नेपाल भ्रमणमा चारदिने भ्रमणमा भारतीय सेनाध्यक्ष रावत

काठमाडौँ, चैत १५ । भारतका स्थल सेनाध्यक्ष विपिन रावत नेपालको चार दिने आैपचारिक भ्रमणमा आज यहाँ आउनुभएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा आउनुभएका सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा भोलि बुधबार आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, रक्षामन्त्री एवम् प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग सेनाध्यक्ष रावतले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उहाँले नेपालको केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मीकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुहुने नेपाली सेनाले जनाएको छ । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत उहाँले निरीक्षण गर्नुहुने कार्यक्रम छ ।

छिमेकी उच्चपदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् विस्तार गर्न थप योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

बैद्य माअोवादी पनि निर्वाचनमा जाने तयारीमा

काठमाडौं, चैत १५ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिने अन्तिम तयारीका साथ पार्टीभित्र छलफल अगाडि बढाएको छ । संविधानसभाको दोस्रो निर्वाचन बहिस्कार गरेको वैद्य नेतृत्वको माओवादीले संविधान जारी भएपछि पनि नयाँ संविधानको विरोध गर्दै आएको छ । पछिल्लो पटक भने उसले पार्टीको नामबाट भन्दा पनि मोर्चाको नामबाट निर्वाचनमा सहभागी हुने गरी गृहकार्य अगाडि बढाएको हो । वैद्य माओवादीले स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगसँग छलफल गरेर मोर्चाको नामबाट एउटै चुनाव चिह्न प्रदान गर्न माग गर्ने भएको छ । पार्टीले एउटै चुनाव चिह्न नपाएको खण्डमा स्वतन्त्र रुपमा भए पनि स्थानीय नहको निर्वाचनमा सहभागिता जनाउने गरी माओवादीले गृहकार्य अगाडि बढाएको छ । राजधानीमा सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष वैद्यले अहिलेको अवस्थामा स्थानीय तह स्थानीय सरकार भएकाले त्यसभन्दा बाहिर बस्न नहुने भएकाले पार्टीको तर्फबाट स्वतन्त्र रुपमा भए पनि उम्मेदवारी दिएर सहभागिता जनाउनुपर्ने प्रस्ताव राखेका छन् ।  यो खबर आजको राजधानी दैनिकमा छ ।  

दुई दर्जन बढी एमाले छोडी माओवादी केन्द्रमा प्रवेश

सिन्धुपाल्चोक, चैत १४ । नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले एक कार्यक्रमबीच उनीहरूलाइ स्वागत गरेका छन् । नेकपा एमाले परित्याग गरि परेबहादुर तामाङको नेतृत्वमा दुई दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका २ नंम्बर र ३ नम्बरमा अायाेजना गरेकाे कार्यक्रममार्फत उनीहरुले एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रका नेता माधब सापकोटा ‘सुबोध’ले जानकारी दिएका छन् । पूर्वमन्त्री सापकोटाले सरकारले घोषणा गरेको आउँदो बैशाख ३१ गतेको स्थानीय चुनावमा लाग्न निर्देशनसमेत दिएका छन् । ‘अहिले देश माओवादीकै एजेण्डा अनुसार चलेको भन्दै सापकोटाले भने ‘परिर्वतनका विरोधिहरु अहिले माओवादी देखि आत्तिएका छन् ।’ त्यस्तै विष्णुप्रसाद सापकोटा ‘हरि’को अध्यक्षतामा नेकपा माओवादी केन्द्र बतासेले २१ सदस्यीय वडा पार्टी कमिटि गठन गरेको छ भने वडा नं ३ को भेलाले लनाम लामाको अध्यक्षमा २१ सदस्यीय गठन गरिएको छ । वडामा वाईसीएल, किसान, तामाङ, महिलालगायतका जनसंगठनहरूको वडा कमिटि गठन गरिएको छ ।

नयाँ शक्तिका चार केन्द्रीय सदस्य निष्कासित

काठमाडौं, चैत १४। नयाँ शक्ति नेपालले ४ जना केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टीबाट निष्कासित गरेको घोषणा गरेको छ । सोमबार बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिको बैठकले साधारण सदस्य नरहने गरि उनीहरुलाई निष्कासन गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिएका छन् । निष्कासित हुनेहरुमा केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई , चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई रहेका छन् । पार्टी हित र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा लागेको भन्दै निष्कासित गरेको जनाएको छ ।

