सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट पुगे ‘गौरीफन्टा’ नाका
धनगढी, असोज २४ ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार झिसमिसे बिहानै गौरीफन्टा सीमा नाका पुगेका छन् ।
दशै नजिकिदै गर्दा दशै मनाउन घर फर्कनेहरु सीमामै लुटिने गरेको सर्वसाधारणको गुनासो बढेपछि मुख्यमन्त्री भट्ट बिहानै ६ बजे गौरीफन्टा नाका पुगेका हुन् । उनले भारतबाट आएका नेपालीहरुसँग सिमामा ब्यहोर्नुपरेका समस्याका बारेमा भेटेरै कुराकानी गरेका छन् ।
गौरीफण्टा नेपालीहरु आउने मुख्य नाका भएकाले रोजगारीका लागि भारत गएकाहरु अहिले घर फर्किने क्रम बढेको छ । घर फर्कने क्रममा भारतीय सिमा सुरक्षा बल र प्रहरीबाट अनावश्यक दुःख र लुटिने गरेका छन् ।
सो बारे मुख्यमन्त्री भट्टले सिमामा आउने नेपालीले बिभिन्न झन्झट र समस्या भोग्न नपरोस भन्ने उदेश्यले गौरीफन्टा सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल एसएसबीले थापना गरेको संयुक्त हेल्प डेस्कको बारेमा पनि जानकारी लिनु भएको छ ।
नेपालमा प्रवेश गर्दा पनि रिक्सा र अटोहरुले मनपरी भाडा लिने गरेका कारण नेपालीहरु निकै मारमा पर्ने गरेका छन् । मुख्यमन्त्री भट्टले रिक्सा र अटो चालकसंग पनि सो बारे कुराकानी गर्दै मनपरी भाडा नलिन पनि निर्देशन दिएका छन् ।
त्यसैगरी मुख्यमन्त्री भट्टले त्रिनगर प्रहरी चौकीमा भर्खरै स्थापना गरिएको मलेरिया परिक्षण उपचार तथा मरामर्श हेल्थ डेस्क र भन्सार कार्यालयको पनि निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा भन्सार कार्यालय प्रमुखलाई चोरीनिकासी र अवैध मालसामानको ओसारपसारलाई कडाईपूर्वक रोक्न निर्देशन दिए ।
दशैं मनाउन घर फर्कदैं गरेका नेपालीहरुले समस्या भोग्नु नपरोस भनी बुझ्न मुख्यमन्त्री भट्ट गौरीफन्टा नाकामा पुगेका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।
जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो बनाऊ : मुख्यमन्त्री गुरुङ
पोखरा, असोज २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताएका छन् । नेकपा कास्की जिल्ला कमिटीद्वारा विजयादशमी, शुभदीपावली, नेपाल संवत्, छठ, इद, लोसार एवं माघी पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रदेशका ११ जिल्लामा पार्टी संयन्त्र निर्माण गर्दै जनभावनाअनुरुप अघि बढिरहेको बताए । पार्टी सङ्गठनलाई वडा तहसम्मै व्यवस्थित गरी योग्यता, क्षमता, त्याग र रुचिका आधारमा जिम्मेवारी प्रदान गरिने उल्लेख गर्दै उनले विकास र समृद्धिका लागि क्रियाशील बन्न कार्यकर्तालाई निर्देशन दिए । संविधानको पूर्णरूपमा कार्यान्वयन गरी सङ्घीय संरचनाको सफलताका लागि जनस्तरसम्म पार्टीलाई पु¥याइने बताउँदै मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए । नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले सरकारले गरेका महत्वपूर्ण कामलाई स्थानीय तहसम्म पु¥याउन पार्टी कमिटी र जनप्रतिनिधि सङ्गठित भएर लाग्नुपर्ने बताए । नेकपा प्रदेश अध्यक्ष हितराज पाण्डेले पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा सङ्गठन निर्माण पहिलो प्राथमिकतामा रहेको बताए । पार्टी संयन्त्र कास्कीका सदस्य कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा दामोदर वैरागी र बखानसिंह गुरुङले चार वर्षभित्र जनताको पक्षमा काम नगर्ने जनप्रतिनिधिलाई पार्टीले कारवाही गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पनि उपस्थिति थियो ।
रुट परमिटबिनै सार्वजनिक सवारी साधनले जहाँसुकै जान पाउने
