जनप्रतिनिधिले वर्षमा तीन पटक मात्रै विदेश भ्रमण गर्न पाउने

काठमाडौ, असार ५ । सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले वर्षमा बढीमा तीन पटक मात्र विदेश भ्रमण गर्न पाउने कार्यविधि प्रस्ताव गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसलाई ‘भ्रमणलाई व्यवस्थित र मर्यादित बनाउन’ भनेको छ ।

संघीय सरकारलाई थाहै नदिई आफूखुसी औचित्यहीन कार्यक्रममा विदेश जाने क्रम बढेपछि ‘स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी कार्यविधि’ बनाउन लागिएको हो ।

कार्यविधिमा कुनै देश वा सरकार र त्यसको निकाय, दातृ निकाय, अन्तर्राष्ट्रिय संगठन, विकास साझेदार, स्थानीय तहले सम्बन्ध स्थापित गरेको भगिनी सहर वा निकायले आमन्त्रण गरेका हकमा जनप्रतिनिधिले विदेश भ्रमण गर्न सक्ने प्रावधान राखिएको छ ।

अध्ययन, तालिम, गोष्ठी, सेमिनार, छलफल र अवलोकन भ्रमणका लागि आमन्त्रण भएका हकमा पनि पदाधिकारी र कर्मचारीले अनुमति लिएर विदेश जान सक्नेछन् । कार्यविधिमा पटक–पटक गरी वर्षमा २१ दिन मात्र विदेशमा रहन सक्ने प्रस्ताव गरिएको छ ।

कार्यविधि पास भइनसकेकाले अहिले केही महिनायता पदाधिकारी र कर्मचारीको विदेश भ्रमणमा रोक लगाइएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाले कार्यविधि मन्त्रिपरिषद्बाट पास गराएर जनप्रतिनिधिको भ्रमणलाई व्यवस्थित बनाउन खोजिएको बताए । विदेश जाने स्थानीय तहका पदाधिकारी र कर्मचारीले भ्रमण आदेश स्वीकृत गराउनुपर्ने प्रावधान कार्यविधिमा छ । कान्तिपुरमा खबर छ ।

डा. देवकाेटाकाे निधनबाट अपूरणीय क्षति : प्रचण्ड

काठमाडाैं, असार  ४ । वरिष्ठ न्युरोसर्जन तथा पूर्व स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटाको निधनप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गहिरो दुःख व्यक्त गर्नु भएको छ । पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि हिजाे सिंगापुर जानु भएका अध्यक्ष प्रचण्डले विज्ञप्तिमा भन्नु भएको छ, ‘डा. देवकोटाको निधनबाट देश र जनताले कुशल चिकित्सक गुमाएका छौं । साथै देश र जनतालाई अपूरणीय क्षति भएकाे छ ।’ अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘नेपालको स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सकको हैसियतले स्वर्गीय डा. देवकोटाले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै यो शोकको घड़ीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा सुभचिन्तकहरुमा धैर्यधारणको कामनाका साथ म, मेरो परिवार र पार्टीका तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।’ पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन थियाे । देवकोटा गत बैशाख १५ वासवारी स्थित न्यूरो अस्पतालमा उपचाररत् थिए । अस्पतालले विज्ञप्ति जारी गर्दै डा. देवकोटाको निधन भएको औपचारिक जानकारी गराएको छ। क्यान्सर रोगबाट पिडित डा. देवकोटा गत मंसिरमा उपचारका लागि बेलायत गएका थिए । उनले किङ्स कलेजमा करिब ६ महिना उपचार गराएका थिए । उपचार सम्भव नभएपछि देवकोटाले बाँकि जीवन स्वदेशमा बिताउने इच्छा अनुसार गत बैशाख १५ नेपाल ल्याइएकाे थियो ।

