जनयुद्धकालीन मुद्दालार्इ खारेजी गर्न माग

काठमाडौँ, वैशाख २ । नेकपा (क्रान्तिकारी माओवादी) ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण मेलमिलाप गर्नका लागि भनी गठित दुईवटा आयोगमार्फत मेलमिलापको व्यवस्था गर्नका लागि नेपाल सरकारसँग माग गरेका छन् ।

हालै सर्वोच्च अदालतद्वारा पूर्व सभासद् बालकृष्ण ढुङ्गेलको जनयुद्धकालीन मुद्दा ब्युँझाएर फैसलासमेत गरी सातदिने पक्राउ पुर्जी जारी गरिएकामा आपत्ति व्यक्त गर्दै बृहत् शान्ति सम्झौताअनुसार मुद्दाहरु तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

चुनाव सफल गराउनु सबै दलहरूकाे उत्तिकै दायित्व: नेता सिंह

काठमाडौँ, वैशाख २ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व भएको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र महाराजगन्जले नयाँ वर्ष २०७४ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले मुलुक सबैको भएकाले निर्वाचन गराउने जिम्मा पनि सबै दलको उत्तिकै भएको बताउनुभयो । “संविधानको प्रभावकारी कार्यान्वयन र निर्वाचन गराउन दलहरुबीचको एकता आवश्यक छ,” उहाँले भन्नुभयो– “दलहरुले आपसी मतभेद छाडेर अहिलेसम्मका उपलब्धि जोगाउनतर्फ लाग्नुपर्छ ।” निर्वाचनका लागि खुट्टा नकमाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो । नेता सिंहले संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काँधमा रहेकाले यसका लागि नेतृत्व जिम्मेवार बन्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न दत्तचित्त भएर लागेको बताउनुभयो । निर्वाचनका लागि आवश्यक सुरक्षा दिन नेपाल प्रहरी सक्षम रहेको उहाँको भनाइ थियो ।

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, वैशाख २ । पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप, आन्तरिक व्यवस्थापन र उम्मेदवार चयनबारे छलफल हुने सो बैठक केही दिनका लागि स्थगित भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । नियमित स्वास्थ्य परीक्षणाका लागि गत साता थाइल्याण्ड जानुभएका अध्यक्ष ओली केही दिनमा फर्कने र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने बुझिएको छ । एमालेले केन्द्रीयस्तरमा उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेर काम अघि बढाएको छ । यसअघि पार्टीको स्थायी कमिटीले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको थियो । यही वैशाख १२ गते बैठक बसी उम्मेद्वारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने गर्ने एमालेको तयारी छ ।

कास्कीमा प्रमुख दललार्इ उम्मेरदवार छान्न सकस

पोखरा, वैशाख २ । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि कास्कीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएकोे छ । उम्मेदवार मनोनयन गर्ने मिति दुई हप्तामात्रै हुँदा पनि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र राप्रपाले उम्मेदवारको टुङ्गो लगाउन नसक्दा मतदातामा को को उम्मेदवार बन्दै छ भन्ने उत्सुकता बढेको देखिन्छ । अहिले सबैजसो चियापसल, भेटघाट र गफगाफमा पार्टीका को को उमेदवार बन्ने होलान भन्ने चर्चा मतदातामा हुने गरेको छ । कुनै एक प्रमुख दलले उमेदवार चयन गरे त्यसलाई टक्कर दिने प्रतिस्पर्धी छान्ने दाउमा दलहरु रहेका छन् । उम्मेदवार तोकेपछि अरु आकांक्षीहरु भड्किने तथा पार्टीले तोकेका उम्मेदवारलाई असहयोग हुने शङ्का जिल्लाका शीर्ष नेतृत्वलाई पर्न गएको देखिन्छ । स्थानीय तह अधिकार सम्पन्न भएकाले पनि सबै दलका कार्यकर्तामा जनप्रतिनिधि बनेर काम गर्ने इच्छाशक्ति निकै बढेको देखिन्छ । यतिखेर दलहरु उम्मेदवार छान्नका लागि आन्तरिक बैठकमा व्यस्त देखिन्छन् । दलहरुले केही दिनभित्र स्वच्छ छवि, जनता माझ लोकप्रिय र जनप्रतिनिधि बनेपछि जनताको हितमा काम गर्नसक्ने उम्मेदवार छानिने बताएका छन् ।

