यी हुन् प्रचण्डका चीन भ्रमणको उपलब्धी ?

काठमाडौँ,  चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सबै दलको सहमतिमा निर्वाचन भई राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ उच्च नेतृत्वको चाहना रहेको बताएका छन् । साताव्यापी अनौपचारिक चीन भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री दाहालले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन्।

बोआओ फोर फर एसिया सम्मेलनमा भाग लिन चीन गएका दाहालले बेइजिङ, सिचुवान र तिब्बतसमेत भ्रमण गरेका छन् । ‘अरू मुलुकको आन्तरिक राजनीतिक मामिलामा कुनै हस्तक्षेप नगर्ने चीनको घोषित नीति रहेको हामी सबैलाई थाहा भएकै कुरा हो’, प्रधानमन्त्री दाहालले भने, ‘हामीसँग भएका राष्ट्रपति तथा उपप्रधानमन्त्री सम्मका भेटमा उहाँहरूले नेपालका सबै राजनीतिक दलको बीचमा सहमतिले निर्वाचन भई राजनीतिक स्थिरताको वातावरण होस् । हाम्रो शुभकामना छ भन्ने कुरा राख्नुभयो । उहाँहरूले नेपालको राजनीतिबारे त्योभन्दा अरू केही भन्नुभएन ।’
उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी सम्बन्ध थप सुदृढ भएको उनले बताए । ‘यसबाट नेपाल-चीन सम्बन्धमा आगामी दिनमा नयाँ गति र आयाम प्राप्त गर्ने विश्वास मैले लिएको छु’, उनले भने ।

चिनियाँ राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोड अवधारणामा नेपाल सहभागी हुने प्रतिबद्धता आफूले राष्ट्रपतिसँग व्यक्त गरेको दाहालले बताए । उक्त अवधारणामा सहभागिताबाट नेपाल-चीनबीच रेलमार्ग र सडक सञ्जाल निर्माण, ऊर्जा क्षेत्रमा सहकार्य, सीमापार विद्युतीय प्रसारण लाइन, औद्योगिक पार्कलगायत महत्ववपूर्ण पूर्वाधार निर्माण गर्ने विषयमा फाइदा लिन चाहेको दाहालले बताए ।

दाहालले वान बेल्ट वान रोड अवधारणामा सहभागिताले नेपालका भौतिक पूर्वाधारको स्तरोन्नति, नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा चीनले सहयोग गर्ने, दुई देशबीच अन्तरसञ्जाल निर्माण र विस्तार गर्ने, जनस्तर र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउनेजस्ता विषयबाट नेपाली जनता लाभान्वित हुने बताए ।
चीनमा भएका उच्चस्तरीय छलफलमा दुवै मुलुकमा विद्यमान अवसर र सम्भावनालाई भरपुर सदुयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा महत्ववपूर्ण समझदारी भएको उनले बताए । ‘यस खालका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट दुवै देशबीचको सम्बन्धलाई विस्तार एवं थप मजबुत बनाउन दुवै देश सहमत भएका छन्’, दाहालले भने । नेपालका राष्ट्रपतिका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा स्मरण गराएको दाहालले बताए । ‘चिनियाँ राष्ट्रपतिले दुवै पक्षलाई अनुकूल हुने गरी छिट्टै नेपाल भ्रमणमा आउने बताउनुभएको छ’, उनले भने ।

नेपाल-चीनबीच उच्च राजनीतिक तह, सांसद, सरकारी अधिकारी र राजनीतिक दलका प्रतिनिधिको नियमित रूपमा भ्रमणको आदानप्रदान गरी आपसी मित्रता र सहयोगलाई थप सुदृढ गर्ने समझदारी भएको उनले बताए ।

भूकम्पपछि अवरुद्ध तातोपानी नाकालाई पुनःसञ्चालनमा ल्याउने अपेक्षा राख्दा चिनियाँ राष्ट्रपतिले आफूले व्यक्तिगत रूपमा उक्त विषयलाई समेत ध्यान दिएको र प्रतिवेदन अध्ययनपश्चात् नाका खुल्ने विश्वास व्यक्त गरेको उनले बताए ।
चिनियाँ उपप्रधानमन्त्रीद्वय वाङ् याङ् र झाङ् गाओलीसँगको भेटमा नेपालको आर्थिक विकासका लागि थप चिनियाँ लगानीका लागि पहल गर्न आग्रह गरेको दाहालले बताए । उनले बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन प्रोत्साहन गर्न, नेपालको पूर्वाधार विकास र व्यापार क्षमता अभिवृद्धि गर्न तथा चिनियाँ बजारमा नेपाली उत्पादनको सहुलियतपूर्ण पहुँचको व्यवस्था गर्न जोड दिएको स्मरण गरे।

