भुकम्पमा मृत्यु हुनेहरुको सम्झानामा ‘नेपाल पदयात्रा बृत्तचित्र २०७२’ सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं, बैसाख १२ । बैशाख १२ गतेको दिन भुकम्पमा परी मृत्यु हुनेहरुको सम्झानामा  नेपाल पदयात्रा बृत्तचित्र २०७२  सार्वजनिक भएको छ । भुकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा गरिएको पदयात्रालाई  ढुक्पा नेपाल र लिभ टु लभ इन्टरनेशनलले आयोजन गरेको  हो । यस यात्राको नेतृत्व परम पावन पुज्निय धर्म गुरु ग्यालवाङ दोखाम्पा (खाम्टुल रिन्पोछे) गरेका हुन । पदयात्रामा २५० जना लामा, भिक्षु लगायत अन्य सर्वसाधरणहरुको सहभागि थियो। यो पदयात्रा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु बाट २०७२ कार्तिक १८ गतेबाट शुरु गरि २०७२ कार्तिक २५ गते सदरमुकाम चौतरामा सम्पन गरिएको थियो ।

हेर्नुस भिडियो

करोडौंको जग्गा किर्ते गर्नेमा कांग्रेस–माओवादीका नेतादेखि पत्रकारसम्म

झापा, वैशाख ११ । करोडौं मूल्य पर्ने जग्गा किर्ते गरी हडप्नेमा राजनीतिक दलदेखि पत्रकारसम्म संलग्न रहेको पुष्टि भएको छ । भद्रपुरमा अाज आयोजित पत्रकार सम्मेलनमा झापा शनिश्चरेका जीवन विष्टको नाममा रहेको १५ करोड मूल्यको जग्गा कीर्ते गरी हडप्नेमा कांग्रेस, माओवादीका नेतादेखि पत्रकारसम्मको संलग्नता प्रहरीले पुष्टी गरेको हो । प्रहरीका अनुसार जग्गा किर्ते गर्नेमा टेलिभिजन पत्रकार पुजन घिमिरे, जिल्ला प्रशासनका खरदार तेजेन्द्र न्यौपाने, कांग्रेसका कार्यकर्ता भूपू कान्छा भनिने अजय राईलाई गत चैत २७ गते, भद्रपुरका व्यापारी प्रेम न्यौपानेलाई २८ गते र बाहुनडाँगीका राजु कुँवरलाई चैत ३० गते , प्रहरीले पक्राउ गरेको थियो । उनीह्रुलाई सार्वजनिक गरिएको छ । अभियुक्तहरुलाई सोमवार थप अनुसन्धानका लागि तेस्रो पटक १० दिनको म्याद थप गरिएको छ । एसपी शैलेश थापाका अनुसार पत्रकार घिमिरेसहित उनका सहयोगी पत्रकार अर्जुनधारा १ वस्ने शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अग्नी भनिने राजु आचार्य, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटी फरार रहेका छन् । पत्रकार घिमिरेकै योजनामा विष्टको नामको अनारमनी–४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरि हडप्न खोजिएको थियो । होटल व्यवसायका लागि विष्टको जग्गामा पत्रकार घिमिरे र शिवाकोटीले गत असार १९ गते ५ वर्षका लागि व्यबसाय गर्न जग्गा भाडामा लिएको थिए । करिब ५ महिनापछि जग्गाधनीलाई उनीहरुले १० वर्षे सम्झौताका लागि आग्रह गरेर पुस २५ गते जग्गाधनी १० वर्षे सम्झौताका लागि मन्जुर भएको प्रहरीले जनाएका छन् । प्रहरी स्रोतका अनुसार विष्टले माघ १२ गते बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक बनाएका थिए । विभिन्न डर देखाएर करोडौ मूल्यको जग्गा हडपेको भन्दै इलाका प्रहरी कार्यालयमा गत चैत २५ गते किटानी जाहेरी दिएका थिए ।

