आईजीपीका लागि योग्यताक्रम सिफारिस प्रतिवेदन मन्त्रिपरिषदमा पुग्यो

काठमाडौ,बैशाख १४ । आईजीपीका लागि योग्यताक्रम सिफारिस गर्न गठित समितिले तयार प्रतिवेदन  मन्त्रिपरिषदमा बुझाएको छ । सर्वोच्च अदालतमा पेस गर्न तयार पारेको प्रतिवेदन बुधवार मन्त्रिपरिषदमा बुझाइएको हाे । कार्यसम्पादन मूल्यांकन (कासमू) सहितको प्रतिवेदन आईजीपी विवादमा वैशाख १९ गते हुने सुनुवाइका लागि सर्वोच्चमा पेस गरिनेछ । आईजीपीका प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्चको बृहत् पूर्ण इजलासबाट भएको आदेश ध्यानमा राखी प्रतिवेदन तयार पारिएको हो । आजको अन्नपुर्ण पोष्टमा  खबर छ ।

महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, कानुनसचिव कमलशाली घिमिरे र निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल समावेश समितिले सिलवालसहित चार डीआईजीले चार वर्षमा पाएको अंकसहित योग्यताक्रम कायम गर्दै प्रतिवेदन तयार पारी बुझाएको हो ।

 

स्थानीय निर्वाचनका लागि राप्रपाको यस्तो संकल्प

काठमाडौं, बैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनको लागि संकल्प–पत्र सार्वजनिक गरेको छ । ललितपुरमा एक कार्यक्रमको आयोजना गरी राप्रापाले १० वर्षमा हरेक नगरपालिकालाई स्मार्ट सिटि वनाउने अवधारणा सहितको घोषणा पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले महत्वकांक्षी योजना समेटिएको यस संकल्प पत्र प्रोजेक्टरमार्फत नेता तथा कार्यकर्ताहरुमाझ सार्वजनिक गरेका हुन् । ‘राप्रपाको अभियान सकरात्मक परिवर्तन, राष्ट्रियता, हिन्दुत्व ,विकास र शुसासन’ भन्ने मूल चुनावी नारा तय गरेको राप्रपाले राष्ट्रियताको सुदृढीकरणलाई उच्च प्राथमिकता दिएको छ । सकल्प पत्रमा राप्रापाले चुनाव जितेको गाउँ पालिका र नगरपालिकामा पृथ्वीनारायण साहको अनिवार्य तस्वीर राख्ने उल्लेख गरेको छ भने शिक्षाको लागि स्थानीय निकायबाट २० प्रतिशत बजेट विनियोजन गर्ने बताएको छ । ५ वर्ष भित्रमा प्रत्येक परिवारका १ जनालाई अनिवार्य रोजगारी प्रदान गर्ने उल्लेख गरिएको छ भने पर्यटन र पर्यावरण विकासको लागि प्रत्येक घरमा दुईवटा रुख लगाउनुपर्ने अन्यथा नक्सा पास नगर्ने बताइएको छ । सार्वजनिक स्थानमा निशुल्क वाईफाई सहितको इन्टरनेट सुविधाको साथै कुल स्थानीय निकायको कुल बजेटको १० प्रतिशत महिलाको स्वास्थ्य र रोजगारीमा खर्च गरिने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

एमाले समाप्त हुने नेता महतोको चेतावनी (हेर्नुस भिडियो)

काठमाडौं, बैशाख १३ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोले नेकपा एमाले समाप्त हुने चेतावनी दिएका छन् । हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता महतोले यस्तो चेतावनी दिएका हुन् । हेर्नुहोस् भिडियाे-  