नवलपरासीमा स्थानीय चुनावकाे लागि भव्य तयारी, ३२ दल दर्ता

नवलपरासी, वैशाख २ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् । ठूला तथा साना दलले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनोटको तयारीमा जुटेका छन् । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले एकातिर उम्मेदवार चयन गर्ने कार्यमा जुटेका छन् भने अर्कोतिर विभिन्न कार्यक्रममार्फत पार्टीका नेता तथा त्यसका सम्भावित उम्मेदवारले मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् । सदरमुकाम परासीको मुख्य आकर्षण केन्द्र बनेको रामग्राम नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र मधेसी मार्चाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर स्थानीय तहको निर्वाचनमा भाग नलिने बताउँदै आएका मोर्चाले संविधान संशोधन भएर निर्वाचनमा जान सक्ने वातावरण सृजना भए साझा उम्मेदार उठाउन योजनामा देखिएको छ । अन्य साना दलहरुले पनि सकभर मोर्चाबन्दी अथवा मिलेर साझा उम्मेदवार उठाउने योजनामा केन्द्रीत भएका छन् । रामग्राम नगरपालिकाका लागि दलहरुले जनताको माझमा लोकप्रिय, स्वच्छ छवि र निर्वाचित भएपछि जनताको पक्षमा काम गर्नसक्ने खालका उम्मेदवार छान्ने कसरतमा जुटेका छन् । सो नगरपालिकाको प्रमुख पदका लागि विभिन्न दलबाट करिब एक दर्जन आकांक्षी देखिएका छन् । काँग्रेसबाट नरेन्द्रकुमार गुप्ता, विक्रम यादव , शिवशंकरप्रसाद राय र वैजनाथ जयसवाल चर्चामा छन् । यस्तै नगरप्रमुख पदमा एमालेबाट वीरेन्द्र यादव र दीपेन्द्र यादवको चर्चा छ भने माओवादी केन्द्रबाट बुद्धन अलिको चर्चा छ । संविधान संशोधन भएर निर्वाचनमा सहभागी हुने वातावरण सृजना भएमा मधेसी मोर्चाको साझा उम्मेदवारको रुपमा सत्रजित यादवलाई नगर प्रमुखमा अघि सार्ने चर्चा छ । १२८ दशमलव ३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रामग्राम नगरपालिकामा कुल ५९ हजार ४५५ जनसङ्ख्या रहेको छ । छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका कायम गरिएको छ । कुल तीन लाख ६९ हजार आठ सय ९४ मतदाताका लागि जिल्लामा दुई सय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्रको व्यवस्था गरिएको छ । स्थानीय तह निर्वाचनका लागि नवलपरासीमा ३२ राजनीतिक दलले दर्ता छन् ।

शान्तिवाटिकामा नयाँ शक्तिसहित ६८ दलको धर्ना सुरु

काठमाडौँ, वैशाख २ ।  अागामी वैशाख ३१ गते  सरकारले घोषणा गरेपछि स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन् । काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विरोधस्वरुप आजदेखि अनशनको सुरुवात गर्नुभएको हो । लोकतान्त्रिक राज्य व्यवस्थामा दललाई दलीय चुनाव चिन्हबाट नदिइ सरकारले अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोधस्वरुप वैधानिकरुपमा दर्ता भएका सबै दललाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन् । शान्तिवाटिकामा रिले अनशनको सुरुवात गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले २५/३० वर्षअघि यही रत्नपार्कबाट बहुदलीय व्यवस्थाका लागि आन्दोलन गरेको स्मरण गर्दै अहिले गणतान्त्रिक व्यवस्थामा पनि पूर्ण लोकतन्त्रको स्थापना गर्ने उद्देश्य राखेर शान्तिपूर्ण सङ्घर्ष सुरु गरिएको बताउनुभयो । त्यस्तै अनशनमा सहभागी अन्य राजनीतिक दलका नेताले सम्बोधन गर्दै लोकतन्त्रको रक्षा र तीन दलीय निरङ्कुशताका विरुद्ध आफूहरुको शान्तिपूर्ण सङ«घर्ष जारी रहने बताएका छन् ।

