बस दुर्घटनामा ९ घाइते, ७ को अवस्था गम्भीर

रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौ जना घाइते भएका छन । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।

सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो ।

घाइतेमध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । उहाँहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ ।

तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडी चालक दाङ, तुल्सीपुर–११, तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । रासस

सुत्केरी महिलालाई गोठमा राखिन्छ !

दैलेख, असार ८ । जिल्लाको ठाटिकाँध गाउँपालिका -२ की हरिकला थापाले तीन हप्तासम्म प्राथमिक स्वास्थ्य केन्द्रमा गएर आफ्नो गर्भ जाँच गराइन् । तर चौथो हप्ता जाँच गर्न नआएपछि स्वास्थ्यकर्मीहरू हरिकलालाई खोज्दै घरमै पुगे । तर, उनी घरमा भेटिइनन् । कहाँ छिन् भनेर खोज्दै जाँदा उनी घरबाट हिँडेर तीन घण्टा लाग्ने जंगलमा रहेको गोठमा सुत्केरी भएर बसेको स्वास्थ्यकर्मीले भेटे । सानो गोठमा धूवाँ तथा फोहोरमा सुत्केरी महिला बच्चा च्यापेर बसेकी थिइन् । ‘गर्भवती खोज्दा गोठमै सुत्केरी भेटाइम्,’ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी मञ्जु शाहीले भनिन् ‘हामीले बच्चा र आमाको स्वास्थ्य चेकजाँच गोठमै गरेर फर्किम् ।’ एक हप्तादेखि हरिकला गोठमै छिन्। सामाजिक संस्कारअनुसार आफूलाई गोठमा बसालिएको सुत्केरी हरिकलाले बताइन् । अझै पनि यहाँ धार्मिक परम्परा भन्दै घरदेखि टाढा गोठमा सुत्केरी गराउने तथा राख्ने चलन छ । ११ दिनसम्म सुत्केरीलाई घरभित्र पस्न नदिने चलन रहेको स्थानीय जिवलाल रेग्मीले बताए । सुत्केरी बस्ने एकान्त ठाउँमा सर्प तथा बाघभालुको डर उस्तै हुने गर्छ । स्वास्थ्यकर्मीका अनुसार सुत्केरीका बेला घरको सफा ठाउँमा बस्ने, आराम गर्ने तथा पोषिलो खाने कुरा खानुपर्ने हुन्छ । ज्ञानको अभावले पुरानो मान्यता भन्दै सुत्केरीलाई गोठमा राखिने गरेको सिनियर अनमी शाहीले बताइन् । गाउँपालिकाले अब स्वास्थ्य संस्थामै प्रसूतिका लागि अभियान चलाउनुपर्ने स्थानीय अगुवा रक्षबहादुर शाही बताउँछन् । नागरिकमा यो खबर छ । जंगल बीचको गोठमै सुत्केरी भइ बसेकी हरिकलालाई चेकजाँच गर्दै स्वास्थ्यकर्मी । तस्बिरः नागरिक

‘मानवधिकारको गम्भीर उल्लङ्घनका घटनामा पीडक र पीडितबीच सहमति भए पनि मेलमिलाप हुँदैन’

