चारकिलोमा पहिरो, मुग्लिङ सडक अवरुद्ध

चितवन, असार १२ । नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो ।

पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन÷चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताउनुभयो । दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । -रासस

होमस्टेका लागि तयार ओकादी

भिरकोट नगरपालिका वडा नं.८ स्थित ओकादीमा होमस्टे संचालन गरिने भएको छ । शुक्रबार भिरकोट नगरपालिका नगर प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा ‘ओखति पानी तमु नासा घरवास’ नामकरण समेत गरिएको छ । स्थानिय युवा राजु गुरुङको अध्यक्षतामा होमस्टे संचालन समिति गठन गरिएको छ भने उक्त होमस्टेको संरक्षक भीरकोट नगरपालिका रहने छ। होमस्टेका लागि सम्भावित अध्यन र छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले इच्छाशक्ति र दृढ संकल्प रहेका तर, आर्थिक अवस्था कम्जोर भएका एवं न्युन स्थरका बर्गले समेत होमस्टे संचालन गर्न सक्ने र नगरपालिकाले त्यस्ता व्यक्तिलाई ऋण समेत उपलब्ध गराउने बताए । त्यस्तै यस क्षेत्रमा संचालित होम स्टेमा अत्यन्तै सस्तो र सुलभ मुल्यमा पर्यटकहरुले सुविधा लिन सक्ने भन्दै गाउँ घुम्न आउने पर्यटकहरुलाई स्वास्थ्य र सुरक्षाको समेत प्रत्याभूति दिनेछौं’ उहाँले भन्नुभयो । होमस्टे का लागि घरको सबै काम छाडेर लाग्नुपर्छ भन्ने सोचाई गलत हुनेतर्फ औंल्याउँदै नेपाल कै पहिलो ग्रामिण पर्यटकीय गाउँ सिरुवारिको उदाहरण दिदै स्थानीयले होमस्टे संचालन गर्नका लागि मानसिकरुपले आफू स्वयं तयार भई आफ्ना मौलिक पहिचान एवं संस्कृतिको विकास गर्दै अर्गानिक उत्पादनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । पर्यटन बोर्ड चार नं. प्रदेश प्रमुख सूर्य थपलियाले यसका चुनौती र फाइदाबारे स्पष्ट पार्दै होमस्टेमा राज्यको चासो रहेको र स्थानिय विकास र उन्नतिको राम्रो विकल्प रहेको बताए। त्यस्तै संस्कृतिविद् तुलसी खनालले खानपान, भाषा, भेषभुषा नै संस्कृति हो यसैमा शिष्टता प्रदर्शन गरेर मनबाट आफु तयार बने होमस्टे सहजरुपमा संचालन हुने बताए । होमस्टे अन्तरनिर्भरता हो । हामी हाम्रो संस्कृतिबाट अन्तरनिर्भर बनौं– उहाँले भन्नुभयो। शुभकामना मन्तव्यका क्रममा बोल्दै ओकादिका स्वास्थ्य स्वयम् सेविका मनमाया गुरुङले होमस्टे सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गर्दै गाउँका दिदीबहिनीहरु मिलेर सुन्दर होमस्टे बनाउने प्रतिबद्धता जनाउँदै शौचालय, खानेपानीको अवाभाको शीघ्र पूर्ति हुनेमा आशावादी रहेको बताइन् । होमस्टे महिलाहरुको पनि आयआर्जनको राम्रो स्रोत बन्ने भन्दै महिलाहरुलाई भाषाको विकासका लागि तालिमहरुको आवश्यकता रहेको बताइन। राज्यले कृषि पर्यटनतर्फ जोड दिन खोजेको बारे स्पष्ट पार्दै बनेका घरहरु त्यसै पुराना हुदै गएकाले त्यसलाई सामान्य मर्मत, शृंगार गरेर होमस्टे संचालन गर्न सकिने कार्यक्रममा बोलेका वक्ताहरुले बताएका छन् । प्राकृतिक स्रोत र साधनबाट सुविधायुक्त गाउँ ओकादिमा विकासका कार्य गर्दा गर्दै विविध कारणले ढिला हुन गएपनि आगामी भदौसम्म विधिवतरुपमा होमस्टे संचालन गरिसक्ने वडाध्यक्ष तनबहादुर गुरुङले बताए। बयरघारी बजारबाट करिब डेढ घण्टाको पैदल मार्गबाट सजिलै पुग्न सकिने ‘ओखती पानी तमु नासा होमस्टे’ अन्तर्राष्ट्रिय महत्वको सुन्दर पर्यटकीय स्थल स्वरेक मैदानबाट नजिकै पर्दछ। ओकादिमा गडेरे गुफा, दफुर्का डाँडा, टोपी वन, पतलादेवी गुफा लगायत पूर्वतर्फ आँधीखोला उपत्यका र पश्चिमतर्फ पैयूँ खोला उपत्यकासहित सुन्दर पहाडी शृङ्खलाको अवलोकन गर्न सकिने छ । यस गाउँमा गुरुङ संस्कृतिअनुसारका अर्गानिक खानपान र गुरुङ नाचगानमा रमाउन पाइने छ । अत्यन्तै मिलनसार, इमान्दार र सहयोगी गुरुङ समाज निकै सुन्दर र व्यवस्थित पिकनिक स्थलसमेत रहेको छ । हाल होमस्टेका लागि २० वटा घरहरु होमस्टेका लागि प्रस्ताव गरिएको छ । पूर्खाहरुले ओखतीका रूपमा पिउने गरिएको विश्वास बोकेको ओकादी पँधेरोको स्वादिलो पानी लगायत अन्य धेरै विशेषता बोकेको यस गाउँलाई अन्तरनिर्भर बनाउने र यहाँको संस्कृतिलाई व्यवसायिक बनाउने काममा सबैको ध्यान पुग्नु जरुरी छ ।

