चिनियाँ कम्पनीसँग भए यस्ता यस्ता सम्झौता

बेइजिङ, असार ६ ।  नेपाल तथा चीनका सरकारी तथा निजी कम्पनीहरूबीच विभिन्न आठ परियोजना निर्माण गर्ने सम्बन्धमा समझदारी एवम् सम्झौता भएको छ ।

हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग जस्ता परियोजनामा सम्झौता भएको हो ।

बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेको हो ।

सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी गर्नेछ । सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ । धादिङमा रहेको चुनढुङ्गा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ ।

यस्तै, पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यस्तै, फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो परियोजनामा ४६ मिलियन डलर लगानी गरिनेछ ।

यस्तै, १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यसैगरी, ४०.२७ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुईलाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु या बीच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस्तै, कूल ६०० मेगावाट क्षमताको मर्स्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि फ्रेमवर्क एग्रिमेन्ट भएको छ । बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच सम्झौता भएको छ ।

यसैगरी, ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीबीच सम्झौता भएको छ ।

 

नेकपाका कारण संविधान र प्रजातन्त्र धरापमा : देउवा

हेटौँडा, असार ५ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको आरोप लगाउनुभएको छ । काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको आज हेटौँडामा उद्घाटन गर्दै उहाँले सरकारले संवैधानिक अंग, प्रशासनिक निकायमा राजनीतिकरण गर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एकढिक्काको साथ राष्ट्रिय अभियानमा समाहित हुन जिल्ला सभापतिहरुलाई आह्वान गर्नुभयो । सभापति देउवाले प्रजातान्त्रिक चरित्र र संस्कारलाई दिगो व्यवस्थापन गर्न काँग्रेसको नेतृत्व परिवर्तन हैन कार्यकर्ताबीच जनमुखी सेवाभाव र व्यावहारिक हुनेतर्फ आफै परिवर्तन हुनुपर्नेमा सचेत गराउनुभयोे । गुटको नेतृत्व गर्दिनः नेता पौडेल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको नेपाली काँग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा विगत निर्वाचनमा पराजय भोग्नु परेको तथ्यलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो । नेतृत्वले नै गुटबन्दी गर्न उपयुक्त नहुने विचार व्यक्त गर्दै उहाँले अब आफूले कुनै गुटको नेतृत्व नगर्ने घोषणा गर्नुभयो । मुलुक, जनता र प्रजातन्त्रलाई दिशाबोध गर्न भावनात्मक रुपमा हृदय परिवर्तन गरेर अब सधैँका लागि काँग्रेस एक भएको खाका तयार गर्न जिल्ला सभापतिहरुलाई आग्रह गर्नुभयो । सभामा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेस एकजुट भएको विश्वास जनता माझ पु¥याउन नेताहरु नै विवेकशील बन्नुपर्ने बताउनुभयो । उहाँले प्रजातान्त्रिक शक्तिबीच सहकार्य गरी प्रजातन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा क्रियाशील हुन आफूमा रहेको हिनताको भावनालाई त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उपसभापति विमेलन्द्र निधि र महामन्त्री डा शशांक कोइरालाले संसदीय प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रताको साथै प्रेस स्वतन्त्रतामाथि पनि वर्तमान सरकारले उपेक्षाभाव प्रदर्शन गर्न थालेकामा आपत्ति जनाउनुभयो । उहाँहरुले मुलुकलाई दिगो शान्ति, राजनीतिक स्थायित्व प्रदान गर्न काँग्रेसको नेतृत्व कुशल, पारदर्शी हुनुपर्ने बताउनुभयो । तीन दिनसम्म चल्ने भेलामा सभापति देउवा, वरिष्ठ नेता पौडेल, संसदीय दलका उपनेता गच्छदार, नेता कृष्णप्रसाद सिटौला, डा रामशरण महत, डा प्रकाशशरण महत, अर्जुन नरसिंह केसीलगायतले राजनीतिक एवं संगठनात्मक प्रशिक्षण दिनु हुनेछ । साँझदेखि बन्दसत्र जिल्ला सभापतिको भेलाको आजै साँझबाट बन्दसत्र शुरु हुने काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाले जानकारी दिनुभयो । भेलामा नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, ७७ जिल्लाका सभापति, प्रदेश ३ का प्रदेशसभा सदस्य र पर्यवेक्षक गरी ५७५ प्रतिनिधिको सहभागिता रहेको नेका मकवानपुरले जनाएको छ ।

नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गर्दैछौं : स्वास्थ्यमन्त्री यादब

वीरगञ्ज, असार ५ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण भ्रमण गरेका छन् । मंगलबार अस्पातल निरीक्षणपछि कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री यादवले देशकै पुरानो अञ्चल अस्पताल भएपनि समयानुसार आवश्यक भौतिक संरचना र उपकरणहरुको व्यवस्था नहुँदा सेवाप्रवाह प्रभावकारी हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । विरामीको बढ्दो चाप, पर्याप्त जनशक्ति नहुनु र भौतिक संरचना नहुँदा नारायणी अञ्चल अस्पतालले जुन समस्या व्यर्होदै आएको छ त्यसप्रति आफू गम्भीर रहेको पनि स्वास्थ्यमन्त्री यादवले बताए । मन्त्री यादवले चाँडै नै नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गरिने पनि जानकारी दिए । स्वास्थ्य क्षेत्रमा नयाँ स्वास्थ्य नीति र नयाँ स्वास्थ्य कार्यक्रम तर्जुमा गर्ने तयारी भईरहेको जनाएका स्वास्थ्य मन्त्री यादवले नारायणी अञ्चल अस्पतालबाट थप सेवा सुविधा उपलब्ध गराउन भएकै संरचनालाई व्यवस्थित गर्ने र नयाँ संरचनाहरु खडा गर्नु अपरिहार्य भईसकेको पनि बताए । उनले नारायणी अञ्चल अस्पताल जनसंख्याको चाप अनुसार साँघुरो भईसकेको भन्दै अस्पतालको विकासका लागि वैकल्पिक ठाउँको आवश्यकता पनि औंल्याए । स्वास्थ्यमन्त्री यादवले अस्पतालमा भएका सिमित उपकरणहरु र ल्याबका बाबजुद पनि स्वास्थ्यकर्मीहरुले उच्चतम सेवा पु¥याईरहेको भन्दै प्रशंसा पनि गरेका थिए ।

प्रधानमन्त्री ओली बेइजिङमा

बेइजिङ, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आउनुभएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । बेइजिङ उत्रेपछि प्रधानमन्त्री ओली यहाँस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभयो । भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी हुनुहुन्छ ।