बालकृष्ण ढुंगेललाई पक्राउ पुर्जी जारी गरेकोमा बैद्यको आक्रोश, मुद्दा तत्काल फिर्ता लिनू

काठमाडौं, वैशाख २ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सर्वोच्च अदालतले पूर्व सभासद बालकृष्ण ढुंगेललाई ७ दिने पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै जनयुद्धको मुद्दा समाधान गर्न दुईवटा आयोग बनिसकेको अवस्थामा अदालतले पुन मुद्दा व्युझाउन खोजेकोमा आपत्ति जनाएको हो । विज्ञप्तीमा राज्यको तर्फबाट जनयुद्धकालिन मुद्दा तत्काल फिर्ता लिन आग्रह गरिएको छ । वैद्यको नै हस्ताक्षर रहेको विज्ञप्तिमा जनयुद्धको नेतृत्वको एउटा हिस्सा सरकारमा रहनु र जनयुद्धमा संलग्न भएका कार्यकर्ता उत्पीडित बन्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख छ । जनयुद्धकालीन मुद्दाबारे आयोगमार्फत मेलमिलापको व्यवस्था गर्न बैद्यले माग गरेका छन् । उनले अदालतको अवहेलना गरेको भन्दै परेको अर्को मुद्दामा सर्वोच्चले बिहीबार सुनुवाई गर्दै ढुंगेललाई ७ दिन भित्र पक्रन प्रहरीलाई निर्देशन दिएकोप्रति वैद्य माओवादीले आपत्ति जनाएको हो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ । तर अदालतलाई नै चुनौती दिँदै ढुंगेल खुल्लम खुल्ला हिँडेको भन्दै प्रहरी प्रशासनको आलोचना भएको छ ।

अबदेखि चक्रपथ सफाइ अभियान

काठमाडौँ, वैशाख २ । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले जारी गरेको १० बुँदे घोषणा पत्र बमोजिम आजदेखि घर, टोल सफाइ अभियान चक्रपथको ग्रिनसिटी अस्पताल अघिबाट सफाइ अभियान सुरु गरिएको हो । सफाइको सुरु गर्नुहुँदै सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले घर टोल सफा नभएसम्म नदी नाला सफा नहुने भएकाले यो अभियान सुरु भएपछि उपत्यकाका नदीनाला सफाइमा सहयोग पुग्ने बताए । पूर्वसचिव एवम् वाग्मती सफाइको संयोजक गरिरहनुभएका किशोर थापाले उपत्यकाका सडक सफा नभए त्यो फोहर नदीमै जाने भएकाले चक्रपथ सफाइ सुरु गरिएको बताए । सफाइमा १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यसैगरी उपत्यकाका प्रमुख नदीबाट पनि आज १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २०५ औँ हप्तामा आज बुद्धनगरमा सफाइ गरी १० मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परेपनि सफाइमा ३०० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए । रुद्रमती सफाइको १६४ औँ हप्तामा रातोपुलदेखि गौशाला हुँदै बत्तीसपुतली राममन्दिरसम्म सफाइ सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरियो । त्यस अवसरमा बाटाको फोहर समेत सफाइ गरिएको थियो । यहाँबाट एक मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ । विष्णुमती सफाइको एक सय ३६ औँ हप्तामा तारकेश्वर नगरपालिकाको घलेपुलमा जनचेतनामूलक घरदैलो अभियान चलाइयो । गुह्येश्वरमाथिको वाग्मतीमा ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ र पुडासैनी मैत्री समाजले गरेको एक सय ६६ औँ हप्ताको सफाइमा पनि एक मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । तिलगङ्गा महिला समूहले पशुपति क्षेत्रमा गरेको एक सय १३ औँ हप्ताको सफाइमा पनि जनचेतनामूलक अभियानसहितको सफाइ गरी एक मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । रासस

