जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

सोलुखुम्बु । जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।

आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे– ८ निवासी ३१ वर्षीय कुसाङ तामाङ, सिरहा सनैखा निवासी ३६ वर्षीय शिवकुमार यादव र ओखलढुंगाको माम्खा– ५ बस्ने ४० वर्षीय श्यामकुमार राईको सनाखत भएको हो ।

यस्तै खोटाङ खाल्ले– ८ निवासी २४ वर्षीया कोपिला बस्नेत ९कार्की०, सोलुखुम्बुको नेचासल्यान– २ बस्ने अन्दाजी ३५ वर्षकी उर्मिला बास्तोला, सोही ठेगाना भएकी अन्दाजी २५ वर्षकी सुशीला खड्का र करीब– ८ वर्षीया सुष्मा खड्काको पनि मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
बिहान नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको ना १ ज १८६० नं को जीप साविक तिङ्ला–१ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकैको चिप्ले भिरमा खसेको थियो ।

जीप करिब एक किलोमिटर तल खसेको अनुमान गरिएकोे छ । जीपमा सवार सात जनामध्ये ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि काठमाडाँै लैजाँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । रासस

४० हजार अमेरिकी डलरसहित युवक पक्राउ

धादिङ । नेपाल प्रहरीले ४० हजार अमेरिकी डलरसहित एक युवालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गको सिम्लेमा स्थानीय पसलेसँग सस्तो दरभाउमा डलर साट्‌ने क्रममा प्रहरीले शंका गरी पक्राउ गरेको थियो । पक्राऊ पर्नेमा नवलपरासी जिल्ला सरावल गाउँपालिका–३ निवासी २८ वर्षीय आनन्दप्रसाद कलवारलाई पक्राउ गरेको हो । कलवारसँग एक सय दरका ४ सय थान अमेरिकी डलर बरामद भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । कलवारले आफूसँग रकम नभएर खाना नखाएको भन्दै सस्तोमा डलर साटी दिन पसलेसँग आग्रह गरेका थिए । त्यति ठूलो मात्रामा नगद बोकेर सस्तो दरभाउमा साट्‌न खोज्नुले नक्कली डलरको आशंका भएपनि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको  कान्तिपुर दैनिकको अनलाईनले उल्लेख गरेको छ ।

उद्योगलाई प्रधान र व्यापारलाई सहायक मानौं, सरकार हातेमालो गर्न तयार छ : मन्त्री यादव

भीमदत्तनगर, असार १४ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग÷व्यवसायीलाई आग्रह गर्नुभएको छ । बिहीबार कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गर्नुभयो । “उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर आउनूस् सरकार हातेमालो गरेर जान तयार छ”, मन्त्री यादवले भन्नुभयो, “अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।” हरेक प्रदेशमा सरकार उद्योग स्थापना गर्न अघि बढिरेहको बताउँदै उहाँले पर्याप्त उद्योग सञ्चालनमा आए युवाले स्वदेशमै रोजगारी पाउने धारणा राख्नुभयो । “कृषि प्रधान देश भन्छौँ रोजगारी गर्न भारत र भारतबाट चामल आयात गरिरहेका छौँ”, मन्त्री यादवले भन्नुभयो, “अहिले सरकारले उत्पादन, कृषि र उद्योग लगायतलाई बजेटमा प्राथमिकतामा राखेको हो ।” मन्त्री यादवले विकासमा राजनीति गर्न नहुने भनाइ राख्नुभयो । पहाडलाई सम्पत्ति बताउँदै उहाँले जडीबुटीको अपार खानी पहाड भएको बताउनुभयो । कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने प्रदेश नं ७ को दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन, महाकाली नदीमा चार लेनको पुल निर्माण हुन्जेल शारदा ब्यारेज (बनबासा पुल) १२ घण्टा सञ्चालन गराउन पहल गर्न, गड्डाचौकीमा अध्यागमन कार्यालय स्थापना गर्न लगायतका माग गर्नुभयो ।

