सीमामा कुनै पनि अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैनः गृहमन्त्री निधि

सरकारको तर्फबाट शहिद गौतम परिवारलाई रु १० लाख हस्तान्तरण

काठमाडौं, चैत १२ । कञ्चनपुर घटनामा शहिद भएका गोविन्द गौतमका परिवारलाई सरकारले १० लाख रुपैया हस्तान्तरण गरेको छ । गृहमन्त्री विमलेन्द्र निधि शनिबार कन्चनपुरको पुर्नवास पुगि सरकारको तर्फबाट गौतम परिवार रु १० लाख रुपैया हस्तान्तरण गरेका हुन् । कन्चनपुरको पुर्नवासमा कल्र्भट निर्माण विषयमा झगडामा भारतीय एसएसबीले अन्धाधुन्धा चलाएको गोली लागि स्थानिय गोविन्द गौतमको मृत्यु भएको थियो । सरकारले गौतमलाई शहिद घोषणा गरेर क्षतिपुर्ति सहित रु १० लाख दिने घोषणा गरेको थियो । गृहमन्धी निधिले गौतमको घरमा पुगी सरकारको तर्फबाट १० लाख र नेपाली कांग्रेसको तर्फबाट रु ७ लाख रुपैया गौतम श्रीमति लक्ष्मि गौतमलाई हस्तान्तरण गरेका छन् । यसअघि शहीद परिवारलाई नेकपा एमाले र माओवादी केन्द्रले ५ लाख र ६ लाख राहत प्रदान गरेका थिए । गृहमन्त्री निधिले रकम हस्तान्तरणपछि घटनास्थल अवलोकन गर्दै भारतले यस घटनाप्रति माफी माग्दै परिवारलाई क्षतिपुर्ति दिनुपर्ने बताए । निधिले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि व्यक्त्त गरेका छन् ।

बेइजिङमा प्रचण्डको भव्य स्वागत, सडक खाली गराएर स्टेट गेष्ट हाउस लगियो

बेइजिङ, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बेइजिङमा भव्य स्वागत गरिएको छ । बोआओ सम्मेलनमा भाग लिन बिहिबार चीनको हेनान पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार अपरान्ह बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री बेइजिङ विमानस्थल पुग्नेवितिकै उनलाई चीनको विदेश मन्त्रालय र नेपाली दूतावासका अधिकारीहरुले भव्य स्वागत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई सडक खाली गराएर स्टेट गेष्ट हाउस लगिएको छ । उनलाई चिनियाँ उच्च सुरक्षा दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री दाहालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ रात्रीभोजको आयोजना गरेको छ। प्रधानमन्त्री दायोतल स्टेट गेष्टहाउसबाट बेइजिङको समय अनुसार ६ः४० मा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सरिक हुने कार्यक्रम तय गरिएको छ। बेइजिङ उड्नुअघि प्रधानमन्त्रीले शनिबार बिहान बोअाअो सम्मेलनलाई सम्बोधन गरेका थिए । बोअाअो सम्मेलनका लागि विशेष बक्ताको रुपमा प्रधानमन्त्री चीन पुगेका हुन् । प्रधानमन्त्रीले भोली आइतबारका दिन बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमासम्बोधन गर्ने छन् । आइतबार नै प्रधानमन्त्रीले चिनियाँ व्यापारीसँग नेपालमा लगानीलगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ । यसका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने समेत कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले सोमबार वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । चैत १५ गते प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ ।

