नेपाली मूलका अमेरिकी नागरिकमाथि बालिका बलात्कारको अभियोग
अमेरिका असोज २१ । यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक-पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू पनि मर्ने धम्की दिँदै आएका छन् ।
बोस्टनस्थित म्यासाच्युसेट्स सुपेरियर कोर्ट उबर्नमा बसेको तीनदिने ११ सदस्यीय जुरीले गत जुलाई ७ मा एक निर्णय गर्दै अभियुक्तलाई तुरुन्त कोर्टमा उपस्थित गराउन आदेश दिएको छ । तर यसअघि प्रहरीसँग आफ्नो कर्तुत पुगेको शंका पाउनासाथ अभियुक्त नेपाल भागेको बताइएको छ ।
अदालतबाट हालै जारी सार्वजनिक सूचना (जुन यहाँको समर्भिल विक्ली न्युज पपेरमा समेत प्रकाशित छ ) का अनुसार कोइरालाले बालिकालाई कठोर यातनासहित जबरजस्ती बलात्कार गरेको, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई संघातिक आक्रमण र हमला गरेको, कोर्टको आदेश उल्लंघन गरेकोजस्ता संगीन आरोप लगाइएको छ ।
नेपालमा अवैध बसाइ
नेपालमा अध्यागमन विभागका अनुसार उनी सन् २०१५ मा मात्र वैधानिक रुपमा नेपाल प्रवेश गरेको देखिन्छ । सन् २०१७ मा २ पटक नेपाल गए पनि स्थलमार्गबाट बिनाभिसा गएकाले कुनै अभिलेख देखिएको छैन ।
जबकि नेपाल जानासाथ एक हप्ताभित्र उनले धोकापूर्ण विवरण दिएर गत डिसेम्बरको पहिलो हप्ता आफूभन्दा २५ वर्ष कान्छी शर्मा थरकी एक महिलासँग मन्दिर गई विवाह गरेका थिए ।
उनको खोजी हुने र अवैध बसेको पाइए देशनिकाला हुने एक अध्यागमन अधिकारीले बताए । समाचार स्रोतका अनुसार न्युयोर्कस्थित एक वकिलले नेपाल सरकारसमक्ष निज कोइरालाको अध्यागमन र सुपुर्दगी प्रक्रियाका लागि दुवै देशका सरकारी निकायमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन लागिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि
काठमाडौं, असोज २१ । चुरोटको ठुटालाई उपयोगी मानिँदैन। यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ। यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका छन्। यो नेपालमा पत्ता लागेको महत्वपूर्ण प्रविधि हो। यसका लागि उनीहरूले राजधानीका आठ होटलमा एक महिनासम्म लगाएर चुरोटका ठुटा जम्मा गरे। त्यसबाट १५ किलो चुरोटका ठुटा जम्मा भए। ती ठुटालाई होटलले सहजै नदिएपछि त्यसबापत केही पैसासमेत दिएको जीसीको भनाइ छ। उनीहरूले ग्राहकले पिएर फ्याँकेको चुरोटको ठुटाभित्र बाँकी सुर्तीलाई खाने एक किसिमको ब्याक्टेरिया बनाए, जुन ब्याक्टेरियालाई उनीहरूले ‘इकोलाई’ नाम दिएका छन्। यसले सुर्तीभित्र रहेको निकोटिन खाइदिन्छ। त्यसपछि सुर्तीलाई मलका रूपमा प्रयोग गर्न पनि सकिन्छ। सुर्ती खाइसकेपछि ‘इकोलाई’ ब्याक्टेरियालाई चुरोटको फिल्टर कुहाउन पनि प्रयोग गरियो। यसरी प्रयोग गर्दा इकोलाई ब्याक्टेरियाले पृथ्वीको माटोमा असर गर्ने फिल्टरभित्रको पदार्थलाई आफ्नो खानाका रूपमा प्रयोग गर्छ। तर फिल्टर आफैंमा सडेर भने जाँदैन। ‘फिल्टर नकुहिए पनि यसभित्र रहेको पदार्थलाई ब्याक्टेरियाले खाएपछि यसले पृथ्वीमा कुनै असर गर्दैन’, उनले भने। निकोटिनलाई ब्याक्टेरियाले खाएर बनेको मललाई कृषि उत्पादनमा समेत प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ। विभिन्न अध्ययनका अनुसार सामान्यतया माटोमा फ्याँकिएको चुरोटको ठुटा पूर्ण रूपमा कुहिन १० देखि १२ वर्षसम्म लाग्छ। यो प्रविधिबाट अधिकतम एक साताभित्रमा कुहाउन सकिने उनीहरूको दाबी छ। यही अवधारणा