सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आह्वान

काठमाडौँ, असार ३२ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत डा केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै यसमा सरकार वार्तामार्फत समाधानका लागि गम्भीर नहुनुलाई झनै गम्भीर विषयका रुपमा लिएको बताउनुभएको छ ।

सभापति देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा केसीसँग वार्ता गरी उहाँका माग सम्बोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण गराउनुभएको छ ।

“मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको थियो । डा केसीसँगको वार्ता, सरोकारवालासँगको छलफल, उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत् हल हुने मेरो दृढ निष्कर्ष छ” विज्ञप्तिमा उल्लेख छ ।

शासन सञ्चालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउने उल्लेख गर्दै उहाँले डा केसीको जीवनमा तलमाथि हुनसक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको बताउनुभएको छ ।

सभापति देउवाले अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानकाप्रति नै गम्भीर घात हुने चेतावनी समेत दिनुभएको छ ।

डा केसी चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १७ दिनदेखि जुम्लामा आमरण अनशनरत हुनुहुन्छ । उहाँको यो १५ औँ आमरण अनशन हो । यता काँग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा डा केसीका माग सम्बोधनमा सरकार गम्भीर नदेखिएको भन्दै सदन अवरुद्ध गरेको छ ।

कर्णालीका ३ सय बढी बस्ती असुरक्षित !

काठमाडौं, असार ३० । माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा बस्ती असुरक्षित भेटिएका हुन् । चार जिल्लामा १ हजार ४ गाउँ छन् । प्राकृतिक असुरक्षा बाढी, पहिरो, हिमनदी, भिरालो जमिन बस्ती असुरक्षाका प्रमुख कारण हुन् । कतिपय बस्ती भने उत्पादनको कमीका कारणले पनि सार्नुपर्ने अवस्था छ । सिमकोट तल्लो गाउँ हवाईजहाजको आवतजावत तथा पहिरोका कारणले असुरक्षित छ । सबैभन्दा धेरै बस्ती पहिरोका कारणले असुरिक्षत देखिएको अध्ययनमा संलग्न डा। दीपेन्द्र रोकायले जानकारी दिए । के हुन सक्छ विकल्प ? जोखिमपूर्ण बस्तीलाई स्थानान्तरण गर्नु नै सुरक्षित गर्ने प्रमुख उपाय रहेको अध्ययनको निष्कर्ष छ । एकीकृत बस्ती विकासको योजना आवश्यक देखिएको कर्णाली विकास आयोगकी कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् । कर्णाली प्रदेश सरकारले पनि एकीकृत बस्तीको योजना भने ल्याएको छ । तर, विस्तृत छलफल भएको छैन । आयोगले तत्काल असुरक्षित बस्तीलाई स्थानान्तरण गर्न सकिने स्थानका पहिचान पनि गरेको छ । निजी क्षेत्रको पहल र सरकारी नीतिको नेतृत्वमा स्वायत्त मोडलका बस्ती विकास गर्नुपर्ने डा। रोकायको भनाइ छ । खर्च कति ? जोखिमपूर्ण वस्तीलाई सुरक्षित स्थानमा सार्ने भनिए पनि त्यसका लागि आर्थिक व्यवस्थापनबारे गम्भीर बहस भएको छैन । कर्णालीका ३०७ गाउँ स्थानान्तरण गर्नुपर्ने अवस्थामा एउटा गाउँ सार्न कति खर्च लाग्छ ? भन्नेमा अहिलेसम्म अध्ययन भएको छैन । आर्थिक पक्षमा अध्ययन नभएको आयोगकी कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् । नयाँ पत्रिकामा खबर छ ।