भ्रमणका क्रममा पारवहन यातायात सम्झौताको प्रोटोकल तयार गरी शीघ्र हस्ताक्षर गर्न, तातोपानी नाका सञ्चालनमा ल्याउन, रसुवागढी नाकाको स्तरोन्नति गर्न, उक्त नाकामा रहेको एकदिने पासको समस्या समाधान गर्न, बढ्दो व्यापार घाटा कम गर्न चीनले सक्दो सहुलियत प्रदान गर्ने विषयमा कुराकानी भएको उनले बताए ।
भ्रमणका उपलब्धि
– उच्चस्तरीय भेटबाट विश्वास र समझदारी सुदृढ
– विकासका लागि आवश्यक सहयोग र समर्थन
– वान बेल्ट वान रोड अवधारणामा नेपाल सहभागी हुने प्रतिबद्धता
– चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता
– तातोपानी नाका पुनःसञ्चालनमा चिनियाँ राष्ट्रपतिको चासो
– चिनियाँ लगानीका लागि पहल
– चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन प्रोत्साहन

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

काँग्रेस नेता हत्याको विरोधमा राजधानीमा प्रदर्शन

काठमाडौं, चैत १६ । जाजरकोटका नेपाल कांग्रेसका युवा नेता मारिएको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ । भेरीमालिका–३, जाजरकोटका काँग्रेसका युवा नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेविसंघले उक्त प्रदर्शन गरेको हो । बुधबार बसेको नेविसंघको आकस्मिक बैठकले शाहको हत्याको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको थियो । त्रिचन्द्र कलेज अगाडि नेविसंघ नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन्। मंगलबार राति शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै अज्ञात समूहले ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । हत्या कसले र किन ग¥यो भन्नेबारे अझै खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार श्रेष्ठको उपचारमा ५१९५० सहयोग

बिर्तामोड, चैत १६ । अग्रज पत्रकार अमृतलाल श्रेष्ठको उपचारका लागि नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा ५१ हजार ९ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । महासंघको ६२ औं स्थापना दिवसको अवसरमा बुधबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, महासंघका उपाध्यक्ष तथा पत्रकार–सहारा उपचार कोषका संयोजक एकराज गिरीले उक्त रकम श्रेष्ठलाई हस्तान्तरण गरे । महासंघका उपाध्यक्ष तथा कोषका संयोजक गिरीका अनुसार झापाका सञ्चारकर्मी, विभिन्न सामाजिक संघ–संस्था तथा व्यक्तिले श्रेष्ठको उपचारका लागि स्वस्फूर्त रुपमा सहयोग प्रदान गरेका थिए । सहयोग जुट्नेक्रम जारी रहेको छ । मेचीनगर घर भएका पत्रकार श्रेष्ठ केही समयअघि मात्र राष्ट्रिय समाचार समितिबाट अवकास भएका हुन् । दुबै मृगौला खराब भएका कारण सातामा दुईपटकसम्म डाइलोसिस गराउनुपर्ने र उपचारमा ठूलो आर्थिक भार परिरहेको श्रेष्ठले परिवारले बताएको छ ।

फुट्यो राप्रपा, लोहनीको नेतृत्वमा नयाँ राजावादी पार्टीको घोषणा

काठमाडौं, चैत १६ । कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टी औपचारिकरुपमा विभाजन भएको छ । नयाँ पाटीृको नेतृत्व डा.प्रकाशचन्द्र लोहनीले गरेक छन् । लोहनीको अध्यक्षतामा ७१ सदस्यीय एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० पार्टीको घोषणा गरिएको छ । पार्टीको विधानमा १७५ जना केन्द्रीय सदस्य बनाउने रहने व्यवस्था गरिएको र बाँकी केन्द्रीय सदस्य पछि थप्दै जाने सो पार्टीका नेता श्याम तिमल्सिनाले जानकारी दिए । केशर बहादुर विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तर समेत मिलेर लोहनीको अध्यक्षतामा नयाँ पार्टीको घोषणा गरिएको हो । नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र रहेको छ भने पार्टीको चुनाव चिन्ह हलो राखिने समझदारी भएको छ ।

