गणेश थापाद्वारा कांग्रेस नेता खतिवडालाई ‘ठिक पार्ने’ धम्की

काठमाडौं, असार २९ । विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराईरहेको बेला अखिल नेपाल फुटबल सघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित मजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ठिक पार्ने धम्की दिएका छन् ।

मगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा २० बर्षसम्म रहेर हाल निलम्बनमा रहेका थापाले कांग्रेस नेता रामहरि खतिवडालई तथानाम गली गरेर ठिक पार्ने धम्की दिएका हुन् ।

अघिल्लो संसद्को सार्वजनिक लेखा समितिले थापालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको थियो। अख्तियारको निर्देशनमा थापा सांसद पदबाट ६ महिना निलम्बनमा परेका थिए। आफूलाई कारबाही गरिएको विषयमा उनले खतिवडालाई धम्की दिएका हुन्।

कांग्रेस नेता खतिवडाका अनुसार थापाले ‘मुलुकमा तपाईं मात्रै नेता हुनुहुन्छ मलाई कारबाही गर्न अरूलाई चासो नलाग्ने तपार्इंलाई मात्रै लाग्ने किन ? कांग्रेस-कम्युनिस्ट सबै सांसद मेरो पक्षमा भएका बेला तपाईंका कारण म कारबाहीमा परें, अब तपाईंलाई ठिक पार्छु’ भन्दै आक्रोश पोखेका थिए। ‘थापासँग मैले हात मिलाउन खोजें, उहाँ ममाथि गालीगलौजमा उत्रिनुभयो’, खतिवडाले भने। नागरिक दैनिकमा खबर छ ।

विपद् व्यवस्थापनमा समन्वय बढाउन गृहको आग्रह

काठमाडौँ, असार २९ । गृह मन्त्रालयले बाढी पहिरो, डुबानजस्ता प्राकृतिक विपत्ति तथा त्यसबाट उत्पन्न समस्याको प्रभावकारीरुपमा सामना गर्न प्रादेशिक सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई सजगता र समन्वय बढाउन आग्रह गरेको छ । लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढीको प्रभाव पर्न थालेपछि आज गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सरोकारवालासमेतको बैठकले वर्षाको पूर्वसूचना सम्प्रेषण, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जल तथा मौसम विज्ञान विभागलगायतका निकायलाई समेत सक्रिय बनाउने निर्णय गरेको छ । बैठकले विपद् जोखिम न्यूनीकरणलाई विकास निर्माणको कार्यमा मूल प्रवाहीकरण गर्न र विपद्को प्रभावकारी प्रतिकार्य गर्न÷गराउन प्रमुख जिल्ला अधिकारीले जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र आवश्यकताअनुसार विपद् व्यवस्थापनमैत्री स्थानीय प्रशासन सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बलकोे जनशक्ति र स्रोतसाधन, स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि तथा चिकित्सक टोली तम्तयार राख्नेसमेत बैठकले निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गर्नुभएको विज्ञप्तिमा गएराति परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीनसहित विभिन्न जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्कालका लागि रु १० हजारका दरले राहत वितरण गर्ने, उद्धार र बेपत्ताको खोजी कार्य जारी राख्ने निर्णय भएको उल्लेख छ । -रासस

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, यस्ता विषयमा भयो छलफल

काठमाडौं, असार २९ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बिहिबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । गृहमन्त्री थापाले नेपालका विविध क्षेत्रका साथै सुरक्षा निकायको तालीम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालीम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदूतलाई आग्रह गरे । यस्तै, खुला सिमानाको फाइदा उठाउँदै हुने मानव तस्करी, सुन तस्करी, लागुपदार्थको ओसारपसारलगायतका अपराधविरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराधविरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकामा जोड दिए । जवाफमा राजदूत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताए । राजदूत पुरीले नेपाल प्रहरीको तालीम केन्द्र निर्माणकार्यको विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको भन्दै योसम्बन्धी कार्य अघि बढिसकेको जानकारी दिए । भेटमा उनले गृहमन्त्री थापालाई भारत भ्रमणका लागि आग्रहसमेत गरे । -रासस

छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न फूजेलवासीको माग

काठमाडौं, असार २८ । गोरखा फुजेलका नागरिक अगुवाले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहाईको माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक अगुवाले पत्रकार सम्मेलन दवाव र प्रभावमा परि झूठो आरोप लगाई एक विकासवादी नेतालाई कारागारमा राखिएको भन्दा निर्दोष पौडेललाई तत्काल रिहा गर्न उनीहरुले माग गरेका हुन । पत्रकार सम्मेलनमा फुजेलबासी पर्शुराम पौडेलले प्रेस विज्ञप्ती पढेर सुनाएका थिए । उनले भने,‘छविलाल पौडेल निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो गाउँको विकासवादी नेता हो, उहाँ घरमा बस्नुभएको हुन्थ्यो, उहाँलाई फरार भनेर समाचार लेखिन्थ्यो, तर त्यस्ता समाचारले उहाँलाई पीडामा पाथ्र्यो, सर्वोच्च अदालतको आदेशलाई शिरोधार गर्दै गंगामायाले कानूनसम्मत रुपमा न्याय पाउन भनेर र आफू निर्दोष छु भनेर अदालतसामु जानु भएको हो ।’ कार्यक्रममा महाप्रसाद पौडेलले छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्दप्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाए । कृष्णप्रसाद अधिकारी हत्याको जिम्मेवारी तात्कालिन माओवादीले लिईएको र आज आएर परिवारका सदस्यहरुलाई फसाउन खोज्नु अन्यायमा पार्नु हो, नन्दप्रसादकी बुहारीलाई अंश नदिएर चर्को आर्थिक अभावमा पारेको देखेर गाउँलेहरुले अशं दिलाउन पहल गरेको कुरालाई रिसिईबीका रुपमा लिएर गाउँलेहरु पनि छोराको हत्यारा हुन भनेर किटानी दिएको कुरा स्ष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘मृतक कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीले गाउँलेहरुको सार्वजनिक जीवनमाथि प्रश्न चिन्ह लगाउने काम गरिहरका छन्, उनले भाईको न्यायको लागि काम कम तर कमाउ धन्दा बढि गरिहरको छन्, आफ्ना छोरा र श्रीमतीलाई घर निकाला गरेर अलपत्रमा पारेका छन्, उक्त घट्ना एकतर्फी प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ ।’ भर्खरै आँखाको शल्यक्रिया गरेका ७८ वर्षीया छविलाल पौडेल उच्च रक्तचाप र पिसावसम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारले जनाएको छ ।

