एमाले निर्णयप्रति भण्डारीको आक्रोश : '४५ वर्षको पार्टी सदस्यता कसैले खोस्न सक्दैन'

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को केन्द्रीय कमिटीले आफ्नो पार्टी सदस्यता नवीकरणमा रोक लगाउने निर्णयलाई अवैध र अपरिपक्व भन्दै कडा आपत्ति जनाएकी छिन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो ४५ वर्ष लामो पार्टी सदस्यतामाथि प्रश्न उठाउने कुनै पनि निर्णयले पार्टीको साख गिराउने चेतावनी दिइन्।

“म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो। अहिले ४५ वर्ष पुगिसक्यो। यति लामो समय पार्टीमा बिताउँदा पनि मलाई सदस्यताबाट वञ्चित गर्न कदापि मिल्दैन,” भण्डारीले भनिन्। उनले थपिन्, “आवेग र उत्तेजनामा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा प्रभावित त गर्न सक्ला, तर वास्तविकता छोप्न सकिँदैन। पार्टीको जनवादी केन्द्रीयताको सिद्धान्तविपरीतका निर्णय वैध हुन सक्दैनन्।”

भण्डारीले आफूले पार्टी निर्माणमा हजारौं कार्यकर्तासँगै रगत-पसिना बगाएको स्मरण गर्दै भावनामा बगेर नबोलेको स्पष्ट पारिन्। “यो पार्टी बनाउन मैले र हजारौं योद्धाले मेहनत गरेका छौं। मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन,” उनले जोड दिइन्।

उनले आफूले पार्टी त्यागेर राष्ट्रपति नबनेको र विधिअनुसार नै पार्टीको जिम्मेवारी लिएर फर्किएको बताइन्। “म ३५ वर्ष पार्टी सदस्य भएपछि मात्र राष्ट्रपतिको शपथमा गएकी हुँ। मैले पार्टी त्यागेको होइन, पार्टीकै जिम्मेवारी लिएर गएकी थिएँ। अहिले विधिअनुसार नै नेकपा (एमाले) को परिवारमा आबद्ध छु,” उनले प्रष्ट्याइन्।

एमालेको हालैको निर्णयले उनलाई सक्रिय राजनीतिमा फर्कन रोक लगाएको थियो। तर, भण्डारीले पार्टीको यो कदमले दीर्घकालीन रूपमा संगठनको हित नगर्ने चेतावनी दिँदै विवेकसंगत छलफलबाट निर्णय लिनुपर्नेमा जोड दिइन्।

पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन : ओलीविरुद्ध कस्तो होला रणनीति ?

काठमाडौं, । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछिन्। नेकपा एमालेले उनलाई सक्रिय राजनीतिमा संलग्न हुन रोक लगाएको र पार्टी सदस्यता खारेज गरेको विषयमा उनले आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। नेकपा एमालेको साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो। यो निर्णयले उनको पार्टी सदस्यता समेत खारेज भएको बताइएको छ। भण्डारी निकट स्रोतका अनुसार, यो कदमलाई उनले गम्भीर रूपमा लिएकी छिन् र आजको पत्रकार सम्मेलनमा यसबारे स्पष्ट अडान राख्ने सम्भावना छ। विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा राष्ट्रपतिका रूपमा संविधानको संरक्षकको भूमिका निर्वाह गरेकी थिइन्। उनको कार्यकाल ९२०७२–२०७९० मा विभिन्न राजनीतिक विवाद र संवैधानिक जटिलताहरू देखा परेका थिए, जसमा उनको भूमिकालाई लिएर पक्ष–विपक्षमा बहस भएको थियो। विशेषगरी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई उनले स्वीकृत गरेको विषयले व्यापक चर्चा पाएको थियो। आजको पत्रकार सम्मेलनमा भण्डारीले एमालेको पछिल्लो निर्णयविरुद्ध आफ्नो असन्तुष्टि व्यक्त गर्नुका साथै आफ्नो भावी योजनाबारे समेत संकेत दिन सक्ने अनुमान गरिएको छ। उनले हालैका दिनहरूमा शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, र वातावरणजस्ता सामाजिक मुद्दाहरूमा सक्रिय रहँदै आएको बताएकी छिन्। यद्यपि, उनले दलीय राजनीतिमा तत्काल फर्कने कुनै निर्णय नगरेको स्पष्ट पारेकी छिन्। भण्डारी निकट एक नेताले भने, “पूर्वराष्ट्रपति भण्डारीले एमालेको निर्णयलाई अन्यायपूर्ण ठानेकी छिन्। उनले आफ्नो राजनीतिक अनुभव र योगदानलाई पार्टीले अवमूल्यन गरेको महसुस गरेकी छिन्।” यही सन्दर्भमा, उनले पत्रकार सम्मेलनमार्फत आफ्नो अडान र भविष्यको दिशाबारे स्पष्टता दिने अपेक्षा गरिएको छ। नेकपा एमालेको यो निर्णयलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट हेरिएको छ। कतिपयले यसलाई पार्टीभित्र आन्तरिक शक्ति सन्तुलनको प्रयासका रूपमा लिएका छन् भने कतिपयले पूर्वराष्ट्रपतिलाई सम्मानजनक स्थान दिनुपर्ने तर्क गरेका छन्। भण्डारीको सक्रियता र प्रभावलाई लिएर एमाले नेतृत्वमा असहजता रहेको विश्लेषण पनि भइरहेको छ। यो पत्रकार सम्मेलनले नेपालको राजनीतिक परिदृश्यमा नयाँ बहस छेड्ने सम्भावना छ। विशेषगरी, भण्डारीले नयाँ राजनीतिक बाटो रोज्ने वा सामाजिक क्षेत्रमा आफ्नो सक्रियता बढाउने निर्णय लिएमा यसले एमालेको आन्तरिक राजनीतिमा समेत प्रभाव पार्न सक्छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आजको पत्रकार सम्मेलनले उनको राजनीतिक भविष्य र नेकपा एमालेको आन्तरिक गतिशीलताबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ। यो सम्मेलनले उनको समर्थक र आलोचक दुवैको ध्यान खिच्ने निश्चित छ।

