थमन विक हत्याकाण्डका अभियुक्त राष्ट्रिय जनता पार्टीका तर्फबाट राज्यमन्त्रीमा सिफारिस
काठमाडौं । प्रदेश नम्बर दुईको सरकारमा राज्यमन्त्रीका लागि राष्ट्रिय जनता पार्टीले थमन बिकको हत्याका अभियोगीलाई सिफारिस गरेको छ ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउने क्रममा हत्याका अभियोगीलाई समेत छनौट गरेका छन् ।
राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् । मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्री सिफारिस गरिएको राजपाले जनाएको छ ।
झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् भने शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।
विक हत्याको मुद्दामा सांसद शर्मासँगै जलेश्वरका मेयर रामशंकर मिश्र पनि अभियुक्त छन् ।
नेपाल प्रहरीका असई थमन विकलाई मधेस आन्दोलनका क्रममा एम्बुलेन्सबाट थुतेर लखेटी लखेटी मारिएको थियो । महोत्तरीको जलेश्वरमा सशस्त्रका असइ थमनबहादुर विकलाईलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका आन्दोलनकारीले कुटपिट गरेर मारेका थिए।
हेटौंडाबाट शुक्रबार बिहान महोत्तरी जाँदै गरेका असइ थमनबहादुर विकलाई आन्दोलनकारीले कुटपिट गरेका थिए । कुटपिटबाट उनको टाउकोमा चोट लागेको थियो । विकको टाउकोमा १६ टाँका लगाइएको थियो भने शरीरभर निलडाम थियो ।
उनी हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी जाँदै गरेको अवस्थामा आन्दोलनकारीको चपेटामा परेका थिए । उनलाई पछि जलेश्वर अस्ताल लगियो । तर उनको त्यहाँ राम्रो उपचार हुन नसकेपछि अस्पताल लैजाने क्रममा पुनः आन्दोलनकारीले महोत्तरी गाविसको अनैठा गाविसमा उनी रहेको एम्बुलेन्समा आक्रमण गरे । उनलाई एम्बुलेन्सबाट निकालेर निर्घात कुटियो र उनको त्यहीँ ज्यान गयो । उनलाई कुटेर मारेपछि आन्दोलनकारीले उनलाई ल्याइएको एम्बुलेन्समा समेत आगजनी गरेका थिए ।

८ जना प्रहरी र १ नावालकको हत्या भएको कैलाली घटना सेलाउन नपाउँदै मधेशमा सशस्त्र प्रहरीका असइको हत्या गरिएको छ । आन्दोलनकारीको आक्रमणबाट घाइते भएका असइ थमनबहादुर विक एम्बुलेन्सबाट थुतेर लखेटी लखेटी मारिएको बताइएको छ ।
उनीमाथि आज विहान महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीले आक्रमण गरेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनलाई बाटोमा हत्या गरिएको हो ।
उनलाई बोकेको एम्बुलेन्स समेत जलाइएको छ ।
घटनास्थल नपुगेरै फर्कियो छानबिन टोली
जुम्ला, साउन ७ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको घटनाको छानबिन गर्न जुम्ला पुगेको छानबिन टोली घटनास्थल नपुगेरै फर्किएको छ । प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काडमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न उक्त टोली डिआइजीको नेतृत्वमा आइतबार दिउँसो जुम्ला पुगेको थियो । अस्पतामा के भएको थियो भन्ने छानबिन गर्न नेपाल प्रहरीका डिआइजी सुरेन्द्र विक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चुडामणि बुढाथोकीको तीन सदस्यीय छानबिन टोली जुम्ला पुगेपनि सरोकारवाला कसैसँग पनि नभेटेरै फर्किएको छ । आइतबार दिउँसो जुम्ला पुगेको टोली अस्पताल, नागरिक समाज, स्थानीय र पत्रकारहरुसँग भेटघाट नै नगरी फिर्ता भएको हो । सोमबार दिउँसो उनीहरू जुम्लाबाट फिर्ता भएका हुन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रभित्र प्रहरीले बल प्रयोग गरेको घटनालाई लुकाइ छिपाइ गर्नका लागि उनीहरु कसैसँग पनि छलफल नगरेको हुन सक्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । महतलाई उद्धृत गर्दै कन्तिउर लेख्दछ, ‘छानबिन टोली जुम्ला पुगेको छ भन्ने मात्रै सुन्यौं’ उनले भने, ‘हामीसँग भेटघाट भएन । उनीहरु किन आएका हुन् । कोसँग भेटघाट गरे भन्ने थाहा भएन ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि छानबिनका लागि कुनै टोली नआएको अस्पताल प्रशासनले जनाएको छ ।