पूर्वराज्य मन्त्री मुस्ताक आलमको निधन

काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वराज्यमन्त्री मो. मुस्ताक आलमको निधन भएको छ । बाँसवारीमा रहेको गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा शुक्रबार साँझ ६ बजे उनको निधन भएको हो । उनी २०७० सालको संविधान सभा निर्वाचनमा रौतहटबाट निर्वाचित भई स्वास्थ्य राज्यमन्त्री बनेका थिए। प्रधानमन्त्ती ओलीले एक शोक वक्तव्य जारी गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको बताएका छन्। अन्तिम श्रद्धान्जलीका लागि आलमको पार्थिव शरिरलाई आज बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा राखिने विज्ञप्तिमा जनाइएको छ।

रोजगार कम्पनीले नाजायज फाइदा उठाएः श्रममन्त्री विष्ट

काठमाडौँ, असार ३० । जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् । विगतका समयमा जापानी अन्तर्राष्ट्रिय तालीम सहयोग संगठन अन्तर्गत प्रशिक्षार्थी पठाउने गर्दा नेपाली प्रशिक्षार्थी मारमा परेको र यसका कारण बैदेशिक रोजगार कम्पनीले फाइदा उठाउने गरेको बताउँदै मन्त्री विष्टले नयाँ प्रणालीको भद्र सम्झौता अन्तर्गत कम्पनीबाट प्रशिक्षार्थी नठगिने बताए । नेपालका लागि जापानका नयाँ राजदूत मासामिची साइगोसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री विष्टले भने, “जापानमा वृद्धवृद्धाको संख्या बढिरहँदा नेपालबाट केयरगिभर (सेविका) पठाउन सकिने ठूलो सम्भावना रहेको छ ।” श्रम र रोजगारीसम्बन्धी पारस्परिक हित र सहकार्यका हरेक प्रयासमा जापान सरकारको सकारात्मक सहयोग परिचालन गर्न आफूले हरसम्भव प्रयास गर्ने राजदूत साइगोले बताए । -रासस

अब कुन प्रदेशमा कति कर्मचारीको दरबन्दी ? (संख्यासहित)

काठमाडौँ, असार ३० । सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् । यसअघि समितिले स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याएको थियो । संघ र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । उनका अनुसार प्रदेश नं १ मा दुई हजार ८०८, प्रदेश नंं २ मा दुई हजार ३४३, प्रदेश नं ३ मा दुई हजार ६७३, प्रदेश नं ४ मा दुई हजार २४७, प्रदेश नंं ५ मा दुई हजार ५९७, कर्णाली प्रदेशमा एक हजार ८४२ र प्रदेश नंं ७ मा दुई हजार ६० कर्मचारीको दरबन्दी रहने छ । प्रदेश तहमा पहिला क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाइनेछ । उहाँले थारु आयोग, समावेशी आयोग, दलित आयोग, आदिवासी आयोग, मुस्लिम आयोगलगायत बाहेकका संवैधानिक आयोगमा रहने कर्मचारी दरबन्दीे अझै टुङ्गिएको छैन् । अहिले करीब एक लाख १७ हजार दरबन्दीमा करीब एक लाख छ हजार मात्र कर्मचारी कार्यरत छन् । -रासस

जनता रछ्यानमा, नेता साम्यवादको ओछ्यानमा !