शुल्क शोषण भएको भन्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा विद्यार्थीको धर्ना

काठमाडौँ ।त्रिभुवन विश्वविद्यालय अन्तर्गत गाभिएका चार वटा विभागमा अत्यधिक शुल्क लिइएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), TU जिल्ला समितिले आन्दोलन सुरु गरेको छ। मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गतका International Relations and Diplomacy (IRD), Conflict Peace and Development Studies (CPDS), Social Work, र Gender Studies विभागलाई हालै केन्द्रीय विभाग (Central Department) मा गाभिएको छ। तर, केन्द्रीय विभागमा समावेश भइसकेपछि पनि ती विभागहरूले पुरानै निजी कार्यक्रमको ढाँचामा शुल्क लिइरहेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका हुन्। आजदेखि आन्दोलनको पहिलो चरणस्वरूप विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि शान्तिपूर्ण धर्ना थालेका छन्। उनीहरूले “शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ”, “गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रिय विभागको नीतिमा झोली” जस्ता नारासहित प्रदर्शन गरेका छन्। आन्दोलन संयोजक मनिष चम्लागाईँले भने, “केन्द्रीय विभागमा गाभिएका यी विभागमा शुल्क घटाइनुपर्छ। यो आर्थिक शोषण हो। निर्णय फिर्ता लिइएन भने आन्दोलन थप सशक्त बनाइनेछ।” उनका अनुसार, विश्वविद्यालय प्रशासनलाई असार ३१ गते नै १८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको थियो। ती मागमध्ये शुल्क समायोजन प्रमुख माग हो। संगठनले प्रशासनलाई १० दिने अल्टिमेटम दिएको थियो, तर समयसीमा भित्र माग सम्बोधन नभएकाले आजदेखि चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो। विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय प्रशासनसँग तत्काल वार्ता गरी समस्या समाधान नगरे आन्दोलनको दायरा थप विस्तार गर्ने चेतावनी दिएको छ।

जेष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेष्ठ नागरिकका माग सम्बोधनका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय जेष्ठ नागरिक महासंघको टोलीसँग बिहीबार आफ्नै निवासमा भेटवार्ता गर्दै प्रचण्डले जेष्ठ नागरिकका माग सम्बोधनका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।  खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटवार्ताका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जेष्ठ नागरिकका समस्या सम्बोधनमा सरकारको ध्यानाकर्षण गराउँदै माग सम्बोधनका लागि पहल गर्ने बताउनु भयो ।   प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डले भन्नुभयो, “तपाईंहरूले उठाएका मागहरू पूर्णरूपमा न्यायसंगत छन्। म व्यक्तिगत र पार्टीका तर्फबाट यी मागहरू सम्बोधन गर्न सक्दो सहयोग गर्नेछु। नेकपा (माओवादी केन्द्र)ले यी विषयमा सकारात्मक पहल गर्न प्रतिबद्ध छ। जेष्ठ नागरिकका समस्या सम्बोधनमा सरकार गम्भीर बन्नुपर्छ ।” महासंघका पदाधिकारीहरूले यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता प्रदान गर्ने व्यवस्था, र राष्ट्रिय सभामा जेष्ठ नागरिकको प्रतिनिधित्व सुनिश्चित गर्नेलगायतका मागहरू राखे।  विशेषगरी, २,५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवासुविधाबाट वञ्चित बनाएको भन्दै महासंघले यो समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेलिदिन अनुरोध गरेको थियो । 

एक रुपैयाँ लेवी तिरेर पुष्पलाल समूहमार्फत पार्टी सदस्यता लिएको थिएँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले नेकपाको सदस्यता एक रुपैयाँ लेवी तिरेर लिएको बताउनु भएको छ । बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले पुष्पलाल समूहमार्फत नै सदस्यता लिएकोसमेत बताउनु भयो ।  अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्दै भन्नुभयो, “पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ। उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो।” उहाँले पुष्पलाल स्वयंप्रति आफ्नो निष्ठा स्मरण गर्दै थप्नुभयो, “मैले एक रुपैयाँ लेवी तिरेर पुष्पलाल समूहमार्फत पार्टी सदस्यता लिएको थिएँ। पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै मैले दस्तावेज पनि लेखेको थिएँ। त्यसैगरी झापा विद्रोहको सम्मान र पुष्पलालमाथि लगाइएको आरोपको खण्डन गर्दै दस्तावेज लेख्ने अवसर पनि मलाई प्राप्त भएको थियो।”  अध्यक्ष प्रचण्डले  वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। “सर्वत्र मिडियाबाट भ्रम र निराशा फैलाउने काम भइरहेको छ। तर, हामीले जनतामा वर्गीय आशा जगाउनै पर्छ,” उहाँले बताउनुभयो। अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो।  

दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट हुन अध्यक्ष प्रचण्डको आव्हान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ। पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्दै भन्नुभयो, “पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ। उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो।” उहाँले पुष्पलाल स्वयंप्रति आफ्नो निष्ठा स्मरण गर्दै थप्नुभयो, “मैले एक रुपैयाँ लेवी तिरेर पुष्पलाल समूहमार्फत पार्टी सदस्यता लिएको थिएँ। पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै मैले दस्तावेज पनि लेखेको थिएँ। त्यसैगरी झापा विद्रोहको सम्मान र पुष्पलालमाथि लगाइएको आरोपको खण्डन गर्दै दस्तावेज लेख्ने अवसर पनि मलाई प्राप्त भएको थियो।” संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमार्फत जनतालाई गोलबद्ध गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराउनुभयो। “संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई माक्र्सले जनताको साथ र विद्रोह बिना कागजका खोस्टा मात्र हुन् भनेका थिए। नेपालमा पनि संविधान सभाको बहस पहिले देखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन। माओवादी केन्द्रले जनयुद्धको सुरुवात गरी जनतालाई गोलबन्ध गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो,” उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गर्नुभयो। “कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता — यी सबैमा मैले नेतृत्व गरेको हुँ। अहिले पनि म कम्युनिष्टहरूको एकताको झण्डा बोकेको छु,” उहाँले भन्नुभयो। वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। “सर्वत्र मिडियाबाट भ्रम र निराशा फैलाउने काम भइरहेको छ। तर, हामीले जनतामा वर्गीय आशा जगाउनै पर्छ,” उहाँले बताउनुभयो। अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “हामीले गरेका माओवादी आन्दोलनका सम्पूर्ण गतिविधि पुष्पलालकै विचारको आधारमा थिए,” उहाँको भनाइ थियो। अध्यक्ष प्रचण्डले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो। “कमरेड पुष्पलाललाई सच्चा सम्मान गर्ने हो भने कम्युनिष्ट क्रान्तिकारीहरूबीच एकता हुनुपर्छ,” उहाँले स्पष्ट पार्नुभयो।

गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन ७ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको स्पष्ट गर्नुभएको छ। बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डज्यूले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो व्यक्त गर्नुभएको हो। उहाँले आन्दोलनको स्मरण गर्दै भन्नुभयो, “बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो।” अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट गर्नुभयो। “आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,” उहाँले भन्नुभयो। त्यस्तै, कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले त्यसले मुलुकलाई गलत दिशातर्फ डोर्याउन सक्ने खतरा औंल्याउनुभयो। उहाँले भन्नुभयो, “देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन प्रवृत्तिहरू हावी हुँदै गइरहेका छन्। यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन्।” कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

पुष्पलाल स्मृति दिवसका अवसरमा विचार गोष्ठी हुँदै, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस स्मृति दिवसका अवसरमा विचार गोष्ठि कार्यक्रमको आयोजना गरिएको छ ।  पुष्पलाल स्मृति प्रतिष्ठान तथा समाजावादी मोर्चा नेपालले आयोजना गरेको कार्यक्रम राष्ट्रिय सभा गृहमा दिउँसो दुई बजेदेखि शुरु हुने छ ।  कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा सहभागीताका लागि नेकपा माओवादी केन्द्रले आफ्ना मातहतका समितिहरुलाई निर्देशित गरेको छ ।  पुष्पलालका बारेमा पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता तथा सच्चा जननेता थिए। उहाँको जन्म वि.सं. १९७१ साल असार १५ गते पाल्पा जिल्लाको तानसेनमा भएको थियो। उहाँ बी.पी. कोइरालाको समकालीन थिए र नेपाली कांग्रेसको सुरुवातमा पनि संलग्न भए। तर पछि वर्गीय दृष्टिकोणको कारण उहाँ कम्युनिष्ट विचारधारातर्फ आकर्षित हुनुभयो। वि.सं. २००६ सालमा भारतीय कम्युनिष्ट पार्टीसँग सम्पर्क राखी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना गर्नुभयो। यही पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको आधारभूत ईँट भएको थियो। उहाँले पार्टीको नाम, नीति, कार्यक्रम तथा घोषणापत्र तयार गरी नेपालको राजनीतिक इतिहासमा नयाँ युगको थालनी गर्नुभयो। पुष्पलालले मार्क्सवाद-लेनिनवाद र माओविचारधाराको आधारमा नयाँ जनवादको स्थापना गरेर जनताको मुक्ति र सामाजिक न्याय संभव छ भन्कोन् वहाँकाे दृष्टिकोण थियो । उहाँले नेपाली जनताको मुक्ति आन्दोलनलाई मार्गदर्शन मात्र गर्नुभएन, अनेक कठिनाइका बाबजुद पनि पार्टी निर्माण र संगठन विस्तारमा अतुलनीय योगदान दिनुभयो। उहाँले राजनीति सँगसँगै साहित्य र अनुवादको क्षेत्रमा पनि योगदान दिनुभयो। माक्र्सवादका महत्वपूर्ण कृतिहरू नेपालीमा अनुवाद गरी जनस्तरसम्म पुर्‍याउनुभएको थियो।  वि.सं. २०३५ साल श्रावण ७ गते भारतको नयाँ दिल्लीमा उहाँको निधन भयो।  

