ढुक्क हुनुस्, चौबिसकोठी-गोलाघाट सडक २ बर्षमा पूरा हुन्छ– महानगर प्रमुख दाहाल

चितवन, असाेज ६ । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले चौबिसकोठीदेखि गोलाघाटसम्मको सडक निर्माणको काम २ बर्षमा पुरा हुने बताएकी छन् ।

 

शुक्रबार प्रथम चनौली महोत्सव-२०७५ को उद्घाटन गर्दै उनले भनिन्, ‘महानगरपालिकाको महत्वपुर्ण सडक चौबिसकोठी गोलाघाट सडक निर्माणको चरणमा रहेको छ । यो आगामी दुई बर्षमा पुरा हुन्छ ।’ महानगर प्रमुख दाहालले विकासको प्रमुख आधार सडक पूर्वाधार भएको धारणा राखिन् ।

 

उनले पश्चिम चितवनको केन्द्र चनौली बजारमा आयोजित यस महोत्सव यस भेगकै पहिचान दिन सफल हुने विश्वास व्यक्त गरिन् । पश्चिम चितवन भरतपुर महानगरको आकर्षणको केन्द्र भएको भन्दै उनले कृषि, पर्यटन, पशुपालन, दुग्ध उत्पादन र पर्यटन विकासको प्रचुर संम्भावना भएको क्षेत्र रहेको बताए ।

‘भरतपुर महानगरपालिकाले यसको एकिकृत योजनाकासाथ विकासका कार्यक्रमहरू अगाडी बढाइरहेको छ’ प्रमुख दाहालले भनिन् । उनले भरतपुर महानगरले ढिलो-चाँडो सिटीहल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरिन् । दाहालले भनिन् ‘तपाई नगरवासी मलाईसाथ दिनुहोस्, निर्णयमा सहमत हुने कार्यान्वयनमा अवरोध खडा गर्ने परिपाटीबाट म आजित छु, यस्तो परिपाटिको तपाइले खबरदारी गर्नुहोस्, ।’

 

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले महानगरिय गुरूयोजना निर्माण गरिरहेको भन्दै सोही गुरूयोजना बमोजिम विकासका कामहरू अगाडि बढ्ने बताइन् । यस्ता मेला महोत्सवले कला, संस्कृती, पर्यटन र स्थानिय उत्पादनको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले प्रथम चनौली महोत्सव सफल पार्न भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा पूर्व सभासद बिष्णुमाया परियार, भरपुर महानगर वडा नम्वर २० का अध्यक्ष मणिलाल तामाङ, उद्योग वाणिज्य संघका उपाध्यक्ष टुन नारायण श्रेष्ठ लगायतले चनौली महोत्सवको सफलताको शूभकामना व्यक्त गरेका थिए ।

 

चनौली बजारमा सुक्रवारदेखि सुरू भएको प्रथम चनौली महोत्सवमा ६० वटा स्टलहरू रहेका छन । स्थानिय उत्पादनलाई प्राथमिकता दिइएको महोत्सव परिसरमा स्थानिय उत्पादन, तरकारी, विभिन्न समुदायको खानाका परिकार र बाल उद्यान महोत्सवका आकर्षण रहेका छन ।

 

महोत्सव उदघाटन पूर्व विभिन्न समुदायको सॉस्कृतिक झॉकी र बाजागाजासहितको र्यालीले बजार परिक्रमा गरेको थियो । सो अवसरमा र्यालीमा सहभागी उत्कृष्ठ समूहहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो ।

 

शुक्रबारदेखि सुरूभएको प्रथम चनौली महोत्सव अवधिभर स्थानिय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनुका साथै कृषि, पर्यटन लगायतका बिषयमा गोष्ठी तथा सेमिनार गरिने कार्यक्रम रहेको मोत्सव मूल समारोह समितिकी संयोजक मन्दिरा पोखरेलले जानकारी दिए । महोत्सव असोज १५ गतेसम्म चल्ने छ ।

राज्य मन्त्री चौधरी द्वारा ललितपुरका मासु पसलको अनुगमन,५ वटा पसल माथि प्रतिबन्ध

ललितपुर,असोज ५।कृषि राज्य मन्त्री रामकुमारी चौधरीको नेतृत्वमा शुक्रबार राजधानीका विभिन्न मासु पसलको अनुगमन भएको छ। ललितपुरको लगनखेलमा रहेको छुट्टाछुट्टै ५ ओटा मासु पसलमा कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्रीको टोलीले अनुगमन गरेका हुन। पशू बिभाग र खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशकहरु निर्मल कुमार बिमल , संजिप कुमार कर्ण ,प्राबिधिक टोली ,मन्त्रालयका कर्मचारी,प्रहरी ,प्रशासन र पत्रकारहरु सहित अनुगमनमा पुगेको टोलीले मापदण्ड बिपरित संचालन गरिएका ५ वटा मासु पसलमाथि प्रतिबन्ध समेत लगाएको छ। अनुगमनका क्रममा कुहिएको मासु प्लास्टिकको बोरामा फ्रिजिङ्ग गरेको,रागा भैंसी राख्ने ठाउँ र बदशाला एकै ठाउँमा रहेको,हिलोमा मासु काटदै गरेको,पसल दर्ता नभएको र कुनै पनि मापदण्ड पूरा नगरी संचालनमा रहेको भेटिएको छ । प्रहरी,प्रशासन र स्थानीय जनप्रतिनिधिको उपस्तिथिमा कुहिएको मासु नस्ट गर्ने बताएको छ। अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको पाइएकाले प्रतिबन्ध लगाउनु परेको पशु बिभागका महानिर्देशक निर्मल कुमार बिमलले जानकारी दिएका छन्। कुहिएको मासु सरसफाइ नगरी अनियन्त्रित ढंगबाट उपभोक्ताहरुलाई बेच बिखन गरेको पाइयो र यस्ले मानव स्वास्थमा नोक्सानी गर्ने गुण नियन्त्रण बिभागका महानिर्देशक संजिव कर्णले बताए। यस अघि राज्य मन्त्री चौधरीको नेतृत्वमा अनुगमन समितिको बैठक बसि १० बुदे निर्देशन जारी गर्दै देश व्यापी रुपमा अनुगमन अभियानको रुपमा संचालन गर्ने घोषणा गरेको थियो।