काठमाडौं, असार ७ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई क्षमा नदिने गरी कानून बनाउने तयारी गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना, गैरकानूनी हत्या, व्यक्ति बेपत्ता पार्ने, यातना दिने र जबर्जस्ती करणी वा अन्य यौनजन्य हिंसामा पीडित र पीडकबीच सहमति भए पनि मेलमिलाप हुन नसक्ने गरी मन्त्रालयले कानून निर्माण गर्ने तयारी गरेको हो । संक्रमणकालीन न्यायका लागि गठित दुई आयोगको ऐन पहिलो संशोधनका बारेमा जानकारी दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भन्नुभयो, “मानवधिकारको गम्भीर उल्लङ्घनका घटनामा पीडक र पीडितबीच सहमति भए पनि मेलमिलाप हुँदैन, आयोगले पनि क्षमा दिन सक्दैन ।” बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गरेर ‘संक्रमणकालीन न्यायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ नाम राखिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा क्षमा दिन सक्ने कुरामा पनि तोकिएको शर्तसहित आयोगले तोकेको अवधिमा निवेदन दिनुपर्नेछ । संशोधन विधेयकमा परिपूरण भन्नाले मनोसामाजिक विमर्श, अन्तरिम राहत, क्षतिपूर्ति, पुनःस्थापना, सुविधा, सहुलियत वा अन्य व्यवस्था सम्झनुपर्छ भनी उल्लेख छ । द्वन्द्वकालको समयमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका विषयमा छुट्टै विशेष अदालत गठन गरी सुनुवाइ हुनेछ । सो अदालत गठनपछि आयोगले मुद्दा चलाउन सक्नेछ । बलात्कार वा यौनजन्य हिंसामा अन्तरिम राहत दिने व्यवस्था र हद म्याद नलाग्ने व्यवस्था विधेयकमा गरिएको छ । जुन अघिल्लो ऐनमा व्यवस्था थिएन । द्वन्द्वकालमा बलात्कार तथा यौनजन्य हिंसामा परेका पीडितले अहिलेसम्म अन्तरिम राहत पनि पाएका छैनन् । आयोगले गरेको छानविन तथा अनुसन्धानबाट सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घनको कार्यमा संलग्न देखिएका व्यक्ति उपर मुद्दा चलाउन सम्बन्धित घटनाको अनुसन्धान प्रतिवेदन र प्रमाणसहित महान्यायाधिवक्तासमक्ष सिफारिस गर्नुपर्ने छ । मुद्दा चलाउन सिफारिस गर्दा घटनाको सम्बन्धमा निजले आफूले थाहा भएसम्मको सत्यतथ्य विवरण आयोगसमक्ष पूर्णरुपमा प्रकट गरी सो विवरण आयोगमा अभिलेखन गराएको, घटनाको निजउपर लागेको सर्कुलरको आरोपको सम्बन्धमा निजले सत्यतथ्य व्यक्त गरी छानविन तथा अनुसन्धानमा सहयोग पु¥याउनुपर्नेलगायत व्यवस्था गरिएको छ । दुवै आयोगलाई दुई वर्षका लागि काम पूरा गर्न समय तोकिएको भए पनि तीन वर्ष बितेर आगामी माघ २६ सम्मका लागि एक वर्ष समय थप गरिएको छ । मन्त्री तामाङले द्वन्द्वका घाउहरु शारीरिक, मानसिक रुपमा निको पार्नुपर्ने र सरकारले यसलाई गम्भीरताका साथ लिएर नीतिगत रुपमा व्यवस्था गर्न लागेको बताउँदै यो प्रारम्भिक मस्यौदा भएको हुँदा सरोकारवाला पक्षको राय, सल्लाह र सुझाव लिएरमात्र अन्तिम रुप दिनेछ भन्नुभयो । विधेयकमा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय कानूनलगायतलाई आधार बनाएर तयार गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संक्रमणकालीन न्याय गर्न बनेको विधेयकका विषयमा सातै प्रदेशमा बृहत् छलफल गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आयोग सहजीकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वका समयमा राज्यपक्षबाट, विद्रोहीपक्षबाट भएका घटना छन्, त्यसमा पीडित को को हुन् ? बाल सैनिक पनि पीडित हुन् कि होइनन् ? त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।” द्वन्द्वपीडित साझा चौतारीका संरक्षक सुमन अधिकारीले दुवै आयोगको कामप्रति पूर्णरुपमा आशावादी हुन सकेको हुँदा कानूनी रुपमा स्पष्ट व्यवस्था गरेर पीडितलाई न्याय दिनुपर्ने सुझाव दिनुभयो । प्रारम्भिक मस्यौदाका रुपमा मन्त्रालयले सो विधेयक सार्वजनिक गरेको हो । सरोकारवाला पक्षसँग बृहत् छलफल गरेरमात्र अन्तिम रुप दिने तयारी रहेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिनुभयो ।

सम्पत्ति शुद्धिकरण विभागका पूर्वअधिकृत चालिसे जेल चलान

काठमाडौं, असार ७ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत शम्भुप्रसाद चालिसे पक्राउ परेका छन्। सिआइबीले बिहीबार चालिसेलाई कलंकीबाट पक्राउ गरेको हो। चालिसेले ०७१ साउन ११ गते सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा मिलाइ सफार्इ दिन्छु भन्दै १० लाख घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए। तर केही समयपछि उनी छुटेका थिए । सर्वोच्च अदालतको गएको चैत २० गते उनीविरुद्ध एक वर्ष छ महिना कैद र १० लाख जरीवाना हुने गरी फैसला गरेको थियो। तर उनी फरार थिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतले बिहीबार नै उनलाई कैद भुक्तानको लागि डिल्लीबजार कारागार जेल चलान गरेको छ।