लगातारको पहिरोले मुग्लिनमा यात्रुलाई सास्ती

चितवन, असार ११ । पटकपटक पहिरो खस्दा आज बिहानैदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । राति २ः३५ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले १२ बजेभित्र चार पटक पहिरो खसिसकेको छ जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन् । पहिरो खस्ने, प्रहरीले सडक खोल्ने, अनि फेरि पहिरो खस्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्य बताउनुहुन्छ । अहिले ११ः३० मा चारकिलो भन्ने स्थानमा फेरि पहिरोसँगै ढुंगा खसेर अवरुद्ध भएको सडक १२ बजे फेरि खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि राति खसेको पहिरो बिहान ८ बजे हटाएर एकतर्फी सडक खुलाइएको थियो । लगत्तै पुनः पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहान १० बजे पहिरो हटाएर यातायात दुईतर्फी नै सञ्चालनमा ल्याइएको थियो । यातायात सञ्चालन भएको डेढघण्टा नबित्दै पुनः ढुंगा खसेर अवरुद्ध भएको मुग्लिन सडक ढुंगा पन्छाएर १२ बजे पुनः सञ्चालन भयो । अब कतिबेला फेरि पहिरो खसेर सडक बन्द हुने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्य अहिलेसम्म चार/पाँच पटक पहिरो खसिसकेको बताउनुहुन्छ । पहिरो हटाएर सडक खुल्ने बित्तिकै पुनः पहिरो खस्ने क्रम दोहोरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा राति २ः३५ बजे पहिरो खसेको थियो । सोही सडकखण्ड अन्तर्गत पाँच किलो, जलबिरे र कालिखोलामा समेत थप पहिरो खसेको थियो । पटकपटक पहिरो खस्ने क्रम नरोकिँदा बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यमा जान पाएका छ्रैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कुनै पनि बेला पहिरो खस्नसक्ने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ । उक्त सडक चौडा पार्ने काम सकिएको भए पनि भित्तो काटिएको स्थानमा पहिरो खस्ने क्रम भने रोकिएको छैन । पहिरो रोक्ने प्रयास पनि सफल हुनसकेको छैन ।