काठमाडौं, असोज २४ । दसैं यात्रालाई सजिलो बनाउन सरकारले आजदेखि सार्वजनिक सवारीसाधनलाई रुटपरमिट (इजाजत पत्र) खुला गरेको छ। अब असोज ३१ गतेसम्म बसलगायत यात्रुबाहक गाडीले जुनसुकै रुटमा चल्न पाउने छन्। दशैं मान्न काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जाने तथा विभिन्न स्थानबाट उपत्यका आउने यात्रुको यात्रालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए। यसअघि सार्वजनिक सवारीसाधनले रुटपरमिट अर्थात् इजाजत पत्रअनुसार तोकिएको रुटमा मात्र चल्न पाउँथे। प्रवक्ता उपाध्यायले भने, ‘आजदेखि असोज ३१ गतेसम्म रुटपरमिट लागू हुने छैन, सार्वजनिक सवारी साधनले जहाँसुकै जान पाउने छन्।’ यस्तै विभागले यो अवधि (असोज २४ देखि ३१ गतेसम्म) भित्र मालबाहक ठूला सवारीसाधनलाई काठमाडौं भित्रिन नदिने निर्णय गरेको छ। दसैंका बेला यस्ता सवारीसाधन सञ्चालन गर्दा यात्रुबाहक गाडीलाई समस्या पर्ने भएकाले यस्तो निर्णय गरिएको विभागले जनाएको छ। आजदेखि असोज ३१ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म मालबाहक ठूला गाडीलाई चल्न नदिने निर्णय भएको हो।
नेकपाको बैठक स्थगित, अर्को बैठक शनिबार
काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उनका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो । -रासस
मानन्धरकाे राजीनामाले वामदेवको मुहारमा चमक, भने- ‘नतमस्तक छु कमरेड रामवीर’
काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव लड्ने अब चाहिँ पक्का भइसकेको छ । धेरै जिल्लामा नजर लगाएका गौतम अन्तिममा काठमाडौंबाटै चुनाव लड्ने भएका हुन् । चुनाव लड्नका लागि उनको नजर डोल्पा, प्युठान हुँदाहुँदा सुदूरपश्चिमको बैतडी पुगेको खबर यसअघि सार्वजनिक भएका थिए । तर, त्यहाँका नेकपा नेताहरुले राजीनामा दिन आनाकानी गरेपछि बामदेव दिक्क भएका थिए । उनी चौरैबाट हार खाएर अक के गर्नेहोला त भन्ने मनस्थितीमा पुगका थिए । तर, हठात् उनको मुहारमा चमक छर्न आइपुगे काठमाडौं सातबाट निर्वाचीत नेकपाका सांसद रामबीर मानन्धर ! जब रविले बामदेवका लागि राजीनामा दिदैछु भनेर पत्रकार सम्मेलन गरे सायद नेता गौतमको खुट्टा भइमा थिएनन् होला । यसैको उदाहरण हो- बामदेवले आफ्नो व्यक्तिगत पेजमा राखेको रामबीरप्रतिको धन्यवादका शब्दगुच्छा ! नेता गौतमले मानन्धरलाई यतिसम्म भनेकि नतमस्तक छु कमरेड रामबीर मानन्धर बामदेवले अरु केके भने मानन्धरले राजीनामा घोषणा गरेपछि हेर्नुस् नतमस्तक छु कमरेड रामबीर मानन्धर , तपाईले आज पत्रकार सम्मेलन गरेर जुन अभिब्यक्ति दिनुभयो त्यो बिचार ले मेरो कद अझ उचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो । भोलीका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईले गरेको त्याग प्रति आँच आउन दिने छैन । पार्टीको गरिमालाई उचो राख्न र तपाईले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भुमिका र जिम्मेवारी जे जस्तो दिए पनी जनताको काममा संधैसँगै रहनेछौं ।
दसैंका मनाउन उपत्यकाबाट १० लाख बाहिरिए
काठमाडौं, असोज २४ । दसैं-तिहार मनाउन काठमाडौं उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मंगलबारसम्म करीव १० लाख जना उपत्यका वाहिरिएका छन् । सोमवारबाट दैनिक एक लाखको हाराहारिमा सर्वसाधारण काठमाडौंबाट वाहिरिन थालेका छन् । ‘त्यसअघि दैनिक ३०– ४० हजार बाहिरिन्थे तर सोमबारबाटै यो चाप बढ्यो,’ महाशाखा प्रमुख पन्तले भने । असोज २४ गते घटस्थापनासँंगै उपत्यकाका अधिकांस स्कुल कलेज बन्द भएसंँगै यो संख्या बढ्दै जाने उनको अनुमान छ । काठमाडौं उपत्यकाको मुख्य नाका नागढुड्गाबाट दैनिक २० हजारभन्दा बढी सवारी साधनले दैनिक आवत जावत गरिरहेका छन् । यो नाकाबाट वाहिरिने कुनै पनि गाडी रित्तो नभएको प्रहरीको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।