कहिले दिक्क मानेनन् एसओएसका आमाहरु

काठमाडौँ, वैशाख १३ । आफ्ना छोराछोरी हुर्काउन धौधौ मान्ने वर्तमान नेपाली समाजमा ५२ वर्षीया अविवाहित गोमा गुरुङले आठजना छोराछोरी हुर्काइरहनुभएको छ । उहाँले उनीहरुलाई माया र कर्म दिइराख्नुभएको छ । त्यतिमात्रै होइन गुरुङले अरु १७ जना छोराछोरीलाई उचित शिक्षादीक्षा दिएर हुर्काइसक्नुभएको छ । शिक्षा र रोजगारी पाएपछि समाजमा पुनःस्थापित भएका छोराछोरीमध्ये केहीका त नातिनातिना पनि भइसकेका छन् । अविवाहित गुरुङजस्तै लक्ष्मी लिम्बू पनि त्यस्तै आमा हुन् जसले आफू बिहे नै नगरी यतिखेर नौ छोराछोरीको आमा बनेर उनीहरुलाई हुर्काइरहनुभएको छ । गोमा र लक्ष्मीजस्तै अर्की आमा लक्ष्मी घिमिरेको कथा भने अलि फरक छ । बिहेको अर्थ नै नबुझ्ने १३ वर्षे केटाकेटी उमेरमा उहाँको विवाह भयो । बिहे गरेको एक वर्षमै उहाँले श्रीमान् गुमाउनुभयो । उहाँ अहिले आठ छोराछोरीको आमा बन्नुभएको छ । यसअघि घिमिरेले १७ जना छोराछोरीलाई हुर्काइ, बढाइ र पढाइसक्नुभएको छ । यस्तै सीता गिरी आफ्नै कोखबाट जन्मेका दुई छोराछोरीको साथै आफ्नो नयाँ कर्मघरका नौ जना छोराछोरीको रेखदेख र स्याहारसुसार गरिरहनुभएको छ । यतिखेर एसओएस बालग्राम सानोठिमीका १६ वटा घरका १६ जना आमा र आठ जना काकी त्यहाँ आश्रित १६० छोराछोरी स्याहार्न खटिनुभएको छ । उहाँहरु जस्तै मुलुकभरिका १० वटा एसओएस बालग्रामका एक हजार २०० छोराछोरीलाई स्याहार्न, रेखदेख गर्दै उनीहरुलाई सवल र सक्षम बनाउन १२८ जना आमा तथा ७५ जना काकी अहोरात्र खटिइरहनुभएको छ । यसबाहेक बालग्रामबाट विद्यालय शिक्षा सकी डेरामा बसेर पढिरहेका अरु ६०० छोराछोरी पनि तिनै आमाको प्रत्यक्ष निगरानीमा रहेका छन् । कुशल आमाको जिम्मेवारी निर्वाह गरेबापत बालग्रामले उहाँहरुलाई विभिन्न सेवा सुविधा र पारिश्रमिक दिन्छ । ती आमाहरुले आफ्नो जीवनको उत्पादनशील उमेर र वैशालु समय तिनै छोराछोरीका लागि भनेर त्याग गर्दै आउनुभएको छ । प्राकृतिक प्रकोपलगायत विभिन्न कारणले आफूलाई जन्मदिने बाबुआमा गुमाएका तिनै साना केटाकेटीलाई आमाको माया दिएर स्याहारसुसार र रेखदेख गर्दै दिनरात नभनी आमाहरु खटिनुभएको छ । बालग्रामले विभिन्न जातजाति, धर्म, समुदाय, परिवार र रहनसहनबाट आएका १० जना केटाकेटीलाई एउटा घरमा सँगै राखेर उनीहरुको मनोविज्ञान समेत बुझ्दै हुर्काउँदै आएको छ । विगत ४२ वर्षदेखि यस्ता बालबालिकाको लागि काम गर्दै आएको विश्वव्यापी संस्था एसओएस बालग्रामले भक्तपुरको सानोठिमी, काठमाडौँको जोरपाटी, सुनसरीको इटहरी, कास्कीको छोरेपाटन, सुर्खेत, चितवन, लुम्बिनी, काभ्रे र कैलालीस्थित बालग्राममा आश्रित एक हजार २०० बालबालिकालाई तिनै आमाले रेखदेख गर्दै आउनुभएको छ । “छोराछोरी र आमासहितको परिवार नै एसओएस बालग्रामको सिद्धान्त हो,” एसओएस बालग्राम सानोठिमीका निर्देशक खगेन्द्रकुमार नेपालले भन्नुभयो । संसारका १३४ मुलुकमा यसै सिद्धान्तमा रही एसओएस बालग्राम स्थापना भएका छन् । “बालग्रामका आमा पहिलो जिम्मेवार अभिभावक हुन्,” नेपालले भन्नुभयो– “आमाको अनुपस्थितिमा काकीले आमाको भूमिका निभाउँछन् ।” आमा, काकी र परिवारका छोराछोरीको सम्पूर्ण आर्थिक पाटो भने सम्बन्धित बालग्रामले व्यहोर्छ । एसओएस बालग्राममा आमा या काकी बन्न त्यति सजिलो छैन । कम्तीमा १० कक्षासम्म पढेका, अविवाहित, श्रीमान् गुमाएका, एकल या परित्यक्त महिलालाई छनोट गरी उनीहरुलाई दुई वर्षसम्म सैद्धान्तिक र व्यावहारिक तालिम दिइन्छ । सुरुमा काकी (प्रशिक्षार्थी आमा) र उनीहरुले छोराछोरी हुर्काउनसक्ने खुवीका आधारमा आमा नियुक्त गर्ने प्रावधान रहेको निर्देशक नेपाल बताउनुहुन्छ । केटाकेटी हुर्काउन सक्ने खुवी, बालमनोविज्ञान, सहनशीलतालगायतलाई मध्यनजर गरी आमाको नियुक्ति गरिने व्यवस्था छ । छोराछोरी हुर्काउँदै ६० वर्ष उमेर पुगेका या आमा भएर सेवा गरेका ३० वर्ष पूरा भएर सेवा निवृत्त भएका ती आमालाई बाँचुञ्जेलसम्म बस्नका लागि एसओएस बालग्रामले अलग्गै घर बनाइदिएको छ । यसलाई सेवानिवृत्त आमाको घर (रिटायर्ड मदर्स हाउस) भनिन्छ । नेपालको पहिलो एसओएस बालग्राम सानोठिमीको स्थापनाको ४२ वर्षअवधिमा त्यस्ता सयाँैं छोराछोरी हुर्काएर सेवा निवृत्त भएका १६ जना आमा त्यस्ता घरमा बस्दै आउनुभएको छ भने सेवानिवृत्त भएपछि केही आमाहरु आफ्नै पुख्र्यौली घर फर्कनुभएको छ । अन्य बालग्रामबाट समेत सेवानिवृत्त भएका ५२ जना आमालाई बालग्रामले बाँचुञ्जेल आवास, सम्पूर्ण औषधि उपचार खर्च र निवृत्तिभरणको व्यवस्था गर्दै आएको निर्देशक नेपालले बताउनुभयो । आमाहरुले आफ्नो जीवनभरि छोराछोरीलाई गरेको माया, रेखदेख, हेरचाह र निभाएको जिम्मेवारीलाई पैसामा तुलना गर्न नसकिने एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्ग बताउनुहुन्छ । दोस्रो विश्वयुद्धमा आमाबाबु गुमाएका सयौँं बालबालिकाको उद्धार गर्दै अस्ट्रियाका प्रा डा हर्मन माइनरले एसओएस बालग्रामको अवधारणा अघि सार्नुभएको हो । हाल संसारभरि हजारौंँ बालबालिकाले एसओएस बालग्राममार्फत स्याहार, सम्मान र शिक्षादीक्षा पाइरहनुभएको छ ।

