प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता, यस्तो भयो छलफल
न्यूयोर्क, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरका छन् । संयुक्त राष्ट्र संघको महासभाको ७३औं अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ छन् ।

उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौंदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । उनले व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा पनि छलफल भएको जानकारी दिए।
भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए । -रासस
ट्राफिकको नयाँ नियमः जुत्ता नलगाए लाइसेन्स खारेज !
काठमाडौं, असोज ११ । दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् ।लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो । दुसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो । चालकले जुत्ता लगाएर नलगाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ । कान्तिपुरमा खबर छ ।
कांग्रेसबाट निर्वाचित मेयरले भने- ‘धनगढी राजधानी नबनाए सांसदलाई जलाएर मार्छौं’ [भिडियो]
कैलाली, असोज ११ । जिल्लाको धनगढी उपमहानगरपालिक प्रमुख नृपबहादुर वडले प्रदेश राजधानी धनगढी कायम नबनाए प्रदेश सदस्यलाई आगो लगाएर जलाउने अभिव्यक्ति दिएका छन् । उनले धनगढीबाट राजधानी अन्यत्र सार्ने निर्णय भएको २४ घण्टाभित्र सांसदलाई चेतावनी दिएको हुन् । राजधानी धनगढी नभएको विरोधमा कांग्रेस कार्यकर्ताले प्रदेश सभा अगाडि गरेको प्रदर्शनका क्रममा उनले भने, ‘राजधानी अन्यत्र सारेको २४ घण्टाभित्र यिनीहरु धनगढी छोड्नुपर्छ । यिनीहरुलाई धनगढी बस्ने नैतिकता छैन । हैन भने यिनीहरु जहाँ बसेका छन् त्यहाँ तोडफोड हुने मात्र होइन, जलाएर हिड्न सक्ने परिस्थिती बन्छ ।’ प्रदेश सभा र सांसदहरु वन माफिया र तस्करबाट बिक्री भएका आरोप मेयर वडले लगाएका छन् । उनले प्रदेश राजधानी सार्नेविरुद्ध आन्दोलन जारी रहने बताए । ‘आन्दोलन जारी राख्ने मात्र होइन, जलाएर मारिन्छ । यिनीहरुले १७ हजार मान्छे मारे भने हामी यिनीलाई मारिदिने परिस्थिति बन्छ ।’ कांग्रेस धनगढीका नगर सभापतिसमेत रहेका मेयर वडले भने, ‘दुई तिहाइको दम्भमा पूर्वाग्रही निर्णय हुँदैछ ।’ प्रदेशको नामाङ्कन र स्थायी राजधानी निर्धारण गर्न संसदद्वारा गठित विशेष सुझाव समितिले राजधानीका लागि धनगढी सिफारिस नगरेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले प्रदेश सभा भवनअगाडि प्रदर्शन गरेका थिए । संसदभित्र प्रदेश नाम र राजधानीका विषयमा छलफल भइरहदा संसद् भवनको मुल गेटमा टायर बालेर प्रदर्शन गरेका कांग्रेस नेता, कार्यकर्ताहरुले प्रदेश सरकार, संसदीय समिति र प्रदेश सभा विरुद्ध नाराबाजी गरे । जंगल मासेर राजधानी बनाउन उपयुक्त नभएकाले धनगढीलाई नै राजधानी बनाइनु पर्ने आन्दोलनको अगुवाइ गरिरहेका हरि रेग्मीले बताए । राजधानी धनगढी कायम नगरिए आन्दोलनलाई चर्काइने चेतावनी आन्दोलनकारीले दिएका छन् । नयाँ पत्रिकामा खबर छ ।
अब सार्वजनिक काममा व्यक्तिको जग्गा प्रयोग गर्दा क्षतिपूर्ति दिनुपर्ने
काठमाडौं, साउन ११ । सर्वोच्च अदालतले सार्वजनिक सरोकारको कामका लागि व्यक्तिको जग्गा प्रयोग गर्दा सरकारले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेकोे छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गत साउन १६ गतेको आदेशको पूर्ण पाठ सार्वजनिक गर्दै सार्वजनिक हितका लागि व्यक्तिको जग्गा प्रयोग गर्र्दा सरकारले क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । आदेशमा सडक विस्तार गर्ने कार्य सार्वजनिक हितको कार्य भएको हुँदा सरकारले व्यक्तिको जग्गा लिँदा क्षतिपूर्तिको विषयमा नीतिगत निर्णय गरेर मात्र सडक विस्तारको कार्य गर्नु, गराउनु भनिएको छ । दोलखा जिल्ला, भीमेश्वर नगरपालिका भई हाल काठमाडौँ कागेश्वरी नगरपालिका–११ बस्ने सान्त्वना सुवेदी, सिन्धुपाल्चोक घर भई हाल बूढानीकण्ठ नगरपालिकामा बस्ने सुनिता पौडेलले शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र कामपा वडा नं ४ को कार्यालय, बालुवाटार तथा काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथिको फैसलामा सो कुरा उल्लेख छ । आदेशमा हक सुविधाअनुसार पालन गर्न वा नगर्न सकिने विषय हुँदै नभएको र प्रत्याभूत हकको उपेक्षा गरी सम्पत्ति उपर सहजै आक्रमण गर्न सकिन्छ भन्ने कदापि सोचिनु नहुने उल्लेख छ । संविधानमा व्यक्ति तथा नागरिकको सम्पत्ति र आवासका हक प्रत्याभूत गरिएको हुनाले नागरिकको ती हकको हरदम संरक्षण गरिनुपर्ने आदेशमा उल्लेख छ । सरकारी निकायलाई व्यक्तिको सम्पत्ति जबर्जस्ती उठाउने तर क्षतिपूर्ति दिन्न भन्नु लोकतान्त्रिक अभ्यास नहुने नभएको उल्लेख गर्दै फैसालमा सरकारलाई आर्थिक वा अन्य कारण देखाइ नागरिकको हकको संरक्षण गर्नुपर्ने आधारभूत दायित्वबाट पन्छिने छुट नहुने फैसलामा उल्लेख छ । -रासस
नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान
काठमाडौं, असोज १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आज साँझ सिङ्गापुर प्रस्थान गरेका छन् । यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ । सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन् । उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ गएका छन् । नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो । -रासस
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको परम्परागत कृषि प्रणालीलार्इ वैज्ञानिक बनाउनुपर्नेमा जोड
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गरी यसलाई वैज्ञानिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । शनिवार राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवन काठमाडौँले भरतपुरमा आयोजना गरेको दुग्धजन्य पशु वस्तुको आहारा सन्तुलनका लागि मोबाइल एप्सको प्रयोगसम्बन्धी तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख दाहालले निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै व्यावसायिक र गुणस्तरीय उत्पादनमा लाग्न किसानहरूलाई आग्रह गरे । अबको कृषि र उत्पादन प्रणाली प्रविधिमैत्री हुनुपर्ने बताउँदै उनले उत्पादन लागत घटाउनु र उत्पादन बृद्धि गर्नु मुख्य विषय भएकोमा जोड दिए । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रमहरू अगाडि बढाइरहेको उनले बताए । प्रमुख दाहालले भने, ‘भरतपुर महानगर दुध, तरकारी, फलफूल र खद्यान्न उत्पादनको प्रमुख सम्भावना भएको क्षेत्र हो । यसको विकासका लागि आवश्यक नीति निर्माण र किसानहरु उत्पादनमा सहयोग गर्न महानगर प्रतिबद्ध छ ।’ दूध उत्पादक किसानहरूका लागि भरतपुर महानगरपालिकाले प्रोत्साहन सोरूप प्रतिलिटर २५ पैसा नगद अनुदानको व्यवस्था गरेको भन्दै उनले आगामी बर्षदेखि यसलाई बढाउँदै लैजाने बताउनुभयो । प्रमुख दाहाले मोबाइल एप्स तालिममा सहभागी किसानहरूलाई तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गरे । जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष बालकृष्ण उप्रेतीले सन्तुलित र गुणस्तरीय आहाराको अभावका कारण उत्पादन लागत बढ्नुका साथै किसानहरू पशुपालन पेसाबाट विस्थापित भैरहेको अवस्थामा यस मोबाइल एप्स र यस सम्बन्धी तालिम किसानहरूलाई व्यावसायिक उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा व्यावसायीक किसान महासंघका उपाध्यक्ष भागिरथ तिमिलसिनाले कृषिलाई व्यावसायीक र आत्मनिर्भर बनाउने सवालमा सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको बताए । उनले भरतपुर महानगरपालिकाले कृषि र दूध उत्पादनको क्षेत्रमा पुरेयाएको योगदानको प्रसंशा गरे । तालिममा चितवन र नवलपुरका गरी २६ जना अगुवा किसान सहभागी रहेका छन् । चितवनमा दैनिक २ लाख लिटर दूध उत्पादन हुने गरेको छ भने त्यसको आधा हिस्सा भरतपुर महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने गर्दछ ।
दशैँको साइत सार्वजनिक, कुन दिन कुन समयमा के ?
