बन्द भएको करीब २ महिनापछि बिहीबारदेखि हवाई उडान शुरु

भोजपुर, असोज १८ । बन्द भएको करीब दुई महिनापछि बिहीबारदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ ।

यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो ।

जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा शुरु गरेको छ ।

हवाई सेवा शुरु भएसँगै भोजपुर–काठमाडौँ सातामा शनिबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार गरी ५ उडान तथा विराटनगरमा सातामा एकदिन (सोमबार) उडान हुने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले बताए ।

उडान सेवा पुनःसञ्चालन भएसँगै दशँैमा घर आउने तथा जाने यात्रुलाई सहज भएको छ । त्यस्तै उपचारका लागि भोजपुर अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिश गरिएका बिरामीलाई पनि राहत मिलेको छ । रासस

नेकपा गण्डकीका जिल्लामा पार्टी संयन्त्र

कास्की, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको जानकारी दिए । जिल्ला संयन्त्रमा साविक नेकपा(एमाले)बाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन नेकपा माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच गरी १० जना रहने निर्णय बैठकले गरेको छ । अध्यक्ष पाण्डेका अनुसार जिल्ला संयन्त्रले महानगरपालिकामा दश, नगरपालिकामा आठ र गाउँपालिकमा छ सदस्यीय पार्टी संयन्त्र गठन गरेर पार्टीका विधान, नियमावली र पार्टीको निर्देशनलाई आधार मानी तल्ला तहको पार्टी एकीकरण सम्बन्धमा प्रदेश कमिटीलाई आवश्यक सुझाव दिनेछ । बैठकले आगामी कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी संयन्त्र गठनबाट तल्लो तहमा पार्टी एकीकरण प्रक्रियालाई गति दिन सहयोग पुग्ने विश्वास नेकपाको छ । नेकपा गण्डकी प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पार्टीको अन्तरिम विधानानुसार देशका ८ वटै प्रदेशमा प्रदेश इञ्चार्ज तथा पदाधिकारी चयन भएकाले पार्टी केन्द्रको निर्णयलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए । रासस

निर्मला हत्या प्रकरणः पक्राउ गरिएका तीनै जनामा मानसिक समस्या

कञ्चनपुर, असोज १५ । जिल्लाको भीमदत्त नगरपालिका २ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रुपले अस्वस्थ थिए । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ । हिरासतमा यातना दिइएकाले उनी मानसिक रुपमा झन् कमजोर भएको परिवारले जनाएका छन् ।   २५ दिन हिरासतमा राखिएका विष्ट डिएनए परीक्षणमा निर्दोष देखिएपछि मुक्त गरिएका थिए । दाजु खडकका अनुसार अहिले उनी नयाँ मान्छे देख्नेबित्तिकै डराउँछन्। सुतिरहेका बेला पनि ‘कुटिहाल्यो, मारिहाल्यो, बचाऊ ’ भन्दै चिच्याउँछन्। ‘पहिलेदेखि नै अस्वस्थ थियो, अहिले झन् बिग्रिएको छ,’ उनले भने, ‘घरकै मान्छे देख्दा पनि डराउँछ, भाग्छ।’   प्रहरीले पक्राउ गर्नुअघिसम्म दिलीप एक्लै महेन्द्रनगर बजार आउजाउ गर्थे। अहिले घरबाट बाहिरै निस्किँदैनन् । स्वभाव एकोहोरो भएको छ । नुहाउन थाले दिनभरि नुहाइराख्छन् । दाँत माझ्न थाले लामो समय त्यही गरिराख्छन् । प्रहरीले भदौ ४ गते दिलीपलाई मुख्य आरोपीका रुपमा सार्वजनिक गरेको थियो । मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई पक्रेर दोषी उम्काउन खोजिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए ।   दिलीपलाई हिरासतमा चरम यातना दिइएको अहिले उनको व्यवहारले खुल्न थालेको खडकले बताए। खडकले दिलीपलाई उद्धृत गरेअनुसार प्रहरीले उनलाई अपराध कबुल गरे गाउँमै तीन तलाको घर बनाइदिने आश्वासन दिएका थिए। डा. मोहन बेल्वासेले दिलीपको दिमागमा निकै असर परेकाले लामो समय औषधि खान सुझाएका छन्। दिलीपलाई थप उपचारका लागि सोमबार काठमाडौं लैजाने तयारी भएको खडकले बताए।   यातना पाएका अन्यमा पनि समस्या निर्मला हत्या प्रकरणमै पक्राउ गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १७ वर्षीया हेमन्ती भट्टमा पनि मानसिक समस्या देखिएको छ। परिवारका अनुसार उनी रातिराति बर्बराउन थालेकी छन्। जतिखेरै रिसाउने र डराउने गर्छिन्।   हेमन्तीलाई प्रहरीले साउन १९ देखि लगातार ६ दिनसम्म जिल्ला प्रहरी कार्यालयमा बोलाएको थियो। त्यसक्रममा निकै यातना दिइएको परिवारले जनायो। मोबाइलमा निर्मला नामकी अर्कै साथीबारे गफ गरेकै आधारमा प्रहरीले उनलाई दुःख दिएको थियो।   यही प्रकरणमा ११ दिन हिरासत बसेका भीमदत्त १८ निम्बुखेडाका चक्रदेव बडू पनि बरबराउने र डराउने गरेको बुबा रामदत्तले बताए। चक्र भारतको मुम्बईमा वेटरको काम गर्थे। बिदामा आएका उनी यही घटनाका कारण काममा फर्कन सकेका छैनन्। प्रहरीले चक्रलाई आवश्यक परेका बेला हाजिर हुने गरी हिरासतमुक्त गरेको हो। उनलाई सार्वजनिक मुद्दा लगाएर ५ हजार धरौटी माग गरिएको थियो। कान्तिपुरमा खबर छ ।