डीआईजी नवराज सिलवाल सर्वोच्च नपुग्दै छुटे

काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई सर्वोच्च अदालत उपस्थित नगराई प्रहरीले बयान लिएर छाडेको छ । प्रहरीको छानविन टोलीले सिलवाललाई सोमबार विहान नियन्त्रणमा लिएर हेडक्वाटर लगि उनीमाथि लागेको अरोपको बयान लिएको थियो । डीआईजी सिलवालसँगै उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापा पनि सँगै गएका थिए । गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्व छानविन टोलीले सिलवालसँग बयान लिएको थियो । उनलाई प्रहरी हेर्डक्वाटरमा बयान लिइरहँदा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा बहस भएको थियो । सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चको प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता थापाको रोहबरमा सोमबार नै रिहा गर्न आदेश पनि दिएको थियो । डीआईजी सिलवालले कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै छानविन समिति गठन गरेको थियो । प्रहरी प्रवक्ता तथा एसएसपी सर्वेन्द्र खनालका अनुसार उक्त समितिले बयान लिएको र सिलवाललाई छाडिएको छ ।

दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, बैशाख ११ । सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेलगत्तै निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले उक्त तालिका सार्वजनिक गरेको हो । आयोगको तर्फबाट दुई चरणमा निर्वाचन हुने औपचारिक जानकारी गराउँदै आयुक्त यादवले दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते उम्मेद्वारको मनोनयन दर्ताकाका लागि मिति तोकेको छ । जेठ २२ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । यादवले पहिलो चरणको निर्वाचनपश्चात नै मतगणना भने सुरु गरिने बताए । लामो समय मतपेटिका राख्नाले धाँधली हुनसक्ने भन्दै उनले मतदान गलत्तै मतगणना गर्ने बताए । उनले निर्वाचनले सरकारको नियमित कार्यलाई भने असर पार्न नहुने भन्दै जेठ १५ मा बजेट ल्याउन सकिने पनि बताए । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा खटाइएका मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको जिम्मेवारी भने यसअघि तोकिएको नै कायम रहने जनाएको छ ।

प्रहरीद्वारा माओवादीका पाँच कार्यकर्ता पक्राउ

काठमाडौं, बैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका पाँच कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काभ्रे र सुर्खेतमा आयोजना गरेको सभामा प्रहरीले हस्तक्षेप गरी दुई जना केन्द्रिय सदस्यसहित पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय चुनावको विरुद्ध सुर्खेतमा आयोजना गरेको सभामाथी प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपपछि त्यहाँ केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले दुई केन्द्रिय सदस्य सहित पचास जना नेता कार्यकर्तालाई पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटेको प्रहरी टोलीले सभामा हस्तक्षेप गरी केन्द्रिय सदस्यद्वय सविता सिंह र हिमाल सहित जिल्ला इन्चार्ज ध्रुव र सेक्रेटरी यमराजलाई पक्राउ गरेको हो । उता काभ्रेको बनेपामा सभा गर्नका लागि तयार गरिएको मञ्चलाई प्रहरीले भत्काइदिएको पार्टी केन्द्रिय सदस्य बाबुराम गजमेरले जानकारी दिएका छन् । प्रहरीले सभामा सहभागी हुन आउने गाडीहरुलाई पनि भकुण्डे वेशीमै रोकेको र सभाका लागि तयारी मञ्च पनि भत्काइदिएको छ । काभ्रेको बनेपामा नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले सभालाई सम्बोधन गर्दै शहरमा प्रहरी दमन गरेर चुनाव गरे पनि गाउँमा आफूहरुले हुन नदिने बताएका थिए ।

विद्यार्थी संगठनहरुद्वारा नीजि विद्यालयमा तालबन्दी गर्ने घोषणा

काठमाडौं, वैशाख ११ । सहमतिविपरित अभिभावकबाट चर्को शुल्क असुल्ने क्रम नरोकिएपछि विद्यार्थी संगठनहरुले कडा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । राजधानीमा आज बसेको बैठकमा विद्यार्थी संगठनहरुले आन्दोलनबाहेकको विकल्प नभएको निष्कर्श निकालेका हुन । अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार, निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा बैठकमा छलफल भएको थियो । बैठकले गरेको निर्णय अनुसार, मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिने तथा बुधबार चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने निर्णय गरिएको छ । संयुक्त आन्दोलनमा नेविसंघ, अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, अखिल छैठौं, माले निकट अखिल पाँचौं र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट अखिल क्रान्तिकारी रहेका छन् । File photo