नपत्याए जहाज सम्बन्धि आलोचना गरे मुद्दा दर्ता गर्ने बारेमा उरन्ठेउला युवा पर्शुराम बस्नेतको उर्दी हेर्नुस् । पहिले चौबीसै घन्टा जहाज भट्टाउँदै आश्वासनका पोका थमाए, अहिले आलोचना गर्नेलाई मुद्दा हाल्ने भनेर बर्बराउँदैछन् । पंक्तिकार स्वयं मुद्दै मुद्दाले जेलिएका ती महासयलाई पहिला साइबर क्राइम र मौलिक हकका बारेमा आफै ट्युशन पढ्न सुझाउँछ। भुकम्प पीडितलाई पाल र थाल पठाए। न पालमा तालु ओतियो, न थालमा सितो भेटियो। काँग्रेस होउन् या कम्युनिष्ट, म हाने झैँ गर्छु, तँ रोएझै गरेस भन्ने खेती देखियो। सुशासन र समृद्धिको ओछ्यान लगाउन सिपालु कम्युनिष्ट नामका नेपाली अक्कलगुमहरु यतिबेला गहिरो निदमाछन् । जसरी देशकै राजधानी अर्थात ‘सपनाको स्मार्ट सिटी’ पानीमा चुर्लुम्म डुवेको छ, ठिक उस्तैगरी विकास र निकासका आकर्षक शब्द रचियताहरुपनि यतिबेला सत्ताको रसपानले ढाडिएकाछन् । मैले यसो भन्दैगर्दा ‘म काँग्रेस भएको आरोप लाग्नसक्छ। शक्तिशाली सरकारका सुसारेहरुको चित्त दुख्नसक्छ र कसैलाई पिरोपनी लाग्न सक्छ।’ ‘सत्य तितोहुन्छ’ भनी बुझ्नुभएका जानकारहरुलाई मैले भन्नुपर्ने केही छैन। कृपया जस्तो लाग्ला त्यस्तै ग्रहण गर्नुहोला। उमेश बन्जाडे हिउँदभरी ‘धुले काठमाडौं’ भनेर चिनिने राजधानी थोरै वर्षाात हुँदा ‘हिले’ र अल्लि बेस्सरी पानीपर्दा जलमग्न हुनेगरेको छ। एक हिसाबले सोंच्दा त बतासे नेताको भासणमा लठ्ठिएर आँखा चिम्लिँदै मतदान गर्ने जनतालाई चाहे अनुसारकै फल मिल्याछ, भन्न मनपनी लाग्छ। तर मानिस भएपछि मानवीय समवेनालाई भुल्नु हुँदैन। प्राकृतिक विपत्तिलाई कसैले रोक्न सक्दैन । उछिट्याएर भित्तामै पुर्‍याउँदा पनि सरकारको फेरो समाएका केही स्वाँठहरुले दिने जवाफ् हो यो। हो, प्राकृतिक विपत्तिलाई कसैले छेक्न सक्दैन, तर ती विपत्तिजन्य महामारीबाट बच्न सक्ने उपाए अवलम्बन गर्न त सकिन्छ नि महासय। कि त्यो पनि सकिन्न ? विकट वस्तीमा प्रत्येक वर्ष मानिसलाई लाग्ने झाडापखाला रोक्न त अपनाउनु पर्ने पुर्व सचेतना अनुसरण गर्नुपर्‍यो नि। पोहोर लाग्यो अहिलेपनी लाग्छ, यो महामारीलाई कसैले रोक्न सक्दैन भनेर समाधान हुन्छ त ? ठमेल हिलोमा धँसिएको छ, मन्त्रीहरु काँग्रेसले के गर्‍यो ? भनि प्रश्न गर्छन् । बौद्ध पानीमा तैरिएको छ, झोलेहरु सरकारले पानी पार्‍या हो र ? भन्दै छक्क पार्छन् । मैतिदेवी चुर्लुम्म डुवेको छ, खोलेहरु उड्ने कार का बात मार्छन् । एउटा गतिलो ढल बनाउन सक्ने हुति नभएकाहरु स्मार्ट सिट ुका गफ दिन्छन् ? काँग्रेसले केही गरेन भनेरै जनताले कम्युनिष्टलाई मत दिएको कुरा कहिले बुझ्ने मन्त्री ज्यु ? पानी सरकारले पार्नु पर्दैन। यो सरकार आउनु पुर्वपनी धर्तिमा आकाशबाट पानी पर्थ्यो। पहिलेपनि पानीमा तैरिन्थे असनका गल्लिहरु। तर समृद्ध नेपाल सुखी नेपालीु वाला सरकार आइसकेको यतिका दिनसम्म पनि कपुन्डोलका सडकहरु पौडिखेल्न छाडेनन् त किन ? हुनत हिजो अर्को कोहि सरकारमा हुँदा ‘अलछिना सरकार भएर गाडी दुर्घटना बढे’ भन्नेहरु ले यो विषयलाई अर्कै अर्थ लगाउनपनि सक्लान् । दुई तिहाई मत सहितको शक्तिशाली सरकार’ भनेर रुदघण्टी च्यातिन्जेल माइक्रोफोन सामाएर चिल्लाउनेहरुको थोरै साख रामबहादुर थापा (बादल) ले जोगाउन खोज्दै थिए। यद्यपि ‘मार्सी चामलको भात’ लगायतसँग सम्बधित तत्वहरुले त्यसलाई परास्त गरिसके। मन्त्रीहरू आफ्नै मन्त्रालयका बारेमा प्रश्न गर्दा माइक धक्काएर पन्छिने, सांसदहरू गुण्डाको जमानत बस्ने, प्रहरीहरु क्विन्टलौं सुन सुलित्तै छिराएर खाँडिबाट आउनेलाई हैरान बनाउने, र प्रधानमन्त्रीले काठमाडौंका खाल्डा मैले बनाएको हो र पुर्नलाई भनि सिल्पट झैँ रन्किने। के यहि हो कामरेडहरुको सुशासन ? यहि हो समाजवाद उन्मुख गतिविधि ? इतिहासमै नेपाली कम्युनिष्ट अझ त्यसमापनि पुर्व एमालेमा आश्रीत नेता र संजालमा घोप्टिने उनिहरु समर्थित फ्याउराहरुको प्रस्तुति ठ्याक्कै एउटै पाराको छ। नपत्याए जहाज सम्बन्धि आलोचना गरे मुद्दा दर्ता गर्ने बारेमा उरन्ठेउला युवा पर्शुराम बस्नेतको उर्दी हेर्नुस् । पहिले चौबीसै घन्टा जहाज भट्टाउँदै आश्वासनका पोका थमाए, अहिले आलोचना गर्नेलाई मुद्दा हाल्ने भनेर बर्बराउँदैछन् । पंक्तिकार स्वयं मुद्दै मुद्दाले जेलिएका ती महासयलाई पहिला साइबर क्राइम र मौलिक हकका बारेमा आफै ट्युशन पढ्न सुझाउँछ। बेलाबेला ‘दुई तिहाई मत सहितको शक्तिशाली सरकार’ भनेर रुदघण्टी च्यातिन्जेल माइक्रोफोन सामाएर चिल्लाउनेहरुको थोरै साख रामबहादुर थापा (बादल) ले जोगाउन खोज्दै थिए। यद्यपि ‘मार्सी चामलको भात’ लगायतसँग सम्बधित तत्वहरुले त्यसलाई परास्त गरिसके। ‘तेत्तीस किलो सुन छानबिन’ मा कोलि भाई, ठेक्का पट्टामा मने दाई र सिण्डिकेटमा महासेठको बतासले मण्डारिएर अरु भन्दा बेग्लै उभिन खोजेका बादललाई वर्षिनै नदिई आफ्नै घानमा मिलायो। अहिले बादल, वर्षा अनि बिजुली सबै उस्तै–उस्तै देखिन्छन्। समग्रमा अहिलेको सरकारमा सहभागी कम्युनिष्ट मन्त्रीहरुको समृद्धि त अस्ति विश्वकपमा हानेको ‘मेस्सीको पेनाल्टी भन्दा