नेकपा विवाद : गाँठो फुकाउँदै प्रचण्ड
काठमाडौं, असोज २३ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न थालेपछि अध्यक्ष दाहालकै पहलमा आज भेटवार्ता भएको हो ।
ललितपुरस्थित नेकपाका नेता कृष्णलाल महर्जनको निवासमा भएको भेटवार्तामा दुई नेताबीच पार्टीभित्रका समस्या, सरकारले गरेका कामलगायतका विषयमा छलफल भएको बताइएको छ ।
अध्यक्ष दाहालसँगको भेटवार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालन पद्धतिमा सुधार गर्नुपर्ने अवस्था देखिएको औल्याएका थिए । साथै उनले सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
उनले पार्टी एकीकरण प्रक्रिया अझै टुंगि नसकेको अवस्थामा सबै कार्यकर्ताको भावनालाई बुझेर मात्र नेतृत्वले निर्णय गर्नुपर्नेमा जथाभावी निर्णय हुन थालेको भन्दै असन्तुष्टि जनाएका थिए ।
जवाफमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका आन्तरिक विवादलाई छलफलबाटै टुंगो लगाइने बताएका थिए । उनले पार्टीको सचिवालय बैठकमै सबै विषयमा छलफल गरेर विवाद टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।
दसैंका लागि १६ हजार भेडा-च्याङ्ग्रा खरिद
मुस्ताङ, असोज २३ । दशैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौं लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए। दशैंका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौं लैजाने भएको छ । पाँच सय ५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले बताए । थप ४५० च्याङग्रा खरिद गरेर पठाउने तयारी भइरहेको छ । मुस्ताङमा एउटा च्याङग्रा रु १७ हजारदेखि २२ हजार तथा भेडा १४ हजारदेखि १७ हजार रुपैयाँका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो ६५० का दरले बिक्री गर्ने जनाएको छ । -रासस
प्रधानमन्त्रीको दुखेसो- ‘मलाई कसैले पनि टेरेनन्’
काठमाडौं, असोज २३ । राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ।’ राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए। प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो। त्यसैले समर्थन फिर्ता लिने कुरै नगरौं।’ अन्नपूर्ण पोष्टमा खबर छ ।
२०७ रोपनी जग्गामा राष्ट्रपति कार्यालयको नयाँ भवन बन्ने
काठमाडौं, असोज २३ । राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ ।हाल राष्ट्रपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यालय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरू अहिलेको राष्ट्रपति कार्यालयमा कमी देखिएकोले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यालय निर्माण हुन लागेको जानकारी दिए । राष्ट्रपति कार्यालयको नयाँ भवन निर्माणका लागि मन्त्रिपरिषद्ले समेत निर्णय गरिसकेको जनाइएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसारको राष्ट्रपति कार्यालय निर्माण प्रक्रिया यथाशीघ्र सुरु गर्न राष्ट्रपति कार्यालयबाट निर्देशन समेत आइसकेको सहसचिव मानन्धरले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति कार्यालयको २०७ रोपनी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी जग्गामा राष्ट्रपति कार्यालयका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार र संरचनासहितको कार्यालय निर्माण गरिने छ । अबको डेढ वर्षभित्र अहिलेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा खाली हुने जानकारी समेत उनले दिए ।, यो खबर आजकोगोरखापत्र दैनिकमा छ ।
काठमाडौंमा ५ सय पेशेवर चोर सक्रिय
काठमाडौं, असोज २३ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति पेशेवर चोरका रुपमा सक्रिय छन् । पछिल्लो तीन बर्षमा देशभर ५ हजारभन्दा बढी चोरीका घटना दर्ता भएकोमा १ हजार ५ सयभन्दा बढी चोरी काठमाडौं उपत्यकामा भएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको अभिलेखमा उल्लेख छ । श्रृङ्खलावद्ध चोरीका घटनामा अदालतबाट धरौटीमा छुटेका तथा कैद सजाय भुक्तान गरेका व्यक्ति संलग्न रहँदै आएका छन् । रातीभन्दा दिउँसो बढी चोरी हुँदै आएको छ । चोरी कार्यमा १६ बर्ष मुनिका किशोररकिशोरीको संख्या बढ्दै छ । कारोबार दैनिकमा खबर छ ।
सीके राउतलाई चलाइयो राज्यविरुद्ध अपराधको मुद्धा
