माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न, भदौ १६ देखि स्थायी समिति बैठक

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ। दिउँसो ४ बजे सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ १६ गतेदेखि बस्ने स्थायी समिति बैठकका एजेण्डा प्रस्तुत गरे।

बैठकले ‘जनतासँग माओवादी विशेष अभियान’अन्तर्गत हुलाकी र मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। मध्यपहाडी अभियान सुदूरपश्चिमको पाटनबाट सुरु भई कास्कीमा हाल स्थगित छ। अध्यक्ष प्रचण्डले यो अभियानलाई चाँडै निरन्तरता दिने प्रस्ताव राखेका थिए, जसलाई बैठकले अनुमोदन गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले बताए।

बैठकमा स्थायी समिति बैठकका लागि अभियान सञ्चालन, केन्द्रीय समिति बैठक, समाजवादी मोर्चा, संघर्षका कार्यक्रमलगायत एजेण्डा तय गरिएको छ।

माओवादीले राम्रो गर्छन् भन्ने भाव स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले सामाजिक संघसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । “नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,” उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । माओवादीले नेतृत्व गर्ने संस्थामा जनताले फरकपन देखाएर जनतामा स्थापित हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्‍यो र सामाजिक संघ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ ।” अध्यक्ष प्रचण्डले पार्टीको मूल विचार, त्याग र तपस्याको इतिहासलाई व्यवहारमा देखिने गरी माओवादी केन्द्रका नेताकार्यकता सहभागी रहेका संघसंस्थामा स्पष्ट नीति, कार्यदिशा र एकरूपताका हुनुपर्ने बताउनुभयो । देशभरका स्थानीय तहको अवस्था हेर्दा त्याग र बलिदानीको इतिहासका कारण पनि माओवादीले नेतृत्व लिएका स्थानहरू नै अगाडि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्रको त्याग, तपस्याको इतिहास र परिवर्तनका लागि लडेको इतिहासका कारण हामीले व्यवस्थित ढंगले योजनाबद्ध निर्देशन नगर्दा नगर्दै पनि स्थानीय तहमा माओवादीले नेतृत्व गरेका पालिकाहरू नै अगाडि छन् । अझ व्यवस्थित गर्दा धेरै राम्रो गर्न सकिन्छ । माओवादी केन्द्रले नेतृत्व गरेका संघ संस्थाहरू फरक ढंगले चलाउँदा मात्रै हाम्रो स्वत्व रहन्छ । त्यसले हामीले जहाँ नेतृत्व गरेका छौं, त्यहाँबाट जनताको निम्ति, राज्यको निम्ति गर्न पर्छ र जनतालाई माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ ।” सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ठूला र परम्परावादी दलहरूको सहभागी भएका सहकारी र सामाजिक संघ संस्थाहरूमा उनीहरूको प्रवृत्तिका कारण ठूलो स्केलमा समस्या आएको उहाँले बताउनुभयो । “अहिले सहकारीमा निकै ठूलो स्केलमा ठूला पार्टीहरू सहभागी भएर भ्रष्टाचार, बेथितिको सिर्जना भयो भन्ने कुरा निकै नै गम्भीर बनेको छ । जुन दलहरूलाई हामी संसदवादी दलाल पुँजीवादी भन्ने गर्छौं, उनीहरूका अनुसार होइन, हामीले नेतृत्व लिने संस्था फरक र माओवादीको विचार अनुसार चलाउनुपर्छ । पुराना दल जसले उनीहरूकै सोच अनुसार परम्परावादी शैलीमा सामाजिक संघ–संस्था चलाइरहेका छन्, त्यसले ती संस्थाहरूमा ठूलो स्केलमा समस्या देखिएका छन् । माओवादीहरूले चलाउने सामाजिक संघसंस्थाहरू वा सहभागी हुने संस्थामा आफ्नो सोच अनुसार गर्नु पर्छ । जनताले फरकपन महशुस गर्नेगरी काम गर्नुपर्नेहुन्छ,” उहाँले भन्नुभयो । सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको अध्यक्ष प्रचण्डले बताउनुभयो । विदेशी दातृ निकायले विभिन्न संस्था मार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल लिएको उहाँले स्मरण गर्नुभयो । माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरु पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

