प्रधानमन्त्रीलाई भेटर फर्किएपछि डा केसीका यस्तो प्रतिक्रिया…
काठमाडौं, साउन २६ । प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीच शनिबार अपरान्ह छलफल भएको छ । गएको साउन १० गते आफूसँग भएको ९ बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएपछि डा केसी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटवार्तामा विगतमा भएको सहमति र त्यसको कार्यान्वयन प्रक्रियाका बारेमा छलफल भएको बताइएको छ । साथै प्रधानमन्त्री ओली यसअघि भएको सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका छन् । र सहमति कार्यान्वयनमा सरकारको प्रतिबद्ध जनाएका छन् ।
डा केसी चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरेको भन्दै अध्यादेश बमोजिम चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गर्दै गएको असार १६ गते जुम्लाको कर्णाली विज्ञान प्रतिष्ठानमा १५ औं पटक अनशन बसेका थिए । केसीको स्वस्थ्य अवस्था विग्रिएपछि सरकारले बल प्रयोग गरि काठमाडौं ल्याएको थियो । र २७ लामो अनशन ९ बुँदे सहमति पत्रमा हस्ताक्षरपछि साउन १० गते डा केसीले तोडेका थिए ।
तर सहमति भएको १५ दिन वितिसक्दा पनि सरकारले सहमति कार्यान्वनमा चासो नदेखाएपछि डा केसी प्रमुख सहयोगी डा अभिषेक सिंहसहित प्रधानमन्त्रीलाई भेटन् गएका थिए । डा सिंह केसी वार्ता टोलीका संयोजक हुन । सहमतिका बुँदामा कतिपय काम १५ भित्र गर्ने भनिएको छ । तर अहिलेसम्म डा केसी सँग भएका सहमति कार्यान्वयनका लागि सरकारले सिन्कोसम्म नभाचेको केसी पक्षको आरोप छ ।
बालुवाटारबाट बाहिरिने क्रममा डा. केसीले भने, ‘प्रधानमन्त्रीसँग पहिले पनि भेट भएको थियो । अहिलेको भेट र त्यो भेटमा खासै केही फरक पाइन । तर सहमति कार्यान्वयन हुने आश्वासन दिनुभएको छ । म पनि आशावादी छु ।’
माग पूरा नभए फेरि अनशन बस्ने जानकारी प्रधानमन्त्रीलाई गराएको डा केसीले बताए । जवाफमा प्रधानमन्त्री ओलीले फेरि अनशन बस्नु पर्ने अवस्था नआउने बताएको बैठकमा सहभागीले जानकारीले दिएका छन् ।
७० वर्षीय वृद्धद्वारा बालिका बलात्कृत
विर्तामोड, साउन २६ । झापामा एक वृद्धबाट ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको अर्जुनधारा-११ मा ७० वर्षीय एक वृद्धबाट ९ वर्षीया बालिका बलात्कृत भएकी हुन् । सानीआमाको घरमा बस्दै आएकी ती बालिका शुक्रबार दिउँसो बलात्कृत भएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी कृष्ण कोइरालाले जानकारी दिए । ती वृद्धले बालिकालाई घरमा कोही नभएको मौका छोपी बालिकालाई गोठमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना दिउँसै भएको भए पनि प्रहरीमा भने ढिलो गरि खबर पुगेको कोइरालाले बताए । पीडक बृद्धलाई प्रहरीले नियन्त्रणमा लिइसकेको । पीडित बालिकाको विर्तामोडको मनमोहन अस्पतालमा उपचार भइरहेको डिएसपी कोइरालाले बताए । एक हप्ताको अन्तरालमा अर्जुनधारामा यो दोस्रो बलात्कारको घटना हो । यसअघि गत साउन १६ गते अर्जुनधारा-२ की ४ वर्षीया बालिका १५ वर्षीय बालकद्वारा बलात्कृत भएकी थिइन् ।
अब बलात्कार गरी हत्या गर्नेलाई बाँचुञ्जेल जेल
काठमाडौं, साउन २६ । अब जबरजस्ती करणी गरी ज्यान मार्नेलाई जीवनभर सजाय हुने भएको छ । बलात्कार र हत्याका घटना दिनहुँ बढिरहेको भन्दै त्यसलाई रोक्न अब यस्तो कडा कानूनको ल्याइन लागिएको हो । यो कानून भदौं १ गतेदेखि लागू हुँदै छ । नयाँ मुलुकी संहिताले जबर्जस्ती करणी गरी ज्यान मार्ने कसुरमा संलग्नलाई जीवित रहँदासम्म कैद सजाय हुने व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद पाँचको दफा ४१ ले यस्तो व्यवस्था गरेको हो । उक्त दफाले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मार्ने, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मार्ने, अपहरण गरी वा शरीर बन्धक बनाइ ज्यान मार्ने कसुरमा संलग्नलाई जीवित रहेसम्म कैद सजायको व्यवस्था गरेको हो । यसअघि अपहरण गरी वा शरीर बन्धक बनाई ज्यान मार्ने अभियोगका कसुरदारलाई जन्मकैदको मात्रै व्यवस्था थियो ।
ट्रक खोलामा खस्दा २ को मृत्यु, एकजना गम्भीर घाइते
रत्ननगर, साउन २६ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच ४२ टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस
नेकपाले कसरी टुंगो लगाउँदै छ तल्ला कमिटी ?