रौतहट, असाेज २२ । सीके राउतलाई जिल्ला प्रहरी गौरले राज्यविरुद्धको अपराधको मुद्दा चलाएको छ । उनलाई सोमबार प्रहरीले अदालत पेस गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ । राउतलाई ४ दिन म्याद थपेर प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । राउतसँगै उनका समर्थक चारजनालाई पनि मुद्धा चलाइएको छ । देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डा. राउतलाई प्रहरीले आइतबार रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको थियो । अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो । उनीसँगै उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि आइतबार प्रहरीले पक्राउ गरेको थियो । गएको असोज ३ गते प्रशासनलाई चुनौती दिँदै सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा संविधान दिवस विरोधी कार्यक्रम गरेका थिए । स्वतन्त्र मधेसको अभियानमा लागेका डाक्टर सिके राउत नेतृत्वको मधेस गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुई दिन अघिदेखि नै कार्यकर्तालाई धडपकड सुरु गरेको थियो । कडा सुरक्षाका बाबजूद मधेस गठबन्धनका सयौँ कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका थिए भने प्रहरीको विशेष खोजी सूचीमा रहेका गठबन्धका संयोजक सिके राउत रामानन्दचोकमा प्रहरी प्रशासनकै अगाडि कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका थिए । राउतको त्यो अभिव्यक्ति असामान्य भएको र सरकारले राउतलार्इ पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएको थियो । -रासस
राजधानी जंगलमा तोकिएको भन्दै अधिवक्ता जोशीद्वारा सर्वोच्चमा रिट
कैलाली, असोज २२ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी जंगलमा राजधानी वनाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरीको जंगलमा राजधानी वनाउने प्रदेश सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट निवेदन परेको हो । धनगढी उपमहानगरपालिका वडा नम्वर ५ स्थायी घर भएर हाल काठमाडौं महानगरपालिका वडा नम्वर २९ मा वस्दै आएकी अधिवक्ता देवीकुमारी जोशीले नेपाल सरकार, प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र नामाकरण र राजधानी वनाउन गठित समितीका संयोजकलाई विपक्षी र प्रतिवादी वनाएर रिट निवेदन दर्ता गरेकी छन् । अन्तर्राष्ट्रिय महत्वको जैविकमार्ग र चुरे भावर क्षेत्रको वन मासेर राजधानी बनाउने प्रदेश सरकारको निर्णय विरुद्ध ‘उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरी पाउँ’ भनेर ३४ वर्षीया अधिवक्ता जोशीले रिट निवेदन दर्ता गराएकी हुन् । अधिवक्ता जोशीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरवार काठमाण्डौंलाई विपक्षी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभामुख अर्जुनबहादुर थापा र राजधानी तथा नामाकरण सम्बन्धमा गठित विशेष समितिका संयोजक सांसद् तारा लामा तामाङ्गलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दर्ता गरिएको छ । दिनेश खबरबाट
प्रहरीलाई गृहमन्त्रीको निर्देशन- तीन महीनाभित्र परिणाम देखिने गरी काम गर्नुस्
काठमाडौं, असाेज २२ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिए । उनले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिनसमेत बलका अधिकारीहरुलाई सचेत गराए । राज्यले बललाई सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै यो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न गृहमन्त्री बादलले निर्देशन दिए । गृह मन्त्रालयले मदिरा नियन्त्रण र लागूऔषध निषेध अभियान शुरु गरेको जानकारी दिँदै गृहमन्त्री बादलले यो अभियानमा प्रहरी बलले समेत विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । देशमा अस्थिरता निम्ताउन खोज्ने तत्वको समेत निगरानी बढाउन उनले बलका पदाधिकारीलाई निर्देशन दिए । -रासस
गुण्डा नाइके बस्नेतलाई थुनामुक्त गर्न दायर गरेको निवेदन खारेज