संविधानअनुसार पहिले केन्द्रीय चुनाव हुनुपर्छ – अध्यक्ष यादव

काठमाडौँ, चैत १२ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानअनुसार पहिले संसद्को निर्वाचन हुनुपर्ने र त्यसपछि क्रमशः प्रदेश तथा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले सबै दलको समन्वय र सहमतिमा पहिला केन्द्रीय चुनाव गरेपछि अन्य निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ भन्नुभयो । अध्यक्ष यादवले संविधानले मधेसी, जनजाति, थारु, सङ्घीयता पक्षधर र सीमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुनःलेखन नगरिएसम्म मुलुकमा स्थायित्व तथा शान्ति कायम हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । संविधान संशोधन नगरी समस्याको समाधान हुन सक्दैन्, उहाँले भन्नुभयो — “संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाती राख्नु हुँदैन, यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमाङ्कनको विवाद समाधान गर्नका लागि आयोग गठन गर्ने हो भने पनि त्यसलाई शक्तिशाली बनाउनुपर्छ ।” अध्यक्ष यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा समस्या नै आउँदैन थियो भन्दै “हामीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गम्भीरता देखाएन, फलस्वरु समस्या बल्झिदै गएको बताउनुभयो ।” रासस (श्रव्य सामग्री उपलब्ध छ)

विगतमा भएका समझदारी लागू हुनुपर्ने– अध्यक्ष ठाकुर

विराटनगर, चैत १२ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले संयुक्त मधेसी मोर्चासँग विगतमा भएका समझदारीलाई सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताउनुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद्मा प्रस्तावित सीमाङ्कनलगायतका विधेयकलाई परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान रहेको बताउँदै सरकारले जबर्जस्ती निर्वाचन गराए पनि त्यस्तो निर्वाचन मान्य नहुने धारणा व्यक्त गर्नुभयो । वार्ताको पक्षमा मोर्चा सदैव तत्पर छ, उहाँले भन्नुभयो — ‘सिके राउतको एजेन्डा मोर्चाको एजेन्डा भन्दा बिल्कुलै फरक छ ।’ अध्यक्ष ठाकुरले जनसङ्ख्याको सिद्धान्त विपरीत पुनःसंरचना आयोगले स्थानीय तहको संरचना निर्माण गरेको उल्लेख गर्दै “५१ प्रतिशत जनसङ्ख्या भएको मधेसमा मात्र ३५ प्रतिशत र ४९ प्रतिशत जनसङ्ख्या भएको हिमाल, पहाडका लागि ६५ प्रतिशत भाग छुट्याएका संरचनाको तह मान्य हुने छैन भन्नुभयो ।” सङ्घीयतामा केन्द्र र प्रदेश दुई तह हुनुपर्नेमा नेपालमा स्थानीय तहसमेत गरी तीन तह गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘प्रदेशको माहतहमा स्थानीय तह राखेर दुई तह बनाउनुपर्ने मोर्चाको माग छ ।’ अध्यक्ष ठाकुरले स्थानीय तह पुनःसंरचना आयोगले विवादित संरचना बनाएको र पूर्णता नपाएको अवस्थामा निर्वाचनको घोषणा गर्नु गलत भएको स्पष्ट पार्नुभयो । दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड मान्य नहुने उल्लेख गर्दै उहाँले संसद्देखि सडकसम्म यसको विरोध गर्ने जानकारी गराउनुभयो ।

भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै, राष्ट्रपति भवनमा सम्मान कार्यक्रम

काठमाडौँ, चैत १२ । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ । भारतीय सेनाको २७ आँै सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएको थियो । उहाँले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत भ्रमण गर्नुहुनेछ ।

प्रधानमंत्री बन्ने कुनै रहर छैन- अध्यक्ष ओली

काठमाडौं, चैत १२–एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पुनः प्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले अब बन्ने सरकार एमालेको हुने दाबी गरे । अब बन्ने सरकार एमाले नेतृत्वमा हुने दाबी गर्दै ओलीले भने, ‘मलाई प्रम हुने पटक्कै मन छैन । म नबनेपनि अबको सरकारले १० वर्षभित्र समृद्ध देश बनाउने छ । ’ नेपालको विकास गर्न इच्छाशक्तिमात्रै भए पुग्ने दाबी गर्दै ओलीले भने, ‘म प्रम हुँदा विकास गर्न पैसा नचाहिने अनुभव गरे । खाली योजनामात्रै बनाउन आवश्यक छ ।’ तर विकासका लागि चाहिने योजना अहिले सम्म बन्नै नसकेको बताउँदै उनले योजना बनेको खण्डमा रकमको कुनै खाँचो नपर्ने बताए ।