राष्ट्रपतिसँगकाे भेटमा प्रचण्डको २२ बुँदे सम्बोधन: रेलवे सञ्चालनदेखि तातोपानी नाका खोल्नेसम्म

बेइजिङ, चैत १४ । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग आज भएको करिब ४० मिनेट लामो भेटवार्ताका क्रममा नेपालका तर्फबाट द्विपक्षीय हितका महत्वपूर्ण विषयबस्तु प्रस्तुत गरेका छन् । चिनियाँ राष्ट्रपतिसँग भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझै नयाँ उचाईमा पुर्याउनुपर्ने चाहना नेपाली जनताले राखेको बताए । प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार, उक्त अवसरमा भारतको गोवामा भएको भेटको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले यो नयाँ सम्बन्धबाट नेपाल र चीन दुबैले लाभ लिने समेत बताए । नेपालमा संविधान कार्यान्वयनका लागि स्थानीय चुनावको तयारी तीब्र भएको जानकारी गराउँदै प्रधानमन्त्रीले संविधानमा सबै पक्षको स्वीकार्यताका लागि सरकारले सबै पक्षसँग संवादको प्रक्रियालाई घनिभूत बनाउँदै आएको समेत बताए । उनले भने, “नेपालमा भइरहेको स्थानीय तहको चुनाव सम्पन्न गर्न चिनियाँ पक्षको सहयोगको अपेक्षा नेपालले राखेको छ । नेपालले आफ्नो भूमि प्रयोग गरेर चीनविरुद्धका कुनै गतिविधि हुन नदिने र एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धतालाई पालना गर्दै आएको प्रधानमन्त्रीले बताए । चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’को अवधारणाले यो क्षेत्रमा अभूतपूर्व विकास गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “वान बेल्ट वान रोडको अवधारणालाई नेपालले पूर्ण सहयोग र समर्थन गरेको छ । एउटा छिमेकी भएको नाताले नेपाललाई यो योजनाको फ्रेमवर्कमा प्राथमिकता दिइनुपर्ने कुरामा हामी जोड दिन चाहन्छौं ।” भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको समग्र विकासका लागि चिनियाँ लगानीको समेत कुरा गरे । हालै मात्र सम्पन्न लगानी सम्मेलनमा उल्लेख्य मात्रामा चिनियाँ लगानीको प्रतिबद्धता देखिएकोमा धन्यवाद दिँदै प्रधानमन्त्री पर्यटनलगायतका क्षेत्रमा चीनको महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे । दुबै देशबीच आर्थिक विकासका लागि क्रस बर्डर रेल, सडक, ट्रान्सिमिशन जस्ता विषयलाई द्धिपक्षीय सम्बन्धको केन्द्रमा राख्नुपर्ने उनले बताए । नेपाललाई चीनसँग जोड्ने रेलवे निर्माण हुन सके यसले दुबै देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने प्रधानमन्त्रीको भनाई थियो । तातोपानी नाका खोल्न अनुरोध राष्ट्रपति सीसँगको भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न अनुरोध गरे । “अरनिको राजमार्ग नेपाली अर्थतन्त्रको जीवनरेखा हो” उनले भने, “यसलाई तत्काल खोल्नका लागि चीनका तर्फबाट विशेष पहल गरियोस्” । प्रधानमन्त्री प्रचण्डको सम्बोधनपछि चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्बन्ध नेपालमा हुने राजनीतिक परिवर्तनबाट प्रभावित नहुने स्पष्ट पारे । भेटलाई प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक भएको बताएका छन् । नेपालले तातोपानी नाका खोल्न गरेको अनुरोधलाई प्रधानमन्त्री शीले सकारात्मकरुपमा लिएर यसबारेमा कुराकानी अगाडि बढाउने बताएको सचिवालयले जनाएको छ । सोही अवसरमा चीनका तर्फबाट स्थानीय निकायको निर्वाचनका लागि १३ करोड ६२ लाख नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच ३० मिनेट भेटवार्ता