काठमाडौं, साउन २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने भएको छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज, समायोजन हुने संख्या र नामसमेत करिब-करिब टुंगो लगाएका छन् । यद्यपि, मूल नेतृत्वबारे औपचारिक निर्णय हुन बाँकी छ । नयाँ पत्रिकामा खबर छ । सकभर जिल्ला, प्रदेश र जनसंगठनको नेतृत्व सर्वसम्मत टुंग्याउन निर्देशन दिइए पनि कार्यदलका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् । उनीहरूले कमिटीको नाम, अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमै सिफारिस गर्दै छन् ।
सुशीला कार्कीलाई लोकमानको १० करोड ‘गोडधुवा’
काठमाडौं, साउन २६ । अख्तिायार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक विमान विद्रोह मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो । नागरिक दैनिकमा खबर छ । ‘टोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खुड्केलोमा राखेर गोडा धुने रे ! अर्कोले मलाई छेउमै बोलाएर भन्यो, बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ ।’ सुवेदीको पुस्तकमा उल्लेख छ, ‘लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।’ पुस्तकको यो प्रसंगले ठूलो मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको छ । प्रधानन्यायाधीश निवासमा बस्दा सबभन्दा ठूलो सकसचाहिँ लोकमानको मुद्दा आएपछि भएको सुवेदीले लेखेका छन् ।
रामप्रसादलाई राष्ट्रिय विभूति घोषणा गर्न उपराष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन
काठमाडाै, साउन २६ । जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै उपराण्ट्रपति नन्दवहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै रामप्रसाद राई फाउण्डेशन नेपाल र रामप्रसाद राई स्मृती प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरुको टोलीसहितले उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । टोलीमा फाउण्डेशन नेपाल अध्यक्ष शूस्मा राई र प्रतिष्ठान अध्यक्ष तारा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझ्दै उपराण्ट्रपति पुनले रामप्रसाद राईलाई सरकारले भुल्न नहुने बताए । उनले भने,‘ रामप्रसाद राईजस्ता देशको परिर्वतनको लागि लडेका विर योद्धालाई सरकारले सम्मान गर्छ सबै प्रकृया मिलाएर छिट्टै उनलाई राष्ट्रिय विभुती घोषणा गर्न पहल चाल्नेछ ।’ प्रधानमन्त्री ओलीले रामप्रसाद राईका विषयमा आवश्यक सरसल्लाह गरेर विवादसहित निर्णय गर्ने बताए । यसअघि तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो ।
साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको निधन
काठमाडौँ, साउन २६ । साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको लतिलपुरको सुमेरु अस्पतालमा निधन भएको हो । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । उनको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रबार उनलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो । खोटाङमा जन्मिएका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए । हाल रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौ’ कार्यक्रम चलाउँदै आएका थिए । दाहाल यज्ञनिधिका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्यलगायत पुस्तक प्रकाशित छन् । -रासस
नयाँ दल स्थापना हुँदै, पृथ्वीपथ र बीपीपथमा अगाडि बढ्ने