पनि भद्दा’ बनिसक्यो। काठमाडौंका चोकचोकमा महल ठडिए। देशकै औंलामा गनिएका शहरहरुमा प्लाटिङ्ग गरिएका घडेरिहरु छन् । देशकै ठुला ठुला आयोजनाहरुमा सेयर लगानीछ। करोडौंको गाडिमा हुँईकिएकै छ। कोहि श्रीमतीका नाममा त केही विदेशी बैंकहरुमा धन थुपारिएकै छ। छोराछोरीहरु विदेशी कलेजमा भर्ना छन्। अनि ‘निजी सम्पतिका मालिकहरु कम्युनिष्ट हुँदैन’ भन्ने चिनियाँ राष्ट्रपतिसँग दाँजिएकोछ। अझ घरैपिच्छे खुलेका झोले अनलाइनहरु ‘हाम्रा नेताले किम जोङ उनलाई आदर्श सिकाएर आए’ भनी हेडलाईन बनाउन पनि भ्याउँछन् । कोहि तर्क गर्छन्, सरकार बनेकै भर्खरै हो। आत्तिएर मात्रै हुन्छ रु काम गर्न त समय लाग्छ। चाहेको भए यतिबेला सुन तस्कर, सिण्डिकेट र ठगठेगेदार सबैलाई कार्वाही भइसक्थ्यो। देशमा अर्कै माहोलको सुरुवात हुन्थ्यो र जनतालाई पनि सरकार भएको महसुस हुन्थ्यो। बिहानीले दिनको छनक देखाउँछ। मलेसियाका इमानदार नेता मोहम्मद महाथीरले निर्वाचित भएको पाँच दिनपछि नै पचास अर्ब डलर ‘कालो धन’ जफत गरे । नौ जना ‘भ्रष्ट मन्त्री’लाई पक्राउगरि जेल हाले। भ्रष्ट, कमीशनखोर र माफियाहरू भाग्न नपाऊन् भनेर विमानस्थल र बन्दरगाहहरूमा शिल्बन्दी गरे। उदाहरणकै लागि हेर्ने हो भने मलेसियाका इमानदार नेता मोहम्मद महाथीरले निर्वाचित भएको पाँच दिनपछि नै पचास अर्ब डलर ‘कालो धन’ जफत गरे । नौ जना ‘भ्रष्ट मन्त्री’लाई पक्राउगरि जेल हाले। भ्रष्ट, कमीशनखोर र माफियाहरू भाग्न नपाऊन् भनेर विमानस्थल र बन्दरगाहहरूमा शिल्बन्दी गरे। एक सय चौवालिस जना कालाबजारिया ब्यापारीलाई गोर्खेलौरो कसे। पचास जना भ्रष्टचारी न्यायाधीशहरूलाई ठिंगुरामा हाले । दुईसय जना रिश्वतखोर पुलिसलाई खोरमा जाके । र, जुन २०१८ को न्यूनिकृत करबारे जनतालाई सुसूचित गरेकाथिए। आखिर चाहाना र लगनशीलता छ भने हुने रहेछ त सम्भव। वास्तवमा भन्ने हो भने अहिलेसम्म सरकारमा सहभागी कम्युनिष्ट नेतालाई उहिल्यै साम्यवाद आएको हो। उनीहरुको न जात खोजिन्छ, न छाती नापिन्छ, न योग्यता चाहिन्छ न त वर्ग हेरिन्छ। जनतासम्म आउँदा फेरि यो अवश्य लागू भएको छ। ‘वर्गबिहिन शासन व्यवस्था’लाई ‘साम्यवाद’ भनिएझैँ उनीहरु साँच्चिकै साम्यवादकै ओछ्यानमा सुतेका छन् ? र त्यहाँ पुर्याउन प्रयोग भएका जनतालाई तिनै पानी तैरिने गल्लीका रछ्यानमा मिल्काएका छन् । यी लेखकका निजी विचार हुन यसमा सम्पादकीय सहमति हुन आवश्यक छैन । दाङ लमहीका बन्जाडे हाल वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया छन् ।)