सांस्कृतिक पर्वका रुपमा विकास हुँदै इन्द्रजात्रा

काठमाडौँ, असोज ५ । काठमाडौँ उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा विकास हुँदैगएकोे छ । असत्यमाथि सत्यको विजय तथा शत्रु पक्षको पराजयपछि विजय मनाउने पर्वका रुपमा लिइएको जात्रामा फरक फरक समुदायले विशेष संस्कृतिका रुपमा महत्व दिएको पाइएको छ । हनुमानढोकामा आज विधिपूर्वक ३२ हात लामो लिङ्गो ठड्याइएपछि एक सातासम्म इन्द्रजात्रा मनाउने गरिन्छ । उक्त लिङ्गोको फेदमा भैरवको पूजा हुन्छ । विभिन्न ध्वजापताकाले सजाइएको लिङ्गोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा गरिएको छ । ध्वजासहितको लिङ्गो उठाउँदा नेपाली सेनाको ब्याण्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाएका थिए । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको विश्वास छ । एक हप्तासम्म चल्ने इन्द्रजात्राका क्रममा हनुमानढोकाभन्दा तल्लो तथा माथिल्लो क्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरिन्छ । मध्यक्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरेपछि इन्द्रजात्रा सकिन्छ । यही असोज ८ गते राष्ट्र तथा सरकार प्रमुखका साथै विदेशी पाहुनाबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवितदेवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम छ । मुलुकमा बसोवास गर्ने विभिन्न जाति तथा समुदायका मौलिक सांस्कृतिक विविधताले नेपाली संस्कृतिलाई विश्वमा विशिष्ट बनाएको राजनीतिज्ञ तीर्थराम डङ्गोलले विचार व्यक्त गरे । उहाँले नेपाली मौलिक परम्परा र संस्कृतिले नेपाली जीवनशैलीलाई सभ्य बनाउने विश्वास व्यक्त गरे । इन्द्रजात्राको प्रारम्भ गर्नुअघि राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले शुरु गरेका थिए । गणेश, भैरव र कुमारीको रथयात्रामा हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित हुने प्रचलन करीब २३५ वर्षको शाहवंशीय परम्परा हुँदै गणतन्त्रात्मक व्यवस्थामा अहिले पनि निरन्तरता पाएको छ । काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूखलाई शुभ साइतमा काटेपछि भोटाहिटीमा राखेर विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । सांसद जीवनराम श्रेष्ठले यस क्षेत्रमा रहेका विभिन्न देवीदेवता तथा जात्रा पर्वले निर्माण भएका सांस्कृतिक परम्परा तथा आस्था विश्वका लागि नै महत्वपूर्ण अध्ययन केन्द्र हुने बताए । उनका अनुसार जात्रा अवधिमा कुमारी घर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुको दश अवतार समेत देखाइने गरिएको छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकाली नाच, लाखेनाच, दश अवतार, ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच देखाइन्छ । एक सातापछि इन्द्रध्वजालाई लडाएर पर्व सम्पन्न गरिन्छ । परापूर्वकालमा स्वर्गका राजा इन्द्रको आमाको वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूलकोस्वर्गमा अत्याधिक माग बढेको थियो । त्यसकारण स्वयं इन्द्रमान स्वरूप धारण गरी कान्तिपुरी नगरीको वसन्तपुर आसपास क्षेत्र (हालको शान्ति निकुञ्ज स्कुल) मा आई बगैँचाको मालीलाई सोध्दै नसोधी पारीजातको फूल चोर्न लाग्दा स्थानीयवासीले इन्द्रलाई पाताकसी बाँधेको दृश्यसहितको मूर्ति प्रदर्शन गरिएको इन्द्रजात्राको रमाइलो किम्बदन्तीसमेत पाइन्छ । इन्द्रको आमाले छोरा नफर्किएपछि ध्यान दृष्टिले हेर्दा घटनाका बारे थाह पाएपछि घटनास्थल आई बाँधिएको मान्छे स्वर्गको राजा इन्द्र भएकाले छुटाउन स्थानीयवासीसँग अनुरोध गरेको कथा सुन्न पाइन्छ । स्थानीयवासीले आफ्ना दिवङ्गत पितृलाई स्वर्गमा लैजाने शर्तसहित इन्द्रलाई मुक्त गरेको त्यसै बेलादेखि इन्द्रजात्रा शुरु भएको जनविश्वास छ । जात्रामा घुमाइने पुलुकिसी इन्द्रको एरावत हात्ती हो, इन्द्रलाई बन्दी बनाइएपछि त्यो हात्ती स्थानीयवासीले समातेको मानिएको छ । काठमाडौँको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ । इन्द्रजात्राको रथयात्रा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पालामा मात्र शुरु भएको हो । पृथ्वीनारायण शाहको आधुनिक नेपाललाई एकीकरण गरेपछि जात्रामा थप परिवर्तन भएको पाइएको छ । गोर्खाको पल्टनबाट अपभ्रंस भई गुर्जुको पल्टन विकास भएको हुँदा जात्रामा गुर्जुको पल्टनको सहभागिताले शाह वंशीय राजाले विगतदेखि चल्दै आएको जात्रालाई अपनत्व लिएर संस्कृतिको संरक्षण गरेको गुठी संस्थानका सदस्य रामशरण डङ्गोलले जानकारी  दिए । जात्राको अन्तिम दिन माथिल्लो टोलमा गरिने रथयात्रा पनि राणाकालमा थप भएको विश्वास गरिएको छ । जात्रा अवधिभर इन्द्रचोकस्थित आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खटमा सर्वसाधारणको दर्शनका लागि विभिन्न प्रकारका फूलले सिंगारेर राखिन्छ । किराँती राजा यलम्बरको शिरका रुपमा उक्त मूर्तिलाई लिइन्छ । हनुमानढोकास्थित श्वेत भैरवको मूर्ति पनि दर्शनका लागि खुला गरिएको छ । रासस

८ बुँदे सहमतिपछि सवारी चालकको हड्ताल फिर्ता

काठमाडौं, असोज ५ । सवारी चालकको मागअनुसार, मुलुकी देवानी संहिता संशोधन गर्न सरकार तयार भएपछि सवारी चालकको आन्दोलन फिर्ता भएको छ । आज सरकार र सवारी चालक संघर्ष समितिबीच भएको आठ बुँदे सहमतिपछि आन्दलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता गरिएको छ । सवारी ऐनको विरोध गर्दै आन्दोलनरत् सवारी चालकहरुले संघर्ष समिति गठन गरी गत मंगलबारदेखि राजधानीबाहिर सार्वजनिक यातायात ठप्प पार्दै आएका थिए ।

प्रदेश नेतृत्वमा पूर्वएमालेको वर्चस्व, किन मौन बस्यो पूर्वमाओवादी समूह?