तत्काल मतगणना र बजेट प्रस्तुत गर्ने कार्यप्रति एमालेको विरोध

काठमाडौँ, वैशाख १३ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा पहिलो चरणको निर्वाचनको मतगणना तत्काल गर्ने र बजेट प्रस्तुत गर्न अनुमति दिने निर्वाचन आयोगको निर्णयप्रति अपत्ति जनाएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र आयुक्तहरुलाई भेटेर पहिलो चरणको निर्वाचनको तत्काल मतगणना गरिँदा दोस्रो चरणको निर्वाचनलाई असर तुल्याउने भएकाले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई ध्यान दिन सुझाव दिएको थियो । कति चरणमा निर्वाचन गर्ने भन्ने सन्दर्भमा राजनीतिक दलहरुबीच भएको रस्साकस्सीबारे स्मरण गराउँदै सरकार र आयोगले एमालेसँग कुनै सोधपुछ र परामर्श नै नगरी किन लामो अन्तर राखेर दुई चरणमा निर्वाचन घोषणा भयो भनी प्रतिनिधिमण्डलले विरोध जनाएको थियो । स्थानीय तहको निर्वाचन दुई चरणमा किन गरियो भनी पार्टीको धारणा राख्न भएको एमालेको टोलीले निर्वाचनको स्वच्छता, निस्पक्षताको सुन्दरताको जर्गेना गर्ने प्रमुख दायित्व आयोगको भएको पनि स्मरण गरायो । सरकार र निर्वाचन आयोगको परामर्शमा भएको निर्वाचनलाई शिरोधार्य गरेर प्रमुख प्रतिपक्ष दल निर्वाचनको लागि मुलुकभर परिचालन भएको अवस्थामा अचानक दुई चरणमा निर्वाचन घोषणा भएकोप्रति गुनासो व्यक्त गर्दै दोस्रो चरणको निर्वाचनको लागि घोषणा भएको मितिसमेत गलत भएको जनाएको थियो । छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपनेता नेम्वाङले भन्नुभयो– “निर्वाचन स्वच्छ, निष्पक्ष र पवित्र हुनुपर्छ भन्ने मान्यता ठूलो हो की मतपेटिका लामो समयसम्म कसरी राख्ने भन्ने कुरा ठूलो हो ।” दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा आचारसंहिता विपरीत जेठ १५ गते बजेट घोषणा गर्ने काम ठीक नहुने जिकिर गर्दै उहाँले मुलुक निर्वाचनमय भएको हुँदा अब स्थानीय तहको सङ्ख्या बढाइमा आफूहरुले कुनै हालतमा मान्य नहुने बताउनुभयो । रासस