पाँच जनाको हत्या आरोपी १३ वर्षपछि पक्राउ !

नेपालगञ्ज, असोज १४ । नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ ।   नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका सञ्चालकहरु गुलाबदेवी हेमकार, जगदेव हेमकार, जगदेवकी श्रीमती सीतादेवी हेमकार, छोरा दीपक हेमकार र कामदार शनिश्चर चौधरीको हत्या भएका थिए ।   हेमकार परिवारको २०६२ फागनु २३ गते राति हत्या गरिएको थियो । हत्याको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर विसवा बजारका ६४ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।   शनिबार राति ८ बजे बाँकेको जमुनहा नाका हुँदै नेपालगञ्ज प्रवेशका क्रममा सोनीलाई पक्राउ गरेको बाँके जिल्ला प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको हो । -रासस

नेकपाका प्रमुख सचेतक तामाङमाथि आक्रमणको प्रयास

धनगढी, असोज १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सभाका प्रमुख सचेतक तारा लामा तामाङमाथि आज साँझ आक्रमणको प्रयास भएको छ । धनगढीको ओम प्यालेससँगै रहेको बेल्स परिकारमा नास्ता खान जाँदै गर्दा प्रमुख सचेतक तमाङलाई आक्रमणको प्रयास गरिएको हो ।   ‘राजधानी सार्न पाइदैन’, ‘तारा लामा मुर्दावाद’ जस्ता नारा लगाउँदै केही व्यक्तिहरूले संसाद तामाङमाथि आक्रमण गर्न खोजेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विनोद घिमिरेका अनुसार समयमै आक्रमण हुने जानकारी पाएपछि प्रहरीले संसाद तामाङलाई जोगाउन सफल भएको हो । उनले भने– ‘हामीले आन्दोलनकारी कै समूहबाट सांसद तामाङमाथि आक्रमण गर्ने जानकारी आएपछि हामीले प्रहरी प्रचालन गरेका थियौं ।’   प्रमुख सचेतक तामाङले आफूले प्रदेश सभाले दिएको जिम्मेवारी पूरा गरेको हो, त्यही कारण म माथि आक्रमण गर्न खोज्नु दुःखद् हो भने । प्रमुख सचेतक तामाङ प्रदेशको नामांकन र राजधानी तोक्ने सुझाव समितिका संयोजक हुन् । इअनुमोदनबाट

पन्ध्र दिनअघि नै एयरलाइन्स भन्छन्- ‘दशैंको बुकिङ सकियो’