सरकार स‌ंघीयता असफल पार्न लागेको गगन थापाको आरोप

काठमाडौं, असार १४ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसदलाई साक्षी राखेर संघीयता असफल पार्न खोजेको आरोप लगाएको छन् । साथै उनले संसद त्यसको साक्षी नबन्ने पनि बताएका छन् । सत्तारुढ दलका सांसदले केन्द्र सरकारबाट निर्माणाधिन आयोजना निर्माण सम्पन्न गरेर मात्र प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेपछि कांग्रेसका सांसदहरु सरकार नै संघीयता असफल पार्न लागिपरेको भन्दै आक्रोसित भएका हुन्। सांसद थापाले मुलुक संघीय संरचनामा गइसकेपनि सत्तारुढ सांसदले राखेको केन्द्रमुखी प्रस्तावलाई प्राथमिकता दिइएकाले सरकार संघीयता विरोधी भएको आरोप लगाए। ‘संघीयता विफल हुन्छ भन्न प्रधानमन्त्रीले पाउनु हुन्न, संघीयता चल्दैन, काम गर्दैन भनेर संसदलाई साक्षि राख्न खोजिएको हो भने त्यसको साक्षी संसद् बस्न सक्दैन’ थापाले भने, ‘त्यसको संरक्षण गर्न सरकार सक्दैन भने हामी तयार छौं। हामी संघीयतालाई सफल पार्न उभिन्छौं।’ सांसद थापाले स्वयं सत्तारुढ सांसदले नै यो वर्षको बजेट सन्तुलित, न्यायपूर्ण र विवेकपूर्ण नभएको भनेर टिप्पणी गरेको बताए। बिहीवार प्रतिनिधि सभाको बैठकमा नेकपाका सांसद् खगराज अधिकारीले ‘केन्द्र सरकारबाट निर्माणाधीन आयोजना निर्माण सम्पन्न गरेर मात्र प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न’ आग्रह गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरेपछि कांग्रेस सांसद थापाले सरकारले संघीयता असफल भएको भनेर संसदलाई साक्षि राख्न खोजेको आरोप लगाएका हुन्। सांसद अधिकारीले बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५/७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजनाहरु सम्पन्न गरी तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका थिए । सांसद अधिकारीले केन्द्रको स्रोतबाट निर्माणाधीन आयोजना अलपत्र हुनसक्ने र समयमै सम्पन्न हुन नसक्ने र विकास निर्माणमा गम्भीर असर पर्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न अत्यावश्यक भएको भन्दै गत जेठ २९ गते संघीय सचिवालयलमा उक्त प्रस्ताव दर्ता गराएका थिए । छलफलमा सांसदहरुले उठाएका चासो र सरोकारको जवाफ दिंदै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार संघीयता विरोधी नभएको दाबी गरे। स्थानीय सरकारलाई सवल बनाएर अधिकार दिने कि कमजोर हुँदै अधिकार दिएर काम गर्न नसक्ने बनाउने भन्ने नै अहिलेको द्वन्द्व भएको बताउदै खतिवडा भने, ‘सरकारले पहिलो विकल्प रोजेको हो ।’

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र हुनुपर्छ : गच्छदार

विराटनगर, असार १४ । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बिहीबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताउनुभयो । काँग्रेस नेता गच्छदारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले जनताको सुुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीहरुले गलत कार्य गरेको भएको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उहाँको भनाइ थियो । एक फरक प्रसंगमा उहाँले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीको चीन भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी

काठमाडौं, असार १४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा उत्पादनको क्षेत्रमा नेपालमा लगानी बढाउने बारे भएका सम्झौताहरुले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार गरेको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले यही असार ५ देखि १० गतेसम्म चीन भ्रमणका क्रममा महत्वपूर्ण सहमति, सम्झौताहरु र उच्चस्तरीय राजनीतिक भेटघाट गर्नु भएको उल्लेख गर्दै उहाँले चीन भ्रमणका क्रममा स्थल तथा हवाई सञ्जाल विस्तार, उत्तर दक्षिण जोड्ने सम्पर्क सञ्जाल निर्माण, कोशी, कर्णाली, गण्डकी आर्थिक करिडोर निर्माण गर्ने विषयमा महत्वपूर्ण सहमति भएको बताउनुभयो । भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप आयाम थपिएको र तेल र ग्यासको सम्भाव्य अध्ययन गर्ने, निर्यात योग्य नेपाली समान निर्यात गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, सरकारी छात्रवृत्तिलाई बढाउनका लागि दुवै देश सहमत भएको मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लिखछ्याङलाई नेपाल भ्रमणका लागि निम्ता दिएको र समय मिलाएर छिट्टै उहाँहरुले नेपाल भ्रमण गर्ने विश्वास गरिएको मन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो । चीन भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले चीनले नेपाललाई आर्थिक समृद्धिमा सहयोग पु¥याउने तथा ‘समृद्ध नेपाल र सुख नेपाली’को अभियान पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि चिनियाँ पक्षले गरेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीको भ्रमणका अवसरमा १४ बुँदे संयुक्त विज्ञप्ति जारी भएको जानकारी दिँदै १३ सरकारी स्तरमा र नौ वटा निजीस्तरमा गरी २२ वटा महत्वपूर्ण सहमति तथा सम्झौता भएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा जानकारी गराएपछि राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

चाटर विमान निर्माणाधीन भवनमा ठोक्किदा दुर्घटना, ठूलो हताहति भएको आशंका !

मुम्बई, असार १४ । किङ् एयरको सी–९० नम्बरको चार्टर विमान मुम्बईको घाटकोपरमा दुर्घटना हुँदा विमानमा सवार ४ जना र एक पैदलयात्रीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मृतकहरुमा २ पाइलट र २ जना इन्जिनियर रहेको बताइएको छ । भीडभाडयुक्त क्षेत्रमा दुर्घटनामा भएको बताइएको छ । क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । दुर्घटना बिहीबार दिउँसो १.३० बजे घाटकोपरको सर्वोदय नगरस्थित आवासिय क्षेत्रमा भएको थियो । ठूलो मानवीय क्षति नहोस भनेर पाइलटले विमानलाई निर्माणाधीन भवनतिर लगेको बताइएको छ । दुर्घटना भएको विमान भारत उत्तर प्रदेश सरकारको भएको बताइएको छ । तर उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथका प्रमुख सचिव एसपी गोयलले भनेका छन्, ‘मुम्बईमा दुर्घटना भएको विमान युपी सरकारले सन २०१४ मा नै बेचि सकेको हो । यो कसले किन्यो, यससम्बन्धमा मलाई केही जानकारी छैन ।’ भारतीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उधृत गर्दै दुर्घटनापछि एक जना आगोको लप्काबाट बाहिर निस्किदै गरेको उल्लेख छ । घटनास्थलमा अग्नि नियन्त्रकको टोली पुगी सकेको र आगो नियन्त्रणको प्रयास गरिरहेका विमान दुर्घटनामा परि फसिरहेका मानिसहरुको उद्दारको प्रयास जारी रहेको पनि बताइएको छ । मुम्बई प्रहरीले घटनाबारे अनुसन्धान गर्ने बताएको छ । दर्घटनाको के कारणले भयो भन्ने बारे भने अहिलेसम्म थाहा सकेको छैन ।

