कञ्चनपुरमै फेरि अर्की किशोरी सामूहिक बलात्कृत
कञ्चनपुर, भदौ १५ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा बिहीबार राति एक किशोरी सामूहिक बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको र आफू घटनास्थल पुगेको जानकारी दिए । प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य परीक्षण गरिदै छ ।
किशोरीको घरमा बिहीबार पुजा भएको वेलामा एक युवकले उनलाई बोलाएर घरबाहिर भन्दा अल्लि परबाट मोटरसाइकलमा लगेर बलात्कार गरेका बताइएको छ । साथै प्रहरीले बलात्कारी परिचित रहको बताएको छ भने उनीहरुको खोजी कार्य जारी छ ।
गएको साउन १० गते बलात्कारपछि हत्या गरिएका भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोर हत्याराको खोजी र अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भएको आन्दोलन सेलाउन नपाउँदै कञ्चनपुरमै फेरि अर्की किशोरी बलात्कृत भएकी छन् ।
भारतमा एक नेपालीको हत्या, दुई जना बेपत्ता
बर्दिया, भदौ १५ । बर्दियाको सीमावर्ती क्षेत्र भारत कतरनीयाघाट वन्यजन्तु आरक्षमा एक नेपालीको बिहीबार शव फेला परेको छ । बर्दियाका प्रहरी प्रमुख एसपी सुरेन्द्र मैनालीका अनुसार भारत कतरनीयाघाट वन्यजन्तु आरक्षको सुगौली थाना नजिक बैरीखल्ला जंगलमा राजापुर नगरपालिका–१० का इन्द्रबहादुर थारुको शव भेटिएको हो । सुगौली थाना नजिक मृत अवस्थामा फेला परेको थारुको हत्या भएको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय, राजापुरबाट खटिएको प्रहरी टोली र मृतकका आफन्तले शव पहिचान गरेका हुन् । राजापुर नपाबाट ११ दिन चार जना घरबाट त्यता गएका तर गोपाल चन्द गोलीको छर्रा लागेर पाँच दिनअघि घाइते अवस्थामाघर फर्किएका थिए भने दुई जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार उनीहरु जंगलमा चोरी शिकारका लागि गएको अनुसन्धानमा देखिएको जनाएको छ । थारुको शव पोष्टमार्टमका लागि बहराइच जिल्ला अस्पताल लगिएको छ । उनको हत्या भएको आशंका स्थानीयले गरेका छन् । हत्या कसले गर्यो थाहा हुन सकेको छैन । शव परीक्षण पछि घटनाको जानकारी बाहिर आउने छ । प्रहरी उपरीक्षक मैनालीले अनुसन्धान भई रहेको जनाकारी दिए । सोही ठाउँका वीरेन्द्र बहादुर शाह र बालकृष्ण चौधरी एघार दिनदेखि वेपत्ता छन् । उनीहरुको खोजी गरिदिन आफ्न्तले प्रहरीसंग अनुरोध गरेका छन् । उनीहरु सीमावर्ती कतरनीयाघाट वन्यजन्तु आरक्षको जंगलबाट सम्पर्क विहीन भएका थिए । शाह र चौधरीको अवस्था अज्ञात भएकाले घटना बारे अनुसन्धान गर्न समस्या भएको प्रहरीको भनाई रहेको छ । चौपाया खोज्न गएको भनिएका बर्दिया राजापुर—१० का ४२ वर्षीय चन्दसंग घटना बारे प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार चन्द कान सुन्दैनन् । गोलीका छर्रा लागि घाईते भएका चन्द नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि घर फर्केका थिए । घटनास्थल सदरमुकाम गुलरीयादेखि करिब ३५ किमि पश्चिम–दक्षिणमा पर्दछ । शाह र चौधरीको खोजी गर्न नेपाल र भारतीय सुरक्षाकर्मी खटिएको मैनालीले बताए । कान्तिपुरबाट
विदेशी सरकार एवं राष्ट्रप्रमुख धमाधम फर्किंदै
काठमाडौं, भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन सकेर शुक्रबार सदस्य देशका कार्यकारी प्रमुखहरु धमाधम फर्किंदै छन् । सबभन्दा पहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिहान अपरान्ह १ बजे फर्किंदै छिन भने थाइल्याण्डका प्रधानमन्त्री प्रचुयत १.४०, म्यानमारका राष्ट्रपति विन मिन्ट ४ बजे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ६ बजे फर्किदै छन् । यसैगरी, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ बाङ्चुक भने शनिबार बिहान फर्कने कार्यक्रम छ । फाइल तस्वीर
भारतका केपीको रेकर्ड तोड्दै नेपालका केसीले रचे विश्व कीर्तिमान !