पार्टी नेतृत्वलाई कमजोर गर्ने प्रवृत्ति स्विकार्य छैन, स्थायी समितिमा छलफल गर्छौ : वर्षमान पुन ‘अनन्त’

आगामी स्थायी कमिटी बैठकमा यो विषयमा गम्भीर छलफल गरी जिम्मेवारीपूर्वक निर्णय लिइने उनले बताए। “पार्टी रूपान्तरणको प्रक्रियामा छ। राम्रो कामको प्रशंसा गर्नुपर्छ, तर नेतृत्वलाई कमजोर बनाउने प्रवृत्तिमा छलफल जरुरी छ,” उनले थपे।

सिन्धुलीबाट बेपत्ता हायू परिवारका सबै सदस्य पोखरामा फेला, मजदुरीका लागि गएका थिए

  पोखरा। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट बेपत्ता भएका हायू परिवारका सबै १५ सदस्य पोखराको गगनगौंडा क्षेत्रमा फेला परेका छन्। उनीहरू मजदुरीका लागि पोखरा आएको प्रहरीले जनाएको छ। कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, उनीहरूलाई गगनगौंडास्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। “उनीहरूले मजदुरीका लागि पोखरा आएको बताएका छन्,” ओलियाले भने, “सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ।” प्रहरी अनुसन्धानबाट उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको र १४–१५ दिन बस्ने योजनासहित आएको खुलेको छ। उनीहरू गत शनिबार पोखराको लेकसाइडस्थित होटल जननीमा बसेका थिए र आइतबार चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए। “होटलबाट निस्किएको भोलिपल्टै हामीले उनीहरूलाई फेला पार्‍यौं,” ओलियाले थपे। गत शुक्रबारदेखि हायू परिवारका १६ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको थियो। तर, प्रहरी अनुसन्धानमा सुजाता हायू काठमाडौंमा बस्दै आएको पाइएको छ। बाँकी १५ जना भने मजदुरीका लागि पोखरा पुगेका थिए।

बागमतीमा काँग्रेसको किचलो: काँग्रेस-एमालेबीच तनाव

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध नेपाली काँग्रेसकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सत्तारूढ गठबन्धनमा रहेको नेकपा एमालेले छिटो निष्कर्षमा पुग्न आग्रह गरेको छ। यो घटनाले प्रदेश सरकारको स्थिरता र विकासका काममा गम्भीर असर पर्ने चिन्ता बढाएको छ। काँग्रेसभित्रै विद्रोह बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध पार्टीका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। यो प्रस्तावको नेतृत्व काँग्रेस सांसद इन्द्र बानियाँले गरेका छन्। मुख्यमन्त्री लामाले भने अविश्वासको प्रस्तावको सामना गर्ने अडान लिएका छन्। यो विवादको मुख्य कारण आव २०८२/८३ को बजेटमा काँग्रेसभित्र उत्पन्न चर्को असन्तुष्टि हो। बजेटलाई लिएर सांसदहरूबीच मतभेद चुलिँदा सरकारको नेतृत्व परिवर्तनको मागसम्म पुगेको छ। एमालेको चिन्ता: ‘छिटो टुङ्ग्याउनुस्’ नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले काँग्रेसको आन्तरिक किचलोले प्रदेश सरकारको स्थिरतामाथि प्रश्न उठेको बताए। उनले यो विषय काँग्रेसको आन्तरिक मामिला भएको उल्लेख गर्दै एमालेले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे। थपलियाले भने, “काँग्रेसको आन्तरिक मामिलामा हाम्रो चासो छैन। यो उहाँहरूको विषय हो। तर, यस्तो अवस्थाले सरकारलाई अस्थिर बनाउँछ र विकासका काममा अवरोध पुग्छ। काँग्रेसले चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्नुपर्छ। हामी सल्लाह वा हस्तक्षेप गर्दैनौं, तर स्थिरता कायम होस् भन्ने चाहन्छौं।” काँग्रेसभित्रको यो किचलोले बागमती प्रदेश सरकारको स्थिरता र विकासका योजनाहरू प्रभावित हुने जोखिम बढेको छ। बजेट विवादले सत्तारूढ गठबन्धनमा तनाव सिर्जना गरेको छ भने काँग्रेसको आन्तरिक एकता पनि कमजोर बनेको छ।