रुपान्तरित दुई कार्यालयका कर्मचारीको निवृत्तीभरण रोकियो

काठमाडौँ, वैशाख १३ । सङ्घीय संरचनाअनुसार रुपान्तरण भएका कार्यालयबाट अवकाश पाएका निजामती कर्मचारीको निवृत्तीभरण रोकिएको छ । जिल्ला विकास समितिबाट जिल्ला समन्वय समिति र पुनरावेदन अदालतबाट उच्च अदालतमा रुपान्तरण भएका कार्यालयबाट अवकास पाउने कर्मचारीको निवृत्तीभरण रोकिएको छ । निजामती किताबखानाले यी दुई कार्यालयबाट रुपान्तरणपछि अवकास पाएका कर्मचारीको निवृत्तीभरण रोकेको छ । सामान्य प्रशासन मन्त्रालयले साविक नाम भएका दुई कार्यालयको नाम रुपान्तरण भएको जानकारी किताबखानालाई नदिँदा निवृत्तीभरण रोकिएको हो । सङ्घीय संरचनाअनुसार रुपान्तरण भएका कार्यालयको नाम दर्ता र कर्मचारीको नामसहित पद दर्ता किताबखानामा जानकारी नपठाउँदा धेरै कर्मचारीको निवृत्तीभरण रोकिएको छ । वैशाख ५ गते तनहुँ जिल्ला समन्वय समितिबाट अवकास लिएर आएका नायब सुब्बा तीर्थराज वाग्लेले किताबखाना पटकपटक धाउँदा निवृत्तीभरण अझै पाउन सकेका छैनन् । ‘निवृत्तीभरणका लागि किताबखानामा जाँदा खारेज भइसकेको कार्यालयबाट निवृत्तीभरण हुँदैनन् भनेर फिर्ता पठाइदिनुभयो’ उहाँले भन्नुभयो– ‘नयाँ रुपान्तरण भएको कार्यालयको नाममा नपठाइदिन निवृत्तीभरण रोकिएको छ ।’ । किताबखानाका महानिर्देशक केशवप्रसाद आचार्यले ती दुई कार्यालयका अवकास प्राप्त कर्मचारीलाई कुन कार्यालयको नामबाट निवृत्तीभरण दिने भन्ने अन्यौल रहेकाले रोकिएको जानकारी गराउनुभयो । ‘पहिलेको कार्यालयको नामबाट दिने कि नयाँ नामबाट दिने भन्नेमा अन्यौल रहेको छ’’ उहाँले भन्नुभयो–‘‘त्यसैले ती दुई नयाँ कार्यालयका अवकास प्राप्त कर्मचारीको निवृत्तीभरण बनाउन सकिएको छैन ।’

पछिल्लो संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा छैन – अध्यक्ष ओली

काठमाडौँ, वैशाख १३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृति दिवसमा सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पहिलोपटक ल्याएको संविधान संशोधनको प्रस्तावभन्दा पनि अहिलेको झनै राष्ट्रहित विपरीत रहेकाले मुलुकलाई दूरगामी असर पार्ने बताउनुभयो । केही दलको स्वार्थसिद्धीका लागि संविधान संशोधन गर्न तयार रहने सरकारले प्रमुख प्रतिपक्ष दलको भावनालाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो । सरकारले यही वैशाख ३१ मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको बताउँदै उहाँले भन्नुभयो – “सरकारले एकैपटक निर्वाचन सम्पन्न गर्ने निर्णयबाट पछि हटेको छ, बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न मिल्दैन, बजेट अगाडि चुनाव सम्पन्न गर्नुपर्छ ।” पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि मजदुर आन्दोलन, भारतको मुक्ति सङ्ग्रामलाई सफल बनाउन स्व अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभयो । मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले नेपाल तथा भारतको राजनीतिक विकास क्रममा स्व अधिकारीले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत अन्य नेताले अधिकारीको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा चढाउनुभएको थियो ।

अवरुद्ध संसद् खुलाउने निष्कर्षमा पुग्ने सहमति

काठमाडौँ, वैशाख १३ । प्रमुख तीन दलसहित बसेको पाँच दलको बैठकमा अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बुधबार बिहान १०ः३० बजे शीर्षनेताहरु बसेर निष्कर्षमा पुग्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार साँझ बसेको बैठकमा अवरुद्ध संसद् खुलाउने विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्थानीय विकासमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बुधबार निष्कर्षमा पुग्ने सहमति भएको हो । बैठकका बारेमा जानकारी दिँदै एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले बुधबार बिहान १०ः३० बजे शीर्ष तीन नेता र उपप्रधानमन्त्री थापा गरी चार जना बसेर आजकै छलफलको पृष्ठभूमिमा एउटा टुङ्गोमा पुग्ने विषयमा सहमति भएको जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल भएको र सहमतिका लागि छलफल प्रारम्भ भएको बताउनुभयो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने, बजेट ल्याउने र संसद् बैठक सुचारु गर्ने विषयमा गम्भीरतापूर्वक छलफल भएको बताउनुभयो । बैठकमा संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको थियो । एमाले नेता नेम्वाङका अनुसार स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा एक÷दुई दिन छलफल निरन्तर रहनेछ । स्थानीय तहको निर्वाचन र जेठ १५ मा बजेट ल्याउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालले आफ्नो कुरा गम्भीरतापूर्वक राखेको उहाँको भनाइ छ । बैठकमा काँग्रेसका तर्फबाट सभापति देउवा, प्रकाशमान सिंह, एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार हुनुहुन्थ्यो ।

बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने भक्तजनको घुइँचाे

काठमाडौँ, वैशाख १३ । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा प्रत्येक वर्षझैँ यसपालि पनि औँशीका दिन बुधबार बिहानैदेखि कुण्डमा स्नान तथा दर्शन गर्नका लागि भक्तजनको ठूलो भीड लागेको छ । काठमाडौँबाट करिव १२ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त स्थानमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट समेत मेला भर्न दर्शनार्थी आउने गर्छन् । विशेष गरी आमा नहुनेले आजको दिन त्यहाँ गएर कुण्डमा स्नान गरी तर्पण दिने, श्राद्ध गर्ने तथा दान दक्षिणा गर्ने चलन छ । प्राचीन समयमा स्थानीय एक ग्वालाले गाई चराइरहेका बेलामा प्यास लागेर पानी पिउन जाने क्रममा कुण्डमा आजको दिन आफ्नो दिवङ्गत आमाको मुख देखेपछि त्यहाँ दर्शन गर्ने परम्परा सुरु भएको जनविश्वास छ । विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा स्वयंसेवकले यहाँ आउने भक्तजनलाई सहज दर्शनको व्यवस्था मिलाएका छन् । चन्द्रागिरि नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले प्राचीन महत्वको इतिहास रहेको त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । स्थानीय रोशन दानीले साँझसम्म त्यहाँ मेला भर्न तथा दर्शनका लागि करिब एक लाख भक्तजन आउने जानकारी गराउनुभयो । अौँशीको दिन अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो गौशालामा वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन बुधबार बिहानैदेखि महोत्तरी जिल्लाको बगडा गाविसमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । आमाबुबालाई आफ्ना सर्वस्व मान्ने र आमाबुबाकै सेवालाई महान् धर्म मान्नेका आस्थाका केन्द्र मानिएको सो स्थानमा आज आमाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीयवासी बताउँछन् । जिल्लाको उत्तरपूर्वी कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको बगडा–९ मा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थानले पौराणिक एवम् धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला–पुरुष दर्शनका लागि आएको स्थानीयवासी शङ्कर यादवले बताउनुभयो । रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किंवदन्ती रहेको छ । विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढा टाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकामा अहिले यहाँ कहिलेकाहीँ विशेष दिन जस्तै आमाको मुख हेर्ने वा बुबाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेको कुरा स्थान नजिकै बस्ने सीताशरण यादवले बताउनुभयो । आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेको स्थानीयवासी विकाऊ यादवले बताउनुभयो । आमा, बुबा नभएकाले यस स्थानमा आफ्ना आमाबुबाको सम्झना गर्दै आमा तथा बाबुको मुख हेर्ने दिनमा ठूलो सङ्ख्यामा आउने र अन्धाअन्धी स्थानलाई आफ्ना आमाबुबाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध नथुनी यादवले बताउनुभयो । रामायणकालमा मातापिताका अनन्य भक्त तथा परम आज्ञाकारी छोरा श्रवण कुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबुआमालाई महोत्तरीको बगडा–९ स्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुर–४ स्थित कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाण लागी मृत्यु भएको र आफ्नो छोरा मरेको सुनेर अन्धाअन्धीले पनि यसै ठाउँमा प्राण त्याग गरेको किंवदन्ती छ । अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवम् चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो । तर सम्बन्धित निकायको उदासीनताका कारण यस स्थानको संरक्षण संवद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको छ। धार्मिक एवम् ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, संवद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासीले माग गरेका छन् ।

म्याग्दीका १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

म्याग्दी, वैशाख १३ । म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् । बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान पmेला परेका हुन् । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीको म्याग्दी नदी किनारमा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएको सिंगा तातोपानीकुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । यो तातोपानीकुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता कठिन रोग निको हुने जनविश्वास छ । त्यही विश्वासका कारण वार्षिक २० हजारको हाराहारीमा त्यस्ता बिरामी डुबेर स्नान गर्न यहाँ आउने गर्छन् । तातोपानीमा रहेका अन्य मुहानलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्यले बताउनुभयो । त्यसैगरी मुदीको बगर, दरवाङको भालेबास्ने ताल, भुरुङतातोपानी, हिस्तान, दानाको कालीगण्डकी किनारमा गरी अन्य नौवटा तातोपानीका मुहान फेला परेका स्थानीयवासीले बताएका छन् । म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मूलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सियससम्मको तातोपानी निस्कने गर्छ । सिंगातातोपानी, भुरुङतातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी सङ्कलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोपानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन । म्याग्दीमा रहेका यस्ता प्राकृतिक तातोपानीका मुहानलाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सक्ने हो भने वर्षेनी ठूलो सङ्ख्यामा पर्यटक यहाँ आउने सम्भावना रहेको नेकपा (एमाले) म्याग्दीका सचिवालय सदस्य राजकुमार थापाले बताउनुभयो ।

ललितपुरमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

काठमाडौं, वैशाख १३ । स्थानीय तहको चुनावका लागि हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रलाई पार्टीको मुख्य एजेण्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । बुधबार दिउँसो १ बजे ललितपुरको एक होटलमा चुनावी घोषणापत्र सार्वजनिक गरिने राप्रपाले जनाएको छ । संकल्प पत्र नाम दिएको घोषणापत्रमा प्रत्येक परिवारमा एक जनालाई रोजगारी, बेरोजगारलाई स्वरोजगार कोष स्थापना गरी तालिम, तथा सहुलियत ऋण उपलब्ध गराउने उल्लेख गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । १७ पृष्ठ लामो घोषणापत्रमा पार्टीले गर्ने विकास निर्माणका काम समेत समावेश गरेको छ । गरिबी निवारणलाई विशेष कार्ययोजनाका रुपमा अघि बढाउने संकल्प गरेको राप्रपाले प्लास्टिकका झोला निषेध देखि एक घर दुई बिरुवा अभियान सञ्चालन गर्ने समेत घोषणा गरेको छ । कुनै पनि बहानामा बन्दको कार्यक्रम नगर्ने प्रतिवद्धता समेत राप्रपाले जनाएको छ । घोषणापत्रमा महंत्वकाक्षी योजना नबनाएको भन्दै विकास निर्माण तथा वातावरणीय र सांस्कृतिक सम्पदाको संरक्षणलाई बिशेष जोड दिएको नेता श्रेष्ठले जानकारी दिए । राप्रपाले विद्यालय तहका पाठ्यपुस्तकमा राष्ट्रियता सम्बन्धि विषयवस्तु समावेश गराउनुपर्ने आफ्नो संकल्प पत्रमा उल्लेख गरेको छ ।

कुश्मामा युवा उम्मेदवार आएपछि स्थानीय खुशी

काठमाडौं वैशाख १३ । स्थानीय चुनावको मिति नजिकिदैं गर्दा पर्वतमा चुनावी सरगर्मी बढेको छ। पार्टीहरुले आ–आफ्ना उम्मेदवार चयन गर्ने क्रम जारी छ । यसैक्रममा नेकपा माओवादी केन्द्र पर्वतले कुश्मा नगरपलिकाका लागि मेयर र उपमेयर चयन गरेको छ । मेयरका लागि युवा शंकर गिरीलाई उम्मेदवार बनाएको छ ।   माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका गिरी उम्मेदवार बनेपछि पर्वतवासी जनतामा उत्साह देखिएको छ । कुश्मा नगरको आमूल परिवर्तन गर्ने भिजन आफूसँग भएको भन्दै आफ्नो जित सुनिश्चित रहेको गिरीले बताए । नगरपालिकामा रहेका सडक, खाने पानी, स्वास्थ्य, शिक्षा, विद्युत आपूर्ति लगायतका समस्यालाई समाधान गर्ने प्रतिबद्धता गिरीले जनाए ।

वायुप्रदूषण नियन्त्रण गर्न रातमा सडकहरु पखालिँदै छन्

काठमाडौँ, वैशाख १३ । काठमाडौँ महानगरपालिकाले काठमाडौँमा उत्पन्न वायुप्रदूषण नियन्त्रणका लागि रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ । गत सोमबारदेखि कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो । मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौँमा अत्यधिक धुलो बढेको हुनाले त्यसलाई नियन्त्रण गर्नका लागि कामपाले यस किसिमको अभियान सुरु गरेको कामपाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिनुभयो । “सरसफाइ हरेक नागरिकसँग जोडिएकाले, प्रदूषण नियन्त्रण गर्न नागरिक र महानगर मिल्नैपर्छ”, कार्यकारी अधिकृत पौडेलले भन्नुभयो, “सडक पखाल्ने काम थालेका छौँ, यसको प्रभाव हेरेर नागरिक जीवनको सहजताका लागि अन्य काम गर्छौँ ।” काठमाडौँका मुख्य र कालोपत्र गरिएका सडक तथा किनारामा जमेर बसेको धुलो पखाल्ने कामको थालनी गर्न सोमबार राति ९ः३० देखि १२ बजेसम्म सडक सफा गर्ने काम सुरु गरिएको र यस कामलाई निरन्तरता दिने प्रमुख पौडेलको भनाइ छ । धुलोका कारण नागरिकले अत्यन्तै सास्ती बेहोनु परेका कारण चौतर्फी दबाब आएकाले कामपाले यस्तो प्रयास गरी नागरिकलाई केही आभाष दिन तयार भएको हो । मङ्गलबार राति भने कामपाले दमकल र ट्याङ्करको सहायताले पुतलीसडक क्षेत्रको सडक सफा बनाएको छ । यसरी धुलो कम गर्न सके नागरिकले राहत पाउने कामपाले विश्वास लिएको छ । धुँवाधुलोले सहरी जीवनलाई सकसपूर्ण बनाएको छ । काम थालेको पहिलो दिन पुतलीसडक कमलादी मोडबाट शङ्करदेव क्याम्पस प्रवेश गर्ने चोकसम्मको सडकको बीच भाग, पैदल मार्ग र छेउछाउमा भएका, बार, बिजुलीका पोलमा रहेको धुलो पखालिएको थियो । दमकल, जेट मेसिन र ट्याङ्करको प्रयोग गरिएको धुलो पखाल्ने कामको पहिलो दिन ५० हजार लिटर पानीको प्रयोग भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