मुख्यमन्त्री भट्टको स्वास्थ्यमा कुनै समस्या छैन : अस्पताल

धनगढी, असार १४ । मुख्यमन्त्री त्रिलोचन भट्टको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बिहान सेती अञ्चल अस्पतालमा पुग्नु भएका मुख्यमन्त्री भट्टको प्रारम्भिक रिपोर्ट अनुसार स्वास्थ्यमा कुनै समस्या नरहेका अस्पताल स्रोत जनाएको छ । उहाँलाई फिजिसियन डाक्टर किरण खनाल, अल्ट्रासाउण्ड विषेशज्ञ होमराज पन्तको टोलीले जाँच गरेको थियो । “मुख्यमन्त्री ज्युको भिडियो एक्सरे गरियो, त्यस्तो खास समस्या केहि देखिएन, दौडधुप बढि भएको र खानपान समयमा नहँुदा स्वास्थ्यमा सामान्य समस्या आएको हो” उपचारमा संलग्न डाक्टर खनालले भने । हिजो उहाँको रगत र पिसाव पनि जाँच गरएिको थियो खनालले भने उक्त रिपोर्टमा पनि कुनै समस्या देखिएको छैन । डाक्टरहरुले मुख्यमन्त्री भट्टलाई केही दिन आराम गर्न सुझाव दिएको उहाँको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षणपछि मुख्यमन्त्री भट्टले अस्पतालको बर्तमान अवस्थाबारे डाक्टरद्वयसँग जानकारी लिनु भएको थियो । आवश्यक दक्ष जनशक्तिको अभाव भएकोले उपचारमा केही कठिनाई भएपनि आफुहरु दत्तचित्त काम गरिरहेको उनीहरुले मुख्यमन्त्रीलार्य जानकारी गराएको थिए । चिकित्सकका कुरा सुनेपछि मुख्यमन्त्री भट्टले अञ्चल अस्पताल प्रदेश सरकार मताहत आइसकेकाले थप व्यवस्थापनकाल लागि आफू गम्भीर भएर लाग्ने बताउनु भयो । गर्मी मौसममा बिरामीको चाँप बढि हुने भएकोले स्वास्थ्य उपचारमा बिशेष ध्यान दिन मुख्यमन्त्री भट्टले डाक्टरहरुलाई निर्देशन समेत दिनु भएको थियो । भट्टको स्वास्थ्यमा मंगलवार बेलुकादेखि समस्या आएको थियो ।

सरकारद्वारा कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका स्वीकृत

काठमाडौं, असार १४ । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । भ्रमण अपेक्षा अनुरुप नेपालको हितमा रहेको निष्कर्षमा मन्त्रिपरिषद् पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । “नेपाल र बङ्गलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न र बीमा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो । त्यसैगरी, सरकारले कर्जा सुरक्षण नियमावली, २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपेली संघबाट प्राप्त हुने ४० मिलियन यूरो  (करीब पाँच अर्ब ६ करोड) अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी, बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक–२०७५ संसद्मा पेश गर्न स्वीकृत प्रदान गरेको छ । बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको छनोट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी नियमावली–२०७५ र निक्षेप सुरक्षण नियमावली–२०७५ लाई पनि स्वीकृत गरेको छ ।