काठमाडौं, साउन २५ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली काँग्रेस (बिपी) सँग चाँडो एकता हुने बताए । पार्टी निकट युवा शक्तिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘नागार्जुन नगरपालिकास्तरीय पार्टी प्रवेश कार्यक्रम’मा उनले दुवै पार्टी एकताका लागि संयुक्त सचिवालय स्थापना भइसकेको बताउँदै ‘वैचारिक दृष्टिकोण नभएका र अवसरवादी चरित्र बोकेका’ कुनै राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट गरे । डा लोहनीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राष्ट्रिय उत्पादन, सन्तुलित वैदेशिक नीति, भ्रष्टाचारमुक्त समाज निर्माण (पृथ्वीपथ) तथा सबै जनताले दुई छाक खान पाउने बिपी कोइरालाको समाजवादको सिद्धान्त (बीपीपथ) का आधारमा एकीकृत नयाँ पार्टीलाई अगाडि बढाइने प्रष्ट पारे । मुलुकमा अहिले बलियो सरकार स्थापना भए पनि समाजमा हत्या, हिंसा र बलात्कारका घटना हुनाले शान्ति सुरक्षा कमजोर रहेको देखिएको बताउँदै उहाँले काला बजारीलाई दण्डित गर्न नसकेकाले जनता महंँगीको मारमा परेकाले अविलम्ब प्रशासनिक सुशासन कायम गर्न माग गरे । पार्टीले यसअघि हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (बीपी) सँग एकीकरणका लागि सैद्धान्तिक रुपमा सहमति गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । सो अवसरमा राप्रपाका प्रेम मगरका नेतृत्वमा राप्रपा र राप्रपा (प्रजातान्त्रिक) परित्याग गरी एक सय पाँच जना नेता तथा कार्यकर्ता एकीकृत राप्रपा (राष्ट्रवादी) मा प्रवेश गरेका थिए ।
बिम्स्टेक वरिष्ठ पदाधिकारीको विशेष बैठक भोलि काठमाडौंमा
काठमाडौं, साउन २५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीको विशेष बैठक शनिबार काठमाडौंमा बस्दैछ । आगामी भदौ १४ र १५ गते नेपालमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि एक दिवसीय सो बैठक बिहान ९ बजेदेखि शुरु हुँदैछ । बैठकमा सहभागी हुन बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु शुक्रबार साँझसम्म नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव आउन नसक्ने अवस्थामा बैठकमा सदस्य राष्ट्रकै अन्य उच्चस्तरीय प्रतिनिधित्व हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए । विशेष बैठकले शिखर सम्मेलन र त्यसअघि बस्ने मन्त्रिस्तरीय बैठकका लागि आवश्यक तयारी गर्नेछ । शिखर सम्मेलनअघि काठमाडौँमै भदौ १२ गते वरिष्ठ पदाधिकारीस्तरीय नियमित बैठक र भदौ १३ गते मन्त्रिस्तरीय बैठक हुने तय भएको छ । बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बङ्गलादेश, भारत, म्यान्मा, श्रीलङ्का थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् । बिम्स्टेकमा व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन् । विशेष बैठकमा शिखर सम्मेलनको तयारीको अवस्था र सदस्य राष्ट्रको आन्तरिक तयारीका बारेमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिम्स्टेकको अध्यक्षको नाताले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई सहभागिताका लागि औपचारिक निमन्त्रणा पठाइसकिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि सबै समकक्षीलाई निमन्त्रणा गरिसक्नुभएको मन्त्रालयले जनाएको छ । सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिताका लागि सुनिश्चितता हुने क्रम जारी रहेको सहप्रवक्ता ढकालले बताए । विशेष