काठमाडौँ, असोज ६ । यस वर्षको दशैँको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत परेको बताएको छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । गौतमले झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने बताए । असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको र असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने दिन परेको छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । तुलजा भवानीलाई असनमा राख्ने साइत त्यसैदिन अर्थात असोज ३० गते मङ्गलबार १० बजेर २ मिनेटमा परेको छ । असोज ३१ गते बुधबार महाअष्टमी, कार्तिक १ गते बिहीबार महानवमी, कार्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताएका छन् । विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइनेछ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिनेछ । कार्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइनेछ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपाली हिन्दुहरूको महान् चाड बडादशैँ समापन हुनेछ ।
छक्कापञ्जा-३ घटस्थापनामा, जय भोलेको रिलिज डेट धकेलियो एक हप्ता पछाडि
काठमाडौँ, असोज ६ । चलचित्र ‘छक्कापञ्जा-३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो । “प्रदर्शन मितिमा तनाब थियो, शुक्रबार साँझ मात्रै मिति तय गरियो”, मुख्य कलाकार दीपकराज गिरीले भने, “आशा छ चलचित्रले दर्शकको राम्रो माया पाउँछ ।” उहाँले असोज २४ गते घटस्थापनाबाट ‘छक्कापञ्जा ३’ र असोज ३० गते फूलपातीबाट ‘जय भोले’ प्रदर्शन गर्ने गरी सहमति जुटेको जानकारी दिए । यसअघि यी दुई चलचित्र एकैसाथ प्रदर्शनमा आउने भनेर प्रचार भएको थियो । आज सार्वजनिक भएको चलचित्रको झलकमा हाँस्यव्यङ्ग्यसँगै सामाजिक तथा शैक्षिक विषयवस्तु देखाइएको छ । चलचित्रले स्कूल शिक्षा र विद्यालयमा हुने विकृति विसङ्गतिका विषयसमेत उठान गरेको छ । यस्तै विद्यालयमा हुने राजनीतिलाई समेत उठान गरिएको छ । कलाकार दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्कापञ्जा ३’ को यसअघि सार्वजनिक ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतलाई दर्शकले मन पराएका छन् । निर्देशक निरौलाले अघिल्ला चलचित्रको ट्रेलरमा विषयवस्तु सस्पेन्स राखिने गरेकोमा यसपालि भने विषवस्तु खुलाइएको जानकारी दिए । उनले चलचित्रमा महिला र पुरुष समान हुन् भन्ने देखाउने प्रयास गरिएको समेत दाबी गरे । दीपाश्री निरौलाकै निर्देशन रहेको चलचित्र ‘छक्कापञ्जा–१’ र ‘छक्कापञ्जा–२’ ले दर्शकको राम्रो साथ पाएको थियो । यसअघिका चलचित्रमा भने वैदेशिक रोजगार र यसले निम्त्याएको सामाजिक तथा पारिवारिक विकृतिलाई देखाइएको थियो । कलाकार जीतु नेपालले नेपाली फिल्मलाई माया गर्न दर्शकलाई आग्रह गरे । ‘छक्कापञ्जा–३’ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतको अभिनय छ । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको संवाद छ । अर्जुन पोखरेल र दीपक शर्माले सङ्गीत दिएका छन् । उक्त चलचित्र आमा सरस्वती मुभिज प्रालि तथा आइएमइको प्रस्तुतिमा निर्माण भएको भएको हो । चलचित्रको कार्यकारी निर्माता जीतु नेपाल र केदार घिमिरे रहेका छन् । कलाकार किरण केसी, सुमन गिरी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगार्इं, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेका छन् । रासस
कांग्रेस जिन्दावाद, मुर्दावाद नगर्ने सालिन प्रतिपक्ष
नेपालगञ्ज, असोज ६ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन, यो कुरा अहिलेको सरकारले बुभ्नुपर्छ ।’ मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको छ, भन्दै प्रवक्ता शर्माले प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरे । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले, भने, ‘आफ्नो दलले सालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको छ, बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिनु हुदैन ।’ प्रवक्ता शर्माले कांग्रेस अहिले आफ्नो साङ्गठनिक संरचना बिस्तारमा लागेको बताए । साथै उनले कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण हुने जानकारी दिए ।