‘होलटाइमर’ भएपछि म बेहिसाब काम गर्थें, त्यसले मलाई पार्टीभित्र लोकप्रिय बनायो

दुःख नगरी खान पुग्ने अवस्था थिएन । चितवन सरेपछि मैले भैंसी चराउँदै, साँझ–बिहान बाआमालाई खेतीपातीमा सघाउँदै दुई वर्ष बिताएँ । बल्ल २०२१ मा स्कुलमा भर्ना हुन पाएँ । ‘होलटाइमर’ भएपछि म बेहिसाब काम गर्थें, त्यसले मलाई पार्टीभित्र लोकप्रिय बनायो मान्छेको मृत्यु दुई प्रकारको हुन्छ– प्वाँखभन्दा हलुका र पहाडभन्दा ओजिलो । महान् उद्देश्य लिनेहरूको मृत्यु पहाडभन्दा ओजिलो हुन्छ । १० वर्षे जनयुद्धका क्रममा महान् उद्देश्यका लागि जो–जो सहिद भए, उनीहरूले ओजिलो मृत्युवरण गरे । मलाई सबैभन्दा बढी प्रभाव पार्ने तिनै सहिद हुन् ।  जनयुद्ध सुरु भएको एक वर्षपछि म रोल्पा, रुकुम र जाजरकोटको भ्रमणमा गएको प्रसंग सम्झन्छु । रामबहादुर थापामाथि भर्खरै अनुशासनको कारबाही भएको थियो । म असाध्यै उद्वेलित भएको थिएँ । त्यही सेरोफेरोमा प्रहरी चौकीमा कारबाही गर्न जाँदा रुकुमका विजय घले सहिद भएका थिए । उनका बाआमासँग भेट हुँदा म अत्यन्तै भावुक हुन पुगें । जनयुद्धमा मोर्चा जित्दा हाँस्ने, हार्दा र योद्धा सहिद हुँदा रुने गर्थ्यौं । हाँस्दाहाँस्दै रुने र रुँदारुँदै हाँस्ने अवस्था आउँथ्यो । जनयुद्धका क्रममा हजारौं योद्धाले मृत्युवरण गरे । जनयुद्ध सुरु गर्नुअघि नै रामवृक्ष यादवको हत्या भएको थियो । उहाँ असाध्यै मिल्ने साथी हुनुहुन्थ्यो । गोरखाका सहिद सुरेश वाग्ले, पहिलो सहिद दिलबहादुर रम्तेलप्रति सम्मान छ । मलाई असाध्यै माया र सम्मान गर्ने कोही योद्धा सहिद भए, कोही बेपत्ता छन् । जो देश र जनताका लागि सहिद भए, उनीहरू मरेर गए पनि सधैं जीवित रहन्छन् । सक्रिय राजतन्त्र या राजतन्त्रकालमा नेपालमा गरिब किसान, महिला, दलित, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिमलगायत शोषित वर्गमाथि अन्याय, दमन र अत्याचार थियो । त्यसविरुद्ध विद्रोह गर्नुको विकल्प थिएन । जनताले एकचोटि आफ्नो ताकत नदेखाई निरंकुशताको अन्त्य छैन भन्ने निष्कर्षमा पुगेपछि मैले पार्टी प्रमुख नेताको हैसियतले जोखिम उठाएको थिएँ । साहसिक निर्णय नगरी समाज रूपान्तरण गर्न सकिँदैन, विद्रोह नगरी शोषित, पीडित सबैलाई न्याय दिन सकिँदैन भनेर जनयुद्ध सुरु गरेको हो । २०५१ मा जनयुद्धको तयारी हुँदै थियो । चितवनको माडीमा भएको महाधिवेशनबाट म नेकपा एकता केन्द्रको महासचिव भएँ । त्यसपछि हामी छोराछोरीसहित नारायणघाट र त्यसपछि काठमाडौं सर्‍यौं । मलाई श्रीमती सीताको सधैं साथ भइरह्यो– पारिवारिक रूपमा मात्र होइन, राजनीतिक क्षेत्रमा अघि बढ्न पनि । हामी काठमाडौं सरेपछि मेरी ठूली छोरी ज्ञानु, सानी छोरी गंगा पाटनको सरकारी स्कुलमा पढ्न थाले । एसएलसीसम्म त्यहाँ पढे । जनयुद्ध सुरु भएपछि उनीहरूको पढाइ अघि बढ्न सकेन । श्रीमती सीतामा सैद्धान्तिक ज्ञान धेरै नभए पनि क्रान्ति गर्नुपर्छ भन्ने दृढता मनैदेखि थियो । अर्को कुरा, मप्रति उनको भरोसा यति थियो कि शब्दमा व्यक्त गर्न सकिन्न । ‘मेरा श्रीमान्ले नेपालको परिवर्तनमा प्रमुख भूमिका खेल्छन्’ भन्ने लाग्थ्यो उनलाई । त्यसैले कैयौं संकटमा सीता भन्थिन्, ‘तपाईंमा समाधान निकाल्ने क्षमता छ । कहिल्यै हार नखानुहोस् । परिवार, समाज र जनता साथमा छन् ।’ अहिले उनी छैनन् (सीताको असार २०८० मा निधन भएको थियो) तर उनको भरोसा कता–कता मनमा आइरहन्छ । दुःख–सुखमा साथ दिन उनी कहिल्यै पछि हटिनन् । सीतामा धीरता र निष्ठा बलियो थियो । जनयुद्ध सुरु भएपछि मेरी माइली छोरी रेणु मामाकहाँ बसेर पढ्दै थिइन् । पछि गंगा र रेणुको विवाह लखनउको एउटा होटलमा एकै पटक भयो । छोरा प्रकाशले सुरुमा काठमाडौंमा पढेको थियो । पछि रेणुका ससुरा टीबी पाठकको दिल्लीस्थित निवासमा बस्यो । प्रकाशले पढ्नभन्दा युद्धतिर रुचि राख्न थाल्यो र पछि जनयुद्धमा सहभागी पनि भयो । मंसिर २०७४ को चुनावको मुखमा प्रकाश पनि गयो । म कास्कीको ढिकुरपोखरीमा निम्न वर्गीय किसान परिवारमा जन्मिएँ । सात वर्षसम्म बाख्रा चराउँथें । घर फर्किंदा दाउराको बिटो ल्याउँथें । मामाहरूले मलाई घरमै अक्षर चिनाउनुभयो । खरिपाटीमा लेख्न सिकें । हामी २०१९ साल चितवनमा बसाइँ सर्‍यौं । पैत्रिक सम्पत्तिका रूपमा कास्कीबाट ल्याएको एक हजार दुई सय रुपैयाँ मात्र थियो । हाम्रो बुबा र ठूलो बुबा (हाल राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको बुबा) को घर नजिकै थियो । ठूलो बुबा हामीभन्दा अलि पैसा भएको हुनुहुन्थ्यो । उहाँलाई भाइ (हाम्रो परिवार) लाई पनि सँगै राख्नुपर्छ भन्ने भएछ । उहाँले हाम्रो बुबालाई हजार हो कि १५ सय सापटी दिएपछि साढे दुई बिघा जग्गा किन्यौं । ठूलो बुबाले पनि त्यति नै जग्गा किन्नुभएको थियो । त्यस बेला चितवनमा एक हजार रुपैयाँमा एक बिघा जग्गा आउँथ्यो । हामी शिवनगरको भीमसेननगर भन्ने टोलमा बस्यौं । अहिले पनि हाम्रो बसाइ त्यहीँ हो । त्यसबेला दुःख नगरी खान पुग्ने अवस्था थिएन । चितवन सरेपछि मैले भैंसी चराउँदै, साँझ–बिहान बाआमालाई खेतीपातीमा सघाउँदै दुई वर्ष बिताएँ । बल्ल २०२१ मा