एभरेष्ट टिप्पणी, काठमाडौं, असोज ५ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताको प्रक्रियामा संगठनको अवस्था हेरेर सकेसम्म समानताका आधारमा एकता गर्ने सहमति भएको अवस्थामा प्रदेशको नेतृत्वमा भएको निर्णयले भने पूर्व माओवादी समूहलाई झस्काएको छ । सात वटा प्रदेशमा आज सचिवालय बैठकले गरेको निर्णय हेर्दा पूर्व एमाले समूहले प्रदेश नेतृत्वमा पूर्वएमालेले बाजी मारेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो । सचिवालय बैठकले टुंगो लगाएको प्रदेश नेतृत्वमा सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा पूर्वएमालेले इन्चार्जको जिम्मेवारी पाएको छ । पूर्वमाओवादीले भने प्रदेश ६ मा मात्रै प्रदेश ईन्चार्जका रुपमा जनार्दन शर्मालाई पाएको छ । पूर्वएमालेले प्रदेश १ मा ईन्चार्जको रुपमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ मा शंकर पोखरेल र प्रदेश ७ मा भीम रावललाई पाएको छ । यस्तै सहइनर्ज र अध्यक्ष तथा सचिवहरुको नेतृत्वमा पनि सन्तुलन देखिंदैन । यसअघि जिल्लादेखि प्रदेशसम्मको पार्टी एकिकरणका लागि सहजिकरण गर्न गठित कार्यदलहरुले भने करिब ४५ स् ५५ को अनुपातमा दुवैले नेतृत्व गर्न सुझाव दिएको कुरा सार्वजनिक थियो । यही अनुरुप कतिपय जिल्लामा बराबरीका आधारमा एकता गर्न सिफारिस भएको थियो भने केहीमा ४५ः५५ को अनुपात देखिन्छ । तर प्रदेशका नेतृत्व हेर्दा भने यसले पूर्व मान्यतालाई भत्काउँदै पूर्व एमालेको एकलौटी कब्जाको भावना दिएको छ । संगठनका हिसाबले कमजोर देखिएपनि प्रदेशको समीकरण हेर्दा प्रदेश २, प्रदेश ६ र प्रदेश ७ मा पूर्व माओवादी समूहले इन्जार्च पाउनुपर्ने हो । प्रदेश ७ मा कार्यसम्पादन र जेष्ठताका आधारले समेत पूर्व माओवादी अगाडि छ । तर अन्तिममा आएर प्रदेश ७ मा समेत पूर्व एमालेका नेता भीम रावल इन्जार्ज बनेका छन भने मधेस आन्दोलनपछि संकटमा परेको पूर्व एमालेबाट नै प्रदेश २ मा सत्यनारायण मण्डल इन्चार्ज बनेका छन् । निर्णय सार्वजनिक भएसँगै सचिवालय बैठकमा प्रदेश नेतृत्वको निर्णय गर्दा माओवादीको दावी नभएको हो या निर्णयमा सहजताका लागि दावी छोडेको हो भन्ने कुरा आधिकारिकरुपमा सार्वजनिक भएको छैन । तर पनि एकाएक ७ मध्ये १ मात्र नेतृत्व पाउने विषय भने उदेकलाग्दो भएको पूर्व माओवादी नेताहरु बताउँछन् । एकातिर पार्टीको नेतृत्व गर्दै सरकारमा गएकाहरुले समेत जनअपेक्षा अनुरुपको परिणाम दिन नसक्नु र अर्कोतर्फ प्रदेशहरुमा आफ्नो ‘होल्ड’ नहुने अवस्थामा भविष्यमा यसले कस्तो रुप लिन्छ त्यो हेर्न बाँकी छ । नयाँ पार्टी, नयाँ स्पिरिट र गुटरहित नयाँ संगठनको जति चर्चा र वकालत गरिएपनि समूहगत मनोविज्ञानले समेत धेरै ठूलो भूमिका खेलेको हुन्छ । प्रदेश नेतृत्वको परिणामसँगै जिल्लामा कसरी एकीकरण हुने हो भन्ने चासो अहिले झनै बढेर गएको छ । कार्यदलले दिएको सुझावका आधारमा एकता हुने हो भने सम्मानजनक र सन्तुलित समीकरण देखा पर्ने हुन सक्छ । तर पूर्व एमालेभित्र कतिपय जिल्लामा देखिएको गुटगत विवादलाई समायोजन गर्न पूर्व माओवादीलाई नै बार्गेनिङ बिन्दुमा पुर्याइयो भने जिल्लामा समेत समस्या पर्न सक्ने आँकलन नेताहरुले गरेका छन् । तर सचिवालयको निर्णयको रक्षा गर्नेहरु भने इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवमा बराबरको संख्यामा दुबै पूर्व पार्टीबाट सहभागी भएकोले यसले समस्या ननिम्त्याउने तर्क समेत गरिरहेका छन् । इन्चार्ज देखि सचिवसम्म एउटा टीम हुने, त्यसपछि कार्यालय रहने भएकोले अहिलेको समीकरणमा जुन समूहको नेतृत्व भएपनि काम गर्ने सवालमा यसले कुनै विवाद या अप्ठ्यारो नपर्ने उनीहरुको तर्क छ । यस्ताे छ प्रदेश नेतृत्वको नामावली प्रदेश १  ईन्चार्ज भीम आचार्य सहईन्चार्ज सावित्रीकुमार काफ्ले अध्यक्ष देवराज शर्मा सचिव सुरेश राई प्रदेश २ ईन्चार्ज सत्यनारायण मण्डल सहईन्चार्ज विश्वनाथ शाह अध्यक्ष प्रभु साह सचिव सुमन पोखरेल प्रदेश ३ ईन्चार्ज अष्टलक्ष्मी शाक्य सहईन्चार्ज हितबहादुर तामाङ अध्यक्ष नारायण दाहाल सचिव आनन्द पोखरेल गण्डकी प्रदेश ईन्चार्ज पृथ्वीसुब्बा गुरुङ सहईन्चार्ज खगराज अधिकारी अध्यक्ष हितराज पाण्डे सचिव गोविन्द नेपाली प्रदेश ५ ईन्चार्ज शंकर पोखरेल सहईन्चार्ज दल बहादुर राना अध्यक्ष ओनसरी घर्ती सचिव जगप्रसाद शर्मा कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा सहईन्चार्ज ओमलाल कंडेल अध्यक्ष गोरखबहादुर बोगटी सचिव माया प्रसाद शर्मा प्रदेश ७ ईन्चार्ज भीम रावल सहईन्चार्ज लक्ष्मी जोशी अध्यक्ष कर्ण बहादुर थापा सचिव सिंहराज चौधरी