वाइसिएलले भन्यो, 'किसानलाई तत्काल मल उपलब्ध नगराए आन्दोलन गर्छौ'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले रसायनिक मलको चरम अभाव र कालाबजारीविरुद्ध कडा चेतावनी जारी गरेको छ। मध्य वर्षा याममा पनि मलको अभावले किसानहरू खेती गर्नबाट वञ्चित भएको भन्दै वाइसिएलले सरकार र कृषि सामग्री केन्द्र लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ। वाइसिएल नेपालका अध्यक्ष पुष्प ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मल अभाव योजनाबद्ध रूपमा सिर्जना गरिएको र यसले किसानहरूलाई प्रत्यक्ष प्रभावित पारेको उल्लेख छ। "मल नपाएर खेत बाँझो राख्नुपर्ने अवस्थाले राष्ट्रिय आत्मनिर्भरता र खाद्य सुरक्षामाथि प्रहार भएको छ," ज्ञापनपत्रमा भनिएको छ। संगठनले सरकारको असमान वितरण प्रणाली, कमिसनको चलखेल र विचौलियामार्फत हुने कालाबजारीको घोर भर्त्सना गरेको छ। "यो गम्भीर समस्याले लाखौं किसानहरू आक्रान्त छन्। तत्काल मल आपूर्ति सुचारु र वितरण प्रणालीलाई न्यायोचित बनाउनुपर्छ," वाइसिएलले माग गरेको छ। साथै, मल अभावको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउँदै वाइसिएलले तत्काल कदम नचालिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। "कृषिप्रधान देशमा मल अभाव स्वीकार्य छैन। यदि मल आपूर्ति सुनिश्चित गरिएन भने हाम्रो अभियानलाई आन्दोलनको रूप दिनेछौं," ज्ञापनपत्रमा उल्लेख छ। वाइसिएलको 'श्रम तथा उत्पादनमा वाइसिएल' अभियानअन्तर्गत देशभरका किसानहरूसँग सहकार्य गर्दै आएको सन्दर्भमा यो कदमलाई अर्थपूर्ण मानिएको छ। किसानहरूको हित र खाद्य सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग जोडदार रूपमा उठेको छ।

