समिति गठन नभएकाले प्रधानन्यायाधीशको नाम नियुक्तिका मा ढिलाई : कानून मन्त्री
काठमाडौं, जेठ २७ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले संसदीय सुनुवाइ विशेष समिति गठन अगाडि नै प्रधानन्यायाधीशको सिफारिश गर्ने बताउनुभएको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको पाँचौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘सामुदायिक मेलमिलापको अभ्यास र नीतिगत सवाल’ विषयक अन्तक्र्रियामा उहाँले व्यवस्थापिका–संसद्ले सुनुवाइ समिति गठन गर्नुभन्दा अगाडि नै संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशको नाम सिफारिश गर्ने बताउनुभयो ।
उहाँले संसद् सञ्चालनसम्बन्धी नियमावली पारित गरेपछि प्रधानन्यायाधीशको नियुक्तिको बाटो खुलेको भन्दै चाँडै नै सिफारिश गरिने जानकारी गराउनुभयो ।
“संवैधानिक परिषद्ले नाम सिफारिश गरे पनि नियुक्तिका लागि अन्तिम स्वीकृति विशेष समितिले गर्ने हो”, उहाँले भन्नुभयो, “त्यसैले हामीले समिति गठन नभएकाले प्रधानन्यायाधीशको नाम नियुक्तिका लागि सिफारिश गरेका होइनौं ।”
उहाँले सर्वोच्च अदालत अहिले नेतृत्वविहीन नभएकाले भन्दै कायममुकायम प्रधानन्यायाधीशलाई नै सम्पूर्ण कामको जिम्मेवारी तोकिएको जानकारी गराउनुभयो ।
नयाँ प्रधानन्यायाधीश नियुक्त नहुँदा विगत दुई महिनादेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन बनेको छ ।
मन्त्री तामाङले स्थानीय तहमा देखिएका विवाद समाधान गर्नका लागि न्यायिक समितिलाई जिम्मेवार बनाइने बताउनुभयो ।
“न्यायिक समितिलाई जति धेरै प्रशिक्षित र सशक्तीकरण गर्न बनाइन्छ । त्यति नै धेरै स्थानीय तहमा विवाद समाधान हुन्छन्”, उहाँले भन्नुभयो, “त्यसैले न्यायिक समितिलाई बढी जिम्मेवार बनाई स्थानीय तहका विवाद स्थानीय तहमा मिलाउने प्रयास गरिनेछ ।”
उहाँले अदालत मुद्दा पर्दा झन्झटिलो र खर्चिलो हुने भएकाले स्थानीय तहमा विवादका समाधान मिलाउनु पर्दछ भन्ने सरकारको पनि जोड रहेको धारणा राख्नुभयो ।
पीडक नउम्किने र पीडितलाई न्याय दिने खालका कानून तर्जुमा मन्त्रालयले गरिरहेको जानकारी गराउँदै उहाँले न्यायको पहुँचबाट टाढा रहेकालाई सहायताका माध्यमबाट अदालतसम्म पु¥याउनसक्ने व्यवस्था गरिएको उहाँको भनाइ थियो ।
“अहिले धेरै कानून बन्ने र संशोधनका क्रममा रहेका छन्”, उहाँले भन्नुभयो, “ती कानूनबाट अन्याय परेकालाई न्याय र ढिलो न्याय नहोस् भनेर हामी सचेत रहेका छौँ ।” कार्यक्रममा सांसद रामनारायण विडारी स्थानीय तहको न्यायिक समितिलाई नै मेलमिलापको केन्द्र बनाउनुपर्ने बताउनुभयो ।
उहाँले अदालतसम्म मुद्दा नपरुन भन्नका लागि स्थानीय तहको न्यायिक समितिलाई बलियो बनाई विवाद समाधान गर्नुपर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य गोविन्द चौलागार्इं र संवैधानिक न्यायिक पत्रकार मञ्चका अध्यक्ष लीला उपाध्यायले सञ्चारकर्मीले स्थानीय तहमा भएका मेलमिलापबाट विवाद समाधान भएका कुरालाई प्रकाशन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष चुकबहादुर थापाले अदालती प्रक्रिया झन्झटिलो, खर्चिलो भएकाले मेलमिलाप नै उपयुक्त विवाद समाधानको माध्यम बन्न थालेको भन्दै स्थानीय तहसँग समन्वय गरेर गाउँघरका विवाद समाधान गरिएको बताउनुभयो ।
उहाँका अनुसार संस्थाले गत वर्षमा १५० वटाभन्दा बढी विवादका समाधान मेलमिलापबाट गरेको छ ।
ट्रम्प-किम भेटवार्ताको सम्पूर्ण खर्च १ अर्ब ६१ करोड, सिङ्गापुरले भन्यो-हामी ब्यहोर्छौँ
सिङ्गापुर, जेठ २७ । अमेरिकी राष्टपति डोनल्ड ट्रंप र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनबीच मंगलवार १२ जुनको दिनको यहाँ ऐतिहासिक भेटवार्ता हुँदैछ र यसमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न आफ्नो देश इच्छुक रहेको त्यहाँको सरकारले जनाएको छ । यस सम्मेलनमा कुल २ करोड सिङ्गापुर डलर(लगभग १ अर्ब ६१ करोड ६० लाख नेपाली रुपैयाँ) खर्च हुने भएको छ । सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङले यसले सिङ्गापुरको प्रचार हुने र विश्वसमुदायमा उसको साख बढ्ने बताएका छन् । “यसको प्रत्यक्ष प्रभाव भनेको त हाम्रो प्रचार नै हो,” इन्टरनेसनल मिडिया सेन्टरमा सिङ्गापुरको मिडियासँग कुराकानीको क्रममा पधानमन्त्री लीले भने, “फेरि हामीलाई उहाँहरूले नै छान्नु भएको हो, हामीले आउनुस् भनेका होइनौं । यसले अन्तर्राष्ट्रिय समुदायमा हाम्रो ततास्थाता र विश्वसनीयता प्रमाणित गरेको छ ।” प्रधानमन्त्री लीले सिङ्गापुरको दृष्टिकोणबाट यो बैठक सम्पन्न हुनु र यसबाट सकारात्मक नतिजा निस्किनु धेरै महत्वपूर्ण कुरा हो । यसले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई ‘नयाँ एवम् अनुकूल बाटो‘ प्रदान गर्नेछ । “दुवै पक्षले हामीलाई यस ऐतिहासिक बैठकको आयोजना गर्न भने र हामीले ‘नाइँ!’ भन्न सकेनौं । हामीले यसका लागि अगाडि आउनुपर्छ र त्यो हामी सक्छौं । यसमा हामीले आफ्नो केही स्रोत लगानी गर्नु पर्ने भएको छ तर हामी धेरै राम्रो गर्न सक्छौं । ” प्रधानमन्त्री लीले यसमा लाग्ने सम्पूर्ण खर्च सिङ्गापुरले व्यहोर्ने बताए । उनले भने’ “हामी यसको सम्पूर्ण खर्च उठाउन इच्छुक छौं किनभने यो एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि हाम्रो योगदान हो र यसमा हाम्रो गहन रुचि रहेको छ । ” आइतवार बिहान प्रधानमन्त्री लीले सन्तोसा द्वीपस्थित सिङ्गापुर वायुसेनाको कार्यसंचालन विभाग र सिङ्गापुर प्रहरी मुख्यालयको भ्रमण गरेका थिए । बैठकको तैयारीको बारेमा बोल्दै प्रधानमन्त्री लीले भने,”उनीहरू(सिङ्गापुर वायुसेना, प्रहरी एवम् सुचना मन्त्रालय)ले साह्रै राम्रो काम गरेका छन् । उनीहरू आआफ्नो क्षेत्रमा मात्र होइन सँगै मिलेर पनि एकअर्कासँग समन्वय गर्न सक्षम छन् ।” प्रधानमन्त्री लीले उत्तर कोरियाली नेता र ट्रंपसँग छुट्टाछुट्टै भेट गर्ने छन् । जस अन्तर्गत १० जुनमा किमसँग र ११ जुनमा ट्रंपसँग उनको भेट निश्चित भइसकेको छ ।
सुशासन र स्थिरताका लागि कम्युनिष्ट पार्टीहरु एक भएको अध्यक्ष प्रचण्डको भनार्इ
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताउनुभएको छ । उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता र नयाँ राजनीतिक प्रक्रिया शुरु भइसकेपछि सबैभन्दा बढी उद्योग संगठनका पदाधिकारीहरुसँग छलफल गरेको जानकारी दिँदै निजी क्षेत्रसंगको सहकार्यबिना मुलुकमा आर्थिक विकास गर्न सम्भव नभएको बताउनुभयो । उहाँले राजनीतिक स्थिरता कायम गर्न आफूले साहसिक निर्णय गरेको र यसैको उपजबाट दुवै कम्युनिष्ट पार्टी एक भएको भन्दै राज्यमा ठूला–ठूला परिवर्तन राजनीतिक पार्टीहरुको एकता र सहकार्यबाट नै सम्भव भएकोमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले शान्ति सम्झौतापछि १० वर्ष संविधान र लोकतान्त्रिक संरचना निर्माण गर्नमा समय खर्च भएको विचार राख्दै अबको दशकमा विकास निर्माण र समृद्धिका लागि संकल्प गर्न सबैसँग आग्रह गर्नुभयो । राजनीतिक चेतना र आर्थिक विकासको क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरेको विराटनगरवासीले अब आर्थिक विकासको संकल्प लिनुपर्ने समय आएको बताउंदै उहाँले चीनसँगको आर्थिक र व्यापारिक साझेदारी कायम गर्न किमाथाङको बाटो बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति, युवालाई रोजगार, बन्द उद्योग सञ्चालन र नयाँ उद्योग स्थापना गर्न कोशेढुंगा बन्ने भन्दै नयाँ बजेटले आर्थिक स्थिति सुदृढ गर्ने र व्यापार घाटा कम गर्ने सिद्धान्तबाट प्रेरित भएर आएको जानकारी दिनुभयो । भारत–चीन दुवै देशका नेता तथा जनताले नेपालको विकास र समृद्धि होस् भन्ने चाहेको बताउँदै अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगलाई प्राथमिकतासाथ अघि बढाउनुपर्छ भन्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रसँग साझेदारी तथा हातेमालोबिना आर्थिक विकास सम्भव नभएको बताउनुभयो। जिल्ला उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले संगठनको गतिविधिबारेमा जानकारी गराउनुभएको थियो । उद्योग तथा व्यापारमा उल्लेखनीय योगदान पुृ¥याउने महेन्द्र गोल्छा, जुद्धबहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गर्नुका साथै संगठनलाई सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, सञ्चारकर्मी नवीन कर्ण, गणेश लम्साल, सच्चितानन्द यादव, बज्रभूषण चौधरीलगायतलाई सम्मान पनि गरिएको थियो । मोहम्मद सदरुल कमला
