वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको कार्य तीव्रगतिमा

चितवन, वैशाख ८ । स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भरतपुर महानगरपालिकालाई समेत हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको र अन्य छ वटा निकायको निर्वाचनका लागि अधिकृतको समेत टुङ्गो लगाएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निष्पक्ष रुपमा निर्वाचन गर्न सबै क्षेत्रको सहयोगको आवश्यक रहने बताउनुभयो । उहाँले आचारसंहिताको पूर्णपालनका साथै निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सहयोगका लागि आग्रह गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले वैशाख १२ गतेसम्म सबै स्थानमा निर्वाचन अधिकृतको कार्यालय खुलेर काम अघि बढाइने बताउनुभयो । जिल्लामा तीन लाख १३ हजार दुई मतदाताले मतदान गर्न पाउने भएका छन् । अन्य स्थानमा समेत मतदाता नामावली रहेकाको नामावाली काटिएपछि अन्तिम नामावली आएको हो ।
जिल्लाको भरतपुर महानगरपालिकाको २९ वडामा ६५ स्थानमा १७९ वटा मतदान केन्द्र रहने छ । भरतपुर महानगरपालिकामा एक लाख ५० हजार दुई सय ७४ जना मतदाता छन् ।

यहाँको सातवटै महानगरपालिका नगरपालिका र गाउँपालिकाबाट सात प्रमुख एवम् अध्यक्षसहित पाँच सय चारजना निर्वाचित र २० जना मनोनित हुने भएका छन् ।

सरकार र मधेशी मोर्चा बीचको बैठक सम्पन्न

काठमाडौं, वैशाख ८ । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आव्हान गरेको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्रीले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विद्येयकमा सहमति गरेर आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गरेको थियो । मोर्चाका नेताहरुले स्थानीय तहको चुनावभन्दा संविधान संशोधनमा मोर्चाको मूख्य चासो भएको भन्दै सरकारद्धारा प्रस्तुत प्रस्तावमा पूनर्विचार गर्न सरकारसँग आग्रह गरेको थियो । प्रधानमन्त्रीले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरुसँगको परामर्शपछि पुनः बैठक बसेर सहमतिको प्रयास गर्ने बैठक जानकारी गराएको थियो । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन दिउँसो ३ बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक बसेपछि बेलुका ५ बजे सरकार र मोर्चाबीच पुनः बैठक बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठीलगायत सहभागी रहेका छन् ।

स्थानीय तहको चुनाव गर्न वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना: बास्तोला

चितवन, वैशाख ८ । अागामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनाव सफल बनाउन नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाबाट गर्ने बताएको छ । सो पार्टीको ताम्सालिङ् ब्यूरोले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयन, उपलब्धिको रक्षा, विकास निर्माण, भ्रष्टाचार रोक्न जुनसुकै नाम दिए पनि यो निर्वाचनले पुरानो प्रतिक्रियावादी सत्ताको सुद्धिढीकरण मात्रै हुने भएकाले आफूहरुले विरोध गरेको बताए । माओवादी युद्धले उठाएका सवालको पक्षमा नेपाल कम्युनिष्ट पार्टीमात्र लागेको भन्दै उहाँले राजनीतिक समस्या समाधान तर्फ लाग्नुपर्ने विचार व्यक्त गरे ।

अब चाँडै नै बाबुराम र उपेन्द्रबीच एकताको सुत्रमा बाँधिदैं

काठमाडौं, वैशाख ८ । मधेसी मोर्चा आबद्ध ६ दल एक भएलगत्तै नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच एकता प्रक्रिया सघनरुपमा अघि बढेको छ । पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको जारी विज्ञप्तीमा जनाइएको छ । समितिमा नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई र संघीय समाजवादी पार्टीका अध्यक्ष उपन्द्र यादव र वरिष्ठ नेता अशोक राई छन् । ‘समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ,’ संयुक्त विज्ञप्तीमा भनिएको छ । दुवै पार्टीले सरकारसँग सङ्घीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसद्धारा स्थानीय तहको चुनावको प्रचार समिति गठन