लिचिबारी अडियो प्रकरण : मन्त्री अधिकारीमाथि माओवादी नेता पाण्डेका प्रश्नैप्रश्न

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग लिचिबारी अडियो प्रकरणबारे स्पष्ट जवाफ माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि व्यवस्थासम्बन्धी विधेयकमाथिको छलफलका क्रममा पाण्डेले यो गम्भीर विषय उठाएका हुन्। अडियोको सत्यतामाथि प्रश्न पाण्डेले उक्त अडियोको सत्यता र विश्वसनीयतामाथि प्रश्न उठाउँदै मन्त्री अधिकारीलाई कडा प्रश्न गरे। उनले भने, “यदि यो अडियो नक्कली हो भने त्यसलाई बाहिर ल्याउने व्यक्तिमाथि किन कारबाही भएको छैन? यदि सक्कली हो भने अडियोमा मन्त्रीज्यूको नाम पनि जोडिएको छ। नक्कली हो भने त्यस्ता अडियो प्रसार गर्नेहरूलाई कारबाही गर्नुपर्छ। यस्तो गम्भीर विषयलाई बेवारिसे रूपमा छोड्न मिल्छ कि मिल्दैन?” उनको यो प्रश्नले समितिको बैठकमा उपस्थित सांसदहरूको ध्यान खिचेको थियो। लिचिबारी अडियो प्रकरणसँगै पाण्डेले भूमि व्यवस्थासम्बन्धी विधेयकमा रहेका केही प्रावधानमाथि पनि कडा आपत्ति जनाए। उनले विधेयकमा सरकारलाई संसद्को असाधारण अधिकार दिने व्यवस्थाको विरोध गर्दै त्यस्ता प्रावधान हटाउन माग गरे। विशेषगरी, सूचित आदेश र निर्देशिका जारी गर्नसक्ने प्रावधानले सरकारलाई असीमित अधिकार प्रदान गर्ने उनको तर्क छ। उनले भने, “यस्ता प्रावधानले संसद्को गरिमा र विधायिकी अधिकारमाथि प्रश्न उठ्छ। यी प्रावधानहरू विधेयकबाट हटाइनुपर्छ।” नयाँ भूमि ऐनको माग पाण्डेले वर्तमान भूमि ऐन निकै पुरानो भएको र यसलाई पटक–पटक संशोधन गरिए पनि समस्याहरू यथावत् रहेको बताए। उनले पुरानो ऐनले वर्तमान समयको माग र चुनौतीलाई सम्बोधन गर्न नसक्ने भन्दै नयाँ र समयसापेक्ष भूमि ऐन ल्याउन सरकारसँग माग गरे। “भूमि व्यवस्थापनको क्षेत्रमा देखिएका जटिलता र समस्यालाई समाधान गर्न नयाँ ऐन आवश्यक छ,” उनले जोड दिए। पाण्डेको प्रश्न र मागपछि मन्त्री बलराम अधिकारीमाथि जवाफ दिने दबाब बढेको छ। लिचिबारी अडियो प्रकरणको सत्यतामाथि प्रश्न उठिरहेको बेला मन्त्रीले कस्तो जवाफ दिन्छन् भन्ने कुराले यो विषयलाई थप चासोको विषय बनाएको छ। साथै, विधेयकका विवादास्पद प्रावधान र नयाँ ऐनको मागबारे सरकारको अडान पनि महत्वपूर्ण हुने देखिन्छ। यो प्रकरणले भूमि व्यवस्थापन, पारदर्शिता र जवाफदेहिताको मुद्दालाई पुनः सतहमा ल्याएको छ। अब मन्त्री अधिकारीले समितिमा दिने जवाफ र सरकारको कदमले यो विवादको दिशा निर्धारण गर्नेछ।

अख्तियार प्रमुख राईविरुद्ध महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको प्रमुख समस्या सुशासनको अभाव भएको बताउँदै भ्रष्टाचार र अनियमितताले राज्यका अंगहरूप्रति जनविश्वास घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले सरकारले यो विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्। सांसद पन्तले राजनीतिक दलहरूबीचको अविश्वास, सेवा प्रदायक र सेवाग्राहीबीचको विश्वासको संकट, र सामान्य कामका लागि समेत कर्मचारीहरूले ‘टेबुलमुनि’ कारोबार गर्ने प्रवृत्ति बढेको आरोप लगाइन्। उनले भनिन्, ‘सुशासनको अभावले सदाचारिताको संस्कृति मर्दै गएको छ, जसले भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन गरेको छ। राज्यका प्रमुख अंगहरूप्रति विश्वसनीयता घट्दै गएको छ। पार्टीहरूबीच, व्यक्तिहरूबीच, र सेवा प्रदायक–सेवाग्राहीबीच अविश्वास बढेको छ। सामान्य काममा पनि टेबुलमुनि कारोबार हुने गरेको सुनिन्छ, यो गम्भीर समस्या हो।’ उनले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले यसबारे जवाफ दिनुपर्ने प्रश्न उठाइन्। साथै, दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि विशेष अदालतले प्रश्न उठाएको सन्दर्भ उल्लेख गर्दै उनले राईमाथि महाअभियोग लगाउन माग गरिन्। पन्तले भनेकी छन्, ‘वाइडबडी खरिद प्रकरणमा अख्तियारले आफ्नै प्रमुख आयुक्तविरुद्ध अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएको छ। यस्तो अवस्थामा उनलाई महाअभियोग लगाएर जवाफदेही बनाउनुपर्छ।’ यो घटनाले मुलुकमा सुशासन र पारदर्शिताको कमीले सिर्जना गरेको गम्भीर संकटलाई उजागर गरेको पन्तको भनाइ छ। उनले सरकारलाई यस्ता विषयमा तत्काल कदम चाल्न र जनविश्वास पुनर्स्थापित गर्न आग्रह गरिन्।