स्कुलमा भर्ना हुन पाएँ । स्कुलमा गाउँकै शिक्षक हुनुहुन्थ्यो । स्कुल गएको दिन मलाई ‘हाम्रो साहित्य’ भन्ने किताब पढ्न लगाइएको थियो । मैले त्यो किताब खरर पढें । हेडमास्टर बोधराज भण्डारी खुसी हुनुभयो । एकैचोटि ३ कक्षामा भर्ना गरिदिनुभयो । मलाई लेख्न भने त्यति आउँदैनथ्यो । म पुसमा भर्ना भएको थिएँ, जेठमा अर्धवार्षिक परीक्षा हुन्थ्यो । १ र २ कक्षा नपढी एकैचोटि ३ कक्षामा भर्ना भएको हुनाले मलाई प्रश्न–उत्तरको मेलोमेसो भएन । नेपालीको दिन प्रश्नपत्र टोपीमा लुकाएर लुसुक्क स्कुलबाट भागेको थिएँ । त्यस बेला सबै अभिभावकलाई बोलाएर रिजल्ट सुनाउने चलन थियो । रिजल्ट आउने दिन हाम्रो बा पनि स्कुल जानुभएको थियो । परीक्षाफल सुनाउने क्रममा शिक्षकले छविलाल दाहाल भनेर नाम लिएपछि बाले मेरो मुखतिर हेर्नुभयो । शिक्षकले ‘फेल’ भनेपछि बाको अनुहार मलिन भयो । मलाई पीर पर्‍यो र रुँदैरुँदै घर आएँ । त्यसपछि मैले पढाइमा अलि ध्यान दिन थालें । नियमित स्कुल जान थालें । मंसिरको अन्तिम परीक्षामा पास भएँ । ४ कक्षामा दोस्रो हो कि तेस्रो भएको थिएँ । ५ कक्षामा दोस्रो भएँ । कक्षा फड्काएर मलाई ७ कक्षामा भर्ना गरिदिए । मैले १० कक्षासम्म नारायणी विद्या मन्दिर शिवनगरमा पढें । १० कक्षामा पढ्दै गर्दा मैले चीनमा कम्युनिस्टको शासन छ रे भन्ने थाहा पाएँ । गाउँका शिक्षक चन्द्रराज भुर्तेल कम्युनिस्ट हुनुहुँदो रहेछ । उहाँ ‘चीनमा कम्युनिस्ट व्यवस्था राम्रो छ, हामी पनि हुनुपर्छ’ भन्नुहुन्थ्यो । त्यसको अलिअलि प्रभाव ममा पर्‍यो । उहाँको भाइ पुष्पलाल र म एउटै कक्षामा पढ्थ्यौं । त्यसबेला ‘सचित्र चीन’ भन्ने पत्रिका स्कुल–स्कुलमा जान्थ्यो । माओको रातो किताब पनि गाउँ–गाउँ पुग्थ्यो । पुष्पलालले दिएको सचित्र चीन पत्रिकामै मैले पहिलो पटक माओको ठूलो फोटो देखें । माओ कस्तो क्षमताका होलान् भन्ने जिज्ञासा लाग्थ्यो । पछि नेपालमा कम्युनिस्ट आन्दोलन अघि बढाउँदै जाँदा माओकै नाममा पार्टी बनाएर दस वर्ष जनयुद्ध गरियो । माओकै प्रेरणाले नेपालमा यति ठूलो क्रान्ति र परिवर्तन गर्न सकियो । त्यसकारण ममा माओको अमिट छाप छ । शिवनगरमा नहरमाथि कांग्रेसको प्रभाव थियो भने हामी बसेको गाउँ नहरमुनि कम्युनिस्टको । म कहिलेकाहीँ सोच्छु, नहरमाथि घर भएको भए कांग्रेस हुन्थें कि कम्युनिस्ट ? कम्युनिस्ट बस्तीमा घर भएकाले मेरो झुकाव स्वतः कम्युनिस्टतिर भयो । मैले एसएलसी दिँदा बा घरमा हुनुहुन्थेन । अढाई बिघा जग्गाको उत्पादनले हामीलाई खाना पुर्‍याउन मुस्किल पर्थ्यो । परिवार ठूलो थियो । कास्कीबाट चितवन आउँदा पाँच सन्तान थियौं, चितवन आइसकेपछि तीन सन्तान जन्मिए । वर्षभरि खाना राम्रोसँग पुग्दैनथ्यो । २०२६ सालतिर बर्दियामा जग्गा खुलेको छ भनेर त्यता जानुभएको थियो मैले एसएलसी दिने बेला । म एसएलसीमा राम्रो गरी पास भएँ । म १० कक्षाको अर्धवार्षिकमा प्रथम भएँ । राम्रो विद्यार्थीले विज्ञान पढ्नुपर्छ भनिन्थ्यो । विज्ञान पढाउन सक्ने अवस्था घरको थिएन । बुबा एसएलसीपछि पढाउन सकिँदैन भन्नुहुन्थ्यो । आमा भने जसरी पनि पढाउनुपर्छ भन्नुहुन्थ्यो । २०२६ मा एसएलसी पास गरेपछि मलाई आईएस्सी पढाउन आमाले नातागोतासँग पैसा खोजेर तीन सय बनाउनु भएछ । म त्यही तीन सय रुपैयाँ लिएर काठमाडौं आएँ । अमृत साइन्स, त्रिचन्द्र क्याम्पसमा भर्ना बन्द भइसकेको थियो । पाटनमा भर्ना भएँ । आईएस्सी भर्ना हुन मेरो स्कुलका शिक्षक चन्द्रराज भुर्तेलले सहयोग गर्नुभयो । आईएस्सी पहिलो वर्षको परीक्षा दिएर घर गएका बेला थाहा भयो, छिमेकी धनबहादुर विश्वकर्मा कम्युनिस्ट हुनुहुँदो रहेछ । पहिले थाहा थिएन । उहाँले मलाई नेता भेट्नुपर्छ भनेर राति लुकाउँदै लिएर जानुभयो । उहाँले पूर्णलाल विश्वकर्माको घर पुर्‍याउनुभयो । त्यहाँ कम्युनिस्ट नेता रूपलाल विश्वकर्मा बस्नुभएको रहेछ । मलाई एक रुपैयाँ लिएर सदस्यता दिन ठिक्क पार्ने रणेन्द्र बराइली हुनुहुन्थ्यो । उहाँले नै निवेदन लेखिदिनुभयो । एक रुपैयाँ शुल्क लिएर मलाई रूपलालले कम्युनिस्ट पार्टीको सदस्य बनाउनुभयो । म २०२८ सालमा पार्टी सदस्य भएँ । त्यसबेला नेपालमा कति कम्युनिस्ट पार्टी छन् भन्ने थाहा थिएन । कम्युनिस्ट भनेको पुष्पलाल श्रेष्ठ, कांग्रेस भनेको बीपी कोइराला भन्नेचाहिँ मोटो रूपमा थाहा थियो । कम्युनिस्टभित्र पनि धेरै पार्टी छन् भन्ने ज्ञान थिएन । पार्टी सदस्य भएपछि बिस्तारै थाहा हुँदै गयो । रूपलाल पुष्पलाल समूहमा भएको हुनाले म त्यसकै सदस्य भएको रहेछु । म सदस्य भएको केही समयपछि पुष्पलाल समूहबाट रोहित (नारायणमान बिजुक्छे) र रूपलाल निस्किए । म पनि रूपलाल समूहको सदस्य भएँ । मेरो नजिकका चन्द्रलाल र पुष्पलाल भुर्तेलचाहिँ चौथो महाधिवेशन (मोहनविक्रम, निर्मल लामा) नजिक रहेछन् । म कुन कम्युनिस्ट सही हो भनेर सोच्न थालें । म, पुष्पलाल भुर्तेल, रामबहादुर थापा (बादल), खेम भण्डारी र मित्रराज दवाडीले नारायणी नदीको तीरमा गएर बैठक गर्‍यौं । कुनचाहिँ कम्युनिस्ट ठीक भनेर ‘अध्ययन मण्डल’ बनायौं । त्यसपछि चितवनको दिव्यनगरका अमिक शेरचनसँग हाम्रो