जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिन भारत सहमत

काठमाडौं, असार २ । लामो समयपछि भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ ।

शनिबार नेपाल र भारतबीच यस विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपालबाट अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं–विराटनगर र काठमाडौं–जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र भारतका अधिकारीबीच बिहीवार र शुक्रवार यस विषयमा छलफल भएको थियो । बैठकमा नेपालको माग बमोजिम भारत जनकपुर र विराटनगरबाट दुईतर्फी हवाई रुट दिन भारत सहमत भएको हो ।

समझदारीअनुसार अब नेपाल भित्रिने विमानलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हट्नेछ । अहिले भुटान र चीनबाहेकका मुलुकबाट आउने विमानले सिमाराकै रुटमा मात्रै प्रयोग गरिरहेका थिए ।

महेन्द्रनगरमा पनि कम उचाइमा उड्ने विमानले दुईतर्फी रुट प्रयोग गर्न सक्ने गरी समहति भएको हो । बैठकमा काठमाडौं–महेन्द्रनगर–दिल्ली रुटलाई दुईतर्फी बनाउने सहमति भएको हो ।

अब यसका लागि दुबै पक्षले सुरक्षा मूल्यांकन गरेर नयाँ हवाई रुटको प्रयोग थालिने प्राधिकरणले जनाएको छ ।

गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचार्इमा उड्ने अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति भएको छ ।

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी

पर्सा, असार २ । मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदै छ । एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्कासंग इदको शुभकामना अदानप्रदान गरेका थिए । यसै क्रममा इदको नमाज पढ्न पर्साको जगरनाथपुर गाउँपालिकास्थित इदगाहमा पुग्नुभएका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले रासससंग भन्नुभयो, “यो पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी दिगो शान्तिसहित सामाजिक आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्न सकोस् । ” प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ बेटी बचाइ’ अभियान अब प्रदेश सरकारको मात्र नभई यसलाई समाजले आत्मसात् गरेकाले यो सफल हुने विश्वास व्यक्त गर्दै मख्यमन्त्री राउतले यो अभियानका लागि प्रदेश नं २ का स्थानीय तहले बजेट विनियोजन गरेको र समाजले पनि यसलाई सफल बनाउन स्वःस्र्फुतरुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले अब यो जनताको अभियान बन्दै गएको बताउनुभयो । उहाँले यो अभियानलाई अझै प्रभावकारी बनाउन प्रदेश सरकारले ल्याउन लागेका प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको जानकारी दिदैं शान्ति सुरक्षा कायम राख्न महिलाहरु सक्षम छ भन्नुभयो । मुख्यमन्त्री राउतले पढेलेखेका महिलालाई प्रदेशको उच्च ओहदासम्म पु¥याउन प्रदेश सकारले आरक्षणको व्यवस्थासमेत गर्न लागिएको बताउनुभयो ।

हिलोसहितको वर्षा भएकै हो त काठमाडौंमा ?

काठमाडौं । मौसमबिद्हरुको अनुमानभन्दा केही पछि भएपनि मनसुन त सक्रिय भएको छ । तर, मनसुनपछि हिलोको बर्षा भईरहेको काठमाडौवासीले प्रत्यक्ष देखिरहेका छन् । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा शुक्रबार राति पानी पर्यो । त्यो वर्षा हिलोसहितको वर्षा थियो । हिलोसहितको वर्षाबारे मौसमविद सुभास रिमालले भने, ‘भारतको राजस्थानमा अाएकाे धुलोसहितको हुरीको कारण नेपालको वर्षामा यस्तो प्रभाव परेको हो । यसबारे हामी अझै अनुसन्धान गर्दैछाैं। सम्भवत यो नेपालको पहिलो घटना हुनसक्छ । मेरो कार्यकालमा चाँहि यस्तो वर्षा भएको पहिलो पटक हो ।’ यो कहिलेसम्म हून्छ भन्ने प्रश्नमा रिमालले भने, ‘यसबारे हामीलाई पनि नयाँ घटना भएकोले यतिसम्म नै भन्न हामी सक्दैनौं, हामी यसबारे अनुसन्धान गरिरहेका छौं ।’ भारतका विभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको कारण सो हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडाएर नेपालमा हिलोसहितको वर्षा भएको हुनसक्ने रिमालको भनाइ छ ।