काठमाडौं, असोज १४ । दशैं आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ ।   राजधानी काठमाडौंबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् । बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयरलगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ ।   घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म केही सुगम गन्तब्यमा मात्र टिकट पाउन सकिनेछ । अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन् । तुम्लिङटारलगायतका गन्तब्यमा दुईसाता अघिनै टिकट सकिएको वायु सेवा कम्पनीको भनाई छ ।   यती एयरलाइन्सको ७० प्रतिशत टिकट बुकिङ भइसकेको छ । कम्पनीका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले फूलपाती अघिसम्म सहज रुपमा टिकट पाइने उल्लेख गरे ।   यती एयरलाइन्सले तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, भरतपुर, पोखरा र नेपालगञ्जमा उडान भर्दै आएको छ । यतीको भगिनी संस्था तारा एयरले दूर्गम गन्तव्यमा उडान गर्छ । यतीसँग हाल तीन वटा एटीआर–७२–५०० र ६ वटा बीएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डोरनियर डीओ–२२८, दुई वटा ट्वीन अटर डीएचसी–३०० र २ वटा ट्वीन अटर भिकिङ ४०० सिरिज छन् ।   बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार दशैँ लक्षित टिकट करीब सकिएको छ । फूलपाती अघिसम्म यात्रुले सहज रुपमा टिकट पाउनेछन् । यो कम्पनीसँग नौ वटा एटीआर र दुई विचक्राफ्ट विमान गरी ११ वटा विमान छन् ।   बुद्ध एयरले हाल १३ गन्तव्य भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।   श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले आफ्नो कम्पनीमा दशैंको ५० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको बताए । यात्रुको अवस्था हेरेर अतिरिक्त उडान थप्ने योजना रहेको पनि उनले बताए । श्री एयरसँग दुई ७० र दुई ५० सिट क्षमताका जेट इन्जिन विमान छन् ।   नेपाल वायु सेवा निगमको पनि कतिपय गन्तब्यमा टिकट सकिएको जनाएको छ । अन्य सुगम गन्तब्यमा भने धमाधम टिकट बुकिङ भइरहेको निगमका उपनिर्देशक शैलेश कंसाकारले जानकारी दिए । निगमले आन्तरिकतर्फ नौ वटा विमानले २३ भन्दा बढी गन्तब्यमा उडान भर्दै आएको छ ।   अतिरिक्त उडान थप्ने तयारी दशैंमा यात्रुको चापलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीले अतिरिक्त उडान गर्ने तयारी गरेका छन् । तर यस्तो उडान आवश्यक गन्तव्य र विमानको पर्याप्तता हेरेर मात्र हुनेछ । बुद्ध, यती, श्री एयर, सौर्य एयरलाइन्सलगायतका आन्तरिक उडान भर्ने कम्पनीहरूले चाप भएका गन्तब्यमा उडान थप्ने जनाएका हुन् ।   यती एयरलाइन्सका प्रवक्ता राईले अतिरिक्त उडान थप्नेबारे अहिलेको अवस्थामा भन्न नसकिए पनि यात्रुको मागअनुसार अतिरिक्त उडान गरिने बताए । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यले गन्तव्यअनुसार ६० देखि ७५ प्रतिशत दशैँको टिकट बुकिङ भएको जानकारी दिए ।   सरकारले तोकेको न्यूनतम र अधिकतम भाडा दरअनुसारनै यात्रुलाई गन्तब्यमा लगिने उनले बताए । चाडबाडमा यात्रुको बढी चाप हुने र एकतर्फीमात्रै यात्रु हुने हुँदा केही तलमाथि पर्नसक्ने प्रवक्ता आचार्यको भनाई छ ।   दशैंमा यात्रुको चाप, गन्तब्य र विमानको अवस्थालाई मध्यनजर गरी अतिरिक्त उडानको तयारी पनि गरिएको संघले जनाएको छ । आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । -रासस

नेपाल भित्रिदैं गरेको २ करोड रुपैयाँको चिनियाँ मदिरा नष्ट

हुम्ला, असोज १४ । चीनबाट अवैध रुपमा नेपाल भित्रियाइएको रु एक करोड ८४ लाख ८ हजार मूल्य बराबरका चिनियाँ मदिरा (झिनी) प्रहरीले नष्ट गरेको छ ।   जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको उक्त मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए ।   गएको भदौ १ गतेदेखि अहिलेसम्म तीन हजार ६८ कार्टुन चिनियाँ मदिरा (झिनी), दुई पेटी क्यान बियर, ५० केजी चिनियाँ मर्चा र पाँच लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए । -रासस 