मुसिकोटमा मिनीबस दुर्घटना, १२ घाइते

काठमाडौं, बैशाख ११ । रुकुमको मुसिकोटमा आज एक मिनिबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सदरमुकाम मुसिकोटबाट नुवाकोटतिर जाँदै गरेको ग१ख ४२४५ नम्बरको सो मिनिबस मुसिकोट–९ बोहोरा गाउँमा दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

भत्किएका ४० प्रतिशत घर निर्माण भएको प्राधिकरणको दावी

काठमाडौं, वैशाख ११ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भूकम्पपछिको दुई वर्षमा चालीस प्रतिशत घर पुनर्निमाण भइरहेको बताएको छ । प्राधिकरणका अनुसार, यो अवधिमा ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च भइसकेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार धेरै काम गरिएको भएपनि स्वास्थ्य संस्था पुनर्निर्माणमा भने ढिलो भएको स्वीकारे । प्राधिकरणका सहप्रवक्ता भीष्म भुसालका अनुसार चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको छ। तथ्यांकमा भने भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ लाभग्राही मध्ये ४९ हजार ६ सय ८१ घरको पुनर्निर्माण शुरु भएको उल्लेख छ। लाभग्राही आफैले १८ हजार ६ सय ३३ वटा घर पुननिर्माण गरेका छन्। पूर्ण रुपमा क्षति भएका चार सय ४० स्वास्थ्य संस्था मध्ये दुई सयवटा मात्रै पुनर्निर्माण भएका छन्। भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लामा ९० हजार पाँच सय ५६ लाभग्राही पहिचान भएका छन्।

प्रधानमन्त्री प्रचण्डले भने–‘मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्न लागिपरेको छ’

काठमाडौं, बैसाख ११ । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताएका छन् । सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकमा बोल्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु गरिएको बताए । सभामा प्रधानमन्त्रीले भने–‘माननीय स्वास्थ्य मन्त्रीजी पनि निरन्तर लागि रहनुभएको छ । मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने र जनताको जीवनमा परिवर्तन ल्याउन लागिरहेको छ ।’ उनले यस बीचमा स्वास्थ्य क्षेत्रमा पनि नयाँ प्रयासहरु भएको र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले गति लिन थालेका बताए । उनले रचनात्मक र जवाफदेही भएर काम गर्न र जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प गर्न आग्रह पनि गर्नुभयो । सभामा बोल्दै स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताए । सभाले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।