नेपाली सेनालाई भारतबाट घोडा प्रदान

काठमाडौँ, चैत १६। प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल भ्रमण रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतबीच आज जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । उक्त छलफलपछि भारतीय सेनाध्यक्ष रावतले नेपाली सेनाका रथीवृन्दहरुसँग समेत भेट गर्नुभएको थियो । उहाँ प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा मङ्गलबार चारदिने भ्रमणका लागि यहाँ आउनुभएको हो । भेटपछि जङ्गी अड्डामा आयोजित कार्यक्रममा भारतीय सेनाध्यक्षले प्रधानसेनापति क्षत्रीलाई विभिन्न प्रजातिका सात घोडासमेत हस्तान्तरण गर्नुभयो । त्यसअघि भारतीय सेनाध्यक्ष रावतले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नुभएको थियो । जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारतसमेत अर्पण गरेको थियो ।

नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो: प्रधानमन्त्री

काठमाडौँ, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । मित्र राष्ट्र चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताउनुभयो । भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण तय गर्नुरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको छ भन्नुभयो । उहाँले चीनको हाइनान प्रान्तमा बोआओ एसिया मञ्चमा आफूले विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका सम्बन्धमा अतिकम विकसित तथा भूपरिवेष्टित साना देशको चासो र अपेक्षा स्पष्ट रुपमा राख्ने अवसर प्राप्त भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “यस भ्रमणबाट भौतिक पूर्वाधार, पर्यटन, ऊर्जाका विषयमा थप सहयोग र सहकार्य बढाउने आधारशीला तयार भएको छ । नेपालसँग सिमाना जोडिएको राजनीतिक, आर्थिक, सामाजिक एवम् भौगोलिक तथा संस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण तिब्बत स्वशासित क्षेत्रमा सम्बन्धलाई थप विस्तार गर्ने सहमति भएबाट स्थानीय तहमा रहेर काम गर्ने दुवैतर्फका निकायलाई थप समन्वय र सहकार्यमा काम गर्ने आत्मविकासको आधारसमेत तयार भएको छ ।” उहाँले भ्रमणमा चीन सरकारले तय गरेको आतिथ्यता र सदाशयताका लागि प्रतिनिधिमण्डलका तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन सरकार र चिनियाँ जनताका साथै सम्बद्ध सबै अधिकारीलाई धन्यवादसमेत दिनुभयो । नेपालसँग जोडिएको तिब्बतमा भएको भएको छलफलमा स्थानीय तहमा रहेका द्विपक्षीय संयन्त्रको नियमित बैठक गर्नुपर्ने विषयमा विचारको आदानप्रदान भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । निर्वाचनमा मधेसकेन्द्रित दल आउने प्रधानमन्त्री दाहालले यस पटक देशका सबै राजनीतिक दलको सहमतिले निर्वाचन होस् र राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ पक्षको चासो रहेको बताउनुभयो । निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मधेस केन्द्रित दलको सहभागितामा निर्वाचन हुन्छ, त्यो मलाई विश्वास छ ।” संविधान संशोधनका विषयमा सीमाङ्कनमा मात्र सबै समस्या हो, अन्य विषयमा कुनै समस्या छैन । संविधान संशोधन अहिले नै गर्ने हो भन्दै उहाँले सहमति गर्न बाँकी रहेका विषयमा केन्द्रीय निर्वाचनभन्दा अघि टुङ्ग्याइने स्पष्ट पार्नुुभयो ।

प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने ऐननियम अस्वीकार्यः पोख्रेल