रोल्पामा ६ जनाको हत्या, कारण यस्तो छ

रोल्पा, असार १२ । जिल्लामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका-४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको बञ्चरो प्रहार गरी हत्या गरे । यसरी आफ्नै ज्वाइँको बञ्चरो प्रहारबाट सोही गाउँपालिका-४ तिखेचुलाका ५२ वर्षीय नरसिंह थापाले अनाहकमा ज्यान गुमाउनु प¥यो । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार मदिरा सेवन गरी छोरीलाई कुटपिट गरेको खबर पाएपछि छोरीको अवस्थाका बारेमा बुझ्न गएका थापालाई आवेसमा आई उनका ज्वाइँ दीपेन्द्र बस्नेतले हत्या गरेका हुन् । अभियुक्त बस्नेतलाई घटनालगत्तै प्रहरीले पाखापानीको जंगलबाट पक्राउ गरी आफ्नो नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालत रोल्पाको आदेशानुसार हाल उनी पुर्पक्षका लागि थुनामा छन् । यसरी पिताको निधन तथा पति कानूनी कठघरामा परेपछि पीडित परिवारमा अझ पीडा थपिएको आफन्तले बताएका छन् । यसैगरी, यही २०७४ चैत १९ गते घरायसी विवादका कारण त्रिवेणी गाउँपालिका-२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकले बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गरेका थिए । हाल खर्कबहादुर पनि पुर्पक्षका लागि थुनामै छन् । खर्कबहादुरले आफ्नै दाजु पर्ने सोही गाउँपालिकाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी बसन्ती विकको १९ गते साँझ ४ बजे घर नजिकै खेलिरहेको अवस्थामा बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । यसरी काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ भने सिंगो गाउँ नै दुखी एवं विक्षिप्त भएको छ । यसैगरी २०७४ कात्तिक २४ गते रोल्पा नगरपालिकास्थित कोर्चाबाङका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरी २४ वर्षीय पेवावती केसी तथा नातिनी २ वर्षीया दीपा केसी र ६÷७ महिनाकी नेहा केसीको बञ्चरो प्रहार गरी हत्या गरेका थिए । बिरामी परेर भेट्न गएका बाबुको हातबाट आफू र आफ्ना दुई नाबालक सन्तानको जीवन निमोठिएपछि उनका श्रीमान् तथा घरपरिवार विचल्लीमा परे । यी सबैजसो घटनामा मर्ने र मार्ने दुवै पक्ष आफन्त परेपछि जिल्लावासीलाई सशंकित बनाउन थालेको छ । क्षणिक आवेशमा आउँदा यसले निम्त्याउने असरका बारेमा नसोची हतारको निर्णयले आफन्तको ज्यान लिनेक्रम बढेपछि रोल्पाली थप चिन्तित बन्न थालेका छन् । प्रनाउ फुयालका अनुसार घटनामा संलग्न जो कोहीलाई कानूनी कारबाही हुन्छ, हुनुपर्छ र भइरहेको छ । तर पनि यतिमात्र घटना नियन्त्रणका लागि पर्याप्त नभएको हुँदा यस किसिमका घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्शको खाँचो हुनेमा उहाँको जोड छ । उहाँका अनुसार जिल्लामा विभिन्न कारणले गर्दा आत्महत्याका घटना पनि बढिराखेको अवस्था छ । त्यसैले मनोसामाजिक परामर्शमा विशेष जोड दिनुपर्ने देखिन्छ, उहाँले भन्नुभयो ।यस किसिमका घटना नियन्त्रणका लागि प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने भएको हुँदा सामाजिक अभियन्ता पनि सक्रियरुपमा लाग्नु पर्ने अधिकारकर्मीको सुझाव छ । -रासस

बाग्लुङमा भिषण पहिरो, एकै घरका तीन जनाको मृत्यु

बागलुङ, असार १२ । भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका-१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताउनुभयो । इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ । रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पु¥याएको छ । बरेङ गाउँपालिकाका-२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ । यस्तै, हुग्दीखोलामा आएको बाढीले कैयौँ रोपनी खेत बगरमा परिणत भएको स्थानीयवासी प्रकाश छन्त्यालले बताउनुभयो । जिल्लाभर भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध यसैगरी, भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ । गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो । जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ । गलकोट क्षेत्रका अधिकांश ग्रामीण सडक पनि पहिराले अवरुद्ध बनाएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताउनुभयो । “ठाउँठाउँमा गएको पहिराले मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्घ छ,” अध्यक्ष भण्डारीले भन्नुभयो, “पहिराले अन्यत्र पनि भौतिक क्षति पु¥याएको खबर आइरहेका छन् ।” पहिरो हटाई लोकमार्ग सुचारु गर्न प्रयास भइरहेको हटिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टेकबहादुर खाडामगरले बताउनुभयो । रातभर परेको अविरल वर्षापछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ । -रासस

कर्णाली प्रदेशमा ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु

सुर्खेत, असार १२ । कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुग्नु भएको छ । जनता स्वयंको प्रत्यक्ष जिज्ञासा, गुनासा, सुझाव र प्रश्न लिएर प्रदेशको विकास, सुशासनमा गति दिने मुख्य उद्देश्य राखेर ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएकै दिनमा दर्जनौँ नागरिकले मुख्यमन्त्री शाहीसँग, साविकको कर्णालीमा राष्ट्रिय प्रसारण लाइन जडान, सडक, युवा रोजगारी सुनिश्चितता कहिलेसम्म हुने जस्ता प्रश्न तथा जिज्ञासा राखेका थिए । जिज्ञासा तथा प्रश्न फेसबुक, भाइबर, एसएमएस, स्काइप र टेलिफोनबाट राखेका थिए । आफ्ना जिज्ञासा खुलेरै प्रत्यक्षरुपमा मुख्यमन्त्रीसँग राख्न पाएपछि कर्णालीवासीले खुशीको अनुभूति गरेका छन् । हिमा गाउँपालिका जुम्लाका रनबहादुर रोकायाले कर्णालीलगायत विभिन्न जिल्लामा अहिलेसम्म पनि विद्युत् नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता भोग्नु परेको गुनासो गर्नुभयो । मुख्यमन्त्री शाहीले जनतासँगको प्रत्यक्ष कुराले प्रदेशको आगामी विकास योजना निर्माणमा सघाउ पुग्ने बताउनुभयो । “सेवा प्रवाह र पारदर्शिताका विषयमा पनि जिज्ञासा तथा सुझाव आएका छन्, यो राम्रो पक्ष हो,” उहाँले भन्नुभयो । जनताले खबरदारी गर्दै आएको कुराले यो प्रदेशमा सुशासन कायम हुनुका साथै आगामी योजना निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ छ । -रासस