चुनाव एकै चरणमा हुनुपर्ने एमालेको निष्कर्ष, संशोधन प्रस्ताव असफल पार्ने निर्णय

भक्तपुर, वैशाख ११ । नेकपा एमालेले वैशाख ३१ गते स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समिति बैठकले निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न सम्पूर्ण तयारी गरिसकेको अवस्थामा दुई चरणमा चुनाव गर्न खोज्नु चुनाव हुन नदिने, राजनीतिक गतिरोध कायमै राख्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको हो । निर्वाचनमा जनता उत्साहित भएको र सबै दलहरु निर्वाचनमा होमिइसकेको अवस्थामा फेरि निर्वाचन सार्न खोज्नु निर्वाचन हुनै नदिने षड्यन्त्र हुनसक्नेमा एमालेले आशंका व्यक्त गरेको छ । बैठकपछि सन्चारकर्मीलाई जानकारी गराउँदै एमाले सचिव योगेश भट्टराईले दुई चरणमा निर्वाचन गर्ने र त्यो पनि जेठ १५ गतेपछि निर्वाचन गर्ने निर्णय एमालेलाई कदापि मान्य नहुने बताए । उनले भने–‘एमाले निर्वाचनको विरोधी होइन, एकै चरणमा घोषित वैशाख ३१ कै मितिमा निर्वाचन हुनुपर्छ भन्ने एमालेको पूर्ववत् अडान अहिले पनि कायमै छ, दुई चरणमा निर्वाचन गर्ने हो भने संवाद गर्न एमाले तयार छ ।’ जेठ १५ गते बजेट ल्याएर आचारसंहिताविपरीत जेठ ३१ गते निर्वाचन गर्ने कुरामा सहमत हुनै नसकिने एमालेको ठहर रहेको प्रतिक्रिया दिँदै उनले बजेट प्रस्तुत् गरेर चुनावमा राज्यशक्तिको दुरुपयोग गर्ने कार्यमा एमाले सहमत हुन नसक्ने बताए । सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन एमाले सकारात्मक रहेको बैठकको निर्णय रहेको जानकारी गराउँदै उनले भने–‘सरकारले निर्वाचन हुने सुनिश्चित गर्नुपर्छ, बजेटको परिस्थितिलाई पनि ध्यानमा राखेर अन्य विकल्पका लागि एमाले छलफल गर्न तयार छ ।’ बैठकले सरकारले संविधान संशोधनका लागि ल्याएको पछिल्लो प्रस्ताव विगतकोभन्दा पनि अझै प्रतिगामी रहेको भन्दै त्यस्तो संशोधन प्रस्ताव एमालेले असफल पार्ने निर्णय गरेको छ । उनले भने–‘विगतकाभन्दा पनि अझै प्रतिगामी प्रस्तावहरु छलफलमा आएका छन्, संविधानको धारा २७४ लाई समाप्त गरेर सीमांकनलाई हेरफेर गर्ने, स्वेच्छाचारी अधिकारलाई अगाडि बढाउने, प्रदेशको अधिकारलाई कटौती गर्ने, स्थानीय तह र स्थानीय जनप्रतिनिधिहरुको अधिकारलाई कटौती गर्नेलगायतका थप संशोधन प्रस्तावहरु चर्चामा छन्, यस्तो प्रस्तावमा एमालेको समर्थन रहँदैन, यस्ता विषयहरु संसदको छलफलमा नल्याउन र संसदमा टेबुल नगर्न पनि सरकारको ध्यानाकर्षण गर्छौं ।’ उनले यस्ताखालका असंवैधानिक राष्ट्रविरोधी, जनविरोधी प्रस्तावहरुलाई सम्पूर्ण प्रयत्नबाट असफल पार्न एमाले अगाडि बढ्ने उनले बताए । चुनाव दुई चरणमै गर्ने भएपनि यति ठूलो अन्तर हुन नहुने बताउँदै सचिव भट्टराईले दोस्रो चरणको चुनाव बजेटअघि नै गर्ने हो भने छलफल गर्न सकिने उल्लेख गरे । मधेसकेन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालसँग शनिबार भएको सहमतिअनुसार आइतबारको मन्त्रिपरिषद बैठकले वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर–३, ४, ६ र जेठ ३१ गरी दोस्रो चरणमा प्रदेश न १, २, ५ र ७ मा चुनाव गर्ने सरकारले निर्णय गरेको थियो ।

डिआइजी सिलवाललाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

काठमाडौं, वैशाख ११ । सर्वोच्च अदालतले नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशिला कार्कीको एकल इजलासले सर्वोच्चका रजिष्टरको रोहवरमा अधिवक्ता शम्भु थापाको जमानीमा सिलवाललाई थुनामक्त गरी सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको हो । यसअघि, नेपाल प्रहरीले सिलवाललाई अधिवक्ता पुर्णप्रसाद राजवंशीले सिलवाललाई बिहीबार प्रहरीले गैरकानुनीरुपमा नियन्त्रणमा लिएको भन्दै बन्दी प्रत्यक्षीकरणको सर्वोच्चमा रिट दायर भएको थियो । महानिरीक्षक प्रकाश अर्यालले बोलाएको बैठकमा उपस्थित नभएको, कागजात किर्ते गरेको लगायतका आरोपबारे बयानमा बोलाउँदा नगएपछि सिलवाललाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय उपस्थित गराइएको हो । प्रहरीको छानविन समितिले समेत सिलवालसँग बयान लिएको छ । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले सिलवाललाई बयानका लागि बोलाइएको बताए । सर्वोच्चमा कार्यसम्पादन मुल्याकंन फाइल पेश गर्ने क्रममा किर्ते गरेको पाइएको भन्दै सरकारले प्रहरी प्रधान कार्यालयलाई छानविन गर्न निर्देशन दिएपछि सिलवालमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको बताइएको छ ।