छाता चिन्ह पाउने सम्भावना छैन: प्रमुख निर्वाचन आयुक्त

बनेपा, वैशाख १३ । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता-२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एकीकरणमा गएका राजनीतिक दललाई अहिले नयाँ चुनाव चिह्न दिन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब छाता चुनाव चिह्न पाउने कुनै सम्भावना छैन ।” प्रमुख निर्वाचन आयुक्त यादवले पहिलेकै चुनाव चिह्नलाई मिलाएर ल्याउन मधेस केन्द्रित दललाई आग्रह गर्दै वैशाख ३१ गतेको निर्वाचन हुनेमा शङ्का नगर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले जेठ १५ गते बजेट ल्याउन निर्वाचन आयोगको परामर्श आवश्यक भएकामा जोड दिँदै बजेटबाट दोस्रो चरणको निर्वाचन प्रभावित हुनुहँुदैन भन्नुभयो । नेपाली काँग्रेस, काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दुर्गम क्षेत्रमा विविध कारणवश अझै पनि मतदान गर्ने अवसरबाट मतदाता वञ्चित भएको बताउनुभयो । नेकपा (एमाले), काभ्रेपलाञ्चोकका उपाध्यक्ष अशोक व्याञ्जुले दोस्रो चरणको निर्वाचन नै आचारसंहिता विपरीत भएको आरोप लगाउनुभयो । काभ्रेपलाञ्चोकका प्रमुख निर्वाचन अधिकृत मोदिनीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता विपरीत काम भए त्यो जोखिमपूर्ण र प्रत्युत्पादक हुने चेतावनी दिँदै आचारसंहिता उल्लङ्घन गरेर चुनाव नजितौँ भन्नुभयो । निर्वाचन आयोगका सहसचिव नवराज ढकालले स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको जानकारी दिँदै मतदाता शिक्षालाई व्यापक बनाइएको बताउनुभयो । सो अवसरमा आचारसंहिता, पर्यवेक्षणलगायत विभिन्न विषयमा आएका विभिन्न प्रश्नको प्रमुख निर्वाचन आयुक्त यादवले जिज्ञासा मेटाउनुभएको थियो ।

चुनाव गर्न दश नगरपालिकामा निर्वाचन अधिकृत कार्यालय स्थापना

काठमाडौँ, वैशाख १३ । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मंगलबार काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रत्येक नगरपालिकामा निर्वाचन सम्पन्न गर्नका लागि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी गराउनुभयो । नार्गाजुन नगरपालिकामा सुदर्शन लामिछाने, शङ्खरापुरमा भुवनेश्वर पौडेल, गोकर्णेश्वरमा निर्मला सुवेदी र दक्षिणकालीमा प्रतिमा पोखरेललाई निर्वाचन अधिकृत तोकिपठाइएको छ । यसैगरी, तारकेश्वरमा निर्मला योङया, कागेश्वरी मनहरामा प्रकाश कोइराला, चन्द्रागिरिमा गणेश नायक, टोखामा दीनबन्धु बराल, कीर्तिपुरमा गजेन्द्रबहादुर सिंह र बूढानीलकण्ठमा सुरेशप्रसाद नेपाललाई निर्वाचन अधिकृत तोकिएको छ । ती निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित नगरपालिकाका लागि उम्मेदवारको मनोनयनदेखि निर्वाचन सम्पन्न गर्ने सबै काम गर्नुपर्नेछ । यसअघि यही वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

