सिन्धुपाल्चोकमा खानेपानी अायोजनाको ९० प्रतिशत काम सम्पन्न
चौतारा । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।
उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर लक्ष्मी उपाध्यायले बताए ।
क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्था छ । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका तथा नयाँ बस्ती बसेका स्थानमा धमाधम काम भइरहेको छ ।
चौतारा सागाचोक गढी नगरपालिका–८ इर्खूको दियाले, मेलम्ची नपाअन्तर्गत गिरानचौर तथा मेलम्ची, हेलम्बु र गातीमा बन्न लागेका एकीकृत बस्तीको लागि खानेपानी योजनाको निर्माण भइरहेको उपाध्यायले जानकारी दिए । सदरमुकाम चौतारा बजार तथा आसपासका गाउँको लागि चौतारा–थालखर्क खानेपानी आयोजनाको गत वर्ष १८ किलोमिटर पाइप फेर्ने काम सम्पन्न भएको छ । रु ६५ करोडको लगानीको सो आयोजनाको थालखर्कको मुहान क्षेत्रमा अझै ३ दशमलव ५ किमीमा पाइप बिछ्याउने काम बाँकी नैै छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समेत बजेट रहेको उक्त आयोजनाको काम बजेट निकासा नहुँदा दुई वर्षदेखि रोकिएको थियो । थालखर्क र स्याउनेदेखि चौतारासम्मको वितरण लाइनको काम बाँकी नै छ ।
अधुरो काम पूरा गर्न खानेपानी तथा शहरी विकास मञ्त्रालयबाट बजेट निकासा हुने इञ्जिनियर उपाध्याय बताउँछन् ।
नेपाल सरकारको निर्णयअनुसार जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजनलगायतका कार्यालय साउन १ गतेदेखि खारेजीमा परेका छन् । खारेजीमा परेका कार्यालयले गर्दै आएका काम अब कुन निकायले गर्ने भन्नेबारे टुङ्गो नलागेपछि विभिन्न आयोजना अधुरै अवस्थामा छन् । रासस
पोखरा लेखनाथ महानगरपालिको नाम हेरफेर, नयाँ नाम यस्तो छ
पोखरा, भदौ २६ । पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए । उक्त उपदफामा गाउँपालिका, नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको सिफारिश पारित गरी राजपत्रमा प्रकाशित भएपछि फेरिएको केन्द्र वा नाम कार्यान्वयन हुने संवैधानिक व्यवस्था छ । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताव नगरसभाले गएको असार १२ गते सर्वसम्मत पारित गरेको थियो । गएको साउनको पहिलो शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त प्रस्ताव प्रदेश सरकारलाई पठाउने निर्णय गरेको थियो । प्रदेश सरकारले सिफारिश गरेपछि २०७४ साउन २३ गते सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले नाम हेरफेर गर्ने निर्णय गरेको हो । राज्य पुनःसंरचना आयोगले २०७३ फागुन २३ गते पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका तथा केही साविकका गाविस मिसाएर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरेको थियो । विसं २०५२ माघ २० गते पोखरा उपमहानगरपालिका तथा २०१६ सालमा पोखरा नगरपालिका घोषणा गरिएको थियो भने २०७१ साल मङ्सिर १६ गते उपमहानगरपालिका विस्तार गरी केही गाविस थपेर २९ वडा पु¥याइएको थियो । तत्कालीन लेखनाथ नगरपालिकामा पनि भरतपोखरी गाविस थपेर १८ वडा बनाइएको थियो । -रासस
मुग्लिङको तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
चितवन, भदौ २६ । नारायणगढ-मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका-६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् । -रासस
एमजीको जीएस गाडीमा यस्तो ठगी, एउटै गाडीबाट १८ लाख नाफा
काठमाडौं, भदौ २६ । ब्रिटिस अटोमोबाइल्स कम्पनी एमजीको नेपालका लागि आधिकारिक बिक्रेता एमजी मोटर्स नेपालले सार्वजनिक गरेको ‘एमजी जीएसएटी २ डब्ल्यूडी’ (जीएस १.५ टी ७ टीएसटी एटी २ डब्ल्यूडी) मोडलको गाडी बिक्रीमा कानुनविपरीत चर्को मूल्य असुल्ने गरेको भेटिएको छ । वस्तु तथा सेवाको बिक्री वितरणमा २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गर्न नपाइने कानुनी व्यवस्थाविपरीत कम्पनीले १८ लाख रुपैयाँसम्म नाफा लिएर बिक्री गर्दै आइरहेको भेटिएको हो । यो नाफा ४२ प्रतिशत हो । एक वर्षअघि १६ भदौ २०७४ मा नेपालमा सार्वजनिक भएको ‘एमजी जीएस’ मोडलको चारपांगे्र गाडीमा करबाहेकको जम्मा लागत २० लाख ४४ हजार ७६६ रुपैयाँ रहेको छ । त्यसमा करलगायत अन्य रकम थप्दा ४३ लाख ३० हजार ४७५ रुपैयाँ पर्न आउँछ । यो नै गाडीको वास्तविक लागत हो । सो गाडीको मूल्य भने ६१ लाख ३० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गरिँदै आएको छ । एउटै गाडीको बिक्रीबाट कम्पनीले १७ लाख ९९ हजार ४३३ रुपैयाँ नाफा लिँदै आएको छ ।एमजी जीएस गाडीको डिलरमा कार्यरत कर्मचारीका अनुसार कम्पनीले निर्धारण गरेको भन्दा अधिक मूल्यमा आधिकारिक बिक्रेताले गाडी बिक्री गरिरहेका छन् । ‘सो गाडी ६५ लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । हामीले ‘जीएस कम्फर्ट’ ६५ लाखमा बेच्छौं र ‘जीएस लक्जरी’ ९० लाखसम्ममा बेच्छौं,’ ती कर्मचारी भन्छन् । एमजीका महाप्रबन्धक सचिन अर्याल भने कम्पनीले निर्धारण गरेको मूल्यमा नै गाडी बिक्री गरिरहेको दाबी गर्छन् । उनले बिक्रीका लागि दिएको सिलिङअनुसार नै बिक्री गरेको भन्दै कति प्रतिशत नाफा लिएको हो र गैरकानुनी नाफा लिए÷नलिएबारे भने कम्पनी प्रमुखसँग बुझ्न आग्रह गरे । राजधानी दैनिकमा खबर छ ।
संविधानबहादुरका कुकुर कुट्ने २ युवा जेल चलान !