बाढी–पहिरो र डुबानमा संवेदनशील भएर काम गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं, असार ४ । बर्खा सुरु भएसँगै देशका विभिन्न ठाउँमा आउने बाढी, पहिरो, डुबानलगायत समस्या समाधानमा संवेदनशील भएर काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । पूर्णरूपमा बर्खा सुरु नहुँदै जलस्रोत विपदको व्यवस्थापनमा ध्यान दिए जनधनको क्षति कम हुने भन्दै उनले सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । हरेक वर्ष आउने बाढी पहिरो तथा अन्य जलस्रोतसम्बन्धी प्रकोप व्यवस्थापन गर्न मन्त्रालयले ‘विपद व्यवस्थापन समन्वय समिति’ समेत गठन गरेको छ । मन्त्रालयमा जलस्रोत हेर्ने सहसचिवको नेतृत्वमा जल तथा मौसम विज्ञान विभाग, भूमिगत जलस्रोत, जलस्रोत तथा सिँचाइ लगायत विभागका प्रमुख सम्मिलित समितिले जोखिम व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाउनेछ । जलस्रोतबाट उत्पन्न हुने विपद व्यवस्थापन गर्न मन्त्री पुनले ७ बुँदै निर्देशन दिएका छन् । बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रको जनधन एवं पूर्वाधारको आपतकालीन संरक्षणका लागि आवश्यक सूचना संकलन गरी काम गर्न मन्त्री पुनले निर्देशन दिएका छन् । विपद व्यवस्थापनसँग सम्बन्धित निकायसँग समन्वय गरी ती निकायसँग निरन्तर सम्पर्कमा रहन पनि उनको निर्देशन छ । सम्भावित विपद जोखिम न्यूनिकरण गर्न सामुदायिक एफएमलगायतका मिडियाबाट मनसुन पूर्वतयारी प्रचार प्रसार गर्ने गराउने निर्देशनमा उल्लेख छ । यस्तै, प्रदेश, स्थानीय तह तथा जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गर्ने र सम्भावित जनधनको क्षति रोक्नुपर्ने उनको भनाइ छ । उल्लेखित सबै काम गर्न आवश्यक वित्तीय स्रोत अर्थ मन्त्रालयबाट उपलब्ध गराउन अनुरोध गरिने मन्त्री पुनले बताएका छन् । समितिले तयार गरेको प्रतिवेदन तथा कार्यान्वयन प्रक्रिया सचिवस्तरीय निर्णयबाट कार्यान्वयन हुने पनि उल्लेख छ ।

प्रधानमन्त्रीको चीन भ्रमण : ४ मन्त्रीसहित ११० जनाको जम्बो टोलीमा को को छन् ?

काठमाडौं, असार ४। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्ने चीन भ्रमणमा चार मन्त्रीसहित विभिन्न क्षेत्रका गरी करीब ११० जना भन्दा बढीको जम्बो टोली जाने निश्चित भएको छ । टोलीमा सरकारीभन्दा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको संख्या करिब तेब्बर बढी रहेको बुझिएको छ । प्रधानमन्त्रीको अफिसियल टोलीमा २८ जना छन् भने निजी क्षेत्रका विभिन्न संघसंस्था र सञ्चारमाध्यमका प्रतिनिधिहरुको संख्या जोड्दा ११० नाघेको छ । रहनेछन् । ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य सहित गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ गरी चारजना मन्त्री रहनेछन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र नेकपाका नेता तथा विदेश मामिला विज्ञ डा. राजन भट्टराई पनि टोलीमा छन् । त्यस्तै संघीय संसदका सांसदहरुमध्ये नेकपाका जनार्दन शर्मा, प्रेम आले, जयपुरी घर्ती, विशाल भट्टराई र नैनकला ओझा भ्रमण दलमा परेका छन् । नेपाली कांग्रेसका राजेन्द्र केसी, पार्वती डिसी चौधरी, राजपाबाट निर्जला राउत र संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव भ्रमण दलमा परेका छन् । भ्रमण दलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुस्ताङ जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हमो गुरुङ पनि छन् । प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य र निजी चिकित्सक दिव्यासिंह शाह पनि अफिसियल टोलीमा छन् । मुख्य सचिव लोकदर्शन रेगमी,अर्थ सचिव राजन खनाल, परराष्ट्र सचिव शंकरदास बैरागी र वाणिज्य सचिव चन्द्र घिमिरे भ्रमण दलमा छन् । त्यस्तै चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलसहित दूतावासका अधिकारी थपिनेछन् । हिमालयन एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा पनि भ्रमण दलमा छन् । सोही एयरलाइन्सको विमान चार्टर गरेर प्रधानमन्त्री चीन जाँदैछन् । त्यस्तै उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसानका अध्यक्ष रमेश सिलवाल र महासचिव लोकवहादुर भण्डारी पनि प्रधानमन्त्रीको भ्रमण दलमा छन् । निजी क्षेत्रका विभिन्न संस्थामध्ये उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित ११ जना भ्रमण दलमा छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सहित ५ जना र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित ५ जना भ्रमण दलमा परेका छन् । निजी क्षेत्रका प्रतिनिधि निजी खर्चमै गएका हुन् ।