दाङ, चैत १६ । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति विपुल पोख्रेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने कुनै पनि ऐन नियम अस्वीकार्य भएको बताएका छन् । सञ्चारमाध्यमले मस्यौदा गरेको सुशासन तथा व्यवस्थापन सम्बन्धी ऐनमाथि संकेत गर्दै पोख्रेलले अनलाइन पत्रकारितालाई संकुचन गर्ने गरी आउने ऐन कानूनका विरुद्धमा नेपाली पत्रकारिता क्षेत्रले सशक्त आवाज उठाउनुपर्ने बताए । ‘पत्रकारितालाई बलियो बनाई पत्रकारहरुका पेशागत सुरक्षाको सुनिश्चित गर्ने सन्दर्भमा बनेको श्रमजीवी ऐन कार्यान्वयनमा सरकार उदासिन देखिएको छ’ उनले भने– ‘फेरि अर्को ऐन बनाएर अनलाईन पत्रकारितालाई कमजोर र जटिल बनाउने सरकारको चरित्रले राज्य स्वतन्त्र प्रेसका सन्दर्भमा अनुदार देखिएको प्रष्ट भयो ।’ पत्रकार महासंघको स्थापना दिवसका अवसर पारी दाङको तुलसीपुरबाट प्रारम्भ भएको ‘सूचनापत्र’ अनलाईन पत्रिकाको शुभारम्भ समारोहलाई सम्बोधन गर्नै पूर्व उपसभापति पोख्रेलले राज्यको चरित्र नै स्वतन्त्र प्रेससंग तर्सिने खालको हुने बताए । ‘राज्यको यसप्रकारको चरित्र हटाई लोकतान्त्रिक चरित्रका साथ राज्यलाई जनउत्तरदायी शासन व्यवस्थामा अभ्यस्त गराउने दायित्व पनि पत्रकारिताकै हो’ उनले भने– ‘अबको पत्रकारिताले राज्यलाई पारदर्शी चरित्र ग्रहण गर्नका लागि प्रोत्साहित गर्नुपर्दछ ।’ पोख्रेलले पत्रकारहरुले कुनै कानूनको अधिनमा रहेर भन्दा पनि समाजप्रतिको आफ्नो दायित्वबोध गरी पत्रकारिता गर्नुपर्ने बताए । ‘नेपाली पत्रकारिता कानूनको अधिनमा रही प्रेस स्वतन्त्रतासंग संझौता गर्ने चरित्रको छैन’ उनले भने– ‘‘यो क्षेत्रले समाजप्रतिको आफ्नो बहुआयामिक दायित्वबोध गरेर स्वच्छन्दतामा विचरण गराउने हैसियत निर्माण गर्दै गएको छ ।’ यद्यपि पत्रकारिता भित्रका केही चरित्रहरुप्रति नागरिकको गुनासो रहदै आएको स्वीकार्दै पोख्रेलले भने– ‘हामी पत्रकारहरु थप जिम्मेवार हुन र पत्रकारलाई जिम्मेवारीबोध गराउन पत्रकार महासंघले भूमिका खेल्न आबश्यक छ ।’ उनले श्रमजीवी ऐन र न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको व्यबस्था तथा सिफारिसको पूर्ण कार्यान्वयनको वातावरण निर्माण गर्न तर्फ पनि पत्रकार महासंघले थप प्रभावकारी भूमिका खेल्न आबश्यक रहेको बताए । ‘यति भयो भने पत्रकारिता भित्रका बिकृत पक्ष त्यसै ओझेलमा पर्दै जानेछन्’ उनको तर्क थियो ।

चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री, भ्रमण सफल भएको दावी

काठमाडौं, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकसाता चीन भ्रमणबाट आज नेपाल फर्किएका छन् । विहान ११ वजे एयर चाईनाबाट फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीन भ्रमण सफल भएको बताएका छन् । उनले  मधेसी मोर्चा पनि स्थानिय तहको चुनावमा सहभागी हुने दावी गरेका छन् । उनले भने–‘ सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन हुन्छ, र मलाई विश्वास छ मधेसी मोर्चा पनि चुनावमा सहभागी हुनुहुन्छ । ’ उनले चुनाव हुँदैन की भनेर शंका नगर्न पनि आग्रह गरेका छन् । प्रचण्डले आफूले चीन जानु अघि नै सहमति गर्न चाहेको बताउँदै अब मधेसी मोर्चाको माग सम्बोधन गर्दै सहमतिमा चुनावमा जाने बताउनुभयो । हाईनानस्थित बोआओ फोरममा सहभागी हुन गत बिहीवार चीन गएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायत चिनियाँ उच्च नेतासँग महत्वपुर्ण भेटवार्ता गरेका थिए ।