लागूऔषध प्रयोगकर्ता किन बढ्दै छन् ?

सांकेतिक तस्वीर सुर्खेत, असार १२ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दुव्र्यसनको विकराल रुप रहेको देखिएको छ । लागूऔषध प्रयोगकर्ताको संख्याको बारेमा जिल्लामा यकिन सरकारी तथ्यांक नभए पनि बेलाबेलामा लागूऔषधको मुद्दामा पक्राउ पर्नुको साथै विभिन्न गैरसरकारी संस्थामा आएका प्रयोगकर्तालाई आधार मान्दा यसको विकराल रुप देखिएको छ । यति मात्र होइन महिला र बालबालिकासमेत यसको जोखिममा परेको पाइएको छ । छ महिना अघि लागूऔषध दुव्र्यसनमा फसेका १८ जना बालकलाई उद्धार गरिएको थियो । दुई÷चार दिन अघि मात्र फेरि सडकमा दुव्र्यसनमा परेका १७ जना बालक फेला परेको लागूऔषध दुव्र्यसनीको क्षेत्रमा काम गर्दै आइरहेको भैरव युवा सशक्तीकरण केन्द्रका सञ्चालक ललित भट्टराईले बताउनुभयो । “लागूऔषधको दुव्र्यसनीमा फसेका १८ जना सडक बालबालिकालाई संस्थाले उद्धार गरेर कसैलाई घरमा त कसैलाई आफन्तकोमा जिम्मा लाएका छौँ” भट्टराईले भन्नुभयो, “फेरि पनि दुव्र्यसनमा फसेका १७ जना बालकको टोली सडकमा देखिएका छन् ।” यस्ता दुव्र्यसनीमा फसेका बालबालिकालाई स्थानीय निकाय होस् या संघसंस्था सबैले बेवास्ता गर्ने गरेको उहाँको भनाइ छ । त्यसैगरी, यस्ता बालबालिका चोरी डकैतीजस्ता विकृतिमा संलग्न हुने हुनाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । यस वर्ष ४५० जना प्रयोगकर्तालाई परामर्शसँगै पुनःस्थापना गर्ने लक्ष्य रहेको भट्टराईको भनाइ छ । जिल्लामा लागूऔषध प्रयोगकर्ताको आधिकारिक तथ्यांक नभए पनि करीब ६०० को हाराहारीमा कडा खालका (छोड्नै नसक्ने) प्रयोगकर्ता रहेको बताउनुभयो । “यकिन तथ्यांक छैन संस्थामा परामर्श लिन आएका प्रयोगकर्तालाई आधार मानेको संख्या हो” उहाँले भन्नुभयो, “दुव्र्यसनीमा त यसको संख्या अझ बढी हुन सक्छ ।” त्यसैगरी, पछिल्लो समय महिला प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । अहिले बाहिर देखिएका मात्र १० देखि १२ जनाको संख्यामा रहेका छन् । सोमबार वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भैरव युवा सशक्तीकरण केन्द्र सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरिएको लागूऔषध दुव्र्यसन विषयक अन्तक्र्रिया कार्यक्रममा केन्द्रका सञ्चालक भट्टराईले लागूऔषध दुव्र्यसनको विकराल अवस्था रहेको बताउनुभयो । सबैभन्दा पहिले अभिभावक नै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “सामाजिक प्रतिष्ठाका कारण यस्ता विषयहरु लुकाइन्छ” उहाँले भन्नुभयो “परिवार अनि समाजले लुकाउँदै जाँदा यसको अवस्था भयावह बन्दै गएको हो ।” यसका लागि सचेतना फैलाउन जरुरी रहेको भट्टराईको भनाइ थियो । -रासस