काम गर्नेलाई पुरस्कार, नगर्नेलाई दण्डित गर्छु : राज्यमन्त्री चौधरी

पोखरा, असार ४ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम कुमारी चौधरीले काम गर्ने कर्मचारीहरुलाई उत्साहित गर्न पुरस्कृत गर्ने र नगर्नेलाई निरुत्साहित गर्न दण्डित गर्ने बताउनु भयो । ४ नं प्रदेश भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयमा कृषि ,भुमि,पशुपक्षि र सहकारीका पश्चिमा अञ्चल क्षेत्रीय कार्यलय प्रमुखहरू,जिल्ला कार्यलयका प्रमुखहरु सँगको छ्लफलमा उक्त कुरा बताउनु भयो । काम पनि गर्नुस आफू मातहतकालाई अनुगमन , निरीक्षण पनि गर्नुस र परिणाम निकाल्ने गरि गर्नुस । मेरो साथ तपाईहरु सङ्ग हुने छ राज्य मन्त्री चौधरीले भन्नू भयो ।कृषकले पाउने सेवा सुबिधामा कुनै किसिमको कन्जुस्याइँ हुनुहुदैन । हामी सङ्ग भएको स्रोत र साधनलाई सही तरिकाले प्रयोग गर्नुस । तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो हामी सङ्ग सिमित रकम छ तर तेसलाइ हामी सही समय र सही तरिकाले उपयोग गर्नुस परिणाम अवस्य निस्किने छ । सबै कार्यलयका प्रमुखहरूले आ(आफ्नो कार्यलयहरुले गरेको काम बारे तथा चुनौती, सम्भावना र समस्याहरुको रिपोर्टिङ्ग गरेका थिए । छलफलमा ४ नं प्रदेश भुमी, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगर र सचिव शरदचन्द्र श्रेष्ठको समेत उपस्थित थियो ।

गृहमन्त्रीले मागे क्रसर उद्योगको विवरण

काठमाडौं, असार ४। गृहमन्त्री रामबहादुर थापाले मापदण्ड नपुगेका क्रसर उद्योगहरुको विवरण माग गरेका छन् । सोमबार गृह मन्त्रालयमा गृहमन्त्री थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले जिल्ला प्रशासनसँग क्रसरको विवरण पाँच दिनभित्र माग गर्ने निर्णय गरेको गृह मन्त्रीको सचिवालयले जनाएको छ । खानी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, तत्कालिन जिल्ला विकास समिति, स्थानीय तहहरुले अनुमति दिए अनुसार मापदण्ड पुगेको वा नपुगेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग पाँच दिनभित्र विवरण माग गरेका हुन् । सो बैठकले किसानको उखुको मूल्य नदिने चिनी उद्योगकलाई पनि कारबाही गर्ने तयारी गरेको छ । सुनसरी, सिरहा, सर्लाही, बारा, पर्सा, नवलपरासीलगायतका जिल्लामा उखुको रकम भुक्तानी नगर्ने उद्योगलाई प्रमुख जिल्ला अधिकारीले बोलाइ छलफल गरी तत्काल रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । उद्योगीहरुले तत्काल कृषकको रकम दिन नमानेमा कानुन कमोजिम कारवाही गर्नेबारेमा सात दिनभित्र गृह मन्त्रालयमा सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित

