निकुञ्जमा बिच्छ्याइएको विद्युतीय तार कमसल हुँदा समस्या

चितवन । जिल्लाको माडी क्षेत्रमा गरिएको विद्युतीकरण असफल भएपछि नयाँ तार बिच्छ्याइने भएको छ ।

यसअघि बिच्छ्याइएको तार कमसल भएकाले नयाँ तार प्रयोग गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार जमिनमुनि बिच्छ्याइएको तार कमसल परेपछि समस्या उत्पन्न भएको थियोे।

चनौली सबस्टेशनबाट चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा भूमिगत तार बिच्छ्याएर माडीमा विद्युतीकरण गरिएको थियो । विसं २०७३ फागुनदेखि माडी क्षेत्रमा विद्युत् पुगे पनि पटक पटक समस्या आउने गरकाले विगत १० दिनयता माडी क्षेत्रमा विद्युत् सेवा प्रभावित हुँदै आएको छ ।

पटक पटक गरी अहिलेमात्रै तीन पटक मर्मत गरे पनि मर्मत गरेको दुई तीन घण्टामै विद्युत् आपूर्ति बन्द हुने गरेकोे र भूमिगत तार गुणस्तरीय नहुँदा समस्या आएको उहाँले बताउनुभयो । तारको सुरक्षाका लागि राखिएको पाइपमा पानी जमेको र सोका कारण तारले राम्रोसँग काम नगरेको अहिले मर्मत गरेको स्थानबाट दुई तीन मिटर फरकमा फेरि तार जल्ने गरेकाले दिगो रुपमा समस्या समाधानका लागि नयाँ तार आवश्यक हुने देखिएपछि टेण्डरको प्रक्रिया शुरु गरिएको प्रमुख महतोले बताउनुभयो ।

चनौली माडी ३३ केभिए सवस्टेशन निर्माण आयोजनाले निर्माण सम्पन्न गरेर हस्तान्तरण नगर्दै सो समस्या आएको थियो । तारमा आवश्यकताअनुसारको इन्सुलेन्सको कमीका कारण पटक पटक समस्या आउने गरेको उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रमा गरिएको भूमिगत तार बिच्छ्याइएका कारण माडी क्षेत्रका जनताले पटक पटक यस्तो समस्या खेप्नुपरेको छ । माडी क्षेत्रमा विद्युत्का पाँच हजार ग्राहक छन् । रासस

मध्य र पूर्वी क्षेत्रमा बाढीको जोखिम कायमै

काठमाडौं, असार १९ । आज पनि पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना छ । हिजो रातिदेखिको पानी केही कम भए पनि फेरि पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज मध्य र पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम छ । पश्चिमी क्षेत्रमा भने आज ठूलो पानी पर्ने सम्भावना नरहेकाले बाढी पहिरोको जोखिम केही कम रहेको मौसमविद् वरुण पौडेले बताए । उनले बादलमा जलवाष्पयुक्त हावा रहेकाले पश्चिमी क्षेत्रमा पनि सामान्य वर्षा भने हुने जानकारी दिए । शनिबार बेलुकीदेखि लगातार भरी परेकाले भोलिदेखि भने रोकिने सम्भावना रहेको मौसमविद् पौडलको भनाई छ ।

महाकालीमा पानीको बहाव उच्च, नदी आसपासका स्थानीय रातभर जाग्राम

दार्चुला, असार १९ । महाकाली नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकोमा बेलुका केही घटेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख राजकुमार घिमिरेले बताउनुभयो । तर फेरि पानी पर्न शुरु भएका कारण पानीको बहाव बढ्न सक्ने खतरा छ । महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ । महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन् । महाकालीको डरले रात भर जाग्राम बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ का निर्मला चन्दले बताउनुभयो । नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ । पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको गुल्मपति अम्बिकाप्रसमद जोशीले जानकारी दिनुभयो । लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ । लगातार पानी पर्ने क्रम जारी रहेका कारण महाकालीमा बाढी आउने आंशका गरिएको छ । भारतको खोतिला क्षेत्रमा गत वर्ष गएको सुख्खा पहिरो अहिले नेपालको बंगाबगड क्षेत्रमा असर गर्ने सम्भावना रहेको छ । जिल्लाका अन्य क्षेत्रमा पनि वर्षा भइरहेको छ । पाँच वर्ष अघिको विनाशकारी बाढीबाट प्रभावित बनेका दार्चुलावासी यसपालिको वर्षात्मा पनि बाढी आउने भन्दै त्रसित बनेका छन् । महाकालीमा पानीको बहाव बढेपछि स्थानीयमा फेरि बाढी आउने त्रास बढेको हो । -रासस

चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुन सकेन

काठमाडौं, असार १७ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत हुन सकेन । सरकार र प्रमुख प्रतिपक्षी दलबीच विधेयकमा केही प्रावधानमा सहमति हुन नसक्दा आज पूर्वनिर्धारित कार्यतालिकामा रहे पनि विधेयक प्रस्तुत हुन नसकेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । विधेयक संसद्मा प्रस्तुत गर्न यसअघि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० उपनियमलाई बैठकले निलम्बन गर्ने कार्यसूची थियो । राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन गर्न सरकारले सो विधेयक ल्याएको हो । संविधानअनुसार अध्यादेशलाई प्रतिस्थापन गर्न सदन प्रारम्भ भएको ६० दिनभित्र विधेयक पारित गरिसक्नुपर्ने छ । चालू अधिवेशनको प्रारम्भ अर्थात् गत वैशाख २३ गतेदेखि ६० दिन अर्थात् आगामी असार २० भित्र संघीय संसद्बाट सो विधेयक पारित गरी प्रमाणीकरण गरिसक्नुपर्ने छ । विधेयक सदनमा प्रस्तुत गर्न मात्र सो उपनियम निलम्बनको प्रस्ताव गर्न लागिएको हो । विधेयकमाथि संशोधनको सूचना दिन ७२ घण्टाको समयसीमालाई घटाई आज साँझ ५ बजेसम्म झार्न सो नियम निलम्बनको प्रस्ताव गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का खगराज अधिकारीले अध्यादेशकै आधारमा टेकेर विधेयक आएको हो भन्दै प्रतिपक्षसँगको छलफलका आधारमा प्रक्रियाका विषयमा सहमतिका साथ सरकार अघि बढ्न तयार रहेको बताउनुभयो । बैठकपछि पत्रकारसँग उहाँले भन्नुभयो, “अध्यादेशलाई प्रतिस्थापन गर्दा त्यसका सबै विषय आउँछन् भन्ने छैन, सार्वभौम संसद्ले आफ्नो निर्णय गर्न पाउँछ, मूलभूत कुरा अध्यादेशअनुसारकै आएको छ ।” उहाँले विद्यालय शिक्षासम्बन्धी सदनमा बेग्लै विधेयक आउने भएकाले चिकित्सा विधेयकलाई मात्र एकाङ्की रुपमा हेर्न नमिल्ने र चिकित्सा विधेयकमा प्रस्ताव गरिएका प्रावधानबारे बाहिर कतिपय बौद्धिक क्षेत्रमा रहेको बुझाइभन्दा सदनको बुझाइले चिकित्सा शिक्षालाई गुणस्तरयुक्त र व्यवस्थित बनाउन सक्ने जिकिर गर्नुभयो । प्रतिनिधिसभाको बैठक आज आधा घण्टाका लागि स्थगन भएकामा विधेयकमा सहमतिका लागि सोमबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसी स्थगन भएको छ ।

बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन सांसद भुसालको माग

काठमाडौं, असार १७ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग गर्नुभएको छ । उहाँले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएका तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पुष्पा भुसालले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने विधेयक ल्याउन सरकारसित माग गर्दै आफ्नो पार्टी सदन छाडेर नबाहिरिने स्पष्ट पार्नुभयो । सांसद अमृता अग्रहरिले तराई– मधेश जिल्लामा धान रोप्ने समयमा मल तथा डिजेलको अभाव रहेका तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उमाशंकर अगरियाले धनुषा जिल्लाका नदी नियन्त्रणका लागि बजेट नभएको हुँदा वर्षात् बाढी आउँदा स्थानीय बासिन्दा अहिले बिचल्लीमा परेका छन् भन्नुभयो । सांसद प्रेम सुवालले नेपाली भूमि सीमा क्षेत्रमा अतिक्रण हुँदा सरकार के गर्दैछ भन्ने प्रश्न गर्दै सीमा क्षेत्रमा बनेका बाँधका कारण नेपाली भूमि वर्षात्का समयमा डुबानमा परेको बताउनुभयो । सांसद हृदयेश त्रिपाठीले संविधानअनुसार राज्य पुनःसंरचना गर्दा संरक्षित र विशेष क्षेत्र घोषणा गर्न माग गर्नुभयो । सांसद राजेन्द्र केसीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यसको असर सबैतर्फ परेको बताउँदै सरकारले निषेधित क्षेत्र घोषणा गरी लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाउनुभयो । सांसद महेश्वर गहतराजले तराई–मधेश जिल्लाका नदी नियन्त्रणमा ध्यान दिन माग गर्नुभयो । सांसद नरबहादुर धामीले महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार २७ चिकित्सक पठाउन सरकारसित माग गर्नुभयो । सांसद दलबहादुर रानाले पाल्पा जिल्लामा रहेका विद्यालयका भौतिक पूर्वाधारमा ध्यान दिन र शिक्षक दरबन्दी मिलानमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद नवराज सिलवालले काठमाडाँै उपत्यकालाई प्रदूषणमुक्त शहर बनाउन सरकारले विशेष कार्ययोजना ल्याउनुपर्छ भन्नुभयो । सांसद दुर्गा पौडेलले प्रा डा गोविन्द केसीका विगतका मागलाई कार्यान्वयन गर्न सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो । वन नीति ल्याउन माग बैठकको शून्य समयमा सांसदले भू–उपयोग नीति ल्याउन, सुकुम्वासी समस्या समाधान गर्न र गैरआवासीय नेपालीलाई नेपालमा लगानीको वातावारण मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले आमाका नामबाट नागरिकता वितरण गर्न, महँगी नियन्त्रण गर्न, बाढीपहिरो जस्ता विपद् रोकथाममा ध्यान दिन र नयाँ वन नीति ल्याउन पनि माग गर्नुभयो । शून्य समयमा अम्बिका थापा, आशाकुमारी विक, कृष्णकुमार श्रेष्ठ, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गणेश पहाडी र छक्कबहादुर लामा हुनुहुन्थ्यो । बैठक आधा घण्टाका लागि स्थगन भएको छ । रासस

धावक हरि रोकायाको उपचारका लागि कर्णाली सरकारको सहयोग

काठमाडौं, असार १७ । नेपालका धावक हरिबहादुर रोकायाको स्वास्थ्य उपचारका लागि कर्णाली प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । शनिबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले अस्पतालमा उपचाररत गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका नेपालका महान धावक रोकायाको उपचारका लागि एक लाख रुपैया आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मन्त्री भण्डारी बताएका छन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आफ्ना देशका महान र क्षमतावान खेलाडीले वेवास्ता गर्ने र सीमापारीकाको गुनगान गर्ने संस्कारप्रति दुखेसो पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हरि हाम्रा मेसी हुन, उनी रोनाल्डो, पेले अनि म्याराडोना पनि हुन् । हाम्रा वास्तविक नायक हुन्, हरि । तर, उनको नायकत्वलाई हामीले स्वीकार गर्न कन्जुस्याइँ गरिरह्यौं । सिमाना पारिका खेलाडीहरूको प्रशंसामा हामी लठ्ठीइरह्यौं ।’ कर्णाली अनि नेपालीको शिर उचो राख्न सफल म्याराथुन दौडका धावक रोकायाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । भण्डारीले यो सहयोग अन्तिम नभएको पनि बताएका छन् । उनले लेखेका छन, ‘यो सहयो प्रारम्भिक हो, अन्तिम होइन । आवश्यक थप सहयोगका लागि कर्णाली सरकार सधै सकारात्मक छ ।’