भण्डारीले पार्टी अध्यक्ष पदमा आँखा गाडेका कारण पार्टीले नयाँ निर्णय गर्यो : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष पदमा आँखा गाडेका कारण उनको सदस्यता नवीकरण सम्बन्धी निर्णय गर्नुपरेको खुलासा गरेका छन्। बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलमा ओलीले भण्डारीको पछिल्लो कदमले पार्टी र उनको कदलाई नै कमजोर बनाएको टिप्पणी गरे। ‘देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर अध्यक्ष पदमा आँखा गाड्दा केन्द्रीय कमिटीले पछिल्लो निर्णय लिनुपरेको हो,’ ओलीले भने। उनले भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनुपर्नेमा पार्टी राजनीतिमा सक्रिय हुने निर्णयले आफूहरूलाई आश्चर्यमा पारेको बताए। ‘एमालेले महामहिम पूर्वराष्ट्रपतिलाई सिंगो देशको अभिभावकका रूपमा स्थापित गरेको थियो। तर, पछिल्लो समय उहाँले लिएको निर्णय हामीले कल्पनासमेत गरेका थिएनौं,’ ओलीले थपे, ‘लामो राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमा बन्नुपर्ने व्यक्तिले सदस्यताको विषयमा बखेडा झिकेर आफ्नै कद घटाउनुभयो।’ बैठकमा ओलीले पार्टी नेतृत्वमाथि चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गर्दै कार्यकर्ताहरूलाई हावाको झोक्कामा नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिए।

अख्तियार प्रमुख राईमाथि भ्रष्टाचारको गम्भीर आरोप, अनुसन्धानको मागसहित उजुरी दर्ता

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि तीनवटा ठूला अनियमितता र भ्रष्टाचारका आरोपमा छानबिनको माग गर्दै सिन्धुली कमलामाईका युवराज पौडेलले आइतबार अख्तियारमा उजुरी दर्ता गरेका छन्। उजुरी नम्बर ‘सी–००३४९८’ मा दर्ता भएको छ। पौडेलले राईमाथि वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद, र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोप लगाउँदै तत्काल अनुसन्धान र हदैसम्मको कारबाहीको माग गरेका छन्। वाइडबडी विमान खरिद प्रकरण: न्यायिक टिप्पणीले प्रश्न उठायो विशेष अदालतले हालै वाइडबडी विमान खरिद प्रकरणको पूर्णपाठमा गम्भीर टिप्पणी गरेको छ। फैसलामा भनिएको छ, “प्रारम्भिक निर्णयकर्तामाथि अनुसन्धान नभएको र मुद्दा चलाउने क्रममा चयनमुखी अभियोजन भएको छ।” राई तत्कालीन पर्यटन सचिव र नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्ष थिए। यो प्रकरणमा ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर भएको छ, तर राईमाथि कुनै कारबाही नभएकोमा पौडेलले प्रश्न उठाएका छन्। उनले उजुरीमा भनेका छन्, “राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी कारबाही होस्।” नेपाल आयल निगम जग्गा खरिद: तामेली फाइल पुन: खोल्न माग नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा पनि राईमाथि गम्भीर आरोप लागेको छ। राई आपूर्ति मन्त्रालयको सचिव र आयल निगमको सञ्चालक समिति अध्यक्ष हुँदा झापा, सर्लाही, चितवन, र भैरहवामा जग्गा खरिदमा १ अर्ब ९५ करोड रुपैयाँ अनियमितता भएको ठहर अख्तियारले गरेको थियो। तर, २०२० मा यो फाइल तामेलीमा राखिएको थियो। पौडेलले उक्त फाइल पुन: खोलेर राईमाथि अनुसन्धान गर्न माग गरेका छन्। तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मुद्दा चलाइए पनि राईलाई उन्मुक्ति दिइएको उनको आरोप छ। नक्कली भुटानी शरणार्थी प्रकरण: गाडीमा पैसा राखिएको बयान नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि राईमाथि गम्भीर प्रश्न उठेको छ। केही आरोपितहरूले प्रहरी बयानमा तत्कालीन गृहसचिव राईको गाडीमा नगद राखिदिएको दाबी गरेका थिए। तर, प्रहरीले राईमाथि कुनै अनुसन्धान नगरेको भन्दै पौडेलले यो घटनामा पनि छानबिनको माग गरेका छन्। उनले भनेका छन्, “अख्तियार प्रमुखको हैसियतमा राईमाथि कुनै कारबाही नहुनुले भ्रष्टाचारविरुद्धको अभियानमाथि नै प्रश्न उठेको छ।” अख्तियारमाथि नै प्रश्न राईमाथि लागेका यी गम्भीर आरोपहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ। पौडेलको उजुरीले यी प्रकरणहरूमा थप अनुसन्धान र कारबाहीको मागलाई बल पुर्‍याएको छ। अब अख्तियारले यो उजुरीमाथि कस्तो कदम चाल्छ, त्यो हेर्न बाँकी छ।

