गृहमन्त्री बादलको दाबी- निर्मलाका हत्यारा केही दिन भित्र कठघरामा !
काठमाडौं, भदौ २९ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन् ।
निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उनले भने ‘दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।’
निर्मलाको हत्यारा नजिक अनुसन्धान पुगिसकेको भन्दै उनले दोषीलाई कठघरामा ल्याउन प्रयास जारी रहेको बताए । गृहमन्त्री थापाले भने, ‘कञ्चनपुर घटनामा हामीले शुरु देखिनै ध्यान दिएका हौँ ।
घटनालगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी)को टोली पठायौँ, त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरियो । समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ ।’
सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरबाहीलाई छुट नदिइने गृहमन्त्रीले स्पष्ट पार्नुभयो । दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्रीले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए ।
सो अवसरमा निर्मलाका आमा, बाबुले घटना घटेको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट विगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए । -रासस
१५ देशका प्रशिक्षार्थीहरूमाझ प्रचण्ड: क्रान्तिको चरित्र प्राविधिक हुँदैन
काठमाडौँ, भदौ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्डले क्रान्तिको चरित्र प्राविधिक नभएर यो देश, काल र परिस्थिति अनुसार फरक र मौलिक चरित्रको हुने विचार व्यक्त गरेका छन् । शुक्रवार मदन भण्डारी स्कूल अफ एसियाद्वारा राजधानीमा संचालन भएको प्रशिक्षणको ‘पुष्पलाल ब्याच’को समापन कार्यक्रममा बोल्दै प्रचण्डले भने,”प्रत्येक देशमा क्रान्तिको फरक सिद्धान्त हुने गर्दछ ।” विश्वका विभिन्न देशमा सम्पन्न क्रान्तिका अनुभवहरू कुनै पनि देशका लागि सन्दर्भ सामग्रीका रूपमा रहने तर त्यस अनुभवबाट प्राप्त नातिजाहरूलाई जस्ताको त्यस्तै लागू गर्नु व्यवहारिक नरहेको स्पष्ट पार्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया र यसको पूर्णता पनि नेपाली क्रान्तिकै ‘कोर्स’को रूपोमा रहेको समेत बताए । नेपालमा दुई ठुला वामपन्थी पार्टीहरूको एकीकरण विश्वमै समाजवादी आन्दोलनको बाटोमा कोसेढुङ्गा भएको भन्दै प्रचण्डले शोषण रहित र न्यायपूर्ण समाज निर्माणको लागि युवाहरूमा सकारात्मक जागरणको आवश्यकता रहेको र पार्टी एकीकरणले यसको बाटो खोलेको समेत प्रचण्डको भनाइ रहेको थियो । तीन हप्तासम्म संचालन भएको उक्त प्रशिक्षणका सहभागीहरूलाई सम्बोधन गर्दै प्रचण्डले वैज्ञानिक मार्क्सवादको गहन बुझाइबाट मात्रै साम्राज्यवाद र नवउदारवादी पूँजीवादसँग लड्न सक्षम बनाउने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले तत्कालीन शान्ति प्रक्रियामा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूको प्रयासले सम्पन्न १२ बुँदे सम्झौतापछि भएको विस्तृत शान्ति सम्झौता र त्यसको नतिजास्वरूप प्राप्त संविधानसभा र लोकतान्त्रिक गणतन्त्र नेपाली क्रान्तिको महत्वपूर्ण उपलब्धि रहेको समेत स्पस्ट पारे । प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नामबाट संचालित उक्त प्रशिक्षणले युवा सहभागीहरूलाई वैचारिक अभियान संचालन गर्न अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे । नवउदारवादी वैश्विक पूँजीवादले वर्तमान समयमा स्वरूप फेरेको र यो कामदार वर्गका लागि अझै क्रूर रूपमा प्रस्तुत भएको स्मरण गर्दै प्रचण्डले यसले जडसूत्रवाद, उग्रराष्ट्रवाद र प्रभुत्ववादी संस्कृतिलाई प्रश्रय दिएको भन्दै मार्क्सवाद, राजनीतिक अर्थशास्त्र, लैंगिकता, संस्कृति र ऐतिहासिक भौतिकवाद समेटिएर तयार पारिएको उक्त प्रशिक्षणको पाठ्यक्रमले सहभागीहरूलाई सैद्धान्तिक रूपमा अझै सशक्त पार्ने र पूँजीवादको आक्रामक विस्तारलाई परास्त गर्ने विश्वास व्यक्त