राष्ट्रिय सुरक्षा परिषदको बैठक सिंहदरबारमा जारी, शान्ति सुरक्षाबारे समीक्षा हुँदै

काठमाडौं, असोज ५ । राष्ट्रिय सुरक्षा परिषदको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा देशको पछिल्लो शान्ति सुरक्षामा देखिएको चुनौतीका बारेमा समीक्षा हुने बताइएको छ । शनिबार (भोलि) प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम रहेकोले परिषद्को आकस्मिक बैठक बोलाईको हो ।

सभामुख महरा र साउदी कार्यवाहक राजदूत अब्दुलबीच भेटवार्ता

काठमाडौं, असोज ५ । सभामुख कृष्णबहादुर महरा र नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुखको सचिवालय सिंहदरबारमा शुक्रबार उनीहरुको भेटवार्ता भएको हो । भेटका अवसरमा सभामुख महराले साउदी अरब र नेपालको कूटनीतिक सम्बन्ध सुमधूर रहेको बताए । साउदी अरबको ८८औं राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै सभामुख महराले आगामी दिनमा नेपाल र साउदी अरबबीच अझैं प्रगाढ सम्बन्ध विस्तार हुनेमा विश्वास व्यक्त गरे । ‘नेपाल र साउदी अरबको कूटनीतिक सम्बन्ध सुमधूर र बलियो रहेको छ’, उनले भने, ‘हाम्रो औपचारिक सम्बन्धमात्रै नभई जनस्तरबाट पनि दुई देशबीच बलियो सम्बन्ध रहेको छ ।’ राजनीतिक र कूटनीतिक स्तरमा मात्रै नभई जनस्तरमा पनि दुई देशको सम्बन्ध रहेको चर्चा गर्दै सभामुख महराले नेपालका लाखौं नागरिकहरु साउदी अरबको श्रम बजारमा रोजगारीका लागि पुगेको बताए । ‘अहिले नेपालका लाखौं नागरिकहरु रोजगारीका लागि साउदी अरबमा पुगेका छन्, सभामुख महराले भने, ‘साउदी अरबमा नेपाली नागरिकहरुको पेशागत तथा भौतिक सुरक्षा जस्ता सवाल हाम्रो चासोका विषयहरु हुन्, यसमा साउदी अरब सरकारले विशेष ध्यान दिनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’ भेटमा नेपालस्थित साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले साउदी अरब र नेपालको सम्बन्ध मजबुत रहेकोमा खुसी व्यक्त गरे । उनले वैदेशिक रोजगारीका लागि आफ्नो देशमा पुगेका नागरिकहरुलाई साउदी अरब सरकारले सुरक्षामा विशेष ध्यान दिने बताए । यहीं सेप्टेम्बर २३ मा साउदी अरबको ८८ औं राष्ट्रिय दिवस काठमाडौंमा पनि विशेष समारोहका बीच मनाउन लागिएको बताउँदै अब्दुलकरिमले उक्त समारोहमा आतिथ्यताका लागि सभामुख महरालाई आग्रह गरे ।

थारुलाई नेतृत्वमा ल्याउन आफ्नै पद धरापमा पारे नेता लेखराजले !

काठमाडौं, असोज ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ बाट प्रभावशील नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो । ‘५ नम्बर प्रदेशबाट पनि नेतृत्वमा थारु समुदायबाट सिफारिस भएन, ७ नम्बरबाट दिनु पर्यो ।’ त्यसै पनि पद अनुसार, नेता व्यवस्थापनको गम्भीर चुनौती झेलिरहेका नेता लेखराजका लागि यो अप्रत्याशित निर्देशन थियो । पहिलादेखि नै तयार भएको सेटमा नयाँ व्यक्ति थप्दा कसैलाई विस्थापन गर्नु पर्थ्यो । पूर्वमाओवादी र पूर्वएमालेबीच प्रदेश नम्बर ७ का लागि भीम रावल र लेखराज तथा कर्ण थापा र लक्ष्मण जोशीको नाम मुख्य नेतृत्व तहका लागि सहमति भैसकेको अवस्था थियो । थारु समुदायबाट कसैलाई समेट्न कि लक्ष्मी जोशीलाई लिस्टबाट झिक्नु पर्थ्यो । जोशीको नाम सचिव पदका लागि सिफारिस भइसकेको थियो । तर, लेखराजले आफ्नै लागि अप्रिय निर्णय गर्दै पुराना थारु नेता सिहराज चौधरीलाई सचिव पदका लागि सिफारिस गरे । सिहराजलाई सिफारिस गर्नुको अर्थ लक्ष्मी जोशी आउट हुनु थियो । लेखराजले एकपटक फेरि त्यागको मनस्थिति बनाए । उनले सचिवका लागि प्रस्तावित लक्ष्मी जोशीलाई सह–इन्चार्जमा प्रस्ताव गरे । उनले थारु समुदायबाट नेतृत्व ल्याउन नखोजेको भए या लक्ष्मी जोशीलाई हटाएको भए उनी या भीम रावल मध्ये एक जना इन्चार्ज र अर्को सह इन्चार्ज हुने पक्का थियो । यस अघि ओली सरकार गठनको बेला तत्कालिन परिस्थितिको आँकलन गरि लेखराज भट्टले मन्त्री पदमा बीना मगरलाई सिफारिस गरेका थिए । एजेन्डाका हिसाबले अखण्ड ७.नम्बर प्रदेशका पक्षधर भट्टलाई थारु विरोधीका रुपमा समेत कतिपयले चित्रण गर्न खोजे । तर, नेता भट्टले निर्णायक अवस्थामा आफुले पाएको पद समेत धरापमा राखेर थारु समुदायबाट प्रदेश सचिवमा सिफारिश गरे । नेता भट्टले सिफारिस गरे अनुरूप नै आज बसेको नेकपा सचिवालयको बैठकले प्रदेश.नम्बर ७ को इन्चार्जमा भीम रावल, सह इन्चार्जमा लक्ष्मी जोशी, अध्यक्षमा कर्ण थापा र सचिवमा सिहराज चौधरीलाई चयन गरेको हो ।