बैठकमा सहभागीले शिखर सम्मेलनका कार्यसूची बारेमा समेत छलफल र परामर्श गर्नुहुनेछ । “शिखर सम्मेलनलाई परिणाममुखी र सफल बनाउने सम्बन्धमा भोलि (शनिबार)को बैठकमा छलफल हुनेछ”, उनले भने । बिम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मामा सम्पन्न भइसकेको छ । त्यसैगरी हालसम्म बिम्स्टेकका परराष्ट्रमन्त्रीस्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारीस्तरीय १८ बैठक सम्पन्न भएका छन् । चौथो शिखर सम्मेलनमा मुख्य गरी हालसम्मका शिखर सम्मेलनले गरेको निर्णयको कार्यान्वयनको समीक्षा तथा बिम्स्टेकको उद्देश्यानुरुप सदस्य राष्ट्रको आर्थिक–सामाजिक विकासमा सहयोगका क्षेत्रको प्रभावकारिताबारेमा छलफल हुने बताइएको छ । साथै सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार कार्यान्वयनको स्तर, सहयोगका क्षेत्रमा भएका प्रगति र यसमा देखिएका समस्या समाधान उपायका बारेमा समेत छलफल हुने मन्त्रालयले जनाएको छ । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । बिम्स्टेक क्षेत्रमा विश्व जनसङ्ख्याको झण्डै २१ प्रतिशत अर्थात् करीब डेढ अर्ब जनसङ्ख्याको बसोबास छ । सन् २०१४ मा यसको सचिवालय बङ्गलादेशको ढाकामा स्थापना गरिएको हो । सम्मेलनको पूर्वतयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ र गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, पारवहन तथा यातायात समिति गठन गरी तीव्र रुपमा तयारी भइरहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति र अन्य उपसमितिले शिखर सम्मेलनको आवश्यक तयारी द्रुत गतिमा गरिरहेका सहप्रवक्ता ढकालले बताए ।
सीआइबीकै कर्मचारीको नक्कली प्रमाणपत्र, विशेष अदालतमा मुद्धा दर्ता
काठमाडौं, साउन २५ । मुलुकमा हुने जघन्य अपराधको अनुसन्धान गर्ने निकायका कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीमा कार्यरत हवल्दार सन्जीवविक्रम शाह नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि बढुवा भएको रहस्य खुलेको हो । उनीविरुद्ध शुक्रबार बिशेष अदालतमा मुद्दा दायर गरेको पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भारतको गोरखपुरमा रहेको एक कलेजबाट आइ ए (प्रविणतापत्र तह) उत्तिर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उनी जवानबाट हवल्दार पदमा बढुवा भएको दावी अख्तियारको छ । शाहविरुद्ध परेको उजुरीका आधारमा छानबिन गर्दा प्रमाणपत्रमा उल्लेख कलेजमा उनले अध्ययन नगरेको पाइएको अख्तियारले जनाएको छ । शाहको कार्य भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा १ अनुसारको कसुर भएकोले उनलाई सोही बमोजिम जरिवाना र कैद सजाय मागदाबी अख्तियारले गरेको छ ।
मेनपावर सञ्चालक गजमेर जेल चलान
काठमाडौं, साउन २५ । मेनपावर व्यवसायी अनिल गजमेर जेल चलान भएका छन् । उनलाई पाँच करोड भन्दा रुपैयाँ ठगी गरेको आरोपमा केही समय अघि प्रहरीले पक्राउ गरेको थियो । माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक गजमेरलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाएको हो । पब्लिक कम्पनि खोलेर गजमेरले विभिन्न व्यक्तिबाट करोडौं रुपैया ठगी गरेको उजुरीको आधारमा महानगरीय प्रहरी परिसर गएका असार २६ गते राजधानीबाट पक्राउ गरेको थियो । अदालतको आदेश लगतै उनलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए । गजमेरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ५ करोड ८७ लाख बिगो दाबीसहित मुद्धा दर्ता गरेको छ ।