विनियोजन विधेयकका शीर्षकमा छलफल स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ । छलफलका लागि आवश्यक तयारी पूरा नभएको भन्दै सभामुख कृष्णबहादुर महराले आजको बैठकका लागि राखिएको विषयसूचीमा रहेका सम्पूर्ण विषय हटाउनुभएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची थियो । उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो । त्यस्तै, बैठकको विशेष समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११.०० बजे बस्नेछ । रासस
प्रतिनिधिसभामा सभामुख र उपसभामुख फरक दलको भएमात्रै संसदीय अभ्यास अघि बढ्छः पुष्पा भुषाल
काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले प्रतिनिधिसभामा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान भएकाले त्यसलाई पालना गर्न आग्रह गरेकी छिन् । आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै भुसालले विधिको शासनबाट सरकार चल्न नसकेको भन्दै ध्यानाकर्षण पनि गराइन् । ‘सरकारमा भएको भन्दा फरक दल सभामुख वा उपसभामुखको कुर्सीमा बस्यो भनेमात्रै संसदीय अभ्यासको, शक्ति सन्तुलनको अभ्यास मीठो ढंगबाट अघि बढ्न सक्नेछ’, भुषालले भनिन्। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले एउटै दल बनिसकेको अवस्थामा सभामुख र उपसभामुख पद सत्तारुढ दलले मात्रै राख्न नमिल्ने तर्क भुषालको थियो। संविधानको धारा ९१ को उपधारा २ ले प्रतिनिधिसभामा सभामुख र उपसभामुख फरक–फरक दलबाट र महिला र पुरुष हुनुपर्ने व्यवस्था गरेको तथा राजनीतिक दल सम्बन्धी कानुनको धारा ३३ को १ क मा प्रतिनिधिसभामा सभामुख र उपसभामुखले दल त्याग गरेको मानिने छैन भन्ने लेखिएको भन्दै उनले संविधानमा लेखिएका कुरालाई कार्यान्वयन गर्दै संसदीय मान्यतालाई कायम राख्न सभामुखको ध्यानाकर्षण गराइन् ।
नेकपा २ नं प्रदेश सरकारमा सहभागी हुँदैन : अध्यक्ष प्रचण्ड
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को सरकारको नेतृत्व वा सरकारमा नहुने प्रष्ट पार्नुभयो । उहाँले वर्तमान अवस्थामा बहुदलीय व्यवस्थाअन्तर्गत प्रतिष्पर्धात्मक निर्वाचनमा गएर सरकार निर्माण भएकाले तत्काल कार्यकारी राष्ट्रपति प्रणालीमा जाने सम्भावना नरहेको बताउनुभयो । आगामी निर्वाचनमा यस सम्बन्धमा जनताको अभिमत बुझेर नै निर्णय गरिने धारणा उहाँले व्यक्त गर्नुभयो । उहाँले माओवादी द्वन्द्वमा पीडित भएकाको समस्या समाधान सत्यनिरुपण आयोगले सुस्तगतिमा काम गरेकाले र अझै धेरै काम गर्न बाँकी रहेकाले आयोगको म्याद थप्ने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले निर्माण व्यवसायीले तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने व्यवसायीलाई राज्यले कारवाही गर्ने बताउँदै यस सम्बन्धमा सञ्चार माध्यममा आएजस्तो कुनै कार्य आफूबाट नभएको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले जिम्मेवारी लिइसकेपछि तोकिएको समयमा काम पूरा गर्नु निर्माण व्यवसायीको पनि दायित्व हो भन्दै गुणस्तरहीन काम गर्ने व्यवसायीलाई कारवाही गर्र्ने विषयमा मन्त्री वा कसैलाई रोक्न कुनै दबाब नदिएको स्पष्ट पार्नुभयो । उहाँले जनताको चाहनाअनुसार मुलुकमा संघीयता कायम भएकाले तीन तहको सरकार निर्माण भइसकेकाले अबको एजेण्डा भनेको मुलुकमा सुशासन र आर्थिक समृद्धि भएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले संघीयता मुलुकका लागि पहिलो अभ्यास भएकाले र सोहीअनुसार कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न केही असहज भएपनि निकट भविष्यमा सो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले समायोजनका लागि बाध्य भएर सरकारले नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको स्पष्ट पार्नुभयो । रासस
रेडबुलबारे यस्तो तथ्य सार्वजनिक-‘इनर्जी ड्रिंक नभई मन्द विष’
काठमाडौं, जेठ २७ । युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ। इनर्जी ड्रिंक्सका रूपमा रेडबुल बढी प्रयोग गर्नेहरूमा युवापुस्ता र खेलाडीहरू पर्दछन्। केही समयका लागि थकान मेटिएको अनुभव भए पनि यसले कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, ह्दयाघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गरेका छन्। सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको रक्षा विभागले रेडबुलजस्तै एउटा पेय पदार्थ उत्पादन गरेर भियतनाममा रहेका आफ्ना सेनाका लागि प्रयोगमा ल्याएको थियो। यसको मुख्य उद्देश्य युद्धमा थकित सेनाहरूलाई तत्कालका लागि शक्ति प्राप्त गराउनु थियो। त्यो बेला यसलाई ‘यालुसिनोजेनिक ड्रग’ का