गरे । उक्त प्रशिक्षणमा १५ देशका ४५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । नेपाल लगायत श्रीलंका, बंगलादेश, पाकिस्तान, भारत, फिलिपिन्स, जाम्बिया, पूर्वी टिमोर, थाइल्याण्ड, ट्युनिसिया, मोरोक्को, ब्राजिल, अर्जेन्टिना र तान्जानियाका प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्त तालिमको समापन समारोहमा प्रचण्डले जनयुद्धकालका अनुभव समेत साझा गरेका थिए । प्रचण्डले उक्त समय तत्कालीन नेकपा माओवादीले जनयुद्ध को माध्यमले र तत्कालीन नेकपा एमालेले सदनमा र जनपरिचालनमार्फत अघि बढाएको आन्दोलनले देशमा राजनैतिक परिवर्तन ल्याउन ठुलो भूमिका खेलेको स्मरण गरे । संविधानसभामार्फत संविधान निर्माणको माग लिएर आफू पटक पटक शान्ति सम्झौताको प्रयासमा रहेपनि निरङ्कुश राजतन्त्रको अधिनस्थ सरकारले दमन जारी राखेकाले आफू पछाडि फर्किन बाध्य भएको समेत प्रचण्डको मत थियो ।
चार कार्यकर्तामाथि मुद्दा दर्ता
लहान । सिरहाको लहान नगरपालिका–१३ पक्कीटोलबाट पक्राउ परेका नेकपाका चारजना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ । सरकार विरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले गत २३ गते पक्राउ गरेको स्थानीय गोविन्द सदाय, अनिता सदाय, ज्ञानुदेवी सदाय र धनुषाका इन्दल साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनामाथि नयाँ फौजदारी ऐनअन्तर्गत सार्वजनिक सुविधा र नैतिकताविरुद्धको कसुर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । गाउँमा जबर्जस्ती सरकार विरोधी पर्चा बाँडिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय लहानको टोलीले सोधखोज गर्दा प्रहरीमाथि नै दुर्व्यवहार गरेपछि चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस
धनगढीमा बाल दिवस, उप-महानगर प्रमुखले भने यस्तो
धनगढी, भदौ २७ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बालबालिकाको संरक्षण घरबाट नै सुरु हुनुपर्ने बताएका छन् । धनगढीमा आयोजना गरिएको बालअधिकार र नेपालमा बालअधिकार सुनिश्चितताका लागि भएका प्रयासहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । बालबालिकाहरू माथि विभेद तथा हिंसा परिवारबाट सुरु भएर नै समुदायसम्म पुग्ने गरेको उल्लेख गर्दै नगरप्रमुख वडले भने, “‘यसकालागि सचेतना फैलाउनु अहिलेको आवश्यकता हो ।” राज्य एक्लैले चाहेर मात्रै बालअधिकारको संरक्षण हुन नसक्ने धारणा नगरप्रमुखको थियो । यसमा सबै लाग्नुपर्छ । धनगढी उप–महानगरपालिकामा निर्माण भैरहेका र अब निर्माण गरिने भौतिक संरचनाहरू बालमैत्री, अपाङ्ग मैत्री, महिला मैत्री बनाउन थालिएको नगरप्रमुख वडले बताए । उनले भने, “‘विद्यालयहरूमा निर्माण गरिने संरचनाहरू बाल मैत्री र छात्रा मैत्री बनाउने काम भैरहेको छ ।” कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समितिका संयोजक बाबुराम श्रेष्ठले बालबालिकाको अवस्था सुधार गर्ने किसिमका नीति राज्यले लिएको बताए । उनले भने, “नेपालको संविधानले नै बालअधिकारका विषयमा बोलेको छ ।” बाल अधिकारको सवाल अन्तराष्ट्रिय सवाल भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । कार्यक्रममा धनगढी उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी पाण्डे, जिल्ला शिक्षा अधिकारी बिष्णु भट्ट लगायतको उपस्थिति थियो । कार्यक्रम बाल दिवस आयोजक मूल समारोह समितिले गरेको थियो ।
निर्मला पन्तका हत्यारालाई कानूनी कारवाहीको दायरामा ल्याउ- राष्ट्रपति