मिनी ट्रक खोलामा खसेर आगो लग्दा एक जनाको मृत्यु, १० घाइते

बनेपा, असार ११ । काभ्रेको बनेपा – ५ रबिओपीमा मिनी ट्रक सडकबाट खोलामा खसेर आगो लाग्दा एकको मृत्यु भएको छ । भने घटनामा अन्य १० जना घाइते भएका छन् । सोमबार बिहान काभ्रेको बनेपा ५ रबिओपीमा बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खोलामा खसेको हो । मृत्यु हुनेमा ट्रकमा सवार मण्डन देउपुर नगरपालिका १२ की ४० वर्षीया लालिमाया तामाङको उपचारका क्रममा मृत्यु भएको र अरू १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार देवीटारबाट बनेपातर्फ आउँदै गरेको मिनी ट्रक सडकबाट खोलामा खस्दा दुंगामा बजारिएर आगो लागेको थियो । स्थानीय र प्रहरीको सहयोगमा ट्रकको आगो नियन्त्रणमा लिएको र घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धरानमा विमानस्थल बन्ने अनिश्चित

इटहरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले रासससँगको कुराकानीमा बताउनुभयो । नेपालमा चालू अवस्थामा रहेका विमानस्थलको स्तरोन्नत्ति गर्ने र पहिला निर्माण भई सञ्चालनमा रहेका विमानस्थलमध्ये अहिले सञ्चालनमा नरहेका विमानस्थल कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा प्राधिकरणले गहन अध्ययन गरिरहेको पनि उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नयाँ विमानस्थल निर्माणभन्दा पनि ठूला विमान अवतरण गरिरहेका स्थानको स्तरोन्नति तथा अन्तर्राष्ट्रिय क्षमताका विमानस्थलको स्तरोन्नति गरी धावनमार्ग विस्तारमा प्राधिकरण केन्द्रित रहेको छ भन्नुभयो । एक दशकअघिदेखि यति कर्पोरेटले सुनसरीले धरानमा विमानस्थल बनाउन थालेको अभियानका विषयमा के हुन्छ त भन्ने प्रश्न गर्दा उपमहानिर्देशक श्रेष्ठले त्यहाँ पनि विमानस्थल बनाउन सकिने सम्भावना रहेपनि भौगोलिक जोखिमपूर्ण रहेको तथा विराटनगर विमानस्थल नजिक रहेकाले यस विषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले धरान उपमहानगरपालिकाले विमानस्थल बनाउन प्राधिकरणलाई सात बिगाह जमिन उपलब्ध गराउने आश्वासन दिएको भए पनि त्यो प्राप्ति गर्ने कार्य अघि नबढेको स्पष्ट पार्र्नुभयो । धरानमा विमानस्थल सम्भव छ कि छैन भन्ने विषयमा हालै प्राधिकरणका वरिष्ठ अधिकृत भोला घिमिरेको टोलीले स्थलगत अध्ययन गरेको र प्राधिकरणले वातावरण प्रभाव मूल्यांकन गर्ने प्रक्रिया अघि बढाएको उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । यस विषयमा विस्तृत जानकारीका लागि प्राधिकरणले छुट्टै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने योजना बनाएको छ । उपमहानिर्देशक श्रेष्ठले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्ने उद्देश्यले रु एक अर्ब ३५ करोड बजेट नै विनियोजन गरेर दीर्घकालीन योजनासहित थप आवश्यक जमिन अधिग्रहणदेखि विमानस्थलको रन वे विस्तार योजनासमेत अघि बढाइसकेको जानकारीसमेत सार्वजनिक गर्नुभयो । उहाँले हाल विराटनगरमा एक हजार ५०० मिटरको रन वे रहेको तथा त्यहाँ अब कम्तीमा दुई हजार ५०० मिटरको रन वे बनाउने योजनासहित प्राधिकरणले कार्य अघि बढाइसकेको