प्रस्तुत गरेबापत उनीहरूले गत वर्ष काठमाडौं विश्वविद्यालयमा आयोजित जेनेटिक इन्जिनियरिङसम्बन्धी सम्मेलनमा दोस्रो स्थानसमेत हासिल गरेका थिए। सान कलेजका सुपरभाइजर डा. सविन बसीले विद्यार्थीले पत्ता लगाएको प्रविधि नेपालका लागि नितान्त नौलो भएको बताए । ‘हेर्दा यो सामान्य लाग्न सक्छ। तर चुरोटको ठुटाले हाम्रो समाजमा कति असर पारिरहेको छ भन्ने हामी अनुमान पनि गर्न सक्दैनौं’, बसीले भने, ‘यो सानो स्केलको अनुसन्धान हो । यसलाई पर्याप्त लगानी गरेर थप अनुसन्धान गर्ने हो भने सबैलाई फलदायी हुन्छ।’ यस्ता विद्यार्थीलाई प्रोत्साहन गर्न सकियो भने नेपालले पनि अनुसन्धानमा फड्को मार्न सक्ने कलेजका जैविक प्रविधि कार्यक्रम संयोजक प्रा.डा. राजाराम प्रधानांगले बताए। यसरी आयो आइडिया विद्यार्थीहरूले विदेशी च्यानलमार्फत अस्ट्रेलियाको एक कम्पनीले चुरोटको ठुटा जम्मा गरेर बेन्च बनाएको थाहा पाए। यसरी तयार भएको बेन्चलाई सार्वजनिक पार्कहरूमा बस्न प्रयोग गरिएको उनीहरूले अध्ययनबाट थाहा पाए। जीसीलगायतका विद्यार्थीले पनि उक्त कम्पनीलाई आफूहरूले नेपालमा यस्ता ठुटा जम्मा गरेर पठाइदिने र यसलाई पनि सोही काममा प्रयोग गर्न अनुरोध गर्दै इमेल लेखे। तर उक्त कम्पनीले नेपालजस्तो अविकसित मुलुकमा आफूहरूको परियोजना सुरु गर्न नसक्ने जवाफ दियो। त्यसपछि विद्यार्थीहरूले पनि सुरुमा चुरोटको फिल्टरभित्र रहेको कपासलाई ‘किरिङ’ बनाउने काममा लगाए। यसका लागि उनीहरूले चुरोटको फिल्टरलाई कुकरजस्तै भाँडोमा राखेर उमाले। यसरी उमालिसकेपछि पहेलो रङमा देखिने फिल्टरलाई सेतो बनाउन एक प्रकारको केमिकल प्रयोग गरियो, जसले फिल्टरको कपासलाई सेतो बनाइदियो। ‘ठूटो साइकल’ नाम दिइएको यो परियोजना सफल भएपछि विद्यार्थीहरू ठुटाभित्रको फिल्टरलाई कुहाउने प्रविधिको अध्ययनतर्फ आकर्षित भएका थिए। ‘नेपालबाट एक दिन जेनेटिक इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने जाने सपना थियो। तर आर्थिक अभावका कारण पूरा भएको छैन’, जीसीले भने। अन्नपूर्ण पोष्टमा खबर छ ।
मुख्यमन्त्री शाहीले भने,- ‘म भ्रष्टाचार गर्दिन, तपाई पनि नगर्नुस्’
जुम्ला, असोज २० । ‘भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन’, जनप्रतिनिधिसँग शनिबार जुम्लामा आयोजित अन्तक्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकल्प गरे । कर्णालीमा डोजर आतंकको जनगुनासो आइरहँदा यसबाट सबै स्थानीय जनप्रतिनिधि पारदर्शी बन्न मुख्यमन्त्री शाहीले सुझाए । ‘म भ्रष्टाचार गर्दिन,’ उनले भने, ‘र तपाई पनि नगर्नुस् ।’ अब विकासका लागि स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने र त्यसको शुरुआत जुम्लाबाट गर्नुपर्ने उनको भनाइ थियो । मख्यमन्त्रीले अगाडि थपे, ‘लगानी भित्र्याउने जिम्मा मेरो हो, तपाईहरु यही सोचका साथ काम गर्नुहोस् ।’ मुख्यमन्त्री शाहीले कर्णालीले नयाँ सिकाइ, सकारात्मक सोचका साथ अघि बढ्न आत्माप्रेरित हुनुपर्ने विचार व्यक्त गरे । कर्णालीलाई अन्तर्राष्ट्रिय व्यापारी केन्द्रका बनाइने भन्दै विकृत चीजविरुद्ध अभियान थाल्नुपर्ने उनको भनाइ थियो । -रासस
मत्रकार महासंघ नै पत्रकारको तलब बढाउन चाहेको छैनः मन्त्री बाँस्कोटा
काठमाडौं, असोज २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल पत्रकार महासंघले नै पत्रकारको पारिश्रमिक बढाउन नचाहेको आरोप लगाएका छन् । सुनकोशी पाँचखाल खानेपानी योजनाको उपभोक्ता भेलालाई शनिबार काभ्रेपलाञ्चोकमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । मन्त्री बाँस्कोटाले भने, ‘महासंघ नै श्रमजीवीको पक्षमा उभिएको देखिएको छैन तर सरकार पारिश्रमिक बढाउने पक्षमै छ ।” उनले श्रमजीवी पत्रकारको पारिश्रमिक मासिक ४० हजार पुर्याउने योजनामा सरकार रहेको उल्लेख गर्दै ‘कर्पोरेट मिडिया हाउस त्यसरी जान चाहदैनन्, तर सरकार अब त्यसलाई लागू गरेरै छाड्छ ।’ उनले भने । मन्त्री बाँस्कोटाले पत्रकारको सुरक्षा र आर्थिक समृद्धिका निम्ति मेरो अभियान जारी नै रहन्छ भन्दै अधिकारको लडाईं सकिएकाले अब निर्माणको समय आएको बताए । मन्त्री बाँस्कोटाले पर्यावरणीय तथा मानवीय चापलाई मध्यनजर गरी स्थानीय तहले पानीको स्रोतको खोजी गरेर त्यसको सुरक्षा गर्नुपर्नेमा जोड दिदैं पानीको खोजी र सुरक्षा गर्ने दायित्व सरकारको मात्रै नभई सम्बन्धीत सबै पक्षको रहेको बताए । -रासस
सरकारले गरेका राम्रा कामको सही मूल्यांकन भएन : प्रचण्ड
गोरखा, असोज २० । नेकपाका अध्यक्ष प्रचण्डले सरकारले गरिरहेका राम्रा कामको प्रचार कम भएको गुनासो गरेका छन् । आजबाट सुरु भएको दसैँ सस्तो बजार मेला उद्घाटन गर्न गोरखा सदरमुकाम आएका अध्यक्ष प्रचण्डले पत्रकार साथीहरुले सडकका खाल्डाखुल्डीलाई मात्र बढी प्रचार गरेको बताए । पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘‘साथीहरु सडकको खाल्डोको मात्रै चर्चा गर्नुहुन्छ । देशकै खाल्डा पुर्नेभन्दा ठूल्ठूला काम भएका छन्, तिनको पनि चर्चा गर्नुपर्यो ।’ अभ्यक्ष प्रचण्डले सरकारले गरेका राम्रो कामको सही मूल्याङ्कन गर्ने र हुन नसकेका कामको रचनात्मक सल्लाह र सुझावको आवश्यकता रहेको बताए । भूपरिवेष्ठित राष्ट्र नेपाल अब विभिन्न बन्दरगाहसँग जोडिन लागेको भन्दै उनले चीनसँगको ४ वटा बन्दरगाह प्रयोग गर्नेबारे भएको सम्झौतालाई सरकारको उल्लेख्य कामको रुपमा चर्चा गरे । सडकलगायत पूर्वाधारलाई व्यवस्थित बनाउने दिशामा पनि सरकार गम्भीर भएर लागिरहेको उनले दाबी गरे । निर्मला हात्यकाण्डलगायत शान्ति र सुरक्षामा देखिएका च्नौतिका बारेमा पत्रकारले राखेको जिज्ञासा उनले भने, ‘देशमा बढ्दो बलात्कारलगायत आपराधिक घटना न्यूनीकरणका लागि प्रभावकारी उपाय अबलम्बन भएन भन्ने नागरिकका गुनासो छिट्टै अन्त्य गरिन्छ ।’
मानव अधिकार आयोगले भन्यो,- ‘बिप्लव सरकारसँग वार्ता गर्न प्रतिबद्ध छन्’
काठमाडौ, असोज २० । राष्ट्रिय मानव अधिकार आयोगले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य सुदीप पाठकले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग संवाद गर्न चाहेमा आवश्यक वातावरण बन्ने विश्वास व्यक्त बताए । ‘सरकार वार्ताका लागि गम्भीर छ, हामी पार्टीलाई लिखित पत्र दिएर वार्ताका लागि आह्वान गर्छौं भन्ने भनार्इ सरकारबाट आएको छ, नेपाल कम्युनिष्ट पार्टीलाई लाग्यो भने वार्ताको वातावरण बन्छ’, सदस्य पाठकले भने । उनले मानव अधिकारको सवालमा कतिपय कमीकमजोरी हुनसक्ने भन्दै त्यसबाट सच्चिएर अझै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । विचार लिएर जाने स्वतन्त्रतालाई सरकारले रोक्न नहुने उनको भनाइ छ । सदस्य पाठकले राजनीतिक कुरा राजनीतिकरुपमै टुङ्ग्याउन बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिदैं एकले अर्काको सम्मान गर्न, वैचारिक संघर्ष मात्रै गर्न र साझा एजेण्डाका साथ देश विकासमा लाग्न राजनीतिक दललाई आग्रह गरे। बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले मानव अधिकार, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा आँच पुग्ने काम भइरहेको भन्दै यसमाथि गम्भीर अनुगमन गर्न आयोगलाई अनुरोध गरे । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारलाई फौजदारी कानूनअन्तर्गत कारवाही गर्नेगरी आएको कानून नसच्याएसम्म महासङ्घले आन्दोलन जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । -रासस
निर्मला हत्याकाण्ड : प्रदर्शनकारीद्वारा गृहमन्त्री र प्रहरी प्रमुखकाे राजिनामा माग
काठमाडौं, असोज २० । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै काठमाडौंको माइतीघर मन्डलामा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरुले हत्या भएको दुई महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा पनि माग गरे । निर्मला हत्याकान्डको प्रमाण नस्ट गर्नेहरुमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ । शनिबार माइतीघर मन्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विभिन्न दलमा आवद्ध एवं स्वतन्त्र नागरिकहरुको स्वतःफूर्त सहभागिता थियो ।
चन्द्रागिरि नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य
काठमाडौं, असोज २० । नेपालको चन्द्रागिरि हिल्स प्रालिले नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्राप्त गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पुरस्कार प्रदान गरे । भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले बर्सेनि ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ । चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकाले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्रदान गरिएको पब्लिकेसनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो । काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि बर्सेनि हजारौँको सङ्ख्यामा आउने भारतीय पर्यटक चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शनका लागि पनि जाने गरेका प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिए । पुरस्कार प्राप्त गरेपछि चन्द्रागिरि प्रालिका अध्यक्ष चन्द्र ढकालले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुन पुगेको बताउँदै यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गैसस र भ्रष्टाचार नियन्त्रण गर्न सके समृद्धिको सपना पूरा हुन्छ : मुख्यमन्त्री शाही
जुम्ला, असोज २० । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उनले आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका रहेको कर्णाली उतिबेला नुनबाहेक सबै कुरामा आत्मनिर्भर भएकाे बताए । मुख्यमन्त्री शाहीले भने, “आज विभिन्न सहयोगका नाममा मगन्ते बनाइएको छ ।” साझेदार संस्थाहरूबाट उत्पादन बढाउने भन्दा पनि आशामा बाँच्ने खालका कार्यक्रम सञ्चालन गरिँदा, भ्रष्टाचार र दलाल संस्कृतिको विकास हुँदा कर्णाली परनिर्भर बनेको उनले आरोप लगाए । उनले अगाडि थपे, “गैसस र भ्रष्टाचारलाई नियन्त्रण गर्न सके मुलुकको समृद्धि र विकासको सपना पूरा हुन्छ ।” एक फरक प्रसङ्गमा उहाँले चीन भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्तासँग भएको समझदारीअनुसार कर्णालीको सडक र विद्युत् निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गरे । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश विकासको ऐतिहासिक सङ्कल्प पूरा गर्न लिएको जिम्मेवारीअनुसार कर्णाली प्रदेशको अहिलेको परिचय बदल्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकार कमजोर बनाएर समस्या समाधान हुँदैन : प्रचण्ड