काठमाडौं, असोज २२ । सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले आज बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो । यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशानुसार सर्वोच्च अदालतमा उपस्थित भएपछि बस्नेतको निवेदन खारेज गरेको हो । ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई मुस्ताङ कारागार पठाइएको थियो । बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भारतबाट पक्राउ गरेर गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा रोखेको थियो । गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो । -रासस
पाँच दिनभित्र उखु किसानलाई बक्यौता नदिए उद्योगीलाई कारवाही हुन्छः सरकार
काठमाडौं, असाेज २२ । उखु उत्पादक किसानले बक्यौताबापत पाउनुपर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न सरकारले उद्योगीहरूलाई निर्देशन दिएको छ । अर्थ, कृषि तथा पशुपन्छी विकास, उद्योग तथा आपूर्ति, वन तथा वातावरण र सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिवको सोमबार सिंहदरबारमा बसेको बैठकले सो निर्देशन दिएको कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनालले जानकारी दिए । उक्त अवधि भुक्तानी नदिने उद्योगीलाई कारवाही गर्ने चेतावनीसमेत सरकारले दिएको छ । चिनी मिलले भुक्तानी नदिएपछि नेपाल उखु उत्पादक किसान सङ्घ, नेपाल उखु उत्पादक महासङ्घ, किसान हकहित समितिलगायतले आइतबार पत्रकार सम्मेलन गरी संयुक्त रुपमा सडक आन्दोलन गर्ने चेतावनी दिएका थिए । उद्योगले किसानलाई अपूरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको किसानको गुनासो छ ।कृषि मन्त्रालयको सिफारिशमा गत वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उखु किसानलाई उद्योगले ४७१ रुपैयाँ २८ पैसा र नेपाल सरकारले अनुदानबापत ६५ रुपैयाँ २८ पैसा गरी प्रतिक्विण्टल ५३६ रुपैयाँ ५६ पैसा दिने निर्णय गरेको थियो । निर्णय भएको ६ महीनासम्म पनि आफूहरुले भुक्तानी नपाएको भन्दै आन्दोलनको विकल्प नभएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ । हालसम्म उद्योगीले रु दुई अर्ब र सरकारले अनुदानबापत रु एक अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नुपर्ने महासङ्घको दाबी छ । उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी रणनीति तयार गर्नका लागि आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । यसैबीच सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा चिनी बेच्ने व्यापारीलाई कारवाही गर्ने तयारी गरेको छ । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो रु ७० तोकेको छ । व्यवसायीले चिनीमा मनलाग्दो पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो । गत बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र सरोकारवाला मन्त्रालयका पदाधिकारीको संयुक्त बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो रु ७० भन्दा बढी हुन नदिने निर्णय गरेको थियो । सरकारले चालू आवमा एक लाख मेट्रिक टनभन्दा बढी चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको छ । सरकारको सो निर्णयपछि व्यापारीले चिनीको कालोबजारी गरी बढी मूल्यमा बिक्री वितरण गरिरहेको उपभोक्ताको गुनासो छ । गत आर्थिक वर्षमा भारत, पाकिस्तानलगायत मुलुकबाट सस्तो मूल्यमा चिनी आयात भएकाले स्वदेशी उत्पादन गोदाममा थन्काउनु परेको भन्दै नेपाली उद्योगीले गुनासो गरेपछि सरकारले चिनी आयातमा कोटा प्रणाली तोकेको थियो । -रासस
निर्मला हत्या प्रकरणः अनुसन्धानमा बाधा पुर्याउनेलाई निषेध गर्न निर्देशन
काठमाडौं, असाेज २२ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्त हत्याको अनुसन्धानका क्रममा बाधा पार्नेलाई निषेध गर्न निर्देशन जारी गरेको छ। आयोगले नेपाल सरकार एवं गृहमन्त्रालयलाई सोमबार राजधानीमा ८ बुँदे निर्देशन जारी गर्दै हत्याकाण्डको अनुसन्धानमा जो कसैले पनि बाधा, व्यवधान गर्ने अवस्था नआओस् भनी सतर्क गराएको छ । आयोगको निर्देशनको बुँदा ३ मा जघन्य अपराधहरु भइसकेपछि विलम्ब नगरी यथाशक्य शीघ्र अनुसन्धान सम्पन्न गराई दोषी पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन अनुसन्धानमा स्थानीय, नागरिक समाज, सञ्चारमाध्यम तथा स्वयं पीडित पक्षको समेत साथ सहयोग आवश्यक हुने हुँदा अनुसन्धानमा बाधा पर्ने गरी कोही कसैले पनि अनावश्यक दबाब सिर्जना गर्ने परिस्थिति सिर्जना गर्न नहुने उल्लेख छ । आयोगले पन्त हत्या प्रकरणमा प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनामाथि गोली प्रहार गर्ने प्रहरीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न तथा घाइते भएकाहरूको प्रभावकारी निःशुल्क उपचार गर्न पनि निर्देशन जारी गरेको छ । आयोगद्वारा जारी ८ बुँदे निर्देशन गृहमन्त्रालयलाई बोधार्थ पठाइएको छ ।