काठमाडौं, भदौ १५ । नुवाकोट शिवपुरी गाउँपालिका-१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन् । केसीले भारत केरेलाका केपी भाल साराजानको ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई समेत तोडेका छन् । न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका थिए । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए । निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राखेका उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरे । नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी एक आध्यामिक साधक पनि हुन् । केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा पनि गरेका छन् । उनले यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सकेका थिएनन् । -रासस
खानेपानी मन्त्री बीना मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने पक्राउ
काठमाडौं, भदौ १५ । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाका सन्जिव दाहाल रहेका छन् । मन्त्री मगरको नागरिकता, राहादानी र हस्ताक्षर दुरुपयोग गरी सुन्धारास्थित नेपाल टेलिकमबाट भिआइपी सिम कार्ड झिक्दै गर्दा पक्राउ परेका दाहाल पत्रकार भएको खुलेको छ । उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कागजात प्रतिलिपीसहित सिमकार्ड झिक्दै गर्दा पक्राउ गरेको हो । दाहालले यसअगाडि पनि किर्ते काम गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रदेश सातमा गौरा पर्वको रौनक
कञ्चनपुर, भदौ १५ । प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ । त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ । सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत यहाँको समाजमा रहेको स्थानीय पण्डित धर्मान्द जोशीले बताए । सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिएको स्थानीय शिक्षक भरतबहादुर ऐरले बताए । गौरा पूजा गरी सकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने उनले जानकारी दिए । यो पर्व प्रदेश नं ७ सहित भारतको कुमाँउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ । -रासस
बिमस्टेक सम्मेलनको अाज दोस्रो दिन, कस्तो छ तालिका ?
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन शुक्रबार समापन छ । बिहिबार उद्घाटन भएको सम्मेलन शुक्रबार काठमाडौं घोषणा पत्र तय गर्दै समापन हुन लागेको हो । सम्मेलनको दोस्रो दिन आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीको पुलसाइडमा सबै राष्ट्रप्रमुखको सम्मानमा ‘रिट्रिट’ दिने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि बिहान ११ बजेबाट सुरु हुने बिम्स्टेकको दोस्रो सत्रमा प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीका बुँदाहरु जानकारी गराउने छन्। सम्मेलनमा बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’को समझदारीपत्र (एमओयू)मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्ने कार्यत्रम छ । यसैगरी रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्र सम्बन्धमा सम्मेलनमा छलफल हुनेछ र अन्त्यमा काठमाडौँ घोषणापत्र तय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। सोपश्चात् नेपालले संगठनको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्दै सम्मेलन सकिने छ।
रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन
काठमाडौ, भदौ १५ । रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिने छ । रिमालले आफ्नो निधनपछि कुनै किसिमको तडकभडक नगर्न भनेकाले बिहान १० बजेपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिए ।
पारसले थाले राजनीतिक भेटवार्ता, समात्लान् बाबुको लाइन ?
काठमाडौं, भदौ १५ । लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा गोप्य छलफल गरेका छन् । तीनवटै पार्टीका नेतालाई नक्सालस्थित होटेल टंगाल उडमा बोलाएका पारसले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका हुन् । त्यस क्रममा उनले तीनवटा पार्टीबीच एकता प्रक्रियामा भइरहेको ढिलाइबारे चाँसो व्यक्त गरेको सहभागी नेताहरूले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ । ‘राप्रपाहरूको एकता हुने सुनेको थिएँ, अहिले के भइरहेको छ ?,’ छलफलको सुरुमै पारसले यस्तो जिज्ञासा राखेका थिए । त्यसपछि उनले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एक हुनुपर्ने विचार व्यक्त गरेका थिए ।
दुधालु गोरु ! जहाँ गोरुकाे दुधको प्रसाद पाइन्छ…..