मोरङ, वैशाख ८ । आसन्न स्थानीय निर्वाचनलाई नेपाली काँग्रेस मोरङले लक्षित गर्दै प्रचार विभाग प्रमुख रोहित कार्कीको संयोजकत्वमा छ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको छ । पार्टीका गतिविधिलाई प्रचारप्रसार गर्न डेक्स स्थापना गरिन लागेको काँग्रेसले जनाएको छ । बिहीबार बसेको पार्टी बैठकले मोरङ काँग्रेसका प्रचार विभाग प्रमुख रोहित कार्कीको संयोजकत्वमा छ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको हो । प्रेस युनियन आबद्ध पत्रकारहरूलाई यसमा समेटिएको छ । प्रेस युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदित, कौशल निरौला, कुमार लुइँटेल, कुमोद अधिकारी, विनोद सुवेदी र देवनारायण साहलाई सञ्चार डेक्समा राखिएको छ । पत्रकार कुमार लुइँटेललाई समाचार संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै, पार्टीले उर्लाबारी, पथरी, बेलबारी र रङ्गेली क्षेत्रमा रहेका प्रेस युनियन आबद्ध पत्रकारहरूको प्रचारप्रसार उपसमिति गठन गर्ने पनि जनाएको छ । विभिन्न क्षेत्रमा रहेका पार्टीका गतिविधिहरू समेटियोस् भनेर सञ्चार डेस्क स्थापना गरिएको काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जानकारी दिनुभयो । यस्तै, बैठकले त्रैमासिक पत्रिकासमेत प्रकाशन गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख रोहित कार्कीकै संयोजकत्वमा सात सदस्यीय सम्पादकीयमण्डल पनि गठन भएको छ । यसमा पत्रकारहरू मीनकुमार नवोदित, अनन्तराज न्यौपाने, शेखर रेग्मी, सुशीला पाठक र तारा आचार्य रहेका छन् । बुलेटिनमा काँग्रेसका हरेक गतिविधिहरू प्रकाशन गरिनेछ ।

‘ठूलो धाबके हावा चिल’ नामको चरा फेला

चितवन, वैशाख ८ । चितवनको रत्ननगरस्थित कुमाल तालमा नयाँ चरा फेला परेको छ । बर्ड एजुकेसन सोसाइटी, चितवनका अनुसार ‘ठूलो धाबके हावा चिल’ (Great White Pelican) नामको नयाँ चरा पहिलोपटक जिल्लामा अभिलेख गरिएको चरा विज्ञ वासु बिँडारीले जानकारी दिनुभयो । मुख्यगरी यो चराले भारतको गुजरातमा बच्चा कोरल्ने गर्छ । यो बाटो बिराएर आउने आगन्तुक चरा भएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । यो चरा नेपालको पूर्वी भाग कोसी क्षेत्रमा १५ वर्षअघि देखिएको थियो । त्यसपछि देखिएको थिएन । यो चरा चितवनको कुमाल तालमा आइतराम दराईले पहिलोपटक देखेका थिए । त्यसको पुष्टि गर्न सो क्षेत्रमा जिल्लाका चरा विज्ञहरु टीका गिरी, बासु बिँडारी, टेकबहादुर गुरुङलगायतको टोली बिहीबार सो क्षेत्रमा गएका थिए । उक्त टोलीले ‘ठूलो धाबके हावा चिल’ चितवनका लागि नयाँ भएको पुष्टि गरेको हो । जिल्लामा योसहित कुल ६३५ प्रजातिका चरा अभिलेख गरिएको छ । नेपालमा अहिलेसम्म ८८७ प्रजातिका चरा भेटिएका छन् । नेपालमा पाइनेमध्ये अधिकांश चरा चितवनमा पाइन्छन् । त्यसकारण चितवन चरा पर्यटनमा अब्बल छ । चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा पहाडी क्षेत्रमा चराको राम्रो वासस्थान रहेको चरा विज्ञ टीका गिरी बताउनुहुन्छ । पाँच वर्षको अन्तरालमा चितवनमा आधादर्जनभन्दा बढी नयाँ चरा फेला पारिएको जनाइएको छ । यस जिल्लामा साइबेरियालगायत क्षेत्रबाट बसाइँ सरेर र बच्चा कोरल्नका लागि पनि चरा आउँछन् ।