बामदेव गौतमको आरोप- पूर्व आइजिपी खरेलले झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजे
काठमाडौं, असाेज २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन् । सोमबार आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत २० लाख रुपैयाँको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताए । ‘खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरे ? २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ’ नेता गौतमले भने । ‘आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झुटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ?’ खरेलले आइजिपीबाट हटाएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको नेता गौतमको आरोप छ । खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाएको स्पष्ट पारे । ‘मलाई खरेललाई हटाउने चाहना थिएन । ‘म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भनेका थिए, तर, खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव देखिएन । अनि बाध्य भएर पार्टीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा खरेललाई हटाएको हुँ ।’ नेता गौतमले भने । खरेललाई नहटाएको भए स्थानीय तहको निर्वाचन हुनै नसक्ने उनको दाबी छ । -रासस
काङ्ग्रेस केन्द्रीय समितिद्वारा सुदूरपश्चिमको राजधानी पुनःविचार गर्न माग
काठमाडौँ, २२ असोज (रासस) प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ । काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी र भू तथा वन माफियाको चलखेलबाट प्रभावित भएको आरोप लगाएको छ । केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले उक्त निर्णयले सो स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अर्बाै लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने निष्कर्ष निकालेको छ । काङ्ग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयमार्फत आज सो सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गरेको हो । वातावरणीय दृष्टिकोणलेसमेत वनक्षेत्र नाश हुने, वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने, चुरेको फेदीमा अवस्थित सो क्षेत्रमा शहर निर्माण गर्दा प्राकृतिक प्रकोप बढ्ने र तल्लो तटीय क्षेत्रमा बाढी, भू–क्षयलगायत मरुभूमीकरणको समस्या बढ्ने जोखिम रहेको भन्दै काङ्ग्रेसले चिन्ता व्यक्त गरेको छ । तसर्थ बैठकले राजधानी गोदावरी नपा– २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनःविचार गर्न माग गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकले चाडपर्वका बेला आमनागरिकको मुख्य चासो हुने शान्ति सुरक्षा र उपभोग्य वस्तुको सुपथ मूल्य कायम गर्न सरकारले नसकेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाइ महीना पुगिसक्दा पनि कारवाहीको दायरामा ल्याउन नसक्नु दुःखद् भन्दै शान्ति सुरक्षा कायम गर्न र आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न सरकारलाई सचेत गराएको छ । काङ्ग्रेसले नेपाल विद्यार्थी सङ्घको सदस्य बन्ने उमेरको हदबारे सङ्घको ११औँ महाधिवेशनबाट पारित विद्यमान व्यवस्थाको ३२ वर्षे प्रावधानलाई यथावत् राख्ने निर्णय गरेको छ । नेविसङ्घको विधानमा रहेको अन्य व्यवस्थाका सन्दर्भमा आगामी असोज २५ गते विहान ११ बजे बस्ने बैठकले निर्णय गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
चार वटा समिति सभापतिद्वारा सपथ ग्रहण