भरतपुर महागरद्वारा राससलाई एक थान क्यामरा

चितवन, असोज १४ । भरतपुर महानगरपालिकाले राष्ट्रिय समाचार समिति (रासस) भरतपुर कार्यालयलाई आज एक थान क्यामरा उपलब्ध गराएको छ ।   क्याननको ८ सय डि मोडलको सो क्यामरा ९८ हजार ५ सयमा खरिद गरी राससलाई उपलब्ध गराइएको हो । महानगरका प्रमुख रेणु दाहालले रासस भरतपुरका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई क्यामरा हस्तान्तरण गरेकी हुन् ।   सो अवसरमा प्रमुख दाहालले आगामी दिनमा दुई संस्थाकाबीचमा सहयोग आदानप्रदान जारी रहने बताइन् । महानगरपालिकाले यसअघि पनि रासस भरतपुर कार्यालयलाई विभिन्न उपकरण सहयोग गर्दै आएको छ ।   सोही अवसरमा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामलले महानगर प्रमुख दाहालललाई टेलिफोनबाट धन्यवाद ज्ञापन गरे । अध्यक्ष श्यामलले महानगरको समृद्धिका लागि राससले रचनात्मक सहयोग गर्ने बताए । -रासस

चिकित्सा शिक्षा विधेयक छिटो पारित हुन्छः मन्त्री पोखरेल

काठमाडौं, असोज १४ । बहुचर्चित एवम् बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयकलाई छिटो भन्दा छिटो पारित गराउन सरोकार निकायसँगको थप छलफललाई तिब्रता दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज बसेको प्रतिनिधिसभा, स्वास्थ्य तथा शिक्षा समिति अन्तर्गतको उपसमितिले समितिको बैठकमा विधेयकलाई सर्वसम्मत रुपमा पारित गराउन थप छलफल भएको छ ।   मन्त्री पोखरेलले बैठकमा चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको दोस्रो अधिवेशनबाट पारित गराउने तयारी हुँदा हुँदै पनि मौलिक अधिकार सम्बन्धी विधेयक पारित गराउनुपर्ने कारणले विधेयक पेश गर्न नसकिएको स्पष्ट पारे । छिटो छिटो भन्दा विधेयक पेश गर्ने तयारी भएको बताउदैं छोटो समयमा महत्वपूर्ण ऐनहरु पास भएको स्मरण गराए । डाक्टर केसीले ‘ब्ल्याक मेलिङ’ गरेको झुटो आरोप आफूमाथि लगाएको बताउँदैं मन्त्री पोखरेलले पछिल्लो समय डाक्टर केसी र उनका टिमको कोही कसैंसँग सम्पर्क र संवाद नभएको स्पष्ट पारे।   विधेयकलाई आफूले तुरुन्तै अघि बढाउन पहल गरेको स्मरण गर्दै उनले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई विधेयकका सन्र्दभमा धेरैं अनुरोध गरेको पनि बताए ।   यसअघि सरकारले प्रमुख प्रतिपक्षीदल नेपाली काङग्रेसको सहमतिमा असोज ११ गते नै विधेयक पारित गराउने तयारी समेत गरेको थियो । सदनको दोस्रो अधिवेशनको अन्तीम सो दिन परेकाले विधेयक पेश हुन सकेन । अन्तीम दिन नयाँ विधेयक टेवल नगर्ने संसदीय अभ्यास रहको कारण विधेयक पेश हुन नसकेको हो । उपसमितिको आजको बैठकमा त्रिविवि उपकुलपति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिकल काउन्सिलका पदाधिकारीसित विधेयकबारे राय लिएको थियो ।   बैंठकमा सांसद गगनकुमार थापाले विधेयकका बारेमा सरकारी धारणा परिवर्तन हुन नहुनेमा जोड दिँदै सदनको अधिवेशनको अन्तीम विधेयक प्राविधिक कारणले पेश हुन नसकेको बताए । सांसद खगराज अधिकारीले विधेयक सहमतिका आधारमा तयार भएको र सहमतिका आधारमा पारित हुने विश्वास व्यक्त गरे ।