धोनी पत्नी साक्षीले हतियार राख्न किन अनुमति मागिन् ? कारण यस्तो छ

एजेन्सी । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी धोनीले आर्म्स लाइसेन्सका लागि आवेदन दिएकी छन् । आफूलाई ज्यानको खतरा भएकाले हतियार राख्ने अनुमति मागेको निवेदेनमा भनेकी छन्। साक्षीले आफू अधिकांश समय घरमा एक्लै बस्नुपर्ने र निजी कामको लागि एक्लै घरबाट बाहिर निस्कनुपर्ने भएकाले आफ्नो सुरक्षाका लागि पेस्तोल या ०.३२ रिवल्भर राख्ने अनुमतिका लागि आवेदन दिएकी हुन् । पूर्व कप्तान धोनी भारतीय वानडे र टी-२० को नियमित सदस्य हुन् । उनी प्रायः मुलुक र घरबाट बाहिरै हुन्छन् । यसैकारण आफ्नो सुरक्षाका लागि हतारा राख्ने अनुमति मागेकी हुन्। साक्षीले हतियार राख्ने आवेदन मजिस्ट्रेट कार्यालयमा दिएकी छन् । मजिस्ट्रेट कार्यालयले आवश्यक निवेदन एसएसपी कार्यालय पठाएको छ। अब एसएसपी कार्यलयले अनुमति दिनासाथ साक्षीले हतियार राख्ने लाइसेन्स पाउनेछिन् । धोनीले पनि हतियार राख्ने अनुमति पाएका छन्।

ठमेलबाट किन पक्राउ परे ६ जना पाकिस्तानी ?

काठमाडौं, असार ७ । बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् । नेपालको बाटो हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर बेलायत जान लागेको अवस्थामा पासपोर्ट जाँच गर्दा अलर्ट आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा दिन मिजार फारिद, इल्ही जाका, सोहेल मोहम्मद, इराम शाहजादा, इलाही जाहा र धौरी नुजात नाज छन् । जसमध्ये प्रहरीले सुरुमा दिन मिजार फारिद इलही जाकालाई पक्राउ गरेपछि ठमलेको एक होटलबाट अन्य चारलाई पक्राउ गरेको हो । पक्राउपछि उनीहरुलाई अध्यागमन विभागले हिरासतमा लिई अनुसन्धान सुरु गरेको छ । नागरिकमा खबर छ ।

३३ किलो सुनः थप एक जना पक्राउ

काठमाडौं, असार ७ । हुन्डीको मुख्य कारोवार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्धारलाई नियन्त्रणमा लिइएको छ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले पोद्धारलाई नियन्त्रणमा लिएको हो । उनलाई अनुसन्धान टोलीले मंगलबार राति उनकै निवास डिल्लीबजारबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । नागरिकमा खबर छ ।

म्याद नाघेको खाद्यान्न बिक्री गर्ने ७ व्यापारी पक्राउ

काठमाडौं, असार ७ । बजार अनुगमनका क्रममा पसलमा मूल्यसूची नराख्ने र उपभोग्य मिति सकिएका खाद्यान्न बिक्री गर्ने सातजना व्यापारीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पक्राउ गरेको छ । पक्राउ परेका व्यापारीलाई काठमाडौं र ललितपुर प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई बुधबार थुनामा राख्ने र बिहीबार दिउँसो आवश्यक अनुसन्धान सुरु गर्ने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । ‘पक्राउ परेका सबैलाई प्रहरीको जिम्मा लगाएका छौँ, बिहीबार आवश्यक कागजात झिकाएर थप अनुसन्धान गर्नेर्छौं’ उनले भने । पक्राउ परेकामध्ये चारजना थोक बिक्रेता, एक खुद्रा विक्रेता, एक डिपार्टमेन्ट स्टोरका कर्मचारी र एकजना सुपर मार्टका सञ्चालक हुन् । विभागको अनुगमन टोलीले बुधबार दिनभर २५ थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो । त्यसमध्ये सात पसलमा मूल्यसूची नटाँसेको, मिति गुज्रिएको सामान राखेको, उत्पादन मिति उल्लेख नभएको सामान राखेकोलगायतका कैफियत भेटिएपछि तत्काल विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको थियो । विभागको निर्देशनपछि सबै व्यापारी विभाग परिसरमा साँझ साढे चार बजेसम्म उपस्थित भएका थिए । त्यसपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको संयोजकत्वमा विभागमै सबै अनुगमन निरीक्षकसहितको बैठक बसेको थियो । बैठकमा यादवले विभाग बोलाइएका सबैलाई एक रात थुनामा राखेर थप अनुसन्धान गर्न निर्देशन दिएका थिए । ‘दोषी सबैलाई कारबाही हुन्छ, कसको अपराध कस्तो छ भन्ने कुराको निक्र्यौल गरी अपराधअनुसारको कारबाही सबैले भोग्नेछन्’ उनले भने । मन्त्रीको निर्देशनपछि राति आठ बजे ललितपुर र काठमाडौंको प्रहरी परिसरलाई सात व्यापारी जिम्मा लगाइएको हो । यी हुन् पक्राउ परेका व्यापारी १- सागर मानन्धर, पञ्च स्टोर, बालकुमारी २- महेश तिमिल्सिना, तिमिल्सना किराना एन्ड खाद्य स्टोर, बालकुमारी ३- नरोत्तम फैजू, बंगलामुखी स्टोर, बालकुमारी ४- ध्रुवप्रसाद गुप्ता, शिवज्योति टे«डिङ ५- राजाराम तिवारी, भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर, कलंकी ६- सुरज श्रेष्ठ, सुरज स्टोर, जोरपाटी ७- नगेन्द्र पनेरू, रोसी सुपर मार्ट, गोंगबु नयाँ पत्रिकामा खबर छ ।