जलमग्न भक्तपुर :  ३ को मृत्यु, १५ घर ढले

– रमेश गिरी भक्तपुर, २८ असार । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजाराँै बासिन्दा बिचल्लीमा परेका छन् । राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो । नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो । डुबानबाट अथाह क्षति हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ । डुबानका कारण अस्पतालको उपचार प्रभावित हुनाका साथै आकस्मिक कक्ष बन्द भएको छ । यहाँका प्राविधिक सामानहरुमा समेत क्षति पुगेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिनुभयो । त्यसैगरी, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको र यन्त्र उपकरणमा क्षति पुगेको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिनुभयो । भक्तपुरको राम मन्दिर र यहाँ सँगैको शान्ति निकेतन मावि डुबानमा पर्दा यहाँको पढाइ बन्द भएको छ । त्यसैगरी, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ । जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो । रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो । यहाँका बासिन्दाको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ । बहुतले घरका मानिसबाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए । भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो । सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ । कौशल्टार पुलमा बाढीले क्षति पु¥याएको छ भने बालकोट, कौशल्टार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ । गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ । बाढीका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति र पशुपक्षीको क्षति भएको तर के कति संख्यामा क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको प्रहरीले बताएको छ । मध्यपुर अस्पताल, एसएसकलेज, सिबर्ड कलेज, अक्सफोर्ड स्कूल र ग्लोरी स्कूल डुबानमा परेको छ भने डुबानमा परेका बस्तीका बासिन्दालाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्नाका साथै डुँगा सञ्चालन गरेर सुरक्षित स्थानमा पु¥याएको थियो । यहाँका बासिन्दा दिउँसो अबेरसम्म पनि सहज रुपमा बाहिर निस्कन सकेका छैनन् । बजारसमेत डुबानमा परेकाले सयाँै व्यापारीको खाद्यान्न, विद्युतीय सामान र भाटभाटेनी सुपर मार्केटका सामानहरु क्षति भएका छन् । डुबान क्षेत्रका एक दर्जन विद्यालय बन्द भएको छ । यता मनोहरा सुकुम्वासी बस्ती पूरै डुबानमा परेको छ । जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा पर्दा यहाँका बासिन्दाले राति १ बजेदेखि जागा बस्नु परेको स्थानीयवासीले बताएका छन् । सात घण्टापछि खुल्यो राजमार्ग डुबानका कारण सडकमाथि तीन फिटसम्म पानी बगेपछि मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घण्टापछि सञ्चालन भएको छ । बिहान ५ देखि बन्द राजमार्ग मध्याह्न १२ बजेपछि सञ्चालनमा आएको थियो । बन्द अवधिभर राजमार्गमा यातायातका साधन रोकिँदा यात्रुहरु अलपत्र परेका थिए । तीनको मृत्यु, १५ घर भत्किए अविरल वर्षाका कारण आएको पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ । छोरा बुहारी भने पक्कीघरमा बसेकाले जीवित रहेको प्रहरीको भनाइ छ । राति पहिरोले थिचेर मृत्यु भए पनि परिवारले भने बिहान मात्रै थाहा पाएर शव निकाल्न लगाएको थियो । मृतक तीन जनाको शव भक्तपुर अस्पतालमा राखिएको छ । पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ । पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ । त्यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुखहरु सहितको टोलीले आज बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गर्नुभएको छ । टोलीले चाँगुनारायण नगरपालिकाको कुइँकेल गाउँमा पुगेर मनोहरा नदीले कटान गरी पु¥याएको क्षतिको अनुगमन गर्नुभयो । धार परिवर्तन गरी बस्ती नजिकै आएको मनोहरा नदीको कटानले बस्ती जोखिममा पारेकाले तत्कालै बस्ती सुरक्षित गर्न आवश्यक पहल थाल्न स्थानीयवासीले टोलीसँग माग गरेका छन् । रासस    

नेपाली युवा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मनित

नयाँ दिल्ली, असार २८ । एक नेपाली युवाले भारतको राजधानी नयाँ दिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानव अधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् । अधिकारकर्मी राउतलाई ‘कन्स्टिट्युसन क्लब’ ले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ । मानव अधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो । ‘दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसी’ ले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ । भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए । सामाजिक तथा मानव अधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।

बारबर्दिया नगरपालिका ‘अनिवार्य आधारभूत शिक्षा’ सुनिश्चित भएकाे घाेषणा

तस्विर : लाेकनाथ शर्मा  असार २८ । बर्दियाको बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएकाे नगरपालिका घोषणा गरिएको छ । विहीबार जयनगरमा आयोजित विशेष समारोहमा शिक्षामन्त्री गिरिराजमन्त्री पोखरेलले बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा गरको हुन् ।   बारबर्दिया अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको घोषणा हुने नेपालको पहिलो नगरपािलका हो । शिक्षामन्त्री गिरीराजमणि पोखरेल अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता घोषणा गर्न आज बर्दिया पुगेका हुन् ।  

बन्द हड्तालमा संलग्न भए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं, असार २८ । स्वास्थ्य मन्त्रालयले अहिलेको विषम परिस्थितिमा देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई विदामा नबस्न र बन्द हड्ताल जस्ता कुनैपनि गतिविधिमा संलग्न नहुन भनेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गदैृ भनेको छ, ‘प्राकृतिक प्रकोप, बाढी, पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने भएको हुँदा देशभरीका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नियमित रुपमा कामकाज गर्न, विदा नछोड्न, विना अनुमति अनुपस्थित नहुन र कुनैपनि किसिमका बन्द हडताल, घेराउ, प्रदर्शन जस्ता कार्य नर्गन नगराउन समेत अनुरोध छ ।’ साथै मन्त्रालयको निर्दैशन विपरित कुनै क्रियाकलाप गरे गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार अनुसार कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