वैदेशिक रोजगारमा जान हत्यापछि फिरौती माग

विराटनगर, असोज १४ । विराटनगर महानगरपालिका- १७ बस्ने मोहम्मद सद्दाम हुसेन आफ्नै साथीको अपहरण पछि हत्याको आरूप्मा गिरफ्तार भएका छन् । दुबई तयारीमा रहेका विराटनगर महानगरपालिका वडा नं. १७ बस्ने मोहम्मद सद्दाम हुसेनको भिसा लागिसकेको भएपनि उनीसँग यसका लागि आवश्यक खर्च जुट्न सकेको थिएन । उनले यसका लागि जुक्ति निकाले- गाउँकै एक जनाको अपहरण र फिरौती । आफ्ना साथी मोहम्मद आरिफसँग मिलेर उनले बनाए खलील मियाँका छोरा मोहम्मद अस्फाकको अपहरण गरेर उनका बुवा खलीलसँग फिरौती माग्ने योजना । तर उनले अपहरणका लागि नियन्त्रणमा लिन अस्फाकको टाउकोमा ढुंगाले हिर्काउँदा उनको ज्यान गएको खुल्न आएको छ । गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन र आलम साथी साथी हुन् । गएको असोज १ गते साँझ अस्फाकसँगै बसेर मदिरा सेवन गरेपछि हुसेन र आलमले उनलाई बन्धक बनाएर उनका बुवा खलीलसँग पैसा माग्ने योजना बनाएका थिए । त्यसको भोलिपल्ट देखि नै उनीहरूले खलीललाई फोन गरेर फिरौतीको रकम माग्न थालेको र ५० लाखदेखि माग्न थालेको रकम २ लाखमा आएर उनले अस्फाकलाई छाड्न राजी भएका थिए । उनले अस्फाक्को शव ह्युम पाइपभित्र हालिदिएको र प्रहरीले उक्त शव चिन्नै नसक्ने गरेर सडेको अवस्थामा  असोज ७ गते ह्युम पाइपभित्र फेला पारेका थिए । प्रहरीले फिरौती माग्नका लागि एसएमएस पठाउन प्रयोग गर्ने गरेको मोवाइलको लोकेसनका आधारमा अनुसन्धान गर्दै जाँदा दुई जनालाई पक्राउ गरिएको बताएको छ ।  

‘सहिदहरुको चिहान खोतलेर सिंहदरबारभित्र ल्याउन नपरोस्’ : लालध्वज

काठमाडौं । पूर्व ऊर्जाराज्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता सुर्यमान दोङ लालध्वजले ३ नम्बर प्रदेशको नामकरण नेवा–ताम्सालिङ गर्न अधिकारवादीहरुले गरेको आन्दोलनलाई कमजोर ठानेको खण्डमा त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । आइतबार नेवा–ताम्सालिङ संघर्ष समितिले ३ नम्बर प्रदेशको नाम नेवा–ताम्सालिङ राख्न माग गर्दै राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री लालध्वजले सरकारले आफूहरुको आन्दोलनलाई कमजोर ठानेको खण्डमा त्यसले राम्रो परिणाम नल्याउने बताएका हुन् । ‘अहिले हामीले गरेको आन्दोलन सरकारको विरुद्धमा होइन, हामीले हाम्रो पहिचान झल्किने गरी ३ नम्बर प्रदेशको नाम नेवा–ताम्सालिङ राख्न सरकार समक्ष सुझाव दिनका लागि आजको यो शान्तिपूर्ण आन्दोलन गरेका हौँ’ उनले भने, ‘हामीले गरेको यो आन्दोलनलाई सरकारले कमजोर ठान्यो भने त्यसको परिणाम राम्रो हुने छैन, हाम्रो जनयुद्ध र जनआन्दोलनका सहिदहरुको चिहान खोतलेर सिंहदरबारभित्र ल्याउन नपरोस् ।’ निरन्तर रुपमा पहिचानवादीहरु विभिन्न आन्दोलनमा सहभागी भएता पनि उनीहरुको अधिकार पहिचानलाई राज्यले बेवास्ता गरेकोप्रति नेता दोङले असन्तुष्टि पोखे । कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, पूर्व सांसद्, चन्द्र महर्जन, पूर्वराज्यमन्त्री दिलमान पाख्रिन, यशोदाकुमारी लामा लगायतले ३ नम्बर प्रदेशको नामकरण नेवा–ताम्सालिङ नगरे आफूहरु सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । राजधानीस्थित माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा नेवार र तामाङका अधिकारवादीहरुको बाक्लो उपस्थिति थियो ।