चाँगुनारायण प्रमुख बन्न कांग्रेसबाट मात्रै बाह्रभन्दा बढी नेताको दौडधुप

नगरकोट, वैशाख २ । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली काँग्रेसका नेताले उम्मेदवारी दर्ता गराएका छन् । साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर निर्वाचन क्षेत्र नं १ मा पर्छ । उपप्रमुखमा भने छ जनाले पार्टीमा नाम दर्ता गराएका छन् । संविधानसभा सदस्यका उम्मेदवार कृष्णलाल भँडेल, महासमिति सदस्य तथा पूर्व जिल्ला सचिव जगन्नाथ कार्की र क्षेत्र नं १ का सभापति जीवन खत्री, जिल्ला सदस्य किरण न्यौपाने, क्षेत्रीय सचिव उद्धव खड्का, महाधिवेशन प्रतिनिधि राजाराम खड्का र सुरेश श्रेष्ठ, क्षेत्रीय सदस्य टङ्कबहादुर कार्की, क्षेत्रीय प्रतिनिधि मनोजकुमार थापा, चाँगुनारायण नगरपालिकाका संयोजक यादव अधिकारी तथा सहसंयोजक शिवहरि केसी र अन्यमा पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम र सम्पूर्ण रोक्का पनि आकाङ्क्षी देखिएका छन् । उपप्रमुखका आकाङ्क्षीमा महासमिति सदस्य सुभद्रा काफ्ले, महाधिवेशन सदस्य रुपादेवी थापा, नेपाल महिला सङ्घ जिल्ला सभापति सरु बानियाँ, क्षेत्रीय प्रतिनिधि सङ्गीता फुयाँल, पूर्व जिल्ला सदस्य सावित्री लामिछाने र राधा कार्की रहेका छन् । भक्तपुर काँग्रेसले यही वैशाख ७ गतेभित्र आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनकोलागि सम्पूर्ण उम्मेदवारको टुङ्गो लाग्ने जनाएको छ । नौ वटा वडा रहेको चाँगुनारायण नगरपालिकामा काँग्रेसका तर्फबाट वडा अध्यक्षका लागि आकाङ्क्षी उम्मेदवार तीनदेखि नौ जनासम्म रहेको क्षेत्र नं १ का सभापति खत्रीले बताए । भक्तपुरमा महिलाले प्रमुख र पुरुषले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । रासस

सगरमाथामा ट्राफिक जाम !