काठमाडौं, असार ३ । मन्त्री संसद बैठकमा उपस्थित नभएपछि सदन स्थगित भएको छ । विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको छलफल चलिरहेको थियो । नेपाली कांग्रेसका अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थित नभएकाले बैठकको कुनै औचित्य नहुने जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

विशेष आर्थिक क्षेत्रमा विजुलीको अभाव हुँदैन : कुलमान घिसिङ

काठमाडौं, असार ३ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने बताएका छन् । निर्देशक घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणले आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको पनि स्मरण गराए । प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे । सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दावी छ ।

राज्यको अपेक्षा पूरा गर्ने कार्यक्रम भएन : डा भट्टराई

पोखरा, असार ३ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको परम्परागत बजेटले राज्यको अपेक्षा पूरा हुन नसक्ने बताउनुभएको छ । प्रेस क्लब पोखराद्वारा आज आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारको नीति तथा कार्यक्रमले आर्थिक क्रान्तिमा परिवर्तन नदेखाउने बताउँदै परम्परालाई धान्ने किसिमबाट आएको बजेटले मुलुकको समृद्धि र विकासका अपेक्षा सम्बोधन गर्न नसक्ने विचार व्यक्त गर्नुभयो । “ दुई सय वर्ष पछाडि परेको नेपाललाई २० वर्षमा परिवर्तन गर्न आवश्यक भए पनि वर्तमान सरकार त्यस अनुरुप अघि बढ्न सकेको छैन”, पूर्वअर्थमन्त्रीले भन्नुभयो, “बजेटबाट निजी क्षेत्र उत्साहित बन्न सकेको छैन, राज्यको दायित्वमा रहेका शिक्षा, स्वास्थ्य र कृषि लगायत क्षेत्रलाई पनि परिवर्तन गर्ने लक्षण देखिएको छैन । ” विश्वमा औसत प्रतिव्यक्ति आय वार्षिक रु दश हजार रहेको अवस्थामा हामी एक हजारमा खुशी भएको बताउँदै डा भट्टराईले आउने बीस वर्षमा विश्वकै हाराहारीमा पुग्न हामीले औद्योगिक तथा कृषि क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो । कम्युनिष्टले जनताकै हितमा काम गर्ने अपेक्षा रहे पनि उनीहरू राज्यसत्ताको दोहन र सुविधा लिएर मोजमस्तीमा जीवन बिताउन थालेको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।

अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक बस्दै

काठमाडौँ । संघीय संसदको संयुक्त बैठक आइतबार बस्दै छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संयुक्त बैंठक बस्ने भएको हो । संयुक्त बैठकले संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्नेछ । संविधानको धारा ६६ को उपधार २ बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठक आइतबार आह्वान गर्नुभएको थियो । गत सोमबार संयुक्त बैठक बोलाइए पनिक बैठक आह्वान बारे कानूनी प्रावधान नभएकाले राष्ट्रपतिमार्फत बैठक बोलाउन आग्रह गरिएको थियो । यसैबीच, आज प्रतिनिधिसभामा ३ वटा मन्त्रालयगत विनियोजन बजेटमाथि छलफल हुनेछ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुने छ । छलफलपछि सभामुखले संयुक्त बैठकको बारेमा जानकारी गराएर अपरान्ह् ४ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

झापाका किसानले किन बगाए सडकमा दूधको खोला ?