बरुण नदिमा आएको पहिरोले अरुण नदी थुनियो, सिंगो बस्ती जोखिममा

संखुवासभा, बैशाख ८  । संखुवासभाको बरुण नदीमा पहिरो आएपछि संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको छ । हिजो दिउँसो ४ बजेतिर आएको पहिरोले नदीको करिब ३ किलोमिटरसम्म जमेको पानीका कारण बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ भने बजारको सिंगो बस्ती जोखिममा भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।  बरुण नदी अरुण नदीमा आएर मिसिन्छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संखुवासभाको अरुण नदीमा ठूलो ताल जमेकोले त्याहाँको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् । गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको छ । टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको बिपद् व्यबस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भबिद्, जला तथा मौसम बिज्ञान बिभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राबिधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप बिभागका प्रतिनिधि लगायत छन् । पहिरोका कारण चीनसंगको नाका किमाथांका जाने बाटो समेत बन्द भएकोछ । सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरको यो गाउँमा सुरक्षाकर्मीको टोली आज बिहान पुगिसकेको छ ।

स्थानीय तहको चुनावमा ३४७ महिला प्रतिनिधि चयन हुने

नवलपरासी, वैशाख ८ । अागामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नवलपरासी जिल्लाबाट करिब ३४७ जना महिला प्रतिनिधि चयन हुने भएका छन् । विभिन्न राजनीतिक दलहरुबाट विभिन्न पदमा प्रतिनिधि चयन हुने भएका हुन् जसमध्ये कम्तीमा १६६ जना दलित महिला जनप्रतिनिधि चयन हुँदैछन् । राजनीतिक दलहरुको हकमा नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्नेछ । यता गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्षमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्नेछ । साथै, प्रत्येक नगरपालिकामा वा गाउँपालिकामा चयन हुने चारजना वडा सदस्यमध्ये दुईजना महिला अनिवार्य छ जसमध्ये एकजना दलित महिलाको प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ । जिल्लामा हाल कायम भएको १५ वटा स्थानीय तहबाट ती महिला जनप्रतिनिधि चयन हुन लागेका हुन् । नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । त्यहाँबाट कुल ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन् । नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिनुभयो । नगरपालिकाको हकमा एकजना प्रमुख, एकजना उपप्रमुख, प्रत्येक वडामा वडा अध्यक्ष र प्रत्येक वडामा चार–चारजना वडा सदस्य चयन हुनेछन् जसमध्ये वडा सदस्यको हकमा दुईजना खुल्ला, एकजना महिला र अन्य एकजना दलित महिला सदस्य हुनुपर्ने प्रावधान छ । राजनीतिक दलहरुको हकमा नगरपालिकामा प्रमुख वा उपप्रमुख र गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्ने भए पनि स्वतन्त्र उम्मेदवारको हकमा सो प्रावधान लागू छैन । नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र छन् जसमध्ये क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ । यसैगरी निर्वाचन क्षेत्र नं ४ ५ र ६ मा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ । नवलपरासीमा कुल तीनलाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ जसमध्ये पुरुष मतदाता एक लाख ८० हजार ३१६ रहेको छ भने महिला मतदाता एक लाख ८९ हजार ५९४ रहेको छ । यसैगरी आठजना तेस्रोलिङ्गी मतदाताको सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहनेछन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गरेका छन् ।