काठमाडौँ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलिला बालबालिकामाथि हुने यौनजन्य हिँसा मानवताविरुद्ध कलङ्क भएकाले यसलाई जरैदेखि उखेल्नुपर्ने विचार व्यक्त गरेकी छिन् । राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह समेत गरिन् । राष्ट्रपतिले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् भएको र आफूलाई यस घटनाले अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् । राष्ट्रपतिले ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो भन्दै भनिन्, “हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ । ” राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिने कुरामा जोड दिइन् । बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् । आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरुको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्ने उल्लेख गरिन् । गर्दै यसवर्षको बाल दिवसको नारा “सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार” रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको जानकारी गराइन् । मन्त्री थापाले बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा बलात्कारका घटना अन्त्य गर्न सामूहिक प्रयासको खाँचो रहेको बताइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव वुद्धिबहादुर खड्काले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न स्थानीय सरकार बढी सम्बेदनशील बन्नुपर्ने कुरामा जोड दिए । खगेन्द्र नवजीवन विद्यालय जोरपाटीमा कक्षा १० मा अध्ययरत छात्रा सविता थापाले पछिल्लो समय निर्धक्क रुपमा सडकमा हिंडडुल गर्न नसकिने अवस्था सिर्जना भएको बताइन् । बालअधिकारकर्मी गौरी प्रधानले बालबालिका शान्ति क्षेत्र हुन् यसका लागि तीनै तहका सरकारले बालमैत्री नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिइन् । रासस
मन्त्रीहरू नै संविधानको विरोध गर्दै
जनकपुर, भदौ २९ । सरकारका मन्त्री आफैँ संविधान दिवसको विरोध गर्ने जिम्मेवारीमा भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो अनौठो जात्रा हाँडीगाउँको नभएर प्रदेश नं. २ को हो । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश नं २ मा सरकारको नेतृत्व गरिराखेको छ र उसले असोज ३ गते संविधान दिवसको विरोधमा मन्त्री नै खटाएको छ । प्रदेश २ का मन्त्री र राज्यमन्त्री संविधान दिवसको दिन राजपाले आयोजना गर्ने विरोधसभालाई सम्बोधन गर्ने जिम्मेवारीमा रहेका छन् । भदौ २५ देखि २८ गतेसम्म काठमाडौंमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले मन्त्रीहरूलाई उक्त कार्यक्रममा खटाउने निर्णय गरेको हो । यस जिम्मेवारी अनुसार संविधान दिवसको दिन भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल सप्तरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय सिरहा, समाजिक विकासमन्त्री नवलकिशोर साह धनुषा, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा महोत्तरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सर्लाही र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रौतहटमा योजना हुने विरोधसभाहरूलाई सम्बोधन गर्ने छन् । राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उक्त जिम्मेवारीबारे खुलाइएको छ । संविधान दिवसको दिनमा राजपाले प्रदेश नं २ बाहिर रहेका तराइका जिल्लाहरूमा समेत विरोधसभा गर्ने भएको छ । यसकालागि पार्टीका शीर्षस्थ नेताहरूलाई जिम्मेवारीमा खटाइएको छ । यस जिम्मेवारी अन्तर्गत राजेन्द्र महतोले प्रदेश ५ को बाँके र बर्दिया, अनिलकुमार झा प्रदेश ७ को कैलाली र कञ्चनपुर, महेन्द्र राय यादव प्रदेश ५ कै नवलपरासी, रुपन्देही र कपिलवस्तु, शरतसिंह भण्डारी प्रदेश १ को झापा र राजकिशोर यादव प्रदेश १ कै मोरङ र सुनसरीमा सम्बोधन गर्ने बहेका छन् । अध्यक्ष महन्थ ठाकुरले प्रदेश नं २ को बारा र पर्सामा सम्बोधन गर्ने छन् । राजपाले वर्तमान संविधानप्रति घोषित रूपमै असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ ।
नेकपाबाट प्रभात चलाउने, जन्मदेव जैसी, कमल बुढासहित ५ जना निष्काशित, यस्तो छ आरोप (विज्ञप्तीसहित)
काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालका चार केन्द्रीय सदस्य र निवर्तमान अध्यक्ष प्रभात चलाउने कारवाहीमा परेका छन । क्रान्तिकारी पत्रकार संगठन नेपाल कम्युनिस्ट पार्टीनिकट संगठन हो । नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ ले भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर कारवाही बारे जानकारी दिएका छन् । संगठनभित्रै रहेका जिम्मेवार व्यक्तिहरुबाटै संगठन नेतृत्वबारे अनर्गल प्रचार, ‘समानान्तर संगठन’ निर्माण तथा पार्टीले पत्रकार संगठन नेतृत्वबारे लिएको निर्णय उल्लंघन गर्दै संगठनका जिम्मेवार व्यक्तिहरुमाथि नै हातपात गर्नुक साथै संगठनबारे गलत र भ्रामक हल्ला चलाइरहेको परिस्थितिमाभ्m कारवाहीको विज्ञप्ति आएको हो । कमाण्ड ईन्चार्जद्वारा जारी उक्त विज्ञप्तिमा आम जनसमुदाय र संचारमाध्यमलाई सम्बोधन गर्दै पार्टी र संगठनको यथार्थ अवस्थाबारे प्रष्ट पारिएको छ । विज्ञप्तिमा संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल, सुदिप बर्देवा र निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई संगठनसम्बन्धी निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्व विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीहरुमाथि हातपात गर्ने जस्ता अमर्यादित र गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको जनाएका छन् । कारवाही गर्नुको अर्को गम्भीर कारण पनि उल्लेख गरिएको छ । पार्टीको आन्तरिक सूचना चुहाएर गम्भीर गल्ती गरेको जनाइएको छ । साथै आइन्दा पार्टीले कारवाही गरेका व्यक्तिहरुले चलाउने अनर्गल र भ्रामक समाचारको भ्रममा नपर्न समेत जनसमूदाय र आमसंचारमाध्यमलाई जानकारी गराइएको छ ।
कोरिया अघि सर्यो भरतपुरको फोहोर व्यवस्थापन गर्न
चितवन । भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापनको गुरुयोजना कोरियन संस्थाले तयार गर्ने सहमति भएको छ । भरतपुर महानगरपालिका कार्यालयमा महानगर र कोरियन संस्था सुडोनोनबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । एमओयूमा महानगरका तर्फबाट मेयर रेणु दाहाल र सुडोनोनका तर्फका संस्थाका प्रमुख जो उनले हस्ताक्षर गरेका छन् । कोरियन कम्पनीले एक वर्षभित्र भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन सम्बन्धी विस्तृत योजना तयार गर्ने छ । त्यसको लागत ७ करोड लाग्ने अनुमान छ । उक्त खर्च सोही संस्थाले व्यहार्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिए । समझदारी पत्रमा पाँच बुँदा समेटिएका छन् । सम्झौताअनुसार सो कम्पनीले महानगरका हरेक वडाबाट निस्कने सिजन अनुसारको फोहरको प्रकृति, भोल्युम्का बारेमा अध्ययन गरेर योजना बनाउने छ । भरतपुर महानगरपालिका वडा नं. ११ को आँपटारीमा रहेको १६ विगाहा जमिनमा फोहर प्रसोधन तथा व्यवस्थापन केन्द्र बनाउने लक्ष्य महानगरको छ । यो क्षेत्रमा जग्गा दिएवापत महानगरले वनलाई क्षतिपूर्ति स्वरुप माडी नगरपालिकाको अयोध्यापूरीमा जग्गा खरीद गरी वृक्षारोपण गरेको छ । २ देखि ३ वर्ष भित्रमा यो प्रोजेक्ट सम्पन्न गर्ने लक्ष्य लिएइएको महानगरपालिकाकी मेयर रेणु दाहालले दावी गरिन् । फोहर व्यवस्थापनको योजनासहित सवै आवश्यक उपकरणको व्यवस्थापन यहि कम्पनीले गर्ने महानगरकी मेयर रेनु दाहालले जानकारी दिइन् । ‘यो उनीहरुको नमूना प्रोजेक्टका रूपमा यहाँ चल्ने छ, काठमाण्डौंलाई समेत छाडेर यहाँ आएका छन् । महानगरको तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं,’ मेयर दाहालले भनिन्, ‘यो प्रोजेक्टले भरतपुर महानगरको मात्रै नभइ चितवन जिल्ला र गैंडाकोट नगरपालिका क्षेत्रको फोहरको पनि व्यवस्थापन गर्न सहज हुने छ ।’ कर्पोरेशनका अध्यक्ष वनले हाल सो संस्थाले विभिन्न देशका दुई करोड ५० लाख जनसंख्याको फोहर व्यवस्थापन गरिरहेको बताए । अध्ययनपछि फोहोर व्यवस्थापनका लागि कोरियाली सरकारले सहयोग गर्न सक्ने उनको विश्वास छ । प्रोजेक्टका लागि कति खर्च लाग्छ ? भन्ने बारेमा गुरुयोजना निर्माणपछि मात्रैं पत्तो लाग्ने महानगरका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले बताए । यसअघि सो संस्थासँग सन् २०१८ को जनवरी र मे मा छलफलपछि बिहीबार सम्झौता भएको हो । भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर संकलन हुने गर्दछ । निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहोर महानगरपालिकाले संकलन गर्दै आएको छ । महानगरमा २९ वडा छन् । फोहोर व्यवस्थापनका लागि महानगरले वार्षिक उक करोड १५ लाखभन्दा बढी रकम खर्च गर्दै आएको छ । हाल महानगरपालिका-३ स्थित नारायणी नदी किनारमा फोहोर व्यवस्थापन गरिँदै आएको छ ।
सप्त ऋषिको पूजा आराधना गरि ऋषिपञ्चमी मनाइँदै
काठमाडौं, भदौ २९ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताए । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पण्डित मधुसुदन सुवेदीले जानकारी दिए । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ । -रासस
भक्तपुर-काठमाडौंको हालतः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’
भक्तपुर, भदौ २९ । दिउँसो २ बजेको थियो । चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतार हतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् । घरी घडितिर आँख डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् । उनी मात्रै होइन, हालैका दिनमा समयमै गन्तव्यमा पुग्ने योजना बनाएर घर वा कार्यालयबाट निस्किएका यात्रु दिनहुँ सूर्यविनायक-तीनकुने ६ लेन सडकमा पर्ने जाममा फस्ने गरेका छन् । कान्तिपुरमा खबर छ ।
अब ठूला कार्यालयमा कहिल्यै पनि वत्ती जाँदैनः प्राधिकरण घिसिङ
काठमाडौं, भदौ २९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताएका हुन् । ‘अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा बेलाबेलामा बत्ती जाने गरेको छ’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब ती क्षेत्रमा कहिल्यै बत्ती नजाने गरी काम गरिरहेका छौँ ।’ उनले विद्युत् वितरणलाई भरपर्दो बनाउन अन्य क्षेत्रमा पनि विद्युत् नजाने गरी आफू लागिपरेको बताए। निकट भविष्यमै काठका पोल, शहरमा देखिएका नाङ्गा तार हटार्इ जमिनमुनिबाट विद्युत् लाइन वितरण गरिनेमा जोड दिँदै उहाँले नेपालको जलविद्युत् परियोजनालाई विस्तार गरेर केही वर्षमा विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुयाइने पनि बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले सरकारले थप जलविद्युत् परियोजना ल्याउन तयारी गरिरहेको जानकारी दिँदै जलविद्युत्मा वैदेशिक लगानी भित्र्याउनका लागि अहिले भइरहेका ऐन कानूनले समस्या परेकाले त्यसलाई संशोधन गरी वैदेशिक लगानी भित्र्याइने बताए । विद्युत्मा फड्को मार्न सकेमात्र मुलुकको विकास हुने भन्दै उनले ठूला परियोजनाबाट विद्युत् उत्पादनका लागि सरकारले वैदेशिक लगानी खोजिरहेको बताए । -रासस
अब विदेशमा उपचार गर्नेले राज्यकोषबाट पैसा नपाउने
काठमाडौं, भदौ २९ । देशका विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने भएको छ । विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएका विधेयक बिहीबार प्रतिनिधिसभामा पेश भएको छ । संसदीय समितिले जुटाएको सहमतिअनुसार विधेयक ‘फुल हाउस’बाट पाति भए विशिष्ट ओहोदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले विदशमा गरेको उपचार खर्च राज्य कोषबाट पाउने छैनन् । विधेयक शुक्रबार पारित गर्ने संसद् सचिवालयको कार्यसूची छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयक संशोधन गर्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा भएको उपचार खर्च राज्यकोषबाट नबेहोर्नै सहमति जुटाएको थियो । नयाँ पत्रिकामा खबर छ ।
फेरि पूर्वराजा शाह थाइल्याण्ड किन जाँदै छन् ? कारण यस्तो छ