विदेश बसी फेसबुकमार्फत नेपालबारे जथाभावी लेख्नेलाई कारबाहि हुने

काठमाडौं, असार ७ । नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाईने फेसबुक, ट्टिरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव गरिएको छ । विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालबारे जथाभावी लेख्नेलाई अनुगमन गर्ने भएको हो । छापा तथा विधुतीय सञ्चारमाध्यमको रेकर्ड राख्ने, सञ्चारमाध्यम, सञ्चारकर्मीबारे केही उजुरी परे अनुसन्धान गर्ने गरेको काउन्सिलले ऐनमा नयाँ व्यवस्था गर्न लागेको हो । विदेशमा बस्ने नेपालीले जथाभावी लेख्ने, जात, धर्म, संस्कृतिमा खलल पुग्ने लेख्ने गरेको भन्दै ऐनमा नयाँ विषय थप्न लागिएको छ । नागरिकमा खबर छ ।

दलित महिला मन्दिरकाे पुजारी !

दाङ, असार ७ । छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष-अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् । घोराही उपमहानगरपालिका-१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी छिन् । भारतमा जन्मिएकी पार्वती तीन वर्षअघि तीन छोरी र श्रीमान्का साथ नेपाल आएकी थिइन् । ४१ वर्षीया पार्वती नेपाल आएर स्थायी रूपमा बस्ने गरी जग्गा किनेकी थिइन् । उनी तीन वर्षदेखि मन्दिरमा पुजारी बनेकी छिन् । अहिले मन्दिरमा पूजा गर्न दिनहुँ सयौँको भिड लाग्छ । मंगलबार र बुधबार साँझ नागले दर्शन दिने विश्वासमा मन्दिरमा पुग्ने गरेका छन् । यो क्षेत्रमा क्षेत्री र ब्राह्मण समुदायको बसोवास रहेको छ । स्थानीय सुदीप गौतमका अनुसार सुरुमा कतिपयले पार्वतीलाई दलित भएकै कारण पुजारी स्विकार्न मानेका थिएनन् । तर, भगवान्प्रतिको उनको अगाध विश्वास र समर्पणलाई देखेर सबैले स्विकारेका छन् । गौतमले अहिले त्यस्तो कुनै पनि किसिमको भेदभाव नभएको बताए । नयाँ पत्रिकामा खबर छ ।

चिनियाँ रेल अब नेपालमा !

काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब पूर्णरुप पाउने भएको छ । चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्चालनको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा अनुमोदन गरिदिएका हुन् । उनले ग्रेट हल अफ दि पिपुलमा शिष्टाचार भेटका निम्ति पुगेको नेपाली प्रतिनिधिमण्डलसामु भने, हामीले छिङहाईदेखि ल्हासासम्म बनाएको रेलमार्ग अहिले शिगात्से पुगेको छ । त्यो अझै अगाडी बढ्दै छ र मलाई विश्वास छ, त्यो चाँडै काठमाडौं पनि पुग्नेछ । कान्तिपुरमा खबर छ ।