नेपालको दोस्रो संविधान संशोधन विधेयक संसदमा टेवल बस्दै

काठमाडौं, वैशाख ११ । व्यवस्थापिका संसदमा बिहीबार नेपालको संविधान दोस्रो संशोधन विधेयक टेवल भएको छ । प्रदेश सीमांकन हेरफेरको प्रस्ताव सहित गत मंसिर १४ गते दर्ता भएको विधेयक फिर्ता लिदै सरकारले गत चैत २९ गते नयाँ विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो । कानुन मन्त्री अजयशंकर नायकले विधेयक टेवलका लागि गरेको प्रस्ताव संसदको बिहीबारको बैठकले बहुमतले पारित गरेको हो । विधेयक प्रस्तुत गर्दै गर्दा प्रमुख प्रतिपक्षी एमाले भने मौन बसेको थियो । सत्तारुढ दल र मधेसी मोर्चाबीच गत शनिबार भएको सहमतिअनुसार नयाँ विधेयक ल्याउँदा संशोधन प्रक्रिया लम्बिने संवैधानिक बाध्यताका कारण सरकारले पुरानै विधेयक टेबल गरेको छ। संसदीय प्रक्रियामा हुने संशोधनको समयमा राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनसँग भएको सहमतिअनुरुपको परिमार्जन स्वीकार गर्ने तयारी सरकारले गरेको हो । सरकार र मधेस केन्द्रित दलबीच फास्ट ट्रयाकबाट संविधान संशोधन गर्ने सहमति भएको थियो ।

तीन नगरपालिकासहित छ वटै स्थानीय तहमा माओवादीको उम्मेदवार टुङ्गो

दमक, वैशाख ११ । नेकपा (माओवादी केन्द्र) ले तीन नगरपालिकासहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीका अनुसार १५ वटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइएको छ । दमकको नगर प्रमुखमा रेवतराज पुरी (गगन) र उपप्रमुखमा शान्तिदेवी धिमाललाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै १० वटै वडामा वडा अध्यक्षसहित अन्य सबै सदस्यको टुङ्गो लागेको छ । यस्तै अर्जुनधारा नगरपालिकाको प्रमुखमा भुपेन्द्र न्यौपाने (विकास) र उपप्रमुखमा सुनिता तामाङ, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र इन्दिरा कार्कीलाई उपप्रमुखको उम्मेदवारका रुपमा अघि सारेको जनाइएको छ । यसैगरी झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगार्इं र उपाध्यक्षमा पवित्रा राजंवशीको उम्मेदवारी टुङ्गो लागेको चुनाव प्रचारप्रसार संयोजक समेत रहने भएका नेता दर्लामीले जानकारी दिए । यस्तै कमल गाउँपालिकाको प्रमुखमा विमल सङ्ग्रौला र उपप्रमुखमा गौरी राई र कचनकवल गाउँपालिकाको प्रमुखमा हंसनारायण राजंवशी र ईश्वरीमाया गाइनीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ ।

उम्मेदवारी दर्ताको मिति बैशाख १६ गते बाट बैशाख १८ लाई सार्ने निर्णय

काठमाडौं, वैशाख ११ । स्थानीय तह चुनावका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आब्हान गरेको बैठकमा स्थानीय तह चुनावको राजनीतिक तथा प्राविधिक तयारीबारे कुराकानी भएको थियो । बैठकमा निर्वाचन आयोगको काम र तयारी पनि प्रभावित नहुने र दर्ता प्रक्रियामा छुटेका दलहरुलाई पनि निर्वाचनमा समावेश गर्ने विधिका विषयमा केन्द्रित भएर छलफल भएको थियो । वैशाख १६ गतेलाई वैशाख १८ मा सार्ने, निर्वाचन आयोगको आफ्नो अन्य तयारीलाई यथावत् राख्ने निर्णय गरेको छ । दोस्रो चरणको निर्वाचनका लागि दल दर्ताको व्यवस्था गर्ने तर तत्काल कानून संशोधन सम्भव नभएकाले नयाँ चुनाव चिन्ह र मत पत्र छापेर निर्वाचन गर्दा निर्वाचन प्रभावित हुने भएकाले चुनाव चिन्हसम्बन्धि व्यवस्था निर्वाचन आयोगले तोकेबमोजिम हुने निर्णय पनि बैठकले गरेको छ । बैठकमा आगामी जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्थाले निर्वाचन आचारसंहिता आकर्षित हुने भएकाले बजेटलाई केही समय पर सार्ने विषयमा पनि कुराकानी भएको थियो । सोमबारको बैठकसँगै निर्वाचनसँग सम्बन्धित सम्पूर्ण अन्यौल हटेको प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । आयोगसँगको छलफलपूर्व सरकार र संघीय गठबन्धनमा आवद्ध दलहरुबीच कुराकानी भएको थियो । सरकार र गठबन्धन बीचको बैठकले संविधान संशोधन र निर्वाचनबारे गरिएको सहमति महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै केही दिन भित्रै राष्ट्रिय सहमतिको दस्तावेज बनाएर हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।