एमाले संसारकै अराजक पार्टी- शेखर कोईराला

काठमाडौं, चैत १२ ।  काँग्रेस नेता डा शेखर कोईरालाले एमाले दुनियाँकै अराजक र अप्रजातान्त्रिक पार्टी भएको आरोप लगाएका छन् । उनले एमालेकै कारण मुलुकमा समस्या निम्तिएको पनि दावी गरे । नेता कोइरालाले एमाले जन्मनुभन्दा अगाडि देखि नै काँग्रेसले राष्ट्रियता र प्रजातन्त्रको लागी संघर्ष गरेको इतिहास रहेको भन्दै एमालेले काँग्रेसलार्य राष्ट्रियताको पाठ पढाउन आबश्यकन नरहेको बताए । एमालेसँग काँग्रेसलाई राष्ट्रियताको पाठ पढाउने नैतिकता पनि नरहेको नेता कोइरालाको भनाई छ । नेता कोइरालाले नक्कली राष्ट्रबादको नारा लिएर एमालेले मेची–महाकाली यात्रा थालेको भन्दै एमाले निर्वाचन बिथोल्न लागेको आरोप लगाए । ‘सूदुरपश्चिम पुगेर हाम्रा सभापति शेरबहादुर देउवाजीलाई तथानाम गाली गर्ने केपी ओलीजी को हो ?’ काँग्रेस ललितपूर क्षेत्र नं–२ को क्षेत्रिय सम्मेलनको उदघाटन कोइरालाले भने । उनले मधेसी मोर्चाको सहमति बिना गरिने निर्बाचनले मूलुकलाई बिखण्डनमा लैजाने बताए । कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य किरण यादव,सांसदहरू चन्द्र महर्जन,उदयशमशेर राणा,पूर्व सांसद रामक्रृष्ण चित्रकार लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

मतपत्र छपाई तीव्र, राजतन्त्र र हिन्दु राज्य संविधानविपरीत भएकोले राप्रपाको उक्त वाक्यांश हटाईएको- निर्वाचन आयोग

विराटनगर, १२ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदातापत्र छपाइ लगायतका तयारी कार्य तीव्र गतिमा भइरहेको बताएका छन् । स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन वैशाख ३१ गते निर्धारित समयमै हुने र निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने बताए । प्रत्येक वडामा दुई महिला पद आरक्षित गरिएको र एकमा दलित महिलाको उम्मेदवारीका लागि संविधानले निर्दिष्ट गरेको प्रसङ्ग उल्लेख गर्दै उनले यस विषयमा सचेतना फैलाउन सञ्चार क्षेत्रसँग आग्रह गरे । पत्रकारको जिज्ञासामा उनले नेपालको संविधानमा सङ्घीय लोकतान्त्रिक धर्म निरपेक्ष भनी स्पष्ट रुपमा उल्लेख गरिएको अवस्थामा राप्रपाको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजतन्त्र संविधानको अनुकूल नभएको देखिएकाले कानुनविद्को सल्लाहमा सो ‘‘वाक्यांश’ हटाइएको स्पष्ट पारे । स्थानीय तहको निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्न सकिने हो कि भनी सोधिएको एक प्रश्नमा प्रमुख आयुक्त यादवले छोटो अवधि भएकाले दुईटै निर्वाचन एकैसाथ गर्न नसकिने जानकारी गराए । निर्वाचन आचारसंहिता पालना गराउन आयोग प्रतिबद्ध रहेको र आचारसंहिता पालना नगरेको बारेमा प्रमाणसहित आयोगमा उजुरी आए कारबाही गरिने उनको भनाइ थियो । रासस