आम नागरिक हिन्दूराज्य र राजसंस्थाको पक्ष : अध्यक्ष थापा
पोखरा, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए । राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे । पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उनको जोड छ । गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताए ।
सरकारविरद्ध घेराबन्दी गर्न खोजियो – प्रचण्ड
काठमाडौँ, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको आरोप लगाएका छन् । ‘शहीद मनोज-झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारविरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको आरोप लगाएका हुन् । “राजाजस्तै शासन गरी एकाधिकार ठान्नेहरुलाई अहिले हामी सत्तामा पुगेको देखेर बसी खान भएको छैन”, अध्यक्ष ‘प्रचण्ड’ले भने, “निर्वाचनपछि केहीलाई न रातमा निद्रा न दिनमा भोक लाग्न छाडेको छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अहिलेको परिस्थितिमा जनता र ट्रेड युनियनको सम्बन्धलाई सुदृढ गर्न नसक्ने हो भने क्रान्तिका उपलब्धि उल्टिन बेर नलाग्ने बताउँदै क्रान्ति पछिको प्रतिक्रान्ति जब्बर हुने भएकाले सबैले आँखा चनाखो र कान ठाडो पार्नु पर्नेमा जोड दिए । “लेनिनले भनेजस्तो क्रान्ति भन्दा १० गुना प्रतिक्रान्ति आउँछ,” प्रचण्डले भने, “सबैको अधिकार कटौती गरेर राज गर्न नहुने र कर्मचारी भित्रको एकतालाई अझ मजबुद गर्न जरुरी छ । दुई तिहाइको सरकार भएकाले जनताले अनुभव गर्न खालको काम गर्न ट्रेड युनियन अग्रसर हुनुपर्नेमा जोड दिदैं प्रचण्डले कर्मचारीतन्त्रले स्वच्छ र पारदर्शी प्रशासन देखाउनुपर्ने बताए । राज्यले खटाएको जुनसुकै ठाउँमा कर्मचारी जानुपर्ने बताउँदै अहिले एउटा संक्रमणकालको अन्त्य गरिसके पनि संक्रमणकालबाट भने मुक्त हुन नसकेको अध्यक्ष प्रचण्डको भनाई छ । निरंकुशतन्त्रको एउटा लडाइँ जितिसकिएको उल्लेख गर्दै उनले अब समृद्धिको लडाइँ बाँकी रहेको बताए । “मुलुकमा परिवर्तन भए पनि समृद्धि हुन बाँकी रहेको छ”, अध्यक्ष प्रचण्डले भने, “परिवर्तनलाई संस्थागत र संरचनालाई व्यवस्थित गर्न अझ पाँच वर्ष लाग्नेछ ।” उनले मुलुक लोकतन्त्र ल्याउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका रहेको भन्दै कर्मचारीको नभई राजनीतिक नेतृत्वको कारण कमीकमजोरी भएको बताए । जनयुद्ध शुरु भएको पाँच वर्षपछि नै नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) एकअर्काका परिपूरक भएर आन्दोलनमा गएको उल्लेख गर्दै उनले दुवै दलका नेताको छलफलले एकअर्कालाई परिपूरकका रुपमा अगाडि बढाएको बताए । अध्यक्ष प्रचण्डले त्यही परिपूरकअनुसार नै १२ बुँदे सहमति, दोस्रो जनआन्दोलन, संविधान सभाको निर्वाचन हुदै संविधान घोषणा र अहिलेको निर्वाचन भएको पनि जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ट्रेड युनियनको अधिकार कटौती भइनसकेको भन्दै यस सम्बन्धमा छलफल गर्न सकिने बताए । कर्मचारीको अधिकारबारे हावाहुरीको जस्तै पछाडि लागेर समयको बर्बाद गर्नु आवश्यक नभएको उल्लेख गर्दै उनले ट्रेड युनियनको मान्यताअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।संगठनका अध्यक्ष केदार देवकोटाले अहिलेको सरकार स्थायी भएकाले सरकारका गतिविधिलाई सफल बनाउने बताए । कार्यक्रममा सप्ताह रुपमा मनाइएको स्मृति दिवसका अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुनेलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । -रासस