सुन तस्करी प्रकरण : एसएसपी, एसपी र डिएसपीको निलम्बन फुकुवा

काठमाडौं असोज ५ । ३ हजार ८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीको निलम्बन फुकुवा हुने भएको छ। प्रहरी उच्च अधिकारीका अनुसार एसएसपी लोहनी र डिएसपी केसीको निलम्बन फुकुवा सम्बन्धी पत्र प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ। एसपी खनालको पत्रका बिषयमा कानून शाखाले लेखापढी गरिरहेको हो । तीनैजना प्रहरी अधिकारीलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न बैशाख २१ मा आदेश दिएको थियो। यी तीनको हकमा उच्च अदालत बिराटनगरले विभिन्न मितिमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। फौजदारी अभियोगमा प्रतिवादी रहेका तीनैजनालाई गृहमन्त्रालयले निलम्बन गरेको थियो । प्रहरी नियमावली अनुसार निलम्बन गर्नेले नै फुकुवा गर्ने नियम भएकाले तीनैजनाको निर्णयाधिकार गृहलाई हुन्छ। तीनैजना प्रहरी अधिकारीले साधारण तारेखमा रिहा भएपछि निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए। प्रहरी प्रधान कार्यालयको कानून शाखाले आवश्यक औपचारिक कारवाही पुरा गरेर निलम्बनको निर्णयगर्ने तालुकदार मन्त्रालयलाई पत्राचार गरेको हो। ‘लोहनी र केसीको पत्र गृहमा पुगेको छ, खनालको पठाउने तयारी भएको छ, गृहबाट फुकुवा हुनेछ। तीनैजनाले चाडै बहाली गर्नेछन,’ ती अधिकारीले शुक्रबार भने। सरकारले २० चैत २०७४ को मन्त्रिपरिषद्को निर्णयले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले यी तीनै अधिकारीको घटनामा संलग्नता रहेको अभियोग सहित प्रतिवादी बनाएको थियो। मोरङ उर्लाबारीका सनम शाक्यको १८ फागुन २०७४ मा अपहरणपछि हत्याको अनुसन्धानमा टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ महिनामा ३ हजार ८ सय किलो सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो । अनुसन्धानमा सनम शाक्य हत्याको अनुसन्धानका लागि अपराध महाशाखाको टोली कार्यक्षेत्र नाघेर मोरङ गएको, प्रमाण नष्ट गरेको र मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई भगाउन सघाएको खुलेको थियो। तत्कालिन महाशाखा प्रमुख रहेका एसएसपी लोहनीले डिएसपी केसीको नेतृत्वमा टोली मोरङ पठाएका थिए। महाशाखाका सई बालकृष्ण सञ्जेलको सूचनालाई पच्छयाएर महाशाखाको टोली मोरङ पुगेको थियो। अनुसन्धानमा सञ्जेलको मुख्य अभियुक्त गोरेसँग निकट सम्बन्ध रहेको र यी दुई बिचमा लाखौं लेनदेन भएको खुलेको थियो । यस्तै विमानस्थलमा कार्यरत रहँदा र मकवानपुर प्रहरी प्रमुख भै सकेपछि पनि एसपी खनाल र गोरेबीच निकट सम्बन्ध रहेको अनुसन्धानमा खुलेको थियो । अनुसन्धान टोलीले बरामद गरेका डायरीमा खनाललाई पाँच लाख रुपैयाँ तस्करीमा सघाए बापत भुक्तान गरेको खुलेको थियो। उच्च अदालतले प्रमाण आधारमा थुनामा नराखी मुद्दाको पूर्पक्षका लागि तीनै जनालाई सुविधा दिएको हो। उनीहरु बिरुद्ध मोरङ जिल्ला अदालतमा रहेको मुद्दाको सुनवाई बाँकी नै छ। नेपालखबरबाट

विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था लागू

काठमाडौँ, असोज ५ । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गरेको छ । आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा दिने लक्ष्यका साथ प्राधिकरणले सो व्यवस्था लागू गरेको हो । गत भदौ २५ गते बसेको प्राधिकरण बैठकले मिटर रिडर बाहेकका हकमा अनिवार्य हाजिरी गर्नुपर्ने र त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सो व्यवस्था यही असोज ७ गते आइतबारदेखि लागू हुने प्राधिकरणले जनाएको छ । प्राधिकरण व्यवस्थापनले क्रियाशील ट्रेड युनियनका पदाधिकारीले दिनमा एकपल्ट मात्रै हाजिर गरे हुने व्यवस्था खारेज गरिदिएको छ । प्राधिकरण कर्मचारी सेवा विनियमावलीमा प्राधिकरणले व्यवस्था गरेबमोजिम मिटर ‘रिडिङ’मा संलग्न कर्मचारीबाहेकले कार्यालय खुलेको दिन कार्यालय समयअनुसार अनिवार्यरुपमा आएको र गएको समय जनिने गरी विद्युतीय हाजिर गर्नु पर्ने व्यवस्था लागू गरिएको हो । विद्युत्भार कटौतीको अन्त्यपछि आन्तरिक व्यवस्थापनको सुधार, चुहावट नियन्त्रण तथा अन्य सुधारात्मक काममा लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसअघि नै सार्वजनिक गर्नुभएको थियो । सोही घोषणाबमोजिम नै बाध्यकारीरुपमा सबै कर्मचारीलाई हाजिरीमा कडाइ गरिएको हो । यस्तो व्यवस्था कार्यान्वयन नभएको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको अध्यक्षतामा बसेको बैठकले विनियमावलीलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । विद्युत्भार कटौतीको अन्त्यपछि आन्तरिक सुधारको रुपमा यस्तो कदम चालिएको हो । प्राधिकरणको यो निर्णयबाट सबैभन्दा बढी ट्रेड युनियनका नेता प्रभावित हुने भएका छन् । प्राधिकरणमा नेपाली काङ्ग्रेसको कर्मचारी सङ्घ आधिकारिक ट्रेड युनियन छ । तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्रका क्रमशः कर्मचारी युनियन तथा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त) र राप्रपाको कर्मचारी कल्याण परिषद् क्रियाशील छन् । कार्यालय आएको र गएको समय जनिने गरी हाजिर गर्नुपर्ने व्यवस्था लागू भएपछि कार्यकारी निर्देशक घिसिङले पनि दिनमा दुई पटक हाजिर गर्नुपर्ने भएको छ। यसैगरी, उपकार्यकारी निर्देशकले पनि दुई पल्ट नै हाजिर गर्नुपर्ने भएको छ । यसअघि उनीहरुले दिनमा एक पल्ट मात्रै हाजिर गरे हुने व्यवस्था थियो । मिटर रिडिङमा खटिने कर्मचारीले भने सम्बन्धित कार्यालय प्रमुखले नै आवश्यक व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ । रासस

२६ वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा हुन नसक्दा बासिन्दा खच्चडकै भर