प्रचण्डले गरे भरतपुर महानगर जोड्ने रिङरोड र लिङ्करोडको शिलान्यस

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यय एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको रिङरोड र लिङ्करोडको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । शिलान्स कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रिङरोड र लिङ्करोड चितवन विकासको कडी भएको बताए । रिङरोड र लिङ्करोडको विनियोजन भएको २ अर्ब बजेट पनि अघिल्लो सरकारकै पालामा विनियोजन भएको जानकारी दिनुभयो । बजेटले चितवनलाई सम्बोधन नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजना मार्फत सम्बोधन हुदै जाने उल्लेख गर्नुभयो । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकता अनुसार पुर्वधार विकास हुने उहाँको भनाई छ । रिङ रोड अन्र्तगत भरतपुर २२ घौलाघारी र भरतपुर ३ पुलचोक गरि दुई स्थानबाट निर्माण कार्य प्रारम्भ हुनेछ । भरतपुर महानगरपालिका भित्र रिङ रोडका लागि ९५ किलोमिटर कालोपत्रे गरिने छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख कुमार प्रसाद घिमिरेका अनुसार रिङ रोडको कालो पत्रेको चौडाई ७ मिटरको हुनेछ । रिङ रोड निर्माणका लागि पुरानो बाटोहरुलाई नै समावेश गरिएको भए पनि त्यस बाहेक ८ किलोमिटर नयाँ स्थानबाट बाटो विस्तार हुनेछ । २ बर्ष भित्र निर्माण सम्पन्न गरि सक्नुपर्ने सम्झौता छ । लिङ्करोड र रिङ्रोडको केही अंशको रुपमा निर्माण हुन गइरहेका सडकहरुको काम तोकिएको समयमा नै पूरा हुने बताउनु हुन्छ । प्याकेज नम्बर एक र प्याकेज नम्बर दुईको योजना विवरण अनुसार कालोपत्रे सडक र ढल निर्माणको काम अगाडि बढाइने उहाँले बताउनु भयो । सडक निर्माणका लागि दुई वटा प्याकेज बनाएर काम सुरु गरिएको छ । भरतपुर महानगरपालिकामार्फत् सञ्चालन हुने दुई वटै प्याकेजका विकास निर्माणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले परामर्शदाताको रुपमा काम गर्नेछ । सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालेपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नम्बर एक र दुईमा विभिन्न निर्माण कम्पनीसँग निर्माण सम्झौता भई काम सुरु भइसकेको छ । प्याकेज नम्बर एकको लागि कान्छाराम सन्तोषी डाँफे जेभीसँग ७७ करोड ८३ लाख ५८ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ । यसैगरी प्याकेज नम्बर दुईको लागि रमन शिवशक्ति जेभीसँग ६८ करोड २३ लाख १५ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ । ठेक्का सम्झौता मितिदेखि नै काम सुरु भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले जनाएको छ ।

गरिब परिचयपत्र वितरण शुरु

कपिलवस्तु, असार २९ । सरकारले कपिलबस्तुबाट गरिब घरपरिवार परिचय पत्र वितरण शुरु गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कपिलवस्तुको मायादेवी गाउँपालिका ६ डुमरामा शुक्रबार गरिब घरपरिवार परिचय पत्र वितरण गरेर अभियान सुरु गरेका हुन । आजैबाट देशका २६ जिल्लामा पहिलो चरणमा घरपरिवार परिचयपत्र वितरण सुरु गरिएको छ । बाँकी ५१ जिल्लामा भने आगामी दुई वर्षभित्र परिचय पत्र वितरण गर्ने लक्ष्य सरकारले लिएको मन्त्री खनालले जानकारी दिए । अति गरिबका लागि रातो कार्ड, सामान्य गरिबका लागि पहेलो कार्ड र गरिबका लागि निलो कार्ड गरी तीन किसिमका कार्ड वितरण गरिएको छ । यो परिचय पत्र गर्नेले तत्काल कुनै सुविधा पाउने छैनन् । तर सरकारलाई नीति तथा कार्यक्रम बनाउन सहयोग गर्ने विश्वास लिइएको छ ।

गृहमन्त्री बादल र उत्तर कोरीयाली राजदुत भेटवार्ता, के भए कुरा ?