भेट भयो । मित्रराज दवाडीमार्फत उहाँसँग भेट भएको हो । त्यो भेटमा म शेरचनबाट प्रभावित भएँ । क्रान्ति गर्नुपर्छ भनेर लागेका । घरमा बन्दुक पनि राखेका । म २०३२ साल अन्त्यतिर चौथो महाधिवेशनको सदस्य भएँ । बीएस्सी कृषि पूरा गरेपछि म पढाउन गोरखाको आरुघाट गएँ । लु सुनका साहित्य, मार्क्स, लेनिन, माओका किताब, नेपालका दस्ताबेज पढ्थें । सबै पढेर पचाउनुपर्छ भन्ने लाग्थ्यो । २०३४ सालसम्म आइपुग्दा म कम्युनिस्ट क्रान्तिबारे धेरै जान्ने भइसकेको थिएँ । मैले आरुघाट स्कुलमा पढाउँदा जनसम्पर्क बढाउन थालेको थिएँ । दिउँसो स्कुलमा पढाउने, बेलुका प्रौढ शिक्षा पढाउने, किसानलाई कम्पोस्ट मल बनाउन सिकाउने काम गरें । त्यस बेला म स्कुलको सबैभन्दा राम्रो शिक्षकका रूपमा गनिइसकेको थिएँ । म विज्ञान, गणित र अंग्रेजी पढाउँथें । मैले एक वर्ष पढाएपछि आठ विद्यार्थीले प्रथम श्रेणीमा एसएलसी गरे, अरू पनि धेरै पास भए । आरुघाटको हेडमास्टर रामकुमार श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ पछि खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री हुनुभयो । मैले नै उहाँलाई मन्त्री बनाएको हुँ । म पार्टीका दस्ताबेज स्कुलको दराजमा राख्थें, स्कुल सकिएपछि हामी शिक्षकहरू अध्ययन गर्थ्यौं । म आरुघाटमा भुवन र गणेश श्रेष्ठको घरमा डेरा बसेको थिएँ । गणेश श्रेष्ठ पनि आरुघाट स्कुलमा पढाउनुहुन्थ्यो । भुवन स्वास्थ्य क्षेत्रमा काम गर्नुहुन्थ्यो । त्यो परिवारको मलाई जबर्जस्त प्रभाव परेको छ । म पछि माथिको गाउँ आरुटारमा डेरा सरें । साढे दुई वर्ष पढाइसकेपछि मलाई पार्टीमा ‘होलटाइमर’ हुनुपर्छ भन्ने लाग्यो । मलाई ‘होलटाइमर’ हुन खम्बसिंह कुँवरले प्रेरित गर्नुभयो । उहाँ परार साल बित्नुभयो । खवास थरका एक नेता पनि हुनुहुन्थ्यो । मेरा सहकर्मी शिक्षकमा वासुदेव, योगबहादुर लामिछाने, ईश्वरी खनाललगायत हुनुहुन्थ्यो । सँगै खाने, बस्ने हुनाले उहाँहरूको सम्बन्धले मलाई अघि बढ्न सहज भयो । म बेहिसाब सक्रिय थिएँ राजनीतिमा । आरुघाटबाट पालुङटार राति हिँडेर कमिटी बनाइन्थ्यो । भर्खर जागिर खाएर कमाउन थालेको छोरा होलटाइमर राजनीतिमा लाग्यो भने अप्ठ्यारो पर्छ कि भनेर बाआमालाई चिन्ता थियो । कृषि विकास बैंकको मेनेजर हुनुपर्छ भनेर मलाई सल्लाह दिइन्थ्यो । मेरो भने राजनीतिमा हामफाल्ने मन थियो । आमालाई पनि नोकरी नछाडे हुन्थ्यो भन्ने थियो । तर म स्थायी जागिर छाडेर २०३६ मा चितवन फर्किएँ । चितवनका साथीहरूले तुरुन्तै राजनीतिमा हिँडिहाल भनेनन् । मैले चितवनको पार्वतीपुर स्कुलमा केही समय पढाएँ । त्यही बेला ‘होलटाइमर’ हुने निर्णय गरें । त्यसपछि पहिलो कार्यक्षेत्र चितवनको माडी र दोस्रो नवलपरासी (नवलपुर) भयो । त्यो २०३६ को आन्दोलनपछिको समय थियो । मोहनविक्रम सिंहसँग बुटवलमा मेरो भेट भयो । भेट अमिक शेरचनले मिलाउनुभएको थियो । मोहनजीलाई नेपालको माओ भनिन्थ्यो । निर्मल लामालाई चाओ भनिन्थ्यो । माओ र चाओ दुवै चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । चुतेहचाहिँ सिन्धुलीका ऋषि देवकोटा ‘आजाद’ लाई भनिन्थ्यो । ‘होलटाइमर’ भएपछि म बेहिसाब काम गर्थें । त्यसले मलाई पार्टीभित्र लोकप्रिय बनायो । माघ २०३८ मा भारतको कुशीनगरमा भएको युवा भेलाबाट म युवक संघको अध्यक्ष भएँ । त्यसपछि मेरा लागि मैदान खुला भयो । पार्टीभित्र अन्तरसंघर्ष भयो । सुरुमा म मोहनविक्रमजीतिर थिएँ । उहाँको लाइन ठीक रहेनछ भनेर मैले मोहन वैद्य (किरण) जीलाई साथ दिने निर्णय गरें । काठमाडौंमा भएको सेक्टर काण्डमा ठूला नेताहरू पर्नुभयो । उहाँहरूको एक तह घटुवा हुने भएपछि मलाई किरणजीले पार्टी महामन्त्रीमा प्रस्ताव राख्नुभयो । म २०४६ को आन्दोलनअघि पार्टीको महामन्त्री भएँ । त्यसपछि पार्टी एकता भयो, फुट्यो । जनयुद्ध सुरु गर्‍यौं । मैले नै किरण, बाबुराम भट्टराई, रामबहादुर थापा, पोस्टबहादुर बोगटीलगायतको टिम बनाएपछि जनयुद्धमा प्रवेश गरेका थियौं । दसवर्षे जनयुद्ध २०६४ मा शान्ति प्रक्रियामार्फत अवतरण भयो । शान्ति प्रक्रिया, संविधानसभा, संविधान निर्माण हुँदै हाल मुलुक संघीय गणतन्त्र कार्यान्वयनमा गएको छ । जनयुद्ध, संविधानसभा निर्वाचन र संविधान निर्माणपछि उत्पीडित वर्ग र समुदाय धेरै हदसम्म अधिकारसम्पन्न भएका छन् । उनीहरूको आत्मसम्मान प्राप्त भएको छ । जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । मुलुकमा गणतन्त्र स्थापना भएको छ । यसका लागि ठूलो त्याग, बलिदान र कीर्तिमानी काम गर्ने पार्टी र त्यसको प्रमुख नेताका रूपमा भावी पुस्ताले मलाई सम्झियोस् भन्ने चाहन्छु । क्रान्ति र शान्ति स्थापनाका लागि मात्रै होइन, २००७ सालदेखिको एजेन्डा संविधानसभा कार्यान्वयन गर्ने अवसर पनि मैले पाएँ । संविधान लेख्दा नेतृत्व गर्ने अवसर पाएँ । सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिका लागि समाजवादको आधार निर्माण गर्न एउटै मान्छेको नेतृत्व र मुख्य भूमिका इतिहासमा विरलै हुन्छ । त्यो अवसर मलाई प्राप्त भयो । यसमा मलाई गर्व छ । (कान्तिपुरबाट साभार) 