तेह्रथुम, असोज ५ । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ । सडक बनेपछि ट्रकले गाउँसम्म खाद्यान्नलगायत उपभोग्य वस्तु बोकेर ल्याइदिन्छ भन्ने गाउँवासीको आशा सडक खन्न थालेको दुई दशकसम्म पनि पूरा हुन सकेन । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा जोड्ने २८ किलोमिटर सडकमा अझै सहज हुन सकेको छैन । गाउँले खच्चड र पिठ्यूँमा फोका उठाउँदै नजिकिएका पर्वका लागि उपभोग्य वस्तु बोक्न बाध्य छन् । शुरुमा वसन्तपुर गुफा सडक आयोजना, त्यसपछि तत्कालीन तेह्रथुम जिल्ला विकास समिति र हाल सडक डिभिजन कार्यालय धनकुटा र सङ्खुवासभाले यो सडक बनाइरहेका छ । अठ्ठाइस किलोमिटर लामो यो सडक निर्माणमा हालसम्म कति बजेट खर्च भयो भन्ने हिसाब किताब आयोजना, जिविस र सडक डिभिजन तीनवटै निकाय देखाउन आनाकानी गर्छन् । पहिलेको रेकर्ड हराएको, नभेटिएको जस्ता बहाना बनाउँदै कर्मचारी एकअर्कालाई दोष लगाउँदै आफू पन्छिन्छन् । यो सडक निर्माणमा देशको ठूलो धनराशि खर्च भएको चौकी बजारका उदयकुमार ल्होले बताए । गत वर्षदेखि यो सडकलाई सरकारले राष्ट्रिय गौरवको आयोजनमा समेटी मदन भण्डारी लोकमार्ग नाम दिएर बजेट विनियोजन गरेको छ । बसन्तपुरबाट पाँचपोखरी, चौकी, मङ्गलबारे, गुफा हुँदै निर्माण गरिएको यो सडकमा सवारी सञ्चालन हुन नसकेपछि दसैंका लागि अहिल्यैदेखि चौँरी र खच्चडमार्फत सामान ढुवानी गर्न थालेका छन् । रासस

सङ्घीयता ठीक या बेठीक भन्ने तर्क अब असान्दर्भिक: प्रधानमन्त्री

काठमाडौँ, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता ठीक कि बेठीक भनी तर्क अब असान्दर्भिक रहेको बताएका छन् । तेस्रो संविधान दिवस, २०७५ को अवसरमा मूल समारोह समितिद्वारा मङ्गलबार  सैनिक मंच टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान समेत गरे । प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा प्रधानमन्त्रीले भने, “समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय सङ्कल्प हो । यस्तो सङ्कल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै जीवन उत्सर्ग गर्ने, रगत-पसिना बगाउने देशवासीसँगै पटकपटक गरेका छौँ । हामी अब समृद्धिको सपना देखाउने चरणबाट परिवर्तन महसुस गराउने चरणमा प्रवेश गरेका छौँ ।” आधुनिक नेपालको कोसेढुङ्गा सावित हुने गरी संविधान जारी र कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्यादित जीवन जिउने अभिलाषा पूरा हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मौलिक हकसँग जोडिएका कानून तर्जुमा भइसकेको र सुशासनका लागि आवश्यक कानूनी प्रबन्ध हुने क्रममा रहेको बताए । सङ्घीय प्रणाली नेपालको नयाँ प्रयोग भएकाले व्यवहारको कसीमा यसले पूर्णता पाउने जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, “सङ्घीयता ठीक कि बेठीक भन्ने प्रश्न अब हाम्रो सन्दर्भमा सान्दर्भिक रहेन । बहस र तर्क-वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वभाविक हुन्छ तर जब राष्ट्रले निर्णय लिन्छ । नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ ।” प्रधानमन्त्रीले संविधानमा कतै छेउकुना नमिलेको भए वा कहीँकतै राँटो बाँकी रहेको भए समयक्रममा मिलाइने र अमिल्दा देखिएको विषयको परिमार्जन र संशोधन हुने विश्वास व्यक्त गरे । अधिकार प्राप्तिको राजनीतिक आन्दोलनको चरण र प्रयोग सकिएकाले अब शान्तिपूर्ण, सशक्त वा सशस्त्र हिंसात्मक आन्दोलन संविधान लागू भएसँगै इतिहास बन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा अब कुनै पनि प्रकृतिको जबर्जस्ती र अनुचित क्रियाकलाप आवश्यक छैन ।” प्रधानमन्त्री ओलीले विवेकहीन नहुने र राज्यले विधि मिच्न मिल्दैन भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै उनले राष्ट्रले देखेको सपनालाई राज्यका सबै निकायले एउटै लयमा समाउनुपर्ने आग्रह गरे । प्रधानमन्त्री ओलीले थपे, “कार्यपालिका, व्यवस्थापिका वा न्यायपालिका तिनै निकायले नागरिकको सन्दर्भमा निर्णय लिँदा सन्तुलित र विवेकी हुनुपर्छ ।” कर्यक्रममा ‘संविधान दिवस २०७५’ लेखिएको ब्यानर अङ्कित नेपाली सेनाको चार वटा हेलिकोप्टरमा पुष्पवृष्टि गरिएको थियो भने नेपाली सेना, नेपाल प्रहारी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका तर्फबाट मार्चपास तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो । काठमाडौँ र ललितपुर महानगरपालिका तथा उपत्यकास्थित स्थानीय तहबाट झाँकी प्रस्तुति गरिएको थियो भने राष्ट्रिय भावनाका गीत प्रस्तुत गरिएको थियो । समारोहमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण र उच्चपदस्थ अधिकारीको सहभागिता थियो । रासस  

जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः प्रचण्ड

काठमाडौँ, असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन र गरीबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहने उल्लेख गरे । उनले भने, “मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । विश्व वाष्पीकरण, मरुभूमीकरण तथा पानीको अभाव र अन्य रुपमा देखिएका जलवायु परिवर्तनका असरका कारणले विभिन्न क्षेत्रमा द्वन्द्व देखिन थालेका छन् ।” शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति एउटा पूर्वशर्त भएको बताउँदै अध्यक्ष दाहालले त्यसको आधार समावेशी, समानता र दिगो विकास भएको उल्लेख गरे । उनले भने, “देश र जनताका बीचको तीव्र विभाजन र असमानता पनि आजको वास्तविकता हो । हाम्रो समयको गरीबी एउटा अत्यन्तै डरलाग्दो चुनौती हो ।” लाखौँ मानिस अहिले पनि गरीबीको रेखामुनि रहन बाध्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसबीचमा लाखौँ मानिस केही दशकयता गरीबीको रेखाबाट बाहिर आए पनि धनी र गरीबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा बढेको बताए । विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापकरुपमा आत्मसात् गर्नु एउटा खुसीको विषय भएको उल्लेख गर्दै उनले भने, “यसलाई व्यापक रुपमा स्वीकारिएको छ, कि शान्ति बिना विकास हुँदैन र विकास बिना शान्ति हुँदैन । हामी भन्न सक्छौ कि तुलनात्मक रुपमा हामी विश्वको शान्तिपूर्ण अवधिमा छौँ ।” दिगो शान्ति र सुरक्षा तथा सुव्यवस्था प्राप्तिका लागि मुलुक मनैदेखि मिलेर लागिरहे पनि केही मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी रहेको उनको भनाइ छ । विश्वव्यापीकरण र तीव्र विकास, सूचना तथा सञ्चार प्रविधिले विश्वलाई एउटा एउटै गाउँमा रुपान्तरण गरिदिएको स्मरण गर्दै अध्यक्ष दाहालले भौतिक वातावरण र प्रविधि, संस्कृति र मान्यताका साथसाथै हाम्रा आशा र चाहनामा पनि हामी एक अर्कामा निर्भर छौँ भने । “विश्वव्यापीकरणले ल्याएका चुनौतीको पनि सँगै सामना गरिरहेका छौँ । हामीसँग आशावादी हुने कारण छन् । एउटा देशमा भएको प्रविधिको विकास र अन्वेषणले विश्वभरिका मानिसको जीवनलाई सहज बनाइदिएको छ”–अध्यक्ष दाहालले भने, “विश्वको एउटा भागमा भएको तीव्र र दिगो आर्थिक विकासले बाँकी विश्वका लागि समृद्धिको आशा जगाएको छ ।” विश्वको एउटा भागको शान्ति र स्थिरताले विश्वको अर्को भागलाई त्यही दिशामा धकेल्न प्रोत्साहित गरेको उल्लेख गर्दै उहाँले न्युयोर्क वा साङ्घाईको शेयरबजारमा हुने उतारचढावले विश्व अर्थतन्त्रलाई तरङ्गित बनाउने बताए । “न्युयोर्क, पेरिस वा काबुलमा हुने आतङ्कवादी आक्रमणले जहाँ सुकैका जनतालाई पनि शान्त र सुरक्षित महसुस गराउँदैन”–अध्यक्ष दाहालले भने, “इबोला भाइरसलाई एउटा देशबाट अर्को देशमा प्रवेश गर्न राजनीतिक सीमा र बलियो अध्यागमन नीतिले रोक्न सक्दैन । विकसित मुलुकका उद्योगहरुद्वारा उत्सर्जित विषालु ग्यासले त्यस्तो ग्यास उत्सर्जन नगर्ने मुलुकको जलवायुमा खराब असर पारेको हुन्छ ।” आतङ्कवाद, क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीब्ररुपमा फैलिइरहेकामा उहाँले चिन्ता व्यक्त गरे । जनता र देशलाई जोड्न चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले सबैलाई हित हुने गरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिवृद्धि गर्ने ‘वेल्ट एण्ड रोड इनिसियटिभ’को कार्ययोजनाले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको बताए । उहाँले भन्नुभयो, “नेपाल विश्वस्त छ कि बिआरआइले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ र यस क्षेत्रमा सेवा, वस्तु र जनताको आवतजावतको अप्ठयारा, अवरोधलाई हटाउने छ ।” यातायातमा सुधार र कनेक्टीभिटीको पहुँचले एकीकृत बजारका लागि सहयोग गरी व्यापार तथा वाणिज्य विस्तार गर्न लाभ प्राप्त हुने बताउँदै अध्यक्ष दाहालले बिआरआईको मातहतमा यातायातको पूर्वाधारको सहयोगले पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, ऊर्जा संयन्त्र, सेवा र वाणिज्यको अप्ठ्यारा हटाएर चीनसँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “हामी विश्वास गर्छौ कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा वृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्नति अनि साझा समृद्धिका हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्ने छ ।” जातिका लागि साझा भविश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र ‘वीन वीन’ सहयोग साझा समृद्धिको अवधारणा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई यसले निश्चय नै निरुत्साहित गर्न सघाउनेछ भने । ‘विकासको रेल यात्रामा दौडिरहेको छ’ भन्ने जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिन फिङले प्रायः अन्तर्राष्ट्रिय समुदायलाई भन्ने गरेको सुन्दा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै अध्यक्ष दाहालले भने, “शान्ति, सुरक्षा र समृद्धिको बाटोमा सँगै हिँड्न चीन तयार रहेको अभिव्यक्ति हो त्यो । सद्भावको मुख्य तत्व शान्तिपूर्ण र स्थिर समाजका लागि साझा समृद्धि र समावेशी विकासमा अन्तरनिहित रहेको म विश्वास गर्छु ।” शान्तिपूर्ण र स्थिर समाज तथा समावेशी विकासमा आफूहरुले सामूहिक प्रतिबद्धता जनाएको बताउँदै उनले जलवायु परिवर्तनका सन्दर्भमा दिगो विकास लक्ष्य र पेरिस सम्झौता उदाहरणका रुपमा रहेका स्मरण गरे । अध्यक्ष दाहालले भने, “हामीसँग संयुक्त राष्ट्रसङ्घ जस्ता संस्था स्थापित भएका छन् र वास्तविक शान्ति र सुरक्षाका लागि अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरुले हाम्रा साझा कार्यसूचीलाई सहजीकरण गरिरहेका छन् ।” नेपालले पटक–पटक संयुक्त राष्ट्रसङ्घ घोषणापत्रका सिद्धान्तको वकालत गर्दै आएको जानकारी गराउँदै अध्यक्ष दाहालले संविधानमा विश्व शान्तिका लागि नेपालको प्रतिबद्धता प्रतिविम्बित भएको बताए । समारोहमा अध्यक्ष दाहालले विश्व शान्ति र सुरक्षामा नेपालको निरन्तर प्रतिबद्धता खुशीसाथ व्यक्त गर्दै भने, “शान्तिपूर्ण तरिकाबाट सशस्त्र द्वन्द्वको समाधान गर्ने बिरलै उदाहरण हामीले हाम्रो नमूनायोग्य र घरेलु शान्ति प्रक्रियामार्फत प्रस्तुत गरेका छौँ ।” दिगो भविष्य, सुरक्षा र बचाउका लागि सामूहिक र केन्द्रिकृत प्रयासलाई जोड दिँदै उहाँले हामी सबैका लागि एउटै भविष्य निर्माण गर्न सबैसँगै मेहनत गर्नुपर्ने बताए  । उनले भने, “हाम्रो भविष्यलाई राम्रो बनाउने वा खराब बनाउने हाम्रै हातमा छ । म पूर्ण विश्वस्त छु कि विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गर्न यो सहभागिताबाट एउटा ठोस निष्कर्ष आउने छ ।” रासस