बनेपा, भदौ २६ । कुकुर कुट्दा बनेपाका २ युवा जेल परेका छन् । ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो ।बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने २ युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको हो । घर पालुवा जनावर कुटेको उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका ७ घर भई हाल बनेका बस्दै आएका १९ वर्षीइ सुरेश ब्लोन र धुलिखेल १ का २८ वर्षिय राज लामामाथि मुद्दा चलाइएको हो । राजधानी दैनिकमा खबर छ । उनीहरुले जोशीको घरमा बाँधेर राखिएका कुकु टमी र कालीलाई रडले हानेर खुट्टा भाँचिदिएका थिए । सन्तानझैं माया गरेर पालेका कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
बुधबार नेकपाको सचिवालय बैठक, के विषयमा हुँदैछ छलफल ?
काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपां) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच बुधबार पार्टी सचिवालय बैठक बोलाउने समझदारी भएको हो । ‘उहाँहरूबीच बुधबार केन्द्रीय सचिवालय बैठक बोलाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ, त्यस दिन बैठक गर्ने समझदारी भएको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने । दुई अध्यक्षबीच प्रचण्डको भारत भ्रमण, एकीकरण कार्यदलहरूको गृहकार्यलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । यसअघि २४ भदौमा सचिवालय बैठक बोलाउने समझदारी भए पनि गृहकार्य नपुगेको भन्दै औपचारिक आह्वान गरिएको थिएन । प्रदेश र जिल्ला कमिटी तथा जनसंगठनसम्बन्धी एकीकरण कार्यदलले समयमै प्रतिवेदन बुझाएका छैनन् भने कतिपय सिफारिस प्रतिवेदनमाथि विवाद छ । तल्ला कमिटी र जनसंगठन एकीकरण कार्यदलले सिफारिस गरेको प्रतिवेदनलाई जस्ताको तस्तै पारित गर्दा विवाद चर्किने देखिएपछि अध्यक्षद्वय ओली र प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गरिरहेका छन् । असन्तुष्टहरूले केन्द्रीय कार्यालयमा धमाधम उजुरी हालेपछि विधि, प्रक्रिया र मापदण्डका आधारमा प्रदेश र जिल्ला अध्यक्ष तथा सचिव चयन गर्नुपर्ने नेतृत्वमाथि दबाब छ । एकीकरणमा ढिलाइसँगै असन्तुष्टि बढ्दै जाँदा यसअघि दुईपटक तोकिएको केन्द्रीय सचिवालय र स्थायी समिति बैठक स्थगित भएको थियो । नयाँ पत्रिकामा खबर छ ।
डोल्पाको बाटो बन्द भएपछि बामदेव रुकुम र प्युठान रोज्दै !
काठमाडौं, भदौ २६ । डोल्पाका सांसद बुढाले राजीनामा नदिने भएपछि वामदेवका लागि उपनिर्वाचन गराउने अर्को क्षेत्रको खोजी हुन थालेको छ । पूर्वी रुकुम र प्युठान विकल्प हुन सक्ने भन्दै छलफल चलेको छ । पूर्वी रुकुममा कमला रोक्का र प्युठानमा दुर्गा पौडेल सांसद छन् । ‘मलाई राजीनामा गराएर वामदेव गौतमलाई उठाउने विषय औपचारिक रूपमा मसमक्ष आइपुगेको छैन । तर, नेताहरूबीच अनौपचारिक छलफल भइरहेको मैले पनि सुनेकी छु,’ पूर्वी रुकुमबाट निर्वाचित सांसद रोक्काले भनिन् । यस्तै, वाम गठबन्धनअन्तर्गत प्युठानबाट निर्वाचित राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई राजीनामा गराउने विषयमा पनि अनौपचारिक छलफल भइरहेको एक नेताले बताए । यसअघि वामदेवले ललितपुर १ बाट निर्वाचित नवराज सिलवाल, नवलपरासी (नवलपुर) का तिलक महत र प्युठानबाट निर्वाचित दुर्गा पौडेलमध्ये एकलाई राजीनामा गर्न लगाएर उम्मेदवार बन्ने योजना बनाएका थिए । तर, तीनैजनाले अस्वीकार गरेपछि अन्तिम विकल्पका रूपमा डोल्पा रोजेका थिए । नयाँ पत्रिकामा खबर छ । केही दिनमै सचिवालयले निर्णय गर्छः वामदेव गौतम केही दिनभित्रै सचिवालय बैठक बस्दै छ । उपनिर्वाचनमा उठ्ने-नउठ्ने भन्ने विषयमा सचिवालय बैठकमा छलफल हुन सक्छ । उठ्ने-नउठ्ने भन्ने विषय बैठकपछि मात्र केही भन्न सकिएला ।
प्रधानन्यायाधीश मिश्रलाई जोशीले नै गरे स्वागत !