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । आज सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।” सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको कामको प्रसंशा गरे । उनीहरुले प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्यको वातावरण सशक्त र प्रभावकारी रहेको स्मरण गरे । 

चलचित्र ‘महाभोज’ समाज परिवर्तनको सशक्त सन्देश दिन सफल: अध्यक्ष प्रचण्ड

काठमाडौँ —  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चलचित्र ‘महाभोज’ सामन्तवादविरुद्धको संघर्ष र समाज परिवर्तनको सन्देश दिन सफल भन्दै सबैलाई हेर्न आग्रह गर्नुभएको छ ।  आइतबार राजधानीको सिटी सेन्टरमा चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले ‘महाभोज’ लाई चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र गहिरो सन्देश बोकेको चलचित्रका रूपमा मूल्यांकन गर्नुभयो। उहाँले नयाँ पुस्ताले यो चलचित्र हेरेर यसको मर्म बुझ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।  राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अध्यक्ष प्रचण्ड तथा समाजवादी मोर्चाका शीर्ष नेताहरू चलचित्रको विशेष प्रदर्शनी हेर्न सिटी सेन्टर पुग्नु भएको थियो । उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल बागमती प्रदेशले चलचित्र ‘महाभोज’ को विशेष शो आयोजना गरेको हो। समसामयिक कथावस्तु र प्रगतिशील समाज रूपान्तरणको सन्देशमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूलभाव प्रस्तुत गर्छ। चलचित्र ‘महाभोज’ का निर्माता हिमाल कडरिया, निर्देशक दिनेश राउत तथा कार्यकारी निर्माता किरण नेपाली हुन्। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ र बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ। पढनुस् सन्देश "लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो। आज मैले “महाभोज” चलचित्र हलमै गएर हेरेँ। चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लाग्यो। त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ” भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ। यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु। आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ।"

प्रचण्ड र वैद्यबीच भेटवार्ता : वैद्यको स्वास्थ्यमा सुधार, शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’सँग भेटवार्ता गर्नु भएको छ ।  अध्यक्ष प्रचण्डले वैद्यको निवासमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो। भेटमा वैद्यको स्वास्थ्यमा बिस्तारै सुधार भइरहेको पाइएको प्रचण्डले बताउनु भयो। भेटवार्तापछि प्रचण्डले भन्नुभयो,  "आज मैले कमरेड मोहन वैद्य ‘किरण’जीसँग उहाँको निवासमा भेट गरें। उहाँको स्वास्थ्य अवस्थामा क्रमशः सुधार भइरहेको देख्दा मलाई निकै खुशी लाग्यो। उहाँको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु।" पछिल्लो समय अस्वस्थ रहेका वैद्य लामो समयको अस्पताल बसाइपछि डिस्चार्ज भई हाल आफ्नो निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ । 

अध्यक्ष प्रचण्डद्वारा विपद् व्यवस्थापनमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं,  देशभर जारी भीषण वर्षाका कारण डुबान र पहिरोको जोखिम बढ्दै गएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले विपद् पूर्व–व्यवस्थापन तथा प्रतिकार्यका लागि सरकारलाई तुरुन्त कदम चाल्न समेत अपिल गर्नुभएको छ। सार्वजनिक सन्देशमार्फत अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “नदी तटीय क्षेत्र, डुबान भइरहने होचो भू–भाग तथा भू–स्खलनको उच्च जोखिम भएका स्थानहरूमा रहेका सम्पूर्ण जनतालाई अत्यन्त सतर्क रहन अनुरोध गर्दछु।” उहाँले विपद् व्यवस्थापनमा सहयोग गर्न, जनतालाई समयमै सूचना उपलब्ध गराउन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन पार्टीका सम्पूर्ण पंक्तिलाई निर्देशन दिनुभएको छ। साथै, नागरिकहरूलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्न, सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। प्रचण्डले सम्भावित प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुन नदिन सरकारले उच्च तयारीका साथ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।