काठमाडौँ, २९ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरीयाका राजदुत किम योङ हकले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरीयाले अमेरिका र दक्षिण कोरीयासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे । उनले देशभक्तिको लागि उत्तर कोरीया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरे । गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्ट लगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको गरीरहेको आफुले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफुहरु इच्छुृक रहेको बताए । राजदुत हकले नेपाल र उत्तरकोरीयाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाईमा पु¥याउनुपर्नेमा जोड दिए । उनले नेपालमा रोजगारीका लागि आउने कोरीयाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटीलो हुँदा समस्या रहेको बताए । जवाफमा गृहमन्त्री थापाले सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चलिने बताएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राजदुत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गइरहेको राष्ट्रिय दिवसमा उत्तर कोरीया भ्रमणका लागि निम्तो दिए ।

पाँच डीआइजीलाई अवकाश

काठमाडौं, असार २९। नेपाल प्रहरीको एआइजीका लागि प्रतिस्पर्धामा रहेका आठ जना डीआइजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् । डीआइजी उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् । उनीहरु २०४५ सालमा प्रहरी इन्स्पेक्टर पदबाट सेवा प्रवेश गरेका हुन् । उनीहरुसहित डीआइजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अनिवार्य अवकाश पाउँदैछन् । प्रहरीका सिनियर आठ जना डीआइजीले अनिवार्य अवकाश पाएपछि एआइजी बढुवाको प्रतिष्पर्धामा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेशविक्रम शाह छन् ।

प्रधानमन्त्रीले अस्पताल पुगेर भेटे सांसद आलमलार्इ

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहनुभएका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । रौतहटका आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । उहाँले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना गदै परिवारका सदस्यलाई पनि आश्वस्त रहन आग्रह गर्नुभयो । आलम गत मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट– २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएको थियो ।

कम्युनिष्ट शक्ति कमजोर पार्ने षड्यन्त्र जारी छ : प्रचण्ड

चितवन, असार २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन् । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको बताए । सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उनले भने, ‘इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।’ विश्वका धेरै कम्युनिष्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको अहिलेको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेकोले यसले आफूहरुलाई जिम्मेवारी बढेकाे र चुनौती थपिएको अध्यक्ष प्रचण्डले बताए । अर्को एक प्रसंगमा उनले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने बताए । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पु-याउने जानकारी दिए ।  उनले  खम्बसिंह कुँवरजस्ता योद्धाका कारण पार्टी यो अवस्थामा आइपुगेको भन्दै उनीहरुको सम्मानमा कहिल्यै नचुक्ने दावी गरे । सो अवसरमा ‘शारदा स्मृति पुरस्कार’बाट कम्युनिष्ट नेता खम्बसिंह कुँवरलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो । उनलाई रु २० हजार नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी ‘डिल्लीराम धनसरा प्रतिभा पुरस्कार’बाट प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठलाई रु पाँच हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गायक स्व खुसिराम पाख्रिनकी श्रीमती सुकमायाँ तामाङलाई रु १५ हजार नगदसहित सम्मान गरिएको थियो । शारदा स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, प्रदेशसभा सांसद कृष्ण खनाल, लेखक इन्द्र रेग्मीलगायतले मन्तव्य राखेका थिए ।