आजदेखि दसैं सुरु, घटस्थापनाको साइत ७ बजेर १५ मिनेटमा उत्तम
काठमाडौं, असोज २४ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ । नवरात्रमा नवदुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ । “दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”–धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष गौतमले भने । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । नवरात्र भनेर समेत चिनिने विजया दशमीसम्मको १० दिनमा यस वर्ष तिथिको घटवढ नरहेकाले नौ रात्रीकै छ । तिथिको घटबढ भएका वर्ष नवरात्र र १० दिनको समयमा फरक पर्छ । टीकाको साइत कात्तिक २ गते बिहान ९-५१ मा आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर चाड मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने यस वर्ष कटौती गरिएको छ । यस वर्ष दसैँको बिदा पनि असोज ३० गते फूलपातीदेखि कात्तिक ३ गते एकादशीसम्म दिइएको छ । -रासस
खाद्यपदार्थमा मिसावट हाल्ने जो–कोहीलाई कारबाही हुनुपर्छः कृषिमन्त्री
काठमाडौं, असोज २३ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि जेल हाल्ने बताएका छन् । त्यही भनेर सरकारले एक वर्षभरि दुध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको उनको भनाई छ । फोकस नेपाल नामक संस्थाले काठमाडौंमा मंगलबार गरेको समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको विकास अपरिहार्य विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री खनालले जनताको स्वास्थ्य माथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताए । मुख्य शहरमध्ये झण्डै ५० लाख मान्छेको बसोवास भएको काठमाडौंमा अखाद्य वस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको उनको भनाई छ । अनुगमन र कडाईपछि अहिले दुध ढुक्कले खान मिल्ने अवस्थामा पुर्याएको भन्दै मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताए । ‘अहिले नै म पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन, मन्त्री खनालले भने, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ । तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य बस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ ।’ अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा पानी फ्याक्ट्रिमा तालावन्दी गरिएको पनि मन्त्री खनालले जानकारी दिए । यस्तै उनले अहिले कृषि क्षेत्रको अवस्था दयनिय भएको पनि बताएका छन् । २ करोड ८० लाखको दुई तिहाई अर्थात झण्डै ६५ प्रतिशत मानिसले खेती गर्ने कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताहरुको प्राथमिकता आदि कारणले कृषि क्षेत्रको अवस्था दयनिय भएको उनको भनाई छ । ‘सामान्य गमलामा छर्केको भरमा आफूलाई पुग्ने धनियाँ उत्पादन गर्न सकिन्छ, मन्त्री खनालले भने, ‘तर हामी वार्षिक १३ करोडको धनियाँ विदेशबाट आयात गछौं ।’ त्यस्तै एकसय २५ देखि ३० अर्वको धान चामल आयात हुने गरेको छ । ‘कृषि प्राथमिकतामा परेन, यसलाई उल्टाउनु पर्छ, उल्टोबाट सुल्टो बाटोमा ल्याउनु पर्छ, खनालले भने, ‘त्यसका लागि सरकारको सोचाई बदलिनु पर्छ, मन्त्रालयले केही राम्रा कार्यक्रमहरु पनि ल्याएको छ ।’ अन्यथा विदेशमा पसिना बढाइरहेका युवा जनशक्तिलाई स्वदेश फर्काउन नसकिने र कृषि झन ओरालो लाग्ने उनको भनाई छ ।
बामदेवको प्रसंसा गर्दै मानन्धरले गरे राजीनामाको घोषणा !