बेइजिङ, चैत १४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले सोमबार वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गरेका हुन् । प्रचण्ड र राष्ट्रपति सि जिनपिङबीच दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण कुराकानी भएको छ । प्रधानमन्त्री र राष्ट्रपति सि जिनपिङबीच ३० मिनेट भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गरेका छन् । चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा राखेकोमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाएका छन् । उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्रीका एक जना स्वकीय सचिव रहेका छन् । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए । बोआओ फोरममा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग केहीबेर अघि भेटवार्ता गरेका हुन् । हेनानमा आयोजित बोआओ सम्मेलनलाई सम्बोधन गरेपछि शनिबार बेइजिङ फर्केका प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान संसारको सबैभन्दा लामो र ठूलो ग्रेटवाल पर्खालको अवलोकन पुगेका छन् । प्रचण्डसँग परराष्ट्रमन्त्री प्रकाश शरण महत, नेपाली दूतावासका पदाधिकारीलगायत रहेका थिए । आइतबार विहानैदेखि चिनियाँ उच्च अधिकारीसँग भेटघाटमा रहेका प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटी परिसरमा स्थापना भएको नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्दै  विश्वविद्यालयले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्वोधन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आइतबार नै चिनियाँ व्यवसायीसँग दुई मुलुकको व्यापारिक सम्भावना बारे छलफल गरे । उनले चिनियाँ व्यावसायीसँग नेपालमा ढुक्क भएर लगानी गर्न अाग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग पनि अाइतबार भेटवार्ता गरेका थिए । तस्वीर/एभरेष्टदैनिक (कपीराइट)

उपेन्द्र यादब भन्छन्–‘सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई छैन’

सप्तरी, चैत १४ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । सप्तरीमा प्रहरीको गोलीबाट ज्यान गुमाएका पाँच जना मधेसी सर्वसाधारणको आइतबार मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई नरहेको बताएका हुन्। मधेसको स्थानीय चुनाव गराउने अधिकार मधेस सरकारको भएको दाबी गर्दै उनले भने “यदि चुनाव गराउनु छ भने केन्द्रको गराओस् । केन्द्रको चुनाव गराएर स्थानीय तह दुरुस्त बनाएपछि मात्रै स्थानीय तहको चुनाव गराइनुपर्छ ।” तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जाने बताए । यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका तीन ठूला दलबाट मधेसप्रति भेदभाव भर्इआएको बताए । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले २ नम्बर प्रदेशलाई छाडेर निर्वाचन गराए त्यसपछि कुनै पनि सरकारले त्यहाँ निर्वाचन गर्न सक्दैन भने । सोही श्रद्धाञ्जलिसभामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सीमाङ्कनलाई थाती राखेर वा छाडेर सहमति हुन नसक्ने धारणा राखेका थिए। मधेसको अधिकार प्राप्तिका लागि एउटै बलियो पार्टी बनाउनुपर्नेमा मोर्चाका शीर्ष नेताले सम्बोधनका क्रममा जोड दिएका छन् । दुई साता अगाडि नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो भने दुई दर्जन घाइते भएका थिए । रासस

गृहमन्त्रीको दाबी–‘तपाईंहरु ढुक्क हुनुहोस्, मधेसी मोर्चा चुनावमा आउँछ’

मोरङ, चैत १४ । सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चा पनि चुनावमा आउने दाबी गरेका छन् । सोमबार विराटनगर विमानस्थलमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री निधिले मोर्चासंग सीमांकनको विषयलाई चुनाव अगाडि नै पारित गरेर जाने कि अधिकार सम्पन्न संघीय आयोग बनाएर प्रदेश र केन्द्रको चुनाव अगाडि टुंग्याउने भन्ने विषयमा कुरा भइरहेको बताए । ‘संयूक्त मधेसी मोर्चासंग कुरा भइरहेको छ, अधिकार सम्पन्न संघीय आयोग बनाएर अघी बढछौं,’ उनले भने, ‘मोर्चा पनि स्थानीय तहको चुनावमा सहभागी हुन्छ तपाईंहरु ढुक्क हुनुहोस् ।’ मन्त्री निधिले तोकिएकै समयमा चुनाव गर्नेगरी काम भएको र एकैदिनमा मतदान सकाउने सरकारको तयारी रहेको स्पष्ट पारे । उनले प्रहरी महानिरीक्षक नियुक्ती छिटै हुने पनि बताए । स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा निधि पूर्वको सुरक्षा अवस्था बारेको क्षेत्रिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आएका हुन् । गृहमन्त्री निधिले २०६७ सालमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली लागेर मृत्यु भएको अमाही बरियाती–७ खयरबनाका वासुदेव साहका परिवारलाई १० लाख क्षतिपूर्ति प्रदान गरेका छन् । विराटनगरमा पूर्वका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, अनुसन्धान प्रहरी प्रमुख, सशस्त्र प्रहरी उपरीक्षकको भेला भएको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पूर्वका सिरहा, सप्तरी, सुनसरी, मोरङमा सुरक्षा संवेदनशीलता भए पनि पहाडी जिल्लाहरुमा सहज अवस्था रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