माओवादीलाई फेरि एकपटक सखाप पार्ने प्रयास भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेतृत्वविरुद्ध योजनाबद्ध षड्यन्त्र भइरहेको भन्दै यसलाई परास्त गर्न नेता, कार्यकर्ता र समर्थकलाई एकजुट हुन आह्वान गर्नुभएको छ। गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले नयाँ षड्यन्त्र सुरु भएको बताउनुभयो। “पार्टीलाई घेरा हालेर सखाप पार्ने प्रयास भइरहेको छ। केही व्यक्तिलाई उक्साएर र लगानी गरेर प्रतिक्रियावादीहरूले आन्दोलनविरुद्ध भ्रम फैलाइरहेका छन्,” उहाँले भन्नुभयो। प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र असंलग्न परराष्ट्र नीतिमा उल्लेखनीय काम गरेको, तर दलाल, बिचौलिया र नोकरशाहहरूको योजनाबद्ध षड्यन्त्रले सरकारबाट बाहिर धकेलिएको बताउनुभयो। “हाम्रो सरकारले जनविश्वास जितिरहेको थियो, देशको प्रतिष्ठा बढिरहेको थियो। तर, यही कारण हामीलाई सत्ताबाट हटाइयो। सरकारबाट बाहिरिए पनि पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र कायमै छ,” उहाँले थप्नुभयो। सत्ताबाहिर रहे पनि माओवादीले सुशासन र सामाजिक न्यायका लागि खबरदारी जारी राखेको उहाँले बताउनुभयो। चैत १५ को विशाल जनसभा र अन्य खबरदारी कार्यक्रमले जनमत निर्माण गरेपछि प्रतिक्रियावादीहरू थप आक्रोशित भएको उनको भनाइ छ। हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गजस्ता परियोजनामा डेढ करोड जनताको सहभागिताले पार्टीप्रति राष्ट्रिय स्तरमा सकारात्मक माहोल बनेको, तर यसले पुराना शक्तिहरूलाई षड्यन्त्रमा सक्रिय बनाएको उहाँले उल्लेख गर्नुभयो। प्रचण्डले आगामी २०८४ को निर्वाचनमा माओवादी एक्लै लड्ने र जित्ने योजना रहेको स्पष्ट गर्नुभयो। “हामीले विगतमा एक्लै चुनाव जितेका छौँ। अब पनि आफ्नै बलमा उभिएर जनताको मन जित्नेछौँ। कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै बढाएको छ,” उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध भइरहेको ‘संगठित षड्यन्त्र’ तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन निर्देशन दिनुभयो।