मन्त्री विष्टको खुलासाः लाखौँ युवालाई रोजगारी दिने कार्यक्रम सार्वजनिक हुँदै

सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्बन्धी छलफलमा श्रममन्त्री गोकर्ण विष्टले काम गर्न सक्ने उमेर समूहको जनशक्तिलाई नेपालभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकारले नयाँ ढङ्गको अभियान शुरु गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले युवालाई केन्द्रित गरेर ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम सबै नेपाली युवाले गौरव महसुस र साझा कार्यक्रमका रुपमा अपनत्व गर्ने गरी सञ्चालन गरिने छ ।” रोजगार कार्यक्रम अमुक विचार, पार्टी, आस्था, मान्यताको दायराभित्र सीमित नरहने दाबी गर्दै उहाँले आम नेपाली युवालाई समान र निश्पक्ष अवसर पैदा गर्ने गरी सञ्चालन हुने बताउनुभयो । सबै युवाको क्षमता, प्रतिभा, सीप जोश जागर विकासमा पर्याप्त उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउँदै भन्नुभयो, “सबै नेपाली युवाले साझा कार्यक्रम र गौरव महसुस गर्ने गरी कार्यक्रम सञ्चालन गरिन्छ ।” श्रम बजारको दायरालाई फराकिलो पार्दै रोजगारीका अवसरलाई प्रशस्त बनाइने बताउँदै उहाँले श्रमिकलाई दक्ष र सीपयुक्त बनाइ श्रमिकको उत्पादकत्व वृद्धि गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । सीपविनाको जनशक्ति वैदेशिक रोजगारीमा नजाने गरी संरचना निर्माणको तयारीमा सरकार जुटेको जानकारी दिँदै मन्त्री विष्टले सम्पूर्ण जनशक्तिलाई सीप प्रदान गर्न विशेष कार्यक्रम ल्याइने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालभित्रै नेपालको जनशक्तिलाई रोजगारी दिने सरकारको प्रमुख प्राथमिकता हो । नेपाल विकासको प्रारम्भिक अवस्थामा छ, विकासका अभियान अगाडि लैजाँदा लाखौँ जनशक्ति मुलुकभित्रै उपयोगमा आउन सक्छ ।” प्रारम्भिक चरणमा एक लाखलाई रोजगारी उपलब्ध गराउने जानकारी दिँदै मन्त्री विष्टले चालू आव भित्रै लाखौँ व्यक्तिलाई रोजगार प्रदान गर्न कार्यक्रम सार्वजनिक गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कतिको सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अध्ययनको तयारीमा लागेको छौँ । हामी यसको अन्तिम चरणमा छौँ, रोजगारीको दुनियाँमा लाखौँ युवालाई रोजगारी दिने गरी कार्यक्रम सार्वजनिक गर्छौं ।” शिक्षित बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउनु चुनौतीपूर्ण विषय रहेको बताउँदै उहाँले सानो नीतिगत निर्णयले मात्रै लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्नसक्ने सम्भावना देखिएको जानकारी दिनुभयो । विकास बजेटको कम्तिमा २० प्रतिशत अनिवार्य रोजगारी सिर्जनाका लागि खर्च गर्ने गरी व्यवस्थित प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो । मन्त्री विष्टले भन्नुभयो, “श्रम व्यक्तिको जीवन, भविश्य, समृद्धिको महत्वपूर्ण आधार हो, श्रमलाई एकदिवसीय अभियानका रुपमा मनाउने होइन, हरेक नागरिकको जीउने कलाका रुपमा श्रमलाई सम्मान गर्ने गरी अभियान चलाउने छाँै ।” नेपालमा सजिलो काम नगर्ने तर विदेशमा जोखिमपूर्ण काम मनोवृत्तिलाई बदल्न गरी मरुभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी हात नेपाल बदल्न सक्छन् भन्ने विषयलाई पुष्टि गर्नेगरी रोजगारीका अवसर सिर्जना गरिने बताउनुभयो । गरीबी र बेरोजगारी नेपालको प्रमुख चुनौती रहेको बताउँदै उहाँले बेरोजगारीका कारण युवा जनशक्ति बाँच्नकै लागि विदेशिन बाध्य भएको उल्लेख गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले कार्यक्रमको प्रभावकारीरुपमा कार्यान्वयन गर्न सबै पक्षको सहयोगको खाँचो औँल्याउनुभयो ।