सिण्डिकेट खारेजीपछि सरकारले माग्यो समितिसँग हिसाब
काठमाडौँ, साउन ७ । यही साउन १ गतेदेखि सार्वजनिक यातायातमा रहेको सिन्डिकेट खारेज भएपछि सरकारले यातायात समितिहरूसँग हिसाब मागेको छ । सरकारले जिल्ला प्रशासन कार्यालयहरूमार्फत् ३५ दिने सूचना निकालेर हिसाब किताब माग्न थालेको हो । जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनामा समितिहरूसँग हिसाब माग्दै खातामा रहेको पैसा निकाल्ने प्रक्रिया अघि बढाउन भनिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै बैंक खाता रोक्का भएका विभिन्न यातायात समिति र संस्थाले निर्त बाँकी सम्पूर्ण हिसाब ३५ दिन भित्र देखाउन भनेको छ । प्रशासनले जारी गरेको सूचनामा, ‘समितिहरुको सवारी दुर्घटनाका घाइतेको उपचार खर्च, संघ संस्थामा कार्यरत कर्मचारीको तलब, बिजुली पानी लगायतका संस्थाले पुरा गर्न बाँकी अनिवार्य दायित्वको एकिन विवरण ठोस प्रमाणसहित यो सूचना जारी भएको मितिले ३५ दिनभित्र पेश गर्नुहुन सम्बन्धित सरोकारवालालाई’ जानकारी गराइएको छ । सरकारले यही साउन १ गतेदेखि सार्वजनिक यातायातको सिन्डिकेटको अन्त्य गरेसँगै हिसाब खोज्न थालेको हो । समितिहरुले सबै हिसाब देखाएपछि मात्रै प्रशासनले रोक्का गरिएको बैंक खाता खुल्ला गरिदिने जनाएको छ।
देशभर सवारी दुर्घटनामा कमी, उपत्यकामा वृद्धि
काठमाडौँ । आर्थिक वर्ष २०७४-७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ । आव २०७४-७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० र बालिका ८४ छन् । यस्तै दुर्घटनामा तीन हजार ८०० जना गम्भीर घाइते र सात हजार ५१० सामान्य घाइते भएका छन् । ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी आव २०७३-७४ को तुलनामा आव २०७४-७५ मा सवारी दुर्घटनामा कमी आएको बताउँछन् । उनका अनुसार आव २०७३÷७४ मा दुई हजार ३८४ जनाको मृत्यु भएको थियो । आव २०७३-७४ मा १० हजार १७८ दुर्घटना भएको थियो । चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गह्रुँगो सामानका कारण बढी दुर्घटना हुने मरासिनीको भनार्इ छ । काठमाडौँ उपत्यकामा १९४, पूर्व क्षेत्र ५१०, मध्यक्षेत्र ६६६, पश्चिम क्षेत्र ५६७, मध्यपश्चिम क्षेत्र २५१ र सुदूरपश्चिम क्षेत्रमा १५६ जनाको मृत्यु भएको छ । आव २०७२-७३ मा १० हजार १३ दुर्घटनामा दुई हजार छ तथा आव २०७१-७२ मा नौ हजार १४५ दुर्घटनामा दुई हजार चार जनाको मृत्यु भएको थियो । निर्देशनालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ । उपत्यकामा दुर्घटना वृद्धि ट्राफिक निर्देशनालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७३-७४ को तुलनामा आव २०७४-७५ मा सवारी दुर्घटना बढेको छ । आव २०७३-७४ मा १८२ मृत्यु भएकामा आव २०७४-७५ मा १९४ जनाको मृत्यु भएको छ । यस्तै आव २०७२-७३ मा १६६, आव २०७१-७२ मा १३३ र आव २०७०-०७१ मा १४३ जनाको मृत्यु भएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्त साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउने गरेका छन् । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उनले बताए । दुर्घटनाको कारण लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गर्नुभएका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने उनको भनाइ छ । यस्तै ७० प्रतिशत दुर्घटना घरको ४० किलोमिटर वरपर हुने गरेको छ । श्रेष्ठ तीव्र गतिलाई कम गर्न सके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउँछन् । “मादक पदार्थ सेवन गर्नेलाई (मापसे) रोक्न सके चार देखि २४ प्रतिशत कम हुनसक्छ”, उनले भने । काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३१ लाख सवारी साधन छन् । आर्थिक वर्ष २०७२-७३ मा नेपालको कालोपत्रे सडकको लम्बाइ १२ हजार ८९८ किलोमिटर छ । रासस
जति कष्ट अाइपरेपनि अास्था राख्न कहिल्यै छोडिन्न- दर्शनार्थी
काठमाडौँ । यस वर्षको साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान ३ बजेदेखि नै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । बिहान केही समय वर्षातले लाइनमा बसेका भक्तजनलाई अप्ठ्यारो पारेर केही समय रोकिएपनि सहजरुपमा लाइन सरेको उनले बताए । दिउँसो १ बजेसम्म अढाई लाखभन्दा बढी भक्तजनले मूल मन्दिर प्रवेश गरी पूजा गरेको कोषले जनाएको छ । सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान् शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा बसेको हो । पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोल बम मेला पनि लाग्ने गर्छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । रासस
डा. केसीबारे प्रचण्डले मुख खोले – ‘डा. केसीलाई वैतरणी बनाएर राजनीतिक भूमरी बनाउने कसरत’
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले डा. गोविन्द केसीलाई उपयोग गरेर राजनीतिक अस्थिरता फैलाउन खोजिएको बताएका छन् । अनसनलाई केहीले राजनीतिक वैतरणी तर्ने माध्यम बनाएको बताउँदै प्रचण्डले अनसनलाई राजनीतिक भूमरी तयार पार्ने कोशिसका रुपमा चित्रण गरे । ‘एकाध व्यक्तिका अनसनलाई राजनीतिक वैतरणी तर्ने माध्यमका रूपमा लिने र बडो विचित्रसँग राजनीतिक भूमरी तयार पार्ने कसरत भइरहेको छ,’ प्रचण्डले भने, ‘ उहाँको जीवन रक्षा पनि गर्न नदिने, वार्ता गर्न पनि नदिने, सरकारी डाक्टरलाई स्वास्थ्य परीक्षण पनि गर्न नदिने, वार्तामा लेनदेन पनि नगर्ने, एउटै कुरा अध्यादेश जस्ताको त्यस्तै ल्याएर मात्र मान्छौं। उनीहरू समस्या समाधानतिर होइन। के गरी समस्यालाई विकराल रूप दिन सकिन्छ र अराजकता फैलाइराख्न सकिन्छ। त्यसैमा केन्द्रीत छन्।’ सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा सुधार गर्ने बजेट र लगानी अभिवृद्धि गर्ने वैज्ञानिक र प्राविधिक शिक्षामा बढी प्राथमिकता दिने भनिरहेका बेला केसीको अनसनलाई माध्यम बनाएर अस्थिरता निम्त्याउन खोजेको उनको जिकिर थियो । समग्र स्वास्थ्यसेवा र शिक्षाको नीजिकरणको मागका बारेमा टिप्पणी गर्दै प्रचण्डले सरकारीकरणले मात्रै सबै कुरा पुरा नहुने समेत बताए । ‘गोविन्द केसीसँग सम्बन्धित विषय होस् चाहे माथेमा आयोगको प्रतिवेदनसँग सम्बन्धित विषय होस्। निजी अस्पतालसँग सम्बन्धित होस् वा समग्र शिक्षा नीतिको विषय होस्। राष्ट्रियकरण गरेपछि सबै समस्याको रामवाण त्यही हो कि भने जसरी पनि चर्चा चलेको छ,’ दाहालले भने,‘तर त्यो सत्य होइन। किनभने संविधानले नै के परिकल्पना गरेको छ भने निजी, सार्वजनिक र सहकारी क्षेत्रको संयोजनबाट देशको समग्र अर्थतन्त्र र सामाजिक प्रणालीलाई अगाडि बढाउने प्रतिवद्धता गरेको छ। हामी सम्पूर्ण रूपले निजी क्षेत्रलाई उन्मुलन गर्न सक्दैनौं।’ लोकतन्त्रको अभ्यासमा रहेको बेला एकाध जना व्यक्तिले भनेको आधारमा हिँडने हो भने निर्वाचन र अन्य कुरा किन चाहियो भन्दै प्रतिप्रश्न गरे । “यदि एकाध मान्छेले जे भन्यो त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक, किन चाहियो संविधान, किन चाहियो प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहरु,’ उनले भने, ‘तिनको वैधानिकतामाथि प्रश्न उठाउने होइन तिनकै प्रक्रिया भित्रबाट समाधान निकाल्नु लोकतान्त्रिक हो।’ उनले नेपाल स्थिरता र समृद्धि नहोस् भन्ने चाहना राख्नेले वर्गले धमिलो पानीमा माछा मार्ने पुरानै प्रवृत्ति र तरिका अपाउन खोजिएकाले त्यसलाई सामूहिक रूपले परास्त गर्नुपर्ने पनि उल्लेख गरे।
प्रचण्डले यसरी सम्झिए पुष्पलाललार्इ
काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उनको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा अध्यक्ष प्रचण्डले पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्य लिएर ठूलो त्याग र संघर्ष गरेको स्मरण गरे । उनले भने, ‘उहाँको सपना साकार पार्न जरुरी छ, अन्य साना पार्टीलाई पनि हामीले क्रमशः एकीकृत कम्युनिष्ट पार्टीमा एकताबद्ध गर्नेछौँ, २१ औँ शताब्दीमा माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ ।’ पार्टीका वरिष्ठ नेता एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले मृत्युलाई नजीकबाट देखेका पुष्पलालले निरंकुशताविरुद्ध सशक्त आन्दोलन शुरु गरेको तथा देश र जनतालाई स्वतन्त्र र समृद्धितर्फ लैजानका लागि संघर्ष गरेको बताए । पुष्पलालले नेपाली कांग्रेसमा रहेर देश र जनताको सेवा गर्न नसकिने देखेपछि उक्त पार्टी छाडेर चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्वयुद्धबारे गहिरो अध्ययन गरेर कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवाद गर्नुभएको र पार्टी स्थापना गर्नुभएको विचार नेता नेपालले व्यक्त गरे । नेकपाका नेता वामदेव गौतमले मुलुकमा सामाजिक न्याय स्थापनाका लागि पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेकपा धेरै आरोह अवरोह पार गरेर अहिलेको अवस्थामा आएको बताउँदै अब सामन्तवाद अन्त्य गरी देश विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कम्युनिष्ट आन्दोलनले देश र जनताको समृद्धि गर्न सक्छ भन्ने मान्यतालाई पुष्पलालले सिद्धान्तका रुपमा विकास गर्नुभएको बताए । प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले चम्पादेवीमा चाँडै पुष्पलाल ज्येष्ठ आश्रम बन्ने जानकारी दिए । त्यसैगरी पुष्पलालका पुत्र उमेशलालले आफू बाँचुञ्जेल पिताका नामबाट सरकारले स्थापना गरेको राष्ट्रिय पुरस्कार प्राप्त गर्ने प्रत्येक स्रष्टालाई रु ५० हजार दिने घोषणा गरे । सोही अवसरमा पुष्पलालका समकालीन लक्ष्मीभक्त उपाध्यायले पुष्पलाल राष्ट्रिय पुरस्कार वापत आफूले प्राप्त गरेको रु. एक लाख प्रतिष्ठानलाई नै हस्तान्तरण गरेका थिए ।
चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै
उदयपुर । चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै गएको छ । तीन वर्षयता चौदण्डीगढीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य गरी अभियान थालिएको छ । चौदण्डीगढी पर्यटन विकास समितिका संयोजक रोहित तामाङका अनुसार यहाँ विकास गर्न शहरी विकास मन्त्रालयमार्फत भ्यू टावर निर्माण गरिँदै आएको छ । चौदण्डीगढीमा सडक पुगेको छ । विद्युत् र खानेपानीजस्ता पूर्वाधारको समस्या छ । यसका लागि चौदण्डी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । विद्युत् व्यवस्थापनको काम तीव्र रुपमा अगाडि बढाएको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राई बताउँछन् । खानेपानी व्यवस्थापनका लागि नगरपालिकाको पहलमा प्रदेश नं १ सरकारले रु ९० लाख बजेट विनियोजन गरेको छ । बाँकी नगरपालिकाकै बजेटमा एक वर्षभित्र खानेपानीको व्यवस्था गरिने राई बताउँछन् । सेन राजाहरुको दरबारको भग्नावशेष तथा बिसासय कूल देवीको मन्दिरको जीर्णोद्धार गरेर सुरक्षित घेरबार गरी पुरातात्विक महत्वका वस्तुको संरक्षणको काम तीव्र रुपमा भइरहेको छ । चौदण्डीमा चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारदेखि सिधै चौदण्डीगढीसम्म केवलकार जोडेर सुनकोशीको रानीटारसम्म झार्ने लक्ष्य गरी अहिले निजी कम्पनीसँग सहकार्यको प्रयास भइरहेको नगर प्रमुख राईले बताए । यस्तै सुनकोशीको रानीटारमा जलयात्राका लागि पूर्वाधार पूर्णरुपमा तयार भइसकेको छ । बेल्टार बजार हुँदै चौदण्डीसम्म घुमेर सुनकोशीको रानीटारसम्म जलयात्रा गर्नका लागि सुनकोशीसम्म नै केवलकारसमेत जोडिन लागेपछि चौदण्डीगढी पर्यटनस्थलका रुपमा विकसित हुन थालेको समाजसेवी विष्णु कोइराला बताउँछन् । चौदण्डी घुम्न आउने पर्यटकका लागि गेष्ट हाउस तथा होटल व्यवस्थापनको काम नगरपालिका र चौदण्डी पर्यटन विकास समितिको अगुवाइमा भइरहेको छ । चौदण्डीगढी १८२६ देखि उदयसेन, लोहाङ सेन र हेमदत्त सेनजस्ता सेनवंशी राजाले राज्य गरेको ऐतिहासिक थलोका रुपमा चिनिन्छ । रासस
साउनको पहिलो सोमबार : दर्जनौै शिवालयमा भक्तजनको घुइँचो
भद्रपुर । आज साउनको पहिलो सोमबारका दिन झापाका दर्जनभन्दा बढी शिवालय मन्दिरमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम, कनकाई माई, कृष्णथुम्की, ॐकारेश्वर, पातालगंगा लगायतका दर्जनभन्दा बढी शिवालय मन्दिरमा जल चढाउनेको भीड लागेको हो । साउनको पहिलो सोमबारसँगै आषाढ शुक्ल एकादशीसमेत परेका कारण बिहान ३ बजेदेखि नै यी मन्दिरमा भक्तजनको भीड लागेको थियो । अन्य शिवालयभन्दा अर्जुनधारा मन्दिरमा भक्तजनको चाप बढी हुने हुँदा त्यहाँ ट्राफिक व्यवस्थापनको कामसमेत व्यवस्थित पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताए। विशेषगरी अर्जुनधारा, जलेश्वर, कनकाईलगायतका मन्दिरमा झापाका विभिन्न स्थानदेखि इलाम, पाँचथर, ताप्लेजुङ र छिमेकी मुलुक भारतको पानीट्याङ्की, खेरिबारी, नक्सलबाडीलगायत स्थानका भक्तजन शिवालयहरूमा भेला भएका छन् । रासस
कांग्रेस नेतृ राणाद्वारा मन्त्री तामाङकाे वर्खास्ती र कानुन अनुसार सजायकाे माग
काठमाडौं, साउन ७ । कांग्रेस नेतृ डा. आरजु राणा देउवाले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले अभिव्यक्तिप्रति कडा शब्दमा भत्सना गरेकी छन् । शनिबार सार्वजनिक कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा मेडिकल अध्ययनरत् नेपाली महिला विद्यार्थीले डिग्री लिनलाई आफ्नो शरिर सम्पुनु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई लिएर चतर्फी अलोचना भएको छ । यसै क्रममा कांग्रेस नेतृ डा. राणाले पनि आफ्नो फेसबुकमा लेखेकी छन्, ‘महिला विद्यार्थीहरुका बारेमा गैरजिम्मेवारीपूर्ण रुपमा सार्वजनिक टिप्पणीको म घोर भत्र्सना गर्दछु । विना आधार विदेशमा अध्ययनरत् हाम्रा चेलिवेटीलाई अत्यन्तै अभद्र र असोभनिय रुपमा लगाईएको लान्छनाले कानुन मन्त्रीको वास्तविक मानसिकता छताछुल्ल भएको छ ।’ उनले अघि थपेकी छन्, ‘ उनले तत्काल बंगलादेशमा अध्ययनरत् नेपाली विद्यार्थी र त्यहाँका प्राध्यापकहरुसँग माफु माग्नुपर्छ । र उनलाई तत्काल कानुन मन्त्रीबाट वर्खास्त गरी कानुन अनुसार दण्ड गराउन म जोडदार माग गर्दछु ।’
४० औं पुष्पलाल स्मृति दिवस मनाइँदै
काठमाडौं । आहज देशभर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलाल श्रेष्ठले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकार समेत मानिने पुष्पलाल जीवनभर संगठन विस्तार एवं जनताको स्वतन्त्रको लागि संघर्षमै लागिरहे । श्रेष्ठ राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला हुन् । दाजुले सहादत प्राप्त गर्दा १६ वर्षका किशोर रहेका पुष्पलाल सुरु देखि नै क्रान्तिकारी चेतका थिए । गङ्गालाल श्रेष्ठले सहादत प्राप्त गरेको एक वर्षपछि नै १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरेका थिए । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपमा सम्पर्क राखी उनीहरूको नेलसहितको तस्बिर पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा छाप्न लगाएका थिए । उनले २००५ मा कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली भाषामा सहज बनाएका थिए । यसलाई नेपाली भाषाको पहिलो साम्यवादी साहित्य मानिन्छ । साथै पुष्पलाल २०२५ सालमा निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्ने पहिलो नेता थिए । पुष्पलालको विवाह सहाना प्रधानसँग भएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।
विश्वकै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिउँ : प्रचण्ड
काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई एकताका लागि आहृवान गरेका छन् । विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन उनले आग्रह गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार अध्यक्ष दाहालले प्रतिक्रान्तिकारीहरु सल्बलाइरहेकाले पनि पार्टीभित्रको एकतालाई अझै सुदृढ बनानुपर्ने धारणा राखे । त्यस्तै उनले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता हुन नदिने तत्वहरु लागिपरेको बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘डा. गोविन्द केसीको अनशनमा हामी सबैले मिलेर जानुपर्छ भनेका छौं । उहाँको जीवनरक्षाको लागि हामीले तीन जना डाक्टरको सल्लाहअनुसार जुम्लाबाट ल्याएका हौं । हामीले वार्ता टोली बनाइसकेका छौं । तर, यहाँ के भइरहेको छ भने, ‘उहाँसँग वार्ता गर्न पनि नदिने, समस्याको समाधान गर्न पनि नदिने । सरकारी डाक्टरहरुलाई बिरामी चेक गर्न पनि नदिने काम भइरहेको छ । वार्तामा त लेनदेन हुन्छ, तर लेनदेन गर्न पनि गर्न नदिने । एउटै कुरा अध्यादेश जस्ताको तस्तै ल्याए मात्र मान्छौं भन्ने छ ।’ उनले शिक्षा क्षेत्रमा समस्या रहेको भन्दै सबै समस्याहरुलाई हल गर्न उच्च शिक्षा आयोग बनाउन सरकार तयार रहेको पनि बताए । उनले संविधान सबैले मान्नुपर्नेमा जोड दिए । ‘संविधान सबैले मान्नुपर्छ, केही तत्वहरुले अराजकता निम्त्याउन खोजिरहेका छन् । एकाध मान्छेले जे भन्यो, त्यही गर्ने हो भने किन चाहियो संविधान ? किन चाहियो स्थानीय तह ?’