भूकम्पमा आमा गुमाएका तीन बालबालिकालाई राहत

चरिकोट । वि.सं. २०७२ बैशाख २९ गतेको भूकम्पमा आमाको मृत्यु भएका एकै परिवारका तीन बालबालिकालाई नगदसहित पाठ्य सामग्री र झोला प्रदान गरिएको छ । राष्ट्रिय समाचार समितिका जिल्ला समाचारदाता र गोकर्णप्रसाद भण्डारी आफ्नै पहलमा संकलन गर्नुभएको रु ६० हजारसहित पाठ्य सामग्री र स्कूल झोला आज हिमालय मावि चिलंखामा विद्यालयका शिक्षक–शिक्षिका र वडाध्यक्ष मधुकर गुरुङको रोहबरमा ती बालबालिकाका बुबा कृष्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको हो । पत्रकार भण्डारीले आमाको मृत्यु भएको र बुबाको शारीरिक अवस्था कमजोर भएका कारण उनीहरुका तीन छोराछोरीको पढाइ नबिग्रियोस् भनेर सहयोगका लागि पहल गरेको बताउनुभयो । उक्त कार्यका लागि अल्पाइन पब्लिक स्कूल चरिकोटका प्रिन्सिपल उद्धव थापाले रु १७ हजार ५००, द राइजिङ स्टार बोर्डिङ स्कूलका प्रिन्सिपल उपेन्द्र अधिकारीले रु १७ हजार, झापा दमक नगरपालिका घर भएका भीमेश्वर नगरपालिकाका स्रोत व्यक्ति सोम तिवारीले १५ हजार, कालिञ्चोक गाउँपालिका वडा नं ८ सुनखानी मलेपुकी समाजसेवी बिन्दिया खड्काले रु पाँच हजार, शैलुङ गाउँपालिका वडा नं ६ भुसाफेदाकी अहेव शशी लामाले रु पाँच हजार र पाठ्य सामग्री, गोरखा जिल्ला पालुङ्टार घर निवासी हाल चरिकोटमा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आउनुभएकी आचार्य बुक्स एण्ड स्टेशनरीकी सकुन्तला आचार्यले एक वर्षका लागि कापी र कलमसहिका सामग्री र चरिकोट सातदोबाटो चोकमा रोयल क्याफेका सञ्चालक पुस्कर अधिकारीले झोला प्रदान गर्नुभएको थियो उक्त भूकम्पमा परी आमा दुर्गा खड्कालाई गुमाएका र बाबु कृष्णबहादुर खड्काको कमजोर शारीरिक अवस्थाका कारण १२ वर्षीया रञ्जिता खड्का, १० वर्षीय रवीन्द्र र पाँच वर्षीया सञ्जिताको पठनपाठनका लागि समस्या भएपछि फेसबुकमार्फत पत्रकार भण्डारीले सहयोगका लागि पहल गर्नुभएको थियो कार्यक्रममा वडाध्यक्ष मधुकर गुरुङ, पत्रकार उषा तामाङ, श्रीजन घिमिरे, समाजसेवी बिन्दिया खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

डा. देवकोटाको पशुपतिमा अन्त्येष्टी, श्रीमति र छोरीले दिए दागवत्ती

काठमाडौं, असार ५ । सोमबार निधन भएका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पत्नी डा मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिए । पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा उनको दाहासंस्कार गरिएको हो । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्यामा पशुपति आर्यघाट पनि पुगेको थियो । डा देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डा। बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए । पित्तनलीमा क्यान्सर भएका  ६५ वर्षीया देवकोटाको उपचारका क्रममा वाँसबारी न्यूरो अस्पताल सोमबार बेलुका निधन भएको थियो ।

प्रदेश सभाको बैठक खुलाउन काँग्रेस सहमत

बुटवल । प्रदेश नं– ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस मंगलबार सहमत भएको छ । बुटवलस्थित प्रदेश नं– ५ का मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने सहमति भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले कानून मन्त्रीले सम्बोधन गरेपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने जानकारी दिँदै पोके बजेटले बेथिति ल्याउछ भन्न खोजेका हौं भन्नुभयो । सोमबार स्थगन भएको प्रदेशसभाको बैठक आज १ बजे बस्दैछ । बजेटमा असहमति जनाउँदै विपक्षी काँग्रेसले बैठक सञ्चालनमा अबरोध प¥याएको थियो । रासस

माइत बसेकी छोरी बाबुद्वारा बलात्कृत

बर्दिया, असार ५ । बढैयाताल गाउँपालिका—८ मा छोरीलाई बलात्कार गरेको आरोपमा बाबुले पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले १९ वर्षीया विवाहित छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । माइत बसेकी छोरीलाई गएको वर्ष कार्तिकदेखि उनले पटक पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । श्रीमान् विदेश गएपछि माइत बसेकी छोरीलाई बाबुले जवरजस्ती करणी गर्दे आएको प्रहरीको दाबी छ । थाइराइडकी बिरामी छोरीलाई बलात्कार गरेपछि सात महिनाको गर्भ रहेको प्रनि महताले बताए । श्रीमान् विदेशबाट फर्केपछि बाबु विरुद्ध छोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