काठमाडौं, असोज २३ । काठमाडौं ७ का नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा दिएको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै मानन्धरले आफूले पार्टीसमक्ष राजीनामा पेश गरेको र पार्टी कमिटीले छिट्टै राजीनामा स्वीकृत गर्ने बताए । पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेका र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति नभएको भनी बामदेव गौतमको प्रशंसा गरे । देशमा शान्ति र समृद्धि आवश्यक भएकोले पार्टीले निर्णय गरे अनुसार आफू वामदेवका लागि निशर्त पद छोड्न तयार भएको उनले जिकिर गरे । काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्वाचित भएका हुन् । मानन्धर पछिल्लो निर्वाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी विजयी भएका थिए ।
तत्कालीन एमालेको कार्यालयमै नेकपाको कार्यालय
फिदिम, असोज २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटीको कार्यालयमा स्थापना गरिएको छ । नेकपा पाँचथरको जिल्ला कार्यालय स्थापना भएपछि पार्टी एकीकरणको प्रक्रियाले पनि गति लिने समेत विश्वास गरिएको छ । मङ्गलबार यहाँ आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गरे । गत जेठ ३ गते एकीकरण भएका एमाले र नेकपा (माओवादी केन्द्र)को जिल्ला तहमा एकता प्रक्रिया पूरा हुन सकेको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टी गतिविधि सञ्चालनमा समस्या सिर्जना भएकाले प्रदेश कमिटीको निर्देशनबमोजिम पार्टी कार्यालय स्थापना गरिएको नेकपाका जिल्ला नेता एवं तत्कालीन माओवादी केन्द्र पाँचथरका इञ्चार्ज हर्कबहादुर नेम्वाङले जानकारी दिएका छन् । पाँचथरमा जिल्ला कमिटी तथा मातहतका कमिटीको एकताका लागि प्रदेश कमिटीले बनाएको आठ सदस्यीय कार्यदलले एकताको खाका बनाइरहेको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिए । एकता कार्यदलले नेकपाका स्थानीय कमिटी, पेशागत, भ्रातृ तथा जनवर्गीय सङ्गठन, विभाग तथा मोर्चाको जिल्ला कमिटीको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गरिने सम्बाहाम्फेले जानकारी दिए । आठ सदस्यीय कार्यदलमा केन्द्रीय सदस्य सम्बाहाम्फेसहित जिल्ला नेता हर्कबहादुर नेम्वाङ, राजकुमार भण्डारी, विशाल रसाइली, होमबहादुर जबेगू, भुवानीप्रसाद लिङ्देन, दिनेश लावती र तीवेन्द्रराज चापागार्इं रहेका छन् । कार्यदलले बुधबारसम्ममा एकताको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गर्ने जिम्मेवारी पाएको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिए । रासस
काठमाडौंको सुनारगाउँमा घर फोडेर ६० तोला सुन र नगद चोरी !
काठमाडौं, असोज २३ । काठमाडौं महानगरपालिका–१४ सुनारगाउँकी कमला सुवेदीको घर फोडेर ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी भएको छ । सोमबार घरमा कोही नभएको मौका पारेर सुवेदीको घरबाट करिब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गहना र नगद चोरी भएको काठमाडौं प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै घट्नाबारे अनुसन्धान भइरहेको बताइएको छ । यसैबीच, सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट ओमबहाल जाँदै गरेका सञ्जय मानन्धरले लगाएको अन्दाजी १.५ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उक्त सिक्रीसहित शेर्पालाई पक्राउ गरेको हो ।
निर्मला पन्तलाई न्याय दिलाउन गरिएका आन्दोलन स्थगित