एमाले अध्यक्ष ओलीलाई भारतीय नवनियुक्त राजदूतले भेटे

काठमाडौं, चैत १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय नवनियुक्त राजदूत मञ्जिव सिंह पुरीले भेट गरेका छन् । शनिबारदेखि राजदूत पदभार ग्रहण गर्न नेपाल आएका राजदूतले सोमबार विहान एमाले अध्यक्ष ओलीसँग सिंहदरबारमा विशेष भेटवार्ता गरेका हुन् । राजदूत पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए। ओहोदाको प्रमाणपत्र बुझाएसँगै उनले राजनीतिक भेटघाट सुरु गरेका हुन्।

काठमाडौंका पाँचवटा क्यासिनोमा प्रहरीको छापा, १३ जना पक्राउ

काठमाडौं, चैत १४ । प्रहरीले काठमाडौंका पाँचवटा क्यासिनोमा छापा मारेर १३ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका सबै युवती रहेको प्रहरीले जनाएको छ । आइतबार राति महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले संयुक्त रुपमा छापा मारेका हुन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी प्रद्युम्न कार्कीका अनुसार १३ जना युवतीलाई मध्य रातमा सोल्टी क्यासिनोबाट पक्राउ गरिएको हो । उनीहरु त्यस क्यासिनोमा काम गर्ने र तालिमको लागि आएको सञ्चालकले बताए पनि यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न गुण्डाहरु र नेपाली जुवाडेहरु भएको सुराकीकाका आधारमा छापा मारे पनि गुण्डा र नेपाली जुवाडेहरु फेला नपरेको प्रहरीले जनाएको छ ।