नेकपाको बैठक : भिम रावल र योगेश भट्टराईको चर्को असन्तुष्टि

काठमाडौं, असार २ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य एवं साँसद भीम रावलले पार्टीप्रति चर्को आक्रोश व्यक्त गरेका छन् । शनिबार राजधानीमा बसेकोे नेकपा संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘म सबैभन्दा बढी मतले पार्टीमा निर्वाचित व्यक्ति हुँ । तर लामो राजनीतिक जीवनमा त्यति अपमानित र उपेक्षित कहिल्यै महसुस गरिन् ।’ प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सम्बोधन लगत्तै बोल्नका लागि रावललाई प्रमुख सचेतक देव गुरुङले तीन मिनेटको समय दिएपछि उनी आक्रोशित हुँदै भने, ‘तीन मिनेटमा मेरो कुरा सकिदैन प्रयाप्त समय दिए बोल्छु नत्र बोल्दीन ।’ उनले त्यति भनेलगतै अरु साँसदले दिनुपर्छ भनेर आवाज उठाए । त्यसपछि गुरुङले बोल्ने अनुमति दिए । तर त्यतिन्जेलसम्म ओली बाहिरिसकेका थिए । अनि बजेट पूर्व अर्थमन्त्रीलाई भेट्न खोजेको समय नपाएको मात्रै होइन, टेलिफोन समेत अनुत्तरित रह्यो । आक्रोश व्यक्त गर्दै उनले भने, ‘पश्चिम सेती परियोजनाको बारे कुरा गर्न चाहन्थेँ, तर अवसर पाइन । बजेट भाषणमा अर्थमन्त्रीले उक्त परियोजना नेपाल सरकारले नै बनाउने घोषणा गर्नु भो तर रेड बुकमा त्यसको उल्लेख नै छैन । हामीले के बुझ्ने ?’ बैठकको शुरुमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीप्रति असन्तुष्टि पोखेका थिए । उनले मन्त्रीहरु स–साना कुरामा आफू चर्चित हुने प्रयासमा रहेको आरोप लगाए । उनले भने, ‘मैले सुने अनुसार अहिलेका मन्त्रीहरु आफ्नै भागमा मात्र चोक्टा पार्ने कसरतमा छन् ।’ अनावश्य आश्वासन र ठूला–ठूला कुरा नगर्न समस्या आइपरे आफूसँग कुरा गर्न उनले आग्रह गरे । ‘समृद्धि स्थापना गर्ने अवसर पाएका व्यक्तिले यो गर्छु त्यो गर्छु भनिरहनु पर्दैन । गरेर देखाउने बेला हो यो’ प्रधानमन्त्री ओलीले भने । बैठकमा बोल्दै नेकपाका अर्का नेता एवं सांसद योगेश भट्टराईले पनि चर्को असन्तुष्टि व्यक्त गरे । केही समयअघि सांसद सशक्तिकरणको नाममा युएनडीपीसँग संसदले ६४ करोड रुपैयाँ लिएको र त्यसअघि दुई दिने तालिमको प्रशंग उठाउँदै उनले भने, ‘संस्थागत रुपमा पठाइएको निमन्त्रणालाई स्वीकार गरेर म त्यो कार्यक्रममा गएँ । केही मित्रहरुलाई नाजायज लाग्यो, उहाँहरु जानु भएन । सञ्चार माध्यममा त्यसबारे आएको आलोचनासँगै युएनडीपी र संसदबिचको त्यो समझदारीमा पार्टीको नीति के ?’ उनले सोधे, ‘यो समझदारीबारे पार्टीको नीति के ? सांसद सहभागी हुन हुने वा नहुने जानकारी गराउनु पर्दैनँ ?’ करिब चार दर्जन सांसदले बोल्नका लागि नाम टिपाएका छन् । सांसदहरुले राखेका जिज्ञासाको उत्तर अध्यक्ष प्रचण्डले दिने छन् ।

इदुल फित्र मनाइयो

कपिलबस्तु । विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदुल फित्र पर्व मनाएका छन् । “विश्वमा भइरहेको नरसंहर बन्द होस, सबैमा मानवता आओस्” भन्दै उनीहरुले आज बिहान ८ बजे इदको नामाज पढ्ेर एक आपसमा इद मुबारक (शुभकामना) आदनप्रदान गर्दै यो पर्व भव्यताकासाथ मनाइएको हो । सो अवसरमा मुस्लिम समुदायका अगुवाले इदको बिदा कटौती गरेर सरकार हाम्रो अधिकारप्रति उदासीन रहेको देखिन्छ भन्दै यो पर्वका अवसरमा दिदैं आएको बिदा कटौती गरिएकोप्रति असन्तृष्टि व्यक्त गरेका थिए । नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास छ । इदुल फित्रका अवसरमा इदगाहमा जम्मा भएर सामूहिक नामाज पढेर यो पर्व मनाइएको मौलाना मक्सुद खानले बताउनुभयो । मुस्लिम समुदायका महिला र पुरुष मस्जिद तथा इदगाहमा जम्मा भएर इद मिलनको खुशी साटासाट पनि गरेका छन् । एक महिनासम्म दिनभरि कठोर उपवास व्रत (रोजा) बसी पाँच पटक नमाज पाठ गरेर मनाउँदै आएका छन् । शुक्रबार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशियालीमा आज इद उल फित्र मनाएका छन् । यस अवसरमा मस्जिद तथा इदगाहमा महिला पुरुष बालबालिका सबै जम्मा भएर नवाज पाठ गरी बधाई, शुभकामना आदनप्रदान गरी एकापसमा गला मिलाएर खुशियालीसँग यो पर्व मनाएका हुन् । रासस