माओवादी केन्द्र र नेकपा (क्रान्तिकारी) माओवादी बैद्य विच धादिङमा पार्टी एकता

धादिङ, चैत १६ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशका विभिन्न स्थान तथा पार्टी कमिटीमा पार्टी प्रवेशको लहर चलेको वेला धादिङमा भने दुई पार्टीबीच एकता भएको छ । मोहन वैद्य ‘किरण’ निकटको (क्रान्तिकारी) माओवादी जिल्ला समिती धादिङ र प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र धादिङबीच एकता भएको छ । बुधबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी पार्टी एकता गरिएको माओवादी केन्द्र धादिङका सह–सचिव मनराज भण्डारी शैलेशले जानकारी दिए । लामो समयदेखि दुई पार्टीको जिल्ला एकता गर्ने विषयमा छलफल चलेको र त्यही छलफलको परिणामस्वरुप पार्टी एकता गरिएको भण्डारीले बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धादिङमा अन्य पार्टीबाट माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नेहरुको भीड रहेको पाईन्छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन दुई पार्टी विच एकताको आवश्यकता रहेको र सोहीअनुरुप हामी पार्टी एकता गर्न तयार भएको निवर्तमान क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी हरि अधिकारीले बताए । जिल्लामा यथास्थितिवादी र जडसुत्रवादीको हाबी हुन नदिन दुई पार्टीबीच एकता भएको कार्यकताहरुको बुझाई रहेको पाइन्छ । नेकपा (क्रान्तिकारी) माओवादी जिल्ला सेक्रेटर हरि अधिकारीको नेतृत्वमा रहेको सिङ्गो जिल्ला कमिटी र माओवादी केन्द्रबीच एकता भएको छ । एकता भएसँगै क्रान्तिकारी माओवादीका हरि अधिकारी, मंगबहादुर तामाङ, रामकृष्ण धरेल, केदार थापा, सुवास विक (विद्यार्थी अध्यक्ष) ज्ञानबहादुर घले, मानबहादुर तामाङ, गणेश घले, मदन तामाङ, चन्द्रबहादुर घले, पदम तामाङ, गोपाल रिजाल, सुर्यमान तामाङ, राजन श्रेष्ठ, स्याम तामाङ सहित १९ सदस्यीय कमिटीमध्ये १६ सदस्य माओवादी केन्द्रसँग एकता भएको छ । एकता कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो भने अर्काे पोलिटव्युरो सदस्य शालिकराम जम्कटेलको विशेष आतिथ्यता रहेको थियो । दुई पार्टीको पदाधिकारी तथा कार्य समितिबीच एकता पश्चात अब धादिङको माओवादी आन्दोलनले नयाँ उचाई लिने माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जम्कटेलले बताए ।

नयाँ शक्तिमा औपचारिक विभाजन, विद्रोही समूहको आज समानान्तर राष्ट्रिय भेला

काठमाडौं, चैत १६ । नयाँ शक्ति नेपालबाट विभाजन भएको समूहले आज राष्ट्रिय भेलाको आयोजना गर्दै छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय हितलाई तिलाञ्जली दिएको, पार्टीभित्र चरम गुटबन्दी र स्वेच्छारिता देखाएको आरोपसहित सय बढी केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका हुन । नयाँ शक्ति नेपालले भने चार जना केन्द्रीय सदस्यहरुलाई निष्काशन गरेको घोषणा यसअघि गरेको थियो । मंगलबार पत्रकार सम्मेलनमार्फत विद्रोही समूहले समानान्तर राष्ट्रिय भेलाको आयोजना गर्ने बताएको थियो । समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भटट्राईले डा। बाबुरामले भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने आरोप लगाउँदै आएका छन् । बाबुरामको कार्यशैलीको विरोध गरेकै कारण कारबाही गरिएको भट्टराईले बताए । बुधबार आयोजना हुने राष्ट्रिय भेलामा ५२ जिल्लाबाट करिब १ हजार प्रतिनिधि सहभागी हुने भट्टराईले बताए । समानान्तर नयाँ शक्तिले स्थानीय चुनावमा सहभागी हुने नीति लिएको छ । मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नयाँ शक्ति केन्द्रीय परिषद्का सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र रामराज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । नयाँ शक्ति नेपालबाट यसअभि केन्द्रीय पदाधिकारी, संस्थापक सदस्य, केन्द्रीय सदस्य,लगायत बिभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुले राजीनामा दिइसकेका छन् । पार्टीका संस्थापक नेता रामेश्वर खनालले पार्टीभित्र चन्दा, गुटबन्दी, निर्णय प्रक्रियामा अलोकतान्त्रिक पद्धती मौलिएको र राजनीतिक चिन्तन नै नभएको आरोप लगाउँदै आफू निष्क्रिय बस्ने घोषणा गरेका थिए ।

पर्वतमा एमाले र कांग्रेस सहित ४ दर्जन कार्यकर्ता माअोवादी केन्द्र प्रवेश

पर्वत, चैत १६ ।  पर्वतमा माओवादी केन्द्र प्रबेश गर्ने  लहर चलेको छ ।  मंगलबार लजला गाउँ पालिका वाड नं.८ नाग्लिवाङको वाड अधिवेशन चलिरहदा झण्डै ४० जना  एमाले र कांग्रेसका नेता तथा कार्यकर्ता माअोवादी केन्द्र प्रवेश गरेका छन् ।  माओवादी केन्द्रका नेता देब तमु प्रमुख अतिथि रहेको कार्यक्रममा ती कार्यर्ता पार्टी प्रवेश गरेको माअोवादी केन्द्र पर्वतले जनाएको  छ ।   पार्टी प्रबेश गर्नेमा अन्य पार्टीका बिभिन्न नेता कार्यकर्ता सहित लेखफाँट ग्राम प्रकाश वहुमुखि क्यामपसका स्ववियु सभापति राजेश हमाल पनि छन् ।  