विप्लव निकट गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित

काठमाडौं । विप्लव नेतृत्वको नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ।  नेकपा माओवादी केन्द्रको गुल्मी काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा सिंगो समिति नै माओवादी केन्द्रमा समाहित भएको हो । समाहित भएका नेता कार्यकर्तालाई शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रमा स्वागत गर्नुभयो। नेकपाको सम्पर्क समिति सहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेका छन् ।   

सरकारले सुशासनको सट्टा भ्रष्टाचार र अनियमितता भित्र्यायो  : अनन्त

शुसासनको प्रत्याभूति दिनुपर्नेमा वर्तमान सरकारले जनतामा थप निराशामात्रै ल्याएको बताउँदै उनले भने, राहदानीको टेण्डरमा पनि दुई दलले भागबण्डा गरेको कुरा आएको छ । यो चरम विकृत्ति हो । दुई ठूला दलले गरेको यो भ्रष्टाचारको छानविन आवश्यक छ ।

कुलिङ पिरियडमा एमालेले अन्ततः 'म्याउ' गर्‍यो  : अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐनको कुलिङ पिरियडमा नेकपा एमालेका सांसदहरूले ‘सक्कली अनुहार’ देखाएको भन्दै कटाक्ष गर्नु भएको छ।  शनिबार काठमाडौंको सितापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन गर्दै उहाँले एमालेको संशोधन प्रस्तावले माओवादीको शंकालाई पुष्टि गरेको बताउनु भयो ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताउनुभयो । माओवादीले एमालेकै कारण ऐन बन्न नसकेको जनाएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेसमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गर्नुभयो। “एमालेभित्र जवजको उत्तराधिकारीको अन्योल छ, वैचारिक दिशाहीनता देखिन्छ,” उहाँले भन्नुभयो। अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिहरूलाई लिएर उनले एमालेको वैचारिक संकटमाथि प्रश्न उठाउनु भयो ।  प्रचण्डले माओवादी केन्द्रले जनतासँग प्रत्यक्ष सम्पर्क अभियान चलाएर वैचारिक स्पष्टता कायम राखेको दाबी गर्नुभयो। “हाम्रो आठौं महाधिवेशनको नीति र विचारले हामीलाई बलियो बनाएको छ। माओवादी मात्रै यस्तो पार्टी हो, जहाँ वैचारिक नेतृत्वको संकट छैन,” उहाँले भन्नु भयो ।  शिक्षक आन्दोलन र शिक्षा विधेयकबारे बोल्दै प्रचण्डले सत्तारूढ दलहरूको गरेको राज्यशक्तिको दुरुपयोगको विरोध गर्नुभयो। “संविधानले शिक्षक आन्दोलन आवश्यक नपर्ने अवस्था बनाएको छ, तर सरकारले सहमति कार्यान्वयन नगर्दा शिक्षकहरू सडकमा उत्रन बाध्य छन्,” उहाँले भन्नुभयो । माओवादी सरकारमा भएको भए शिक्षकहरू अपमानित नहुने उहाँको भनाइ थियो। शिक्षा विधेयकमा भएको छेडछाडप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो , “हामीले शिक्षकका माग समेटेर विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा षड्यन्त्र भएको छ।” शिक्षक संगठनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु भएको छ । 