नवलपरासी सांसदको माग: त्रिवेणी सुस्ता प्रदेश ५ मै कायम हुनुपर्ने

नवलपरासी, चैत्र १४ । नवलपरासीका सांसदले, नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिका प्रदेश नं. ४ मा विभाजन प्रति गम्भीर आपत्ति जाहेर गर्दै सो गाउँ पालिकालाई प्रदेश नं. ५ मै कायम गर्न पर्ने सरकारलाई आग्रह गरेका छन् । जनताको चाहना विपरित सरकारले त्रिवेणी सुस्तालाई प्रदेश नंं ४ मा मिलाउन खोज्दा नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं. ५ र ६ का दुई जना सांसदले सिमाकङ्कन संसोधनका लागि आवाज उठाएका हुन् । जिल्लाको निर्वाचन क्षेत्र नंं ५का सांसद विक्रम खनालले आज परासीमा आयोजित पत्रकार सम्मेलनमा भने, जसरी सरकारले दाउन्ने डाँडावारी नवलपुर क्षेत्र प्रदेश नंं ४ र डाँडापारी परासी क्षेत्र प्रदेश नं. ५ छुट्टयाउने गरि जिल्लार्लाइ विभाज गरेको छ सोही खाका अनुसार प्रदेशको पनि सिमाङ्कन हुनु पर्ने सरकार संग माग राखेका छन् । स्थानिय निकायको चुनाव आवश्यक छ भन्दै सांसद खनालले राष्ट्रिय शक्तिहरुको बिच राष्ट्रिय सहमति कायम गरि चुनावमा भिडे मात्र देशले निकास पाउने जिकिर गरे । सांसद खनालले, सरकारले मधेशी जनताहरुको जायज मागलाई सम्बोधन गरि गठन हुने सिमांकन आयोगले प्राविधिक हिसाबले प्रदेशको सिमाङ्कन गर्न पर्ने आवश्यक रहेको बिचार पनि व्यक्त गर्नु भयो । पत्रकार सम्मेलनमै निर्वाचन क्षेत्र नं. ६ का सांसद देवकरण कलवारले (सन्तु) कुनै पनि हालतमा त्रिवेणी क्षेत्र प्रदेश नं. ४ मिसाउन नपाईने बताए । सरकारले जनता र सांसदहरुको भावना विपरित यदि जिल्लाको सिमाङ्कन ग¥यो भने यो संघियता लामो समयसम्म टिकन नसक्ने जिकिर गरे । धार्मिक तथा पर्यटकिय दृष्टिकोणले निकै सम्भावना बोकेको त्रिवेणी क्षेत्रलाई प्रदेश नं. ५ मै कायम गराउन सदन मा कुरा राख्ने तथा सरकार समक्ष स्थानिय जनताको साथमा डेलिगेश समेत जाने सांसद कलवारले चेतावनी दिए । नवलपरासीमा १५ वटा स्थानिय निकायको तोकिएको छ जस मध्ये ७ वटा नगरपालिका र ८ वटा गाउँपालिका छन् । स्थानिय निकाय पुर्न संरचना आयोगले त्रिवेणी सुस्ता, कुडिया, रुपौलिया, पक्लिहवाँ, नर्सही गाविसलाई एकै गाविसमा मिसाई हाल त्रिवेणी सुस्ता गाउँ पालिका बनाएको छ । उक्त गाउँ पालिकालाई प्रदेश नं. ४ लैजान खोजिएको हुँदा त्यस प्रति स्थानिय जनता र सांसदको विरोध छ ।​

भारतको यूपीमा एकता मञ्चको संगठन बिस्तार

आरबी खड्का नई दिल्ली, चैत १४ । माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च भारत संयुक्त क्षेत्रीय समिति अन्तरगत यूपीको राजधानी लखनऊबाट एकता मञ्चको अभियान सुरु भएको छ । यूपीमा प्रवासी नेपालीहरुसंग राजनैतिक भेटघाट, नेपालमा हुन गैरहेको स्थानीय चुनाब , नेपाल भारत सिमाना हुने लुटपाट , सङ्गठन बिस्तार र प्रवासी नेपाली सगं भेटघाट लगायत विषयमा आइतबारदेखि एकता मञ्चले अभियान सुरु गरेको हो । अखिल भारत नेपाली एकता मंचका केंद्रीय अध्यक्ष ईशरी भण्डारीको प्रमुख् अथितिमा अखिल भारत नेपाली एकता मंचका केंद्रीय सदस्य प्रतिमान खड्का, लगायत केंद्रीय सदस्यहरु क्षेत्रिय समिति सदस्यहरु ,महिला नेतृहरु को बिशेष उपस्थितिमा आज अखिल भारत नेपाली एकता मंचको यूपीको लखनऊ जिल्ला समितिमा राम बहादुर बिकको अध्यक्षमा सचिब खीम बहादुर राना को नेतृत्वको १७ सदस्यीय नगर समिति निर्माण भएको छ । आइतबार नै यूपीको लखनउमा महिला जिल्लामा गीता धनसरि रसालीको अध्यक्ष र सचिव निर्मला बिकको नेतृत्वमा १३सदस्यीयमा महिला जिल्ला समिति गठन भएको छ । आइतबार नै यूपीको कानपुरमा अखिल भारत नेपाली एकता मंचका केंद्रीय सदस्य नेत्र रावल को पहलमा यूपीको कानपुरमा प्रवासी नेपालीका समस्याको बारेमा नेपाली दूतावासका नई दिल्लीका महामहिम राजदूत दिप कुमार उपाध्यायको उपस्थितिमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल भारत नेपाली एकता मञ्चको अभियान यूपीको लखनऊबाट सुरुहुँदै यूपीको गोरखपुर, गोंडा वनारस , आगरा , मुरादावाद, कानपूर लगायत उत्तरप्रदेशको सबै सहरमा कार्येक्रम गर्ने योजना रहेको छ । नेपालमा हुन गैरहेको स्थानीय तहको चुनावमा यूपीबाट एकता मंचको पहलमा हजारौ नेता कार्यकर्ताहरु नेपाल जाने तयारी रहेको छ । साथै यूपीमा एमाले निकट र नया शक्ति निकटका जनबर्गीय संगठनबाट सङ्गठन प्रवेश गर्ने योजना रहेको छ । फाइल तस्वीर

सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जान्छौंः मधेसी मोर्चा

राजविराज (सप्तरी), चैत १४ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ । सप्तरीमा प्रहरीको हातबाट ज्यान गुमाएका पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको आइतबार मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई नरहेको बताउनुभयो । मधेसको स्थानीय चुनाव गराउने अधिकार मधेस सरकारको भएको दाबी गर्दै उहाँले भन्नुभयो – “यदि चुनाव गराउनु छ भने केन्द्रको गराओस् । केन्द्रको चुनाव गराएर स्थानीय तह दुरुस्त बनाएपछि मात्रै स्थानीय तहको चुनाव गराइनुपर्छ ।” तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जाने बताउनुभयो । यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका तीन ठूला दलबाट मधेसप्रति भेदभाव भइआएको बताउनुभयो । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले २ नम्बर प्रदेशलाई छाडेर निर्वाचन गराए त्यसपछि कुनै पनि सरकारले त्यहाँ निर्वाचन गर्न सक्दैन भन्नुभयो । सोही श्रद्धाञ्जलिसभामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सीमाङ्कनलाई थाती राखेर वा छाडेर सहमति हुन नसक्ने धारणा राख्नुभएको थियो । मधेसको अधिकार प्राप्तिका लागि एउटै बलियो पार्टी बनाउनुपर्नेमा मोर्चाका शीर्ष नेताले सम्बोधनका क्रममा जोड दिएका छन् । दुई साता अगाडि नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो भने दुई दर्जन घाइते भएका थिए । रासस

पूर्वी चितवनमा बसको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते

रत्ननगर (चितवन), चैत १४ । पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । गएराति करिब १२ बजेको समयमा पूर्वबाट पश्चिम जान आउँदै गरेको बा ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको राति नै उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अहिलेसम्म पहिचान खुलेको छैन । गम्भीर घाइते भएका दुई जनाको अहिले सोही कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजना रत्ननगर नगरपालिका–४ का १९ वर्षीय जोसेफ दराई रहेको र अर्का घाइतेको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ । ठक्कर दिएको बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध’–प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, चैत १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा जुनसुकै पार्टीले सरकार बनाए पनि ‘एक चीन नीति’ प्रति नेपाल र नेपाली जनता प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग बेइजिङमा भएको चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ, इन्टरनेसनल लेइजन विभागका प्रमुख सङ ताओले गर्नुभएको छुट्टाछुट्टै शिष्टाचार भेटमा दुई देशको सम्बन्ध प्रगाढ भएको विचार व्यक्त गर्नुभएको हो । नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रुपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो । नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उहाँले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको नेपाली जनताले हेर्न चाहेको बताउनुभएको थियो । सो अवसरमा नेपालको एक चीन नीतिप्रति आभार व्यक्त गर्दै उपप्रधानमन्त्री याङले संविधान कार्यान्वयन एवम् शान्ति प्रक्रियालाई पूरा गर्न सबै राजनीतिक दल मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक समृद्धि र विकासका लागि चीन र चिनीया जनताका तर्फबाट निरन्तर सहकार्य हुने विश्वास दिलाउनुभएको थियो । त्यसैगरी इन्टरनेसनल लेइजन विभागका प्रमुख ताओले सदियौँदेखिको दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने र त्यसका लागि नेपालको समृद्धिको बाटोमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

ढुङ्गा प्रहा गरेर देउरानीले गरिन जेठानीको हत्या

बैतडी, चैत १४ । देउरानीको ढुङ्गा प्रहारबाट दार्चुलामा जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरीका ५० वर्षीया नर्मादेवी कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । गएराति घरायसी विवाद हुँदा देउरानी ३५ वर्षीया चैतीदेवी कार्कीले ढुङ्गा प्रहार गर्दा जेठानी नर्माको मृत्यु भएको हो । चैतीको मानसिक सन्तुलन ठीक नभएको भन्ने बुझिएको खनालले बताउनुभयो । हत्या गर्ने चैतीलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ । रासस