पाँच सय प्रहरी कारबाहीमा

बुटवल, असार १७ । प्रदेश नम्बर ५ मा करीब पाँच सय बढी प्रहरी आन्तरिक कारबाहीमा परेका छन् । उनीहरुमाथि संगठनको आचरण विपरित काम, निर्देशनको अवज्ञा, अवैध लेनदेन गरेका लगायतका आरोप लगाइएको छ । ५ नं प्रदेश प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्षको साउन महिनायता एक डीएसपीसहित ४९८ प्रहरी कारबाहीमा परेका हुन् । उनीहरुलाई कसुर अनुसार घटुवा, ग्रेट रोक्का, तलब रोक्का, नसियतलगायतका कारबाही गरिएको बताइएको छ । कारबाहीमा सबैभन्दा धेरै दाङका ६१, रुपन्देहीका ५१, नवलपरासीका ४६, कपिलवस्तुका ४१, बाँकेका ३८, अर्घाखाँचीका ३०, बर्दियाका ३०, रोल्पाका १६, पाल्पाका ९, गुल्मीका ९ र रुकुमका ४ जना परेका छन् ।

यी हुन् सुनमा धातु मिसाउट गर्ने १२ व्यवसायी (नामसहित)

बर्दिया, असार १७ । सुनमा बदमासी गरेको भन्दै बर्दियामा १२ जना व्यवसायी पक्राउ परेका छन् । सुनमा धातु मिसावट गर्ने १२ जना पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय बर्दिया अन्तर्गतको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिए थियो । बर्दियाका विभिन्न क्षेत्रको नमूना परिक्षण गर्दा ८ प्रतिशतसम्म अन्य धातु मिसावट भएको पाइएकाले व्यवसायीलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । प्रहरीले बाँसगढी नगरपालिकाबाट स्याङ्जा सुनचाँदी पसलका संचालक संगिता सुनार, पर्वत मनिषा सुनचाँदी पसलका शिवबहादुर सुनार, पोखरा सुनचाँदी पसल त्रिभुवन सुवर्णकार, सितासुन चाँदी पसलका सीता सुनार, मोडेल सुनचाँदी पसलका ईन्द्रमान सुनार, गण्डकी सुनचाँदी पसलका यमलाल विश्वकर्मालाई पक्राउ गरिएको छ । त्यस्तै राजापुर नगरपालिकाबाट फुलराम ज्वैलर्सका परशुराम सुनार र निमप्रकाश सुनार, लुम्बिनी सुनचाँदी पसलका भगवान शरण सोनी, दंगाली सुनचाँदी पसलका कविराम विक पक्राउ परेका छन् । गुलरिया नगरपालिकाबाट राप्ती लुम्बिनी सुनचाँदी पसलका भीमबहादुर सेन्चुरी, गण्डकी सुनचाँदी पसलका ईश्वरकुमार विश्वकर्मा र न्यू स्याङ्जा गण्डकी सुनचाँदी पसलका सञ्चालक विजयलक्ष्मी सुनार र सन्तोषी सुनारलाई पक्राउ गरिएको हो । बर्दियामा बजार अनुगमन कार्यलाई तिव्रता दिइएकाले भन्दै प्रजिअ कुरुम्बाङ्गले कालो बजारी, ठगी नियन्त्रण गर्दै नागरिकको हित संरक्षण गर्न प्रतिवद्ध रहेको बताए ।