रूपमा प्रयोगमा ल्याइएको भए पनि पछि उक्त पेय पदार्थको प्रयोग थुप्रै सैनिकको मृत्युको कारण भएको पुष्टि भएपछि यसको उत्पादन बन्द भएको थियो। रेडबुलमा जस्तै रसायन मिसाइएको उक्त पेय पिएर युद्ध लडेका सिपाहीहरूमा माइग्रेन, ब्रेन ट्युमर तथा कलेजोमा दीर्घकालीन असर परेको देखिएपछि अमेरिकामा यसको प्रयोग रोकिएको थियो। रेडबुलमा स्वास्थ्यलाई गम्भीर असर गर्ने रसायनिक पदार्थको मिसावट गरिएको हुन्छ। यसमा भिटामिन बी १२ र ग्लुकोरोनोल्याक्टोन नामक हानिकारक रसायन मिसाइएको हुन्छ। उरुग्वे, डेनमार्क र नर्वेमा अहिले पनि रेडबुलको बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। केही मुलुकहरूमा अहिले पनि औषधि पसलमा मात्र रेडबुल किन्न पाइन्छ। फ्रान्समा पनि सन् २०१४ सम्ममा रेडबुल किनबेचमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। तर त्यहाँको सरकारले ४ वर्षअघिमात्र उक्त निर्णयमाथि फुकुवा गर्दै औषधि पसलबाट मात्र खरिद बिक्री गर्न मिल्ने प्रावधान राखेको छ। त्यसै गरी कुबेतमा १६ वर्षभन्दा कम उमेरका व्यक्तिले रेडबुल किन्न पाउँदैनन्। स्वीडेनमा रेडबुल खाएर तीन जनाको तीन जनाको मृत्यु भएको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको छ। मृत्यु भएका ती व्यक्तिमध्ये २ जनाले रक्सीसँग रेडबुल मिसाएर खाएका कारण त्यसले रक्तसञ्चार बन्द भएको ठानिएको छ। त्यस्तै अर्का एक व्यक्तिले एकैचोटि ३ वटा रेडबुल पिएका कारण मृत्यु भएको ठानिएको छ। रक्सी र रेडबुलको सम्मिश्रण हुँदा हानिकारक रसायन बन्छ जसले कलेजोमा प्रत्यक्ष असर पु¥याउँछ। ब्रिटिस मेडिकल जर्नलका अनुसार रक्सीसँग रेडबुल खाँदा मानिसको ज्यानै जान सक्ने कुरा उल्लेख गरिएको छ। जर्नलका अनुसार रेडबुल र भोड्का मिसाएर खाँदा त्यो स्वाथ्यका लागि बढी हानिकारक हुन्छ। जर्नलले यी दुई पेय पदार्थको मिश्रणलाई ‘डेड्ली बम’को उपनाम दिएको छ। नेपालमा पनि अधिकांश युवा पुस्ताले भोड्का र रेडबुल मिसाएर खाने गरेको भए पनि यसले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा भने निकै कम व्यक्ति मात्र जानकार छन्। अधिकांश खेलाडीले इनर्जी ड्रिंक्सका नाममा रेडबुल पिउने गर्दछन्। तत्कालका लागि यसले शरीरमा शक्ति प्रवाह गरेको महसुस भए पनि यसले दीर्घकालमा देखिने गम्भीर खालका रोगहरू निम्ताउने ब्रिटिस मेडिकल जर्नलमा उल्लेख छ। बेलायतमा लामो समयसम्म अनुसन्धानले गरेपछि रेडबुल पिउँदा मानव स्वास्थ्यमा पर्ने असरका विषयमा उक्त निष्कर्ष निकालिएको हो। ‘फुटबल, ब्याडमिन्टन, बास्केटबल, जिम, मार्सल आर्टस्लगायत अन्य एथ्लेटिक्सका क्रममा रेडबुल पिउँदा यसले मुटुको गति बढाउँछ। मुटुको गति बढेपछि शरीरमा रगत छिटोछिटो प्रवाह हुन थाल्छ र मानिसहरूले तत्कालका लागि केही शक्ति प्राप्त गरेको महसुस गर्दछन्।’ –जर्नलमा भनिएको छ। यसरी मुटुको गति बढ्दा खेलाडीहरूमा तत्काल हृदयाघात नै हुन सक्ने निष्कर्षमा बेलायतमा गरिएको अनुसन्धानले देखाएको हो। आयरल्यान्डका १८ वर्षीय बास्केटबल खेलाडी रुज कोनीको बाल्केटबल खेल्दा खेल्दै हर्ट अट्याकका कारण मृत्यु भयो। उनको मृत्युका पछाडि बढी मात्रामा रेडबुल पिएर कोर्टमा उत्रनुलाई कारण मानिएको छ। त्यसै गरी, अमेरिकाका ३३ वर्षीय कोरी टेरीको पनि बास्केट खेल्ने क्रममा मृत्यु भएपछि उनको परिवारले रेडबुलसँग १८ मिलियन अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरेको घटना सेलाउन पाएको छैन। दैनिकरूपमा व्यायाम नगर्ने व्यक्तिले रेडबुल पिउँदा पनि यसले हृदयाघात हुने सम्भावना बढी हुन्छ। यसको मुख्य कारण भनेको शरीरमा निकै कम शक्ति प्रवाह भएको अवस्थामा पनि रेडबुलले मुटुको धड्कन बढाउँछ। शक्तिवद्र्धक पेय पदार्थका रूपमा खेलाडी तथा युवाहरू बढी पिउने गर्छन्। तर यसले पार्ने असरका विषयमा निकै कम व्यक्ति मात्र जानकार छन्। नेपाल समाचारपत्रमा खबर छ ।
महानगरवासीको आवश्यकता र चाहान अनुरुप योजना ल्याउनुहोस् : प्रमुख रेणु दाहाल