जाजरकोटमा नेविसंघ नेताको हत्या

काठमाडौं, चैत  १६ । जाजरकोटमा मंगलबार साँझ नेपाल विद्यार्थी संघ ९नेविसंघ० का युवा नेता रविन्द्र शाहको निर्मम तवरले हत्या गरिएको छ । भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।हत्या पछि शाहको शव साढे तीन सय मिटर तल भिरमा फालिएको थियो । नेविसंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका शाह पाँच तारा युवा संरक्षक मञ्चका जिल्ला अध्यक्ष थिए । मंगलबार साँझ जाजरकोट सदरमुकाम खलंगाबाट जाजरकोट डोल्पा सडकखण्डमा ‘इभिनिङ वाक’ गरेर फर्कंदै गर्दा अज्ञात समूहले शाहमाथि ढुंगा प्रहार गरेको उनीसँगै गएकामध्ये एक हिटलरसिंह राठौरले जानकारी दिए । शाहको भेरी नगरपालिका ३ खाप्लेमा हत्या भएको हो । हत्या भएको स्थल सदरमुकामबाट एक किलोमिटर टाढापर्छ । उनीसँगै चारजना घुम्न गएका थिए । अज्ञात समूहले आक्रमण सुरु गरेपछि अन्य तीनजना भाग्न सफल भएका छन् । ‘सँगै गएका थियौं, फर्कने क्रममा अपरिचित मान्छे आएर आक्रमण सुरु गरे’, हिटलरसिंहले भने, ‘हामीले भागेर ज्यान बचायौं, उहाँलाई के गरे थाहै भएन ।’ प्रहरीलाई तत्काल खबर गर्दा समेत प्रहरी ढिलोमात्र घटनास्थलमा पुगेको भन्दै उनले आपत्ति प्रकट गरे । प्रहरीका अनुसार उनको नाक, मुख र टाउको पूरै किचिएको छ । प्रहरी प्रमुख रिमालले भने, ‘ढुंगाले हानेर लडाउँदै कुट्दै गरेको देखिन्छ ।’ नेता शाहको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ । उनका आमाबुबा, एक दाइ र ३ दिदीबहिनी छन् । प्रहरीले हत्यामा संलग्नको खोजी भइरहेको बताए पनि राति अबेरसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थल र अस्पतालमा सर्वसाधारण र आफन्तको भिड लागेको छ । शाहको हत्यापछि सदरमुकाममा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । प्रहरी प्रमुख रिमालले घटना सुनियोजित भएको प्रारम्भिक अनुमानबाट थाहा भएको बताए । एक महिनाअघि मात्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता नेता शाहसँग चन्दा मागेपछि विवाद भएको परिवारले बताएको छ । हत्यामा विप्लव कार्यकर्ताको संलग्नता रहेको आशंका भए पनि यसको पुष्टि हुन सकेको छैन । ठेकेदार समेत रहेका शाहको केही समय अघि रुकुमको चौरजहारी युवासँग विवाद भएको थियो । शाह जाजरकोटका कांग्रेस सांसद राजीवविक्रम शाहका नातामा भाइ हुन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

नयाँ शक्तिले ‘सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग नलिने’ !