कोष्टारिकामा प्रधानमन्त्रीले पाए डाक्टरको उपाधि

कोष्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यावारिधि उपाधी प्रदान गरिने भएको छ । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामासंयुक्त राष्ट्र महासभाको कार्यक्रम सकेर प्रधानमन्त्री औपचारिक भ्रमणको सिलसिलामा आईतबार सान होजेतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीले सान जोसमा सान जोसमा शान्ति विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रमसमेत रहेको छ। त्यहाँ उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने लागेको विश्वविद्यालयले जनाएको छ। संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन न्यु योर्क पुगेका उनी उतैबाट कोस्टारिका पुगेका हुन्।कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली कोस्टारिका पुगेका हुन्। प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू कोस्टारिका पुगेका हुन्।  

बलात्कारदेखि एसिड आक्रमण रोक्न संघसंस्था अघि सर्न मेयर रेणुको आग्रह

चितवन, असोज १४ । भरतपुर महानगरपालिका प्रमुख रेणू दाहालले स्पाइनल इञ्जुरी सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम स्पाइनल इञ्जुरी समस्यामा रहेकाका लागि अत्यन्त महत्वपूर्ण हुने बताएकी छन् । रोटरी क्लब अफ चितवनको आयोजनामा भएको क्षमता अभिवृद्धि कार्यक्रममा उनले यसबाट पीडितहरुलाई दैनिक जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गरेकी हुन् । तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्दै दैनिक जीवनयापन सहज बनाउन प्रमुख दाहालले आग्रह गरिन् । उनले देशकै मध्य भागमा रहेको मेडिकल सिटीको रूपमा अगाडि बढिरहेको भरतपुर महानगरपालिकामा यो सेन्टर बन्नु सकारात्मक भएको घारणा राखेकी थिइन् । महानगरपालिकाले गत जेठ ६ गते रोटरी क्लबलाई स्पाइनल इञ्जुरीको समस्याहरुलाई पुनर्स्थापना केन्द्र सञ्चालनका लागि १ बिघा जग्गा दिने निर्णय गरी यस सम्बन्धमा दुई पक्षीय हस्ताक्षर समेत भइसकेको छ । महानगर प्रमुख दाहालले आवश्यक साधन स्रोतको समायोजन गरी छिटोभन्दा छिटो अत्याधुनिक सुविधा सम्पन्न स्पाइनल रिहाबिहेसन केन्द्र सञ्चालन गरी सोसम्बन्धी पीडितहरुलाई प्रभावकारी सेवा दिन आग्रह गरिन् । भरतपुर महानगरपालिका मानवीय र सामाजिक सेवामा पनि उत्तिकै सक्रियतापूर्वक लागिरहेको भन्दै प्रमुख दाहालले यो रिहाबिटेसन सेन्टर सञ्चालनमा आवश्यक सहयोग र समन्वय महानगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भरतपुर महानगरपालिका अपाङ्गमैत्री महानगर निर्माणको दिशामा लागि रहेको बताउँदै रोटरी क्लबले निर्माण गर्ने पुनर्स्थापना सेन्टर सहयोगी बन्ने विश्वास प्रमुख दाहालले व्यक्त गरिन् । हाल समाजमा महिला हिंसा, दुर्व्यवहार एसिड आक्रमण जस्ता अमानवीय घटनाहरु बढिरहेका छन् । यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्न यस्ता सामाजिक संघसंस्थाहरुले विशेष भूमिका खेल्नुपर्ने उनको धारणा थियो । महानगर प्रमुख दाहालले भनिन्, ‘रोटरीले धेरै सामाजिक क्षेत्रमा काम गरेको छ जस्तै रोटरी करुणालयमा वृद्धवृद्धा, यो स्पाइनल, शिक्षाको क्षेत्रमा कार्डियाक सेन्टर बन्दै छ भन्ने सुनेको छु । समाज सेवा र सुधारमा अघि बढोस् भन्दै यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।’ तालिममा स्पाइनल इन्जरी पीडितहरू २२ जना चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरू सहभागी हुनेछन् । तालिममा स्पाइनल इन्जरीबाट जोगिने उपाय र सहज जीवनयापनसम्बन्धी सहजीकरण गरिने रोटरी क्लब अफ चितवनका अध्यक्ष कपिलबाबु खनालले जानकारी दिए । तालिम आइतबारदेखि बिहीबारसम्म चल्ने छ । चितवनमा रहेका ५ वटा रोटरी क्लब, स्थानीय एवं बाह्य दाताहरूको सहयोगमा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको एक विगाह जमिनमा निकट भविष्यमै ५० सैयाको सुविधा सम्पन्न नमुना स्पाइनल इन्जरी पूर्न स्थापना केन्द्र सञ्चालन गर्न गइरहेको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा वडा नं.३ का अध्यक्ष चन्द्रमित्र पण्डित, रविन्द्र पिया, उत्तमलाल चुकेलगायतले स्पाइनल इन्जरी र उनीहरूको पुनर्स्थापना सम्बन्धी धारणा राखेका थिए । सो अवसरमा स्पाइनल इन्जरीका बिरामी समिर ठकुरी, गणेश बस्नेतले ‘यो माया भन्ने चीज रहेछ । अनौठौ’ गीतमा व्हील चियरमा बसी नृत्य प्रस्तुत गरेका थिए । उनीहरू रूखबाट लडेर मेरूदण्ड नचल्ने समस्याबाट पीडित छन् ।