संविधान संशोधन प्रस्ताव पारितको सम्भावना र स्थनीय चुनावको तयारी

काठमाडौँ,  वैशाख १३ । सरकारले मधेसी मोर्चालाई स्थानीय निर्वाचनमा सहभागी गराउन दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि नेपालको राजनीति नयाँ ढङ्गले सहज बाटोमा अघि बढेको छ । ६ मधेसीघटक मिलेर बनेको राष्ट्रिय जनता पार्टी ‘राजपा’ र संघीय समाजवादी फोरमसँग भएका सहमति कार्यन्वयन गर्न सरकारले संसदमा संविधान संसोधन पेश गरेको छ । संसदमा दर्ता भएको संशोधन कार्यन्वयन गराउने विषयले भने दलहरुका सार्वजनिक अभिव्यक्ति भिन्न प्रकारकाले आएका छन् । सत्ता गठबन्धन २० वर्षपछि स्थानीय निर्वाचनको ऐजेन्डालाई मुख्य प्राथमिकता दिएको गठबन्धन सरकारले वैशाख ३१ गते पहिलो चरणको निर्वाचन गराउने पक्का भएको छ । चैत ४ गतेपछि सत्ता हस्तान्तरण गर्ने भद्रसहमति गरेका माओवादी केन्द्र र कांग्रेस गठबन्धनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व गठबन्धन सरकारलाई जेठ ३१ गते गर्ने निर्णय भएको दोस्रो चरणको निर्वाचन गराउन पाउँछ कि पाउँदैन रु भन्ने जिज्ञासा यतिबेला राजनीतिक वृत्तमा चलेको छ । यहि अन्योलता दोस्रो चरणको निर्वाचन र संसदमा दर्ता भएको संविधान संसोधन पारित हुने वा नहुने विषय आशंका उब्जेको छ । सत्तागठबन्धन माओवादी केन्द्र, कांग्रेस, राप्रपा, प्रमुख प्रतिपक्ष एमाले र राजपाले आन्तरिक तथा द्विपक्षीय वार्तापछि प्याकेजमा सहमति खोज्ने तर्फ उन्मुख देखिएका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले एमाले र मधेस केन्द्रित दलहरुलाई मिलाएरै संविधान कार्यन्वयन गर्ने दृढताका साथसरकार अघि बढेको बताइन । ‘प्रधानमन्त्री प्रचण्डले आज पनि छलफल गर्दै हुनुहुन्छ । सबै दलबीच साझा सहमति गराएरै बढ्ने हो । शिर्ष दलका नेतृत्वबीचमा प्याकेजमा सहमति गर्ने बारे छलफल जारी छ ।’ प्रमुख प्रतिपक्ष एमाले दुई चरणमा स्थानीय निर्वाचनको घोषणापछि जेठ १५ मा बजेट लिन नहुने तर्क एमालेले गरेको छ । निर्वाचन आयोगले जेठ १५ मा बजेट लिन पाउने बताएपछि एमालेले आपत्ति जनाएको छ । स्रोतहरुका अनुसार एमालेले अनौपचारिक सहमति जनाएका कारण जेठ १५ मा बजेट प्रस्तुत गर्न दिनेमा सहमत भएको छ । एमालेले जेठ ३१ गते दोस्रो चरणको चुनावसँग जोडेर बजेट रोक्नु पर्ने जिकिर गर्दै आएको छ । संविधान संसोधन संसदबाट पारित गराउने सावालमा निर्णयक एमाले सत्ता गठबन्धन र मधेसी मोर्चाको सहमतिलाई राष्ट्रिय हित विपरित भनिरहेको छ । संविधानको धारा २७४ चलाउनै नहुने र स्थानीय तथा प्रदेशको अधिकार कटौती गर्नेगरी सहमती भएको उसको निश्कर्ष छ । एमालेले जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या बढाउने तयारीको विरोधमा संसद अवरुद्ध पारेको छ । मधेसी मोर्चा संविधान संसोधन परिमार्जन सहित दर्तापछि स्थानीय निर्वाचनमा सहभागी हुने सहमति गरेको मोधसी मोर्चाको रणनीति अलि अस्पष्ट देखिन्छ । संसदमा नरहेका दलहरुलाई स्थानीय निर्वाचनमा चुनाव चिन्ह दिन नसकिने निर्वाचन आयोगको निर्णयपछि आन्दोलित डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीलाई आफ्नै चुनाव चिन्हमा सहमत गराएर संघीय समाजवादी फोरम संविधान संसोधनबिना चुनाव हुन नसक्ने तर्क गरिरहेको छ । मधेसमा चुनावी माहोल छैन भन्दै सार्वजनिक अभिव्यक्ति दिईरहेका फोरम अध्यक्ष उपेन्द्र यादवले मधेसकै राजनीति गरेर पनि मधेसी जनताको भावना नबुझेको भनि उनको विरोध भैरहेको छ । मधेस केन्द्रित राजनीति, त्यसमाथि विभाजित मनोभावना भावनालाई पगाल्न नसक्ने र थ्रेसहोल्डको ब्यवस्था भएपछि ६ वटा मधेस केन्द्रित दलहरुले मिलेर राष्ट्रिय जनता पार्टी घोषणा भइसकेको छ । नागरिकता, भाषा र प्रदेश सीमा विवादलाई हल गर्नेगरी सरकारले गरेको सहमति कार्यन्वयन हुनुपर्ने मधेस केन्द्रित दलहरुको माग छ । एभरेष्ट दैनिक डट कम सँग कुरा गर्दै राजपाका शिर्ष नेता राजेन्द्र महतोले प्रमुख प्रतिपक्षलाई मनाउने जिम्मा सरकारको भएको बताए । उनले भने ‘दुई तिहाई पुग्छ पुग्दैन त्यो सरकारले जानोस् हामी यत्ति जान्दछौँ सहमति अनुसार सरकार अघि बढोस् र संविधान संसोधन होस्’ उनले थपे ‘चुनावी घोषणपत्र तयारी, उम्मेरदवार छनौटका बिषयमा राजपामा छलफल बिषय नै भएको छैन । पहिले संविधान संसोधन गरेर यसको सर्वस्किार्य बढाएपछि मुलुकमा चुनावी माहोल बन्छ ।’