सोलुखुम्बु,वैशाख २ । सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ । सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् । मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ । सगरमाथा आरोहणका लागि अघिल्लो वर्षको तुलनामा यस वर्ष आरोही अधिक रहेको पर्यटन विभागले जनाएको छ । आरोहीको सङ्ख्या अधिक रहेकाले यस वर्ष सगरमाथामा ट्राफिक जाम हुने खतरा रहेको आरोहण सहयोगी पेम्बा दोर्जी शेर्पाले बताए । सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोका कारण आरोहण अवरुद्ध भएपछि मार्ग अनुमति लिइसकेकालाई यस वर्षसम्म पुरानै शुल्कमा आरोहण गर्ने सुविधा दिइएकाले आरोहीको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ । विसं २०७१ पछि तीन वर्षभित्र आरोहण गरे पहिले लिएकै अनुमतिपत्रलाई आधार मानेर पहिले तिरेकै शुल्कमा आरोहण गर्ने सुविधा सरकारले दिएको छ । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भनने–“तीन वर्षको अवधिको यो अन्तिम वर्ष यो हो, अवसर नगुमाउन पहिला नै अनुमति लिएका आरोही आएका छन् । त्यसैले आरोहीको सङ्ख्या यस वर्ष अधिक हुने भएको हो ।” अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि दुई सय ८९ जना अनुमति लिई आधार शिविर पुगेका थिए । यस वर्ष अहिले नै दुई सय ६७ जना नाम्चेबाट उकालो लागिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए । आरोही वैशाखको मध्यसम्म अनुमति लिएर जाने गर्छन् । सम्पर्कमा आउने क्रम बढिरहेकाले यो सङ्ख्या बढी झन्डै चार सय पुग्ने विभागले जनाएको छ । आरोहणका लागि अनुमति लिनेभन्दा उनीहरुका सहयोगी बढी हुने गर्छन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ । सहयोगीकै रुपमा पाँच पटक सगरमाथाको शिखरमा पुगिसक्नुभएका फोर्चेका सोनाम शेर्पा भन्नुहुन्छ “सबैलाई मौसम सफा भएको बेला शिखरमा पुग्ने हतार हुन्छ, त्यहाँ पालो मिलाउने पठाउने व्यवस्था हुन्न, यस वर्ष जाम हुने सम्भावना छ, फर्कँदा जाममा परेमा अक्सिजन सकिने तथा जिउ कमजोर भइसकेको कारण ज्यान तलमाथि हुन सक्छ ।” मार्सल सेल्फ डिफेन्स अन्तर्राष्ट्रिय सम्मेलन सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा ‘मार्सल सेल्फ डिफेन्स’ सङ्घको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा भएको सो सम्मेलनमा पोर्चुगलका १७, भारतका तीन र नेपालका समेत गरी १०० भन्दा बढीको सहभागिता रहेको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घ सोलुखुम्बुका संयोजक नुतन श्रेष्ठले बताए । संयोजक श्रेष्ठका अनुसार विश्वव्यापी रुपमा मार्सल सेल्फ डिफेन्स तालिम सञ्चालन गरी हरेक व्यक्तिलाई आत्मरक्षाको सीप लिन उत्साहित गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो । सोलुखुम्बुलाई खेलकुदका क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउन अन्तर्राष्ट्रिय सम्मेलन पत्तालेमा आयोजना गरिएको र सम्मेलनले खेलसँगै नेपाली पर्यटनमा सकारात्मक सहयोग पुर्याउँछ भन्छन् जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष बिबी नेपाली । सम्मेलनका क्रममा करातेसम्बन्धी विभिन्न सीप प्रदर्शन गर्नाका साथै सहभागीलाई तालिमसमेत दिइएको छ पत्ताले डाँडासगरमाथालगायत अन्य उच्च हिमशृङ्खलाको दृष्यावलोकनका साथै हिमाली रहनसहन र संस्कृतिका दृष्टिबाट महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ । रासस

नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

चितवन,  वैशाख २। नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलोमा गए राति खसेको पहिरो पन्छाइएपछि राति नै सवारीसाधन सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति ८ बजे खसेको पहिरो पन्छाइएपछि राति ११ बजेदेखि आवागमन सञ्चालनमा आएको हो । सोही स्थानमा पहिरो खस्दा शुक्रबार बिहान तीन घन्टा सडक अवरुद्ध बनेको थियो । राति पहिरो खसेपछि यात्रु अलपत्र परेका थिए । स्थानीय प्रशासनले सो ठाउँमा पटक पटक पहिरो खसेपछि दुर्घटनाको जोखिम भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ । सडक विस्तारका क्रममा रहेको सो सडक खण्डको भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो । पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किमी नारायणगढतर्फ पर्छ । यसैगरी पहिरो खसेको स्थल नजिकै सडकबाट गए राति त्रिशूलीमा खसेका एक व्यक्तिको उद्धार गरिएको छ । नाम थर नखुलेका अन्दाजी ३५ वर्षीय ती पुरुषको टाउकामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । राति ८ बजेतिर पहिरो खसेको स्थलबाट करिब १०० मि मुग्लिनतर्फ पैदल हिँड्दै गर्दा उनी चिप्लिएर त्रिशूलीमा खसेका थिए । रासस

वैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुन्छ–उपप्रम थापा

काठमाडौँ, वैशाख २ । उपप्रधान् एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा भाग नलिए पनि वैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भन्नुभयो, “ मोर्चाको माग सम्बोधन गर्नका लागि हामीले उनीहरुसँगको सहमतिमा संशोधन प्रस्ताव दर्ता गरायौँ, तर उनीहरुले त्यसलाई अस्वीकार गरेर गम्भीर भूल गरेका छन्, अझै पनि मोर्चाले आफ्नो निर्णय पुनःविचार गर्न आग्रह गर्दछौँ ।” उहाँले शुक्रबार बिहान सत्तारुढ प्रमुख तीन घटक नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र र आफ्नो पार्टी राप्रपाको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको जानकारी दिँदै बैठकले मोर्चालाई पनि चुनावमा सँगै लिएर जान अन्तिम समयसम्म पनि पहल गर्ने र यसका लागि वार्ता र संवादलाई कायम राख्ने निर्णय गरेको बताउनुभयो । राप्रपा अध्यक्ष थापाले भन्नुभयो, “मोर्चासँग अन्तिम समयसम्म पनि सहमतिको प्रयत्न रहन्छ, तर उहाँहरु नआए पनि निर्वाचन कुनै पनि हालतमा रोक्दैनौँ, यसबारेमा काँग्रेस, माओवादी केन्द्र र राप्रपाबीच सहमति भएको छ ।” बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाबाट आफू उपस्थित रहेको उहाँले जानकारी दिनुभयो । उहाँले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा सहभागी हुन सबैलाई आग्रह गर्दै चुनावमा सबैको सहभागिता होस् भनेर नै वर्तमान सरकारले अथाह प्रयास गरिरहेको छ भन्नु भयो । उपप्रधानमन्त्री थापाले भन्नुभयो, “सरकारले मोर्चासँगको सहमतिमा नै नयाँ संशोधन विधेयक ल्याएको हो, उहाँहरुसँग भएको पाँचबुँदे सहमतिका आधारमा हामीले विधेयक अघि बढाएका थियौँ । उहाँहरुले विधेयक अस्वीकार गरेको निर्णय अप्रत्यासित र अनपेक्षित छ ।” मोर्चाका नेतासँग पाँच सूत्रीय भद्र सहमति भएको र सोहीअनुरुप पुरानो विधेयकबाट सीमाङ्कनबाहेक भाषा, नागरिकता र राष्ट्रियसभाको प्रतिनिधित्वलाई नयाँमा राख्ने, सीमाङ्कनलाई सङ्घीय आयोग गठन गरेर जाने, संविधानको धारा २७४ परिमार्जन गर्ने, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या वृद्धि गर्नेगरी विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले मोर्चाले प्रस्तावको समर्थन गरेको भए, सरकारसँग दुई तिहाइ पुग्ने आधार रहेको जानकारी दिनुभयो । उहाँले आफूले अहिले पनि मोर्चासँग वार्ता तथा संवाद गरिरहेको जानकारी दिँदै मोर्चाले आफ्नो निर्णयमा पुनःविचार गर्ने आशा व्यक्त गर्नुभयो ।उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अन्य पार्टीसँग तालमेल गर्ने नीति अख्तियार गरेको बताउनुभयो । रासस

बैशाख ९ गतेभित्र माओवादी केन्द्रका उम्मेद्वारको टुंगो

वैशाख १ ।  नेकपा माओवादी केन्द्रले यही ९ गते सम्ममा पार्टीको तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाईसक्ने निर्णय गरेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टीको हेडक्वार्टर बैठकले ९ गतेभित्र उम्मेदवारको टुङ्गो लगाई सक्ने र घरदैलो अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले बैशाख ९ गते दिउँसो १ बजे देशका सबै महानगरपालिका र नगरपालिका र गाउँपालिकामा चुनावी जनसभा गर्ने निर्णय गरेको माओवादीले पार्टीको मूल नारा ‘माओवादी केन्द्रको उपहार, गाउँ र नगरमा सिंहदरबार’ तय गरेको छ । यस्तै बैठकले मधेशी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि अपिल गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिएकी छिन । बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधान गरि स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गरेको हो । माओवादी केन्द्रको बैठकले मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह पनि गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई दलित र प्राध्यापकहरुको छुटाछुटै माग प्रस्तुत