‘देश समृद्धि नभए कानूनका ठेलिले अधिकार पाउने ग्यारेन्टी हुन्न’
काठमाडौं, असोज ६ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले देश समृद्धि नभए कानूनका ठेलिले मात्र अधिकार पाउने ग्यारेन्टी नहुने बताएका छन् । समाज कल्याण परिषद को ३९ औं सामाजिक सेवा दिवसकाे उद्घाटन गर्दै अध्यक्ष लिमिल्सेनाले नेपालको संविधान र माताहतमा बनेका कानूनले अब अधिकारका लागि थप लड्न नपर्ने बताए । उनले संविधानमा भएका व्यवस्था र संविधान कार्यान्वयन गर्न बनेका नयाँ कानून नागरिकको हकका सम्बन्धमा संसारकै उत्कृष्ट भएको दावी गरे । उनले भने, ‘हामी अधिकार सम्पन्न भयौं तर, कानूनका ठेली र कागजमा मात्र अधिकार भएर हुँदैन । जे–जे अधिकार छ त्यो कुरा व्यवहार मा लागू नभए कागजका कुराले अर्थ राख्दैन ।’ अध्यक्ष तिमिल्सेनाले आजको आवश्यकता लिपिवद्द अधिकारको कार्यान्वयन हो। सबै लिपिवद्द अधिकार कार्यान्वयन गर्न राष्ट्र समृद्द हुनु जरूरी भएको बताए । उनले विकसित नेपालको निर्माणमा सबै लाग्न आग्रह गरे । समाज कल्याण परिषद नेपालमा काम गर्ने हजारौं राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुगमन गर्ने निकायले आफैंमा विवादमा पर्नु राम्रो नभएको बताए । उनले भने, ‘परिषद सक्षम र इमान्दार हुनु पर्छ । संस्थाको नाम नै समाज कल्याण भएकोले मन वचन र कर्मले काम गरेर उदाहरणीय बन्नु पर्छ ।’ महिला तथा बालबालिका मन्त्री थममाया थापाले परिषद को ३९ औं सामाजिक सेवा दिवसका अवसरमा अध्यक्ष लिमिल्सेनालार्इ मायाकाे चिनाे प्रदान गरेकी थिइन् ।
मन्त्री लालबाबु पण्डितको प्रस्ताव जथाभावी फोहर फाल्नेलाई बढी कर
भक्तपुर, असोज, ६ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताएका छन् । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै मन्त्रि पण्डितले यस्तो विचार व्यक्त गरेका हुन् । स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै मन्त्री पण्डितले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पुऱ्याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउनुपर्ने विचार व्यक्त गरे । नेपाल सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्छ, भन्ने सन्देश विश्वमा फैलाउनुपर्ने औल्याउँदै, हरेक दृष्टिकोणबाट नेपाल बस्नका लागि उपयुक्त छ, भन्ने सन्देश प्रवाह गर्न व्यवहार मै देशलाई स्वच्छ बनाउनुपर्नेमा मन्त्री पण्डितको जोड थियो । कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले देशमा सरकारलाई फुटाउने र फेरि अस्थिरता ल्याउन विदेशी तत्व सक्रिय भएको उल्लेख गरेका छन् । उहाँले पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने गरेका छन् भन्दै बस्नेतले सरकारलाई कमजोर बनाउने खेल भइरहेको टिप्पणी गरेका छन् । कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, कलाकार शिव श्रेष्ठ, चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत लगायतले नदी सफाइ अभियानमा सबै जुट्नुपर्ने औंल्याए । यसैबीच अभियन्ता पुस्कर गजुरेलले विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानको ३० औँ हप्तामा आज दुई टन फोहर सङ्कलन भएको र हालसम्म ३०९ टन फोहर सङ्कलन गरिएको जानकारी दिए । रासस
एकताले समृद्धि र समाजवादको यात्रा सहज भएको छ : प्रचण्ड
काठमाडौँ, असोज ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको बताएका छन् । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाले केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि वाम आन्दोलन र यसलाई टुंगोमा पु¥याउन सतिसालजस्तै प्रस्तुत हुनु नेतृ साहनाको साहसी कदम भएको बताए । नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गरेको स्मरण गरे । साथै नेकपाका नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल तथा साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताए । विसं २०४६ को नेत्री प्रधानले वाममोर्चाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै जनआन्न्दोलनको नेतृत्व गरेकी थिइन् । नेतृ प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन गरिएको छ ।
सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार छ : प्रधानमन्त्री
काठमाडौँ, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताएका छन् । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको बताए । उनले भने, ‘यो विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू छन् । यसले केही हुनेवाला छैन । हाम्रा कामले जनताका विश्वासमा तलमाथि हुन दिइने छैन । अग्रजहरूका महान् उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’ उनले कम्युनिष्ट एकताबद्ध हुँदा कोही नतर्सन आग्रह गर्दै सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको पनि स्पष्ट पाए । प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर नभई कर्मी मौरीझैँ लागेर समृद्धिको दायित्व पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
मिलेनियन च्यालेञ्ज कर्पोरेशनका आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको मान्यता
काठमाडौं, असोज ६। सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सो निर्णय गरेको हो । ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई रु ५० अर्ब सहयोग उपलब्ध गराएको छ । बैठकले काठमाडौँको लप्सेफेदीदेखि धादिङको गल्छी–रातमाटे प्रसारण लाइन आयोजना र दमौली–बुटवल आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने निर्णय गरेको हो । यस्तै माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा स्थापना गरिने भएको छ । विसं २०६९ फागुन ४ को निर्णयलाई संशोधन गरी सरकारी स्वामित्वको कम्पनीका रुपमा प्राधिकरणको मातहत रहने गरी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत अगाडि बढाउने गरी सैद्धान्तिक स्वीकृत दिने निर्णय भएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । यस्तै सरकारले मुक्त कमैया तथा हलियाको पुनःस्थापना समस्या समाधान आयोग गठनसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । दुवै आयोगलाई नयाँ व्यवस्थाअनुसार अगाडि बढाइने भएको छ । त्यस्तै सङ्घीय पर्यटन ऐन तर्जुमाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ । यसैगरी नागरिक उड्डयन प्राधिकरण सञ्चालन नियमनसम्बन्धी ऐन तर्जुमा गर्नका लागि पनि सोही मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ । विद्यमान व्यवस्थाअनुसार प्राधिकरणले विमानस्थलको सञ्चालन तथा नियमको कामसमेत गर्दै आएको छ । नयाँ व्यवस्था लागू भएपछि प्राधिकरणले सञ्चालन र नियमनको काम छुट्टाछुट्टै गर्ने छन् । यस्तै मन्त्रिपरिषद्ले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कायविधि, २०७५ स्वीकृत गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई नयाँ आधारमा सञ्चालनका लागि उक्त व्यवस्था गरिएको हो । बैठकले दरबन्दीभित्र नपरेका विभिन्न सेवा समूहको पदमा कार्यरत निजामती कर्मचारीलाई कर्मचारी समायोजन ऐन, २०७४ र सोही ऐनको नियमावली २०७४ अनुसार कर्मचारी समायोजन नभएसम्म प्रदेश तथा स्थानीय तहको स्वीकृत सङ्गठन संरचना वा दरबन्दीको समान श्रेणीभित्र तथा मिल्दो पद वा तहमा काम गर्ने गरी काम काजमा खटाउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्ता कर्मचारीको सङ्ख्या चार हजारको हाराहारीमा रहेका छन् । यस्तै निजी क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न दिने कार्यविधि स्वीकृत गरिएको छ । सो कार्यविधिले आन्तरिकरुपमा हवाई सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बजार तथा सेवा विस्तारका लागि मार्ग प्रशस्त गर्नेछ । यसैगरी मन्त्रिपरिषद्ले स्थानीय तहको पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ स्वीकृत गरेको छ भने जिल्ला विकास समिति महासङ्घको दोस्रो संशोधित विधान स्वीकृत गरेको छ । विगतमा जिल्ला विकास समिति महासङ्घका रुपमा सञ्चालित संस्था अब भने जिल्ला समन्वय समिति महासङ्घकारुपमा क्रियाशील रहनेछ । त्यस्तै बैठकले सरकारी निकाय सरल तथा सहजरुपमा विद्युतीय पत्राचार गर्न सहज वातावरण तयार गर्ने उद्देश्यले विद्युतीय पत्राचार निर्देशिका, २०७५ स्वीकृत गरेको छ । समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको अध्यक्षमा कामपा–२९ का युवराज सुवेदीलाई नियुक्त गरिएको छ । यस्तै आपराधिक समूहबाट मारिएका सुनसरीका खुर्दिश आलमलाई सरकारले शहीद घोषणा गरी उनको आश्रित परिवारलाई रु १० लाख राहत रकम उपलब्ध गराएको छ । यसैगरी बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गरेको छ । बढुवा भएका तीन जना प्रहरी अधिकृतको जिम्मेवारीसमेत तोकिएको छ । मन्त्री बाँस्कोटाका अनुसार कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मा दिइएको छ । सरकारले नीति अनुसन्धान प्रतिष्ठान स्थापना गरी त्यसलाई मुलुकको ‘थिंक ट्याङ्क’ का रुपमा अगाडि बढाउने भएको छ । सो प्रतिष्ठानको सदस्यमा प्रा डा चैतन्य मिश्र, डा मीना आचार्य, प्रा डा राजेन्द्रध्वज जोशी, प्रा डा सुरेन्द्र लाभ र गणेशमान गुरुङलाई तोकिएको छ । मन्त्री बाँस्कोटाका अनुसार बेलायत सरकारसँग दोहोरो करको मुक्ति र कर छलीसम्बन्धी वार्ता गर्न आन्तरिक राजस्व विभागका महानिर्देशकको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ । यस्तै उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धन संवाद परिषद् स्थापना गरिएको छ । सो परिषद्को नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । सो परिषद्मा सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठित उद्योगी, व्यवसायी, प्रतिनिधिको सहभागिता रहनेछ । बैठकपछि मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि गर्न लाग्नुभएको अमेरिका भ्रमणका बारेमा समेत छलफल भएको जानकारी दिए । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यस्तै, प्रधानमन्त्रीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । -रासस
छोरीले १३ बर्षमै फेसबुकमा लभ पारेपछि परिवारलाई तनाव !
काठमाडौं, असोज ६ । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले । एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए। त्यसको कारण थियो- १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालयसमेत परिवर्तन गरिदिए। अभिभावकका कारण सम्बन्ध तोडिएपछि ती छात्रले प्रेमिकासँग भएका अन्तरंग तस्बिर फेसबुकबाट उनको अभिभावकको फेसबुकमा ट्याग गरिदिए। तस्बिर सार्वजनिक भएपछि ती छात्राका बुवा महानगरीय प्रहरी अपराध महाशाखामा छोरीलाई लिएर उजुरी गर्न पुगे । महाशाखाले यस विषयमा आवश्यक छानबिन गरिरहेको जनाएको छ । अचेल बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोगका कारण उन्पन्न समस्या लिएर आउने अभिभावकको संख्या बढेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाअन्तर्गतको मुद्दा फाँटका प्रहरी निरीक्षक लीलाराज डाँगी बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताउँछन् । ‘सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवती भएका छन्,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध न्यूनीकरण नगर्ने हो भने समाजमा भयावह स्थिति आउनेछ।’ नागरिक दैनिक खबर छ ।
दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्
काठमाडौं, असोज ६ । नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । काठमाडौं महमनगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको छ ।महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी बोका राँगा भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ । महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । नेपाल समाचारपत्रमा खबर छ