झापा, असार ३ । दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् । शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर किसानले विरोध जनाएका हुन् । लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका किसान दूध बिक्न छाडेपछि निराश बनेका छन् । नेपाल बहुद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित डेरी उद्योगले किसानले उत्पादन गरेको दूध खरिद गर्न छाडेको हो । दूध उत्पादन गर्न भन्दै गाई-भैँसी खरिदका लागि सहकारीले शरणामतीका किसानलाई ऋणसमेत उपलब्ध गराएको थियो । तर, अहिले सोही सहकारीद्वारा सञ्चालित डेरीले दूध खरिद गर्न छाडेपछि किसानले दूध सडकमा पोखेर विरोध जनाएका हुन् । किसानलाई लगानी डुब्ने चिन्ता ‘सहकारीले ऋण दिएर गाई किन्न भन्यो, गोठ बनाउन लगायो, घाँसको बिउ किन्न लगायो, हामीले एक-एक बिघा जमिनमा घाँस रोप्यौँ,’ स्थानीय किसान ओमप्रकाश अधिकारीले भने, ‘अहिले सहकारीले दूध लिन छाड्यो, हामी ठूलो समस्यामा प(यौँ ।’ अधिकारीले सातवटा गाई पालेका छन् । दैनिक २० लिटर दूध उत्पादन हुन्छ । तर, केही दिनयता दूध बिक्न छाडेपछि उनी चिन्तित छन् । बहुद्देश्यीय सहकारीले किसानलाई गतिलै सपना बाँडेर गाई पाल्न आग्रह गरेको थियो । उत्पादन भएजति सबै दूध खरिद गर्ने बाचा गरेको एनएमसी डेरी उद्योगले पछिल्ला केही दिनमा २५ प्रतिशत कटाएर दूध खरिद गर्न थालेको अर्का किसान मोहन भट्टराईले बताए । दूध खपत नहुँदा समस्या एनएमसीले किसानबाट दूध खरिद गर्न थालेको दुई वर्ष भयो । तर, अहिले आएर दूध खरिदमा आनाकानी गरेपछि आफूहरूलाई घाटा लागेको किसान प्रकाश थापाले बताए । एनएमसीका शरणामती कार्यालय संयोजक धनपति रिजालले जेठ–असारमा दूधको उत्पादन बढी, बजारमा खपत कम भएकाले समस्या आएको बताए । नयाँ पत्रिकामा खबर छ ।