कांग्रेस युवा नेता भन्छन्,-‘७० नाघ्नुभयो, विश्राम लिनुहोस्’

काठमाडौं, असार १२ । कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर, दुवैको छाँट त्यस्तो छैन । केही समयअघि नेता बालकृष्ण खाँणले दुवैलाई भने पनि ‘तपार्इंहरूसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस्, नत्र नेतृत्व हस्तान्तरणतिर लाग्नुहोस् ।’ जब नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्छ, देउवा ९२ वर्षमा सत्तामा पुनः उदाएका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् । कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् । युवा नेताहरू भने अब ‘गर कि छाड’ को अडानमा पुगेका छन् । राज्यका तीनै तहका निर्वाचनमा पार्टी नराम्ररी हारेपछि उनीहरू शुद्धीकरणका लागि नेतृत्व परिवर्तनको जोडमा लागेका छन् । कान्तिपुरमा खबर छ ।

एम्बुलेन्सका चालक मापसेको फन्दामा !

काठमाडौं, असार १२ । व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे । तर, एम्बुलेन्स साइरन बजाउँदै अघि बढ्न खोज्यो । प्रहरीले ट्रयाप थाप्यो । अन्ततः एम्बुलेन्स रोकियो । चालक छेउमा प्रहरी पुग्दा टाढैबाट मापसेको गन्ध आयो । एम्बुलेन्सका चालक हितमान थामी रहेछन् । प्रहरीले चालकलाई एम्बुलेन्सबाट ओरालेर जाँच गर्यो । मापसे गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइयो । पछि उनलाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरियो । केही महिनाअघि महाराजगन्जमा पनि ना २ च ३६८३ नम्बरको एम्बुलेन्सका चालक यज्ञबहादुर गुभाजू मापसे कारबाहीमा समातिए । नयाँ पत्रिका खबर छ ।

यातायात सिन्डिकेट गयो, अराजकता बढ्यो

काठमाडौ, असार १२ । २४ वैशाखमा सरकारले यातायात सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको औपचारिक घोषणा गर्यो । सरकारको निर्णयसँगै यातायात क्षेत्रको अव्यवस्था अन्त्य हुने अपेक्षा आमसर्वसाधारणको थियो । तर, डेढ महिनाभन्दा लामो यो अवधिमा यातायात क्षेत्र व्यवस्थित गराउन सरकारले कुनै प्रगति गरेको देखिँदैन । झन् अव्यवस्थित बन्दै गरेको गुनासो सुनिन थालेको छ । सार्वजनिक सवारीसाधनमा यात्रुको कोचाकोचदेखि अव्यवस्थित रुट र छुट्ने समयको मनलाग्दीसम्म उस्तै छ । सिन्डिकेट अन्त्यको घोषणापछि दुर्घटनामा घाइते हुने र मृतकका आफन्त सबैभन्दा समस्यामा परेका छन् । आफ्ना समितिहरू खारेज भएपछि यातायात महासंघले दुर्घटनामा घाइते भएकाको उपचार खर्च आफ्नो जिम्मेवारीमा नभएको बताएको छ । सरकार पनि कानूनले दिएको बिमाबाट पाउने खर्चबाहेक थप केही गर्न नसक्ने तर्क गरिरहेको छ । मर्कामा घाइते र मृतकका आफन्त परेका छन् । विगतमा दुर्घटनामा घाइते भएकाको सम्पूर्ण उपचार खर्च यातायात समितिले बेहोर्थे । तर, सरकारले यातायात सिन्डिकेट अन्त्य गरेसँगै ती समिति खारेज भइसकेका छन् । उनीहरूको बैंक खाता पनि सरकारले रोक्का गरिदिएको छ । नयाँ पत्रिकामा खबर छ ।