सरकार र मधेशी मोर्चाबीच छलफल सुरु

काठमाडौं, बैसाख ८ । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गरेको  बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भइरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी छन् । सरकारले दोस्रो पटक संबिधान संसोधन बिधेयक संददमा दर्ता गरेपछी मधेसी मोर्चाले सरकारको निर्णयले आफ्नो माग सम्बोधन गर्न नसक्ने भन्दै वार्ताबाट भाग्दै आन्दोलनको घोषणाा गरेको थियो । प्रधानमन्त्री प्रचण्डले स्थानिय तहको चुनावमा भाग लिन बारम्बार मोर्चालाई आग्रह गर्दै आएका छन् । मोर्चाले भने यसअघि निर्णय गर्दै निर्वाचनमा नजाने बताएको थियो । स्थानिय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा प्रधानमन्त्रीले कुनै पनि हालतमा निर्वाचन नरोकिने बताउँदै मधेसी मोर्चालाई पनि सहमतिमै लैजाने प्रयास गरेका हुन् ।  सरकार र मधेसी मोर्चाबीचको आजको बैठक महत्वपुर्ण रुपमा हेरिएको छ ।

लोकतान्त्रिक व्यवस्थालाई पारदर्शि र जनउत्तरदायी बनाउन सूचनाको हकको प्रयोग आवश्यकः सभामुख

काठमाडौं, बैशाख ८ । लोकतान्त्रिक अभ्यास सँगै देश संघियतामा गईरहेको अवस्थामा लोकतान्त्रिक व्यवस्थालाई पारदर्शि र जनउत्तरदायी बनाउन गाउँ स्तर सम्म सूचनाको हकको प्रयोग अतिआवश्यक रहेको सभामुख ओनसरी घर्तीले बताउनुभएको छ । ‘लोकतन्त्रको आधारः सूचनाको अधिकार’ भन्ने मूल नाराका साथ बिहीबारबाट सुरु भएको सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आयोजित तेस्रो राष्ट्रिय सम्मेलनको उद्घघाट्न गर्दै सभामुख घर्तीले सो धारणा व्यक्त गर्नुभयो । उहाँले १९ वर्षपछि आएको स्थानीय तहको निर्वाचनमा सबै नागरिकलाई सहभागिता गराउन निर्वाचनसम्बन्धी सूचनालाई सञ्चार माध्यमबाट अत्यधिक रुपमा प्रवाह गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले केन्द्रिय तहमा रहेका मन्त्रीपरिषद्, मन्त्रालय, विभाग, आयोग लगायतका निकायहरु महत्वपूर्ण निर्णयहरु पत्रकार सम्मेलन मार्फत तत्कालै दिने गरेको भएतापनि जिल्ला तहमा गरिने महत्वपूर्ण निर्णयहरु तत्कालै सार्वजनिक नगर्नु विडम्बना रहेको औल्याउनुभयो । उहाँले जिल्ला स्थित प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला तहमा भए गरेका महत्वपूर्ण सार्वजनिक हितका निर्णय र काम कार्यवाहीहरु तत्काल सार्वजनिक गर्न अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले नागरिकलाई सार्वजनिक निकाय सम्म जानलाई छेक्ने अनि सूचना लिन सर्वसाधारण नागरिक नआएको बहाना सार्वजनिक निकायले गर्न नसुहाउने भएकोले जनताको पहुँच अभिबृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त विनयकुमार कसँजुले विकास भईरहेको नयाँ प्रबिधिहरुको प्रयोगबाट जनतासम्म सूचनाको पहुँचमा अभिबृद्धि गर्न सकिने अवस्था रहेकोले राज्य संयन्त्रले सोको प्रयोगमा व्यापकता ल्याउनुपर्ने कुरा बताउनुभयो । सूचनाको हकका अभियन्ता तारानाथ दाहालले ऐन कानुन बनाएर सूचनाको हकको प्रचलनमा ल्याएको १० बर्ष वितिसकेको अवस्थामा उपलब्धी सन्तोषजनक नरहेको बताउनुभयो । उहाँँले सूचना आपूर्तिकर्ता र सूचना मागकर्ता विचको समानजस्यता मिलाउन अतिआवश्यक रहेको बताउनुभयो । सम्मेलनमा जिल्लाबाट सहभागी भएका अभियन्ता, पत्रकार, सूचना अधिकारीहरुको सहभागितामा ७ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ । त्यस्तै सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरि सूचनाको हकका अभियन्ता एवं विविसीका संवाददाता उम्मीद वागचन्दको संयोजकत्वमा २९ सदस्यीय आरटिआई राष्ट्रिय संजाल समेत गठन गरिएको छ । संजालको सहसंयोजकमा विश्वजित तिवारी, रामप्रसाद दाहाल रहनुभएको छ भने सदस्य सचिवमा अजयकुमार साह र सात वटै प्रदेशबाट समेटिने गरि हाल लाई २९ सदस्यीय संजालको गठन गरिएको संयोजक वागचन्दले जानकारी गराउनुभएको छ । संजालको प्रमुख सल्लाहकारमा सूचनाको हकका अभियन्ता तथा पत्रकार विपुल पोखरेल रहनुभएको छ ।