काठमाडौं, भदौ २९ । पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् । हिमानीका निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी, हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहित करिब डेढ दर्जन टोलीका साथ हिमानी थाइल्याण्ड गएकी हुन् । स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
नेकपा साङ्गठनिक एकीकरणः प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष ओली र प्रचण्डलाई
काठमाडौै, भदौं २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरणसम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको हो । अध्यक्षद्वयले प्रस्तुत गर्नुहुने प्रस्तावलाई स्थायी समितिको बैठकमा प्रस्तावका रुपमा लैजाने उहाँले बताए । उनले भने, ‘अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ, उक्त प्रस्ताव स्थायी कमिटीले स्वीकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ ।’ शुक्रबार बिहान दुई अध्यक्षबीच एकीकरणका विषयमा थप छलफल हुने उनले जानकारी दिए । -रासस
समाजका गलत तत्व र मान्यताविरुद्ध लाग्न युवाहरुलाई प्रचण्डको आहृवान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समाजका गलत तत्वविरुद्द आन्दोलन गर्न युवाहरूलाई आव्हान गरेका छन । समाज विचलनतर्फ गैरहेकोमा चिन्ता व्यक्त गदै प्रचण्ड्ले महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्रको रुपमा दखिएको टिप्पणी गरे । नियोजित रुपमै सरकारका विरुद्ध सामाजिक विकृतिजन्य घटना आउन खोजेका हुन् कि भन्ने लागेको भन्दै उनले समाजमा अराजकता बढ्नु चिन्ताको विषय भएको उल्लेख गरे । ‘एकातिर सरकार दुई तिहाइ बहुमतको छ । सरकार कम्युनिस्टको नेतृत्व छ’ उनले भने ‘तर अर्कोतिर समाजमा दिनदिनै विचलन देखिन्छ । विकृतिहरु अझ बढेका हुन् कि भन्या झैँ गरी देखिन्छ ।’ महिला हिंसा, भष्टाचार र कालोबजारीका घटना नियोजित रुपमा नै आइरहेको भन्दै प्रचण्डले यस्ता घटना सरकारविरुद्धको षड्यन्त्रकै रुपमा आउन खोजेको उनले बताए । ‘चाहे महिला हिंसाका घटना हुन्, या भ्रष्टाचारका घटनाहरु, कालोबजारियाहरु । तिनीहरु नियोजित रुपले नै अगाडि आउन खोजेका हुन् कि Û सरकारका विरुद्ध षडयन्त्रका रुपमा आउन खोज्या हुन कि भन्या जस्तो गरी देखिन्छ’ अध्यक्ष प्रचण्डले प्रश्न गरे ‘समाज नै विस्तारै निराशा र अराजकतातिर जान खोजेको त होइन कतै ?’ अध्यक्ष प्रचण्डले समाजलाई निरन्तरतामा मात्रै चलाउन नहुने भन्दै त्यसमा क्रमभंगता खोज्नुपर्ने बताए । आफुले कहिल्यै पनि समाजलाई डग्मा (निरन्तरता) का रुपमा नबुझेको उनले बताए ।
उमेर हद हटाउन प्रस्ताव
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन नेपाली काङ्गैसलाई प्रस्ताव गर्ने भएको छ । नेविसङ्घको भर्खरै सम्पन्न बैठकले प्रस्तावित विधान र नियमावलीमा ३२ वर्षे उमेरहद हटाउन लागि निर्णय गरेर पार्टीमा बुझाउने निर्णय गरेको उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीसहितको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका विषयलाई समेटेर सबैसँग आवश्यक समन्वय गरी सङ्घको संशोधित विधान र नियमावली यही भदौ २७ गते पार्टीलाई बुझाउने भएको छ । नेविसङ्घले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि अगामी असोज ६ गते देशभरका माध्यमिक विद्यालय र क्याम्पस अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्रीय अधिवेशन तथा आगामी असोज २१ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने समय तालिका बनाएको छ । यस्तै असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातवटै प्रदेशको अधिवेशन र कात्तिक १६ गते केन्द्रीय महाधिवेशन गर्ने समय तालिका सार्वजनिक गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले तोकिएकै समयभित्र अधिवेशन सम्पन्न गर्नका लागि आफू लागिरहेको बताए । रासस