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार बेपत्ता

संखुवासभा, असार २ । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदार बेपत्ता भएका छन् । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्कोे झरेको थियो । ढिस्कोेले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदार बेपत्ता भएको र उनीहरुको खोजी कार्य तथा उद्धार गर्ने प्रयास तीव्ररुपमा भइरहेको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताउनुभयो । ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोर बेपत्ता भएका हुन् । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए । घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कढिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सारुमगरले बताउनुभयो । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थलमा लगिसकिएको छ ।  रासस

ट्रेड युनियन काँग्रेसको अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित हुनुभएको छ । छैँटौँ महाधिवेशनको निर्वाचन मतपरिणामअनुुसार आचार्यले ८१८ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ट्रेड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ५३३ मत ल्याउनुभएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । यसैगरी उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित हुनुभएको छ । यस्तै २७ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । दाहाल र आचार्यबीच दुई समूह बनाएर भएको निर्वाचनमा एक सदस्यबाहेक सबै आचार्य समूहका उम्मेदवार विजय भएका छन् । कूल एक हजार ४२० मतदाता रहेको ट्रेड युनियन काँग्रेसमा एक हजार ३९८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण पौडेलले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष आचार्यले रासससँग कुरा गर्दै नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्दै, मजदूरलाई आर्थिकरुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्ने बताउनुभयो । रासस

सडक खाल्डाखुल्डीले सदरमुकाममा सर्वसाधारणलाई सास्ती

गौशाला । चारैतिर खाल्डाखुल्डी र कच्ची बाटो रहेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर अहिले हिलाम्मे बनेको छ । जिल्लाको सदरमुकाम भए पनि यहाँको कुनै पनि स्थानमा पिच बाटो नरहेको अवस्थामा विगत दुई तीन दिनमा पटकपटक भीषण पानी परेको कारण जलेश्वरको प्रत्येक चौक चौराहा, हाट बजार र सार्वजनिक स्थलमा अहिले हिलैहिलो भएको हो । वर्षाको पानीले जलेश्वरको शंकरचोक, नगरपालिकाचोक, दुर्गाचोक, खैराचौक, बुद्धिजीवीचोक, अस्पतालचोक, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, मालपोत, महिला विकास, जिल्ला शिक्षा कार्यालय, कृषि कार्यालय, पशु कार्यालय र जिल्ला अस्पताल जस्ता ठाउँमा हिलैहिलो भएको छ, भने नगरभरि बाटोमा रहेका खाल्डाखुल्डीमा पानी जमेर सर्वसाधारणलाई निक्कै सास्ती भएको छ । त्यसैगरी वर्षाको पानीले सबैतिर हिल्लामे बनाएपछि जिल्लाको सदरमुकामस्थित विभिन्न हाटबजार, कार्यालयसहित सेवा पाउने स्थानमा सेवाग्राहीको चहलपहलमा कमी देखिएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आधा किलोमिटर पनि पक्की बाटो छैन भने केही दिनअघि नाला बनाउने नाउँमा नगरभरिको प्रत्येक बाटोकोबीच भएरै गहिरो खाल्डो खनिएपछि झन यहाँको कुनै पनि बाटो सुरक्षित र भरपर्दो छैन् । अहिले वर्षायाममा आएर जलेश्वरका मूल र सहायक सबै बाटो खनिएपछि विभिन्न स्थानमा मालबाहक तथा सवारी साधन फसेको छ, भने सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ । साथै बाटो खनेर जथाभावी छाडिएकाले प्रत्येक दिन मोटरसाइकल, ट्याम्पु र साइकल चढ्ने यात्रु दुर्घटनामा पर्ने गरेका छन् । यसैबीच रातिको बेला बाटो हिँड्ने बटुवा र चौपाया पनि नगरभित्रको खाल्डो खसेर दुर्घटनामा पर्ने गरेको नगरवासीले गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधि आएर विकास गर्ने, जनतालाई सुख हुने विश्वास लिएका नगरवासीले स्थानीय तह सहित प्रदेश र संघको चुनाव भएको पनि यतिका दिन वितिसक्दा पनि विकासको अनुभूति गर्न नसकेको भन्दै निराशा व्यक्त गरेका छन् । साथै सम्बन्धित माथिल्लो निकायलाई सदरमुकामको अवस्थाप्रति ध्यानाकर्षणको माग गरेका छन् । रासस