न्यायिक समितिका संयोजकका लागि दुई दिने अभिमुखीकरण

पोखरा । प्रदेश नं. ४ भित्रका स्थानीय तहका न्यायिक समिति संयोजकका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यशाला आजदेखि पोखरामा शुरु भएको छ । स्थानीय तहमा न्यायिक समितिको प्रभावकारिता अभिवृद्धिका साथै जनताले सामाजिक न्यायका क्षेत्रमा गरेका अपेक्षालाई पूरा गराउन सहयोग पुर्याउने उद्देश्यका साथ कार्याशाला आयोजना गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले सर्वसाधारणलाई सामाजिक न्यायको प्रत्याभूति हुनु आवश्यक भएको बताउँदै कुनैपनि व्यक्तिले आफू उत्पीडित बनेको महसुस नगर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । संघीय व्यवस्था अनुसार तीन तहको सरकार भएको बताउँदै उहाँले व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका सहितको व्यवस्था अहिले अभ्यासका क्रममा रहेको उल्लेख गर्नुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलका अनुसार प्रदेशभित्रका ८५ वटा स्थानीय तहका न्याययिक समितिका संयोजकको कार्याशालामा सहभागिता छ । दुई दिने कार्यशालामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धर्मराज कुइँकेल, जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिवक्ता हरिप्रसाद पण्डितले मेलमिलापका चरण एवं अभ्यास, जिल्ला अदालत र स्थानीय निकायबीच समन्वय, न्यायिक समितिका काम कर्तव्य अधिकार लगायतका विषयमा प्रशिक्षण दिनुहुनेछ । रासस