कैलाली, असोज २२ । सुदूरपश्चिम प्रदेशसभाका विभिन्न चारवटा समितिका सभापतिहरुले सपथ लिएका छन् । धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा आयोजित एक कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले समितिका सभापतिहरुलाई शपथ गराएका हुन् । अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालु चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बमले शपथ लिएका हुन् । कुँवर, जोशी र चौधरी नेकपा तथा बम नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् । चारओटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए ।
महाकालीमा पुल निर्माण गर्न भारतलाई अनुमति
दार्चुला, असोज २१ । जिल्लाको व्यास गाउँपालिकाका ४ ठाउँमा महाकाली नदीमा नेपाल–भारत जोड्ने काठेपुल निर्माण गरिने भएको छ । दुवै देशका स्थानीय बासिन्दाको मागका आधारमा काठेपुल निर्माण हुन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतीय क्षेत्रमा सडक निर्माणको काम चालु हुँदा दुवै देशका बासिन्दाले हिँड्ने पैदल मार्ग अवरुद्ध भएकाले महाकालीमा काठेपुल निर्माण गर्न माग गरिएको थियो । भारतीय पक्षले लखनपुर र नजांग तथा नेपाली पक्षले दुम्लिङ र मालमामा अस्थायी काठेपुल निर्माणका लागि माग गरेका थिए । पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत उत्तरी क्षेत्रका बासिन्दाको आउजाउ तथा मानसरोवर जाने भारतीय तीर्थयात्रीको सहजताका लागि भारतीय पक्षले अस्थायी काठेपुल बनाउन माग गरेको थियो । स्थानीयको समस्या मध्यनजर गरी मन्त्रालयबाट समेत अनुमति आइसकेपछि पुल बनाउन सकिने विषयमा भारतीय प्रशासनलाई जानकारी गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । उक्त समस्या दुवै देशका बासिन्दाको साझा समस्या भएकाले अस्थायी रूपमा पुल निर्माण गर्न भारतीय पक्षलाई अनुमति दिइएको उनले बताए । भारतीय पक्षले लखनपुरदेखि माथि लिपुलेकसम्म सडक निर्माण तीव्र गतिमा गरिरहेको हुँदा उसका क्षेत्रमा पैदल यात्रा गर्न नसकिएपछि पुल निर्माणका लागि अनुरोध गरेको थियो । योसँगै भारतीय व्यापारीका चीनबाट यो क्षेत्र हुँदै आउने मालसामान ढुवानी सहज हुनेछ । यस्तै व्यास गाउँपालिका १ र २ वडाका बासिन्दा सदरमुकाम आवतजावत गर्न र व्यासी सौका समुदायको बसाइँसराइ मध्यनजर गर्दै भारतीय पक्षसँग दुई ठाउँमा अस्थायी काठेपुल निर्माणका लागि नेपाली पक्षबाट पनि माग भएको थियो । कान्तिपुरमा खबर छ ।
आज नेकपाको सचिवालय बैठक, के विषयमा हुँदैछ छलफल ?
काठमाडौं, असोज २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेकाले सचिवालय बैठक बस्न लागेको हो । प्रदेश पदाधिकारीको चयन तथा सरकारका कामबारे नेता माधवकुमार नेपालले दुई अध्यक्ष देश बाहिर भएका बेला संसद् तथा स्थायी समितिको भेला बोलाएर असन्तुष्टि व्यक्त गरेपछि नेकपाभित्र विवाद बाहि आएको थियो । दुई पार्टीका जिल्ला तथा जनवर्गीय संगठनको एकतामा समेत ढिलाइ भइरहेका बेला अमेरिका तथा सिंगापुर भ्रमणबाट फर्किएलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आइतबारका लागि सचिवालय बैठक बोलाएका हुन्। बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र तल्लोतहका समितिको एकताका विषयमा छलफल हुने जनाइएको छ। नेकपाभित्र पार्टीका तल्ला तहका समितिमा एकता हुँदा जिम्मेवारी कसले लिने भन्ने विषयमा पूर्व दुई समूह तथा ती समूहमा समेत आन्तरिक प्रतिस्पर्धाले तीन महिनाभित्र हुने भनेको एकता लम्बिँदै गएको छ। प्रदेश तहको जिम्मेवारी समेत स्थायी समितिमा नलगि दुई अध्यक्षले निर्णय गरी सचिवालय मार्फत टुंग्याएको भन्दै पार्टी भित्रै विरोध हुँदै आएको छ। दुई पार्टीको एकता घोषणा भएको लामो समय पुगिसक्दा समेत आधिकारीक निर्णय गर्ने वैद्यानिक निकाय स्थायी समितिको बैठक बस्न सकिरहेको छैन। पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्दै जाँदा पार्टीका शीर्ष तहदेखि तल्लो तहका नेताहरुसमेत एक अर्काको आलोचना तथा घोचपेचमा उत्रिने गरेका छन्। आइतबार बस्ने सचिवालय बैठकले पार्टीभित्र बढिरहेका असन्तुष्टि र पार्टी एकताका विषयमा महत्वपूर्ण निर्णय गर्ने नेकपाका नेताहरूले बताएका छन्। नेकपाका अध्यक्ष दाहालले शनिबार एक कार्यक्रममा बोल्दै सचिवालय बैठकले पार्टीभित्र देखिएका विवाद समाधानका लागि पहल गर्ने बताएका छन्। शनिबार दशैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले विवादका विषयमा सचिवालयमार्फत समाधान खोजिने जनाएका हुन्।