काठमाडौं, भदौ २६ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । सोमबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै उनी प्रधानन्यायाधीश नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएपछि सोमबारै साँझ पौने ७ बजे उनले पदबहाली गरेका छन् । शीतलनिवासमा शपथ खाएपछि पदबहाली गर्न सर्वोच्च पुग्दा मिश्रलाई स्वागत गर्नेको पहिलो पंक्तिमा दीपकराज जोशी थिए । जोशी उनै न्यायाधीश हुन् जसलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरिदिएको थियो । जोशीलाई अस्वीकार गरेपछि नै मिश्र प्रधानन्यायाधीश बन्ने बाटो खुलेको थियो । नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न बसेका जोशी गम्भीर मुद्रामा देखिन्थे । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी २० साउनपछि सोमबार नै पहिलोपटक सर्वोच्च अदालतमा उपस्थित भएका हुन् । न्यायाधीश जोशीले मिश्रको गलामा माला लगाइदिए । हात फैलाएर अंकमाल गर्दै भने, ‘श्रीमान् बधाई छ ।’ जोशी मिश्रको कार्यकक्षसम्मै पनि पुगे । पत्रकार सम्मेलनभर मिश्रको देब्रेपट्टि बसिरहे । आधा घन्टाको पत्रकार सम्मेलनपछि दुईजना छुट्टिए । मिश्र यसरी भए प्रधानन्यायाधीश, चार महिना कार्यकाल १८ साउनमा संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि दीपकराज जोशीलाई अस्वीकृत गरेपछि ओमप्रकाश मिश्रको भाग्य खुल्यो । संवैधानिक परिषद्ले जोशीसँगै मिश्र र चोलेन्द्रशमशेर राणाको नाम पनि सिफारिस गरेको थियो । जोशी अस्वीकृत भएपछि वरिष्ठताका आधारमा ७ भदौमा मिश्रको नाम प्रस्ताव गर्यो । उनी सुनुवाइ समितिबाट पनि स्वीकृत भई प्रधानन्यायाधीश नियुक्त भए । ६५ वर्ष उमेर हदका कारण मिश्र १८ पुस ०७५ सम्म अर्थात् चार महिना मात्रै प्रधानन्यायाधीश पदमा रहनेछन् ।उनी सर्वोच्च अदालतको न्यायाधीश हुनुपूर्व पुनरावेदन अदालतका मुख्य न्यायाधीश थिए । मिश्रले कानुन मन्त्रालयका शाखा अधिकृतबाट १० कात्तिक ०३८ बाट सेवा सुरु गरेका थिए । नायँ पत्रिकामा खबर छ ।
खानेपानीको समस्या सुल्झाउन देशैभरि मन्त्रालयले सुरु गर्दैछ नयाँ योजना
काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ । खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो । मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदाय तथा क्षेत्रहरुको विवरण संकलन गरी त्यसको आधारमा नयाँ योजनाहरु बनाउने तयारी गरेको छ । खानेपानी मन्त्री बिना मगरले यो विवरण संकलन गर्नुको उद्देश्य खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पु¥याउनु नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कस्ता कस्ता ठाउँहरुमा खानेपानीको समस्या रहेछ त्यो कुरा थाहा पाउनु पर्ने अत्यन्तै जरुरी छ । खानेपानी लिन विशेष गरी गृहिणी महिलाहरु घण्टौ घण्टा सम्म हिंड्नुपर्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो कदम चालेको हो । यसको आधारमा हामी नयाँ योजनाहरु बनाउँछौं ।’ एक हप्ता भित्र विवरण पठाउन मन्त्रालयले देशै भरिका घर परिवार, सामाजिक संघ संस्था र स्थानीय तहहरुलाई अनुरोध गरेको छ । खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदायका लागि सम्पर्क गर्न मन्त्रालयले टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । जसका लागि १६६००१४२१११ नम्बरमा निशुल्क फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।
वैदशिक रोजगारीलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली सुरु, सम्पूर्ण जानकारी अब मोबाइलमा
काठमाडौं, भदौ २५ । वैदेशिक रोजगारमा जाने नेपाली ठगीएपछि त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले अनलाइन प्रणाली सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System: FEIMS) को सुरुवात गरेको हो । यस्तै आजै मोबाइल एप पनि सार्वजनिक गरेको छ । अब वैदेशिक रोजगारीमा जाने र जान्न चाहानेले अनलाइनमार्फत सो सम्बन्धी सम्पूर्ण जानकारी पाउने छन् । वैदेशिक रोजगारीमा जादा लाग्ने खर्च प्रकिया, पारिश्रमिक र सेवासुविधाका बारेमा मोबाइलबाट जानकारी पाउने मन्त्रालयले जनाएको छ । सहज र छरितो ढंगले गुणस्तरीय सेवा प्रदान गर्नका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सुरुवात गरेको मन्त्रालयले जनाएको छ । यसका साथै वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोबाइल एप्लिकेशन समेत संचालनमा ल्याइएको छ । यो प्रणालीमा अध्यागमन विभाग, पासपोर्ट विभाग, कन्सुलर सेवा विभाग, कुटनीतिक नियोगहरु, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बीमा कम्पनी, सीप तथा तालिम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् । सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्ति समक्ष पुर्याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको मन्त्रालयका प्रबक्ता प्रकाश दाहालले जानकारी दिए । सो प्रणालीले वैदेशिक रोजगारीको क्षेत्रमा पुर्याउने सेवा प्रवाह छरितो, पारदर्शी हुनुका साथै ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । सूचना प्रणालीलाई असोज १५ गतेदेखि सम्बद्ध निकायबाट पूर्ण रुपमा लागू गरिन मन्त्रालयले जनाएको छ ।
बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य – सभामुख महरा
ल्हासा, भदौ २५ । सभामुख कृष्णबहादुर महराले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुंगा भएको बताएका छन् । चीन तिब्बत पर्यटन र साँस्कृतिक एक्सपोअन्तर्गत आज (सोमबार) ल्हासामा आयोजित ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेश्नल कोअपरेशन फोरमलाई सम्बोधन गर्दै सभामुख महराले बिआरआईले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौं अवसरहरु सृजना गरेको बताए । बिआरआईमार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध बिस्तार गर्ने नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य रहेको सभामुख महराले बताए । ‘बि.आर.आई.मार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य हो । जसले दुवै देशमा व्यापार र व्यवसायका धेरै अवसरहरु सृजना गर्नेछ’, उनले भने, ‘चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यवसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य श्रृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउनेछ ।’ बि.आर.आई.ले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको बताए । नेपाल लामो समयको राजनीतिक संघर्षपछि शान्ति तथा सामाजिक आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै सभामुख महराले आर्थिक विकास र जनताको समृद्धि नै नेपालको एक मात्र राष्ट्रिय एजेण्डा भएकोले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे । ‘अहिले हाम्रो एकमात्र राष्ट्रिय एजेण्डा भनेको देशको आर्थिक विकास र जनताको समृद्धि हो’, सभामुख महराले भने, ‘पूर्वाधार विकास, जलविद्युत, होटेल व्यवसाय, सूचना तथा सञ्चार र स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रहरुमा लगानीको राम्रो सम्भावना छ र चिनियाँ लगानीकर्ताको लागि हाम्रा नीतिहरु लगानीमैत्री छन् । त्यसैले नेपालमा लगानी गर्न म चिनियाँ लगानीकर्ताहरुलाई विशेष आग्रह गर्दछु ।’ तिब्बतमा भएको अभुतपूर्व आर्थिक विकास तथा सामाजिक साँस्कृतिक विकासले नेपालमा पनि अवसरको ढोका खोल्ने भन्दै उनले चीनले दुई दशकमा सफलतापूर्वक सञ्चालन गरेको किंगहाइ–तिब्बत रेलवे परियोजनाले नेपाल र चीनलाई रेलले जोड्न सक्ने प्रविधिको विकास गरेकोमा आफू विश्वस्त भएको बताए । नेपालका प्रधानमन्त्री चीन भ्रमणमा रहेको बेला भएको रेलमार्गले जोड्ने समझदारी कोशेढुङ्गाको रुपमा रहेको भन्दै सभामुख महराले रेलमार्ग, राजमार्ग, बन्दरगाह, ट्रान्समिसन लाइन र सञ्चार सम्पर्क आदिको अवधारणासहित ल्याइएको ट्रान्स–हिमालयन मल्टिडाइमेन्सिएल कनेक्टिभिटी नेटवर्कले आर्थिक विकासका नयाँ पक्षहरुलाई उकास्न सहयोग गर्ने बताए । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरी प्रत्येक वर्ष २ मिलियन पर्यटक भित्राउने लक्ष्य राखेको भन्दै सभामुख महराले नेपालको लक्ष्य पूरा गर्न चिनियाँ पर्यटकलाई नेपाल भित्राउन चीन सरकार, ट्राभल र टुर व्यवसायीहरुबीच सहकार्य र साझेदारीको आवश्यकता भएको बताए । उनले भने, ‘पर्यटन क्षेत्रमा नेपालको लक्ष्य पूरा गर्न चीन सरकार, चिनियाँ ट्राभल तथा टुरिज्म व्यावसायिक समुदाय र लगानीकर्ताहरुको ठूलो भूमिका रहन्छ, उहाँहरुलाई नेपालको पर्यटन क्षेत्रमा अझ धेरै लगानी गर्न म विशेष अनुरोध गर्दछु ।’ अरनिको राजमार्ग नेपाल र चीन जोड्ने पहिलो ऐतिहासिक मार्ग भएको चर्चा गर्दै सभामुख महराले भौगोलिक विकटताको कारणले सीमा क्षेत्रमा राजमार्ग र रेलमार्ग निर्माणमा ठूलो लगानी र प्रयासको आवश्यकता पर्ने र त्यो दुई देशबीचको आपसी समझदारी र सहकार्यले सम्भव हुने बताए । उनले भने, ‘दुवै देशका पुर्खाहरुले व्यापार व्यवसाय र सामाजिक संस्कृति सम्बन्ध विस्तारको लागि कठिन हिमाललाई पार गरेका थिए । वर्तमान समयमा चीनले गरेको उच्चतम प्रविधि विकास र उत्कृष्ट सीपको मद्दतले दुई देशबीचको सीमा सम्बन्ध स्थापित गर्ने बाटोमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’ नेपाल र चीनबीचको सम्बन्ध एकअर्काप्रति सम्मान, आपसी मित्रता, सहयोग, साझेदारी, सहकार्य, प्रशंसा जस्ता तत्वहरुले आत्मीय र घनिष्ठ बनेको भन्दै समाभुख महराले सीमा क्षेत्रमा कठिन हिमाल र पहाडका उपस्थितिका बाबजुद प्राचीनकालदेखि नै कायम रहेको सम्बन्ध र सहकार्यलाई अझ मजवुत बनाउन दुवै देश सक्षम भएको बताए ।
प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई, सांसदको प्रश्नको मिश्रले दिए यस्तो जवाफ
काठमाडौं, भदौ २५ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उनले अदालतमा हुने गरेको भ्रष्टचारलाई अन्त्य गरी आम नागरिकको न्यायमाथिको विश्वास बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “अदालतमा भ्रष्टचारी र विचौलीयालाई प्रवेश नै निषेध गर्न गोप्य निगरानी गर्ने संयन्त्र बनाउने योजना छ, यदि त्यस्ता व्यक्ति प्रवेश गरेको पाइएमा आकस्मिक निरीक्षण गर्ने योजना छ”,प्रस्तावित प्रधानन्यायाधीश मिश्रले भने, “मेरो कार्यकालमा अदालतमा भ्रष्टचार र विचौलियाको अन्त्य गर्नेछु, आम नागरिकमा न्यायलयप्रतिको आस्था बढाउने काम गर्नेछु ।” प्रस्तावित प्रधानन्यायाधीश मिश्रले न्याय सम्पादनका क्रममा आफूले १७ हजार मुद्दा फैसला गरेको बताए । मिश्रको इजलाशबाट ‘साना गाडीको प्रयोग कम गरी ठूला गाडी चलाउदा धुलोधुवाँ नियन्त्रण हुँदा काठमाडौँको वातावरणमा सुधार’ हुने तथा राजदूत कूटनीतिक क्षेत्र भएकाले नियुक्तिमा योग्यता चाहिन्छ भन्ने फैसला भएको छ । फेवातालको अतिक्रमण हटाउन र सुन्दर पोखरा बनाउन निर्देशनात्मक आदेश तथा विज्ञापनमा महिलालाई प्रस्तुत गर्दा होर्डिङमा सभ्य र सम्मानित हुने गरी प्रस्तुत गर्नुपर्ने फैसला भएको छ । सांसदको प्रश्नः प्रस्तावित प्रधानन्यायाधीश मिश्रको जवाफ संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनका बारेमा सांसदले सोधेका प्रश्नको प्रस्तावित प्रधानन्यायाधीश मिश्रको जवाफ जस्ताको तस्तैः प्रश्न (सांसद ज्ञानेन्द्रबहादुर कार्की): छिटो न्यायका लागि तपार्इंको योजना के छ ? मिश्रको जवाफः न्याय ढिला हुन्छ भन्ने आरोप छ । संविधानले गरेको २१ न्यायाधीशको व्यवस्थामा अहिले १९ न्यायाधीश मात्रै छौं । मुद्दाको गम्भीर्यताअनुसार सुनुवाइ गर्नुपर्ने हुन्छ । जिल्ला र उच्च अदालतमा मुद्दा फछ्र्यौट निकै राम्रो छ । सहजका लागि मोबाइल एप्सबाट पेशी हेर्न सकिने, प्रतिनिधिको सुविधा नभएको मुद्दामा पेशीका बारेमा मोबाइलमा सन्देश पठाउने काम गरेका छौँ । प्रश्न (सांसद जीतेन्द्रनारायण देव): अदालतमा राजनीतिक चलखेल पनि हुने गरेको छ । राजनीतिक प्रभावलाई अन्त्य गर्ने योजना के छ ? जवाफः म २०४६ सालदेखि न्याय सम्पानमा छु । मैले कुनै प्रकारको राजनीतिक प्रभाव अदालतमा परेको महसुस गरेको छैन । न्याय परिषद्बाट न्यायाधीश नियुक्ति गर्ने बेलामा केही असर होला । अदालतमा आएपछि जुनसुकै पृष्ठभूमिबाट आएको भए पनि प्रभाव पर्दैन । प्रश्न (सांसद राजेन्द्र श्रेष्ठ): समानुपातिक समावेशीतलाई न्यायलयले अपनाएको देखिदैन ? जवाफः संविधानको भावनाअनुसार अदालतले समानुपातिक समावेशीलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । सर्वोच्च अदालतमा हाल दुई महिला न्यायाधीश हुनुहुन्छ । उच्चमा १० र जिल्ला अदालतमा चारजना न्यायाधीश हुनुहुन्छ । राजपत्र प्रथम श्रेत्रीमा दुई जना, राजपत्र द्वितीय श्रेणीमा चार जना र तृतीय श्रेणीमा ५१ जना हुनुहुन्छ । प्रश्न (सांसद पुष्पा भुसाल): उच्च अदालतका ८० न्यायाधीशको मुद्दा विचारधीन छ । विचारधीन मुद्दामा रहेका व्यक्तिले न्याय सम्पादन गर्दा न्याय कसरी प्रभावकारी हुन्छ ? जवाफः उच्च अदालतका ८० न्यायाधीश नियुक्तिको विवादित विषय संवैधानिक इजलासमा छ । त्यो चाँडै नै निष्कर्षमा पु¥याउने विश्वास दिलाउन चाहान्छु । प्रश्न (सांसद पार्वत गुरुङ): न्यायपालिकाको व्यवस्थापिका र