यसरी अाउँदै छ वागमतीको पानी काठमाडौंवासीका घरमा (भिडियासहित)
काठमाडौं, साउन १५ । मेलम्ची खानेपानी काठमाडौंमा आउनु भन्दा पहिला वागमतिको पानी काठमाडौंबासीलाई वितरण गर्ने काम करीब अन्तिम चरणमा पुगेको छ । त्यसको तयारी स्वरुप अहिले सुन्दरीजलबाट वागमतिको पानी ल्याई मेलम्ची खानेपानी आयोजनाका लागि विछ्याइएको पाइप परीक्षण गर्ने र पलाख्ने (फ्लसिङ) को कामलाई परियोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) ले तीब्रता दिएको छ । पहिलो चरणमा सुन्दरीजलदेखि धोवीघाटसम्म करीब ११ किलोमिटर पाइप परीक्षण र फ्लसिङको काम भइरहेको पीआइडीका निर्देशक तिरेसप्रसाद खत्रीले जानकारी दिए । उनका अनुसार चरणमा गएको महिनादेखि शुरु भएको सुन्दरीजल–धोवीघाट फ्लसिङको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मकै ठूलो तहमा मंगलबार पाँच हजार क्युविक मिटर प्रतिघण्टाका दरमा पाइप फ्लसिङको काम सम्पन्न भएको छ । यदि अहिलेकै गतिमा काम भए अबको चार पाँच दिनमा सो खण्डको फ्लसिङको काम सकिने उनले बताए । सुन्दरीजलदेखि घोवीघाटसम्म १७ वटा एयरभल्भ राखिएको छ । जुन पाइपमा जम्मा भएको हावा बाहिर निकाल्न प्रयोग हुन्छ । भने सो दुरीमा विभिन्न स्थानमा गरी सातवटा वासआउट राखिएको छ । वासआउटबाट पाइपमा आएको पानी बाहिर फ्याकेर पाइपमा जम्मा भएको वा जमेको फोहोर (माटो र बालुवा) बाहिर निकाल्ने गरिन्छ । सुन्दरीजलदेखि धोवीघाटसम्मको फ्लसिङको काम सकिएपछि । बाँकी क्षेत्रमा फ्लसिङको काम हुने शुरु हने छ । तर बाँकी क्षेत्रमा कम समयमा नै फ्लसिङको काम सकिने र फ्लसिङको काम सकिए लगत्तै काठमाडौंवासीलाई पानी वितरण गर्ने तयारीमा पीआइडी रहेको छ । उता खानेपानी मन्त्री बीना मगर पनि दशैंभन्दा अगाडि नै काठमाडौंवासीको धारामा पानी पुर्याउने मिसनमा रहेकी छन् । सो अनुरुप निर्देशन पनि दिएकी छन् ।
आफ्नो निर्णयबाट पछि हट्यो वीरगञ्ज महानगर
वीरगञ्ज, साउन १५ । उद्यागी–व्यवसायीको चर्को विरोधपछि वीरगञ्ज महानगरपालिका अघिल्लो गरेको कर बृद्धिको निर्णयबाट पछि हटेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघ, विभिन्न राजनीतिक दल र अन्य सरोकारवालाको चर्को विरोधपछि महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी यसअघिको निर्णय केहीमा हटाउने र केही बस्तुमा कर घटाउने तयारी गरिएको जनाइएको हो । पत्रकार सम्मेलनमा महानगरका मेयर विजय सरावगीले केही कर हटाइने, केहीमा संशोधन गरी घटाइने जानकारी दिए । मेयर सरावगीले वातावरण प्रदुषण तथा सडक मर्मत सुधार शुल्क, डिजेल र पेट्रोलमा लगाइएको शुल्क, डण्डी र सिमेन्टमा लगाइएको शुल्क, कुखुरामा लागेको शुल्क फिर्ता गर्न तयारी भएको जानकारी दिए । यस्तै कवाडी निकासी शुल्कको सन्दर्भमा कवाडी संघले दिएको सुझावलाई कार्यपालिका बैठकमा लैजाने, घरजग्गा तथा एकीकृत सम्पत्ति करलाई मालपोत कार्यालयले तोकको मुल्याङ्कन र मापदण्ड अनुसार नै गरिने तथा व्यवसायिक करलाई पनि परिमार्जन गर्न कार्यपालिका बैठकमा पेश गरिने मेयर सरावगीले बताए । महानगरपालिका कार्यपालिकाले गएको साता पारित गरेको कार्यविधिमा विभिन्न क्षेत्रमा कर लगाउने गरि व्यवस्था गरेको थियो । कार्यविधि पारित भएसँग वीरगञ्जका उद्योगी–व्यवसायी चरणबद्ध आन्दोलनमा थिए ।