प्रचण्ड आज स्वदेश फिर्ता हुँदै, सीता दाहालको स्वास्थ्यमा सुधार

काठमाडौं, असार १७ । नेकपाका अध्यक्ष प्रचण्ड आज सिंगापुरबाट नेपाल फर्किनु हुने भएको छ । पत्नी सीता दाहालको उपचारका लागि दुई हप्ता अघि सिंगापुर जानु भएका उहाँ आज स्वेदश फर्किनु लाग्नु भएको हो । प्रचण्ड असार ३ मा पत्नी सीताको उपचारका लागि सिंगापुर जानु भएको थियो । सीताको स्वास्थ्यमा सुधार आएकाले आज नै प्रचण्ड नेपाल फर्किन लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बताएको छ । चिकित्सकको सल्लाहले सीताको थप उपचारका लागि प्रचण्ड सिंगापुर जानु भएको थियो । चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए । केही दिन सिंगापुरमा रहने भनिएपनि प्रचण्डको बसाई लम्बिएको थियो । यसअघि प्रचण्ड ८ असारमा फर्किने बताइएको थियो । यस अघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो । पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो । कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो । सीता दाहालको स्वास्थ्यमा सुधार, एक सातापछि प्रचण्ड पत्नीसँगै स्वदेश फर्कने

बस दुर्घटनाः एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो (अपडेट)

चितवन, असार १७ । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका-१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका-५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । -रासस

चितवन निकुञ्जमा धमाधम भारतीय नागरिक पक्राउ, सुरक्षा व्यवस्था कडा

चितवन, असार १७ । चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती कम गर्ने गरिन्थ्यो । तर यस वर्ष वर्षाद् शुरु भएसँगै गतसाता निकुञ्जको पश्चिमी सेक्टर ‘साईली माईली’मा सातजना भारतीय नागरिक पक्राउ परेका छन् । त्यसको केही दिनमै निकुञ्जको पूर्वी सेक्टर ‘सुनाचुरी’मा दुई जना भारतीय पक्राउ परेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ‘साईली माईली’मा पक्राउ परेकाहरुले बाटो बिराएर छिरेको जनाएको र सुनाचुरीमा माछा मार्दै गर्दा पक्राउ परेको भए पनि शंकास्पद देखिएकोले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । ती क्षेत्रहरुमा हात्तीसहितको स्वीप अप्रेशन गर्ने काम भइरहेको उनले बताए । ती व्यक्तिको साथमा केही नभेटिए पनि उनीहरुले हातहतियार लुकाएको हुनसक्ने भन्दै पश्चिमी र पूर्वी सेक्टरमा दिनहुँजसो स्वीप अप्रेशन भइरहेको उनले बताए । ‘साईली माईली’ भारतीय सीमा क्षेत्रमा रहेको वाल्मीकिनगरबाट झण्डै छ घण्टाको यात्रापछि मात्रै आइपुग्न सकिन्छ । ती व्यक्तिहरुले हराएको जनाए पनि यतिभित्र कसरी र कुन उद्देश्यसहित आइपुगे भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए । ती व्यक्ति भारतको वाल्मीकि नगरका हुन् । पूर्वी सेक्टरमा पक्राउ परेका अवैधरुपमा माछा मार्दै गरेका भएकाले उनीहरुको गतिविधिका बारेमा पनि अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेकाहरुको बारेमा निकुञ्जले विस्तृत खुलाएको छैन । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गतवर्षमा असारदेखि भदौसम्म गस्ती कम हुने भए पनि यसवर्ष सुरक्षा चुनौती देखिएपछि हिउँदका महिना जस्तै गरी निकुञ्ज सुरक्षाका काम भइरहेको बताए । निकुञ्जभित्र कतिपय ठाउँहरुमा वर्षातको समयमा गाडी नजाने भएपछि हात्ती र पैदल गस्तीलाई तीव्रता दिईएको छ । अर्यालका अनुसार मध्यवर्ती क्षेत्रमा भने गाडीको प्रयोग गरी निकुञ्ज पूरैलाई घेरामा राखेर गस्ती भइरहेको छ । विसं २०७३ साल चैत २६ गते यता निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मारिएको छैन । तस्करको चलखेल हुनसक्ने भन्दै निकुञ्जले गस्तीलाई वर्षभरी नै तीव्रता दिँदै आएको छ । -रासस