पनि उहाँको भनाइ छ । त्यसअन्तर्गत अहिले रु तीन करोडको लागतमा टर्मिनल भवन रिमोडलिङ गर्ने कार्यको थालनी गरेको बताउनुभयो । यता धरानको विमानस्थलका विषयमा भने उहाँले भौगोलिकरुपमा हाल त्यहाँको जमिनअनुसार ८०० मिटरको धावनमार्गमात्र बन्न सक्ने भएकाले त्यहाँ साना र कम क्षमताका विमान मात्र अवतरण गर्न सक्ने भएकाले धरानको विमानस्थल ज्यादै खर्चिलोसमेत हुने भएकाले त्यहाँ विमानस्थल बनाउनुको औचित्य नरहने धारणासमेत स्पष्ट पार्नुभयो । धरानमा विमानस्थल बन्दा कम यात्रु बोक्ने विमान मात्र अवतरण गर्र्न सक्ने र खर्चको दृष्टिकोणले विराटनगरको यात्राभन्दा धेरै महँगोसमेत पर्न जाने भएकाले यात्रु सुविधाका हिसाबले पनि धरानको विमानस्थल सुलभ नभई महँगो भाडादरका कारण चल्न नसक्ने खतरा पनि रहने भएकाले त्यसप्रति प्राधिकरणले खासै चासो नराखेको पनि उहाँले खुलासा गर्नुभयो । धरानवासीले विमानस्थल जरुरी छ भन्ने औचित्य पुष्टिसँगै सानो विमान अवतरणका लागिसमेत आवश्यक पूर्वाधार तयार गर्न कम्तीमा ९१ बिगाह जमिन उपलब्ध हुन जरुरी रहेकाले त्यसको सम्भावना छ वा छैन भन्ने विषयमा प्राधिकरणले सम्भाव्यता अध्ययन आदि कार्यका लागि रु सात करोड छुट्याएको छ । तर त्यहाँ नयाँ विमानस्थल बनाउँदा लाग्ने खर्च, जग्गा प्राप्ति वा खरिद गर्दा लाग्ने खर्च आदिका हिसाबले पनि धरानको विमानस्थल ज्यादै खर्चिलो र जोखिमपूर्णसमेत रहने भएकाले अहिले नै धरानमा विमानस्थल बन्न सक्ने सम्भावना दह्रो छ भनेर भन्न सक्ने अवस्था नरहेको पनि उपमहानिर्देशक श्रेष्ठको भनाइ छ । धरान विमानस्थलसम्बन्धी पछिल्लो समय अध्ययनमा आउनुभएका वरिष्ठ अधिकृत घिमिरेले अहिले नै धरानमा विमान अवतरणका लागि विमानस्थल बन्न सक्ने सम्भावना ज्यादै कम रहेको तथा त्यो विषयमा अध्ययनमात्र भइरहेको बताउनुभयो । उहाँले त्यसका लागि जग्गा प्राप्ति नै जटिल विषय रहेको तथा भौगोलिक दृष्टिले पनि उपयुक्त नदेखिएको उल्लेख गर्नुभयो । धरानमा विमानस्थल बनाउने योजना लिएर आउने यति कर्पोरेटका तत्कालीन अधिकार प्राप्त व्यक्ति विजय श्रेष्ठले डेढ वर्षअघि नै यति कर्पोरेट छाडेर अन्यत्र गइसकेकाले उहाँको सक्रियतामा धरान विमानस्थलका लागि खरिद भएको जग्गादातासँगको विमानस्थल नबने जग्गा फिर्ता गर्ने सम्झौतासमेत अन्योलमा परेको छ । यता धरानमा विमानस्थल बन्नुपर्छ भन्ने अभियानमा सक्रिय भएर लाग्नुभएका धरानका व्यवसायी अशोक अग्रवाल पनि धरानमा विमानस्थल बन्ने सम्भावना कम बन्दै गएपछि जग्गा फिर्ता हुनुपर्छ भन्ने पक्षमा उभिनुभएको छ । उहाँले जुन उद्देश्यले धरानवासीले जग्गा दिएको वा बेचेको हो त्यसको उद्देश्य प्राप्ति भएन भने जग्गा विक्रेताले सम्झौता मुताविक यति कर्पोरेटबाट जग्गा फिर्ता पाउनुपर्ने उहाँको भनाइ छ । धरान विमानस्थल निर्माण योजना र विराटनगर विमानस्थल स्तरोन्नतिको सवालमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग जिज्ञासा राख्दा उहाँले प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजना नै अघि बढाइसकेकाले अहिले नै बन्छ भन्न सकिने अवस्था नरहेको बताउनुभयो । रासस