मुसहर नमूना बस्तीको दर्ता शुल्क मिनाहा

वैशाख ७ । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरी हस्तान्तरण गरेको महोत्तरीको मुसहर बस्तीका घर–जग्गा दर्ता शुल्क सरकारले मिनाहा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नमूना मुसहर बस्तीमा रहेका ५० घर र बस्ती बाहिरका अन्य तीन घरको दर्ता शुल्क नलिने निर्णय गरेको उर्जामन्त्री जनार्दशन शर्माले जानकारी दिएका छन् । सरकारको निर्णयले दोहोरो दर्ता पक्रियामा सहज भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । सरकारले गरेको यो निर्णयले समय र पैसा दुबै पक्षमा राहत मिलेको कटट्टेलले बताए । बस्तीको जग्गा पहिले धुर्मुस सुन्तली फाउन्डेशनको नामा दर्ता गरेर पुनः हरेक घरमूलीको नाममा लालपूर्जा बनाउनु पर्ने अवस्था रहेको उनले जानकारी दिए। दर्ता निःशुल्क गराउनका लागि फाउन्डेशनले भूमिसुधार मन्त्रालयमा प्रस्ताव गरेको थियो। धुर्मुस सुन्तली फाउन्डेशनले यही बैशाख १ गते बस्ती हस्तान्तरण गरेको हो। ५३ वटा घर, सामुदायिक भवन, बाल उद्यान, मन्दिर, भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक, मुसहर कुल देवताको मन्दिर लगायतका संचरना बस्तीमा निर्माण भएका छन्। घर र अन्य संरचना गरी कूल लागत पाँच करोड चार लाख रुपैयाँ रहेको फाउन्डेसनले जानकारी दिएको छ। बस्ती चार महिनामा तयार भएको थियो ।

एमाले बाहिर बसेर पनि प्रचण्डलार्इ सहयाेग गर्छ : ज्ञवाली

काठमाडौं, बैशाख ७ । एमाले सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताएका छन् । बिहीबार राजधानीको रिपोटर्स क्वलवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले ‘अहिले सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको भएपनि यति सरकार अझ भन्नुपर्दा ‘प्रचण्डजीलाई कुनै बाधा भए बाहिर बसेर हामी उहाँलाई सहयोग गर्छौं ।’ उनले आफ्नो पार्टीको ध्यान पूर्ण रुपमा चुनावमा केन्द्रित रहेको स्पष्ट पारे । अहिले सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको जिकिर गर्दै भने, ‘हामी अहिले सरकारमा सहभागी हुँदैनौं, तर प्रचण्डजीलाई कुनै बाधा भए बाहिर बसेर हामी उहाँलाई सहयोग गर्छौं ।’ उनले आफ्नो पार्टीको ध्यान पूर्ण रुपमा चुनावमा केन्द्रित रहेको पनि स्पष्ट पारे । उनले चुनाव कुनैपनि हालतमा बैशाख ३१ गते नै हुनुपर्ने बताउँदै ‘दुई चरणमा निर्वाचन हुने भन्ने कुरा जनता अलमलाउने खेल मात्रै हो ।’ ज्ञवालीले भने,‘कुनैपनि बहानामा चुनावलाई सार्न, टार्न र असफल बनाउने काम भए नेकपा एमाले त्यसको सशक्त विरोधमा उत्रिन्छ, हामीलाई यो कुरा स्विकार्य छैन्।’ उनले प्रधानमन्त्री दाहालले दुई चरणमा चुनाव गर्नेगरि अघि सारेको प्रस्तावलाई आफूहरुले अस्विकार गरिसकेको उल्लेख गर्दै उक्त प्रस्तावको अहिले कुनै अर्थ नरहेको स्पष्ट पारे । सचिव ज्ञवालीले मधेशी मोर्चा चुनावमा आउने कुराको ग्यारेन्टी कसले लिने भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘अब कुनैपनि बहानाबाजी बनाउनुहुँदैन, सरकारले अब जनतालाई अल्झ्याउने काम बन्द गर्नुपर्छ, दुई चरणमा चुनाव गर्ने भन्ने कुरा पनि जनता अलमलाउने काम हो, यो कुरा स्वयम् जनताले नै ठाडै अस्विकार गरिसके ।’ उनले माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले स्थानीय तहको निर्वाचन कात्र्तिकमा सार्नुपर्ने माग गरेको भनेर अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै भने,‘एमालेले चुनाव सार्ने कुराको कल्पना पनि गर्न सक्दैन, यो कुरा जनतालाई सोध्नुहोस्, यो निराधार र भ्रमपूर्ण अभिव्यक्ति हो ।’ । राप्रपाका प्रवक्ता भुवन पाठकले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र हटाउने निर्णयबारे निर्वाचन आयोगको पूर्नविचार गरेर स्थानीय तहको निर्वाचन नभएसम्म थाँती राखेको कुरा सकारात्मक रहेको बताउँदै आफ्नो पार्टीले निर्वाचनमा भाग लिने बताए । उनले भने,‘आयोगको निर्णय ठिक छ, तर यो निर्णय पूर्ण रुपमा सच्याउनुपर्छ, अहिले त आयोगले स्थगन् गरेको हो ।’ कार्यक्रम नयाँ शक्ति पार्टी नेपालका नेता देवेन्द्र पौडेलले संविधान संशोधन नभएसम्म र चुनाव चिन्ह नदिए आफ्नो पार्टीले चुनावमा भाग नलिने स्पष्ट पारे । उनले चुनावमा आफूहरु भाग लिने भनेर नै विभिन्न ६ बुँदे शर्तहरु अघि सारेको उल्लेख गर्दै भने,‘हामीले ७४४ वटै युनिटमा भाग लिने तयारी गरेका थियौं, तर निर्वाचन ऐन–०७३ ले दलीय चुनाव चिन्ह संसदभित्रका दललाई मात्रै दिने निर्णय गर्यो, यो निर्णय नै पूर्वाग्रही हो भनेर हामीले खारेजीको पनि माँग गरेका थियौं, अहिलेसम्म निर्णय सच्चिएको छैन ।’