सुन तस्करीका नाइके पक्राउ

काठमाडौं, असार १७ । प्रहरीले नागढुंगामा बरामद गरेको ३ किलो सुनका मालिकहरु पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिलासहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरु अशोक लाल शाह र चन्द्रमोहन जोशी छन्। उनीहरुले नै सो सुन गाडीमा भारततर्फ पठाउने क्रममा नागढुंगामा बरामद भएको हो। प्रहरीले शाहकी एक महिला साथीलाई पनि पक्राउ गरेको छ। महेन्द्रनगर घर भएकी ती महिलाको तस्करीमा संलग्नता भए नभएको खुलेको छैन। सरकारले बिशेष टोली बनाएर सुन तस्करीको अनुसन्धान भइरहेको समयमा पनि सुन तस्करी भने जारी नै छ। भारततर्फ सुन तस्करीको प्रयास हुँदै गर्दा प्रहरीले शनिबार नागढुंगामा ३ किलो सुन बरामद गरेको छ। भारतीय नम्बर प्लेट (यूके ०२३६८४ नम्बर) को मारुती कारबाट शनिबार सुन बरामद भएको हो। कारको एयर फिल्टरमा लुकाएर तस्करी गर्ने क्रममा सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। प्रहरीले चालक भारतीय नागरिक दिमक कुमार मोर्रे र महेन्द्रनगरका मनोज बिकलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा सो सुन काठमाडौंबाट भारततर्फ तस्करीको प्रयास भएको खुलेको एसएसपी पोखरेलले बताए। सोहीअनुसार अनुसन्धान गर्ने क्रममा जमलको यल्लो पेगेडा होटलबाट मालिकहरु पक्राउ परेका हुन्। उनीहरुले पटक पटक नेपालबाट भारतमा सुन तस्करी गरेको खुलेको छ। सो सुन कहाँबाट नेपालमा तस्करी थियो र उनीहरुले कसरी किने भन्ने खुल्न सकेको छैन।

पिर्काले हानेर श्रीमानको हत्या

चितवन, असार १६ । माडीमा शनिबार दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् । माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खाना खाने समयमा सामान्य विवादपछि श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन् । श्रीमानको हत्यापछि कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा दिने निगमको तयारी