पीण्डेश्वर बोलबम–दर्शनार्थीको भीड
इटहरी । सुनसरीको धरानस्थित धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा आज साउनको पहिलो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ । बेलपत्र धतुरोका दाना मह, ध्यू, दही आदिसमेत शिवालयमा चढाइ भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्ने भक्तजनको शिवालयमा भीड लागेको हो । विगतमा झै साउन महिनाको पहिलो सोमबार परेकाले हजाराँै हिन्दू भक्तजनले स्थानीय तलाउ, कुवा, पोखरी वा धाराबाट जल उठाई पीण्डेश्वर शिवालयमा चढाइरहेका छन् । त्यस्तै काबरिया बोलबम तीर्थयात्रीले समेत बराहक्षेत्र र चतरास्थित कौशिकी तटमा स्नान गरी शुद्ध जल उठाएर पीण्डेश्वर शिवालयमा ल्याई चढाउने भक्तजनको पनि विशाल भीड रहेको पाइएको छ । प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा जल अर्पणका लागि आउने हजारौँ स्थानीय तथा चतरा बराहक्षेत्रबाट जन उठाएर आउने काबरिया बोलबम भक्तजनलाई लामबद्ध जल चढाउन पालो मिलाउन सयाँै स्वयंसेवकसमेत परिचालन गरिनुका साथै स्वास्थ्य तथा सुरक्षा व्यवस्था मिलाइएको पीण्डेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिले जनाएको छ । धरानका पीण्डेश्वर शिवालयसँगै सुनसरीका अन्य सम्पूर्ण शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी शुद्ध आत्माले जल उठाइ भगवान् शिवको मूर्तिमा अर्पण गर्ने र फूल प्रसाद चढाइ मनोकाङ्क्षा पूरा होस् भन्ने कामना गर्ने र चिताएको पूरा भएको खुशियालीमा मन्दिर गएर पूजापाठ गर्नेको पनि लामो ताँती लागिरहेको छ । चतरा कौशिकी तट र बराहक्षेत्रदेखि पहेलो बस्त्र धारण गर्ने काबरिया टोलीले पनि बिहान ५ बजेदेखि नै पैदल यात्रा तय गरी धरानमा आएर जल अर्पर्ण गरिरहेको र अन्य शिवालयमा पनि जल अर्पण गर्ने कार्य भइरहेको जनाइएको छ । आजै सोमबार ठूलो एकादशीसमेत परेकाले सम्पूर्ण हिन्दू नरनारीले घर घरमा तुलसी रोपेर भगवान् विष्णुको पूजापाठसमेत गरेका छन् । रासस
नेकपाको सचिवालय बैठक प्रधामन्त्री निवासमा, के विषयमा हुँदैछ छलफल ?
काठमाडौँ, साउन १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा चिकित्सा शिक्षा विधेयकमा गरिएको परिमार्जनको विरोधमा अनशनमा रहेका डा. गोविन्द केसीका मागका बारेमा छलफल भइरहेको बुझिएको छ । विधेयकमा गरेको परिमार्जनले जनताको हित भन्दा पनि माफियाको हित हुने भन्दै डा. केसी जुम्लामा अनशन बसीरहेका छन् । यस्तै संसदमा कांग्रेसले त्यसको विरोधमा प्रस्ताव दर्ता गरेको छ । यही कारणले संसद बैठक पनि अवरुद्ध हुने गरेको छ । यस्तै सचिवालय बैठकमा केही दिनअघि अनुमोदित पार्टीको नियमावली अनुसार पार्टीका सबै कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरणको योजना बनाउने विषयमा पनि छलफल हुँदैछ । गएको असार २७ गतेको सचिवालय बैठकले पार्टीको नियमावली अनुमोदन गरेको थियो ।
आज साउने संक्रान्ति, केछ यो पर्वको महत्व ?