मधेसी दलहरू निर्वाचनमा भाग लिने- उपप्रम थापा

हेटौँडा, १२ चैत । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको बताएका छन् । उपप्रधानमन्त्री थापाले शनिबार राप्रपा मकवानपुरद्वारा उनकै सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तह निर्वाचनलगत्तै केन्द्र र प्रदेशको निर्वाचन गरी बाह्य हस्तक्षेपलाई निष्प्रभावी बनाउन प्रमुख राजनीतिक दलहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताए । उनले मुलुकमा राजनीतिक स्थायित्वका साथसाथै आर्थिक समृद्धिका लागि राप्रपाले अरु दलसँग सहकार्य गर्ने समय आएको बताए । सो कार्यक्रममा राप्रपाका भूपू केन्द्रीय सदस्य मधु अधिकारी र राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले प्रमुख दलहरुले मधेसवादी दलसँग आपसी समझदारी कायम गर्दै दुई दशकदेखि स्थगित भएको स्थानीय निर्वाचनलाई सफल पार्नुपर्ने बताए । रासस

नेपालका लागि भारतीय राजदूत काठमाडौंमा, सोमबार राष्ट्रपतिसमक्ष पेश हुने

काठमाडौं, १२ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह काठमाडौं आइपुगेका छन्। शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दुतावासले जनाएको छ । सोमबार नै राजदूत सिंहले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ । राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन्। निवर्तमान राजदूत रणजित रे कार्यकाल पुरा गरी दिल्ली फर्किए पछि काठमाडौको भारतीय दुतावास उपप्रमुख विनय कुमारले सम्हाल्दै आएका थिए। आज काठमाडौँ ओर्लिएका राजदूतलाई भारतीय दुतावासका कर्मचारीले बिमानस्थलमा पुगी स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आजै बेइजिङ फर्किने, सोमबार राष्ट्रपतिसँग भेटवार्ता

बेइजिङ, चैत १२ । बोआओ फोरममा सम्बोधनपछि प्रधानमन्त्री आजै बेइजिङ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले भोली आइतबारका दिन बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमासम्बोधन गर्ने छन् । आइतबार नै प्रधानमन्त्रीले चिनियाँ व्यापारीसँग नेपालमा लगानीलगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ । यसका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने समेत कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले सोमबार वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । चैत १५ गते प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री यही चैत १६ गते स्वदेश फर्कने छन् ।

बर्खास्त गरिएका प्राधिकरण प्रमुख ज्ञवालीले फर्जी तथ्यांक प्रस्तुत गर्ने गरेको खुलासा

काठमाडौँ, चैत १२– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क हटाइएको छ । प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३११ थियो । तर यससम्बन्धी समाचार सार्वजनिक भएसँगै फर्जी तथ्याङ्क हटाइएको हो । वेभसाइटमा उल्लेख भएको सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्याङ्क छ । प्राधिकरणको वेभसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्याङ्क आवरण पृष्ठमै थियो । सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा बिहीबार दिउँसो ३ः४५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार निर्माण सम्पन्न घरको सङ्ख्या दुई हजार ४८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताए । “ निर्माण सुरु भएको घर सङ्ख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारीस गरिएकाको सङ्ख्या पाँच हजार ७३० छ, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको सङ्ख्या ३३९ छ”– उनले भने । प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक वर्षको प्रगति विवरण देखाउन गलत तथ्याङ्कको सहायता लिएको रहस्य खुलेको छ । ज्ञवालीले पुस १२ गते ‘पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी मुख्य कार्य प्रगति विवरण’ शीर्षकमा प्राधिकरणको वेभसाइटमा राखेको विवरणमा ४१ हजार ३११ घर पुनःनिर्माण भएको गलत तथ्याङ्क छ । यो शीर्षकको विज्ञापन त्यस दिनका पत्रपत्रिकामा पनि छपाइएको थियो । यस सम्बन्धमा प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन । ज्ञवाली कार्यरत रहँदा उनको प्रेस संयोजकका रुपमा काम गरेका भुवन केसीले केन्द्रीय तथ्याङ्क विभागले सर्वेक्षणका क्रममा ल्याएको प्रतिवेदनका आधारमा सो विवरण राखिएको दाबी गरे । रातोपाटीबाट