स्थायी समिति बैठकमा चीन भ्रमणबारे ओलीको यस्तो ‘ब्रिफिङ’,

काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी ओलीले आपसी हितमा केन्द्रित हुने गरी सरकारले चीन भ्रमणको तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा चीन भ्रमणबारे ओलीले ‘ब्रिफिङ’ गरेका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले चीन भ्रमणमा हुने द्विपक्षीय छलफलका एजेन्डाबारे जानकारी गराएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए । क्रस बोर्डर रेलवे लाइन, क्रस बोर्डर हाइवे, क्रस बोर्डर कनेक्टिभिटी, पारवहन सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा हस्ताक्षर, मस्र्याङदीका तीन स्थानमा जलविद्युत् आयोजना निर्माण, पस्मिना, ऊनलगायतको निर्यात व्यापारसमेतका विषयमा द्विपक्षीय छलफल गर्ने गरी प्रस्तावको अन्तिम तयारी भइरहेकोबारे प्रधानमन्त्रीले ‘ब्रिफिङ’ गरेको पौडेलले जानकारी दिए । त्यस्तै, तिब्बतको प्रान्तीय सरकारसँगको सम्बन्ध विस्तारलगायतका विषयमा पनि छलफलको तयारी भइरहेको प्रधानमन्त्रीले सुनाएका थिए । ‘भ्रमणको तयारी राम्रो भएको र त्यसलाई आपसी हितका पक्षमा केन्द्रित गराउने काम भइरहेको जानकारी गराउँदै प्रधानमन्त्रीले भ्रमण सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको छ,’ बैठकपछि महासचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भ्रमणको तयारी र नेपालका प्रस्तावबारे नेताहरूलाई जानकारी गराएका थिए । प्रचण्डले भने एकतासहित जाँदा नेपाल विश्वकै लागि नमुना बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि मुलुकलाई समाजवादतर्फ लैजाने ठूलो सम्भावना देखिएकाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । ‘पार्टी एकतापछि नेपालमा वामपन्थी आन्दोलनको ठूलो सम्भावनाका बीचमा हामी उभिएका छौँ । त्यसैले, सम्हालिएर अघि बढ्न जरुरी छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने,‘हामीले जान्यौँ र ठीक ढंगले आन्दोलनलाई अघि बढाएर समाजवादतर्फ अघि बढ्यौँ भने नेपाल विश्वकै लागि वामपन्थी आन्दोलनको नमुना बन्न सक्छ, तर जानिएन भने बिग्रिएर कमजोर पनि बन्न सक्छ ।’ मन्त्री र सांसदबीच समन्वय र अन्तरक्रिया बढाइने बैठकले जनस्तरमा सरकारको कामको राम्रो प्रभाव परेको निष्कर्ष निकाल्दै मन्त्री र सांसदबीचको समन्वय र अन्तरक्रिया बढाउँदै जानुपर्नेमा जोड दिएको छ । यस्तै, अन्य विषयमा पनि आत्मसमीक्षा गर्दै अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुका साथै सरकारका कामहरूमा पार्टी पंक्तिलाई परिचालित हुन आह्वान गरेको छ,’ महासचिव पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । १५ दिनभित्र नियमावली पारित गरिने बैठकमा महासचिव पौडेलले एकतापछि भएका सांगठनिक कामबारे जानकारी गराएका थिए । एकीकरण प्रक्रिया ठीक ढंगले अघि बढेकाले अझ गतिका साथ अघि बढाउन बैठकले जोड दिएको छ । त्यस्तै, महासचिव पौडेल नेतृत्वको कार्यदलले बुझाएको नियमावलीमाथि स्थायी समिति सदस्यहरूले १० दिनभित्र सुझाब दिएपछि १५ दिनभित्र स्थायी कमिटीबाट पारित गर्ने निर्णय भएको छ । पुनर्निर्माणमा चिनियाँ सहयोगबारे छलफल भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणमा यसअघि चीनले जनाएको प्रतिबद्धता कार्यान्वयन र सहयोग रकम लिने विषयमा पनि छलफल हुने प्रधानमन्त्रीले बैठकमा जानकारी गराए । चीनले पुनर्निर्माणसँग सम्बन्धित राजधानी काठमाडौंसहित उत्तरी क्षेत्रका २५ परियोजनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसअन्तर्गत पूर्वाधार पुनर्निर्माण, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण, प्रकोप नियन्त्रण तथा रोकथामका लागि सहयोग, जनस्वास्थ्यका क्षेत्र छन् । नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रकवि घिमिरे अस्पतालबाट घरफिर्ता

काठमाडौं, असार २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उहाँका छोरा इन्दीवरले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । “उहाँको सानो आन्द्राबाट भएको रक्तश्राव रोकिनुको साथै निमोनिया पनि पूर्णरुपमा निको भएको छ”–उहाँले भन्नुभयो, “चिकित्सकको सल्लाहमा पुनः एक हप्तापछि उहाँको स्वास्थ्य परीक्षण गर्ने तय भएकाले अहिले नेपाल नआई दिल्लीमा नै बस्नु भएको छ ।” उहाँका अनुसार राष्ट्रकवि घिमिरे अहिले भारतस्थित नेपाली राजदूतावासमा बस्नु भएको छ । मेदान्त अस्पतालबाट उपचार गराएर आउनुभएका राष्ट्रकवि घिमिरेको पुनः सानो आन्द्राबाट रक्तस्राव हुन थालेपछि पुनः गत जेठ २१ गते उहाँ मेदान्त अस्पताल भर्ना हुनुभएको थियो । यसअघि उहाँलाई जेठ ९ देखि १९ गतेसम्म मेदान्त अस्पतालमै उपचार गराइएको थियो । उहाँको चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरेको थियो । राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तस्राव भएपछि अस्वस्थ हुनु भएको थियो । शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउनु भएको घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो ।