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौं, असोज ३ । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी सिचुवानको प्रान्तको छेन्चु गएका हुन् । उपराष्ट्रपति पुनले छेन्दुमा भोलिदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तराष्ट्रिय मेला’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बिहीबार नै पुनले अन्तर्राष्ट्रिय मेलाको उदघाटन समारोहलाई सम्वोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिले असोज ४ मा वेल्ट एण्ड रोडसम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उपराष्ट्रपति पुनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी ‘सिपिसी’का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने कार्यक्रम समेत तय भएको छ ।

राजपाका कार्यकर्ताहरुले सरकारी कार्यालयमा कालो झण्डा गाडे

राजविराज, असोज ३ । बुधबार सप्तरी जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले कालोझण्डा गाडेका छन् । मधेशी जनतालाई दमन गरी २०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तर्गत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाका सह महामन्त्री गजेन्द्र मण्डलले बताए । बुधवार बिहानैदेखि सदरमुकाम राजविराजसहितका जिल्ला प्रमुख बजारहरुमा राजपाका नेता कार्यकर्ताहरु कालोझण्डा सहित प्रर्दशन गरेका छन् । प्रर्दशन र सरकारी कार्यालयहरुमा कालोझण्डा गाडने कार्यक्रममा राजपाबाट स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु समेत सामेल छन् । उनीहरुले विभिन्न स्थानीय तहको कार्यालयमा समेत कालो झण्डा गाडेका छन् । राजपाले दिउँसो राजविराजमा बृहत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ । विरोध सभालाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजपाले कालो झण्डा सहित प्रर्दशन गरिइरहदा जिल्लामा सुरक्षा ब्यवस्था समेत कडा बनाईएको छ । अघिल्ला दिनभन्दा बजार र ग्रामीण क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । कान्तिपुरबाट

संविधान कार्यान्वयनका लागि दलीय एकतामा जोड

भीमदत्तनगर, असोज ३ । कञ्चनपुरको भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको नयाँ नेपाल चाउमिन सेन्टरका सञ्चालक हेमराज जोशी २०६२-०६३ को जनआन्दोलनका घाइते भएका थिए । मुलुकमा आएको परिर्वतनसँगै चिया पसलको नाउँ नै ‘नयाँ नेपाल’ राखेर व्यापार गर्दै दैनिकी चलाउँदै आएका जोशीले संविधान जारी भएपछि संविधान कार्यान्वयन चरणका महत्वपूर्ण कार्यभार सम्पन्न भएपछि देखिएको खुशीसँगै केही निराशासमेत व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचनदेखि सङ्घीय र प्रदेशसभाको सफल निर्वाचन भई मुलुक सङ्घीय संरचनामा जानु धेरै ठूलो उपलब्धि हो । जनआन्दोलनका घाइते जोशी भन्छन्, “स्थानीय तहमा देखिएको केही मनमानीले मन खिन्न भएर आउँछ ।” उहाँले संविधानको दरिलो कार्यान्वयन र असहमत पक्षलाई पनि संविधानमा अटाउनका लागि राजनीतिक दलबीचको एकता हुनुपर्नेमा जोड दिएका छन् । “जनआन्दोलनमा तत्कालीन सात दलको एकता अब संविधानको कार्यान्वयन र मुलुकको समृद्धिका लागि देखिन आवश्यक छ ।” जोशीले भने, “अब विकासका लागि राजनीति आवश्यक छ ।” मधेशमा संविधान स्वीकार्य विषयमा देखिएको केही विमति पनि राजनीतिक वृत्तबाटै समाधान खोज्नुपर्नेमा उनको जोड छ । त्यसैगरी कञ्चनपुरको महाकाली नगरपालिका–१ चाँदनीका बलबहादुर सुनारले संविधान कार्यान्वयनसँगै गाउँमा विकास हुनुपर्नेमा जोड दिएका छन् । “अब संविधान कार्यान्वयनमा कुनै विमति रहेन ।” खेती किसानी गर्दै आएका सुनारले भने, “विकासका माध्यमबाट गाउँको मुहार फेरिएको हेर्ने रहर छ ।” त्यसैगरी कञ्चनपुर नागरिक समाजका अगुवा एवं अभिवक्ता पुनमसिंह चन्दले संविधान लागू भएयता कार्यान्वयनकै चरणमा रहेको बताए । “मौलिक हक लागू गर्न कानून निर्माणकै प्रक्रियामा रहेकाले केही अन्योलता देखिएको हो ।” उनले भने, “स्थानीयदेखि तह हुँदै प्रदेश र सङ्घीय निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनको सुखद् पक्ष हो ।” संविधानतः गठन गर्नुपर्ने संवैधानिक आयोग गठनमा समेत सरकारले तदारुपता देखाउँदै जानुपर्ने उनको भनाइ छ । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयका प्रा डा मुकुन्द कलौनीले संविधानमा मौलिक हक धेरै भए पनि व्यवहारमा कार्यान्वयन नभएको बताए । “संविधानमा धेरै हक राखिए तर व्यवहारमा लागू भएजस्तो लागेन ।” उनले भने, “मुलुक प्रादेशिक संरचनामा गइसक्दा पनि न्याय माग्न काठमाडौँनै धाउनुपर्ने अवस्था छ।” संविधानमा सङ्घीयता समावेश गर्न प्रादेशिक संरचनाको ढाँचामा ध्यान नदिइएको उनको बुझाइ छ । युथ भ्वाइस महेन्द्रनगरका सचिव रदिप पालले संविधान किताबका पानामा सीमित हुन नहुने बताए । “संविधानमा धेरै विषय लेखिए पनि व्यवहारमा लागू हुन सकेका छैनन् ।” उनले भने, “पछिल्लो केही गतिविधि संविधान विपरीत देखिएका छन् ।” बेरोजगार युवालाई रोजगारीको प्रबन्ध मिलाउने विषयमा पनि पहल थाल्नुपर्ने पालको भनाइ छ । संविधान महिला हकअधिकार धेरै समेटिए पनि महिलाप्रतिको विभेद कायम नै रहेको उनको भनाइ छ । रासस