महन्थ ठाकुरले भने- चुनावमा भाग लिन्छौं

बिराटनगर, चैत १२ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय चुनावमा सहभागि हुने बताएका छन् । शनिबार तमलोपा जिल्ला कार्यसमिति मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावमा भाग लिनको लागि सरकारले संविधान संसोधनका विषयमा गरेको सैद्धान्तिक सहमतिलाई तत्काल कार्यान्वय गनु्ृपर्ने बताएका हुन्। सरकारले ओठे आश्वासन मात्रै दिने गरेको भन्दै अध्यक्ष ठाकुरले विगतमा मधेसी मोर्चासँग भएको सहमति कार्यान्वय गरेमा चुनावमा भाग लिने बताए । नेता ठाकुरले सीमांकनलाई थाती राखेर अन्य विषयमा संशोधनबारे कुरा आइरहेको भए पनि सहमति भने भइनसकेको जानकारी दिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका अध्यक्ष ठाकुरले संविधान संसोधन नगरी निर्वाचन गरिए आफुहरुले निर्वाचन वहिष्कार गर्ने बताए । संविधान संसोधनबारे लिखित र मौखिक सहमति भन्दा पनि कार्यरुपमा नआएसम्म निर्वाचनमा सहभागी नहुने उनले स्पष्ट पारे । सीमांकनसहित नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वका साथै जनसंख्याका आधारमा स्थानीय तह बढाउनुपर्ने आफुहरुको मागलाई सरकाले तत्काल सम्वोधन गर्नुपर्ने अध्यक्ष ठाकुरको भनाइ थियो ।

प्रधानमन्त्रीले प्रस्तुत गरे भूमण्डलिकरणको एशियाली मोडेल, नेपालमा लगानी गर्न प्रस्ताव

बेइजिङ, चैत १२ । विश्वका राजनेता सामु प्रधानमन्त्री प्रचण्डले एशियाली मोडेलको भूमण्डलिकरणको प्रस्ताव राखेका छन् । चीनमा आयोजना भइरहेको बोआओ सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूमण्डलिकरणले विश्वमा स्तरीकरण बढाएको भन्दै यसलाई समावेशी मोडेलमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन । चीनको हेनान प्रान्तमा आयोजना भइरहेको बोआओ फोरमको उदघाटन समारोहलाई शनिबार बिहान सम्बोधन गर्दै प्रचण्डले मैदानमा दौडिन सबै सक्षम हुनुपर्ने बताए । “भूमण्डलिकरणमा सफलता र स्थिरतालाई सामेल गर्नुपर्छ । हामीले अवसरको समानता एवं विश्वव्यापीकरणको लाभलाई सबैले उपभोग गर्न सकेको सुनिश्चित गनुपर्छ” प्रधानमन्त्रीले भने, “हामीले गुणस्तरीय खेल मैदानका लागि प्रयास गर्नुपर्छ । यो निष्पक्ष समेत हुनुपर्छ ।” “ग्लोबलाइजेसन र स्वतन्त्र