सिन्धुपाल्चोक, भदौ १५ । भनाई नै छ-गोरु ब्याउँदैन, दुध पनि दिँदैन । तर, यति बेला जिल्लाको हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलार्इ प्रसाद बाँड्छन् । भन्छन् – विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन । अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले दुध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ । सुरुमा तामाङ पनि कम्ती चकित परेका होईनन् । उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दुधको थोपा खस्न थाल्यो । गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दुध हो कि भनेर दुहेको त हो रहेछ, तार थुनमध्ये दुईवटा बिहान बेलुकै दुहुने गरेको छु, उनले भने, सबैले भगवान शिवजीको साढे नन्दी भनेर पुजा गर्न थालेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
कडा रोगका विरामीलाई साढे २ अर्ब रुपैयाँ !
काठमाडौं, भदौ १५ । सरकारले ८ वटा कडा रोग लागेका बिरामीको उपचारमा विपन्न नागरिक उपचार कार्यक्रममार्फत एक बर्षमा झन्डै साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ । गत बर्ष २१ हजार ८ सय १६ बिरामीले उपचार खर्चवापत २ अर्ब ४३ करोड ४४ लाख ३८ हजार ७ सय ४९ रुपैयाँ अनुदान लिएको जानकारी स्वास्थ्य सेवा मिभागको नर्सिङ तथा सामाजिक सुरक्षा शाखा टेकुले दिएको छ । आर्थिक वर्ष २०७३-०७४ मा कडा रोगको उपचारमा १७ हजार ४ सय ७१ जनताले १ अर्ब ३३ करोड ७ लाख ५२ हजार ५ सय ५१ रुपैयाँ सरकारी अनुदान प्राप्त गरेका थिए । कान्तिपुरमा खबर छ । क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किनसन र अल्जाइमरलाई कडा रोग मानेर सरकारले उपचारमा विपन्न नागरिकलाई अस्पतालको बिल भर्पाइअनुसार अनुदान दिने गरेको छ । ,
निर्मला हत्या प्रकरणः प्रहरी नै प्रमाण मेटाउन लागेको आशंका !
कञ्चनपुर, भदौ १५ । जिल्लाको भीमदत्तनगरपालिका-२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् । घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् । शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्यो रु , एक स्थानीयले भने, प्रहरीले घटनास्थलको सुरक्षामा पनि खासै चासो दिएन ।प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ । अम्बाको रुख अहिले नै किन काटियो, निर्मलाले रुखमा चढेर अम्बा टिपेको कुरा पनि आएको छ, अर्का स्थानीय रतन ओझाले भने । कान्तिपुरमा खबर छ । निर्मलाकी आमा दुर्गादेवी पनि यिनै विषयलाई जोडेर बम दिदीबहिनीमाथि शंका व्यक्त गरिरहेकी छिन् । छोरी खोज्न जाँदा उनीहरुले देखाएको व्यवहार र क्रियाकलापले पनि घटना तयही घरभित्र भएको हुन सक्ने उनको बुझाई छ ।
बद्री खनालको कमाउने धन्दा, भूकम्प पीडितको नाममा करोडौं ठगी
काठमाडौँ । मान्छेले पैसा कमाउनको लागि जुनसुकै हर्कत गर्नपछि नपर्ने ताजा उदाहरण काठमाडौँको नजिकै रहेको गोकर्णेश्वर नगरपालिका–१ मा बद्री खनाललाई हेरे पुग्छ । उनी कतिसम्म निच र गैर जिम्मेवारी रहेछन् भन्ने ताजा उदाहरण हेर्ने हो भने वीपी संग्रहालयको पूर्वपट्टि रहेको पाँच तले घरमा गएर हेर्दा सबै छर्लङ्ग हुन्छ । साविकको नयाँपाटी गाविस वडा नं २ हालको गोकर्णेश्वर नगरपालिका वडा नं १ ऐतिहासिक सुन्दरीजल बन्दी गृह (हाल बिपी संग्रहालय) मुनिको रुप्सेटारका एक स्थानीयले भूकम्पका नाममा करोडौँको खेती गरिरहेको रहस्यमय उद्घाटन भएको हो । विगतमा भूमाफियाका रुपमा सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा दर्ता गरेर प्लटिङ गरी बेचेर करोडौँ कुम्ल्याएका बद्री खनाल नाम गरेका व्यक्तिले आफ्नो जग्गामा बनेको टहरामा विभिन्न जिल्लाबाट आएका भूकम्प पीडित राखेर भाडा लिँदै आएका छन् । ती टहरामा आफूले भूकम्पपीडित राखेर सामाजिक सेवाको काम गरेको भन्दै उनले विदेशी संस्थासँग मासिक हजारौँ डलर असुल्दै आएका छन् । विजेता एकता कम्युनिटीका नाममा उनले सामाजिक सेवा गरेको नाममा कमार्इ खाने भाँडो बनाएका हुन् । यस सम्बन्धी सूचना प्राप्त भएपछि स्थलगत समाचार संकलनका लागि सुन्दरीजल पुगेको यस समाचारदाताकै आँखा अगाडि युरोपियन मूलका विदेशी लिएर खनाल हिँड्दै थिए । स्थानीयवासीका अनुसार खनालका घरमा हप्तैपिच्छे नयाँ नयाँ विदेशी समूह आइरहेको हुन्छ । यसरी आउने विदेशीलाई यिनले सुन्दरीमाई होम स्टेका नाममा घरमा राख्ने गरेका छन् । उनका आफन्त विदेशमा रहेकाले तिनले डलरवादी संस्थासँग सम्पर्क गराइदिने गरेको स्थानीयवासीले बताएका छन् । यी भू माफियाले बच्चालाई पढाउने नाममा समेत करोडौँ कुम्ल्याउँछन् । यिनका घरमा हप्तैपिच्छे विदेशी कुइरे आउने गरेका छन् । विदेशी आउने दिन टोलभरिका बच्चा जम्मा गरेर स्थानीय सुसन भण्डारीले पढाउँछन् । ती कुइरे मार्फत् विदेशी संस्थाले भूकम्प पीडित र बच्चा पढाउने नाममा लगानी गर्छन् । माफिया खनालले यसका लागि संस्था नै खोलेका छन् । पहिले संस्थाको बोर्ड घरमा राखेपनि हाल हटाएर गुपचुप रुपमा डलर खेती गर्दै आएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सल्लाहमा बोर्ड हटाएर डलर खेती गरेका हुन् । त्यसवापत् ती जनप्रतिनिधिलाई पनि यिनले नजराना टक्र्याउने गरेका छन्। उनको यो धन्दामा स्थानीय सरकार मौन रहनु अझ रहस्यपूर्ण छ । यो डलर खेतीका पछि एउटा गिरोह नै लागेको स्थानीयको भनाई छ । त्यससम्बन्धी प्रतिवेदन प्राप्त भएपछि हामी सार्वजनिक गर्दैै जानेछौँ । भूकम्प पीडित र बच्चाका नाममा डलर खेती गर्दै आएका खनालले गलत बाटोबाट कमाएको पैसाका आडमा स्थानीयवासीमाथि समेत थिचोमिचो गर्ने गरेका छन् । घरको ट्वाइलेटको ढल सिधै निकालेर राजकुलोमा हाली अरु घरका मानिसलाई बस्न नसक्ने बनाएका छन् । राजकुलोको पानी पहिले आफ्नो जग्गाको सीमाबाट जाने गरेकामा हाल एक स्थानीय सोझा वृद्धालाई फकाएर उनको जग्गाबाट पठाएका छन् । ती स्थानीयको घर नै डुबानमा पर्ने खतरा बढाएका छन् । पहिलेदेखि उद्दण्ड स्वभावका यी भूमाफियाले त्यस क्षेत्रमा आतंक नै मच्चाएका छन् । स्थानीय निकाय हुँदैदेखि साविकको नयाँपाटी गाविसको बजेटमा तर मार्न पल्केका यिनले खानेपानी योजना र सडकका नाममा समेत बजेट हिनामिना गरी कालोसूचीमा परेका थिए । यिनलाई उपभोक्ता समितिको अध्यक्ष बनाई बजेट बाँडेर खाने नयाँपाटी गाविसका तत्कालीन सचिव रामेश्वर धिमाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत तानिएका थिए । धिमालले अख्तियारमा समेत सेटिङ मिलाएर फुत्कन सफल भएकाले त्यसबेला यो घटना सार्वजनिक भएन । डेढ दशक अघि तिलगंगामा रहेको शान्ति सेवा गृह नामको संस्थाका पदाधिकारी सुन्दरीजल क्षेत्रमा जग्गा खोज्दै जाँदा खनालसँग सम्पर्क भयो । यिनले दलाली गरेर १० रोपनी जग्गा किनाए । त्यो सम्बन्धले यिनी शान्ति सेवा गृहको उपाध्यक्षसम्म बने । शान्ति सेवा गृह त्यही संस्था हो जसले अपांग राख्ने नाममा खेतीपाती गर्दै आएको छ । जग्गा मिलाएको सम्पर्कले उनी त्यो संस्थामा छिरे । शान्ति सेवा गृहका विषयमा खोज पत्रकारिता केन्द्रले समेत खोजी समाचार बनाएका थिए । जसमा करोडौँ भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको थियो । कृष्ण गुरुङले खनाललाई शान्ति सेवा गृहमा छिराएका थिए । संस्था खोलेर विदेशी भित्र्याउन पाए शान्ति सेवा गृहको जस्तै लूट मच्चाउन पाइने मनोकांक्षाले यिनले विजेता नामको संस्था खोलेका हुन् । संस्थाको अध्यक्ष खनाल आफैँ हुनुहुन्छ । महासचिव भने पवन भण्डारी रहेको उहाँले जानकारी दिए । शान्ति सेवा गृहको कार्य समितिमा नेपाली भएपनि यसको पृष्ठभूमिमा जर्मन नागरिक मारियाना नामकी महिला छिन् । त्यही संस्थामा गरेको भ्रष्टाचारले यिनले अहिले सुन्दरीजलमा पाँचतले भव्य महल ठड्याएका छन् । विदेश सामान पठाउन यिनले शुरुमा ठमेलमा कार्यालय खोले । त्यसपछि त्यो कार्यालय चुच्चेपाटी सर्यो । हाल चुच्चेपाटीबाट टहराकै एउटा कोठामा सारेका छन् । विदेश सामान पठाउने संस्थाको कम्पनी खोलेर कर तिर्नुपर्ने कानूनी व्यवस्थाको पनि खनालले उल्लंघन गरेका छन् । सामाजिक सेवाका नाममा आउने विदेशीले सामान ओसार पसार गर्छन् । कहिले स्वदेशीलाई पनि बाहिर जाने आउने क्रममा सामान ओसार पसारका लागि यिनले प्रयोग गर्ने गरेको स्थानीयले जनाएका छन् । स्थलगत समाचार संकलनका क्रममा संस्था जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा समेत दर्ता भएर कर पनि तिरिरहेको खनालले दावी गरे । तर वडा अध्यक्ष राम मानन्धर भने कर नतिरेको बताउँछन् । “त्यो संस्था र खनालले गरेको क्रियाकलापका बारेमा पहिल्यैदेखि मलाई शंका थियो, केही समय अघि कोठा खाली गर्न प्रहरीसहित म जाँदा जीर्ण भवनमा बच्चा पढाउने गरेको देखेँ, संस्था दर्ता भए÷नभएको कार्यालय खुलेपछि अभिलेख हेर्नुपर्छ”–उनले भने। वडा अध्यक्षलाई भने खनालले स्थानीय बच्चालाई निःशुल्क ट्युशन पढाउने गरेका बताएका रहेछन् । स्थानीयवासीका अनुसार भूकम्प पीडित बच्चाका नाममा उनले त्यहाँ बच्चा जम्मा गरी विदेशबाट आएको जडौरी कपडा बाँड्ने गरेका छन् । तिनका नाममा कति सहयोग लिएर खान्छन् । त्यसको कुनै पारदर्शिता छैन । खनालले कमाइ खाने भाँडो बनाएको टहरामा बस्ने भूकम्प अति प्रभावित सिन्धुपाल्चोक दुवाचौरकी माया तामाङ २०७४ साल वैशाखदेखि यहाँ बस्छिन् । एउटा कोठाको मासिक रु दुई हजार तिर्ने गरेको उनले सुनाइन् । यसैगरी यो टहरामा सुरेश तामाङ, महेश तामाङ, रामसिंह तामाङ लगायतको परिवार पनि यहाँ मासिक रु दुई हजार नै तिरेर बसिरहेका छन् । खनालले भने विदेशीसँग यी सबै भूकम्प प्रभावित जिल्लाका पीडित भएकाले बस्ने, खाने लगायत आधारभूत आवश्यकता पूर्ति गरिदिएको भनी सहयोग लिने गरेका छन् । तामाङ समुदायका यी सोझा नागरिकलाई आफ्ना नाममा यस किसिमको खेतीपाती भइरहेको छ भन्नेसम्म थाहा छैन । विदेशीले विपन्नवर्गका जनजातिका नाममा काम गर्ने भनी खुलेका संस्थालाई क्रिश्चियानिटी फैल्याउन सहयोग गर्ने गरेका छन् । राजधानीकै कुनामा खुलेका संस्था र होम स्टेमा विदेशी बसेर धर्मान्तरणका योजना बुनी रहँदा स्थानीय सरकार भने बेखबर रहेको वडा अध्यक्ष मानन्धरको भनाईले पुष्टि गर्छ । प्रदेश र संघीय सरकारको यहाँसम्म ध्यान जाने कुरै भएन । कसैको ध्यान नजाँदा खनालजस्ताको परिवार त सम्पन्न बन्ला । तर राष्ट्र र राष्ट्रियता भने कमजोर बन्ने निश्चित छ । कार्यालयमै बसेर करको दर कहाँ कहाँ बढाउन सकिन्छ भनेर लाग्ने स्थानीय तह भने आफ्नै कार्यक्षेत्रभित्र के भइरहेको छ भनी बेखबर रहनुले गाउँकै सिंहदरबारको कमजोरीका रुपमा लिन सकिन्छ । देशको टोल टोलमा हुने यस्ता घटनामा सबै तहका सरकारको ध्यान जानु जरुरी छ । अन्यथा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको भोगाई नेपालीले नभोग्नुपर्ला भन्न सकिन्न ।