हजारौंलाई पुनर्जन्म दिएका चिकित्सक देवकोटाको अत्येष्टि गरिँदै

काठमाडौँ । हजारौँ बिरामीलाई पुनर्जन्म दिनुभएका एक चिकित्सकले क्यान्सरसँगको छ महिना लामो लडाइँपछि मृत्युवरण गर्नुभयो । पुष्पगुच्छाले झपक्क सजाइएको टेबल । त्यसमाथि ढाका टोपी पहिरिएर शान्त चिर निद्रामा निदाइरहेका एशियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा देवकोटा । नेपाल मात्र होइन दक्षिण एशियामै ख्याति कमाउनुभएका डा उपेन्द्र देवकाटाले सोमबार अन्तिम सास फेर्नुभयो । बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा राखिएको उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शोकाकुल शुभचिन्तकको घुइँचो थामिसक्नु थिएन । नियतिको खेल पनि बुझिनसक्नु हुन्छ । चिकित्सकीय क्षेत्रमा दुर्लभ विधा मानिएको स्नायु उपचार सेवाका प्रतिभावान् चिकित्सकलाई रोग त त्यो पनि दुर्भल पित्त नलीको क्यान्सर । छ महिनाअघि रोग देखिएपछि परिवारले उहाँलाई अब्बल बनाएको देश बेलायत पु¥याएको थियो । तर, जीवनका अन्तिम दिनहरु नजिकिएको पूर्व जानकारी पाइसकेका डा देवकोटा अन्तिम सास स्वेदशकै माटोमा फेर्न चाहनुहुन्थ्यो । गत वैशाख १५ गते पुनः स्वदेश ल्याइएपछि उहाँलाई आफ्नै अस्पतालमा उपचारका लागि राखिएको थियो । उहाँको जीवन फर्काउन दिनरात खटिएका उहाँका शिक्षार्थी न्यूरो अस्पतालका चिकित्सक डा मयुस मुनंकर्मीले डा देवकोटा आफैँ बिरामी र आफैँ चिकित्सकको भूमिका निर्वाह गरेको सम्झनुहुन्छ । “आफूलाई के भइरहेको छ, के चाहिएको छ उहाँले नै भन्नुहुन्थ्यो, उहाँमा मृत्युले कुरिरहेको छ भन्ने जान्दाजान्दै पनि अनौठो आत्मविश्वास थियो, जुन हाम्रा लागि अनुकरणीय थियो”, उहाँले भन्नुभयो । “बिरामीप्रतिको लगाव, आफ्ना अग्रज, सहपाठी, जुनियर चिकित्सकलाई सधैँ माया, सम्मान गर्ने कुरा हामीले उहाँबाट सिक्यौँ,” डा मुनंकर्मी भन्नुहुन्छ । जीवन यात्रामा अनेक साथी भेटिन्छन् । कोही आत्मीय बन्छन् । कोही बीचमै हराउँछन् । तर बालसखा जीवनभरि उस्तै रहन्छन् । आफ्ना बालसखाको अन्तिम बिदाइ गर्नुपर्ने दिन यति छिट्टै आउँला भनेर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कल्पना पनि गर्नुभएको थिएन । आफ्ना विधामा दुवै अब्बल । “मैले मेरा बालसखा गुमाएँ, उनीसँगका हरेक पलहरु सम्झनामा समेटिए, उनको मलाई जीवनभर अभाव खट्किरहने छ,” उहाँले शोकविह्वल हुँदै भन्नुभयो । डा देवकोटाले ३५ वर्ष अगाडि नेपालमा नभएको दुर्लभ र जटिल मानिएको स्नायु सेवा शुरु गर्नुभएको हो । नेपालमा उहाँको नाम जति सम्मान र गर्वका साथ लिने गरिन्छ दक्षिण एशियाली मुलुकमै पनि उहाँ उत्तिकै लोकप्रिय भएको वरिष्ठ जनरल सर्जन धु्रव मुडवरीको अनुभव छ । “यत्तिको दृढ, आत्मविश्वासी र कठिन परिस्थितिमा विचलित नहुने प्रतिभावान्, आफ्ना गुरुहरुलाई गर्ने सम्मानले मन सधँै खुशी हुन्थ्यो, फेरि यस्तो व्यक्ति देशले