कार्यपालिकासँग समन्वयकारी भूमिका किन छैन ? जवाफः न्यायाधीशले कानून, नजिर हेरेर फैसला गर्ने हो । त्यही अनुसार गरेका छौँ । प्रश्न (सांसद योगश भट्टराई): आम मानिसको पहुँचबाट न्यायलय टाढा छ । कसरी सहज ढङ्गले न्यायमा पहुँच बढाउनुहुन्छ ? वेभसाइटमा सबै मुद्दा हर्ने व्यवस्था गर्न सकिन्छ ? गलत तरिकाले प्रभावित भएर फैसला गर्दा मुलुकका लागि न्यायलय डरलाग्दोस्थिति बन्दै गएको छ नि ? जवाफः आम नागरिकको न्यायमा पहुँच बढाउने प्रयासमा छौँ । वेभसाइटबाट मुद्दाको पेशी हेर्ने व्यवस्था छ । यो वर्ष मुद्दा हार्ने पक्षलाई जित्ने पक्षले खर्च व्यहोनुपर्ने व्यवस्था पनि गर्ने तयारी हुँदै छ । तीन÷चार महिनामा यो कामले सफलता लिन थाल्छ । प्रश्न (सांसद निरुदेवी पाल): न्यायलय विकासको अवरोध बन्यो भन्ने आरोप छ नि ? जवाफः विकासमा न्यायलयले अवरोध गर्दैन । न्यायलयले कानून र नजिरका आधारमा आदेश दिने हो । सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश मिश्रले न्यायलयको काम कारवाही राम्रो बनाउने र न्यायलयप्रति आम नागरिकको जनविश्वास बढाउने दश बुँदे भावी योजना प्रस्तुत गरेका थिए । योजनामा यो वर्षलाई फैसला कार्यान्वयनको वर्षको रुपमा मनाउने र भ्रष्टारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेलगायत छन् । उनले सांसदले सोधेका सबै प्रश्नको जवाफ दिएका थिए । प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध चार उजुरी परेकोमा एक जनाले उजुरी फिर्ता लिएका थिए । तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो । यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकोमा समितिले उनको नाम अस्वीकार गरेको थियो । जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहनुभएका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाइपछि सर्वसम्मत रुपमा प्रस्तावित प्रधानन्यायाधीशमा नाम अनुमोदन गरेको जानकारी दिए । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीको नियुक्ति तथा शपथ गराउने संवैधानिक व्यवस्था छ । मिश्रले आजै भावी प्रधानन्यायाधीशका रुपमा पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।
प्रहरी चौकीमा आक्रमण, १३ प्रहरी र १० तालिबानको मृत्यु
अफगानिस्तान, भदौ २५ । अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरी चौकीमा यहाँका सशस्त्र तालिबानहरुले आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ । अधिकारीहरुले उक्त चौकीमा रहेका प्रहरीहरुमध्ये १३ जनाको ज्यान गएको पुष्टि गरेका छन् । त्यसैगरी सो आक्रमणमा परी आक्रमणकारी तालिबानका १० जना लडाकू पनि मारिएका छन् । कुन्दुजका प्रहरी प्रमुखले सो जानकारी दिनुभएको छ । कुन्दुजको दासित इ आर्ची जिल्लामा रहेका सरकारी कार्यालयहरुनजिकै रहेको सो प्रहरी चौकीमा सोमबार बिहानी पख तालिबानहरुले शक्तिशाली बन्दुक र रकेट लञ्चरजस्ता अत्याधुनिक हतियारहरुले आक्रमण गरेका प्रहरीले जनाएका छन् । सो जिल्लामा रहेका सरकारी कार्यालयलाई यसअघि पनि तालिबानहरुले लक्षित गर्ने गरेका थिए । गत हप्तामात्र पनि सो जिल्लामा उनीहरुले हमला गरेका थिए । त्यसैगरी अफगानिस्तानको अर्को प्रान्त बाघलानमा पनि गत शुक्रबार भएको यस्तै हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो । कुन्दुज र बाघलान अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्दछन् । सो क्षेत्रमा तालिबानहरुको बढी नै प्रभाव रही आएको बताइएको छ । एएफपी
१० किलो सुन पक्राउ गर्ने प्रहरी पुरस्कृत
गोरखा, भदौ २५ । शनिबार १० किलो सुन पक्राउ गर्न सफल भएका गोरखाको चुमनुव्री गाउँपालिका ३ फिलिमस्थित सिर्दिवास प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेको हो । शनिबार सिर्दिवासबाट अवैध १० किलो सुनसहित छेकम्पारका दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा ५८ वर्षीय मुटुप लामा भन्ने छिरिङ मुटुप लामा र २८ वर्षीय लोप्चन तेन्वे छन् । छेकम्पारबाट आरुघाट ल्याउँदै गरेको अवैध सुन सिर्दिवास चेकपोष्ट अगाडि चेकजाँचका क्रममा बरामद भएको थियो । बरामद भएको सुन तिब्बतबाट ल्याइएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उत्तरी गोरखा सिर्दिवासको स्यात्ला नाकाबाट सुन ल्याएको पत्रकार सम्मेलनमा गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए । प्रहरीकाअनुसार चीनको तिव्वतस्थित जोङ्ग भन्ने स्थानमा च्याङचिन भन्ने चिनियाँ नागरिकले सुन काठमाडौं पुर्याउन भनेका थिए । ‘त्यही नजिकै चिया पसल गरेर बस्ने तिव्वतका पासाङले समन्वय गरेर लामा र तेन्वेलाइ सुन काठमाडौ पुर्याइदिन भनेका रहेछन्’ एसपी बस्नेतले भने, ‘उनीहरुको फोन नम्वर राखेर काठमाडौ पुगेपछि तपाइलाई फोन आउँछ, त्यही व्यक्तिलाई सुन दिनु भनेछन् ।’ उनीहरु २१ भदौमा तिब्बतबाट हिँडेका थिए । नेपालको नाकासम्म ट्याक्टर चढेर आएका थिए । सुन काठमाडौं पुर्याए वापत नगद ५० हजार पाउने सहमति थियो । उत्तरी गोरखाबाट अवैध रुपमा सुनसहित अन्य सामानहरु ओसारपसार हुन्छ भन्ने सूचना पाएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो । शनिबार सिर्दिवास चेकपोष्ट हुँदै आवातजावत गर्नेहरुको चेकजाँच भइरहेको थियो । करिव ४ बजेतिर समयमा लामा र तेन्वे लाइनमा नवसी अगाडि बढ्न थालेपछि प्रहरीले रोक्यो । चेकजाँचको क्रममा उनीहरुबाट १० किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । लामाले गलवन्दीभित्र सुन राखेर बाहिरबाट सिलाएका थिए र गलबन्दी कम्मर बेल्ट जस्तो बनाएर बाँधेका थिए । उनको साथबाट पाँच थान सुनको बिस्कृट, कानमा लगाउने कुन्दरा दुई थान (सात तोला) र दुई थान टप बरामद भएको छ । तेन्वेले भने पछाडि बोकेको झोलामा पाँच थान सुनको बिस्कुट बोकेको भेटिएको एसपी बस्नेतले बताए ।
भड्किलो बन्दै छ तीजको दर
काठमाडौँ । हरितालिका (तिज) आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिनमात्र खाइने दर केही वर्षदेखि एक-दुई महिना अघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ । काठमाडौँ नयाँ बानेश्वरकी ६९ वर्षीया दुर्गा दाहालले तीज मनाउन थालेका ५० वर्ष हुन लागिसक्यो । त्यतिबेला दर खाने चलन एकदमै सीमित थियो । जसले जतिसक्यो त्यति नै आफ्ना चेलीबेटीलाई खुवाउने चलन थियो । “त्यतिबेला दर खाने र खुवाउने संस्कृति एकदमै राम्रो थियो, परिवार र आफन्तलाई तीजमा एकै ठाउँमा भेला हुने अवसर मिलेको थियो”, उनी थप्छन्, “तर अहिले दर आफ्नो आर्थिक हैसियत नहेरी खुवाउनु अहिलेको विकृति हो ।” उहाँका अनुसार अहिले अरुको देखावटीबाट नै दर खुवाउने प्रवृत्ति बढ्दै गए पनि विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने दर कार्यक्रमले महिलाबीच जमघटको अवसर मिलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी दाहाल आफ्नो पार्टीले आयोजना गर्ने दर कार्यक्रमले देशभरीका दिदीबहिनीसँग भेटघाट गर्ने अवसर जुराइदिएको बताउँछन् । काठमाडौँमा बसोवास गर्दै आउनुभएकी निर्मला राउत सबैले मिलाएर एकपछि अर्काे गरी दर खाने संस्कृति आफूलाई राम्रो लाग्ने गरेको बताउँछन् । “पहिले एक जनाले मात्र तीजको अघिल्लो दिन दर खुवाउँदा अर्काेले खुवाएन भन्ने जस्तो लाग्थ्यो, अहिले भने सबैको पालो आउने र भेटघाट गर्ने अवसर जुर्ने हुँदा रमाइलो गर्ने पर्याप्त अवसर पाइन्छ”, उनले भने । दर भड्किलोे रुपमा नगरी सामान्य रुपमा रमाइलो गर्ने उद्देश्यले गर्नुपर्ने उनी बताउँछन् । तीजमा धनी वर्गलाई भन्दा गरीब वर्गलाई देखावटीको कारण समस्या हुने गरेको झापाकी रमा न्यौपाने बताउँछन् । “तीजको दिन भोकै बसेर महिलाहरु खासै नाच्न पनि सक्दैनन्, अगाडि नै दर खाएर रमाइलो गर्नु एक किसिमले रामै्र पनि हो”, उनले भने । तीज अगाडि नै दर खानुमा राम्रो र नराम्रो दुवै पक्ष रहेको बताउँदै एक दुई महिना अघिदेखि दर खानुभन्दा पनि एक हप्ता अगाडिदेखि खानु राम्रो रहेको न्यौपानेको भनाइ छ । अहिले व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा दर खाने प्रचलन बढ्दै गइरहेको छ । तीजका बेला आफ्ना सङ्गठनका सेवाग्राहीलाई भेला गराएर थुप्रै सहकारी, राजनीतिक दल, सङ्गठन आदिले दर खुवाउँदै आइरहेका छन् । विभिन्न सङ्घसंस्थाले दर खुवाउँदा त्यसले नकारात्मक असर नगर्ला भन्न सकिन्न । कतिपय अवस्थामा भने दरकै कारण सयौंँ मानिस बिरामी परेका उदाहरण हामीसामु छ । गत शनिबार मात्र काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा यस्तै घटना भयो । नगरको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारीले आयोजना गरेको दर कार्यक्रममा विषाक्त खाना खाँदा पाँच सयभन्दा बढी मानिस विषाक्त खानाका कारण बिरामी परे । हाल बिरामी उपचारकै क्रममा छन् । ती अवसरमा खाइने खानामा आफू स्वयं सचेत