डा. केसीको जीवनरक्षा माग गर्दै आकस्मिक बाहेक सबै सेवा ठप्प

काठमाडौं, असार २९ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौका आवासीय डाक्टरले हड्ताल थालेका छन् । आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा नदिने निर्णय गर्दै हड्ताल थालिएको हो । स्वास्थ्य सेवा सुधारको माग गर्दै डाक्टर केसी अनशनमा बसेको १४ औँ दिन भइसक्दा पनि उहाँको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएकाले बाध्य भएर हड्ताल गर्नुपरेको एसोसिएसनका अध्यक्ष सुमित पाण्डेले बताए । आवासीय बाहेकका डाक्टरले भने नियमित रुपमा नै सेवा दिइरहेका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा बसेका डाक्टर केशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकार गम्भीर नबनेकाले दबाब दिन सेवा बहिष्कार गरिएको उनले बताए । डाक्टर केसीको श्वासप्रश्वास र मुटुमा समस्या देखिन थालेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । काठमाडौंको माइतीघर मण्डलामा अस्पतालको बहिरंग विभाग अर्थात ओपीडी राखेर सांकेतिक रुपमा उपचार दिइने उनले बताए । डाक्टर केसीसँग भएको सहमति कार्यान्वयनमा सरकारले चासो नदिँदा आन्दोलन गर्न बाध्य भएको डाक्टरले बताएका छन् । केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बस्नु भएको यो १५ औं पटक हो ।

नेपाली साहित्यमा भानुभक्तको योगदान असाधरण र कालजयी-प्रधानमन्त्री

काठमाडाै‌, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य र समाजमा आदिकवि भानुभक्त आचार्यको योगदान असाधरण र कालजयी रहेको भन्दै प्रशंसा गरेका छन् । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भानुभक्तले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेकोसमेत बताए । ‘भानुभक्तले साहित्यमार्फत् समाज सुधारमा ठूलो योगदान पुर्याउनु भएकोछ’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्त्व रहेको बताए । प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिने बताए ।

बुहारीलाई धूमधामकासाथ अन्माइयो !

झापा, असार २९ । झापाको कन्काई नगरपालिका-५ तुलसीबारीको एक परिवारले आफ्नै बुहारीलाई छोरीको रूपमा विवाह गरी अन्माएका छन् । स्थानीय पौडेल परिवारले ६ वर्ष अघि विवाह गरेर घरमा भित्र्याएकी बुहारीलाई छोरीका रूपमा बुधबार दोस्रो विवाह गरिदिएका हुन् । स्थानीय धनपति पौडेल र टिकामाया पौडेलले आफ्ना छोरा स्व. प्रकाश पौडेलसँग पहिलो विवाह गरेर ल्याएकी बुहारी झापाको साविक पथरिया गाविस (हाल कचनकवल) का हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेको आधुनिक शैलीमा दोस्रो विवाह गरिदिएका हुन् । पौडेल परिवारले सोही ठाउँमा घर भई हाल धनकुटामा व्यापार गर्दै आएका लेखनाथ मिश्रसँग बुहारीलाई कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा आधुनिक शैलीमा टिका टालो लगाएर आशीर्वाद दिँदा मुक्तकण्ठले प्रशंसा गर्दै गडगडाहड ताली बजाए । बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा दोस्रो विवाह गरिदिन पाउँदा आफूलाई सन्तुष्टि मिलेको आशाका ससुरा पौडेलले बताए । बेहुला मिश्रकी पहिलो श्रीमति मुनाको करिब अढाई महिना अघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको हो । दुवैजना सहाराविहीन भएर बस्नु भन्दा विहे गरेर दुवैको पारिवारिक जीवन सुखयम हुने आशाका साथ काफ्ले परिवारको समेत सहमति र समझदारीमा पुरातन संस्कार र मान्यतालाई तोड्दै आफूहरूले बुहारीको विवाह गरिदिने निधो गरेको पौडेलले बताए

सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाको मृत्यु

सिन्धुपाल्चोक, असार २९ । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको पाँचखोरी पाँचपोखरी थाङपाल गाउँपालिका ४ सल्लेडाँडामा भएको जीप दुर्घटनामा ३ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचपोखरी थाङपालधाप गाउँपालिका-३ का जयरानी तामाङ, भिमबहादुर तामाङ, पदम तामाङ, सुनमाया तामाङ र नानी तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुकी तिपेनीबाट मानेखर्कका लागि छुटेको लु १ ख ९९९ नम्बरको जीप दुर्घटना भएको हो । जीप पल्टिँदा घाइते भएका ८ जनालाई उपचारका लागि अहिले बिहान काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।