काठमाडौं, असार १६ । नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ । राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा दिने दीर्घकालीन लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय उडानमा मात्रै ध्यान दिँदा निगमको आन्तरिक बजार खस्केको र निजी क्षेत्रमा विमान कम्पनीले हिस्सा बढाएको पाइएपछि निगम आक्रामक रुपमा बजार विस्तारका लागि कार्ययोजनासहित प्रस्तुत हुन लागेको हो । हाल निगमसँग आन्तरिक उडानका लागि चीनबाट आयात गरिएको छवटा विमान र पूराना दुईवटा विमान गरी कूल आठवटा विमान रहेका छन् । बाह्य उडानसँगै मुलुकको आन्तरिक  हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती भने कायम रहेका छन् । निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले अन्तर्राष्ट्रिय सेवासँगसँगै आन्तरिक सेवा पनि उत्तिकै महत्वपूर्ण रहेकाले त्यसमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । महाप्रबन्धक कसांकारले भन्नुभयो, “आन्तरिक सेवामा पनि हामी चाँडैनै जति विमानस्थल चालू छन्, त्यहाँ नाफा घाटा नहेरिकन देश र जनताको सेवाको लागि सामाजिक र आर्थिक विकासको लागि त्यहाँ हामीले सेवा दिन्छौँ ।” विमानस्थल भएका जिल्लामा हप्ताको एउटा मात्रै उडान भए पनि १९ सीट क्षमताको विमानमा दुई जना यात्रु भएपनि नियमित उडान राखेर सेवा दिने निगमको प्रण छ । “अन्तर्राष्ट्रिय सेवाको ग्राउण्ड ह्याण्डलिङबाट नाफा कमाएर देशका दुर्गम र विकट क्षेत्रमा नाफा नहेरिकन हामीले चलाउनैपर्छ । चलाउँछौ । यो हाम्रो दायित्व हो ।” निगमलाई वास्तविक रुपमा व्यावसायिक र प्रतिस्पर्धी बनाउन लागि परेको जानकारी दिँदै महाप्रबन्धक कसांकारले निगमको सबै सेवालाई चुस्त, दुरुस्त बनाएरै छाडिने दृढता व्यक्त गर्नुभयो । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा भने आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेका हुन् । थप छ नयाँ जहाज खरिद गर्दै निगम निगमले आन्तरिक बजार विस्तारका लागि थप छ वटा विमान खरिद गर्ने भएको छ । कूल १९ सीट क्षमताका क्यानेडियन कम्पनीका ट्वीनअटर जहाज खरिद गर्न लागिएको महाप्रबन्धक कंसाकारले जानकारी दिनुभयो । दुर्गममै उडान गर्ने प्रयोजनका लागि निगमले चिनियाँ कम्पनीका वाई १२ जहाज ल्याइसकेको छ । यस्तै सुगम गन्तव्यको उडानका लागि एमए ६० जहाज ल्याइएको छ । चालकको अभावका कारण ती विमान सञ्चालनमा ल्याउन कठिनाई भइरहेको छ । तर छिट्टै नयाँ कार्ययोजना बनाएर सबै गन्तव्यमा जहाज उडाउने निगमको योजना छ । निगमले थप ट्वीनअटर जहाज ल्याएर आन्तरिक उडानमा आक्रमक हुने योजनामा अगाडि सारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केही समय पहिले सार्वजनिक गर्नुभएको कार्ययोजनामा पनि निगमलाई जहाज किन्न सहजीकरण गर्ने उल्लेख छ । ती जहाजका लागि करिब रु तीन अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ वटा सञ्चालनमा छन् भने १७ वटा बन्द छन् । यस्तै छ वटा निर्माणका क्रममा छन् । केही दिन पहिलेदेखि राजविराज विमानस्थल सञ्चालनमा आएको छ । यस्तै इलामको सुकीलुम्बा विमानस्थलमा समेत परीक्षण उडान भइसकेको छ । यस्तै गुल्मीको रेसुङ्गा विमानस्थल पनि परीक्षण उडान भइसकेको छ । यस्तै अछामको कमलबजार र सञ्चालनमा रहेर पछिल्लो केही समयदेखि बन्द भएको साँफेबगर विमानस्थलबाट पनि सेवा दिने तयारी गरिएको छ । तर लामो समयपछि सञ्चालनमा ल्याइएको बाग्लुङको बलेवा विमानस्थल र दाङको टारिगाँउ विमानस्थल भने यात्रुको अभावका कारण सञ्चालनमा कठिनाइ देखिएको छ । सोलुखुम्बुमा सबैभन्दा बढी चार र खोटाङमा तीन विमानस्थल छन् । काठमाडौँसहित २६ वटा विमानस्थल कलोपत्रे गरिएका छन । काठमाडौँपछि पोखरा, विराटनगर, भैरहवा, भद्रपुर, नेपालगन्ज र धनगढी विमानस्थल सुविधा सम्पन्न मानिन्छ । मुलुकभित्र सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षात्को समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् । प्राधिकरणका अनुसार ताप्लेजुङ, लामिडाँडा, कांगेलडाँडा, थामखर्क, दाङ, मनाङ, मेघौलीलगायत विमानस्थल वर्षात्को समयमा बन्द हुन्छन् भने अन्य केही विमानस्थलमा अवरोध हुने गरेको छ । वर्षातको समयमा पहिरो, बाढीका कारण सडकमार्ग अवरुद्ध हुने र गन्तव्यमा पुग्ने यात्रुलाई समस्या पर्ने हुँदा हवाई यातायात छिटो र छरितो मानिन्छ । मौसम प्रतिकूलताका कारण पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुने गरेको प्राधिकरणले जनाएको छ । आर्थिक हिसाबले आन्तरिक विमानस्थल सबैजसो घाटामा रहेको पाइएको छ । पर्यटकीय दृष्टिकोणले करोडौँ खर्चेर बनाइएका विमानस्थल पनि पूर्णरुपमा सञ्चालन नहुँदा थप घाटा पुगेको छ । रासस