चितवन । भरतपुर महानगर पालिका प्रमुख रेणु दाहालले महानगरवासीको आवश्यकता र चाहान अनुरुप योजना ल्याउनुहोस जनप्रतिनिधिसँग आग्रह गर्नु भएको छ । भरतपुर महानगरपालिकाले दोस्रो नगर सभाको लागि वडास्तरीय योजना छनोटको काम सुरु गरेको छ । चितवनको भरतपुरमा मंगलबार दोस्रो नगर सभाको लागि योजना छनौट सम्बन्धी ४ नम्बर वडा भेलाको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले सडक बिस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । वडा भेलाकी प्रमुख अतिथि दाहालले भरतपुर महानगरपालिकाले वडावासीको चाहना अनुरूप नै योजना छनोट होस भन्ने उद्देश्यका साथ वडा भेलाहरू आयोजना गरेको जानकारी गराउनु भयो । उहाँले वडाका आवश्यकता, सम्भावना र चुनौतीहरूको बारेमा गहन छलफल गरी बढीभन्दा बढी लाभ प्राप्त हुने योजना छनोट गर्न आग्रह गर्नुभयो । महानगर प्रमुख दाहालले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, सामाजिक विकास लगायतका प्रभावकारी योजनाहरू छनोट गर्न आग्रह गर्नुभयो । महानगरले विकासको पहिलो आधारको रूपमा सडक पूर्वाधार र सडक सञ्जाललाई लिएको भन्दै उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा साना ठूला गरी १ सय ५० वटा सडक बिस्तार गरी कालोपत्रे सम्पन्न गरिने बताउनु भयो । उहॉले महानगरको योजना अनुसार गौरवको आयोजनाको रूपमा भवन तथा शहरी विकास कार्यालयमार्फत महानगरको टेन्डर प्रकृया अन्तिम अवस्थामा रहेको र चालु आर्थिक वर्षभित्रै शिलान्यास गरी निर्माण कार्य अगाडि बढाइने बताउनु भयो । महानगरले सिटी हल, बहुतले ब्यावसायिक भवन निर्माणको प्रकृयालाई अगाडि बढाइरहेको उहाँले बताउनु भयो । गएको १ वर्ष महानगरपालिकाले सुशासन कायम राख्दै दीर्घकलीन रणनीति निर्माण गर्नमा केन्द्रित रहेको भन्दै महानगर प्रमुख दाहालले आगामी आर्थिक वर्षमा महानगरका गौरवपूर्ण आयोजनाहरू काम देखिने गरी अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाले चालु खर्चभन्दा पूँजीगत खर्च बढी राखेर अगाडि बढिरहेको जानकारी दिँदै उहाँले यसलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताउनु भयो । महानगर प्रमुख दाहालले वडास्तरीय योजना छनोट गर्दा टालटुले नभई रणनैतिक महत्वका योजनाहरू छनोट गर्न आग्रह गर्नुभयो । उहाँले आगामी नगर परिषदबाट महानगरीय गौरवका योजनालाई पर्याप्त बजेट बिनियोजन गरी बॉकी बजेट वडास्तर र अन्य क्षेत्रलाई बिनियोजन गर्ने बताउँदै वडाहरूले पनि वडाका गौरवपूर्ण योजनाहरू वडा भेलाबाट छनोट गरी सिफारिस गर्न आग्रह गर्नुभयो । प्रमुख दाहालले महानगरपालिका महानगरवासीहरूको इच्छा र आवश्यकता अनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै वडा कार्यालय र महानगरपालिकाले गरिरहेका विकास निर्माण र अन्य सेवा प्रवाहको निगरानी र खबरदारी जारी राख्न महानगरवासीलाई आग्रह गर्नुभयो । वडा अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न वडा भेला उद्घाटन समारोहमा जिल्ला विका समिति चितवनका पूर्वसभापति विष्णु घिमिरे, राजनीतिक दलका प्रतिनिधि, टोलसुधार समितिका पदाधिकारी लगायतले आआफ्ना योजनाहरू पेस गरेका थिए । वडा भेलाका सहभागीहरूले दिगो पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, फोहोरमैला ब्यवस्थापन र सामाजिक सुरक्षाका क्षेत्रहरूलाई प्राथमिकतामा राखी नगर र वडास्तरीय बजेट ब्यवस्था गर्न माग गरेका थिए । भरतपुर महानगरपालिकाले असारको १५ गतेसम्म नगर परिषद सम्पन्न गरिसक्ने गरी मंगलबारदेखि दोस्रो नगर परिषदको तयारी सुरू गरेको छ । नगर परिषदको तयारी अन्तर्गत जेठ २२ गतेदेखि २७ गतेसम्म वडा भेला सम्पन्न गर्नेछ । वडा भेलाहरुबाट परिमार्जित भई आएका योजनालाई समेटी असार १५ गतेसम्म नगर परिषद सम्पन्न गर्ने लक्ष्य राखिएको महानगर प्रमुख दाहालले बताउनु भयो । मंगलबार वडा नम्बर ४, १ र ३ का भेलाहरू सम्पन्न भएका छन् । ४ नम्बर वडा भेलालाई प्रमुख रेनु दाहाल, १३ नम्बर वडा भेलामा उपप्रमुख पार्वती शाह र वडा नम्बर १ को भेलालाई प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी प्रमुख अतिथि रहनु भएको थियो ।
लोकसेवा आयोगद्वारा नयाँ रणनीतिक योजना तयार, यस्तो छ योजना
काठमाडौं, जेठ २२ । लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई कायम राख्ने, योग्यता प्रणाली निर्धारण गर्ने, प्रशासनिक जनशक्तिलाई प्रविधिमैत्री बनाउने लगायत विषय योजनामा समावेश गरिएको छ । वार्षिकोत्सव मनाउन आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आठ सदस्यीय समिति निर्माण गरिएको छ । यसैबीच सरकारी सञ्चारमाध्यमका प्रतिनिधि र आयोगको प्रचारप्रसार उपसमितिको आज बसेको बैठकले वार्षिकोत्सवका अवसरमा संगठनको इतिहास र विभिन्न गतिविधि ‘गोरखापत्र’मा प्रकाशन गरिने निर्णय गरेको छ । आयोगले रेडियो नेपालबाट परिसंवाद कार्यक्रम चलाउने तथा निजी राष्ट्रिय दैनिक तथा विद्युतीय सञ्चारमाध्यमलाई संगठनको वार्षिकोत्सवका सन्देश तथा सूचना प्रवाहका लागि आग्रह गरेको छ ।
वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री
काठमाडौं, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व वातावरणीय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका सबै देशलाई आफ्नो हैसियतअनुसार योगदान गर्न आह्वान गर्नुभयो । विश्वका केही ठूला र धनी देशले वातावरण संरक्षणका बारेमा नेपाललाई उपदेश दिने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गाउँमा खाना पकाउँदा दाउरा बाल्ने कार्यभन्दा औद्यौगिक राष्ट्रले गर्ने रसायन प्रदूषण कैयाँ गुणा बढी घातक भएको तर्फ ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “चेतनाको कमी, विकासको आकांक्षा र असन्तुलित विकासका कारण वातावरण केही बिग्रेको छ, वातावरणीय सन्तुलन बिग्रियो भने असाधारण विनाशकारी सामना गर्नुपर्छ । तसर्थ वातावरणीय सुरक्षित भविष्यका लागि विश्वको सामूहिक प्रयास जरुरी छ ।” सम्पूर्ण प्राणीको जीवन र भविष्यका लागि दिगो वातावरण संरक्षण आवश्यक रहेकामा जोड दिँदै उहाँले यसका लागि सबैले आफ्नो घर, टोल र बस्तीबाट प्रतिबद्ध भएर लाग्नु जरुरी रहेको औँल्याउनुभयो । दिगो विकासका लक्ष्य हासिल गर्न सन्तुलित तथा दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ सरकार सजग एवं जिम्मेवार रहेको बताउनुभयो । कार्यक्रममा भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो मन्त्रालयले आगामी पाँच वर्षभित्र ५० प्रतिशतसम्म विद्युतीय सवारी साधन चलाउने नीति लिएको अवगत गराउँदै सो अभियानमा सघाउन सरोकार भएका सबैमा आग्रह गर्नुभयो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्न मन्त्रालयले ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्ययोजना शुभारम्भ गरेको बताउँदै यसलाई मुलुकभर प्रभावकारी रुपमा कार्यान्वयन गर्न अन्य मन्त्रालय, प्रदेश र स्थानीय सरकारलगायत सरोकार भएकाहरुसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले दिगो विकासका लागि आर्थिक, सामाजिक र वातावरणीय विकास आवश्यक पर्ने र वातावरण संरक्षणका लागि घरघरबाट अभियान शुरु गर्नुपर्ने सुझाव दिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो महानगरले हरित र सुन्दर शहर बनाउने अभियान अघि बढाएको बताउँदै यसमा सबैको सक्रिय सहयोगको अपेक्षा गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो महानगरमा आगामी साउन १ गतेदेखि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कडाइका साथ लागू गरिने जानकारी गराउनुभयो । कार्यक्रममा वातावरण संरक्षणका क्षेत्रमा योगदान पु¥याएवापत कीर्तिपुरको जलविनायक सामुदायिक वन उपभोक्ता समूह, दाङको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र तथा सञ्चारकर्मीद्वय मुकेश पोखरेल र मनोज पौडेललाई पुरस्कृत गरिएको थियो ।
दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै
कञ्चनपुर, जेठ २२ । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चँुडिएका छन् । महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताउनुभयो । पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल टुट्न सक्ने अवस्थामा रहेको उहाले बताउनुभयो । पुलका नटबोल्ट र रड खसेका छन् भने जाली च्यातिएका छन् । पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायले बताउनुभयो । महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले मिलेर तत्कालै पुलको मर्मत गर्नुपर्ने उहाँको भनाइ रहेको छ । “कति बेला दुर्घटना हुन्छ, कस्को ज्यान लिने गरी पुल भाँच्चिने हो कुन्नि थाहा छैन” उपाध्यायले भन्नुभयो । पुलको तेस्रो टावर नजिक पुल पूर्णरुपमा भाँचिने अवस्थामा रहेको हुँदा सरकारले प्राविधिक बोलाएर मर्मत सम्भार गर्न लाग्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन् । महाकाली नदीपारिका साविकको दोधारा र चाँदनी गाविस (हालको महाकाली नगरपालिका) का स्थानीयबासी १३ वर्ष अघि सदरमुकाम आउजाउ गर्न भारतीय बाटो वनबासाको प्रयोग गर्थे । भीमदत्त नगरपालिकाको वडा नं १३ र