प्रदेश नं‍‍. ३ मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता विरोधीले संघीयता खारेज गर्नैपर्छ

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको दोश्रो नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले ठूलो बलिदानी पूर्ण संघर्षबाट आएको लोकतान्त्रिक संघीय गणतन्त्र मास्ने चलखेललाई निस्तेज पार्नुपर्ने बताए । ‘कानून बनाउन नसक्दा समस्या सिर्जना भएको छ, संघीयतालाई मास्न ठूलो षड्यन्त्र हुँदैछ’ उनले भने । मुख्यमन्त्री पौडेले तीनवटै सरकार मिलेर नगए प्रदेश सरकारको औचित्य नरहने भन्दै विकास जनमुखी र विकास निर्माण कार्यमा जनसहभागिता भयो भनेमात्र विकास सम्भव हुने उनको बताए । ‘एक वर्षसम्म नगरपालिकामा न्यायिक समिति नबन्दा जनता मारमा परेको भन्दै विकासको काममा एक जुट हौ पार्टी नभनौं सबै दलहरूको पनि भावनाको कदर गरौं’ मुख्यमन्त्री पौडेले भने । प्रदेश ३ सदस्य केशवराज पोखरेलले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनताहरूलाई सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सकियो भने मात्र जनप्रतिनिधि भएको आभास महशुस हुने बताए । उनले जनप्रतिनिधिहरूले सबै विचारधारामा रहेका जनताहरूको पनि भावनामा काम गर्नुपर्ने धारणा राखे । पोखरेलले समृद्धिको वाटोमा लाग्न सहकारीहरुको पनि मुख्य भुमिका रहने उल्लेख गर्दे समुन्त नगरपालिका वनाउने अभियानमा प्रदेश स्तरिय संरचना अन्र्तगत नगरपालिको विकासमा सहयोग पुयाउने बताए । कार्यक्रममा प्रदेश नं.३ सदस्य रमा आलेमगरले चन्द्रागिरिको विकासमा सवै नागरिकहरुको अपनत्व हुने गरि संरचना निर्माणमा ध्यान दिनुपर्ने बताईन । उनले चन्द्रगिरि नगरपालिकाको मुख्य प्रवेशद्वार नागढुङ्गादेखि कंलकी सडकको दुरावस्थाका कारण नगरपालिकाको पहिचानमाथि प्रश्न चिह् खडा भएको औल्याईन । त्यस्तै प्रदेश सदस्य वेली मायाँ घलेले नगरपालिकामा भएको उद्योग कलकारखानको विकासलाई प्रोत्साहन दिनुपर्ने बताईन । कार्यक्रममा जिल्ला संमन्वयन काठमाण्डौंका सभापती शिवसुन्दर वैद्यले समग्र नगरको विकासका लागि जल्ला समन्वयन काठमाडौंले साथ र सहकार्य गर्ने बताए । उनले हरेक नगरको विकासमा अनुगमन र परिर्वेक्षण गर्ने उहाँको तर्क थियो । कार्यक्रममा चन्द्रागिरि उद्योग वाणिज्य संघको अध्यक्ष तथा समाजसेवी राजेन्द्र विक्रम वानियाँले नगरपालिकाको दिगो विकासमा सवैको हातेमालो हुनु पर्ने वताउँदै, आर्थिक,सामाजिक रुपान्तरणमा नगरलाई पर्यटकिय पुर्वाधारको विकासमा लाग्ने वेला आएको वताए । उद्घाटन सत्रमा बोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका विकास र समृद्धको हिसाबले चाँडै गति लिने बताए । उनले समृद्ध नगर अभियान नेपालको सुरूङ्ग मार्ग, केवलकार र अब बन्ने रेलमार्ग निर्माण पश्चात् आधुनिकता र सम्पन्नतातर्फ लम्कने विश्वास व्यत्त गरे ।