पाउन वर्षौंवर्ष लाग्नेछ,” उहाँले भन्नुभयो । डा मुडवरीलाई डा देवकोटाले परिवारको सदस्य बनाउनुभएको थियो । बिरामीप्रतिको इमान्दारिता र समग्र स्वास्थ्य सेवामा चिन्ता गर्ने स्वभाव कमैमात्र व्यक्तिमा हुन्छ भन्ने डा मुडवरीलाई लाग्छ । छोटो समयका लागि स्वास्थ्यमन्त्री बन्नुभएका देवकोटाले चाहने हो भने छोटो समयमा उत्कृष्ट काम गर्न सकिन्छ भन्ने नजिर बसालेको प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला सम्झनुहुन्छ । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा कोइराला र डा देवकोटा पनि मन्त्री हुनुहुन्थ्यो । प्रदेश प्रमुख कोइरालाले देवकोटाका बारेमा कुरा गर्दै गर्दा उहाँको शोक आँशु बनी बगिरहेको थियो । नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसले उहाँजस्तो प्रतिभावान् व्यक्ति कमैमात्र जन्मिने बताउनुभयो । राससलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “उहाँ सफल, मेहनती, इमान्दार चिकित्सक हुनाका साथै असल व्यक्ति पनि हुनुहुन्थ्यो, उहाँको अभाव खट्किरहने छ ।” आँखाको उपचार सेवामा समर्पित डा सन्दीप रुइत देवकोटा अनुशासित पेशाका उत्कृष्ट व्यक्ति भएको स्मरण गर्नुहुन्छ । “नेपाली हुँ, नेपाललाई कसरी अगाडि बढाउनुपर्छ भन्ने उहाँमा सोच र भावना थियो,” उहाँले भन्नुभयो । चर्चित चिकित्सक एवं देशभक्त देवकोटा समाजमा लोकप्रिय हुनु स्वाभाविक हो । तर २७ वर्षभन्दा बढी समय उहाँलाई खाना पकाएर खुवाउने कान्छी थापाको मनमा पनि उहाँप्रतिको आस्था भने कम छैन । “मलाई त आमा भन्नुहुन्थ्यो, काम गर्ने भनेर उहाँले रुखो व्यवहार गरेको सम्झना छैन, परिवार बाहिर जाँदा पूरै घरको जिम्मेवारी मलाई हुन्थ्यो, उहाँलाई गुमाउनुको पीडा बोलेर व्यक्त गर्न सकिँदैन”, कान्छी थापा भन्नुहुन्छ । डा देवकोटाको हिजो सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ः३५ मा निधन भएको हो । आज बिहान ८ः०० देखि १३ः०० बजेसम्म श्रद्धाञ्जलिका लागि अस्पतालमा पार्थिव शरीर राखिएको थियो । मृत्युको खबर सुनेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगी परिवारजनसँग भेट गर्दै समवेदना प्रकट गर्नुभएको थियो । श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेत्री हिसिला यमी, नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका नेता वामदेव गौतम अस्पताल पुग्नुभएको थियो । त्यस्तै, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, राप्रपाका नेता पशुपतिशमशेर राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, डा मोहनराज शर्मा, डा गोविन्द केसी र प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाप्रति श्रद्धान्जलि प्रकट गर्नुभएको थियो । डा देवकोटाका श्रीमती र तीन छोरी हुनुहुन्छ । डा देवकोटाको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिँदैछ । रासस