विवेकशीलका संयोजकसहित नेता कार्यकर्ता पक्राउ

काठमाडौं, असार १ट । राजधानीका माइतीघरसहित देशभरका निश्चित स्थानबाहेक अनेत्र सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका संयोजक उज्वल थापासहित कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । सरकारको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन गर्न पुगेका विवेकशील साझाका नेताहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । यसअघि सरकारले राजधानीका विभिन्न सात स्थानमा मात्र प्रदर्शन गर्न पाउने सूचना जारी गरको थियो । सरकारले निषेधित क्षेत्र कडाइका साथमा कार्यान्वयन गराउने बताएको थियो । विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले विना कारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत रहेको बताएका छन् ।

निरंकुशताविरुद्ध कहिले भूमिगत त कहिले खुला लडाई गर्नुपर्यो : सभामुख महरा

काठमाडौं, असार १६ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले निरंकुशताविरुद्ध कहिले भूमिगत त कहिले खुला लडाई गर्नुपरेको बताउँदै त्यसमा संसदीय व्यवस्था अभिन्न रुपले जोडिएको बताउनुभएको छ । ६०औं संसद दिवसको अवसरमा पूर्व सांसद मञ्च नेपालले संसद भवन वानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताउनुभएको हो । ‘लोकतन्त्र प्राप्तिको लडाईंमा नेपालको संसदीय व्यवस्था अभिन्नरुपले जोडिएको छ, सभामुख महराले भन्नुभयो, ‘कहिले हामीले हाम्रा अधिकारहरु गुमाएका छौं, कहिले संघर्ष गरेर प्राप्त गरेका छौं । निरंकुशतासँग लड्दा कहिले भूमिगत त कहिले खुला आन्दोलन पनि गर्नुपरेको छ ।’ नयाँ संविधानले संघीय संसदको परिकल्पना गरेको भन्दै सभामुख महराले संघीय संसदको पहिलो प्राथमिकतामा कानून निर्माण रहेको बताउनुभयो । ‘अहिले संसदको मुख्य प्राथमिकता भनेको विभिन्न कानूनहरु निर्माण गर्नु रहेको छ, पूर्वसांसदहरुर्ला सम्बोधन गर्दै सभामुख महराले भन्नुभयो, कानून निर्माणमा तपाईंहरुको सल्लाह, सुझाव र सहयोग जरुरी छ ।’ राज्यलाई जनताप्रति उत्तरदायी बनाउने र जनताको आवाज राज्यलाई सुनाउने काम संसदकै भएको बताउँदै सभामुख महराले संसदभित्र प्रतिनिधित्व नगर्ने दलको पनि आवाज अभिव्यक्त हुनुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । २०१६ र ४६ सालको भन्दा राजनीतिक र सामाजिक विकासको हिसाबले फरक संसदीय अभ्यासमा रहेको भन्दै सभामुख महराले यहाँसम्म आइपुग्न विगतका गौरवपूर्ण संघर्षको देन रहेको बताउनुभयो । पटक–पटक लोकतन्त्र गुमाउनु परेको इतिहास फेरि पनि नदोहोरियोस् भन्नेमा आफूहरु सचेत रहेको भन्दै सभामुख महराले संसदलाई थप बलियो, प्रभावकारी र गतिशील बनाउन पूर्वसांसदहरुको अनुभव र ज्ञान आवश्यक रहेको बताउनुभयो । पूर्वसांसदहरु पनि संसदकै अभिन्न अंगको रुपमा रहेको भन्दै सभामुख महराले नीति निर्माण, राज्यलाई जनताप्रति उत्तरदायी बनाउन र संसदमा जनताका आवाज अभिव्यक्त हुने वातावरण बनाउने काममा सक्रिय सहयोग र सहभागिता जनाउन पूर्वसांसदहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा सभामुख महराले पूर्वसांसद मञ्च नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो ।