प्रधानमन्त्री ओली र स्विट्जरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

न्यूयोर्क, असोज ११ ।

संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा प्रधानमन्त्री केपी ओली र स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग प्रधानमन्त्री ओली तथा राष्ट्रपति बेर्सेट यहाँ छन् । सो अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । नेपालमा स्विट्जरल्याण्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उहाँले जानकारी दिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित छन् ।

– सुरेन्द्रबहादुर नेपाली, विशेष प्रतिनिधि

को को परे पोखरा प्रिमियर लिगमा सहभागी टीम र तिनका मार्की खेलाडी ?

काठमाडौं, असोज ११ । आगामी कार्तिक ९    देखि २० गतेसम्म संचालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो संस्करणका सहभागी टिम र मार्की खेलाडीको घोषणा भएको छ । बिहीबार आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सहभागी ६ टिम र मार्की खेलाडीको घोषणा गरेको हो । पोखरा रङ्गशालामा संचालन हुने सर्वाधिक पुरस्कार राशिको हुने उक्त लिग प्रतियोगितामा खेलाडीहरूको छनौट अक्सन प्रक्रियाद्वारा हुने भएको छ । लिगको नियम अनुसार प्रत्येक टीममा दुइ जना विदेशी खेलाडी र दुई जना स्थानीय खेलाडी सहभागी हुनु आवश्यक रहेको छ । टि-ट्वेन्टी फर्म्याटमा संचालन हुने उक्त खेल प्रतियोगिता हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । प्रतियोगितामा बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन, पोखरा पल्टन, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स रहेका छन् । उक्त टीमका मार्की खेलाडीहरूमा बुटवल ब्लास्टरमा सोमपाल कामी, चितवन राइनोजमा पारस खड्का, विराटनगर टाइटनमा सन्दीप लामिछाने, पोखरा पल्टनमा शरद भेसवाकर, एक्स्पर्ट धनगढी ब्लूजमा दिपेन्द्र सिंह ऐरी र काठमाडौँ रोयल्समा ज्ञानेन्द्र मल्ल रहेका छन् ।  

श्रीमती हत्या गरी फरार रहेका श्रीमान् पक्राउ

लेखनाथ, असोज ११ । पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो । ५५ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेका खुलासा भएको छ । आफूले हत्या गरेको खबर छिमेकीलाई छोडेर उनी भागेका कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । श्रीमतीलाई प्यारालाइसिस भएको बताइएको छ । हत्यापछि शवलाई बोरामा पोको पारेर घरभन्दा केही पर फालेपछि मैले बूढीलाई मारेँ भनेर हिँडेका गुरुङलाई प्रहरीले धानबारीबाट पक्राउ गरेको हो । रासस

अागामी वर्षमात्र चार नारायणको पुनःनिर्माणको कार्य पूरा हुने

ललितपुर, असोज ११ । पाटन दरबार क्षेत्रका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायण मन्दिरको पुनः निर्माण आगामी वर्ष सकिने जनाइएको छ । काम नियमित रुपमा भइरहेकाले आगामी वर्षसम्म पुनः निर्माणको काम सकिने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनका अनुसार हरिशंकर मन्दिर पनि एकवर्षमा सक्ने गरी काम भइरहेको छ । यहाँ रहेका धेरै वटा स्मारकको पुनः निर्माणको जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)ले लिएको छ । प्याकुरेलले भने, “अरू काम जसरी नै कोषले यो पनि समयमा सकाउँछ भन्ने हाम्रो विश्वास छ ।” पुनः निर्माणमा कार्यरत कोषको आफ्नो कर्मचारी भएकाले ढिलाइ नहुने प्याकुरेलले बताए । कोषले काम गरेको स्मारकमा कृष्ण मन्दिर, मणिमण्डप, बहादुर शाहको बैठक कक्ष, योग नरेन्द्र मल्लको सालिक स्तम्भ, सिंह स्तम्भलगायत सम्पन्न भइसकेको छ । चार नारायण मन्दिर अरूभन्दा पुरानो भए पनि कहिले बन्यो भन्नेमा फरक धारणा पाइन्छ । कतिपयले मन्दिर १६औँ शताब्दी त कतिले १७औँ शताब्दीको शुरुमा निर्माण भएको उल्लेख छ । यो मन्दिर इँटैइँट्टाले बनेको छ । आगामी वर्ष सक्ने योजनाले अघि बढेको हरिशंकर मन्दिरलाई योग नरेन्द्र मल्लकी छोरीले बनाउन लगाएकी थिइन् । आधा विष्णु र आधा शिवको स्वरुप मानिने हरिशङ्कर मन्दिर १८औँ शताब्दीको शुरुमा निर्माण भएको जनाइएको छ । रासस

‘मेरा देश डुब्न लाग्यो, कोही छौं कि माझी किनारा लगाइदेऊ’ : नेता नेपाल

काठमाडौं, असोज ११ । ‘मेरा देश डुब्न लाग्यो किनारा लगाइदेऊ कोही छौं कि माझी किनारा लगाइदेऊ’ संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले निकै भावुक सम्बोधन गरेका छन् । उनले एउटा गीतबाट आफ्नो सम्बोधन सुरु गरे । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी निर्मला पन्त र एसिड आक्रमणबाट ज्यान गुमाउन पुगेकी सम्झना दासको प्रसंग झिकेर देशमा दण्डहिनता मौलाएको, भ्रष्टाचारीले टाउको ठाडो गराएको र जनता झनै निराश हुँदै गएको बताए । नेता नेपालले अब जनताले भाषणमा नभई व्यवहारमा काम र परिणाम हेर्न चाहेको बताए । भरखरै आफुले पढेको ‘रजगज’ नामक उपन्यासको प्रसंग उठाउँदै उनले देश झनै कहाली लाग्दो अवस्थामा पुगेको बताए । भ्रष्टहरुनै उच्च तहमा पुगेको, कालाे सूचिमा परेका नै पुरस्कृत भएको अवस्थाले आफुहरुकाे शिर निहुरिएको बताए । उनेले प्रश्न गरे, ‘यो बेथिति देख्दा जनता के सोच्दा हुन् ?’ उनले राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरेहेको अवस्थामा, शान्ति र सुरक्षा कमजोर भएको अवस्था गृह प्रशासन मौन रहेकोमा चिन्ता व्यक्त गरे । उनले, ‘गृहमन्त्री कहाँ छन् थाहा छैन, गृह प्रशासन कहाँ छ थाहा छैन, खुलेआम देश टुक्राउनेलगायतका भिडियो सार्वजनिक भइरहदा, राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरहदा गृह प्रशासन किन मौन रह्यो जनता जान्न चाहान्छन् ।’ नेता नेपाल सरकारले गरेका राम्रा कामको प्रसंसा गर्दै यो बीचमा देखिएका जनताका असन्तुष्टी र सुशासनमा देखिएका समास्या हल गर्न आग्रह गरे ।

प्रतिनिधि सभाको अन्तिम बैठक [LIVE]

काठमाडौं, असोज ११ । संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य हुँदै छ । आज दिउसो एक बजे बस्ने प्रतिनिधि सभा बैठक र दुई बजे बस्ने राष्ट्रिय सभा बैठकमा अधिवेशन अन्त्यको घोषणा हुने छ । प्रतिनिधि सभाको आजको बैठकमा दलका शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूचि राखिएको छ । गत बैशाख २३ गतेबाट शुरु भएको अधिवेशन करिव पाँच महिनामा अन्त्य हुन लागेको हो । संसदको दोस्रो अधिवेशनले बजेट पारित, मौलिक हकसम्बन्धी कानुन निर्माण गरेपनि नागरिकता संशोधन, चिकित्सा शिक्षा, लेखापरीक्षण, भुक्तानी तथा फछ्र्योट, बिमासम्बन्धी महत्वपूर्ण विधेयक भने अलपत्र पर्ने भएका छन् ।

‘बर्थडे’ कै दिन गुगलमा देखिए यस्ता समस्या !

निःशुल्क इमेल सेवा जीमेलका नेपाली प्रयोगकर्ता समस्या सामना गरिरहेका छन्। इन्टरनेट मल्टिनेशनल टेक्नोलोजी कम्पनी गुगलले २० औं जन्मोत्सव मनाइरहँदा बिहीबार उसैको इमेल सेवा जिमेलमा समस्या देखिएको हो । नेपाली इन्टरनेट सर्भिस प्रोभाइडर मार्फत् प्राप्त हुने इन्टनेटमा जीमेलमा समस्या देखिएको हो । बुधबार रातिदेखि यस्तो समस्या देखिएको नेपाली प्रयोगकर्ताले उल्लेख गरेका छन् । सुबिसु, भायानेट, क्यासिक टेकसहितका इन्टरनेट कम्पनीका ग्राहकले जिमेल, युट्युब, फोटो र म्याप ब्राउजिङमा समस्या देखिएको उल्लेख गरेका हुन्। भायानेटले आफ्ना ग्राहकहरुलाई सूचना दिँदै अन्तर्राष्ट्रिय सर्भरमा समस्या आएको कारण गुगल अन्तर्गतका सेवामा समस्या आएको सूचना पठाएको छ। सुबिसुका प्राविधिक सहयोग कक्षमा सम्पर्क गर्दा अन्तर्राष्ट्रिय सर्भरमा समस्या कारण जिमेल र युट्युब सहित विभिन्न सेवामा समस्या देखिएको जानकारी दिइयो। ‘समस्या समाधान हुने वित्तिकै जानकारी गराउँछौं’, सुबिसुका एक प्राविधिकले भने, ‘यो हाम्रो बस बाहिरको समस्या हो।’ भारतको एयरटेलसँग ब्यान्डविथ किनेका इन्टरनेट सर्भिस प्रोभाइडको सेवामा समस्या देखिएको हो। बिहीबार गुगलले आफ्नो २० औं जन्मदिन मनाइरहेको छ। इन्टरनेट, सफ्टवेयर र हार्डवेयरमा काम गरिरहेको गुगलमा ८५ हजार कर्मचारी काम गर्छन् । गुगलले नेपालमा आफ्नो सेवाहरू प्रभावकारी बनाउन मुख्य इन्टरेट सर्भिस प्रोभाइडरसँग मिलेर काठमाडौंमा आफ्नै सर्भर राखेको छ । ती सर्भरहरूका कारण जीमेल, युट्युबसहित गुगल सेवा नेपालमा चुस्त रहँदै आएको छ। भिडियो सेयरिङ साइट युट्युब, सर्च इन्जिन, जीमेल, गुगल म्यापजस्ता जनतासँग प्रत्यक्ष सम्पर्क हुने सेवा सञ्चालन गरिरहेको गुगलले पछिल्लो समय अमेरिकी सेनाका लागि ड्रोन उत्पादनको काम गरिरहेको छ । एजेन्सीको सहयोगबाट

सदन छाेडेर सडकमा आउन बाध्य नपारियोस् : महतो

विरगन्ज, असोज ११ । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेशी जनताको धैर्यताको बाँध टुट्ने समय आउँदै गरेकोले कुनैपनि बेला आन्दोलनको घोषणा हुनसक्ने बताएका छन् । बीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले आफ्ना मागहरु पुरा गर्न सरकार संवेदनशील नभए सदन छाडेर सडकमा आउने चेतावनी दिएका हुन् ।  दुईतिहाइको सरकारले अहंं‌कारमा शक्तिको दुरुपयोग गरिरहेकाले बाध्य भएर सडकमा उत्रिनुपर्ने अवस्था आउन लागेको महतोको भनाई छ । नेता महतोले वर्तमान सरकार मधेस विरोधी रहेको पनि दाबी गरे ।उनले बारामा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण अलपत्र पारेर सरकारले षडयन्त्र गरेको आरोप लगाए । साथै उनले विमानस्थल निर्माणका लागि रुख काटनुपर्ने घोषणा गरेर सरकारले विवाद उत्पन्न गराएको बताए ।

भवन हस्तान्तरणका विषयमा झडप हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर

सिरहा, असोज ११ । सिरहाको मिर्चेयामा वडा नम्बर ८को कार्यालयको नवनिर्मित भवन हस्तान्तरणका विषयमा झडप हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । झडपमा मिर्चैया नगरपालिका ८ भगवतपुरका मनोजकुमार यादव, विष्णु यादव, रामअशिष यादव र उनको भाइ मनिकलाल यादव घाइते भएका हुन् । घाइतेहरुको मिर्चैयास्थित मिर्चैया मंगलम नर्सिङ होममा उपचार भइरहेको छ । हन्तान्तरण कार्यक्रममा उद्घाटनको ब्यानर राखेको भन्दै विवाद र झडप भएको हो । वडाध्यक्ष रामजगत शाहले हन्तान्तरणमा उदघाटनको ब्यानर राखिएको भन्दै उपभोक्ता समितिका अध्यक्ष रामअशिष यादवमाथि आक्रमण गरेको स्थानीयले बताए । विवादपछि भवन हस्तान्तरण कार्यक्रम स्थगित भएको छ । उपभोक्ता समितिले ११ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । मिर्चेयामा नगरप्रमुख नेकपाका छन् भने वडाध्यक्ष नेपाली कांग्रेसका छन् । फरक पार्टीका भएका कारण विकास निर्माण सम्वन्धी काममा पटक पटक विवाद हुँदै आएको छ ।

असंलग्न अभियानले शान्त विश्व निर्माणमा योगदान गर्न सक्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

न्युयोर्क, असोज ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै मन्त्री ज्ञवालीले असंलग्न अभियानका सदस्यहरूले एकतामा आबद्ध भई कसैलाई पनि पाखा नपारी शान्त विश्व निर्माण गर्न योगदान गर्नुपर्नेमा जोड दिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । मन्त्री ज्ञवाली आजै अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा पनि सहभागी भए । उक्त बैठकमा उनले गरीबी, असमानता, बेरोजगारी, मौसम परिवर्तन, प्राकृतिक प्रकोप तथा आन्तरिक द्वन्द्व अति कम विकसित मुलुकका प्रगतिमा बाधा भएको बताए । उनले अति कम विकसित मुलुकको विकासको मार्ग मन्द, लामो, व्यापक अर्थ लाग्ने भएको बताउँदै ती मुलुकको आन्तरिक प्रयासलाई सहयोग गर्न पर्याप्त अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको उल्लेख गरे । यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली आज भियतनामको स्वतन्त्रता दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सरिक भए । उनले भियतनामका हालै दिवङ्गत हुनुभएका राष्ट्रपति त्रान दाई क्वानप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे । मन्त्री ज्ञवालीले आजै दिगो विकासका लक्ष्य कार्यान्वयनमा चीनले गरेको योगदानको प्रदर्शन अवलोकनसमेत गरेका छन् । यसैगरी परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पारमाणविक हतियार पूर्ण अन्त्य दिवस मनाउन आयोजना गरिएको एक समारोहलाई सम्बोधन गरे । उनले नेपालले आम विनाशकारी हतियारका साथै अन्य हतियारको निःशर्त अविस्तारको सिद्धान्त अवलम्बन गरेको बताए । – सुरेन्द्रबहादुर नेपाली, विशेष प्रतिनिधि

राजधानी सार्न खोजेकाे विरोधमा धनगढी बन्द

कैलाली, असोज ११ । प्रदेश नम्बर ७ को राजधानी कैलालीको धनगढीबाट गोदावरी नगरपालिकामा सार्न खोजिएको विरोधमा धनगढी बन्द गरिएको छ । राजधानी नसार्न दवाव दिँदै धनगढीवासीले एक दिनका लागि आम हड्ताल गरेका हुन् । बन्दका कारण धनगढीको जनजीवन प्रभावित भएको छ । शैक्षिक संस्था, यातायात, कलकारखाना, बजार ठप्प छन् । धनगढी बजारमा बन्दकर्ताले अटो रिक्सासमेत चल्न दिएका छैनन् । बन्दकर्ताहरु बजारमा खुल्ला रहेका पसल र अटो रिक्सा बन्द गराउँदै हिँडेका छन् । उनीहरुले अस्थायी राजधानीका लागि धनगढीका करोडौं रुपैयाँ खर्च भईसकेको बताउँदै जङ्गल मासेर गोदावरीमा राजधानी नबनाउन आग्रह गरिरहेका छन् । बन्दलाई मध्यनजर गर्दै ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । मंगलबार विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न सुझाव दिँदै प्रतिवेदन संसदमा पेश गरेको थियो । उक्त प्रतिवेदनमा माथि संसदमा छलफल जारी छ । प्रतिवेदन शुक्रबार सामान्य छलफलपछि टुङ्ग्याउने तयारी प्रदेश सरकारले गरेको छ । दुई तिहाई बहुमत रहेको सरकारले शुक्रबार मतदानका आधारमा भए पनि प्रदेश नाम र राजधानी टुङ्ग्याउने तयारी गरेको बताईएको छ ।

संघीय संसदकाे दोस्रो अधिवेशन अन्त्य हुँदै, अलपत्र छन् यी महत्वपूर्ण विधेयक

काठमाडौ‌ँ, असोज ११ । संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य हुँदै छ । आज दिउसो एक बजे बस्ने प्रतिनिधि सभा बैठक र दुई बजे बस्ने राष्ट्रिय सभा बैठकमा अधिवेशन अन्त्यको घोषणा हुने छ । प्रतिनिधि सभाको आजको बैठकमा दलका शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूचि राखिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । गत बैशाख २३ गतेबाट शुरु भएको अधिवेशन करिव पाँच महिनामा अन्त्य हुन लागेको हो । संसदको दोस्रो अधिवेशनले बजेट पारित, मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको छ । तर, केही महत्वपुर्ण विधयेक भने अझै पारित हुन सकेका छैनन् । अधिवेशन अन्त्यसँगै नागरिकता संशोधन, चिकित्सा शिक्षा, लेखापरीक्षण, भुक्तानी तथा फछ्र्योट, बिमासम्बन्धी महत्वपूर्ण विधेयक भने अलपत्र पर्ने भएका छन । यी विधयेकहरु प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा विचाराधिन अवस्थामा छन् ।

तीन महिनाको अवधिमा प्रहरीद्वारा २७ जनासहित पक्राउ

दमौली, असोज ११ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । साउनमा १२, भदौमा १२ र असोज महीनामा तीन जना लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । हालै ल्याइएको दुई कुकुरको सहयोगमा बुधबार यात्रुवाहक बसमा लागूऔषध ओसारपोसार गर्ने युवा पक्राउ परेका छन् । नवलपरासी बुम्दीकाली गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–४ सिद्धार्थचोक बस्ने २० वर्षीय पारस सार्की पक्राउ परेका हुन् । पोखराबाट ल्याइएको सीमा र चेरी नाम गरेका कुकुरको सहयोगमा प्रहरीले बुधबार राति पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा ना१ख ३६७९ नं को धादिङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसमा सवार सार्कीलाई तीन किलो गाँजासहित पक्राउ गरिएको हो । पक्राउ परेका सार्कीविरुद्ध अनुसन्धान भइरहेको छ । रासस

सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने

काठमाडौँ, असोज ११ । मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो । विभागका महानिर्देशक डा ऋषिराम शर्मा नेपालको पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताउँछन् । “पश्चिमी भूभागमा पानी परिरहेको छ, पानी पर्ने क्रम अझै केही दिन जारी रहन्छ”, उनी भन्छन् । पछिल्लो समय सुदूरपश्चिम तथा मध्यपश्चिममा परेको वर्षाका कारण सोही क्षेत्रका विभिन्न भाग डुबानमा समेत परेका छन् । विगतका वर्षको तुलनामा यसवर्ष धेरै वर्षा भएको विभागले जनाएको छ । नेपालमा पाँच महीनाको अवधिमा भारी वर्षा, बाढी र पहिरोका कारण ११७ जनाको ज्यान गएको छ । नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार वैशाखदेखि भदौसम्म भारी वर्षा, बाढी र पहिरोका कारण उनीहरुको ज्यान गएको हो । जसमा पहिरोका कारण ८३, बाढीका कारण १७ र भारी वर्षाका कारण १७ को ज्यान गएको छ भने १८३ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये ५९ पुरुष र ५८ महिला रहेका छन् । केन्द्रका अनुसार ३१० पहिरो, ८० बाढी र २४७ पटक भारी वर्षा भएको छ । यस्तै, बाढीमा तीन र पहिरोमा दुई हराइरहेका छन् । बाढीका कारण एक हजार ७८ परिवार, पहिरोका कारण ७३५ र भारी वर्षाका कारण ३५३ घरपरिवार प्रभावित भएको केन्द्रले जानकारी दिएको छ । यसैबीच, गृहमन्त्री रामबहादुर थापाले मङ्गलबार राष्ट्रियसभाको बैठकमा वैशाखदेखि भदौ १७ सम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएको बताएका थिए । उनले सोही बैठकमै ४४५ घटना बाढी र पहिरोका कारणमात्र भएको संसद्लाई जानकारी गराएका थिए । सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल नेपालको भू–धरातल कमजोर भएको कारण धेरै बाढी, पहिरो र भूक्षय हुने गरेको बताउँछन् । उनी बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा आपत्कालीन उद्धार तथा राहतका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा राखिएको बताउँछन् । “मन्त्रालय पनि राहत र उद्धारका लागि तयारी अवस्थामा रहेको छ”, उनी भन्छन् । भूगर्भविद् डा कृष्ण देवकोटा पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण नेपालमा धेरै पहिरो जाने गरेको बताउँछन् । “बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो”, उनी भन्छन् । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा सोझै जमीनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ । रासस

बहाब घटेपछि कालीगण्डकीमा जलत्राया सुरु

पर्वत, असोज ११ । नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि र्‍याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले बुधबारदेखि सुरु गरिएको हो ।   सेप्टेम्बरको मध्यदेखि अक्टोबरको अन्त्यसम्म जलयात्रा सञ्चालन गर्दै आएकामा यसपटक एक साता ढिलो गरी शुरु भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो सातादेखि जलयात्राका लागि पर्यटक आउने क्रम बढेको छ ।   नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको पोखरास्थित स्वीसा र्याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनीका सञ्चालक देव रेग्मीको भनाइ छ । उनका अनुसार बुधबारदेखि र्याफ्टिङ सञ्चालनमा ल्याइएको उक्त नदीमा जलयात्रा लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । जलयात्राका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको पनि आकर्षण बढ्दै गएको छ ।   उक्त नदीमा अहिले दैनिक दुई तीन समूहमा पर्यटक आउने गरेका छन् । पोखरा हुँदै अन्नपूर्ण पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएका छन् ।   पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँ पुल तथा मालढुङ्गाबाट सुरु हुने र्‍याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ ।   कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अष्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।   नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिन, दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटकले यात्रा तय गर्दै आएका छन् । -रासस

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

इलाम, असोज ११ । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भने, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” बिहीबार बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने । अहिले नेकपा नेतृत्वको दुई तिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे । नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गर्नुभयो । “हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरे । उनले थपे, “तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानून अनुसारको शपथ खानुभएको छ । अहिले कसैले पनि संविधान नमानेको छैन ।” नेम्वाङले आफूलाई संसद्को शपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको जानकारी गराए । “संविधानको विरोध गर्ने पार्टी राजपा हो । तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खानुभएको थियो”, नेम्बाङले भने । संविधानसभाका पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताए । “अहिले साथीहरू नेकपा प्रेस विरोधी हो भन्छन्, संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने मै हुँ”, उहाँले थप्नुभयो, “यदि हामी प्रेस विरोधी थियौँ भने कसरी पूर्ण प्रेस स्वतन्त्रता लेख्थ्यौँ ?” रासस