असार मसान्तभित्र स्थानीय तहमा कर्मचारीहरुको समस्या समाधान हुने

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान कुरा गर्दै उहाँले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा गर्नेछन् भन्नुभयो । मन्त्री पण्डितले दरबन्दीअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रतिशत, अधिकृतस्तरका ९५ प्रतिशत कर्मचारीले तोकिएको स्थानमा कार्य गरिरहेको बताउँदै केही खरदार र सुब्बासरहका कर्मचारीमात्र अपुग रहेको बताउनुभयो सरकारले खटाएको ठाउँमा जानुबाहेक कर्मचारीसँग अर्को विकल्प नभएको भन्दै मन्त्री पण्डितले क्यान्सर, मुटुका बिरामी र सुत्केरी वा सुत्केरी हुन लागेकाबाहेक अन्य सबै कर्मचारीले तोकिएको स्थानमा कार्य गरी जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पण्डितले कर्मचारी अभावका कारण कोही कसैले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको बताउँदै संघीयता कार्यान्वयनमा शुरुवात भएको बुझ्नु पर्नेमा जोड दिनुभयो । उहाँले ट्रेड युनियनमा रहेका कर्मचारीलाई काज फिर्ता गरी कार्यमा खटाइएको बताउँदै अब कर्मचारीले हाजिर गरेर मन्त्रालयमा बस्ने कार्यमा कुनै छुट नदिने बताउनुभयो । मन्त्री पण्डितले सबै कर्मचारीका लागि एउटा ट्रेड युनियन निर्माण गर्ने सम्बन्धमा आवश्यक मस्यौदा कानून मन्त्रालय पठाएको जानकारी दिनुभयो । मन्त्री पण्डितले निर्वाचित जनप्रतिनिधि वा अन्य कसैले भाइभतिजालाई करार, ज्यालादारी कर्मचारीको नियुक्ति गर्ने कार्य रोक्नुपर्ने बताउँदै संघीय सरकारले आवश्यक प्राविधिक कर्मचारी स्थानीय निकायमा केही समयका लागि करारमा नियुक्ति पठाउने बताउनुभयो । संघीय सरकारले प्रदेशिक लोक सेवा चाँडै नै स्थापना गरी माण्डदण्डअनुसारको राष्ट्रसेवक कर्मचारी चयन गरिनेछ उहाँले भन्नुभयो । रासस

एउटै जिल्लामा सात हजार बढी बालबालिका कुपोषणको शिकार

महोत्तरी, असार ११ । जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताउनुभयो । चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास गर्ने बालबालिका गरिबीका कारण चाहिए जति खाना खान नपाएर कुपोषणका शिकार भएका छन् । त्यस्तै शहरी क्षेत्रका बालबालिका सन्तुलन मिलाएर खाना नखाएका कारण कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीले जिल्लाका बालबालिकामा फेला परेको कडा खालको र मध्यम खालको कुपोषण हटाउनका लागि जिल्ला अस्पताल जलेश्वरलगायत जिल्लाको अन्य करीब एक दर्जन विभिन्न अस्पताल तथा स्वास्थ्यचौकीमा विशेष कार्यक्रम लागू गरिएको छ । महोत्तरी जिल्लामा अहिले छ महिनादेखि ५९ महिना उमेर समूहका ७० हजार ६२५ जना बालबालिका रहेका छन् । -रासस

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

महोत्तरी, असार ११ । महोत्तरीको औरहीमा १३ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिकामाथि जंघा खोलामा आइतबार दिउँसो ४ बजेतिर दुई युवकले सामूहिक बलात्कार गरेको पीडित बालिकाका परिवारले बताएका छन् । बालिका भाँडा माझ्न खोलामा गएका बेला यो घटना भएको हो । बालिकाले आफूलाई दुई युवकले जवरजस्ती करणी गरेको बताएपछि घरपरिवारले प्रहरीमा खबर गरेका थिए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको र अर्का युवकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । सांकेतिक तस्बिर

घरमा राखिएको ११२ किलो गाँजा नष्ट !