पुलमा एम्बुलेन्स ठोक्किदा चार जनाको मृत्यु

धनुषा, असार २ । धनुषाको ढल्केवरमा पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा शहिद नगरपालिका –१, बलाबाखर बस्ने २२ वर्षीय सन्तोष राय ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ४ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक रायको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ढल्केवरको पूर्व बसही खोलाको पुलमा पूर्वबाट पश्चिम आउँदै गरेको ज १ च १२०५ नम्बरको दनुवार जागरण सेवा समितिको एम्बुलेन्स तीव्र गतिका कारण पुलको छेउमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौंः महतो

लहान, असार २ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताउनुभएको छ । सिरहाको चोहर्वामा आज बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने स्पष्ट गर्नुभयो । कार्यक्रममा राजपाका नेता तथा प्रदेश नं २ का प्रदेश सांसद मनिषकुमार सुमनले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको आरोप लगाउनुभयो । सो अवसरमा विभिन्न दलका नेता र कार्यकर्ता राजपमा प्रवेश गर्नुभएको थियो । -रासस

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार, दुवै अध्यक्षले संवोधन गर्ने

काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो । बैठकका लागि चारवटा एजेण्डा तय भएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने रिजालले बताए । त्यस्तै महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् । बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना छ । नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ । उनीहरुलाई आवश्यक सुझाव सहित बैठकमा उपस्थित हुन भनिएको छ । बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो । स्थायी कमिटी बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्नेछ ।

संचारकर्मी सुर्य चन्द सम्मानित

काठमाडौँ । संचारकर्मी तथा समाजसेवी सुर्य चन्द सम्मानित भएका छन् । दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको मिस ग्यालेक्सी नेपाल २०१८ को ग्राण्ड फिनालेमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको हातबाट ‘दक्ष इन्टरनेशनल पत्रकारिता अवार्ड २०१८’ बाट संचारकर्मी सुर्य चन्दलाइ सम्मानित गरिएको थियो । लामो समयदेखि निष्ठा र समर्पण भावका साथ पत्रकारितामार्फत संचार क्षेत्रमा साधनारत रही सत्य–तथ्य सूचनामुलक समाचारहरु प्रवाह गरी नेपाली नागरिक समाज तथा आम पाठक समक्ष समर्पित रहँदै आएको र समाजमा रहेका विकृति विसंगति विरुद्ध विभिन्न संचार गृहमा आवद्ध भई पत्रकारिताको माध्यमबाट आमनेपाली पाठक माझ सचेतना फैलाउदै सभ्य समाज निर्माणमा प्रशंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरुप तथा महत्वपुर्ण सेवाभाव लगन तथा कर्तव्यनिष्ठका साथ नेपाली संचार क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासको निमित्त निरन्तर गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै संचारकर्मी सुर्य चन्दलाइ सम्मान प्रदान गरिएको थियो । वर्षनी हुने यस कार्यक्रममा विभिन्न विधामा ख्याति कमाएका तथा आफ्नो कार्यबाट समाजमा महत्वपुर्ण योगदान दिन सफल व्यक्तित्वहरुलाई सम्मान गरिदै आएको कुरा दक्ष इन्टरनेशनल प्रालिका अधक्ष्य टेकराज पाण्डेले बताएका छन ।

ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु

चितवन, असार १ । पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ। ट्रकले ठक्कर दिँदा माइक्रोबसमा रहेका चार यात्रुको च्‍यापिएर मृत्‍यु भएको प्रत्‍यक्षदर्शी पत्रकार डोलराज पोख्रेलले बताए। उनले भने, ‘म आफ्नो गाडीमा काठमाडौं आउँदै गरेको थिए। बाटोमा ट्रकले पोखराबाट आउँदै गरेको माइक्रोलाई ठक्कर दियो। चार जना यात्रुको मृत्‍यु भयो। घाइतेलाई अस्पताल पुर्‍याउने व्‍यवस्था मिलायौ।’ उनका अनुसार घाइते यात्रुहरु केहीलाई मुग्लिन अस्पतालमा उपचारका लागि पठाइएको छ भने कोहीलाई काठमाडौ पठाइएको छ।

ओली-प्रचण्डको वरीयता सबन्धी विधान बन्यो, को अगाडी ?

काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्यक्षको हैसियत र अधिकार समान हुने गरी विधान तयार भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बिहीबार अध्यक्षद्वय ओेली र प्रचण्डलाई विधान र नियमावलीको मस्यौदा बुझायो । बैठकको अध्यक्षता गर्ने अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्को दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ । औपचारिक पत्रहरूमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ । ‘आलोपालो बैठकको अध्यक्षता गर्ने क्रममा एउटा अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्कोको दोस्रो हुने गरी विधानको मस्यौदा बनाइएको छ,’ कार्यदलका सदस्य बेदुराम भुसालले भने, ‘अब स्थायी समिति बैठकले विधान र नियमावली पास गरेपछि प्रकाशन हुनेछ ।’ कार्यदलमा भुसालसहित नेताद्वय देव गुरुङ र खिमलाल देवकोटा सदस्य थिए । नयाँ पत्रिकामा खबर छ

प्रधानमन्त्री ओली मन्त्रीको अनुगमन गर्ने !

काठमाडौं, असार १ । प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको कार्यसम्पादन थप प्रभावकारी रूपमा अनुगमन गर्ने भएका छन् । मन्त्रालयहरूको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरूबीच सहजीकरण तथा समन्वय नयाँ ढंगले अघि बढिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । -गुनासो सम्बोधनका लागि एप्समार्फत जनतासँग जोडिँदै प्रधानमन्त्री -प्रधानमन्त्रीले गर्ने कामको ‘सर्टआउट’ – प्रधानमन्त्री र मन्त्रीबीचको ‘ग्याप’ हटाइने – प्रधानमन्त्रीको सानो टिम, २ करोड बचत प्रधानमन्त्रीले यसरी अनुगमन गर्नेछन् प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै ११ वटा महाशाखा बनेका छन् । सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा थपिएका छन् । सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दै छन् भने पाँचजना सचिवले ती सबै महाशाखाको समग्र नेतृत्व गर्नेछन् । ‘प्रत्येक सहसचिवलाई सचिवले, प्रत्येक सचिवलाई मन्त्री र प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने । नयाँ पत्रिकामा खबर छ ।

रासस अध्यक्षमा अधिकारी र नेपाल टेलिभिजनमा डा‍‍ विष्ट नियुक्त

काठमाडौ । मन्त्रिपरिषद्को बिहिबा बसेको बैठकले राष्ट्रिय समाचार समिति (रासस) को कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल) लाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा भने डा. महेन्द्र विष्टलाई नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले एशियाली विकास बैंक (एडिबी) का वैकल्पिक निर्देशकबाट डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाउँदै उक्त स्थानमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ । बैठकले संघीय संसद्को संयुक्त बैठक र कार्यसञ्चालन नियमावली २०७५ पारित गर्ने प्रयोजनका लागि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक असार ३० गते अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नेपाल सरकार र चीन अन्तर्राष्ट्रिय विकास सहायता नियोगबीच मानव विकास सहायतासम्बन्धी समझदारी गर्ने तथा नेपाल सरकार र चीनको द नेशनल डेभलपमेण्ट एण्ड रिफर्म कमिसनबीच उत्पादन क्षमता विकासका लागि लगानी र सहयोगसम्बन्धी समझदारी गर्ने तथा जापान सरकारबाट प्रोजेक्ट फर हुयमन रिसोर्स डेभलपमेण्ट स्कलरसिपअन्तर्गत प्राप्त हुने करीब रु २७ करोड ५५ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीबीच सम्पन्न हुने मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ एण्ड कोअपरेशनलाई स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न सम्बन्धित मन्त्रालयले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । नेपालको संघीय प्रदेश तथा स्थानीय तहमा रहेका सार्वजनिक वित्त तथा खरिद व्यवस्थापनमा संलग्न संस्थाहरुको प्रणाली तथा कार्यविधिलाई सरलीकरण र प्रभावकारी बनाउने उद्देश्य राखी विश्व बैक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाको आइडिएबाट करीब १५ मिलियन अमेरिकी डलर बराबरको सहायता स्वीकार गर्ने र त्यसका लागि सरकारका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । बैठकले पावरग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययन गर्न नेपाल विद्युत् प्राधिकरण तथा स्टेट ग्रिड कोअपरेशन अफ चाइनाबीच सहायता सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय भएको छ । त्यस्तै सदर चिडियाखानामा रहेको भारतको एक भालु साइटिस सन्धिअनुसार सोही देशलाई नै फिर्ता गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । रासस