काठमाडौं, बैशाख १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष दलित मुक्ति मोर्चा नेपाल र नेपाल आंशिक प्राध्यापक संघका छुट्टा छुट्टै टोलीले ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज दिउँसो दलित मोर्चाले बुझाएको ज्ञापनमा आगामी स्थानीय तहको निर्वाचनमा दलितलाई नेतृत्वमा अनिवार्य रुपमा उम्मेदवार बनाउन माग गरिएको छ । त्यस्तै आंशिक प्राध्यापकहरुले आफूहरुलाई त्रिभुवन विश्व विद्यालयले स्थायी गर्नुपर्ने माग राखेका छन् । प्रधानमन्त्रीले दलितलाई आफ्नो पार्टी माओवादी केन्द्रले सबै तहमा अनिवार्य उम्मेदवार बनाउने र बहुसंख्यक दलित रहेको तहमा दलितकै नेतृत्वमा उम्मेदवार उठाउने निर्णय गरिसकेको जानकारी गराए । त्यसैगरी आंशिक प्राध्यापकका मागका सम्वन्धमा सम्बन्धित मन्त्रालय र त्रिविका पदाधिकारीसँग छलफल गरी आवश्यक निर्णय लिने बताए ।

काठमाडौंको मेयरमा पूर्व सचिव थापाको उम्मेदवारी घोषणा

काठमाडौं, वैशाख १ । काठमाडौं महानगरपालिकाको मेयरका लागि पूर्वसचिव किशोर थापाले उम्मेदवारी दिने घोषणा गरेका छन् । साझा पार्टीमा आवद्ध थापाले तर, दल दर्ता नभएकाले साझा पार्टीले स्थानीय तहको चुनावमा दलगत रुपमा भाग लिन पाउँदैन । त्यसैले स्वतन्त्र उम्मेदवारका रुपमा पूर्वसचिव थापालाई उम्मेदवार बनाउन लागिएको साझा पार्टीले जनाएको छ । महानगरका लागि थापाको कार्ययोजना र उपमेयरको उम्मेदवार छिट्टै सार्वजनिक गरिने साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बताएका छन् । निजामती करिअर निष्कलङ्क छविका साथ अवकाश लिएका उनी केही समयअघिसम्म म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा कार्यरत थिए। निर्वाचन कानुनका कारण थापाको उम्मेदवारी स्वतन्त्र हैसियतको हुनेछ । काठमाडौं महानगरपालिकामा थापाको उम्मेदवारीले पार्टी उत्साही भएको साझा पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आर्किटेक्ट–इन्जिनियर थापाले शहरी विकास, शिक्षा र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए। निजामती सेवामा निष्कलङ्क छविका साथ अवकाश लिएका उनी केही समयअघिसम्म म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा कार्यरत थिए।

राप्रपा फेरी आन्दोलनमा, निर्वाचन आयोगको निर्णय जलाउने

  काठमाडौं, उपप्रधानमन्त्री कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको बिरोधमा आन्दोलनको घोषणा गरेको छ । पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्णय निर्वाचन आयोगले पुनर्विचार नगरेको विरोधमा निर्वाचन आयोगको प्रतिलिपि जलाउने निर्णय गरेको छ । शुक्रबार पदाधिकारीहरुको बैठकले आयोगललाई यसअघि दिएको ज्ञापनपत्रको सम्बन्धमा स्पष्ट जवाफ नआएकोले निर्वाचन आयोगलाई पुन स्मरणपत्र दिने र बैशाख ५ गते ७४४ स्थानीय तहमा जुलुससहित निर्वाचन आयोगको निर्णयको प्रतिलिपि जलाउने निर्णय गरेको हो । बैशाख ८ गते ७२ जिल्लामा विरोध सभा गर्ने र जिल्ला निर्वाचन आयोग अगाडि एक घण्टा धर्ना दिने र काठमाण्डौ उपत्यकामा केन्द्रीय निर्वाचन आयोग अगाडी शक्ति प्रदर्शन सहित धर्ना दिने निर्णय पनि गरेको छ । आजको पदाधिकारी बैठकले आगामी स्थानीय तहको निर्वाचनको लागि ‘राप्रपाको प्रतिवद्धता – सकारात्मक परिवर्तन’ भन्ने नारा समेत तय गरेको छ । राप्रपाका अध्यक्ष कमल थापा स्थानीय विकासमन्त्री हुँदासमेत आयोगको निर्णय जलाउने बैठकले निर्णय गरेको छ । आफ्नो विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाएको विरोधमा राप्रपाले यसअघि पनि आयोगमा धर्ना दिने क्रममा भएको झडपमा राप्रपाका थुप्रै नेता कार्यकर्ता घाइते भएका थिए ।