किशोरीलाई पनि आइरन चक्की खुवाइने

कालीकोट, असार ७ । जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छ वटा गाउँपालिकामा किशोरीलाई पनि आइरन चक्की निरन्तर खुवाइने भएको हो । खाँडाचक्र नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकीअन्तर्गतका किशोरीलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ । खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालका अनुसार नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा छात्राछात्रालाई अभिमुखीकरण गरेर आउने १० गतेदेखि किशोरीलाई प्रत्येक हप्तामा तीन चक्कीका दरले आइरन चक्की खुवाउन शुरु गरिएको बताउनुभएको छ । कालीकोट जिल्लाका ग्रामीण क्षेत्रमा आइरन चक्की सुत्केरी अवस्थामा मात्र खुवाउन थालेपछि अधिकांश सुत्केरीले प्रयोगमा नल्याउने परम्परा बसेका कारण किशोरीबाट नै शुरुवात गर्दा प्रयोग हुनुका साथै जनचेतनाका क्षेत्रमा समेत सहजता हुने विश्वास लिइएको छ । आइरन चक्कीले महिलाको स्वास्थ्यमा सुधार गर्ने भएकाले नगरपालिकाका सबै वडामा यस अभियानको थालनी गर्नुपर्ने खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले बताउनुभएको छ । उहाँले महिलाका जीवनमा आइपर्ने समस्या हल गर्न स्वास्थ्य क्षेत्रमा पहिलो ध्यान जानुपर्ने बताउनुभयो । जिल्लामा यसअघि जिल्ला स्वास्थ्य कार्यालय, कालीकोट तथा अन्य गैरसरकारी निकायसँगको समन्वयमा किशोरकिशोरी परामर्श केन्द्र सञ्चालनमा आएपनि अहिले भने ती परामर्श केन्द्र अलपत्र परेका छन् । कालीकोट जिल्लामा पछिल्लो समयमा युवा लक्षित कार्यक्रम सञ्लन हुँदै आएका छन् । -रासस

वाम एकतामा तुलाधरको योगदान महत्वपूर्ण

काठमाडौ‌ं, असार ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले कम्युनिष्ट पार्टीबीच एकता गराउन राजनीतिज्ञ तथा मानवअधिकारकर्मी पद्यमरत्न तुलाधरको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । लैनचौरस्थित तुलाधरको निवासमा पुगी आज नेकपाका महासचिव पौड्यालले वामपन्थी राजनीति र कम्युनिष्ट पार्टीबीच एकता गर्न तुलाधरले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँको सुस्वास्थ्य र निरोगिताको कामना गर्नुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरक व्यक्तित्वका रुपमा रहनुभएका ७८ वर्षीय तुलाधर नेपालका कम्युनिष्ट एक हुनुपर्छ भन्ने आवाज निरन्तर उठाउने र त्यसका लागि भूमिका खेल्ने व्यक्तित्व हुनुभएको भेटमा सहभागी नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताउनुभयो । तुलाधरले जतिसुकै कठिन तथा प्रतिकूल समयमा पनि समन्वय गरेर पार्टीलाई एकतासम्म ल्याउन पु¥याएको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । वामपन्थी नेता तथा मानवअधिकारकर्मी तुलाधरले कम्युनिष्ट पार्टीबीच एकता हुँदा आफू असाध्यै खुशी भएको र कम्युनिष्ट एकता भएको हेर्ने आफ्नो सपना नै रहेको सुनाउनुभयो । नेपालमा मानवअधिकारको क्षेत्रमा निकै क्रियाशील तुलाधरले तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन निकै ठूलो योगदान पु¥याउनुभएको थियो । नेकपाका नेतासँगको भेटमा तुलाधरले आफ्नो पार्टी एकताको प्रयास सफल भएको र अब समृद्ध नेपाल हेर्न चाहेको बताउनुभएको थियो ।