सहमतिमा आउहोस् चुनाव दुई चरणमा गर्न पनि सकिन्छ : उपप्रधानमन्त्री थापा

हेटौँडा, वैशाख ७ । उपप्रधानमन्त्री कमल थापाले मधेस केन्द्रित दललाई निर्वाचनमा आउन आग्रह गरेका छन् । राप्रपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचन बहिष्कारको कार्यक्रम छाडी वार्तामा आउन आह्वान गरेका छन् । थापाले भने, ‘मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावमा सहभागी गराउन आवश्यक परे दुई चरणमा निर्वाचन गराउन सरकार, सत्तारुढ दल तथा प्रतिपक्षी दल सहमत छन् । बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस, एमाले, माओवादी र राप्रपा भएर होइन स्वाभिमानी एवम् राष्ट्रवादी भएर जनताले भोट दिनुपर्छ ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले अब बन्ने स्थानीय सरकारबाट जनताले आफैँले आफ्नो गाउँ ठाउँको विकास गर्ने अवसर पाउने भएकाले स्थानीय तहको निर्वाचनमा अधिकतम सङ्ख्यामा भाग लिएर देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । उनले राष्ट्रको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको हेटौंँडा–काठमाडौ, सुरुङमार्ग र द्रुतमार्ग निर्माण राप्रपाको प्राथमिकतामा रहेको जानकारी दिए । त्यस्तै पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले तीन ठूला दल देशलाई ठीक ढङ्गबाट सञ्चालन गर्न र देश विकास गर्न असक्षम भइसकेको विचार व्यक्त गरे । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले स्थानीय निर्वाचनमा जनता र देशले जित्नुपर्ने बताए । सभामा राप्रपाका केन्द्रीय सदस्यत्रय दीपकबहादुर सिंह, कोमल वली र रेखा थापाले राप्रपा जनताको विश्वासिलो दल भएको जिकिर गरे । सभामा राप्रपाले हेटौंँडा उपमहानगरपालिका प्रमुखमा केन्द्रीय पार्षद मधु अधिकारीलाई उम्मेदवार बनाइने घोषणा गरेको छ ।

फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टीबीच एकीकरण

काठमाडौं, वैशाख ७ । विजयकुमार गच्छदारले नेतृत्व गरेको पार्टी फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारुले नेतृत्व गरेको थरुहट तराई पार्टी एकीकरण भएको छ । एकीकरणपछि पार्टीको नयाँ नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ भनिने बताइएकाे भएपनि महाधिवेशनपछि मात्र नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको सांसद रामजनम चौधरीले जानकारी दिए । जनताको हितका लागि फुटेरभन्दा पनि जुटेर काम गर्नुपर्ने मनसायका साथ पार्टी एकीकरण भएको थरुहट तराई पार्टी नेपालका महासचिव मीनराज चौधरीले जानकारी दिए ।