‘भद्र’ र ‘रुपसी’ चीनलाई हस्तान्तरण

काठमाडौं, असार २८ । नेपाल सरकराले उत्तरी छिमेकी चीनलाई उपहार दिन लागेको दुई जोडी दुर्लभ एक सिंगे गैंडामध्य एक जोर्डी हस्तान्तरण गरको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक समारोह आयोजना गरी ‘भद्र’ र ‘रुपसी’ नाम गरेका एक जोडी गैंडा बिहीबार चिनियाँ राजदूत यू होङलाई हस्तान्तरण गरेका छन् । ओली नेतृत्वकै अघिल्लो सरकारले दुई वर्षअघि चीन सरकारलाई दुर्लभ एक सिंगे दुई जोडी गैंडा चीन सरकारलाई दिने निर्णय गरेको थियो । गैंडा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसले दुई देशबीचको सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे । र चीन सरकार दुर्भल एक सिंगे गैंडाको उचित संरक्षण हुने विश्वास व्यक्त गरे । भ्रद र रुपसीलाई आजै कार्गो विमानबाट चीन लग्ने तयारी छ । उनीहरुलाई सडक मार्गबाट बुधबार राति काठमाडौं ल्याइएको थियो । सरकारले अर्को एक जोडी गैंडा पनि छिट्टै चीन सरकारलाई हस्तान्तरण गर्नेछ । सरकारले उपहारका नाममा आजसम्म भारत, अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहार दिइसकेको छ । विश्वमै दूर्लभ मानिने एक सिंगे गैंडा नेपालमा मात्रै पाईन्छ । नेपालमा हाल ६ सय ४५ वटा गैंडा रहेका छन । तीमध्ये ६ सय ५ वटा गैंडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

अझै तीन दिन वर्षा हुने, सचेत रहन आग्रह

काठमाडौं, असार २८ । बुधबार रातिदेखि लगातार वर्षा भएपछि राजधानी लगायत धेरै स्थानको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण भक्तपुरमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने जनजीवन प्रभावित भएको छ । तर जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भागमा अझै केही दिन वर्षा जारी रहने जनाएको छ । बुधबार दिउँसो पनि देशभरि नै बदली भई मध्य र पश्चिमका अधिकांश स्थानहरुमा वर्षा हुन सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षा हुने बताइएको छ । शुक्रबार र शनिबार पनि देशभरिनै बदली भई देशका धेरै स्थानमा मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ । नदीमा पानीको बहाव बढ्ने र वर्षासँगै बाढी, पहिरो र डुबान हुन सक्ने भएकाले महाशाखाले सचेत रहन सबैमा अनुरोध गरेको छ । बाढी पूर्वानुमान शाखाका अनुसार देशैभर हल्कादेखि मध्यम खालको बर्षा हुने भएकोले देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली लगायतका प्रमुख नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । रातीको समयमा केही नदीमा पानीको तह उच्चतहमा पुग्ने अनुमान छ । यस्तै पश्चिमको चुरेबाट बग्ने साना नदीहरुमा बाढीको संभावना रहेको छ । यी नदीहरुमा भोली शुक्रबार पनि पानीको बहाव उच्च हुने र शनिवार भने सामान्य हुने पूर्वानुमान छ । ठूला नदी तथा साना नदीमा बाढीको उच्च जोखिम भएकोले ती स्थानमा बसोबास गर्नेहरुलाई उच्च सर्तक रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

प्रचण्डलाई भेट्न विश्व बैंकका प्रतिनिधि खुमलटारमा

काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भेटवार्ता गरेका छन् । सो भेटमा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोस पनि सहभागी थिए । बिहीबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकाका बिषयमा छलफल भएको बताइएको छ । अध्यक्ष प्रचण्डले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत परियोजनाहरु र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताउनुभयो । अध्यक्षले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘हामीसँग स्थानीय, प्रादेशीक र संघीय गरी तीनवटा सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् । ’ भेटका अवसरमा कन्ट्री म्यानेजर जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउनुहुँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताउनुभयो । जर्वोसले भन्नुभयो, ‘हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौं र सरकारको मातहत बसेर काम गछौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।’ नेपालको विकासमा उच्च प्राथमिकतामा रहेको कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो । म्यानेजर जर्वोसले विकास निर्माण भन्ने कुरा कुनै जागिर मात्र नभएर एक यात्रा बताउनुभयो ।