काठमाडौं, चैत १५ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग नलिने चेतावनी दिएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु भएको नयाँ शक्ति पार्टीको अन्तरिम केन्द्रीय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले बेइमानी गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गर्ने बताए । उनले भने– ‘हामी चुनावको विकल्प छैन भनिरहेका छौं तर, चुनावमा जानको लागि दलीय चुनाव चिन्हबाट बञ्चित गर्ने व्यवस्था भएको छ’, सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग लिंदैनौं ।’ भट्टराईले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले भाग लिन आँखा चिन्ह चाहिने बताएका छन् । ‘हामीलाई हाम्रै चुनाव चिन्ह आँखा दिनुपर्छ, चुनाव चिन्हबिना हामी चुनावमा भाग लिँदैनौं,’ संयोजक भट्टराईले भने । स्थानीय तह निर्वाचन ऐनमा सुनियोजित र बद्नियतपूर्ण ढंगले अहिले संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था भएको प्रति उनी आक्रोशित भएका हुन् । देशमा संविधान संशोधन कि चुनाव भन्ने सवालमा बहस सिर्जना भइरहेको बताउँदै नयाँ शक्ति पार्टीले चुनावमा संघर्ष र सहभागिताको दोहोरो कार्यनीति अख्तियार गर्ने उनले बताए । चुनावमा सबैको सहभागिता सुनिश्चित गर्नका लागि नयाँ शक्तिले यस्तो कार्यनीति अवलम्बन गर्ने उनको भनाई थियो । ‘चुनावी माहोल बढ्दै गएको सन्दर्भमा आदिवासी जनजाति, मधेशी÷थारु लगायतका उत्पीडित समुदायहरुको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गरी घोषित निर्वाचन सम्पन्न गर्नका लागि नयाँ शक्तिले चुनावलाई संघर्ष र सहभागिताको मोर्चाको रुपमा लिनेछ,’ भट्टराईले भने । संयोजक भट्टराईले घोषित निर्वाचन सम्पन्न गरी देशलाई निकास दिनका लागि पार्टीले अगाडि सारेको ६ सूत्रीय पूर्वशर्तहरु सम्बोधन हुनुपर्ने बताए । निर्वाचनका लागि प्रदेशहरुको सीमांकन टुंग्याउनुपर्ने, विशेष क्षेत्र, संरक्षित क्षेत्र लगायतका संविधानमा उल्लेखित क्षेत्रहरुको पनि टुंगो लाग्नुपर्ने, सर्वदलीय सरकार गठन गर्नुपर्ने, चुनावलाई कम खर्चिलो र मितव्ययी बनाउनुपर्ने, तीनवटै निर्वाचनहरु एकैचोटी गर्नुपर्ने, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने मागहरु पूरा गर्न सरकारसँग माग गरे । उनले सरकारले चुनावको मुखमा अर्बौं रुपैयाँ बजेट रकमान्तर गरेर भ्रष्टाचार गरेको आरोप लगाउँदै त्यही भ्रष्टाचारको भण्डाफोर गरेर चुनावी मैदानमा उत्रिन निर्देशन दिए । संयोजक भट्टराईले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटको १० आधार पेश गरेका छन् । जनताका मुख्य मुद्दाहरुबारे जानकार तथा विकास निर्माणका सवालहरुमा निर्णायक भूमिका निर्वाह गर्नसक्ने व्यक्ति उम्मेदवार हुने बताउँदै प्रभावकारी सामाजिक छवी भएको स्वतन्त्र सामाजिक व्यक्तिलाई समेत उम्मेदवार बनाउने उनको भनाइ थियो ।

स्थानीय चुनाव रणनीति बनाउन नयाँ शक्तिको केन्द्रीय परिषद् बैठक सुरु

काठमाडौं चैत १५ । स्थानीय तहको चुनावको रणनीति बनाउन नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ । वुद्धनगरस्थित एक व्याङ्क्वेटमा जारी दुई दिने बैठकमा पार्टी संयोजक बाबुराम भट्टराईले पेस गरेको निर्वाचन लक्षित प्रतिवेदन माथि छलफल भईरहेको सो पार्टीले जनाएको छ । सो पार्टीको निर्वाचन केन्द्रीत कार्ययोजनामा छिटो भन्दा छिटो देशको भरपर्दो वैकल्पिक शक्तिमा रुपान्तरण गर्न घोषित लक्ष्य, उद्धेश्य, नीति, कार्यक्रम मिल्नेसँग एकीकरण र ध्रुबिकरण गर्ने उल्लेख छ । यस्तै संगठन विभाग मार्फत पार्टीका माथिल्लो तहको सम्पुर्ण कामलाई सहजीकरण गर्न नगर र गाउँपालिकामा केन्द्रीय परिषद सदस्यलाई इन्चार्ज तोक्ने तयारी गरेको सो पार्टीले जनाएको छ । स्थानीय निर्वाचनको तयारीमा जुटेको नयाँ शक्तिले केही दिनमा नै संघीय समाजवादी फोरमसँग पार्टी एकताको तयारी समेत गरेको छ । चुनावी मोर्चाका रुपमा वृहत्त राष्ट्रिय गठबन्धन निर्माणका लागी प्रयास गर्ने संयोजक भट्टराइको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सन् २०२२ सम्ममा मुलुकमा गरिबीको अन्त्य गर्ने, २०३० सम्म जनताको जीवन स्तरलाई मध्यम वर्गमा उकास्ने लगायत ११ बुँदै प्रतिवद्धता पनि उल्लेख गरिएको छ । नयाँ शक्तिले निर्वाचनमा पुराना शक्तिले गर्ने फजुल खर्च, तडकभडक, किनबेच, र भ्रष्टाचारसँग प्रतिस्पर्धा नगर्ने भन्दै मितव्ययीता र पारदर्शिता अपनाउनुपर्ने कार्यविधी तयार पारेको छ ।

सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यासः उपप्रधानमन्त्री थापा

भक्तपुर, चैत १५ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गतेको निर्वाचनपश्चात् निर्वाचित जनप्रतिनिधिलाई सवल, सक्षम र प्रभावकारी नगरपालिका तथा गाउँपालिका हस्तान्तरण गर्ने तयारी गर्न कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण केन्द्रले भक्तपुरको नगरकोटमा आज आयोजना गरेको ‘तीन दिने स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । ३ नम्बर प्रदेशका स्थानीय तहका कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री थापाले भन्नुभयो— राजनीतिक दलहरु निर्वाचन उन्मुख भइसकेको र जनता निर्वाचनप्रति उत्साही भएकाले यसमा सक्रिय सहयोग पु¥याउन आग्रह गर्नुभयो । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यास भएकाले यसलाई सहज ढङ्गबाट ग्रहण गर्न आग्रह गर्दै उहाँले संविधानमा स्थानीय तहलाई व्यवस्थापकिय, कार्यपालिका र न्यायिक अधिकारको व्यवस्था गरिएकाले त्यसको प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न समेत कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभयो । सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारमान बुढाथोकीले अहिलेको संरचनाअन्तर्गत स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको हुँदा प्राप्त गरेको जिम्मेवारी, अधिकार र भूमिका प्रभावकारी ढङ्गबाट निर्वाह गर्न कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

संसदीय टोलीको ठहरः महिला तस्करीमा अध्यागमन कर्मचारीको मिलेमतो

काठमाडौं, चैत १५ । अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ । खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर मंगलबार स्वदेश फर्किएका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरुले ‘सेटिङ’को जालो बनाएको बताएको छ । नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गर्न सो टोली यही चैत ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । समितिका सभापति प्रभु साहले अध्यागमन विभागका कर्मचारीको मानवतस्करसँग मिलोमतो हुनु गम्भीर कुरा भएको भन्दै यसबारे छानबिन गर्न सरकारलाई सिफारिस गरिने बताए । उनले भने – ुत्यसरी अवधै रुपमा जानेहरु आधाभन्दा बढीले नेपालकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगगरी गएको देखियो । बाँकीमात्रै भारत र श्रीलङ्का हुँदै गएको भेटियो । मानवतस्करले अध्यागमनबाट बेरोकतोक पर्यटक प्रवेशाज्ञामा दुबई, कुबेत पठाउने र त्यहाँबाट साउदीअरब, कतार, ओमन पठाउने गरेको भ्रमणको क्रममा भेटिएको उनले बताए । साउदीमा मात्रै ३० हजारभन्दा बढी महिला अवैध रुपमा घरेलु कामदारका रुपमा गएको र अन्य मुलुकमा समेत त्यो सङ्ख्या धेरै रहेको संसदीय समितिले जनाएको छ । खाडीमा अवैध रुपमा घरेलु कामदारका रुपमा गएका अधिकांश महिलाले दुःख पाएको भेटिएको सभापति साहले बताए । चार मुलुकको दूतावासमा अस्थायी रुपमा दर्जनौं महिलालाई उद्धार गरेर राखिएको टोलीले जनाएको छ । ती महिलासँग संसदीय टोलीले छलफल गरेको थियो । निःशुल्क प्रवेशाज्ञा र टिकटमा जाने कोही भेटिएनन् भ्रमणका क्रममा चार मुलुकमा हजारभन्दा बढी कामदारसँग भेटघाट र साक्षात्कार गरेको तर तीमध्ये एकजनाले पनि निःशुल्क रुपमा आफू नआएको संसदीय टोलीसमक्ष बताएका थिए । सभापति साहले भने– ुनिःशुल्क टिकट र प्रवेशाज्ञा कागजमा मात्रै सीमित रहेको देखियो, यसबारे पनि कडाइपूर्वक अध्ययन हुन जरुरी छ ।ु समितिका सभापति साहको नेतृत्वको टोलीमा सांसदहरु विनोद श्रेष्ठ, प्रेमकिशोर प्रसाद साह, अशोककुमार मण्डल, राज्यलक्ष्मी श्रेष्ठ, राधादेवी तिमिल्सेनासहित नौ सदस्यीय छन् । टोलीले ती मुलुकका सरकारी अधिकारी, नेपाली नियोगका अधिकारी, नेपाली कार्यरत कम्पनी, नेपाली सङ्घ सङ्गठन र कामदारसँग छलफल गरेको जनाएको छ । रासस