काठमाडौं, साउन १ । आज साउने संक्रान्ति, यसलार्इ कर्कट संक्रान्तिका रूपमा पनि मनाइन्छ । आज विविध सांस्कृतिक एवं धार्मिक पर्व समेत मनाइन्छ । लुतो फाल्ने दिनका रूपमा यसदिन विशेष सरफार्इ गरिन्छ भने बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । सौरमासका हिसाबले आजबाटै सूर्य कर्कट राशिमा (कर्कट रेखा) प्रवेश गर्ने भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यससँगै सूर्यको दक्षिणायण हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यस दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ। सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । माघेसंक्रान्तिसँगै सुरू भएको सूर्यको उत्तरायण गति साउने संक्रान्तिसँगै दक्षिणायण तर्फ मोडिन्छ । यस दिनदेखि दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत रहेको छ । यस दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ। सुदूरपश्चिममा यसैदिनबाट ‘कालो महिना’ लाग्यो भन्ने गरिन्छ र दैलो वरिपरि झिझिरकाँडी लगाइन्छ भने अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन छ । साथै यस महिनाभर देवीदेउताको विशेष पूजा, र निरन्तर दियो बाल्ने गरिन्छ । महिलाहरूले हातभरि मेहेन्दी लगाउने, हरियो लुगा र चुरापोते लगाउने चलन पनि यसै दिनबाट सुरू हुन्छ । कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन् । पूर्वतिर किरातलगायतका समुदायले एकाबिहाने वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छ । काठमाडौंलगायतका स्थानमा भने साउने संक्रान्तिका दिन छोरीचेलीलाई बोलाएर ख्वाउने चलन पनि छ। यसै दिनबाट नयाँ आर्थिक वर्षको प्रारम्भ समेत हुन्छ ।
अब श्रमिककाे तलब बैंक खाताबाट
काठमाडौं, साउन १ । श्रमिकले पाउने पारि श्रमिक रोजगारदाता कम्पनीले अनिर्वाय रूपमा बैंक खाताबाट भुक्तानी गर्नुपर्ने भएको छ। मन्त्रिपरिषद्ले सोमबार यस्तो निर्णय गरेको हो। सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको पारि श्रमिक बैंकिङ माध्यमबाट भुक्तानी गर्नु पर्ने निर्णय गरेको हो। सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक तथा कर्मचारीको पारि श्रमिक साउन १ देखि बैंकमार्फत भुक्तानी गर्ने प्रक्रियाको प्रारम्भ गनुपर्ने निर्णय गरिएको हो। याे पनि पढ्नुस्- ३२ हजार कर्मचारीको जागिर जोखिममा रोजगारदाता कम्पनीले साउनबाट प्रक्रिया सुरु गरी असोजमसान्तसम्ममा बैंक खातामार्फत भुक्तानीको व्यवस्था मिलाउनुपर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए। बैंक, वित्तीय संस्था, बिमा कम्पनी, होटल, एयरलाइन्स, ट्राभल एजेन्सीलगायत सेवा उद्योग, सहकारी संस्था र श्रमिक आपूर्तिकर्ता, सामुदायिक एवं संस्थागत शिक्षण संस्था तथा कानुन बमोजिम दर्ता भएका गैरसरकारी संघसंस्था, ट्रस्ट, कम्पनी ऐन, विशेष ऐन, गठन आदेशलगायत कानुन बमोजिम गठित सबै संघसंस्थाले पुस मसान्तभित्र अनिवार्य रूपमा बैंक खातामार्फत पारि श्रमिक तथा वित्तीय सुविधा भुक्तानीको गर्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। यसबाहेक अन्य सबै प्रतिष्ठान मातहत काम गर्ने श्रमिक तथा कर्मचारी र घरेलु श्रमिकको पारि श्रमिक एवं वित्तीय सुविधा पनि २०७६ को पुस मसान्तभित्रमा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत सम्बन्धित श्रमिक तथा कर्मचारीको पारि श्रमिक बैंक खातामा भुक्तानी गर्नुपर्ने सरकारी निर्णय भएको छ। कुनै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना र सञ्चालन नभएको अवस्थामा भने त्यस्तो स्थानमा बैंक तथा वित्तीय संस्था स्थापना भएको तीन महिनाभित्र श्रमिक तथा कर्मचारीलाई अनिवार्य रूपमा बैंक खातामार्फत पारि श्रमिक एवं वित्तीय सुविधा भुक्तानीको गर्नपुर्ने निर्णय भएको मन्त्री विष्टले बताए। अन्नपूर्णमा खबर छ ।