प्रचण्ड नेपालका सबैभन्दा लोकप्रिय नेता – बेलायत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले बिहीबार बिहान भेटवार्ता गरेका छन् । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र बेलायतका बीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो । बेलीले आर्थिक समृद्धि र विकासबारेअध्यक्ष प्रचण्डसँग चासाे व्यक्त गरेपछि राजनीतिक परिवर्तन पश्चात देशमा आएको आर्थिक समृद्धिकाे लहर अाएकाे र त्यसका आधारबारे स्पष्ट पारेका थिए । प्रचण्डले भने, ‘नेपालमा लामो समय पश्चात राजनीतिक स्थिरता कायम भएको छ, यो नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बलियो आधार हो ।’ प्रचण्डले नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको बताउँदै विश्वका धेरै लगानीकर्ताहरु यहाँ लगानी गर्न इच्छुक रहेको बताए । उनले भने, ‘हामी लगानीकर्ताको सुरक्षा र लगानीको ग्यारेन्टी गर्न योजना बनाईरहेका छौं ।’ पर्यटनको उत्तिकै सम्भावना भएको उल्लेख गर्दै दुई ठूला जनसंख्या भएका देशका पर्यटकको गन्तव्य पछिल्ला दिनमा नेपालमा बढ्दै गएको उनको भनाई थियो । अध्यक्षले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारको निर्माण हाम्रो पहिलो शर्त हो ।’ भेटका अवसरमा प्रमुख बेलीले विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल भएकाले यहाँ लगानीकर्ताहरु आकर्षित भएको बताए । नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरु इच्छुक रहेको उनको भनाई थियो । उनले सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको पनि बताए । प्रमुख बेलीले अध्यक्ष प्रचण्डलाई नेपालका सबैभन्दा लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनैतिक घटनाक्रममा नेतर्त्वदायिक भूमिका निभाएकाे भन्दै प्रशंसा गरे ।
प्रधानमन्त्री मोदी र हसिना काठमाडौँमा (फोटोफिचर)
काठमाडौ, भदौ १४ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइ पुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे। विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो। प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गरेका थिए । । बङ्गलादेशका प्रधानमन्त्रीको आगमन बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना पनि आज बिहान राजधानी आइपुगेकी छन् । उनलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे। हेर्नुहोस् केही तस्वीरहरु-
सरकारसँग वार्ता नगर्ने विप्लवको घोषणा
काठमाडौं, भदौ १४ । विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको छ । आफ्ना कार्यकर्तालाई थुनामा राख्दैमा क्रान्ति नरोकिने भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ‘सरकारले बार्ताको आह्वान गरेर नाटक रचेको छ । यो वार्ताको आह्वान मिठाईको लेपन लगाएको बिषको चक्की मात्र हो । ’ बार्ताको कुनै अर्थ नरहेको समेत सो पार्टीले जनाएको छ । पछिल्लो समय बिप्लवका प्रभावशाली नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । चन्दा आतंकको नाममा प्रहरीले मुद्दा परेको भन्दै सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, महिला नेतृ उमा भुजेल लगायतका एक दर्जन नेतालाई पक्राउ गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।


>
>
>