ज्ञानु र प्रकाश दाहालको स्मृतिमा ‘बृहत निशुल्क स्वास्थ्य शिविर’

काठमाडौं, असार २ । दिवंगत ज्ञानु र प्रकाश दाहालको स्मृतिमा ज्ञानु दाहाल मेमोरियल ट्रष्ट नेपालले आगामी असार ५ गते चितवनमा ‘बृहत निशुल्क स्वास्थ्य शिविर’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका बडा नं १४ शिवनगरमा असार ५ गते हुने बृहत निशुल्क स्वास्थ्य शिविरमा पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ चेक जाँच गरिने छ । शिविरमा विरामीलाई औषधि निशुल्क वितरण गरिने शिविर संयोजक सरस्वती दाहाल अधिकारी (सरु) ले जानकारी दिइन । ज्ञानु दाहाल क्यान्सर मेमोरियल ट्रष्ट नेपालकाे आयोजना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा गर्न लागिएको शिविरको संयोजन भने भरतपुर महानगर वडा नं १४ ले गरेको हाे । बृहत निशुल्क स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अथिति भरतपुर महानगर प्रमुख रेणु दाहालले गर्ने कार्यक्रम छ । असार ५ गते (मंगलबार) विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुने बृहत निुशल्क स्वास्थ्य शिविरमा उपस्थिति भई स्वास्थ्य चेकजाँच गरि यथोचित लाभ लिन आयोजकले सम्पूर्ण महिलाहरुलाई अनुरोध गरेकाे छ । ज्ञानु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डकी जेठी छोरी हुन । उनको क्यान्सरबाट केही समय अघि असामयिक निधन भएको थियो । भने प्रकाश प्रचण्डका एक मात्र छोरा हुन । उनको गएको मंसिरमा हृदयघातबाट निधन भएको हो । प्रकाश ततकालिन नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन ।

महामन्त्री शशांक र शेखरबीच गोप्य छलफल

काठमाडौं, असार २ । नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइराला केन्द्रीय सदस्य डा शेखर कोइरालाबीच समसामयिक विषयमा छलफल भएको छ । उनीहरुबीच शनिबार महामन्त्री निवास टोखामा कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको गुटबन्दीबाट पार्टीलाई कसरी जोगाउने भन्नेबारे लामो छलफल भएको बताइएको छ । कांग्रेसभित्र महामन्त्री कोइरालाले आफू गुटबन्दीको अन्त्य र पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका छन्। यता डा शेखरले पनि गुटको विरोध गर्दै आएका छन्। गुटबन्दीकै विषयलाई लिएर शेखरले सभापति शेरबहादुर देउवाको कार्यशैलीको कडा आलोचना गर्दै आएका छन्। महामन्त्री शशांकले देउवाकै पक्ष लिएको भन्दै आरोप लागिरहेको बेला दुबै नेता फरकफरक कित्तामा उभिएको देखिन्छ। तर, यी दुई नेताले आफूहरु फरकफरक कित्तामा नरहेको दाबी गर्दै बेलाबेला यस्तो भेटघाट गर्दै आएका छन्।