भारतले दशगजामा बनाएको १५४ फिट लामो नाला पुरियो

गौशाला, असार ६ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला आज एकाबिहानै पुरिएको छ । करीब एक महिनाअघि भारतले विहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरस्थित दशगजा क्षेत्रमा नेपालतर्फ क्षति र नोक्सानी पुग्ने गरी बनाएको १५४ फिट लामो नाला पुरिएको हो । भारतको मधवापुर पञ्चायतका मुखिया नीलाम्बर मिश्रले आज एकाबिहानै मेशिन र मजदूर लगाएर सो नाला पुरेका छन् । एक महिनाअघि भारतले दशगजामा नाला खनेको बेला महोत्तरी जिल्लाका प्रशासन र सुरक्षा निकायले स्थलगत निरीक्षण गरेर नाला पुर्नुपर्ने माग राख्दा त्यस बखत पनि माथिल्लो निकायको आदेशमा पुरिने भनिएको थियो । तर एक महिना बित्न लाग्दा पनि भारतको माथिल्लो निकायले कुनै चासो नलिएपछि मधवापुरका मुखिया मिश्रले नेपालीलाई सो नालाबाट हानी नोक्सानी र समस्या हुने गरेको भन्दै आज बिहान उनले आफैँ सो नाला पुरेका हुन् । मुखिया मिश्रले नाला पुर्दै गर्दा भारतीय सुरक्षा निकाय वा अन्य कुनै निकायले कुनै अवरोध खडा गरेन । यसरी नाला पुरेपछि मुखिया मिश्रले अब पुनः कहिल्यै पनि नेपाल र भारत दुवैतर्फका स्थानीयवासीलाई मर्का पर्ने गरी दशगजामा कुनै पनि काम गर्न नदिइने प्रतिबद्धता जनाए ।

सप्तकोशीमा स्काभेटर बाेकेकाे ट्रक खस्दा दुईको मृत्यु

राजविराज, असार ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा बुधबार ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका अन्य सात जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । हेटौंडाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ३५६ नं को ट्रकमा को १ क १०४३ नं को स्काभेटर ‘लोड’ गरी जाँदै गरेको अवस्थामा सप्तकोशी नदीमा खसेको थियो ।

नेपालमा चिनियाँ लगानी गणनायोग्य–प्रधानमन्त्री

बेइजिङ, असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताउनुभएको छ । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने अवगत गराउनुभयो । सरकारले विदेशी लगानीका लागि व्यवहारतः उपयुक्त वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै स्थिर तथा समृद्धिका लागि प्रतिबद्ध सरकारले ती क्षेत्रमा चिनियाँ लगानी वृद्धि हुने अपेक्षा गरेको भन्नुभयो । नेपालमा दर्ता भएका विदेशी लगानीकर्ताले आफ्ना जग्गा खरिद बिक्री गर्नसक्ने भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै पनि प्रकारको विभेद नरहेको र निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति नभएको स्पष्ट पार्नुभयो । नेपालमा सहज र सुलभ श्रमशक्ति पाइने, विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगका लागि निश्चित अवधिसम्म करका दायरा खुकुलो रहेको जानकारी दिँदै प्रधानमन्त्रीले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले आर्थिक विकासको पूर्वाधार खडा गर्ने र दुवै मुलुक सीमापार आर्थिक क्षेत्र तथा रेलमार्ग अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । हालै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकताले नेपालमा राजनीतिक स्थिरता निर्माण गर्ने र स्थिरतासँगै स्पष्ट मार्गचित्रका साथ समृद्ध नेपाली सुखी नेपालीको लक्ष्य लिई विकास र समृद्धितर्फको यात्रा तय गरेको बताउनुभयो । राजनीतिक स्थिरताले नीतिगत निरन्तरता र एकरुपता ल्याउनुका साथै विदेशी लगानीको पूर्वशर्तका नीतिमा थप प्रष्टता हुने उहाँले स्पष्ट पार्नुभयो । नेपाल र चीनबीच प्राचीनकालदेखि भूगोल, संस्कृति र परम्पराका आधारमा मैत्री सम्बन्ध रहेको र यो राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समेत फैलिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ‘नेपाल एक चीन नीति’प्रति प्रतिबद्ध हुँदै चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सिद्धान्तमा अविचलित रहेको दृढता पेश गर्नुभयो । उहाँले भन्नुभयो, “हामी दुई असल छिमेकी मात्रै होइनौं । विश्वसनीय विकास साझेदार पनि हौँ । हामी चीनको आर्थिक र प्रविधिका क्षेत्रमा विकास भएका नवीनतम् क्षमताको सहयोगबाट नेपालले विकासको परिदृश्यमा आफूलाई परिणत गर्न सक्नेछौँ । चीनका राष्ट्रपति सी जिन पिङको दूरदृष्टिमा आधारित ओबर परियोजनामा नेपाल जोडिएको र यस प्रयासले आफूहरुलाई दुई देशबीचमा सहयोग र सहकार्यका प्रचुर सम्भावनालाई आमन्त्रण गरिरहेको बताउँदै प्रधानमन्त्रीले नेपालमा चिनियाँ पर्यटकको आकर्षण प्रधानमन्त्रीले खुशी व्यक्त गर्नुभयो ।