भोलिसम्म भारी वर्षा हुने

काठमाडौं, असार २८ । देशका विभिन्न ठाउँमा भोलिसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मध्य र पश्चिमी भू-भागहरुमा मध्यम देखी भारी वर्षा भइरहेको छ । बिहिबार दिउँसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साँझ र राती पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । अविरल वर्षाका कारण देशका पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

भक्तपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु

भक्तपुर, असार २८ । भक्तपुरमा पहिरोले घर पुरिँदा साढे दुई वर्षकी बालिकासहित एकै घरका तीन जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उहाँकी श्रीमती ६५ वर्षिया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पादालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भाटले जानकारी दिए । ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् । प्रमुख अधिकारी भाटका अनुसार राति पहिरोले घर पुरे पनि बिहान साढे ६ बजेतिर मात्रै खबर आएको थियो ।

भक्तपुरका धेरै ठाउँ डुबानमा [फाेटाेफिचर]

भक्तपुर, असार २८ । बुधबार साँझदेखि लगातार भएको वर्षाका कारण भक्तपुरका धेरै स्थान डुबानमा परेका छन् । अरनिको राजमार्ग अन्तर्गत पर्ने जगाती, सूर्यबिनयाक, सल्लाघारी, सिर्जनानगर, राधेराधे र ठिमी डुबानमा परेका छन् । साथै राधेराधेदेखि एसओएससम्म अरनिको राजमार्ग  माथिबाट बाढी गएको छ । बाढीका कारण सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । याे पनि भीषण वर्षाले भक्तपुर र थिमिका सयौँ घर डुबानमा यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।           फोटो- रासस र गणेश तिवारी

पाल्पाकाे भालेबासमा बस दुर्घटना, १६ जना घाइते

पाल्पा, असार २८ । जिल्लाको तानसेन नगरपालिका-७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो ।  -रासस

८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म !

भक्तपुर, असार २८ । भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा जिल्लाका खानेपानीका १८ मुहानको पानीको परीक्षणमा १६ मुहानका पानी प्रदूषित पाइएकाले भक्तपुर महामारीजन्य रोगको प्रकोपको उच्च जोखिममा रहेको बताउनुभयो । कार्यालयले चाँगुनारायण, नगरकोट, नंखेल र सूर्यविनायकमा रहेको खानेपानीको मूलबाट आउने पानीको परीक्षण गर्दा सूर्यवनायक नगरपालिका-६ कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा-६ नगरकोटस्थित स्वास्थ्यचौकी मूलको पानीमात्रै खानयोग्य पाइएको छ । भक्तपुर र मध्यपुरथिमि नगरका बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको मूल रहेको नगरकोटस्थित मुहानपोखरी र बोडेको पानीसमेत प्रदूषित छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्दै आएको खानेपानीमध्ये नगरकोटस्थित मुहानपोखरीमा फिल्टर प्लान्ट नै छैन भने बोडेमा वर्षौंदेखि फिल्टर प्लान्ट बिग्रिएको छ । प्रमुख चन्दले भक्तपुर सरुवा रोगको महामारीको उच्च जोखिममा रहेकाले कार्यालयले विपद व्यवस्थापनको अग्रिम तयारी गरेको बताउनुभयो । कार्यालयले विपद् व्यवस्थापनका लागि चिकित्सा अधिकृतसहित चिकित्सक, प्रयोगशाला र औषधिसहितको जनशक्तिलाई तयारी अवस्थामा राखेको छ । उहाँले भन्नुभयो, “जिल्लाका चार वटै नगरपालिकादेखि समुदायस्तरसम्म टोली बनाएको छाै‌, स्वास्थ्य तथा स्वयंसेवक टोलीलाई तालीमसमेत दिएर तयारी अवस्थामा राखेका छौँ, जनशक्तिको तयारी र आवश्यक औषधिको भण्डारण गरेका छौं ।” वर्षायाम शुरु भएसँगै खानेपानीबाट सर्ने हैजा, डेंगु, स्क्रब टाइफस, झाडापखाला, एन्फ्लुएञ्जा, कालाज्वरलगायत रोगको महामारी फैलिनसक्ने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी खान उहाँले आग्रह गर्नुभयो । -रासस