जग्गा कारोबारीको सम्पत्ति छानबिन हुन्छ : मन्त्री खनाल

काठमाडौं, असार २ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई बाँझो रहन र खण्डीकरण हुनबाट रोक्न गोप्य परामर्श गर्नुपरेको अधिकारीहरु बताउँछन् । औद्योगिक, व्यवसाय, बसोवास र खेतीयोग्य गरी चार भागमा जमिनको वर्गिकरण गर्ने प्रारम्भिक छलफल भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीका प्रेस संयोजक बाेमलाल गिरीले बताउनुभयो । केही भू–माफियाले वित्तीय संस्थालाई आफ्नो पक्षमा आर्कषण गरी कर्जा लगानी गर्न उत्साही गर्ने र खेतीयोग्य जमिनलाई रातारात पल्टिङ गरी बिक्री वितरण गर्ने सोचलाई रुपान्तरण गर्ने अभिप्रायबाट सरकारले जग्गाको वर्गिकरण शुरु गरेको हो । ‘धेरैजसो मानिस गाउँबाट शहरमा बसाइँ सरेका छन्, शहरमा रम्ने बाबुआमाका अधिकांश छोराछोरी वैदेशिक रोजगारमा हुन्छन्’ । “भू–माफियाले वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उपयोग गरी जमिन टुक्राउने धन्दालाई निरन्तरता दिएको पाइन्छ । भू–माफियाले मालपोतका कर्मचारीलाई आफ्नो नजिकको सुत्र बनाएका छन्,” कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भन्नुभयो । जग्गा खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यबाट माफियाले मालपोतमा काम गर्ने कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी जग्गाधनीका सिधैँ पुग्ने सम्पर्क सुत्र प्रयोग गरेको मन्त्रालय सुत्रले जनाएको छ । मन्त्री खनालले जग्गा कारोबारीले आर्थिक प्रलोभनमा पारेर कर्मचारीबाट राजश्वसमेत घटाउन लागि परेका हुन्छन् भन्दै त्यस्ता कर्मचारीलाई कानून बमोजिम कारबाही गर्ने र जग्गा कारोबारीको सम्पत्तिसमेत छानबिन गर्ने बताउनुभयो । जग्गा खण्डीकरणले खेतीयोग्य जमिन नाश हुनगई कृषिमा परनिर्भरता बढेको छ । गाउँका मानिस शहरमा बसाइँ सरेका छन्, भने युवाजति वैदेशिक रोजगारमा, त्यसैले व्यापक जमिन बाँझो हुन गएको छ । कूल खेतीयोग्य जमिनको दुई करोड ६० लाख रोपनी जमिन बाँझो छ । हाल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । कृषिविज्ञ कृष्ण पौडेलले भन्नुभयो, “भूमि राज्यको हो, नागरिकलाई उपयोगको हिस्सा मात्र वितरण गर्ने हो, उर्वर जमिनलाई बाँझो राख्न नपाइने कानुन आवश्यक छ ।” खेतीयोग्य जमिन बाँझो राख्न नपाइने, जग्गााधनीले बाँझो जमिनलाई उपयोग गर्न दिनुपर्ने, आवासीय भूमिमा कर बढाउनुपर्ने र कृषियोग्य जमिनमा घर बनाउन नपाइने विषय ऐनमा समेट्नुपर्ने आवश्यकतामाथि विज्ञहरुले जोड दिएका छन् । छैठौं कृषिगणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेश गर्न नपाएको उल्लेख छ । कृषि मजदुर, भूमिहीन र सिमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानको हातमा जमिन छैन । गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकोमा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मानिर्भर रहेको जनाएको छ । ४२ प्रतिशत कृषकले कृषि कर्म गर्न ऋण उपलव्ध नभएको उल्लेख छ । खेतीको अलवा ५८ लाख २६ हजार ४४० ९हेक्टर० क्षेत्रफल वन जंगल र एक हजार ५६० झाडी, चरिचरनको क्षेत्र १७ लाख ६६ हजार, पानीले ओगटेका क्षेत्रफल तीन लाख ८३ हजार तथा सिमसारलगायत अन्य २६ लाख २० हजार गरी कूल एक लाख ४७ हजार १८१ वर्ग किमी जमिन छ ।