कुशासनमा सरकारः पासपोर्ट छपाइको टेन्डरमा भागबण्डा

काठमाडौं। सत्तारूढ कांग्रेस–एमाले गठबन्धनले पासपोर्ट छपाइको टेन्डरमा भागबण्डा गरेको खुलासा भएको छ। ६ अर्ब ११ करोडको ठेक्का कांग्रेसनिकट ठेकेदार र १ अर्ब ५५ करोडको ठेक्का एमालेनिकट ठेकेदारले पाएका छन्। टेन्डरलाई दुई प्याकेजमा टुक्र्याएर दिइएको छ, जुन मिलेमतोको संकेत देखिन्छ। प्याकेज १ को ठेक्का जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि मनिन्द्रकुमार मल्लले पाएका छन्। एमालेनिकट व्यवसायी मल्लले पासपोर्टको सिस्टम तयार गर्ने १ अर्ब ५५ करोडको ठेक्का हात पारे। यता, मुख्य ठेक्का भेरिडास कम्पनीले पाएको छ, जसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा छन्। कांग्रेस नेताहरूसँग निकटता रहेका थापाले ६ अर्ब ११ करोडको ठेक्का पाए। युरोमा भुक्तानी हुने यो ठेक्काको लागत ८ अर्ब नाघ्ने अनुमान छ, किनभने युरोको दररेट बढेको छ। थापाले भने प्रतिस्पर्धात्मक र पारदर्शी रूपमा ठेक्का पाएको दाबी गरेका छन्। तर, १५ वर्षदेखि पासपोर्ट छाप्दै आएको आइडिमियाले मिलेमतोको आरोप लगाउँदै उजुरी गरेको छ। आइडिमियाले दुवै प्याकेज पाएमा २८ करोड ९५ लाख सस्तोमा काम गर्ने प्रस्ताव गरेको थियो। उसको पुनरावेदन सार्वजनिक खरिद पुनरावलोकन समितिले खारेज गर्‍यो, र सर्वोच्चमा दायर रिट पनि दरपिठ भएको छ। दुई कम्पनीबीच ठेक्का बाँड्दा भविष्यमा डाटा र छपाइमा समस्या आउन सक्ने जोखिम छ। आइडिमियासँग डाटा रहँदा र भेरिडासले छपाइ गर्दा समन्वय जटिल हुन सक्छ। यद्यपि, राहदानी विभागले कानुनी प्रक्रिया पूरा भएको र २१० दिनमा छपाइ सुरु हुने दाबी गरेको छ। यो विवाद चलिरहँदा परराष्ट्रमन्त्री आरजु राणा जर्मनी पुगेकी थिइन्। उनले जर्मन विदेशमन्त्रीसँग भेटवार्ता गरिन्। स्रोतका अनुसार मन्त्री राणाले ठेक्कामा सुरुदेखि चासो राखेकी थिइन्, तर उनले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। (नयाँपत्रिका दैनिकबाट साभार)   

केही व्यक्तिले वर्ग बैरी हँसाउने काम गरे : वाइसिएल अध्यक्ष ओली

काठमाडौं । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालका अध्यक्ष पुष्प ओलीले संगठनभित्रका केही व्यक्तिले वर्ग बैरी हँसाउने काम गरेको बताएका छन् । विभिन्न सञ्चार माध्यममा संगठनभित्र विवाद रहेको बताएर समाचार सार्वजनिक भएपछि ओलीले केही सीमित व्यक्तिले वर्ग बैरी हँसाउने काम गरेको बताएका हुन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भनेका छन्, 'विषय उठाइएको र लेख्न लगाइएको जस्तो विषय हाम्रो संगठनमा नभएको व्यहोरा जानकारी गराउँदछु । वाइसिएल जस्तो अनुशासित् र ठूलो युवा पङ्ती समेटिरहेको पार्टीको सहायक संगठनमा केही निश्चित व्यक्तिहरुले लगाएको कपोकल्पित, भ्रामक, तथ्यहीन आरोप प्रत्यारोप व्यक्तिगत चरित्रहत्यासम्मका विषयहरु सामाजिक सञ्जाल हुँदै मिडियासम्मै जानु गम्भीर छ ।'  अध्यक्ष ओलीले यस्ता हर्कतले वर्ग, सिंगो संगठनको इमान्दार पङ्तीलाई चिन्तित बनाएको बताए । उनले भने, 'वर्ग बैरी हँसाउने कार्य भएको छ । यस्ता प्रकारका भ्रमपूर्ण समाचारको खण्डन गर्न र संगठनले लिए गरेका निर्णय कार्यान्वयन गर्न गराउन तर्फ लाग्न सबैलाई अनुरोध गर्दछु ।'