कञ्चनपुर, असोज २३ । बलात्कारपछि हत्या भएको कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तलाई न्याय दिन गरिएको आन्दोलन स्थगित भएको छ । महिला अधिकारकर्मी मिना भण्डारीको नेतृत्वमा भएको आन्दोलन स्थगित भएको हो । उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै असोज १३ गतेदेखि सुरु भएको आन्दोलन आज नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृहमन्त्री राम बहादुर थापा (बादल) लाई ज्ञापन पत्र पठाएर आन्दोलन स्थगित घोषण गरेकी हुन् । संयोजक भण्डारीले दसैं आएकाले कार्तिक ७ गतेसम्मलाई आन्दोलन स्थगित गरेको बताइन् । यस्तै, महेन्द्रनगरकै अर्की अगुवा हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समितिले पनि २१ असोजदेखि ७ कार्तिकसम्मलाई आन्दोलन फिर्ता लिएको छ ।
कैलालीको ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु
कैलाली, असोज २३ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–२, लालमोटिया डाँडानजिक एक ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक बर्दगोरिया गाउँपालिका–१ का अन्दाजी ४१ वर्षीय डागु चौधरी र ट्रयाक्टरमा सवार सोही ठाउँका कामदार सुरज कठरिया रहेका छन् । फलेबिसौनाबाट ढुंगा लोड गरेर बौनियाँतर्फ आउँदै गरेको से१त ३९६९ नम्बरको ट्रयाक्टर मंगलबार मध्याह्न १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अर्का कामदार भीम कठरिया घाइते भएका छन् । घाइते कठरियाको बौनियाँबजारस्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
सरकारविरुद्ध क्रान्तिकारी माओवादीको ‘मार्चपास’
काठमाडौं, असोज २३ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारविरुद्ध काठमाडौंमा मार्चपास गरेको छ। नेपालको नक्सामा कालापानी हटाइएको, जनताको ढाड सेक्ने गरी कर वृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी, बढ्दो महँगी नियन्त्रण गर्न नसकेको, गैरन्यायिक सडक विस्तार, राष्ट्रघाति नागरिकता विधेयकलगायतकाे विराेधमा ‘कालो मार्च पास’ गरिएको क्रान्तिकारी माओवादीले जनाएका छ। मार्चपासको नेतृत्व पार्टीको बैधानिक मोर्चा जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले गरेका थिए। रत्नपार्क शान्तिबाटिकादेखि भृकुटीमण्डपसम्म मार्चपास गरिएको थियाे ।
प्रदेश ७ को राज्यमन्त्रीमा प्रकाश रावल नियुक्त, अाजै सपथ लिने
कन्चनपुर, असोज २३ । सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुने भएका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ को १ बाट विजयी सांसद रावल आजै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री हुने भएका हुन । रावललाई आजै सपथ ग्रहण गराइने जनाइएको छ । राज्यमन्त्री रावल नियुक्तसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय हुने भएको छ ।
यी ५ युवा जसको हातमा छ भारतीय इकोनोमी
असोज २३ । फोर्ब्स इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ। लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि छन् । फोर्ब्सका अनुसार अम्बानीको रिलायन्स इन्डस्ट्रिजको सम्पत्ति ४७.