नगरपालिकाको भवन बनाउन २ करोडको जग्गादान
वालिङ, कात्तिक ३ । आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला केही व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएपछि भिरकोट नगरपालिकाले नयाँ भवन बनाउने भएको छ ।
शुक्रबार शिलान्यास गरिएको उक्त भवनका लागि थानीय समाजसेवी गोविन्दकुमार कर्माचार्य, भीमलाल कर्माचार्य, फत्तबहादुर केसी, रुद्रबहादुर केसी र इन्द्रबहादुर केसीले रु दुई करोड मूल्य बराबरको वडा नं १ स्थित दार्सिङ भोर्लाकुनामा रहेको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । -रासस
सिन्धुलीको रिठ्ठेभीरबाट सुनकाेशीमा बस खस्दा १ काे मृत्यु, थप विवरण अाउँन बाँकी
सिन्धुली, असोज २६ । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मा रिठ्ठेभीरबाट ना ६ ख ९१२ नम्बरकाे यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १ जनाकाे मृत्यु भएकाे छ । सिन्धुलीकाे मरिन गाउँपािलकाबाट काठमाडाैँ अाउँदै गरेकाे बस दुर्घटनामा घाइते भएका ७ जना घाइतेकाे उद्दार गरि सिन्धुलीकाे सदरमुकाम लगिएकाे छ । उद्दारका लागि प्रहरी र स्थानीय खटिएका छन् । बसमा कति यात्रु सवार थिए भन्नेबारे थप विवरण आउन बाँकी छ ।
UPDATE : नुवाकोट बस दुर्घटनामा २ काे मृत्यु, ४४ जना घाइते
नुवाकोट, असोज २६ । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बा१ख ६३५६ नम्बरको यात्रुवहाक बस सूर्यगढी–५ फेदीबेशीमा दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । मृतक एक जना महिला एक पुरुषा भएपनि सनाखत हुन सकेकाे छैन । बस दुर्घटनामा ४४ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएकाे छ । अन्य घाइतहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनाकाे थप विवरण आउनै बाँकी ।
नवलपरासीकाे दाउन्नेमा सडक अवरुद्द, दसैँमा घर हिडेका यात्रु २२ घण्टादेखि अलपत्र !
काठमाडौं, असोज २६ । पूर्व–पश्चिम महेन्द्रअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक अवरुद्द हुँदा २२ घण्टादेखि यात्रुहरु अलपत्र परेका छन् । बिहीबार दिउँसो ३ बजे दाउन्नेको घिउखोलामा भुस बोकेको ट्रक राजमार्गमा पल्टिएर सडक अवरुद्द हुँदा जामका कारण यात्रुहरु अलपत्र परेका हुन् । हिजाेदेिख अवरुद्द भएकाे राजमार्ग अहिलेसम्म खुल्न सकेकाे छैन । दसैँकाे समयमा काठमाडाैँलगायत अन्य ठाउँबाट घर जान हिडेका यात्रु बाटाेमै अपलत्र पर्दा अाेक्राेसित बनेका छन् ।
उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिदैं
काठमाडौं, असोज २६ । दसैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन् । ‘दसैं लागेसँगै नीजि सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका छन्’, उनले भने । असोज २३ गते १२ हजार ६५५, असोज २४ गते १३ हजार ५५१ र असोज २५ मा १३ हजार १४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । बिहीबारसम्म एक लाख ३२ हजार व्यक्तिले टिकट बुकिङ गरेका छन् । महाशाखाले दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उपत्यकाको कलङ्की, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । -रासस
अख्तियारको काममा राजनीतिक गन्ध आउन दिन्नः प्रमुख आयुक्त घिमिरे
पोखरा, असोज २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उनले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिनेसमेत दाबी गरे । आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उनले अख्तियार आफ्नो क्षेत्राधिकारअनुरुप भ्रष्टाचार नियन्त्रणमा निरन्तर लाग्ने उल्लेख गरे । ठेक्का लिएपछि लामो समयसम्म आफ्नो नियन्त्रणमा लिने र काम नगर्ने प्रवृत्ति बढेकामा जोड दिँदै उनले त्यस्तालाई अनुसन्धानको दायरामा ल्याउने बताए ।राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गर्ने बताउँदै उनले ती योजनामा हुने भ्रष्टाचार नियन्त्रण गर्न आयोग लाग्ने उल्लेख गरे । अख्तियारमा वार्षिक २० हजारको हाराहारीमा उजुरी पर्ने गरेको र आयोगका कामको प्रभावकारिता बढाउन समयसापेक्ष तालीम प्रदान गर्ने गरिएको जानकारी दिए। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको र त्यसतर्फ अख्तियारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे । -रासस
मोटरसाइकलले ठक्कर दिदा ७ जना घाइते !