डा‍. देवकोटाको निधनले राष्ट्र र जनतालाई अपुरणीय क्षति : विप्लब

काठमाडौं, असार ५ । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार पार्टीका महासचिव विप्लबद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि चिकित्सा पेशामा रहि नेपाली जनताको सेवा गर्दै आउनु भएको विरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको असामयिक निधनले सिंगो राष्ट्र र जनतालार्य अपुरणीय क्षति पुगेको छ ।’ डा देवकोटा एक जनता चिकित्सकमात्रै नभएर देशभक्त, समाजसेवी, तथा नागरिक अगुवासमेत रहेका विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘देवकोटाको निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै उहाँको शोकसन्तप्त परिवारप्रति समवेदान व्यक्त गरिन्छ ।’

निगमको वाइडबडी विमान ‘अन्नपूर्ण’ असार १४ मा आइपुग्ने, यस्तो छ तयारी

काठमाडौं, असार ५ । नेपाल वायु सेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको वाइड बढी विमान यही असार १४ गते काठमाडौं आइपुग्ने भएको छ । नेपाल आउने तयारीमा रहेको सो विमानको हाल फ्रान्समा परीक्षण उडान भइरहेको छ । निगमले जहाज हाल परीक्षणमा रहेको र असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको जनाएको छ । निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान आइपुग्न लागेको उल्लेख गरेको छ । निगमले आगामी साउनको पहिलो सातादेखि व्यावसायिक उडान शुरु गर्ने तयारी गरेको छ । नयाँ विमान आइपुगेको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको अन्नपूर्ण जहाजका लागि नाइन एन एएलवाई कलसाइन दिएको छ । कूल २७४ सिट क्षमताको सो जहाजमा १६ वटा ‘विजनेस क्लास’ र बाँकी इकोनोमी सिट रहेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विमान अवतरण भएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान शुरु गर्नेछ । निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ एयरबस विमान खरिद गर्ने सम्झौता गरेको थियो । अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएको जहाज निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिइएको हो । दुईवटा जहाजको लागत रु २१ अर्ब ९० करोड छ । सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म आउने भनिएपछि दुई महिनाभन्दा बढी समय लागेको हो । नयाँ जहाज दोहा र दुबईमा उडाउने तयारी गरिएको छ । यस्तै निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ । दुई वर्ष पहिले अर्थात् सन् २०१६ मा अन्तर्राष्ट्रिय उडानतर्फ त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा बढी यात्रु बोकेको निगमले सन् २०१८ को तीन महिनामा आइपुग्दा तेस्रो स्थानमा पुगेको छ । सन् २०१७ मा निगम दोस्रो स्थानमा थियो । निगमकोे एयरबसमा आएको समस्याका कारण यात्रु संख्या गुमाएको हो । तर महाप्रबन्धक कंसाकारले नयाँ जहाज आएपछि नयाँ गन्तव्य पनि थपिने र यात्रुसमेत बढ्ने बताउनुहुन्छ । निगमले सन् २०१८ को तीन महिनामा ८९ हजार २१४ यात्रु बोकेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले नयाँ विमान आउनुअगावै आवश्यक कागजात र प्राविधिक तयारीको काम भइरहेको बताउनुभयो । उहाँले विमान अवतरण भएपछि गर्नुपर्ने कामबाहेक अरु सबै काम सकिइसकेको जानकारी दिनुभयो । सन् २०१७ मा निमगले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको छ । जहाज थपेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने तथा त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति समेत निगमको छ । पहिलो जहाज अवतरण भएको दुई महिनापछि अर्को जहाजसमेत आइपुग्ने निगमले जनाएको छ । निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले निगमको जहाज अवतरण भइसकेपछि आवश्यक सबै प्रक्रिया पूरा गरिने जानकारी दिनुभयो । निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चारवटा, एमए ६० दुईवटा तीनवटा ट्विनअटर विमान छन् । डेढ वर्षभित्र आठ विमान निगमले सेवा सुधारलगायतका कार्ययोजना तयार पारी आगामी डेढ वर्षभित्र थप आठ नयाँ विमान ल्याउने योजना बनाएको छ । निगमले थप दुईवटा ‘न्यारो बडी’ विमान ल्याउन अर्थमन्त्रालयसँग स्वीकृति मागेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक सेवा विस्तारका लागि नयाँ जहाज खरिद गर्न लागिएको हो । नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरी अन्तर्राष्ट्रियस्तरमा नै हवाई सुरक्षाको प्रत्याभूति गराउने निगमले जनाएको छ । सरकारले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखेको र सन् २०३० सम्म कूल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको हिस्सा २५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि कम्तीमा पनि ५० लाख पर्यटक भित्र्याउनुपर्ने देखिएको छ । पर्यटन भित्र्याउनका लागि राष्ट्रिय ध्वजाबाहक निगमलाई सबल र सक्षम बनाउनु जरुरी छ । सरकारले आगामी आवका लागि हवाई क्षेत्रमा मात्रै रु १९ अर्ब बजेट विनियोजन गरेको छ । सो बजेट हवाई पूर्वाधारको विकास, विमानस्थलको सुदृढीकरण तथा निर्माणमा रहेका विमानस्थललाई शीघ्र सम्पन्न गर्न खर्च गरिनेछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राष्ट्रिय ध्वजाबाहकलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको तर्फबाट हदैसम्मको प्रयास गर्ने बताउँदै आउनुभएको छ । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यसका लागि पनि सुरक्षित र भरपर्दो हवाई सेवाको जरुरी रहेको सरोकारवाला निकायको भनाइ छ । रासस

पोखरामा के गर्दै छन् कृषि राज्यमन्त्री चौधरी ? (फोटाफिचर)