निर्वाचन तोकिएकै मितिमा हुन्छ, ढुक्क हुनुहोस् : प्रधानमन्त्री

झापा, वैशाख ७ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । माओवादी केन्द्र झापाले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक रुपमा हुन लागेको स्थानीय निकायको चुनाव कुनै पनि बाहानामा नसर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगलाई सोध्दा एकै चरणमा निर्वाचन गर्न तयारी अवस्थामा रहेको जानकारी दिएको बताउँदै तराई पहाड हिमालमा निर्वाचनको व्यापक लहर देखिएको र निर्वाचन कुनै हालतमा कसैले रोक्न चाहेर नरोकिने स्पष्ट पारेका छन् । स्थानीय तहको निर्वाचन भनेको स्थानीय सरकारको निर्वाचन, सिंहदरबारको निर्वाचन भएकाले मुलुकमै पहिलो पटक हुन लागेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले यो निर्वाचनले पहिलोपटक सिंहदरबारको अधिकार जनताको हातमा आउँने भएकाले ऐतिहासिक भएको बताएका छन् । उनले ढुक्क भएर कार्यकर्तालाई र जनतालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले कहीं कतैबाट निर्वाचन विथोल्ने षडयन्त्र भए त्यो षडयन्त्रविरुद्ध देश नै उठ्नुपर्ने बताए । षडयन्त्रकारीलाई सदाको लागि परास्त गर्ने शक्ति जनतामा मात्र भएकाले जनतालाई सचेत हुन आग्रहसमेत गरे । सम्बोधनको क्र्रममा प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति प्रकृयापछि विर्तामोड आउँदा यहाँको जनसभा र उत्साह देखेर माओवादी विजयी घोषणा गरेको स्मरण गर्दै अबको निर्वाचनमा पनि जनताले काम गर्नेलाई जिताउनुपर्ने बताए । जुन जोगी आएपनि कानै चिरेको जस्तो जनतालाई भान भइरहेको अवस्थामा माओवादी तेस्रो शक्ति भएपनि मुलुकलाई समृद्ध बनाउने, लोडसेडिङ अन्त्य गर्ने, पहिलाे पटक २४ वर्षपछि आर्थिक बृद्धिदर ६ दशमलब भन्दा माथि पुर्याउने, मुल्यबृद्धि घटाउने, मित्र राष्ट्र चीन र भारतबीच सन्तुलन सम्बन्ध बनाउने, फास्ट ट्र्याक नेपालले नै गर्ने जस्ता काम यही माओवादी सरकारले गरेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले दृढ इच्छा शक्ति र इमान्दार प्रयास गरे हुने रहेछ भन्ने कुरा पछिल्ला ९ महिनमा प्रमाणित भएको र यो माओवादी सरकारले गर्न सफल भएको बताए । उनले ‘माओवादी केन्द्रको उपहार गाँउ गाउँमा सिंहदरबार’ यही नारा लिएर जनतामाझ जाने अवश्य पनि काम गर्नेलाई नै जनताले विजयी बनाउने विश्वास व्यक्त गरे । माओवादी सरकारले नै अबकोे १० वर्षमा मुलुलमा कायापलट गर्न सक्ने विश्वास दिलाउन दिलाउँदै देशलाई समृद्धि गर्ने जिम्मेवारी माओवादीर्ला नै भएको स्पस्ट पारे । प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्वाचनमा सहभागी गराउने आफूले हरेक प्रयास गरेको बताउँदै मोर्चाकै सहमतिमा दोस्रो संसोधन विद्येयक ल्याएको दावी गरे । मोर्चाले दोस्रो संसोधन विधेयक दर्ता भएकै भोलिपल्ट अश्वीकार गर्दै आन्दोलनको घोषणा गर्दा आफू आश्चार्यमा परेको बताउँदै यो निर्वाचनको महत्वलाई बुझेर निर्वाचनमा नआए मोर्चाको ऐतिहासिक गल्ती हुने बताए । उनले मोर्चालाई सहमतिमा ल्याउन भोलि फेरी पनि बैठक डाकेको र मोर्चाले पनि आउने सहमति गरेको उल्लेख गरे । बैठकमा आफूले मोर्चालाई यति निर्वाचनमा सहभागी हुन आग्रह गर्ने र यो सरकार जति मधेसप्रेमी सरकार अर्को नहुने बताए । प्रधानमन्त्रीले निर्वाचनमा महिला र दलितहरुलाई पनि सहभागी गराइने र पहिलो प्राथमिकता दिने पनि बताए । नेकपा माओवादी केन्द्र झापाको आयोजनामा बिर्तामोडमा आयोजित विशाल जनसभामा दशौ हजारको उपस्थिति रहेको थियो । तस्बिरः सुरेन्द्र भण्डारी

राप्रपाले गर्याे संघर्षका कार्यक्रम स्थगित

काठमाडौं, बैशाख ७ । पार्टीको विधानको प्रस्तावना र उद्देश्यमा रहेको शब्द निर्वाचन आयोगले हटाएको भन्दै आक्रोशित बनेको राप्रपा आफ्नो अडानबाट पछि हटेको छ । राप्रपाले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन हालको मुख्य एजेन्डा भएकाले अहिले यी मागहरुलाई थाती राख्ने निर्णय गरेको बताएको छ । स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको विषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्यसमेत दृष्टिगत गर्दै पार्टीले संचालन गर्ने संघर्षको कार्यक्रम अहिलेलाई स्थगित गरेको जनाएको छ। यद्यपि पार्टीको विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म राप्रपाको विरोध जारी रहने छ र आगामी चुनावमा समेत यो विषयलाई सशक्त ढंगबाट उठाइने विज्ञप्तिमा उल्लेख छ । यस्तो छ राप्रपाले जारी गरेको विज्ञप्ती