व्यापार” विषयमा एशियाली दृष्टिकोणको खोजी गर्न आयोजना गरिएको फोरममा प्रधानमन्त्री प्रचण्डले ग्लोबलाईजेसनले एक तहमा आर्थिक विकासमा फडको मारेको भएपनि यसले विकास, प्रगति, समृद्धि र गतिशीलतालाई आत्मसात गर्न नसके यसको अर्थ नहुने बताए । यसले लाखौं मानिसलाई लाभ पुर्याएको भएपनि यसका कैयन् दोषहरु रहेको उनको भनाइ थियो । भूमण्डलिकरण र स्वतन्त्र व्यापारको भूमिकालाई नकार्न नमिलेपनि यसबाट लाभ लिन नसकेका वर्ग र जनसंख्यालाई समेटनुपर्नेमा उनको जोड थियो । “अहिले पनि केही अवरोधहरु छन् जसले विकासका दृष्टिले पछाडि परेका देशहरुको समान र सेवाको स्वतन्त्र प्रवाहमा बाधा पुर्याएका छन् । यसलाई नसच्याएसम्म भूमण्डिलकरणले सही अर्थ बोक्न सक्दैन ।” उनले भने । प्रधानमन्त्री प्रचण्डले विषमताका कारण विश्वको बिभिन्न भागमा एकैपटक विकास हुने सम्भावना नभएको र यसले अनिश्चितता र संशयको अवस्था पैदा गरेको बताए । विश्वव्यापारिकरणको वेफाइदाबाट जोगिन जरुरी रहेका भन्दै उनले एशियाली देशहरुले सेवा र स्वतन्त्र व्यापारलाई अनिश्चितताबाट जोगाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । एशियाली जनजीवन समावेशी रहेकोतर्फ इंगित गर्दै प्रधानमन्त्रीले अहिेलेको शताब्दी एशियाको शताब्दी रहेको बताए । एशियाले भूमण्डलिकरणको समावेशीकरणमा जोड दिनुपर्ने बताउँदै उनले भने, “एशियाली मोडलको विश्वव्यापीकरण को अभ्यास गर्नु जरुरी छ । यसका लागि हामीले एउटा सहयोग मोडलको निर्माण गर्नुपर्छ, जसले विचारको मुक्त प्रवाहलाई सक्षम गराओस्, व्यापारको नियमित सञ्जाल र स्थितिको स्थायीत्व कायम गर्न सकोस्” सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानी गर्न समेत आव्हान गरे । नेपालमा जलविद्युत, पूर्वाधार विकास र पर्यटनलगायतका कतिपय क्षेत्रमा लगानी गर्न एशियाली व्यापारीक समुदायले उनले आग्रह गरे । प्रधानमन्त्रीले नेपालमा श्रोतको समृद्ध आधार रहेकोले समान लाभको सम्भावना रहेको बताए । एशियाको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा नेपाल व्यापारिक केन्द्रका रुपमा स्थापित हुनसक्ने सम्भावना रहेको बताउँदै प्रधानम्नत्रीले नेपाल केही राजनीतिक कोशेढुंगा पार गरेर आर्थिक विकासको चरणमा प्रवेश गरेको समेत बताए ।