हुनुपर्ने त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा वीणा पौडेल बताउँछन् । “दर भन्ने शब्द तीजको अघिल्लो दिन भोलिपल्ट भोक नलागोस् भनेर खाइने खाना हो तर अन्य दिनमा खाने खाना दर होइन”, पौडेलले भन्नुभयो । तीजको अगाडि गरिने भेटघाट नराम्रो नभए पनि शब्दको चयनमा ख्याल गर्नुपर्ने उहाँ बताउँछन् । अन्य दिनमा घरबाट बाहिर निस्कन नपाएका महिलाले विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई नयाँ कुरा सिक्ने अवसर पनि पाउने डा पौडेल बताउँछन् । त्यस्ता अवसर आयोजना गर्दा सरकारी निकाय लगायत अन्य सङ्घसंस्थाले महिला सशक्तीकरणमा ध्यान दिनुपर्ने सुझाव उनले दिए । “महिलालाई वैदेशिक रोजगारीलगायत अन्य कानूनी कुरा सिकाउन सकेमा देश र समाज दुवैलाई फाइदा हुन्छ”, उनी थप्छन्, “महिलालाई सशक्त बनाए मात्र समाजिक समस्या न्यूनीकरणमा केही सहज हुन्छ ।” उहाँका अनुसार तीजका बेला गरिने भेटघाटमा महिला मात्र नभएर पुरुष पनि सहभागी हुनु अर्काे सकारात्मक पक्ष हो । रासस
हात्ती भगाउन ‘इलेक्ट्रिक फेन्सिङ’
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पुर्याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ । हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार (इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो । नगरपालिकाले नयाँ गाउँ, चथरी, चम्फापुर, रडहा, हात्तीथला लगायत क्षेत्रमा विद्युतीय तारबार गर्ने जनाएको छ । तारवारका लागि नगरपालिकाले रु ४५ लाख विनियोजन गरेको छ । “मानवीय, भौतिक र कृषिजन्य वस्तुमा हात्तीले पुर्याउने क्षति कम गर्न विद्युतीय तारबार गर्ने तयारी गरेका छौंँ” नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भने । नगरपालिकाको रकमले मात्रै पूरै क्षेत्रमा विद्युतीय तारबार गर्न सम्भव नभएकाले प्रदेशसभा सदस्य लालबहादुर खड्कासँग यस विषयमा छलफल गर्दा उनले सहयोगको अश्वासन दिएकाे पनि नगर प्रमुख चन्दले जानकारी दिए । गतवर्ष मात्रै नगरपालिकाको रु १० लाखको लागतमा हात्तीको झुण्ड छिर्ने केही ठाउँमा विद्युतीय तारबार गरिएको थियो । गत शनिबार मात्रै हात्तीको झुण्डले नगरपालिका–१० अन्तर्गत पर्ने चथरी र नयाँ गाउँका एकदर्जन बढी किसानले लगाएका धानबालीमा खाएर र कुल्चेर नोक्सानी पुर्याएको थियो । तीन दिनदेखि लगातार नयाँ गाउँ र चथरीका किसानको खेतमा छिरेर हात्तीको झुण्डले नोक्सानी पुर्याउँदै आएको वडा अध्यक्ष गणेश विकले बताए। मेहनत गरी लगाएको धानबाली हुर्कदै गएका बेला हात्तीले नोक्सानी पुर्याउन थालेपछि चिन्तित भएका स्थानीय किसान वर्षाको पर्वाह नगरी किसान रातभर तीनलाई भगाउन जाग्राम बस्ने गरेका छन् । पाँच वर्षयतादेखि लगातार भारतको दुधुवा नेशनल पार्कबाट निकुञ्ज हुँदै बस्तीमा छिर्ने हात्तीको झुण्डले धान र गहुँबालीमा नोक्सानी गर्दै आएकाले तीनलाई भगाउन स्थानीय प्रशासनले सुरक्षाकर्मी समेत परिचालन गर्दै आएको छ । प्रदेश नं ७ का प्रदेशसभा सदस्य लालबहादुर खड्का, नगर प्रमुख चन्द र वडाध्यक्ष सहितको टोलीले शनिबार हात्तीले नोक्सानी पु¥याएको किसानको खेतको निरीक्षण समेत गरेका थिए । पचास परिवारको धानबालीमा नोक्सानी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित चुरे क्षेत्र भएर बग्ने तिलाते र गहुँताणी खोलाको बाढीले ५० बढी घरपरिवारको धानबालीमा बालुवा थुपारेर नोक्सानी पुर्याएको छ । वडाध्यक्ष राम नाथकाअनुसार तीन दिनअघि तिलाते खोलामा आएको बाढीले १५ र गहुँताणी खोलामा आएको बाढीले ले ३५ परिवारको धानबालीमा क्षति पु¥याएको थियो । बाढीले माटो, ग्राभेल ल्याएर धान रोपेको खेतमा थुपारेपछि किसानको मेहनत खेरगएको अध्यक्ष नाथले बताए । स्थानीयवासीको पाँच बिगाहा भन्दा बढी जमीनको धानबाली नोक्सान भएको कार्यबाहक नगर प्रमुख भीमबहादुर शाहुले बताए । निरीक्षणका क्रममा पाँच बिगाहा भन्दा बढी जमीनमा लगाएको धानबाली नोक्सान गरेकाले धान काम नलाग्ने भएको उनले जानकारी दिए । बाढीले स्थानीय कृष्णराम लावडको सबैभन्दा बढी धानबालीमा नोक्सान पुगेको छ । आफ्नो भएको एक बिघा जमीनमा लगाइएको धानबाली सखाप भएकाले परिवार पाल्न पनि कठिन हुने उनको गुनासो थियो । चुरे क्षेत्रमा अत्यधिक वर्षापछि ती दुबै खोलामा बाढी आएको थियो । विगतमा बाढीले समान्य क्षति हुँदै आएकोमा यसवर्ष ठूलो क्षति पुर्याएको हो । रासस