चितवन, असार ११ । इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ । एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा प्रहरीले नष्ट गरेको हो । खैरहनीका वडाध्यक्ष, जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र पत्रकारको रोहवरमा आइतबार गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–११ स्थित ठूलीमाया तामाङको घरमा भण्डारण गरी राखेको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा नष्ट गरिएको हो । गाँजा भण्डारण गरेको आरोपमा ठूलीमाया तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो । लागूऔषध (नियन्त्रण) ऐनबमोजिम गाँजा सञ्चय गर्ने व्यक्तिलाई दुई वर्षदेखि १० वर्षसम्म कैद तथा रु १५ हजारदेखि एक लाख जरिवाना हुनसक्ने प्रहरी निरीक्षक विष्टले बताउनुभयो । चितवनको राप्ती र खैरहनी नगरपालिकाको पहाडी क्षेत्रमा बढी गाँजाखेती हुने गरेको छ । यता जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिट गरी अंगभंग मुद्दाका फरार अभियुक्त जिल्ला चितवन भरतपुर महानगरपालिका–११ का २० वर्षीय नेप्टे भनिने नवीन गुरुङलाई पक्राउ गरेको छ । उनीसहितका केही व्यक्तिले भरतपुरका देवेन्द्रबहादुर गौतमलाई कुटपिट गरी अंगभंग गराएको आरोप लागेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भरतपुरका स्थानीय राजन गौतम भने यसअघि नै पुर्पक्षका लागि थुनामा रहेका छन् । आइतबार पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पठाइने आचार्यले जानकारी दिनुभयो । -रासस

विकास बजेटः दुई महिनाको खर्च तीन दिनमै !

काठमाडौं, असार ११ । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको दुई महिना साउन र भदौसम्मको पुँजीगत खर्च चार अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो। आर्थिक वर्षको अन्तिम महिना असार लागे लगत्तैका तीन दिन ३, ४ र ५ गतेको खर्च त्योभन्दा बढी अर्थात् चार अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ। सरकार, योजना आयोग र संसदीय समितिहरुले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरु यो वर्ष पनि विगतझै उल्लंघन हुने निश्चितप्रायः बनेको छ । कान्तिपुरमा खबर छ ।

हेपाटाइटिसजस्तै रोग देखा पर्याे 

दार्चुला, असार ११ । जिल्लाको मालिकार्जुन गाउँपालिका-३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । उपचारका लागि स्वास्थ्यचौकीमा पुगेका बिरामीमा एकैखाले लक्षण देखा परेकाले रोग देखिएको हो । उनीहरुमा आँखा पहेँलो हुने, ज्वरो आउने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिएका छन् । आज चिकित्सकको टोली रोग देखा परेको क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने तथा रोगको निदानलगायतका बारेमा अध्ययन अनुसन्धान गर्ने डा. भट्टले बताउनुभयो । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्ने गर्दछ । अन्य मौसमभन्दा वर्षात्को समयमा यस्तो रोग बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । मानव शरीरमा महत्वपूर्ण अंगका रुपमा रहेको कलेजो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि यस रोगका कारक भएको डा. भट्टको भनाइ छ । -रासस

कोठामा थुनेर हेडमास्टरले विद्यार्थीलाई कुटे !

सुनसरी, असार ११ । जिल्लाको कोशी गाउँपालिका-७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका-४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन् । पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक सर ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाँठी र रबरको पाइपले कुटपिट गरेको बताए । कुटपिटबाट पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि नै निलडाम रहेको पीडितका ठूलो बुबा श्यामानन्द पाठकले बताउनुभयो । घाइते पाठकको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । उनले आफूलाई अपांग बनाई दिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै पालोपालो गरी प्रधानाध्यापक ओमप्रकाश र शिक्षकले निर्घात कुटपिट गरेको आरोप लगाए । पीडित पाठकले कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । उता प्रधानाध्यापक यादवले कुटपिट गरेको स्वीकार गर्दै अपांग बनाउने गरी नकुटेको दाबी गर्नुभयो । यादवले आबेगमा आएर कुटपिट गरेको भनी स्वीकार गर्नुभयो । यो घटना मिलाउने प्रयासमा समेत रहेको यादवले सुनाउनुभयो । यादवले सञ्चारकर्मीलाई समाचार लुकाई दिनसमेत आग्रह गर्नुभयो । -रासस