पोखरा, असार ५ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीद्वारा मन्त्रालय मातहतका कार्यालय, अनुसन्धान केन्द्रहरुको अनुगमन निरीक्षणमा तिब्रता दिएकी छिन । त्यसै क्रममा पशुपन्छी बिभाग अन्तर्गतको पशु बिकास फारम पोखराको अवलोकन निरीक्षण गरेकी छिन । दुई हजार रोपनीमा फैलिएको फार्ममा २३० वटा भैंसी, १३० वटा सुंगुर, ११० भेडावटा , ३२०० सय माउ कुखुरा वर्षीया १ लाख ५० हजार चल्ला बिक्री बितरण गर्दै आएको छ । फार्मको विकास, उन्नत जातका बीउ प्रजजन गरार्र्इ बिऊ को रुपमा किसानलाई बितरन गरिनेछ । किसानलाई आवश्यक तालिम प्रदान गरि उत्पादन बिकासमा सहयोगका साथै अर्थोपार्जनमा बिध्दि गर्न मदत गर्ने गर्दछ । यसै क्रममा बेगनास र फेवा तालमा मत्स्य पालनको अनुसन्धान गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद अन्तरगतको बेगनास मत्स्य अनुसन्धान केन्द्रको पनि अनुगमन राज्य मन्त्री चौधरीले गरेकि छिन । केज माछा फार्मिङ्ग बिधि सम्बन्धी अनुसन्धान माछा बैज्ञानिकहरुले गरीरहेको छ । यो विधिबाट ठुल ठुला ताल पोखरीमा माछा पालन गरि किसानले अर्थोपार्जन गर्न सकिने छ । यसैगरि बागवानी अनुसन्धान केन्द्र पोखराको पनि अनुगमन राज्य मन्त्री चौधरीले गरेकी छिन । यहाँ विभिन्न प्रजातिका तरकारी बोडि ,सिमी ,बैगुन ,खुर्सानी र आँप ,कटहर, लिच्ची आदिको अनुसन्धान र बिकास गरिरहेको र बेर्ना किसानलाइ बितरण गर्दै आएका छ्न । यसले कृषि क्षेत्रमा धेरै ठुलो सहयोग पुगेको फार्मका प्रमुख तिर्थ पोखरेलले जानकारी दिनु भयाे ।

पोखरेलले पाए कार्यवाहक प्रधामन्त्रीको जिम्मेवारी

काठमाडौँ, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिनुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहनुभएकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ । -रासस

वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको राजकीय सम्मानका साथ दाहसंस्कार गरिने

काठमाडौं, असार ५ । प्रख्यात न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ दाहसंस्कार गरिने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बठैकले हिजो निधन भएका डा देवकोटालाई राजकीय सम्मान गर्ने निर्णय गरेको हो । नेपाली चिकित्सा क्षेत्रमा देवकोटाले गरेको योगदानको सम्मान गर्दै सरकारले यस्तो निर्णय गरेको हो । डा. देवकोटाको दाहसंस्कार आज हुँदै छ । न्युरो अस्पताल बाँसबारीका अनुसार उनको विद्युतीय मेसिनबाट दाहसंस्कार हुनेछ । श्रद्धाञ्जलीका लागि अहिले उहाँको पार्थिव शरीरलाई न्युरो अस्पतालको परिसरमा राखिएको छ । अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राती नै बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । यस्तै, पूर्वप्रधामन्त्री प्रचण्डले देशले ठूलो क्षती बेहोरेको भन्दै डा. देवकोटालाई श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । यस्तै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

फिटनेश टेस्ट पास गरे मात्रै मोहम्मद सालह खेल्न पाउने

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार हुने खेलमा इजिप्टका उत्कृष्ट खेलाडी मोहम्मद सालहले खेल्न नपाउने आशंका कायमै छ । किनकी उनले खेल्न चाहेमा फिटनेश टेस्ट पास गर्नुपर्ने छ । सालह बिनाको इजिप्ट आफ्नो पहिलो खेलमा उरुग्वेसँग अन्तिममा एक गोल खाँदै पराजित भएको थियो । तर सालह अब मंगलबार हुने रुससँगको दोस्रो खेलमा भने मैदानमा हुने इजिप्टको फुटबल एसोसिएसनले जनाएको छ । सालह पहिलो खेलमा बेन्चमा त थिए तर मैदानमा छिरेनन् । सालह च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडसँगको फाइनलको क्रममा चोटग्रस्त भएका थिए । उनको काँधमा समस्या देखिएको थियो । उनी अहिले पूर्ण रुपमा फिट भएको इएफएले जनाएको छ । २५ वर्षका सालह मे २६ मा चोटग्रस्त भएयता मैदानमा फर्किएका छैनन् । इजिप्टका प्रशिक्षक हेक्टर कुपरले भने, ‘सालह फिट छन् । आशा छ उनी खेल्न सक्ने गरी फिट भएका छन् । पहिलो खेलमा पनि उनी फिट भएको लागेको थियो तर अहिले अन्तिम फिटनेश टेस्ट बाँकी छ ।’ एजेन्सी