साउदी अरबका राजकुमार : २० वर्षको कोमापछि अन्तिम विदाई

दुबई: साउदी अरबका राजकुमार अल वलीद बिन खालिद बिन तलाल अल सउद, जसले दुई दशकभन्दा बढी "सुतिरहेको राजकुमार" (The Sleeping Prince) को रूपमा इतिहास र जनताको हृदयमा ठाउँ बनाए, आज विशेष स्वास्थ्य केन्द्रमा निधन भयो । उनको मृत्युले मात्र शाही परिवार होइन, सम्पूर्ण साउदीलाई शोकमा डुबाएको छ। सन् २००५ मा भएको भीषण सडक दुर्घटनाले १५ वर्षीय युवराजलाई 'गम्भीर मस्तिष्क चोट' पुर्याएपछि उनी कोमामा पसेका थिए। त्यतिबेलादेखि उनका पिता खालिद बिन तलाल ले आफ्नो छोरालाई जीवनयन्त्रमा राखेर अस्पतालको कोठालाई नै आफ्नो घर बनाएका थिए। जीवनको संक्षिप्त झलक जन्म: १९९० अप्रिल, साउदी अरब परिवार: शाही परिवारका प्रमुख सदस्य, अर्बपति राजकुमार अल वलीद बिन तलाल का भतिज शिक्षा: लण्डनमा सैन्य क्याडेटको रूपमा अध्ययन (दुर्घटनाको समयमा) दुर्घटनाको क्षण: एक परिवारको जीवन बदलिएको १५ वर्षको उमेरमा लण्डनको एउटा सडकमा भएको दुर्घटनाले राजकुमारको मस्तिष्कमा गम्भीर आघात पुर्यायो। चिकित्सकहरूले उनलाई बचाउन सकेनन्, तर उनका पिताले कहिल्यै आशा छाडेनन्। "मेरो छोरा फर्किनेछ, अल्लाहले  मलाई यसको संकेत दिनुभएको छ," उनी भन्थे। २० वर्षको संघर्ष: आस्था र विज्ञानबीचको लडाइँ चिकित्सकीय अवस्था: कोमा (PVS - Persistent Vegetative State), कहिलेकाहीं अंगहरूको अनैच्छिक हलचल मात्र पिताको समर्पण: विश्वका उत्कृष्ट अस्पतालहरूमा उपचार, तर कहिल्यै होस नफर्किएपछि पनि जीवनयन्त्र हटाउन अस्वीकार जनताको सहानुभूति: सामाजिक सञ्जालमा #SleepingPrince ट्रेन्ड गर्दै, धेरैले उनलाई "आस्था र धैर्यको प्रतीक" भने आध्यात्मिक आशा उनको अस्पतालको कोठा एउटा "तीर्थस्थल" जस्तै बनेको थियो। प्रार्थनाका लागि आउने मानिसहरू, कुरान पाठ गर्ने इमामहरू, र परिवारका सदस्यहरूले उनलाई घेरेर राख्थे। शाही परिवारको बयान र अन्त्यिम संस्कार शाही दरबारले राजकुमारको निधनलाई "ईश्वरको इच्छा" भनी स्वीकार गरेको छ। अन्त्यिम संस्कार मक्का नजिकैको पारिवारिक कब्रिस्तानमा हुनेछ। शोक: साउदी अरबमा ३ दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। एउटा विरासत: प्रेमले हराउँदैन राजकुमार अल वलीदको कथा एउटा बुबाको अटूट माया, आस्था र मानवीय सहनशक्तिको प्रतीक बनेको छ। उनको जीवनले साउदी समाजलाई नै प्रभावित गर्यो—धेरैले उनका पिताको समर्पणलाई "असल बुबाको उदाहरण" भनेर सम्झन्छन्। "उनी सुतिरहेका छैनन्, ईश्वरले उनलाई आफ्नो मायालु गोदमा सुताएका छन्।" — सामाजिक सञ्जालमा एक श्रद्धाञ्जली (गल्फन्युजबाट साभार) 

भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली नै भ्रष्टाचारको मुहान भएको बताउनु भएको छ ।  नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमलाई  सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । मंचले प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी उक्त सुझावपत्र हस्तान्तरण गरेको हो। ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गर्नुभयो। उहाँले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिनुभयो। उहाँले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गर्नुभयो। "मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन," उहाँले भन्नुभयो, "प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ।" जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो । अध्यक्ष प्रचण्डले मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझावपत्रमार्फत नेताहरुलाई बुझाएर मात्र पूरा नहुने बताउनुभयो। परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उहाँले भन्नुभयो , “परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेण्डा सफल हुनेछन्।” उहाँले थप भन्नुभयो, “मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ। यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन। जनताका माग र मुद्धा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला।त्यसको तयारी गर्नुहोला ।” मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेश गरेको छ ।

हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

पेरिस डाँडा, काठमाडौं  हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा भेट गरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । अध्यक्ष प्रचण्डसँगको भेटमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरवाही भएको, कर्मचारीका मागहरु बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटा रहित रूपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गर्नुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरुको पटकपटक बैठकहरू बसालेको स्मरण गर्दै हेटौडा सिमेन्ट उद्योगमा देखिएका समस्याहरू समाधान गर्न र ट्रेड युनियनका मागहरू सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गनुृभयो ।। सरकारी उद्योग कलकारखानाहरुको पुर्नसंरचना र सुधारका निम्ति माओवादी केन्दले चासो र पहल लिंदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाउनुभयो ।  छलफलमा हेटौंडा सिमेन्टको समाचारमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम समेत सहभागी हुनुहुन्थ्यो।