सट्टेवाजका ‘किङ’ पक्राउ

काठमाडौं, असार ११ । प्रहरीले सट्टेवाजका ‘किङ’ मानिने नागराज उर्फ नथमल अग्रवाललाई पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो । महाशाखाका अनुसार उनले भारतमा केही महिना अघि सञ्चिालित आइपिएल क्रिकेटमा मात्रै सट्टेबाजका लागि २ करोड ४० लाख रुपैयाँ संकलन गरेका थिए । उनले नेपालमा १२ वर्षदेखि सट्टेबाज खेलाउँदै आएको महाशाखाको दाबी छ । महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले नेपालमा सट्टेबाज खेलाउने गिरोह मध्येका उनी मास्टर माइण्डवाला हुन् । उनले भने,‘नेपालमा यसैले सट्टेबाज भित्र्याएको देखिन्छ । सट्टेबाजका यी माष्टर माइण्ड मानिन्छन् । उनकै सिको सिकेर अरुले पनि सट्टेबाज गर्ने गरेको पाइएको छ ।’ पक्राउ परेका अग्रवाल धनुषा जनकपुर-३ का हुन् । उनी पानीपोखरी बस्दै आएका थिए ।

तराईको सम्भावित बाढी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य दिनुपर्ने लगायत विषयमा ध्यानाकर्षण गराउनुभएको छ । नेकपाका विरोध खतिवडाले मकवानपुरको मनहरी–४ मा आरक्ष प्रभावित ३०० घरपरिवारलाई बसोबासको प्रबन्ध गर्न सरकारसंग माग गर्नुभयो । नेकपाकै शान्ता चौधरीले दाङ जिल्लामा मानवबस्तीमा रहेका सिमेन्ट उद्योगलाई त्यहाँबाट हटाउन वा बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका श्यामकुमार श्रेष्ठले रामेछापलगायतका जिल्लामा सवारी साधन आवागमनका लागि अलग्गै मापदण्ड बनाइएकोमा चिन्ता व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका अतहरकमाल मुसलमानले सभामुख र उपसभामुख एकै दलको हुन नहुनेतर्फ सदनको ध्यानाकर्षण गराउनुभयो । नेकपाका आशाकुमारी विकले बझाङ जिल्लामा भएको चेलीबेटी बेचबिखन, हिंसा र दुव्र्यवहारमाथि कारवाही गर्न माग गर्नुभयो । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने÷नगर्नेबारेमा सरकारका मन्त्रीहरुबीच नै मतभेद सार्वजनिक हुनु दुःखद भएको बताउनुभयो । सांसदहरु उमाशंकर अरगरिया, सञ्जयकुमार गौतम, घनश्याम खतिवडाले विशेष समयमा भाग लिनुभएको थियो । बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टीका बृन्दा पाण्डेले प्रवासमा रहेका नेपाली श्रमिकको लास महिनौँसम्म रहेको विषयमा जानकारी दिन सरकारसंग माग गर्नुभयो । नेपाली काँग्रेसका लक्ष्मी परियारले भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल सारेर आफ्ना सांसदहरुलाई नयाँ नयाँ योजना बाँड्न लागेको आशंका व्यक्त गर्नुभयो । सो पार्टीका बहादुरसिंह लामाले आवश्यक कागजात नहुँदा नुवाकोटामा छुट भएका भूकम्प प्रभावितको नाम थप गर्न माग गर्नुभयो । सांसदहरुले तराईको बाढी नियन्त्रण, किसानको उखुको उचित मूल्य निर्धारण र भुक्तानीप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु विष्णु शर्मा, शान्ति पाख्रिल, विमला विश्वकर्मा, सत्य पहाडी, सरलाकुमारी यादव, सरिताकुमारी गिरी, सरिता न्यौपाने, सीताराम महतो, सुजाता परियार, हरिराज अधिकारी, हीरा गुरुङ, हृदयेश त्रिपाठी, ज्ञानकुमारी छन्त्यालले शून्य समयमा भाग लिनुभएको थियो । बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका शीर्षकमाथि छलफलको कार्यसूची छ । रासस

बस र ट्रकबीच ठक्कर, १५ यात्रु घाइते

​नवलपरासी, असार ९ । पूर्व‐पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा १५ यात्रु घाइते भएका छन्। गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ यात्रु घाइते भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। सबै घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।