महाकाली नगरपालिका–४ मा पर्ने महाकाली नदीमा विसं २०६१ मा रु नौ करोड ४२ लाख बराबरको लागतमा झोलुंगे पुल निर्माण भएपछि सर्वसाधारणले राहत महसुस गरेका थिए । पुल पर्यटकको आकर्षणका रुपमा समेत रहेको छ । “महाकालीमा पक्की पुल निर्माण नहुञ्जेल हामीले झोलुंगे पुलको संरक्षण गर्न आवश्यक छ”, स्थानीय गगन सिंहले भन्नुभयो । सम्बन्धित निकायको चरम लापर्बाहीका कारण दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल मर्मतको अभावमा चुँडिने अवस्थामा पुगेको उहाँको भनाइ रहेको छ । सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मत सम्भारको अभावमा अहिले पुल जीर्ण बनेको स्थानीयको बुझाइ रहेको छ । दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो । अहिले दैनिक करीब तीन हजार यात्रुले पुलबाट ओहोरदोहोर गर्छन् । पुल बनेपछि जिल्लाका ५०–६० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्, तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी पुलको प्रयोग गर्दै आएका कारण पुलको यो अवस्था भएको बताइएको छ । रासस
एकीकरणले किन अझै कानूनी मान्यता पाएन ? कारण यस्तो छ
काठमाडौं, जेठ २२ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रूपमा एउटै दलकै रूपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको दल दर्ता प्रमाणपत्र दिइसकेको छैन। आयोगले दर्ता प्रमाण नदिँदासम्म कानुनी रूपमा दुई दल एक भएको मानिन्न। दुई दलले एकीकरणकै दिन जेठ ३ गते दल दर्ता प्रक्रियाका लागि आयोगमा निवेदन दिएका थिए। कानुनमा ४५ दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न सकिने प्रावधान रहेकाले आयोग निर्णय दिन हतारिएको छैन। राजनीतिक दल सम्बन्ध शाखाका प्रमुख उपन्यायाधिवक्ता घनश्याम ओझाले पार्टीले बुझाएका कागजात अध्ययनले केही समय लिएको बताए। ‘सचिवालय स्तरबाट कागजात अध्ययन र नपुग देखिएका कागजात मगाउनेलगायत काम सम्पन्न भएको छ,’ उनले भने,‘१, २ दिनभित्र बस्ने आयोग बैठकसमक्ष फाइल पेस हुन्छ।’ सचिवालयले पेस गरिएका कागजात अध्ययनपछि आयोगले दल दर्ताको निर्णय तत्कालै गर्न वा केही विषयमा थप कागजात माग्न निर्देशन दिन सक्नेछ। यसअघि दर्ता रहेको दलसँग नाम जुधेपछि सुरुमा नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ थपेर निवेदन दिइएको थियो। पछि उक्त नामसमेत विवादित हुने देखेपछि ‘अन्डरलाइन’ हटाएर कोष्ठकभित्र (नेकपा) थपेर नाम माग गर्दै दल दर्ताको निवेदन दुवै दलका तर्फबाट दिइएको छ। खबर आजको कान्तिपुरमा छ ।
निर्वाचनपछि सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेतासँग राष्ट्रपतिको पहिलो भेट, संविधानको कार्यान्वयन सहमति र सहकार्यमै गर्न सुझाव
काठमाडौं, जेठ २२ । राष्ट्रपति विद्यादेवी भण्डारी र शीर्ष नेताहरुबीचको छलफल सकिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रपतिले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुसँग पहिलोपटक सामूहिक भेट गरेकी हुन् । भेटमा राष्ट्रपतिले सहमति र सहकार्यमा संविधान जारी गरेको र अब संविधानको कार्यानन्वयन पनि सहमति र सहकार्यमै गर्न दलहरुलाई आग्रह गरेको राष्ट्रपतिका प्रेस विज्ञ भेषराज अधिकारीले जानकारी दिए । ‘तपाईंहरुले संविधान मिलेर जारी गर्नुभयो अब संविधान कार्यान्वयनपनि मिलेरै गर्नुस्’, भण्डारीको भनाइ उधृत गर्दै अधिकारीले भने,‘देशलाई विकास र समृद्धिको बाटोमा लैजाने तपाईंहरुको साझा दायित्व हो, रोजगारी बढाएपछि मात्र समृद्धिको बाटो खुल्छ ।’ राष्ट्रपतिको आग्रहमा शीर्ष नेताहरुले विकास र समृद्धिको बाटोमा देशलाई लैजाने आफूहरुको साझा दायित्व भएकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको अधिकारीले जानकारी दिए । भेटमा नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्षद्वय केपी ओली र प्रचण्ड साथै प्रमुख प्रतिपक्षी कांग्रेसबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सहभागी थिए ।
भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्वः प्रधानमन्त्री ओली
