दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछु : मन्त्री यादव
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन् ।बुधबार लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आशमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए। उनले नेपालमा बसेर नेपालकै विरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरे।
मन्त्री यादवले एन्जिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिए।उनले कसैको सहयोगको आस गर्न नपर्ने गरी मन्त्रालयको कार्यविधि बनाइ लागू गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिए।
मन्त्री यादवले लागुऔषध दुर्व्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकबद्ध भएर लाग्ने बताए।
एसइई नतिजा प्रकाशित गर्न १ बजे बोर्ड बैठक बस्दै, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन निर्णयबारे बैठकमा बोलाएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले जानकारी दिए। उनले भने,‘आज दिउँसो १ बजे बोर्ड बैठक बोलाएको छ,तर आजै नतिजा प्रकाशन हुन्छ चाहिँ भन्न सकिँदैन,सबै तयारी पूरा भएमा नतिजा प्रकाशन हुन्छ,नभए हुँदैन।’ २०८० सालको एसइई नतिजा आज प्रकाशन गर्ने बोर्डको भने तयारी छ। यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडेड (एनजी)उल्लेख गरिने बोर्डले जनाएको छ। गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ । त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा.लि. इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।
नेपालमा थप लगानीका लागि ओपेक फन्डसँग आग्रह
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताएका हुन् । अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बता्एको महासङ्घले जनाएको छ । उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरे। ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत क्षेत्रहरुमा लगानीको ठूलो सम्भावना रहेको बताए। नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पु¥याउने हुँदा जलविद्युत् तथा नवीकरणीय ऊर्जामा लगानीका अवसर रहेको बताए। त्यसैगरी उनले अर्को छिमेकी मुलुक बङ्गलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे। उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए। नेपाल सरकारले हालै लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासङ्घसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे। त्यसैगरी, महासङ्घको पहलमा दुई पक्षीय लगानी (बिआइए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषद्बाट पारित समेत भइसकेको छ। यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ, उनले भने। मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासङ्घले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुबईमा बिजनेस समिटको आयोजना गरेको बताए। उनले महासङ्घ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरु विदेशी लगानीका साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए। महासङ्घका अनुसार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफाले नेपालमा ओपेक फन्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत् तथा साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ओपेक फन्डले थप लगानी गर्न तयार रहेको बताएका छन् । त्यसैगरी, उपाध्यक्ष तारेक अलनासरले ओपेक फन्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताए । रासस
परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्रबी श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो। भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरे। साथै, नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ।
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधवार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुईपक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।सचिवालयका अनुसार भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए । उनले नेपाल र चीनबिच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबिचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई समृद्ध बनाउन ठुलो योगदान दिएको पनि बताएका थिए ।
लमजुङ पहिरो : एक जना मृत फेला, तीनजना बेपत्ता
लमजुङ । लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर तीन जान बेपत्ता भएका छन् भने एकजनाको शव फेला परेको छ । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । पहिरोले घर भत्किँदा एकजनाको मृत्यु, एक घाइते यसैबीच लमजुङको दोर्दी गाउँपालिका–९ मा गए राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उक्त घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए । विकल र मिलन दाजुभाइ हुन् । दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो । मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ । बेँसीसहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।
नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, गितार उपहार (तस्बिरहरू)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडलका विजेता करण परियारलाई बधाइ दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले परियारलाई बधाइ दिएका हुन् । बधाईसँगै प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार दिएका थिए ।परियारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए। नेपाल आइडल विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने प्रधानमन्त्रीको विश्वास थियो ।
नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बनाइने
काठमाडौं । नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । संयन्त्र बैठकले बैठकले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्व हुनेगरी संयुक्त आयोग बनाउन दुबै देशका प्रतिनिधिले सहमति जनाएका हुन्। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए । बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा विगतमा भएका निर्णयहरुको मूल्याङ्कन गरिएको थियो । उनीहरुले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्रालयले जनाएको छ । दुवै तर्फबाट नेतृत्व गरेका प्रमुखले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको दोहोर्याएका थिए । परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवाद दिएकी थिइन् । उपविदेशमन्त्री वेइतोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेका थिए । दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा समेत छलफल गरेको छ । सन् २०२५ लाई नेपाल(चीन भ्रमण वर्ष मनाउने सन्दर्भमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन, व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपाय र उपायबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवलाई विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय गरेका छन् । उपविदेशमन्त्री वेइतोङले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका थिए । उनले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री वेइतोङ र उनको प्रतिनिधिमण्डल सोमबार काठमाडौँ आइपुगेको थियो । उनीहरु भोलि ९बुधबार० बेइजिङ प्रस्थान गर्नेछन् ।