काठमाडौं, असोज २० । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कसैले कमजोर पार्न नसक्ने र कमजोर पार्न नहुने बताएका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामीले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएका छौं । बामपन्थीहरुको दुईतिहाईको सरकार बनाएका छौं । विश्व राजनीतिमै यो असाधारण परिघटना हो । हामीले यो सरकारलाई बलियो बनाएर जानुपर्छ । नेकपा र सरकार कमजोर हुन्छ कि भन्ने कसैले नसोचे हुन्छ ।’ कार्यक्रममा प्रचण्डले पार्टीभित्रका विवाद समाधान हुने बताए । ‘हाम्रो बीच कुनै ठूलो विवाद छैन । केही दिनमा प्रदेश र जिल्ला तहका कमिटीको एकता टुंगाएर जान्छौं, जनवर्गीय संगठनको एकता टुंगाउँछौं । सरकार र पार्टीको एक मात्र गन्तव्य समृद्धि हो, यसमा हामी सफल हुन्छौं ।’ प्रचण्डले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘विश्वमै यति ठूलो सन्देश दिएका छौं । अब हाम्रो जिम्मेवारी पार्टीभित्र गुटबन्दी अन्त्य गर्नु हो । जनताका अपेक्षाअनुसार पार्टीलाई एकीकृत गर्नु हो । के हामीले गुटबन्दी नभएको पार्टी बनाउन सक्छौं ? हामीले सक्नैपर्छ ।’ ‘म फर्केलगत्तै प्रधानमन्त्रीजीसँग छलफल सुरु भएको छ, निर्वाचनमा जनताले जसरी विश्वास गरे, त्यो विश्वासलाई हामीले सम्मान गर्नुपर्छ’ प्रचण्डले भने, ‘सरकारको समीक्षा सुरु भएको छ । केही समस्या पनि देखिएका छन् । तर, सरकार कमजोर बनाएर समस्या समाधान हुँदैन । शक्तिशाली बनाएर जानुपर्छ ।’ ‘अहिले सरकार पहिलो गेयरमा छ । पहिलो गेयरमा हुँदा गाडीले स्पिड लिन सक्दैन । तर, अब हामी गेयर बढाउँछौं’ प्रचण्डले भने, ‘समृद्धिको हाम्रो प्रष्ट लक्ष्य छ, हाम्रो चुनौति त्यसलाई व्यवहारमा ढाल्ने हो । त्यसका लागि हामी सबैले मेहेनत गरौं । जनताले हामीलाई विश्वास गरे, अब जनतालाई विश्वास गरेर काम गरौं ।’ प्रचण्डले अवसरसँगै चुनौति पनि आउने भएकाले कार्यकर्तालाई संयमित भएर अघि बढ्न अपील गरे । उनले भने, ‘जहाँ ठूला सम्भावना हुन्छन्, त्यहाँ चुनौति पनि ठूलै हुन्छन् । हामीले त्यसलाई पार लगाउन सक्नुपर्छ । पार्टी एकता हुनै नदिने षड्यन्त्र चिर्यौं, सरकार असफल बनाउने षड्यन्त्र पनि चिर्छौं ।’
एउटा बच्चीको हत्यारा पत्ता लगाउन नसक्ने सरकार ‘नालायक’ : देउवा
काठमाडौं, असोज २० । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । सभापति देउवाले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा पनि आपत्ति जनाए । उनले वातावरणीयलगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । । रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ । सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने तर्क पनि गरे ।
सरकारले जनताको अपेक्षा पूरा हुने गरी काम गर्न सकेको छैन : पौडेल
काठमाडौँ, असोज २० । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए । उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए । पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उनको भनाई थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गर े । उनले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताए । ‘ राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा दशकौं देखिको वेथिति सङ्ग्रह छ’, उनले भने, ‘‘त्यसलाई दुरुस्त गर्नका लागि ६–८ महिनाको समयले पुग्दैन । त्यसकारण सरकारले जनताको अपेक्षा पूरा हुने गरी विकासलाई अगाडि बढाउन सकेको छैन ।’ उनले चाँडै नै सरकारले परिमाण आउने गरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिने गरी काम अगाडि बढाउनेसमेत बताए । नेता पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राखे ।
बाँकेमा माइक्रो बस र ट्रक ठोक्किए, ४ जनाको मृत्यु
नेपालगञ्ज, असोज २० । बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा डिएसपी रमेश बहादुर सिंह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।
प्रदेश, जिल्ला र जनसंगठनको एकता बिना व्यवधान छिट्टै टुंगो लाग्छः प्रचण्ड
प्युठान, असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र जनसंगठनको एकता छिट्टै टुंगिने बताएका छन् । प्युठानमा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रमा उनले यस्तो बताएका हुन् । प्रचण्डले भने ‘आइतबार पार्टीको सचिवालय बैठक बस्दैछ, बैठकमा प्रदेश, जिल्ला र जनसंगठनको एकताबारे पनि छलफल हुनेछ । कुनै समस्याबीना छिट्टै एकता पक्रिया टुग्यान्छाैं ।’ अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र जनसंगठनको एकता पक्रियामा कुनै बाधा नहुने बताए । साथै, उनले अहिले सबैको मुख्य एजेण्डा देशमा समृद्धि र सुशासन कायम गर्नु रहेकाले एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले सरकारले जनताले अनुभूति हुने गरि काम गरिरहेको बताए । साथै, उनले सरकारको प्रभावकारिताबारे पार्टीमा र विभिन्न पक्षसँग अन्तक्रिया गरेर अझ त्यसमा गति दिने जानकारी गराए ।
जुवा अखडामा प्रहरीको छापा, झ्यालबाट भाग्न खोज्दा २ जनाको मृत्यु
काठमाडौं, असोज २० । प्रहरी परिसर काठमाडौंले शुक्रबार राति साढे ९ बजे मुलपानी–७ का तेन्दु शेर्पाको घरमा छापा मारेको छ । संगठित रुपमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । साढे ३ तलाको घरको तेस्रो तलामा जुवा खेलिरहेकाहरुले प्रहरी आएको थाहा पाएपछि झ्यालबाट हाम फालेका थिए । प्रहरी परिसर काठमाडौंकाअनुसार हाम फाल्ने सरोज घले र सोमलाल तामाङको उपचारका क्रममा राति नै मृत्यु भएको छ । प्रहरीले जुवा अखडाबाट २४ जना जुवाडे र ४ लाख ५८ हजार रुपैंया बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाका अनुसार एक रात जुवा खेलाएवाफत घरधनी तेन्दुले १० हजार रुपैंया लिने गरेको पाइयो । कान्तिपुरमा खबर छ ।
नाफा खोज्ने एयरलाइन्सलाई उडानमा रोक
हुम्ला, असोज १९ । नेपालगञ्ज-सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँ, तिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँ सभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ । हुम्लीहरू अहिले नेपालगञ्ज-सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने यो हुम्लीको समस्या नयाँ होइन । बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सञ्चाकर्मीलगायतको सो निर्णय गरेको हो । -रासस