काठमाडौं, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताउनुभएको छ । आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभएको छ । सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र सरसफाइ अभियान शुरु भएको देख्दा आफूलाई खुशी लागेको उल्लेख गर्दै उहाँले स्वच्छ वातावरण महाअभियानमा सहभागी हुन पाउँदा अत्यन्त हर्षित भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सम्पूर्ण नेपालीलाई हार्दिक आह्वान पनि गर्नुभएको छ । वातावरणीय प्रभाव मूल्यांंकन बिनागरिने विकास प्रयास दिगो हुँदैन । अव्यवस्थित विकासले रोगव्याधी र अस्वस्थ अवस्था मात्र निम्त्याउँदैन, त्यस्तो अव्यवस्थाले बाढीपहिरो, सुक्खालगायतका ठूलो धनजनको क्षति हुने प्रकोपको सम्भावनासमेत बढाउँछ । वातावरणको विनाश नहुने गरी नाप नक्सा तयार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्न पनि उहाँले आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ रहेको छ । रासस
ट्रक र जीप ठोक्किएर ट्रकमा आगलागी, आगो निभाउने प्रयास जारी
धादिङ, जेठ २१ । धादिङमा ट्रक र जीप ठोक्किएर ट्रकमा आगजनी हुँदा ३ जना घाइते भएका छन् । साेमबार साँझ चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ८७७० नम्बरको सिमेन्ट बोकेको ट्रक र बा१७च १०९३ नम्बरको बोलेरो जीप को थाक्रे गाउँपालिका–७ सातकिलोमा एकआपसमा ठोक्किएका थिए । ट्रकको ट्याङ्कीबाट आगो सल्केर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी र स्थानीय वासिन्दा मिलेर आगो निभाउने प्रयास गरिरहको बताइएको छ । दुर्घटनामा बोलेरो जीपमा सवार ३ जना घाइते भएका छन् । घाइतेको महादेववेसी पोलिक्निकमा उपचार भइरहेको छ । ट्रकका चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि राजमार्ग बन्द भएको छ ।
सन्दीपलाई फेरि अर्को मौका, क्यानेडियन लिगमा अनुबन्ध
काठमाडौं, जेठ २१ । नेपाली क्रिकेटर सन्दिप लामिछानेले फेरि अर्को मौका पाएका छन् । उनी क्यानेडियन लिग पनि खेल्न पाउने भएका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन, क्यारेवियन प्रिमियर लिग सीपीएलमा अनुबन्ध, विश्व ११ बाट अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा डेब्युलगायत लगातार खुशीका खबर दिइरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् । लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो । यससँगै उनले एकपटक फेरि विश्व क्रिकेटमा आफू उदाउँदो खेलाडी रहेको सन्देश दिएका छन् । ऐतिहासिक लर्डस मैदानमा विश्व ११ का तर्फबाट खेले लगत्तै सन्दीप क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् । प्रतियोगिता जुन २८ तारिख देखि शुरु भई जुलाई १५ तारिख अर्थात असार ३१ गतेसम्म चल्नेछ । सन्दीपले पारिश्रमिक कति पाउँछन् ? क्लबले उनलाई बोलकबोलको छैटौं चरणमा अनुबन्ध गरेपनि उनले कति पारिश्रमिक पाउने भन्ने कुरा आधिकारिक रुपमा बताइएको छैन । यो प्रतियोगिताका लागि बोलकबोलमा खेलाडी कुन चरणमा क्लबले लियो भन्ने आधारमा पारिश्रमिक तय हुने ब्यवस्था छ । पहिलो चरणमै अनुबन्ध हुने खेलाडीलाई ९० हजार डलर पाउनेछन् । सन्दीपलाई छैटौ चरणमा क्लबले लिएको हो । छैटौ चरणमा अनुबन्ध हुने खेलाडीले ४० हजार डलर पाउने व्यवस्था छ । सन्दीप आइपीएलमा २० लाख भारु र क्यारेवियन प्रिमियर लिगमा पाँच हजार डलरमा अनुबन्ध भएका थिए । यी खेलाडी छन् सन्दीपको टिममा- सन्दीपलाई अनुबन्ध गरेको क्लब मोन्ट्रेल टाइगर्सको मार्की खेलाडी विश्वप्रसिद्ध श्रीलंकाली भेट्रान बलर लसिथ मालिंगा छन् । यस्तै कुनै समय विश्व क्रिकेटमा नम्बर एक स्पिनर रहेका वेष्ट इण्डिजका सुनील नराइन, श्रीलंकाका पुर्व कप्तान थिसरा परेरा, वेष्टइण्डिजका विकेटकिपर ब्याट्स्म्यान दिनेश रामदिन, पाकिस्तानको ट्वेण्टी ट्वेण्टी टिमका कप्तान ब्याट्स्म्यान मोहम्मद हाफिज, जिम्बाबेका ब्याट्स्म्यान सिकन्दर राजालगायत खेलाडी छन् । यो प्रतियोगितामा जम्मा ६ वटा टीम छन् । जसमा राष्ट्रिय र अन्तराष्ट्रिय उत्कृष्ट खेलाडीहरुलाई मौका दिइएको छ । क्यानडाका शहरहरुको नामबाट बनाइएका क्लबमा टोरोण्टो नेशनल्स, भ्याङ्कुभर नाईट्स, मोण्ट्रेल टाइगर्स, एडमोण्टो रोयल्स र विनिपेग ह्वक्स रहेका छन् । वेष्टइण्डिजको बी टीमले पनि प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रतियोगितामा अष्ट्रेलियाका पूर्व कप्तान स्टीभ स्मिथ, पाकिस्तानी अलराउण्डर शाहीद अफ्रिदी, वेष्टइण्डिजका ब्याट्स्म्यान क्रिस गेल, डारेन सामी, ड्वेन ब्राभो, आन्द्रे रसेललगायत खेलाडीले पनि आ–आफ्ना क्लबबाट प्रतिस्पर्धा गर्नेछन् ।

