आवश्यक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । एक्काइसौँ राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै उनले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे। “नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ। नेपालको धानखेती आकासे सिचाइँमा निर्भर छ। वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देसमा भनिएको छ। राष्ट्रपति पौडेलले कृषि क्रान्तिको पहिलो कदम सिँचाइ सुविधा भएको भन्दै आधुनिक खेती प्रणालीमार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बीऊ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी रहेको उल्लेख गरे । धान एवम् चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको भन्दै उनले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए। राष्ट्रपति पौडेलले देशको श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँका सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद् हो भन्दै कृषिलाई आकर्षक पेसाका रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमा नै रोक्ने पहल गर्न आग्रह गरे। साथै, उनले खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रुपमा लिई खाने बानी परिवर्तन गरेर अन्य बालीलाई समेत प्रवद्र्धन गर्न हामीले उत्तिकै ध्यान दिनु जरुरी छ भने । उनले धान दिवसका अवसरमा सम्पूर्ण नेपाली किसान, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना समेत व्यक्त गरे । धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवद्र्धन गर्ने हेतुले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । यसवर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो ।
धानको उत्पादन वृद्धि गराउन जलवायुमैत्री प्रविधिको अनुसन्धान गर्छौं : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार गर्ने बताएका छन् । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ आज दिवस मनाउन लागिएको सन्र्दभमा शुभकामना दिएका हुन्। प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् -'नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र यसको कार्यान्वयनका लागि नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी गरेको छ। उक्त ऐनमार्फत नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानुनी अधिकारको रूपमा स्थापित गरिएको उनले शुभकामना मार्फत उल्लेख गरेका छन् ।' यसै गरी, खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीति कार्यान्वयन गरिएको छ । जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा परेको नकारात्मक असरको न्यूनीकरण गरी धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको छ। नेपाल सरकारले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको समेत उनले उल्लेख गरे ।
बागलुङमा घरसहित पहिरोमा पुरिए दम्पती
बागलुङ । बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । घरसहित पहिरोमा पुरिएका उनीहरुको उद्धारका लागि अहिले प्रहरी तथा स्थानीय खटिएका छन् । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध
काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाले भारी वर्षासँगै हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ । महाशाखाको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीन दिन बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहुँ र स्याङ्जा चार जिल्लाका साना नदीहरुमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । यस्तै, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।
रास्वपाको अनुशासन आयोगले सोध्यो महामन्त्री ढकालसँग स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।पार्टीको समीक्षा प्रतिवेदन अनुमति नलिई सार्वजनिक गरेको भन्दै शुक्रबार स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए। बुधबारमात्र ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गनुपर्ने निष्कर्ष निकालेका थिए।
शरणार्थी प्रकरण : एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक थापा पक्राउ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा प्रकाउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बौद्धबाट केही समयअघि पक्राउ गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
एसईईमा सबै विषय फेलले पनि मौका परीक्षा दिन पाउने
काठमाडौं । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सबै विषय फेल गरेका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने भएका छन्।सरकारले कानुनी रूपमै कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईईमा फेल भएको देखाई उनीहरूलाई रोक्न नहुने निर्णय लिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सबै विषयमा अनुत्तीर्ण भनिएका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको जानकारी दिएका छन् । ‘भाइबहिनीहरू र उहाँहरूका सबै अभिभावकहरूले यो मौकालाई ठिक ढंगले बुझेर मौका परीक्षाको तयारीमा केन्द्रित गर्न हुन अनुरोध गर्दछौँ’, उनले भनेका छन् । उनले ज्यका सबै निकायले परीक्षाको परिणाम खोज्नुभन्दा पहिले सार्वजनिक विद्यालयको अवस्था, सरकार तथा नियमनकारी निकायको भूमिका, शिक्षक(अभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा कक्षा कोठाबाटै सुधार खोज्नु पर्नेमा पनि उनले जोड दिएका छन् । ‘आजको परिणामलाई गम्भीर शिक्षाको रूपमा ग्रहण गरि यसलाई सुधार गर्न म आफू आफ्नो ठाउँबाट आजैका दिनदेखि सहभागी बन्छु भन्ने संकल्प गरौँ’, उनले भनेका छन् । बिहीबार सार्वजनिक नतिजामा आधाभन्दा धेरै परीक्षार्थी फेल भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको परीक्षाफलमा ४७.८७ प्रतिशत (दुई लाख २२ हजार ४७२) विद्यार्थी मात्रै उत्तीर्ण भए थिए । ५२.१३ प्रतिशत अर्थात् दुई लाख ४२ हजार ३१३ परीक्षार्थी फेल भएका छन्। उनीहरू ननग्रेड (एनजी) (१०० पूर्णांकमा ३५ भन्दा कम) ल्याएकामा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ ले मौका परीक्षा दिन पाउने थिए । बढीमा दुई विषयमा एनजी ल्याएका विद्यार्थीले मौका परीक्षा दिन पाउने भनिएको थियो । एनजी ल्याएका एक लाख २६ हजार ४७९ विद्यार्थीले भने एसइईका लागि पुनः एक वर्ष कुर्नुपर्ने थियो। तर एनजी ल्याएका एक लाख २६ हजार ४७९ विद्यार्थीले एसइईको मौका परीक्षामा भाग लिन पाउने व्यवस्था सरकारले गरेको मल्लले बताएका छन्।
प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण, बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिएका छन् । सो अवसरमा प्रधानमन्त्रीले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहाल एवं सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले अस्पतालमा कार्यरत स्वास्थकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँबाट प्रवाह हुँदै आएको सेवाबारे जानकारी लिए। सामान्य र विशेषमा गरी यस अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड आजै चितवन आएका हुन् ।
डार्क फाइल प्रकरण : तीन जनाविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दायर
काठमाडौं । डार्क फाइल प्रकरणमा सिधा कुरा डटकमका सम्पादकसहित तीन जनाविरूद्ध साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। शुक्रबार सरकारी वकिल कार्यालय काठमाडौंले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका व्यक्ती राजकुमार तिमल्सिनाविरूद्ध मुद्दा दायर गरेको हो । तीनै जनालाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेस गरिएको छ ।‘सिधा कुरा’ले प्रसारण गरेको अडिओ झुटो रहेको अनुसन्धानको निष्कर्ष, अदालतमा बुझाइयो प्रतिवेदन सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो। सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो। त्यसपछि सर्वोच्च अदालत आफैले यस विषयलाई लिएर अदालतको अवहेलना सम्बन्धी रिट दायर गरेको थियो। तीनै जनाको बयान पनि लिइएको थियो। यो विषयको अन्तिम टुंगो लगाउन बृहत् पूर्ण इजलासमा पठाइएको छ।