चर्चित नेता गुप्त हमाल माओवादी केन्द्रमै सक्रिय

काठमाडौं, वैैशाख ११ । चार नम्बर प्रदेशका चर्चित नेता गुप्त हमाल ‘सन्देश’ माओवादी केन्द्रमै सक्रिय राजनीति गर्ने भएका छन् । दोस्रो संविधान सभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् । दोस्रो संविधान सभापछि निष्क्रिय रहेका हमाललाई नयाँ शक्तिका नेताहरुले चार नम्बर प्रदेशको सह–संयोजकको जिम्मेवारी दिएको भन्दै प्रचार गरेका थिए । तर, हमालले नयाँ शक्तिको जिम्मेवारी नलिई निष्क्रियरुपमा व्यवसाय गर्दै आएका थिए । सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई भेटेपछि हमाल सक्रिय राजनीतिमा आएका हुन् । हमाल सक्रिय राजनीतिमा आउने भएपछि पर्वत र कास्की जिल्लाका माओवादी केन्द्रका नेताहरु उत्साहित भएका छन् । हमाल तीन दशकदेखि गण्डकी, धौलागिरीको संगठनमा सक्रिय रहँदै आएका नेता हुन् । मोहनविक्रम सिंहको नेतृत्वको मसालबाट २०५४ सालमा विद्रोह गरेर माओवादीमा आएका हमाल कुशल संगठक र योजनाकार मानिन्छन् । सशस्त्र युद्धको समयमा उनले बनाएका अधिकांश योजना सफल भएका थिए । स्थानीय तह निर्वाचनको मूखैमा गुप्त हमालको सक्रियताले पर्वत र कास्की जिल्लामा माओवादी केन्द्रको प्रभाव बढ्ने विश्लेषण गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु भएका छन्: प्रधानमन्त्री

ललितपुर, वैशाख ११ । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सरकारले विशेष तयारी गरिरहेको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकको सोमबार राजधानीमा प्रारम्भ गर्दै उनले स्वास्थ्यलाई ग्रामिण क्षेत्रको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड दिए । ‘सबैका लागि स्वास्थ्य’ भन्ने नारालाई सरकारले आत्मसाथ गरेको भन्दै उनले गरिबीमुखी स्वास्थ्य नीति सरकारको एजेण्डा भएको स्पष्ट पारे । कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले शहर केन्द्रीत स्वास्थ्यलाई ग्रामिण तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । सभामा प्रधानमन्त्रीले भने- ‘माननीय स्वास्थ्य मन्त्रीले पनि निरन्तर लागिरहेका छन् । मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने र जनताको जीवनमा परिवर्तन ल्याउन लागिरहेको छ । यस बीचमा स्वास्थ्य क्षेत्रमा पनि नयाँ प्रयासहरु भएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले गति लिन थालेका छन् । हामीले रचनात्मक र जवाफदेही भएर काम गरौं, जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प गरौं । उनले स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन सरकार लागि परेको बताए । बैठकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रगति प्रतिवेदन पेश गरिनुका साथै प्रतिष्ठानको सेवा विस्तार र शैक्षिक कार्यक्रमबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो । सभामा बोल्दै स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताउनु भयो । सभाले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।