कञ्चनपुर, असोज २६ । जिल्लाको कृष्णपुर-५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्व-पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् । से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर-२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, २२ वर्षीय भगवानदास चौधरी, २० वर्षीय मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सीता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मोटरसाइकल चालक राजेन्द्र पालको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । सरसफाइ अभियान कृष्णपुर नगरपालिकाले नगर सरसफाइ अभियान थालेको छ । ‘नगर सफा राखौँ, जीवन स्वस्थ रहौं, कृष्णपुर नगरवासीको ऐक्यवद्धता, सरसफाइमा हामी सबैको प्रतिबद्धता’ नाराका साथ नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको हो । नगरपालिकाका प्रमुख कर्णबहादुर हमाल, उपप्रमुख रमिता वडायक, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाललगायतको टोली गुलरिया बजार सफाइमा जुटेको छ । -रासस
डेढ करोड बढी ठगेर रुपैयाँ दम्पती फरार
नवलपरासी, असोज २६ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-८ का एक दम्पती लाखौं रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौं रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशंकर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताए । सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई ३० लाख रुपैयाँ दिएका छन् । ‘सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई÷चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्’ पडित तिमिल्सिनाले भने । केही समय अघि घर बिक्री गर्नुभएका उनले कुनै प्रमाण नराखी रकम दिनुभएको छ । यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतीलाई २५ लाख रुपैयाँ दिएकी थिइन् । यस्तै अन्यको ५० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन् । सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताए । -रासस
नेकपाले वृद्धभत्ता पाँच हजार पुर्याएरै छाड्छः मन्त्री विष्ट
मेलम्ची, असोज २६ । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकप) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले मेलम्चीमा आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको बताए । मन्त्री बिष्टले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले मुलुकको विकास र समृद्धितर्फ सरकार अघि बढेको बताउँदै मेलम्चीस्थित जिरोकिलो जोड्ने बाटो यही वर्षभित्र कालोपत्रे गर्ने काम अघि बढाइने बताए । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले प्रदेश सरकारलाई आवश्यक कानून निर्माणको काम सम्पन्न भइसकेको र अब चाडपर्व सकिने बित्तिकै सार्वजनिक गरिने बताए । नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटा, झम्क नेपाल, डम्बर अर्याल, बालकृष्ण, मित्रलालचौलागार्इंलगायतले मुलुकको वर्तमान राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पारे । -रासस
काठमाडौंबाट चुनाव लड्ने वामदेवको सपना समाप्त
काठमाडौं, असोज २६ । नेकपा नेता वामदेव गौतम काठमाडौं–७ को सम्भावित उपनिर्वाचनबाट पछि हटेका छन् । केन्द्रीय सचिवालय बैठकमा उनको उम्मेदवारीसम्बन्धी प्रस्ताव विचाराधीन रहेकै वेला गौतम ‘ब्याक’ हुने निष्कर्षमा पुगेका हुन् । पार्टीभित्र र सामाजिक सञ्जालमा लगातार गौतमको उम्मेदवारी तयारीबारे नकारात्मक प्रतिक्रिया आउनेक्रम नरोकिएपछि पार्टीकै नेताहरू र शुभेच्छुकको सुझाबअनुसार गौतम पछि हटेका हुन् । महासचिव विष्णु पौडेलसहित उनीनिकट नेता–कार्यकर्ताले गौतम उम्मेदवार बन्ने तयारीबाट पछि हटेको पुष्टि गरेका छन् । ‘तपाईंहरूको सद्भावका लागि धन्यवाद । तर, अब काठमाडौं–७ बाट उम्मेदवार बन्ने च्याप्टर आजैबाट क्लोज्ड भयो,’ गौतमले त्यस क्षेत्रका प्रदेश सभा सदस्यहरूलाई टेलिफोनमार्फत भने, ‘मैले अहिलेको यी सबै सन्दर्भलाई सहज रूपमा लिएको छु ।’ उम्मेदवारीको विषयमा बिहीबार प्रदेश सभामा काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरूको भेला चलिरहेकै वेला गौतमले काठमाडौं–७ का प्रदेश सभा सदस्य वसन्त मानन्धरलाई एसएमएस गरेका थिए, ‘म उपचुनावमा उम्मेदवार बन्दिनँ, तपाईंहरूले रामवीर मानन्धरलाई सम्झाइदिनुहोला ।’ बैठक चलिरहेकै वेला वसन्तले सबैलाई जानकारी गराएका थिए । संसद् छिर्न काठमाडौं–७ को बाटो वामदेव गौतमको पहिलो रोजाइ होइन । डोल्पाका धनबहादुर बुढा, दैलेखका रवीन्द्र शर्मा, बैतडीका दामोदर भण्डारी, बाँकेका नन्दलाल रोकाया, प्युठानकी दुर्गा पौडेल र नवलपरासीका तिलक महतलाई राजीनामा गराउने प्रयास असफल भएपछि वामदेव राजधानी छिरेका हुन् । डोल्पालगायतकै क्षेत्रमा सांसदहरूले वामदेवलाई छोड्ने प्रारम्भिक सहमति दिए पनि शीर्ष नेताहरूबाट सकारात्मक सन्देश नपाएपछि पछि फर्किएका हुन् । वामदेवका लागि ठाउँ छाड्न सांसद रामवीर मानन्धर तयार भए पनि अध्यक्ष केपी ओलीसहित अधिकांश सचिवालय सदस्य विपक्षमा देखिए । झलनाथ खनाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले विपक्षमै अभिव्यक्ति दिए । उता, महासचिव विष्णु पौडेल पनि पछिल्ला विकसित घटनाक्रमबारे अनभिज्ञता जनाउँदै मौन बसे । वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेनन्, तर समर्थनमा बोल्न सकेनन् । प्रचण्डको साथ रहे पनि गौतमलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउने निर्णय गर्न कठिन भएकाले २३ असोजका लागि बोलाइएको सचिवालय बैठक २७ असोज हुँदै ४ र ५ कात्तिकका लागि सारियो । नयाँ पत्रिकामा खबर छ ।
दश महिनादेखि मनाङ जनप्रतिनिधिविहीन
काठमााडौं, असोज २६ । काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसद छिर्ने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ‘ख’ भने हालसम्म जनप्रतिनिधिविहीन छ । निर्वाचनको एक बर्ष नबित्दै कायम रहेका जनप्रतिनिधिलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्ने चर्चा चलिरहँदा मनाङ ख भने निर्वाचनयता रित्तै छ ।मनाङ ‘ख मा निर्वाचन त भयो तर त्यहाँबाट निर्वाचित प्रदेशसभा सदस्यले सपथग्रहण गर्न पाएनन् । गत बर्ष मंसिर १० गते मनाङमा निर्वाचन भएको थियो । निर्वाचन भएर मतपरिणाम घोषणा भए पनि त्यहाँबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे सपथग्रहण गर्नुअगावै कारागार पुगे । नागरिक दैनिकमा खबर छ ।
खानेपानी मन्त्रीद्धारा २ रुपैँयामै पानी पिउन पाइने ‘वाटर एटीएम’ को निरीक्षण
२५ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री मगरले एटीएमको निरीक्षण गर्नुभएको थियो । एटीएमबाट पानी झारेर उहाँले पानी पिउनुभएको थियो । यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिनुभयो । ललितपुरको सैंबु, भैंसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिएको थियो । वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गरिएको हो । उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ । उक्त एटीएममा दुई रुपैंयाको क्वाईन हाले पछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ । यस्तो खालको वाटर एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा मान्छेको चाप बढी भएको ठाउँहरुमा पहिलो चरणमा वाटर एटीएम राख्दै लगिने जानकारी दिनुभयो । यो वर्षभित्र २० वटा वाटर एटीएम राखिने बोर्डको भनाई छ ।
नेता खाँणको भविष्यवाणी- ‘आउँदो १० वर्षमा विश्वबाटै वामपन्थीको विलय हुन्छ’
बारा, असोज २५ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विश्वबाट चाँडै नै वामपन्थी विलय भएर जाने भविष्यवाणी गरेका छन् । बाराको पथलैयामा नेपाली कांग्रेस नगर कार्यसमितिले आयोजना गरेको खुल्ला रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँडले आउँदो दश वर्ष भित्रमा विश्वका कुनै पनि मुलुकमा वामपन्थी सरकार नरहने दावी गरे । उनले भने, ‘विश्वमै वामपन्थी सरकार रहदैन भने नेपालमा त झन टिक्ने कुरै छैन ।’ वनले ओली नेतृत्वको सरकार बोलीमा मात्र सीमित भएको आरोप लगाउँदै सरकारले हत्या हिंसा बलात्कार महंगी भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताए ।