हिक्मत कार्की पक्षमा सर्वोच्चको फैसला
विराटनगर । कोशी प्रदेशका सरकारका विषयमा सर्वोच्च अदालतले मुद्दा दिने कांग्रेसका पूर्व मुख्यमन्त्री केदार कार्कीको विपक्षमा फैसला दिएको छ । निवर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज भएको छ । मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्चले खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको अन्तिम विकल्पको सरकार भएकाले हटाउन नमिल्ने जिकीर गरेका थिए ।
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो । बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। अर्थमन्त्री वर्षमान पुनले संसदका दुबै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेश गरेको बजेट लगातारको छलफलपछि मंगलबार बहुमतले पारित गरिएको हो। मंगलबार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका बजेट शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए। त्यसपछि प्रतिपक्षी दलका ३१ सांसदले राखेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो। यसरी प्रस्तुत गरिएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरिएको थियो। त्यसलगत्तै विनियोजन विधेयकका दफालाई निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरियो। त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। त्यसपछि सभा संचालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले विनियोजन विधेयक २०८१ बहुमतले पारित भएको घोषणा गरिन्। अहिले प्रतिनिधिसभा बैठकमा अर्थ विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ। छलफलका क्रममा बजेट सन्तुलित नभएको भन्दै सत्तापक्षकै सांसदले समेत असन्तुष्टि व्यक्त गरेका थिए।
सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्।मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए।उनले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए। उनले आदिवासी जनजाति एक भएर देश, पार्टी र आफ्ना हक अधिकार पनि संरक्षण गर्न सकिने बताए। देउवाले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ। दाजुभाइहरू हुनुहुन्छ। अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ। त्यसकारण तपाईंहरु सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ। भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस्। साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्। आपसमा मिलेर जाने हो, झगडा गर्ने होइन।’ सभापति देउवाले आदिवासी, जनजातिका माग सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाए।
नेपालका नदीनाला नेपालकै हुन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन्। उनले भने, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्, नेपालले नै उपभोग गर्ने हो, यसमा स्पष्ट हुनुपर्छ ।” आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजनका सम्बन्धमा सांसदहरूले राखेको पूरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय र आर्थिक सुशासनका सम्बन्धमा राम्रा कामहरू भएको स्पष्ट पारेका हुन्। आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समन्यायिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गर्नेगरी सरकार आगाडि बढेको बताए। प्रधानमन्त्री प्रचण्डले भने, “हामी अनुदानमै जाने हो । सहुलियतपूर्ण ऋणको सन्दर्भमा एक वा एक दशमलव पाँचभन्दा बढीमा नजाने भन्ने नै हो।” रू तीन करोडभन्दा साना आयोजना सङ्घले कार्यान्वयन नगर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय र योजना आयोगले त्यस्ता आयोजनाहरू तल हस्तान्तरण सहयोग गर्ने बताए।
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताउनुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक
काठमाडौँ। नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज विहान साढे १० बजेदेखि सुरू भएको छ । काठमाडौँको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुने बताइएको छ। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित रहेकी छिन् । त्यस्तै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेश मन्त्री सुन वेइतोङले गरेका छन्। बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान आएका थिए। भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी भोलि असार १२ गते काठमाडौँबाट प्रस्थान गर्नेछन्।
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका हुन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूमि नेपालकै हुन् भन्ने कुरामा कुनै दुई मत नरहेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले महाकाली पूर्वका सबै भूगोल नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको उल्लेख गरेका हुन्। ‘नेपालको अन्तर्राष्ट्रिय सीमाबारे हामी दृढ छौँ। यसबारेमा हाम्रो अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको छ। २०७७ असार ४ गते संविधान संशोधनका क्रममा अनुसूची ३ मा रहेको निशान छाप अद्यावधिकाका लागि हामीले राष्ट्रिय एकता देखाएका थियौँ’, उनले भने, ‘१८१६ को सुगौली सन्धी बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका महाकाली पूर्वको भूगोल नेपालको हो भन्ने कुरामा हामी दृढ छौँ।’ उनले सन् १९५० को शान्ति तथा मैत्रीसहित अन्य सन्धीहरूअनुसार सीमासम्बन्धी विषयलाई समाधान गर्ने कुरा भारतसँग भएको पनि बताए। ‘मैले भारत भ्रमणका क्रममा सीमा लगायत संयन्त्रलाई सक्रिय बनाई यी समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई भनेको छु। यसमा भारतले पनि तयार छौँ भनेको छ’, उनले भने, ‘नेपाल-भारत सीमामा सीमास्तम्भ राख्न दुई देशको संयन्त्रस्तरीय सातौँ बैठकका लागि कुरा भएको छ।’