मालपोत कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड

हेटौँडा, असोज १४ । थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् । पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान ११ः२० बजे करीब ७ जना मुखुण्डो र चस्मा लगाएर आएका समूहले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका हुन् । कार्यालय तोडफोड गर्न थालेपछि आफू भागेर प्रहरीलाई खबर गर्न पुगेको कर्मचारी रामचन्द्र लामाले बताए । उनीहरूले कार्यालयमा रहेको चार थान कम्प्युटरका साथै टेबुल, कुर्ची र दराज समेत तोडफोड गर्नुका साथै कार्यालयको फाइल छरपष्ट पारिदिएका थिए । करीब पाँच मिनेट भित्रै तोडफोड गरी आक्रमणकारी थहानगर–४ किटेनीतर्फ भागेको अर्का कर्मचारी नारायण दहालले बताए । घटनास्थलबाट प्रहरीले एक थान मोबाइल फेला पारेको र उनीहरूको खोजीकार्य भइ रहेको प्रहरी प्रमुख ध्रुवप्रसाद शिलवालले बताए । रासस

विवाहपञ्चमी भब्यरूपले मनाउने तयारीमा

जनकपुरधाम, असोज १४ । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मंसिर २६ गते यहाँ हुने भगवान सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउन योजना बनाउन आग्रह गरेका छन् । जानकी मन्दिरद्वारा आइतबार यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री साहले सो आग्रह गर्दै उनले सीताराम विवाह पञ्चमी महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको धारणा राखे । मन्त्री साहले साताव्यापि महोत्सवलाई भब्यता दिन जनकपुरधाममा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने अवधारणाबारे छलफल भई रहेको छ भने । उनले प्रदेश सरकारले महोत्सव भव्यरुपमा मनाउन रू ३० लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । गोश्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएका शिव धनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा नै उपस्थितिको विश्वासले हर्ष र उल्लाससाथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुुने गरेका छन् । मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन भएकाले सीताराम विवाह महोत्सवमा प्रतिकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ । जानकी मन्दिरका सह–महन्त रामरोशन दासका अनुसार महोत्सवमा जनकपुर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा मनाइन्छ । छलफल कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह र सुरिता साह , जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतले महोत्सवलाई मिथिलाको पहिचानअनुरूप मनाउनुपर्ने धारणा राखेका थिए। रासस