चिनीको चरम मूल्यवृद्धि गराउन सरकारकै ठूलो चलखेल : लेखा समिति
काठमाडौं, असोज २५ । संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले चिनीको चरम मूल्यवृद्धि गराउन सरकारले ठूलो आर्थिक चलखेल भएको निष्कर्ष निकालेको छ । लेखराज भट्ट संयोजक रहेको उपसमितिले बिहीबार समितिलाई बुझाएको प्रतिवेदनमा सरकारी निकायकै मिलेमतोमा चिनीको चरम मूल्यवृद्धि गरिएको दावी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको हो । सरकारी निकायकै मिलेमतोमा ठूलो आर्थिक चलखेल गरेर चिनीको चरम मूल्यवृद्धि गरिएको देखिएकाले विस्तृत छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्ने सुझावसहितको प्रतिवेदनमा समिति पेश गरिएको उपसमितिका संयोजक भट्टले जानकारी दिए । उपसमितिले ५३ रुपैयाँ प्रतिकेजी पर्ने चिनीको मूल्यलाई दसैंको मुखैमा आएर प्रतिकेजी ७० रुपैयाँ पुर्याउने काम सरकारबाटै भएको ठहर पनि गरेको छ । चिनीलगायत दैनिक उपभोग्य वस्तुको बजार अनुगमनका लागि आवश्यक कर्मचारीहरुको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने सुझाव दिइएको छ । त्यसैगरी चरम मूल्यवृद्धि हुँदा पनि सम्बन्धित निकायलाई कारबाही हुन नसकेको निष्कर्ष निकाल्दै उपसमितिले त्यसको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहने गरी अधिकार सम्पन्न उपभोक्ता संरक्षण विभाग गठन गर्नुपर्ने आवश्यकता पनि औंंल्याएको छ । समितिका अर्का सदस्य हृदयश त्रिपाठीले चिनीको मूल्य एक्कासी बढाउन अर्थ मन्त्रालयको पनि हात रहेकोे उल्लेख गर्दै त्यसलाई सचेत गराउन ढिलाई गर्न नहुने बताए । चाडपर्वका बेला चिनीको मूल्य चरम रुपमा वृद्धि गरिएपछि सार्वजनिक लेखा समितिले सो समस्या समाधानका लागि आवश्यक सुझाव दिन भट्ट नेतृत्वको उपसमिति बनाएको थियो ।
नवरात्रीको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा
काठमाडौं, असोज २५ । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ । नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी जमरा राखेपछि बडादशैं शुरु भइसकेको छ । नवरात्रको पहिलो दिन अर्थात् प्रतिपदामा नवदुर्गा भवानीको शैलपुत्री स्वरुपको पूजा आरधना गरिन्छ । शैल भन्नाले हिमाल हो । हिमालयकी पुत्री पार्वतीको स्वरुपमा देवीले अवतार लिएको मानिन्छ । दुर्गा भवानीका नौवटा स्वरुपमध्ये शैलपुत्रीको स्वरुप एक हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ । दूर्गा कवच मन्त्र– प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति। चतुर्थकम् ।। पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च । सप्तमं कालरात्रीति।महागौरीति चाष्टमम् ।। नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।
महानिरीक्षक खनालद्वारा सबै प्रहरी अधिकृतलाई हाछेथुले जस्तै काम गर्न निर्देशन
काठमाडौं, असोज २४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ललितपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुको प्रशंसा गरेका छन् । ललितपुर ट्राफिक प्रहरीको नयाँ भवन उद्घाटन गर्दै महानिरीक्षक खनालले सबै प्रहरी अधिकृतहरुलाई हाछेथुले जस्तै काम गर्न निर्देशन दिएका छन् । अहिले प्रहरी संगठनमा निलम्बन र कारबाही चलिरहेको बेला हाछेथुले प्रशंशनीय काम भन्दै प्रशंसा गरेका छन् । ललितपुरमा हाछेतुको सक्रियतामा २ करोड १६ लाखको लगानीमा नयाँ ट्राफिक प्रहरी कार्यालय बनेको हो । १ सय ९८ जना नागरिकको सहयोगमा उक्त भवन निर्माण भएको हो भने यसको पहल हाछेथुले गरेका थिए । साथै आइजी खनालले प्रहरीमा व्यक्तिले गरेको गल्तीलाई लिएर संगठनकै बेइज्जत हुने गरेर नबोल्न समेत आग्रह गरेका छन्।