३ अर्ब डलर बराबरको छ । दोस्रो स्थानमा अजीम प्रेमजी, तेस्रोमा लक्ष्मी मित्तल, चौथोमा हिन्दुजा ब्रदर्स र पाँचौँ स्थानमा पालोनजी मिस्त्री परेका छन् । भारतका यी शीर्षस्थ पाँच अर्बपतिहरूको उमेर ६१ देखि ८९ वर्ष बीचको रहेको रहेछ । ठूला सयजना अर्बपतिहरूको सूचीमा कैयौँ युवा पनि समेटिएका छन्। यी हुन् भारतका पाँच युवा अर्बपति भाविन र दिव्यांक तुराखिया छत्तीस वर्षीय दिव्यांक तुराखिया र ३८ वर्षीय भाविन तुराखिया डाइरेक्ट–आई कम्पनीका सहसंस्थापक हुन् । डाइरेक्ट–आई विभिन्न प्रविधि कम्पनीहरूको समूह हो, जसको स्थापनमा सन् १९९८ मा २५ हजार भारु लागतमा गरिएको थियो । फोर्ब्सका अनुसार सो कम्पनीको सम्पत्ति अहिले एक अर्ब ५५ करोड डलर अर्थात् ११, ४३३ करोड भारु बराबरको छ। भारतका ठूला सयजना अर्बपतिको सूचीमा यी दाजुभाइ ९७ औँ स्थानमा रहेका छन् । खेलकुद सम्बन्धी व्यवसायबाट थालनी गरेका मुम्बईका यी दाजुभाइले अन्लाइन विज्ञापनदेखि एपजगत्मा सफलता हासिल गरेका छन् । भारतका साथै अमेरिका र संयुक्त अरब एमिरेट्सबाट पनि यी दाजुभाइको कम्पनी सञ्चालनमा छ। विजय शेखर शर्मा, पेटीएम भारतमा ‘नोटबन्दी’पछि पेटीएमले अभूतपूर्व सफलता हासिल गरेको छ । डिजिटल बिल कारोबारबाट थालिएको उसको यात्रा अहिले ई–कमर्सको दुनियाँमा पुगेको छ । विजय शेखर शर्माले सन् २०१० मा पेटीएमको स्थापना गरेका थिए। भारतका ठूला १०० धनीको सूचीमा ४० वर्षीय विजय शेखर ७४ औँ स्थानमा रहेका छन् । पेटीएमको अहिलेको सम्पत्ति दुई अर्ब १५ करोड डलर अर्थात् १५, ८५५ करोड भारु बराबरको छ। अलिगढका विजय शेखरले प्रारम्भिक दिनमा आफ्नो अङ्ग्रेजी भाषा राम्रो नभएका कारण समस्या झेल्नुपरेको थियो । स्नातक पढ्दै गर्दा उनले आफ्नो व्यवसायको थालनी गरेका थिए। शमशीर भायलील, भीपीएस हेल्थ केयर युवा अर्बपतिहरूको सूचीमा तेस्रो स्थानमा रहेका ४१ वर्षीय शमशीर भायलील भीपीएस हेल्थ केयरका सञ्चालक हुन्। उनी फोर्ब्सको सूचीमा ९८ औँ स्थानमा छन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति एक अर्ब ५४ करोड डलर अर्थात् ११, ३६९ करोड भारु बराबरको छ। सन् २००७ मा एउटा अस्पतालबाट व्यवसाय थालेका शमशीरले भारतबाहेक संयुक्त अरब एमिरेट्स र ओमानमा आफ्नो व्यवसाय विस्तार गरिसकेका छन् । केरलामा जन्मिएका शमशीरले संयुक्त अरब एमिरेट्समा एक रेडियोलोजिस्टका रूपमा काम थालेका थिए । एक वर्ष जागिर खाएपछि उनले अस्पताल स्थापना गरे । हालै केरलाका बाढीपीडितका लागि उनले ५० करोड भारु सहयोग गर्ने घोषणा गरेका थिए । समीर गहलोत, इन्डियाबुल्स ग्रुप दिल्लीको हौजखास क्षेत्रमा जस्ताको छाना भएको घरबाट कार्यालयबाट व्यवसाय थालेका समीर गहलोत भारतका सबैभन्दा सम्पन्न युवा हुन् । ४४ वर्षीय समीर इन्डियाबुल्स ग्रुपका संस्थापक अध्यक्ष हुन्। फोर्ब्सका अनुसार उनको सम्पत्ति चार अर्ब दुई करोड डलर अर्थात् ३०, ९२५ करोड भारु बराबरको छ । भारतका शीर्षस्थ अर्बपतिको सूचीमा उनी २९ औँ स्थानमा परेका छन्। मेकानिकल इन्जिनिरिङ पढेका हरियाणाका समीर जागिर खान विदेश गए। दुई वर्षपछि स्वदेश फर्केर एउटा ‘ब्रोकरिङ’ कम्पनी सस्तोमा किने । त्यससँगै उनले घरजग्गा कारोबारलाई पनि अगाडि बढाए र सफलता पाउँदै गए । डा. रञ्जन पई, मणिपाल ग्रुप डा. रञ्जन पई भारतको चिकित्साक्षेत्रको चिरपरिचित नाम हो। मणिपाल एडुकेशन एण्ड मेडिकल ग्रुपका अध्यक्ष भारतीय अर्बपतिहरूको सूचीमा ८६ औँ स्थानमा रहेका छन् । फोर्ब्सका अनुसार ४५ वर्षीय रञ्जनको सम्पत्ति एक अर्ब ८६ करोड डलर अर्थात् १३,७०५ करोड भारु बराबरको छ । मलेशियाको मेलका मणिपाल मेडिकल कलेजको व्यवस्थापक निर्देशकका रूपमा काम थालेका रञ्जनले विस्तारै सफलताको बाटो तय गर्दै गए । मणिपाल ग्रुपअन्तर्गत छवटा मेडिकल कलेज र १६ वटा अस्पताल सञ्चालनमा छन् । भारत बाहेक नेपाल, मलेशिया, दुबई र एन्टिगुवामा सो समूहका मेडिकल कलेज छन् । बीबीसीबाट