चुनाव बहिष्कार गर्दा ‘ठगियौ’: थबाङबासी

थबाङ रोल्पा । पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको ‘कडा’ प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं ‘टक्कर’ लिने थबाङले माओवादी जनयुद्धमा ‘हेडक्वार्टर’ को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ ‘कम्युनिस्ट’ को गढ मानिन्थ्यो । सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । असन्तुष्ट थबाङलाई फकाउन २०६४ सालको संविधानसभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैं त्यही क्षेत्रबाट चुनाव लडे । उनले त्यो बेला चुनाव जिते । तर २०७० सालको संविधानसभाको निर्वाचन थबाङले बहिष्कार गर्यो । त्यो बेला माओवादी फुटिसकेको थियो । सारा थबाङवासी मोहन वैद्यले अगुवाइ गरेको पार्टीमा थिए । वैद्यबाट विप्लव फेरि बाहिर निस्किए । सारा थबाङवासी विप्लवका समर्थक भए । एक महिनाअघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्दसत्र थबाङमै भएको थियो । त्यसका लागि सारा थबाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए ।महाधिवेशनले ‘चुनाव’ बहिष्कार नीति पारित गरेको छ । तर यसपालि भने थबाङवासी चुनाव चाहन्छन् । अघिल्लोपटक चुनाव बहिष्कार गर्दा थबाङवासी आफूहरू ‘ठगिएको’ महसुस गर्छन् । विप्लव समर्थक माओवादी अगुवा रेशम शाह (घर्ती) भन्छन्, ‘अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ । पार्टीको नीति र बहिष्कार गर्ने नै हो तर हामीले आफूअनुकूल चुनाव उपयोग गर्छौं ।’यसका लागि थबाङवासीले पार्टीसँग पनि अनुमति मागेका छन् । थबाङवासी वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफूअनुकूल उपयोग गर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरूले ‘उम्मेदवार’ पनि खोजिरहेका छन् । ‘हामी सधैं राज्यको विपक्षी भएर बस्यौं । अघिल्लो चुनावमा भोट पनि हालेनौं तर अहिले सारा विकासे कामका लागि नेताहरूकै दैलोमा कुद्नुपर्दा आफैंलाई अप्ठ्यारो लाग्छ’, शाह भन्छन्, ‘त्यै भएर अब यसपालिको चुनाव हामीले उपयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।’ खासमा पुष्पकमल दाहालले ‘बाटो बिराएको’ भन्दै रिसाएका थबाङवासी अझै ‘क्रान्ति’ चाहिएको ठान्छन् । २०२९ सालमा कम्युनिस्ट पार्टीको औपचारिक सदस्यता लिएका खड्गबहादुर बुढा भन्छन्, ‘जनता र कार्यकर्ताको जुन लक्ष्य र बलिदान थियो त्यो पूरा भएन । हामी अझै क्रान्ति जारी छ भन्छौं तर दाहालले बाटो बिराए ।’ यही कारण सारा थबाङवासी अहिले विप्लवको नेतृत्वमा छन् । सामूहिकतामा विश्वास राख्ने थबाङवासी सधैं गाउँका अगुवा नेताकै भरमा हुन्छन् । गाउँका अगुवा नेताको अनुमतिबिना सितिमिति उनीहरू आफ्नो कुरा खोल्दैनन् । उनीहरूले जुन पार्टीलाई समर्थन गर्न सल्लाह दियो त्यही मान्छन् । सरकार, सत्ता र पार्टीको नीतिलाई समेत आफूअनुकूल उपयोग गर्दै आएका थबाङवासी यो स्थानीय तहको निर्वाचनलाई पनि त्यसैगरी उपयोग गर्ने सोचाइमा छन् । ‘चुनाव बहिष्कार गर्ने पार्टीको नीति हो । पार्टीले त चुनाव बहिष्कार गर्छ नै तर अहिले चाहिएको त गाउँकै नेता हो । त्यसैले हामीले हाम्रो विकास रोक्नु हुन्न’, बुढा भन्छन्, ‘स्थानीय चुनावमा हाम्रो, थबाङीको पकड हुनुपर्छ र यो निर्वाचनलाई हाम्रो पक्षमा पार्नुपर्छ भन्ने लागेको छ ।’ २०३६ सालमा भएको जनमतसंग्रहमा पनि थबाङवासीले बहुदलका पक्षमा मत खसालेका थिए । ‘हामी के गर्दा हाम्रो गाउँ र जनतालाई राम्रो हुन्छ त्यहीअनुसार बहिष्कार र उपयोग गर्छौं’, उनी भन्छन्, ‘पार्टीको नीति एउटा भए पनि हामीले चुनावलाई आफ्नो अनुकूल उपयोग गर्ने हो ।’ थबाङ गाउँपालिकाको केन्द्र पनि हो । ‘हामी विकासविरोधी होइनौं तर थबाङलाई सधैं राज्यको विद्रोही भनियो, हामीलाई सधैं हेला गरियो’, रेशम भन्छन्, ‘त्यसैले हामी खासखास समयमा आफ्नो निर्णय गर्छ । स्थानीय जनता पनि यसपालिको चुनावबाट गाउँको नेता छान्न चाहन्छन् ।’ आफूहरूले समर्थन गरेको पार्टीले नै चुनाव बहिष्कारको नीति पारित गरेपछि पार्टीका तर्फबाट उम्मेदवार भने हुने छैनन् । उनीहरूले कसैलाई समर्थन गरेर उम्मेदवार बनाउने पनि छैनन् ।’तर हामी सबै गाउँलेहरू सल्लाह गरेर कसलाई भोट हाल्ने भन्ने निर्णय गर्छौं’, स्थानीय विष्णुज्योति घर्ती भन्छिन्, ‘गाउँका हाम्रा नेताले पनि त्यस्तै भन्छन् । गाउँको विकास गर्ने नेता त चाहियो नि ।’ आजको अन्नपूर्णबाट